निर्णय नं. २८५ – हकसफा
निर्णय नं.२८५ ने.का.प.२०२२ फुल बेञ्च माननीय प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह माननीय न्यायाधीश श्री रत्नबहादुर बिष्ट क्षेत्री माननीय न्ययाधीश श्री नयनबहादुर खत्री क्षेत्री २०१९...
निर्णय नं.२८५ ने.का.प.२०२२
फुल बेञ्च
माननीय प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह
माननीय न्यायाधीश श्री रत्नबहादुर बिष्ट क्षेत्री
माननीय न्ययाधीश श्री नयनबहादुर खत्री क्षेत्री
२०१९ सालको पहिलो रिभिजन दे.फु.नं.२६२
निवेदक, प्रतिवादी : पूर्व २ नं.दोलखा अदालत इलाका खिपी धारापानी बस्ने नरबहादुर पाण्डे क्षेत्री
विरुद्ध
विपक्षी वादी रेस्पोण्डेन्ट : ऐ.ऐ.बस्ने रत्नबहादुर सुनुबार
मुद्दा : हकसफा
(१) साबिकको मुलुकी ऐनको साहु असामीको १३ नं. निखनाई पाउँ भन्ने उजुर गर्दा थैली थाहा भए साथै र थैलिको एकिन नभए प्रतिउत्तर परेको ३५ दिनभित्र थैली धरौट राख्नुपर्ने । थैली एकिन नभई फिराद गरी प्रतिउत्तर परेको ३५ दिनभित्र थैली धरौट नराखि निखनाई पाउँ भन्ने दावी लाग्न नसक्ने ।
सो थैली धरौट राख्ने बिषयमा भएको कानूनी व्यवस्था हेर्दा तत्काल प्रचलित साहु असामीको १३ नं. मा निखनाई पाउँ भनी नालिस उजुर गर्न आउँदा थैली थाहा भएकोमा नालिस साथ र थैली थाहा नभएकोमा प्रतिउत्तर परी मुख मिलेकोमा सो प्रतिउत्तर परेको ३५ दिनभित्र थैली धरौट राख्नु पर्छ भन्ने र सो म्याद भित्र थैली धरौट राख्न ल्याएन भने असामीले नै बन्धकी र दृष्टि निखनी लिने बाहेक अरु निखनी लिने कुरामा निखनी लिन पाउँदैन भन्ने समेत उक्त ऐनमा व्यवस्था भएको पाइन्छ ।
(प्रकरण नं.१८)
(२) वादी रत्नबहादुरले पहिले नालिस गर्दा थैली यकिन नभएको भनी नालिस साथ थैली धरौट नराखेको । यस्तो अवस्थामा उक्त साहु असामीको १३ नं.बमोजिम प्रतिउत्तर परेपछि थैली थाहा पाउने प्रयास गरी थाहा पाइ मुख मिलेमा सो प्रतिउत्तर परेका ३५ दिनभित्र थैली धरौट राख्नुपर्नै कर्तव्य वादीको नै हुन आउने हुँदा साहु नरबहादुरको ०४।८।२८ मा प्रतिउत्तर परेपछि पनि प्रस्तुत मुद्दामा थैली तर्फ घटी बढी भन्ने वादीको दावी जिकिर नभएकोले उक्त साहु असामीको १३ नं.बमोजिम प्रतिउत्तर परेका ३५ दिनभित्र थैली धरौट राख्न सक्नु पर्नेमा, ऐनको म्याद भित्र थैली धरौट दाखिल नगरेको भनी आफूप्रति दोष लगाई पू.२ नं.दोलखा अदालतबाट ०१५।१।१०।३ मा हराई फैसला भईसकेपछि सो उपर १५।२।६मा अपील गर्दासम्म पनि वादीले थैली धरौट राख्ने तर्फ उत्सुकता देखाई अपील साथ समेत थैली धरौट राख्न सकेको देखिएन ।
(प्रकरण नं.१९)
लिखत बमोजिमको रु.३९९० लिई ३५ दिनभित्र हाजीर हुन आउनु भनी अपीलाटको वारेसलाई सुनाई म्यादभित्र थैली धरौट दाखिल गरेमा ऐन सवाल बमोजिम गर्न प्रतिवादी पर्नासाथ थैली दाखिल गर्न ल्याउनु भनी सुनाउनु पर्ने नसुनाएमा शुरु दोलखा अदालतका डि. जहान सिंहलाई रु.१ । जरिवाना गर्ने भन्ने समेत अपील दोश्राबाट ०१५।७।१९।३ मा पर्चा गरी सुनाई ०१५।८।२३ मा मात्र सो थैली धरौट राखेर खाएको देखिएको र माथि उल्लेख भए बमोजिम आखिर शुरु अड्डाको फैसला भएपछि थाहा पाए पनि स्वतः थैली धरौट नराखेको अवस्थामा त्यस्तो थैली दाखिल गर्न ल्याउनु भनी अड्डाले सुनाउनु पर्ने र अड्डाले सुनाएको ३५ दिन भित्र थैली धरौट राख्न ल्याए राख्न पाउने समेत ऐनमा व्यवस्था भएको नदेखिएकोले धरौट राख्नु पर्ने ऐनको म्याद खिलाप भई निखन्न नपाउने गरी शुरु तहबाट फैसला समेत भईसकेपछि बीचमा अपील दोश्राले पर्चा गरी सुनाई धरौट रखाएको समेत उक्त कारवाई कानूनको अनुरुप नहुँदा त्यस किसिमपछि धरौट राखेकोलाई मान्यता दिन मिल्ने देखिन आएन ।
(प्रकरण नं.२०)
(३) तसर्थ, साहु असामीको १३ नं. ले निर्धारित गरेको म्याद भित्र वादीले थैली धरौट राख्न नसकेको र सो मयाद भित्र थैली धरौट राख्न नल्याएकोमा निखनी लिन पाउँदैन भन्ने उक्त साहु असामीको १३ नं. मा प्रष्ट उल्लेख हुनाले प्रस्तुत मुद्दामा अरु कुरा बिचार गरी रहनु नपरी उपरोक्त कारणबाट निखनाई पाउँ भन्ने वादीको उजुर खारेज हुने ठहर्छ ।
(प्रकरण नं.२१)
निवेदक, प्रतिवादी तर्फबाट : एडभोकेट कृष्णप्रसाद घिमिरे
फैसला
(१) अन्यायीको गोरे छिंगे मेरो ३ पुस्ताको हकदार हुँ । निजहरूका हकको धारा पानी बारी १ पानी धारा वरीपरीको ऐ १ ठूलो ढुंगे १ भिराले पाटो ऐ १ गैरो बारी ए १ पल्लो बारी १ गैरो बारी १ डाडो बारी १ घर समेत घर बारी १ समेतको जग्गा म बिदेश भएका बखत के कतिमा हो गोरे छिंगे दिने नरबहादुर लिने भई राजीनामा गरेछन् । र ०१३।८।२६ मा पास गरेछ । ०१४।७।१८ गते घर आई पुग्दा थाहा भएकोले किन बेच गरेको बर्ष दिन भित्र थाहा पाएका ३५ दिन भित्र उजुर दिन आएको छु । थैली यति भनेनन् । ठहरेको थैली तिरी हक सफा गर्न पाउँ भन्ने समेत ०१४।८।२१ को रत्नबहादुर सुनुबारको फिराद ।
(२) गोरे छिंगेको हकको राजीनामाको ४ किल्लाको ९ कित्ता घर जग्गा ३९९०। रु. मा १२ साल भाद्र १० गते ६ मा घरायसमा लिए दिएको निजहरू बिदेश गएबाट उजुर दिई डिग्री गराई १३।८।२।३ मा पास गरी लिएको छु । हकदार म हुँ भनी मानविर समेतको फिराद परेको । वादी हकदार भए मानवीरको छोरालाई वादीको बहिनी दिई विवाह गरेको छ । कसरी विहा गरे ? त्यसबाट वादी हकदार हैन । विदश गएको मिति लेख्न र आए गएको राहदानी हुनु पर्ने नभएकोले वादी घरै छ । ऐनको म्याद भित्र थैली धरौट राखी उजुर गर्न पर्ने सो गर्न नसकेको समेतबाट हक सफा गर्न नपाउने भन्ने समेत नरबहादुर पाण्डे क्षेत्रीको प्रतिउत्तर ।
(३) गोरे छिगेले म्याद गुजारेको साक्षी समेत बुझिएकोमा म्याद भित्र थैली धरौट राख्न नसकेको । प्रतिवादीको साक्षीले ०१३ साल बैशाख देखि नै घरमा छ । हकदार हैन भनी बकी दिएको हुनाले हक सफा गर्न पाउँ भन्ने वादीले झुट्टा उजुर दिखएको ठहर्छ भन्ने समेत पूर्व २ नं.दोलखा अदालतको ०१५।१।१० को फैसला ।
(४) प्रतिवादीको साक्षीले झुठा बकपत्र गरेका । उजुर गर्ने म्याद बाँकी छँदै मुद्दा फैसला गरी दिएकोले उजुर गर्न पाइन तापनि साक्षीको प्रमाणै लाग्न नसक्ने । मेरा साक्षीले मुगलान भएको भन्ने र प्र. को साक्षीले घर थियो भन्ने बकेपनि पक्का सबुद बेगर घरमा थियो भन्न नपाउने कुरामा अड्डाले मलाई अंक नुसनाई मुख मिलेको भन्ने र म्याद भित्र थैली दाखिल नगरेको भन्ने अत्तो लगाई हक सफा गर्न नपाउने गरी भएको फैसालमा चित्त बुझेन भन्ने समेत वादी रत्नबहादुरको अपील ।
(५) वादीले धरौट राखेको प्रतिवादीले वादी बिदेश गएको हैन भन्ने सबुद दिन नसकेको । वादी बिदेश गएको हो, हैन भनी बिचार गर्दा, बैशाखमा घरै छ भनी प्रतिवादीको लेखाई भएको बिदेश गएमा प्रतिवादी सावित भएको । बैशाखमा आएको भन्ने पक्का सबुद दिन प्रतिवादीले नसकेको । प्रतिवादीका साक्षीहरूले बिदेश गएको हो भनी बकेको आषाढमा देखेको भनी बकपत्र गरेको । बिदेश गएकै हैन भन्न नसकेको हुनाले ती साक्षीको बकाई साँचो मान्न मुनासिव नपर्ने । वादीका साक्षीले पुस्ता खुलाई बिदेश गएको र कार्तिक महिनामा आएको हो भनी किटानी साथ वकपत्र गरेको हुनाले प्रतिवादीले वादी हकदारले निखन्न पाउने कुरामा निखन्न दिन्न भन्ने प्रतिवादीको जिकर झुट्टा ठहर्छ । वादीले अ.त.वि.गो फाँटमा ०१५।८।२३ मा धरौट राखेको मो.रु.३९९०। प्रतिवादीले बुझी लिनु पर्ने ठहर्छ भन्ने समेत ०१५।११।२।६को अपील दोश्रो फाँटको फैसला ।
(६) वादीको साक्षीका बकाईबाट वादी ३ पुस्ता भित्रको नभई ५ पुस्ता टाढाको देखिएकैबाट पनि निखन्न नपाउने । हकवाला भए विहावरी कसरी चल्यो ? बिदेश गएको भए कुन सालमाको साथ लिई कुनबाटो गएको हो र कहाँ के इलम गरी बसेको हो ? फर्कदाको साथ लिई कैले फर्केको हो ? जाँदाको र आउँदाको राहदानी र साथी बस्ताको इलम रोजगार के गरेर बसेको थियो ? त्यस्को प्रमाण दिन नसकेको । रजिष्ट्रेशन मिति थाहा भएपछि थैली पनि थाहा रहेछ भन्ने प्रष्ट देखिएको हुँदा थैली थाहा भए पनि धरौट बेगरको उजुर हुँदा नालिस खारेज हुनेमा सबुद प्रमाण बेगर हकसफा गर्न पाउने गरी भएको फैसलामा चित्त बुझेन भन्ने समेत प्रतिवादी नरबहादुर पाण्डे क्षेत्रीको अपील ।
(७) गोरे छिंगे मरेको देखिएकोले अ.बं.२१८ नं.बमोजिम मर्नेका हकदारका नाउँमा म्याद पठाई दिई अरु कोही नआए हाजिर हुन आएका टंकबहादुरको सकार गरी दिई निजैहरूको जग्गा जालसाजी मुद्दाको साथै पेश गर्नु भन्ने म.उ.अ.सिंगलबेञ्चको ०१६।१०।२९ को आदेश ।
(८) ०१६।७।६ का सर्वोच्च अदालत सिंगलबेञ्चका आदेश बमोजिम प्रतिवादी गोरे छिगेका नाउँमा ३ महिने म्याद जाँदा मरेको भन्ने भई टंकबहादुरले सकार गरेकोबाट निजैको हकमा समेत सुरु कारवाई हुने भएकाले वादी रत्नबहादुरलाई छलफलमा झिकाई पेश गर्नु भन्ने म.उ.अ.सिंगलबेञ्चको ०१७।४।२७ को आदेश ।
(९) ०१७।४।२७ का सिंगलबेञ्चको आदेशानुसार छलफलमा झिकाई आएका रत्नबहादुर वारेस समेत तारेखमा रहेका पक्षहरूलाई तारेख तोकि यो मुद्दामा गोरे छिंगे मरी मुद्दा सकार गर्ने टंकबहादुरको हकमा समेत शुरु कारवाई किनारा गरी अपील फैसला गर्न यस उच्च अदालतमा पठाई दिनु भनी यो मिसिल इलाका अदालत दोलखामा पठाई दिनु भन्ने समेत म.उ.अ सिंगलबेञ्चको ०१७।६।२९ को आदेश ।
१०. मेरा बाबु गोरे कान्छा बाबु छिंगेले खादै नखाएको रु.३९९०। को नरबहादुरले किर्ते राजीनामा खडा गरी पास गरे गराएको हो भन्ने समेत टंकबहादुरको प्रतिवादी ।
११. लिखत पास गरी पाउँ भन्ने मुद्दा परी फैसला बमोजिम ०१३।८।२६ मा लिखत पास भएको नक्कलबाट देखिएको ४ बर्ष पछि किर्ते हो भनी टंकबहादुरले प्रतिउत्तर जिकिर लिंदैमा त्यतिकै भरबाट फैसला राजीनामालाई मान्यता नदिई सो लिखत किर्ते सद्देमा तहकिकात गर्न नमिल्ने हुनाले किर्ते भन्ने टंकबहादुरको दावी पुग्न सक्तैन भन्ने समेत पूर्व २ नं.चरिकोट इलाका अदालतको ०१७।१२।१३ को फैसला ।
१२. टंकबहादुरका भनाई जिकिर बमोजिम निजका बाबुहरूले गरी दिएको भनेको मो.रु.३९९०। को राजीनामा लिखत किर्ते भए टंकबहादुरले ऐन बमोजिम उजुर गर्नु पर्ने गरेको पनि नदेखिएको र सो लिखत सद्दे ठहराई इ.अ.चरिकोटबाट छिन्ने उपर अपील गर्न नसकेकोले त्यस तर्फ केही बिचार गर्नु नपर्ने । प्रतिवादी यिनी अपीलाटको १ जना साक्षी चन्द्रलाल पाध्यायको ०१५।१।९ मा गरेको बकपत्रमा पुस्ताबारी थाहा छैन । बोलाउँदा काका भतीजा भनी सुनेको हुँ भनेको । अरु साक्षीले हकदारै होइन भन्न नसकेको । लिखत बमोजिमको मोरु ३९९०। लिई ३५ दिन भित्र आउनु भनी अपीलाटलाइ सुनाई दिने । म्याद भित्र दाखिल गरे ऐन बमोजिम गर्ने । शुरुले प्रतिवादी पर्नासाथ सुनाउनु पर्ने नसुनाएमा रु.१ जरिवाना गर्ने भनी अ.दो.बाट ०१५।७।१९ मा पर्चा गरेको । सो पर्चाको म्याद भित्र ऐ मार्ग २३ गतेमा अ.त.बिगो फाँटमा थैली धरौट रहेको देखिनाले अ.दो. का फैसलामा लेखिएका बुंदा प्रमाणबाट इन्साफ दोलखा अदालतको उल्टी गरी छिनेको अपील दोश्रोको मुनासिव भन्ने समेत सर्वोच्च अदालत डिभिजन बेञ्चको ०१९।५।१३।४ को फैसला ।
१३. सा.अ. का १३ नं.बमोजिम प्रतिउत्तर परेको ३५ दिन भित्र धरौट नराखे लिए दिएको पक्का हुन्छ भन्ने उल्लेख भएको । ३५ दिन भित्र वादीले धरौट नराखेको देखिएपछि उक्त ऐन, बमोजिम वादीले निखन्न नपाउने । ऐनले तोकिएको तारेख छँदा छँदै अड्डाले तारेख नतोकेको भनी ऐन काटी फैसला हुनु अन्याय र गैरकानूनी हो । भएको फैसलामा चित्त बुझेन । दोहर्याई फुल बेञ्चबाट हेरी पाउँ भन्ने समेत प्रतिवादी नरबहादुर पाण्डेको निवेदनपत्र पेश हुँदा लिखत पास मुद्दा चली पास हुने ठहरेको । उस बखत हक सफा तर्फ कसैले दावी नगरेको । वादीले पनि म्याद नाघेपछि बिदेश गएको र हकवाला हुँ भनी थैली धरौट नराखी निखनाई पाउँ भनी शुरु अदालतमा फिराद गरेकोमा थैली धरौट नराखेको भनी शुरुबाट खारेज भएको । अपीलबाट धरौट राख्न लगाइ निखन्न पाउने फैसला गरेको डिभिजन बेञ्चबाट पनि सदर हुँदा चित्त बुझेन । वादी हकदार पनि हैन । शुरुमा थैली धरौट नराखेकोमा अपीलले धरौट राख्न लगाउने कानूनी व्यवस्था छैन भनी निवेदकका वकीलले रोहवरमा जिकिर सुमेत गरेकोले व्यहोरा साँचो भए कानूनी प्रश्न समेत हुनाले दोहरिने निस्सा दिएको छ । दुवैपक्ष राखी फुल बेञ्चमा पेश गर्नु भन्ने समेत माननीय प्रधान न्यायाधीशज्यूको ०१९।१०।११।५ को आदेश ।
(१४) माननीय प्रधान न्यायाधीशज्यूबाट दोहरिने निस्सा भएको आदेश हेर्दा सर्वोच्च अदालत नियमावलीको संशोधित नियम ६३ (४) अनुरुप नदेखिंदा प्रस्तुत मुद्दा दोहर्याई हेर्न नमिल्ने भन्ने समेत सर्वोच्च अदालत फुल बेञ्चको ०२१।२।३० को आदेश ।
(१५) सर्वोच्च अदालत नियमावली संशोधित नियम ६३ (४) अनुसार प्रधान न्यायाधीशले दोहर्याउने आदेश दिएकोमा खारेज गरी सकेको पनि सबै पुनः जंचाई हेरी रुल नियम बमोजिम दोहर्याई हेर्नु भनी लेखी पठाई दिनु भनी हुकुम बक्सेको छ भनी ०२१।४।१३ मा मौसूफका प्रमुख सचिवालयबाट लेखि आएको हुकुम प्रमांगी ।
१६. उक्त प्रमांगीको व्यहोरा पेश हुँदा बक्स भई आएका हुकुम प्रमांगी बमोजिम गर्न दुवै पक्ष झिकाई फुल बेञ्चमा पेश गर्नु भन्ने माननीय प्रधान न्यायाधीशज्यूको ०२१।४।२८ को आदेश ।
१७. तारेखमा रहेका दुवै पक्षका वारेसहरू रोहवरमा रहि २२।१।१५।३ मा पेश भई निवेदक, प्रतिवादी नरबहादुर तर्फबाट विद्वान एडभोकेट कृष्णप्रसाद घिमिरेले गर्नु भएको बहस समेत सुनी आजको निर्णय सुनाउने तारेख तोकिएको प्रस्तुत मुद्दामा साहु असामीको १३ नं.बमोजिम प्रतिउत्तर परेपछि थैली थाहा पाई सो मितिले ३५ दिन भित्रै वादीले थैली धरौट राख्न सक्नु पर्ने नसकेकोले निखनाई पाउँ भन्ने वादीको दावा नै पुग्न नसक्ने भन्ने तर्फ नै निवेदक तर्फको मुख्य जिकिर भएकाले सर्वप्रथम त्यस तर्फ नै बिचार गर्नु पर्ने हुन आयो ।
१८. सो थैली धरौट राख्ने बिषयमा भएको कानूनी व्यवस्था हेर्दा तत्काल प्रचलित साहु असामीको १३ नं. मा निखनाई पाउँ भनी नालिस उजुर गर्न आउँदा थैली थाहा भएकोमा नालिस साथ र थैली थाहा नभएकोमा प्रतिउत्तर परी मुख मिलेकोमा सो प्रतिउत्तर परेको ३५ दिन भित्र थैली धरौट राख्नुपर्छ भन्ने र सो म्याद भित्र थैली धरौट राख्न ल्याएन भने असामीले नै बन्धकी र दृष्टि निखनी लिने बाहेक अरु निखनी लिने कुरामा निखनी लिन पाउँदैन भन्ने समेत उक्त ऐनमा व्यवस्था भएको पाइन्छ ।
१९. वादी रत्नबहादुले पहिले नालिस गर्दा थैली यकिन नभएको भनी नालिस साथ थैली धरौट नराखेको । यस्तो अवस्थामा उक्त साहु असामीको १३ नं.बमोजिम प्रतिउत्तर परेपछि थैली थाहा पाउने प्रयास गरी थाहा पाई मुख मिलेमा सो प्रतिउत्तर परेका ३५ दिन भित्र थैली धरौट राख्नु पर्ने कर्तव्य वादीको नै हुन आउने हुँदा साहु नरबहादुरको ०४।८।२८ मा प्रतिउत्तर परेपछि पनि प्रस्तुत मुद्दामा थैली तर्फ घटी बढी भन्ने वादीको जिकिर नभएकाले उक्त साहु असामीको १३ नं.बमोजिम प्रतिउत्तर परेका ३५ दिन भित्र थैली धरौट राख्न सक्नु पर्नेमा ऐनको म्याद भित्र थैली धरौट दाखिल नगरेको भनी आफू प्रति दोष लगाई पू.२ नं.दोलखा अदालतबाट ०१५।१।१०।३ मा हराई फैसला भईसकेपछि सो उपर ०१५।२।६मा अपील गर्दासम्म पनि वादीले थैली धरौट राख्ने तर्फ उत्सुकता देखाई अपील साथ समेत थैली धरौट राख्न सकेको देखिएन ।
२०. लिखत बमोजिमको रु.३९९०। लिई ३५ दिन भित्र हाजिर हुन आउनु भनी अपीलाटको वारेसलाई सुनाई म्याद भित्र थैली धरौट दाखिल गरेमा ऐन सवाल बमोजिम गर्ने । प्रतिवादी पर्नासाथ थैली दाखिल गर्न ल्याउनु भनी सुनाउनु पर्ने । नसूनाएमा शुरु दोलखा अदालत का डि. जहान सिंहलाई रु.१ जरिबारना गर्ने भन्ने समेत अपील दोश्राबाट ०१५।७।१९।३ मा पर्चा गरी सुनाई ०१५।८।२३ मा मात्र सो थैली धरौट राखेर खाएको देखिएको र माथि उल्लेख भए बमोजिम आखीर शुरु अड्डाको फैसला भएपछि थाहा पाए पनि स्वतः थैली धरौट नराखेको अवस्थामा त्यस्तो थैली दाखिल गर्न ल्याउनु भनी अड्डाले सुनाउनु पर्ने र अड्डाले सुनाएको ३५ दिन भित्र थैली धरौट राख्न ल्याए राख्न पाउने समेत ऐनमा व्यवस्था भएको नदेखिएकोले धरौट राख्नु पर्ने ऐनको म्याद खिलाप भई निखन्न नपाउने गरी शुरु तहबाट फैसला समेत भईसकेपछि बीचमा अपील दोश्राले पर्चा गरी सुनाई धरौट रखाएको समेत उक्त कारवाई कानूनको अनुरुप नहुँदा त्यस किसिमपछि धरौट राखेकोलाई मान्यता दिन मिल्ने देखिन आएन ।
२१. तसर्थ, साहु असामीको १३ नं. ले निर्धारित गरेको म्याद भित्र वादीले थैली धरौट राख्न नसकेको र सो म्याद भित्र थैली धरौट राख्न नल्याएकोमा निखनी लिन पाउँदैन भन्ने उक्त साहु असामीको १३ नं. मा प्रष्ट उल्लेख हुनाले प्रस्तुत मुद्दामा अरु कुरा बिचार गरी रहनु नपरी उपरोक्त कारणबाट निखनाई पाउँ भन्ने वादीको उजुर खारेज हुने ठहर्छ । उजुर झुठा ठहराई इन्साफ गरेको पू.२ नं.दोलखा अदालतको र निखन्न पाउने ठहराएको अपील दोश्रा तथा डिभिजन बेञ्चको समेत मुनासिव देखिएन । अरु तपसील बमोजिम गर्नु ।
तपसील
वादी रत्नबहादुर सुनुबार के निजको उजुर खारेज भएकोले निजको ०१५।८।२३।२ मा अ.त.बि.गो.फाँटमा धरौट राखेको रु.३९९०। निजलाई नै ऐन सवालको रीत पुर्याई फिर्ता दिनु भनी र सो धरौट नरबहादुरलाई बुझाई दिने गरेको अपील दोश्राको ०१५।१।२।६ का फैसला बमोजिमको लगत काटी दिनु भनी का.क्षे.अ.त. मा लगत दिनु …………………..१
वादी रत्नबहादुर सुनुबार के निजको उजुर खारेज हुने ठहरेकोले उजुरी झुठा ठहरेमा बिगो रु.३९९०। को लेनदेन व्यहारको महलको ३८ नं.सैकडा २।५०ले रु.९९।७५ हुनेको अ.बं.१८० नं.सैकडा ५ले रु.४।९९ दण्ड हुन्छ निजलाई पू.२ नं.दोलखा अदालतले ०१५।१।१०।३ को फैसलाले लाग्ने गरेको दण्ड रु.९९।५० अपील दोश्राको ०१५।११।२।६ का फैसलाले नलाग्ने असूल भए फिर्ता बाँकी भए लगत कट्टा गरी दिने भनी लगत दिएकोमा सो रु.९९।५० मध्ये लाग्ने ठहरेको उक्त रु.४।९९ कायमै राखी बाँकी ९४।५१ मात्र नलाग्ने हुँदा लगत मिलाई सो रु.९४।५१ असुल भए फिर्ता बाँकी भए लगत कट्टा गरी दिन समेत ऐ ……………………२
देहायका मानिसले अपील दोश्राको ०१५।११।२।६को फैसलाले गर्ने गरेको देहाए बमोजिम नलाग्ने हुँदा असुल भएको फिर्ता बाँकी भए लगत कट्टा गरी दिनु भनी ऐ ऐ ……………..३
खिपि बस्ने हर्ष बहादुर थाप के दण्ड रु.१।
ऐ बस्ने चन्द्रलाल के दण्ड रु.१।
ऐ बस्ने अम्बरबहादुर खत्री के दण्ड रु.१।
ऐ बस्नेबहादुर दमै के दण्ड रु.१ ।
ऐ बस्ने लालबहादुर बुढाथोकी के ऐ १।
ऐ बस्ने जगतबहादुर खत्री के रु.१।
पूर्व २ नं.दो.अ. का डि जहासिं हथा के जरीवाना रु.१ ।
ऐ बस्ने कर्णबहादुर के ऐ १ ।
प्र.नरबहादुर पाण्डे पु २ नं.धारापानी के ऐ रु.पाच ५।
पु.२ नं.दोलखा अदालतका डि. जहान सिंह के अपील दोश्राको १५।७।१९।२ को पर्चाले गर्ने गरेको जरिवाना रु.१।
नलाग्ने हुन असुल भए फिर्ता बाँकी भए लगट कट्टा गर्ने ऐ.४
प्र.निवेदक नरबहादुरलाई डिभिजन बेञ्चको ०१९।५।१३ को फैसलाले गर्ने गरेको दण्ड रु.५० असुल भएको भए फिर्ता बाँकी भए लगत कट्टा गरिदिन ऐ …………………५
अपील दोश्रा का.सु.शारदाप्रसाद हाल नोकरीमा बहाल नहुँदा धरौटत लिने तर्फ गल्ती पर्चा गरेमा र गल्ती इन्साफ गरेमा केही गर्नु परेन ……………………….६
पु.२ नं.दोलखा अदालतका डि. जहान सिं के खारेज गर्नु परेमा इन्साफ गरेका रेकर्ड राख्न रजिष्ट्रार अफिसमा सूचना दिनु …………………………७
नियम बमोजिम मिसिल बुझाइदिनु ………………………….८
इति सम्वत् २०२२ साल बैशाख २२ गते रोज ३ शुभम् ।