निर्णय नं. २८४८ – चोरी
निर्णय नं. २८४८ ने.का.प. २०४३ अङ्क ९ संयुक्तइजलास माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४२ सालको फौ.पु.नं. ३७५, ६६४ फैसला...
निर्णय नं. २८४८ ने.का.प. २०४३ अङ्क ९
संयुक्तइजलास
माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह
माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल
सम्वत् २०४२ सालको फौ.पु.नं. ३७५, ६६४
फैसला भएको मिति : ०४३।९।८।३ मा
पुनरावेदक/वादी : प्र.ज. ढुण्डीराजको प्रतिवेदनले श्री ५ को सरकार
विरुद्ध
विपक्षी/प्रतिवादी : जोवारा गा.पं.वार्ड नं.२ बस्ने कृष्णबहादुर गुरुङसमेत
पुनरावेदक/प्रतिवादी : भरतपुर नगर पञ्चायत वडा नं.११ बस्ने जिताली गुरुङ
विरुद्ध
प्रत्यर्थी/वादी : ढुण्डीराज समेतको जाहेरी श्री ५ को सरकार
मुद्दा : चोरी
(१) सयकडा १५ भन्दा बढी नाफा हुने गरी कागज नगरी सामान किनेको रहेछ भने चोरीको भनी जानी जानी खरीद गरेको अनुमान गर्नु पर्ने ।
(प्रकरण नं. २८)
पुनरावेदक/वादीतर्फबाट : विद्वान उपन्यायाधिवक्ता श्री आत्माराम भट्टराई
पुनरावेदक/प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री प्रकाश वस्ती
फैसला
न्या.बब्बरप्रसाद सिंह : मध्यमाञ्चल क्षेत्रीय अदालतको मिति २०४२ साल बैशाख ४ गतेको फैसला उपर वादी श्री ५ को सरकार तथा प्रतिवादी जितालीको तर्फबाट पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य पुनरावेदन जिकिर एवं निर्णय यसप्रकार छ ।
२. भरतपुर नारायणगढ लंकुमा समेत बराबर चोरी भइरहेकोले चोरको सुराक पत्ता लगाउँदै जाँदा गोलबहादुर शंकास्पद देखिएकोले निजलाई पक्राउ गरी केरकार गर्दा विभिन्न ठाउँमा चोरेको हो भनी भनेको हुँदा कारवाही गरी पाउँ भन्ने समेत व्यहोराको प्र.ज.ढुण्डीराजको प्रतिवेदन ।
३. खुलापेक ६, सिलबन्दी पेक ४ कार्टुन पेक, रिक्सोना साबुन २ पोका, सुर्ति, डाल्डा घिउ १ टिन आधा समेत बरामद भएको हो भन्ने समेत जिताली गुरुङको घर खानतलासी मुचुल्का ।
४. २०३८ साल कार्तिक महीनामा नारायणघाट लक्की स्टोरबाट ९ कार्टुन पेक रिक्सोना साबून २५ पुरिया चियापत्ति कृष्णबहादुर, प्रेमबहादुर, बुढा तामाङ् र म समेतले चोरी गरी चियापत्ति श्यामकृष्ण श्रेष्ठलाई र साबुन जिताली गुरुङलाई बिक्री गरेको हो भन्ने समेत व्यहोराको अभियुक्त बीरबहादुर तामाङ्को प्रहरीमा भएको कागज ।
५. २०३८ साल आश्विन महीना हो गते वार सम्झना छैन नारायणगढ लक्की स्टोरको दिनेशप्रसाद कल्वारको गोदाम घरबाट प्रेमबहादुर तामाङ्, बूढा तामाङ्, विरबहादुर तामाङ् र म समेत ४ जना भई रिक्सोना साबुन ९ पेक, चियापत्ति (सानो) २०–२५ बट्टा चोरी गरी लगी बसेनी बजारको जिताली गुरुङको दोकानमा रु.८००।– मा बिक्री गरी ४ जनाले बराबर बाँडी लिई खायौं भन्ने समेत व्यहोराको कृष्णबहादुर गुरुङको कागज ।
६. वीरबहादुर तामाङ्, गोलबहादुर गुरुङ, बुढा तामाङ् र म समेत भई ग्यामन कम्पनीको छड् २ क्वीन्टल चोरी गरी श्यामकृष्ण श्रेष्ठको पसलमा बिक्री गरी र नारायणगढको नेवारको घरबाट १ टिन आधा डाल्डा घिउ र सूर्ति समेत चोरी गरी जितालीको दोकानमा बिक्री गरी बाँडी खाएका हौं भन्ने समेत व्यहोराको प्रेमबहादुर तामाङ्को कागज ।
७. २०३८ साल आश्विन महीना हो गते वार याद छैन कृष्णबहादुर गुरुङ चिनेका र अरु नचिनेका मानिसहरू संग चामल घिउ खाने तेल २ क्वीन्टल जति छड् र चियापत्ति समेत खरीद गरी लिएको हुँ चामल र चियापत्ति बेची सकें भन्ने समेत व्यहोराको श्यामकृष्ण श्रेष्ठको कागज ।
८. ०३८ साल आश्विन महीना हो गते बार याद भएन, गोलबहादुर र अरु नचिनेका जम्मा ४ जनाले एकटिन आधा डाल्डा घिउ र सूर्ति ल्याएकोले खरीद गरी राखेको हुँ भन्ने समेत व्यहोराको जिताली गुरुङको कागज ।
९. २०३८।६।२८ गते राती लक्की स्टोरबाट रिक्सोना साबुन चियापत्ति चोरी भएको बरामदी भएको हो रिक्सोना साबुन पिस १ को रु.३।२८ पर्छ चोर वीरबहादुर, प्रेमबहादुर, कृष्णबहादुर समेत हो भन्ने समेत व्यहोराको सरजमीन मुचुल्का ।
१०. २०३८।६।२८ गते राती लक्की स्टोरबाट चोरी भई हाल बरामद हुन आएका सामानहरू नै लक्की स्टोरका सामानहरू हुँदा चोरहरूलाई सजायँ गरी सामान फिर्ता पाउँ भन्ने समेत व्यहोराको लक्की स्टोरका मेनेजर भरतप्रसाद कलवारको कागज ।
११. अभियुक्तहरूले बिगो रु.४,८७३।२० चोरी गरी मालसामान किनबेच समेत गरेको प्रष्ट हुनआएकोले अभियुक्तहरू बीरबहादुर, कृष्णबहादुर, प्रेमबहादुरलाई चोरीको १४(१) नं. बमोजिम दोश्रोपटक सजायँ भई माल धनीलाई बाँकी रु.३,७४९।०४ को साबुन बरामद भएकोले बिगो रु.१,१२४।१६ अभियुक्तबाट बराबरका दरले भराई साबुन माल धनीलाई फिर्ता दिने र चोरीका सामान भन्ने जानी जानी खरीद गरेको प्रष्ट हुनआएकोले श्यामकृष्ण उपर दोश्रोपटक र जिताली गुरुङ उपर पहिलो पटक चोरीको २४ नं.बमोजिम सजायँ गरी पाउँ भन्ने समेत व्यहोराको प्रहरी प्रतिवेदन ।
१२. बरामद भएको सबै साबुनहरू मैले वीरगञ्जको साहूबाट २०३८ सालमा खरीद गरी लिएको हुँदा सबै मेरै साबुनहरू हो । प्रहरीमा मलाई नसुनाई कागजमा सहिछाप गराएका हुन् भन्ने समेत व्यहोराको प्र.जिताली गुरुङको अदालतमा भएको बयान ।
१३. मैले साबुन चोरी गरेको पनि छैन र बेचेको पनि नहुँदा म उपरको दावा सबै झुठ्ठा हो भन्ने समेत व्यहोरा कृष्णबहादुरको बयान ।
१४. मलाई प्रहरीमा लेखेर ल्याएको कागजमा सहिछाप गराएका हुन् मैले कसैको सामान चोरेको पनि छैन चोरी ल्याएको सामानहरू विभिन्न साहूहरू कहाँ बिक्री गर्न लगेको समेत नहुँदा म उपरको झुठ्ठा दावीबाट फुर्सद पाउँ भन्ने समेत व्यहोरा प्र.वीरबहादुर तामाङ्को बयान ।
१५. प्रहरीमा मलाई कागज नसुनाई सहिछाप गराएका हुन मैले चोरी पनि नगरेको र मालसामान साहू कहाँ बेच्न लगेको समेत नहुँदा झुठ्ठा आरोपबाट फुर्सद पाउँ भन्ने समेत व्यहोराको प्र.प्रेमबहादुर तामाङ्को बयान ।
१६. प्रहरीमा भएको बयान कागजलाई अदालतमा सुनाउँदा मात्र सुनें त्यहाँ मलाई कुटपिट गरी सहिछाप गराएका हुन् खानतलासी गर्दा निस्किएको सामानहरू मेरो घरको हो । चोरी गरेर ल्याएको सामानहरू किनेर लिएको नभई मेरो चामल दाल नुन समेत विभिन्न चिजको व्यापार गर्ने दोकान हुँदा त्यहींबाट बरामद गरेको छड् घर बनाउन पटक पटक गरी खरीद गरेको हुँदा मैले चोरी गरेर ल्याएको सामानहरू किनेको होइन भन्ने समेत व्यहोरा प्र.श्यामकृष्ण श्रेष्ठको बयान ।
१७. जाहेरवाला सरजमीन तथा प्रतिवादीका साक्षीहरूको बकपत्र भएको रहेछ ।
१८. वादी पक्षबाट कुनै ठोस सबूद प्रमाण दाखिल हुनसकेको नदेखिएकोले प्र.श्यामकृष्ण र जिताली गुरुङ समेतले चोरीको माल जानी जानी किनेको ठहर्दैन सफाई पाउने ठहर्छ र अन्य प्रतिवादीहरूले चोरी गरेको होइन भनी सबूद प्रमाण दिन नसकेकोले प्र.कृष्णबहादुर र प्रेमबहादुरले दोश्रोपटक र बीरबहादुरले पहिला पटक चोरी गरेको ठहर्छ भन्ने समेत व्यहोराको शुरु चितवन जि.अ.बाट ०३९।५।११ गते भएको फैसला ।
१९. जिताली गुरुङ र श्यामकृष्ण श्रेष्ठले रु.४,८७३।२० को मालसामानहरू ९००।– मा किनेको देखिँदा चोरीको माल हो भन्ने जानाजानी लिएको देखिनुको साथै बिगो कायम गरेको समेत नमिलेको हुँदा शुरुको फैसला बदर गरी प्रतिवेदन दावी बमोजिम गरी पाउँ भन्ने समेत व्यहोराको वादी श्री ५ को सरकारको तर्फबाट म.क्षे.अ.मा परेको पुनरावेदन ।
२०. चोरीको माल सामानहरू किन्ने भनिएको प्र.जिताली गुरुङ र प्र.श्यामकृष्ण श्रेष्ठलाई सफाई दिने ठहर गरेको इन्साफ फरक पर्ने हुँदा निजहरूलाई अ.बं. २०२ नं. र क्षे.अ.नियमावली बमोजिम झिकाई पेश गर्नु भन्ने समेत म.क्षे.अ.को आदेश रहेछ ।
२१. प्रतिवादीहरू वीरबहादुर, कृष्णबहादुर र प्रेमबहादुरको सम्बन्धमा शुरु जि.अ.ले निजहरूलाई चोरी गरेको ठहराएको र सो उपर निजहरूको पुनरावेदन समेत गरेको नदेखिएबाट प्रस्तुत मुद्दामा निजहरूको सम्बन्धमा सफाई तर्फ अरु विचार गरी रहन परेन र चोरीको १२ नं.अनुसार जम्मा चोरीको बिगो बमोजिम जरिवाना समेत हुने व्यवस्था भएकोमा सो बमोजिम जरिवाना गरेको नदेखिँदा उक्त प्रतिवादी बीरबहादुर कृष्णबहादुर र प्रेमबहादुरलाई बरामद भएको चोरीको मोल रु.३,७४९।०४ को जनही जरिवाना समेत हुनेमा सो जरिवाना नगरेको मिलेको नहुँदा उक्त अनुसार निज प्र.हरूलाई जरिवाना हुने समेत देखियो ।
२२. प्रतिवादी श्यामकृष्णको हकमा शुरु जि.अ.ले सफाई दिएको मनासिब ठहर्छ । प्रतिवादी जीतली गुरुङका हकमा निजलाई प्रहरी प्रतिवेदन वादी बमोजिम चोरीको २४ नं.बमोजिम कसूर गरेको हुँदा पहिला पटक बिगो बमोजिम जरिवाना हुने ठहर्छ । अभियुक्त प्रतिवादीहरू मध्ये चोरी ठहर्याएकालाई चोरीको १४ नं.बमोजिम डेढो बढाई सजायँ हुनुपर्ने भन्ने तथा अभियुक्त मध्ये श्यामकृष्ण श्रेष्ठका सम्बन्धमा वादी श्री ५ को सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन शुरु जि.अ.को इन्साफ सो हदसम्म उल्टी हुन्छ भन्ने समेत म.क्षे.अ.को २०४२।१।४।३ को फैसला रहेछ ।
२३. प्रतिवादीहरूलाई वादी दावी बमोजिम पटक कायम भई सजायँ हुनुपर्नेमा सो नगरी कानुनको त्रुटि गरी गरेको म.क्षे.अ.को फैसलामा चित्त नबुझेकोले उक्त म.क्षे.अ.को फैसला उपर पुनरावेदन गर्न अनुमति पाउँ भन्ने समेत वादी श्री ५ को सरकारको तर्फ बाट यस अदालतमा पर्न आएको निवेदनमा न्या.प्र.सु.ऐन, २०३१ को दफा १३(५)(ख) बमोजिम पुनरावेदन गर्न अनुमति प्रदान गरिएको छ भन्ने समेत यस अदालत डिभिजनबेञ्चको मिति २०४२।२।३० को आदेश रहेछ ।
२४. चोरीको २४ नं.बमोजिम कसूर गरेको भनी बिगो बमोजिम जरिवाना हुने ठहर गरेको म.क्षे.अ.को इन्साफमा गम्भीर कानुनी त्रुटि तथा विभिन्न जिकिरहरूको समेत त्रुटि गरी फैसला गरेको हुँदा उक्त इन्साफमा चित्त बुझेन पुनरावेदन गर्ने अनुमति पाउँ भन्ने समेत प्रतिवादी जीताली गुरुङको यस अदालत पर्न आएको निवेदनमा चोरीको २४ नं.लगाई निवेदक प्रतिवादीलाई सजायँ गर्ने गरेको म.क्षे.अ.को निर्णयमा उक्त चोरीको २४ नं.को त्रुटि देखिन आएकोले न्या.प्र.सु.ऐन, २०३१ को दफा १३(५)(१) बमोजिम पुनरावेदन गर्ने अनुमति प्रदान गरिएको छ भन्ने समेत यस अदालत डिभिजनबेञ्चको मिति २०४२।२।२३ को आदेश रहेछ ।
२५. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी बेञ्च समक्ष पेश भई आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादी श्री ५ को सरकारको तर्फबाट बहसको लागि उपस्थित हुनुभएका विद्वान उपन्यायाधिवक्ता श्री आत्माराम भट्टराईले गोदाम घरको ढोका फोडी चोरी भएको र चोरी भएको ठहर गरेकोमा अभियुक्त वीरबहादुर समेतको पुनरावेदन परेको छैन त्यसले चोरी भएको कुरा निर्विवाद र;यो । नकवजनी चोरीमा सजायँ हुनुपर्ने भन्ने प्रहरी प्रतिवेदन दाखिल भएकोमा सामान्य चोरी गरेको मिलेन बसन्तलालको घर चोरी भएकोमा यी वीरबहादुर समेतका अभियुक्तहरूले चोरी गरेको ठहर भएपछि भरतप्रसादको रेक्सोना साबुन चोरी भएकोमा दोश्रोपटक कायम गरी सजायँ हुनुपर्ने भनी बहस गर्नुभएको र पुनरावेदक जीताली गुरुङको तर्फबाट विद्वान अधिवक्ता श्री प्रकाश वस्तीले जीताली गुरुङलाई चोरीको माल जानी जानी किनेको भनी चोरीका २४ नं.बमोजिम सजायँ गरेको मिलेन चोरीका २३ नं. बमोजिम सयकडा १५ प्रतिशत भन्दा बढी मुनाफा लिने गरी किन्न मात्रै पर्याप्त होइन चोरीको भनी जानी जानी किनेको हुनुपर्दछ भनी गर्नुभएको बहस जिकिर समेत सुनियो ।
२६. प्रस्तुत मुद्दामा म.क्षे.अ.ले गरेको इन्साफ मिले नमिलेको के रहेछ सो सम्बन्धमा निर्णय दिनु पर्ने हुन आयो ।
२७. यसमा मिसिल अध्ययन गर्दा चोरीको वारदात भएको रुप हेर्दा भरतप्रसादको गोदाम घरको ढोका फोडी चोरी भएको भन्ने भरतप्रसादको कागजबाट देखिन्छ । २०३८ साल कार्तिक १८ गते भएको मुचुल्काबाट गोदाम घरको ढोका फोडिएको र ढोका टालिएको भन्ने देखिन्छ । खुला ढोकाबाट पसी चोरी भएको भन्न सकिने देखिएन । यस स्थितिमा नकवजनी चोरीको वारदात कायम हुन्छ । म.क्षे.अ.बाट सामान्य चोरी ठहर गरेको हदसम्म बदर हुन्छ ।
२८. अब जीताली गुरुङका हकमा विचार गर्दा प्र.जीताली गुरुङको घर दोकानबाट रेक्सोना साबुन बरामद भएको देखिन्छ । बरामदी मुचुल्कामा जीताली गुरुङ रोहवरमा रहेको देखियो सो मुचुल्कामा सो बरामद भएको सामान अन्तै किनेर लिएको भन्ने व्यहोरा जनाइएको देखिन्न प्रहरीमा कागज गर्दा जीताली गुरुङले वीरबहादुर तामाङ् समेतबाट रेक्सोना साबुन ९ प्याक रु.२,७००।– मा खरीद गरी लिएको हो चोरीको हो होइन थाहा छैन भनी कागज गरी दिएको वीरबहादुर समेतलाई प्रहरीमा कागज गराउँदा ८००।– मा बिक्री गरी दिएको भनी लेखाई दिएको पाइन्छ र सरजमीन हुँदा रुद्रकुमार श्रेष्ठ समेतले जीताली गुरुङले चोरीको माल भनी जानी जानी खरीद गरी लिएको भनी लेखाई दिएको पाइन्छ । अदालतमा रुद्रकुमार श्रेष्ठलाई बकाउँदा पनि जीताली गुरुङले चोरीको माल भनी जानी जानी लिएको भनी बकपत्र गरेको पाइयो । सरजमीनका मंगलप्रसादले पनि अदालतमा सोही कुरालाई समर्थन गरी बकपत्र गरेको पाइयो । चोरीको २३ नं. हेर्दा सयकडा १५ भन्दा बढी नाफा हुने गरी कागज नगरी सामान किनेको रहेछ भने चोरीको भनी जानी जानी खरीद गरेको अनुमान गर्नु पर्ने अवस्था देखिएको छ । उसमा पनि मिसिल संलग्न कागजातबाट जिताली गुरुङले चोरीको खरीद गरेको पुष्ट्याई भएको हुँदा विद्वान अधिवक्ता प्रकाश वस्तीको बहससंग यो बेञ्च सहमत हुन सकिएन जीताली गुरुङलाई सजायँ गर्ने गरेको म.क्षे.अ.को इन्साफ मिलेकै छ । म.क्षे.अ.को इन्साफ केही उल्टी हुन्छ । अरु तपसील बमोजिम गर्नु ।
तपसील
प्रतिवादी देहायको मानिसके माथि इन्साफ खण्डमा लेखिए बमोजिम नकवजनी चोरी गरेको ठहर भएकोले चोरीको १४(१) नं. बमोजिम बिगोको डेढी सजायँ हुने भई म.क्षे.अ.ले साधारण चोरी गरेको ठहर्याई गरेको सजायँ डेढी हुन्छ । देहायका मानिसके देहाय बमोजिम जरिवाना र कैद हुने हुँदा बेरुजु हुँदा लगत कसी असूल गर्नु भनी शुरु जि.अ.मा लेखी पठाउन का.जि.अ.त.मा लगत दिनु……..१
जरिवाना कैद
प्र.कृष्णबहादुरके
बिगो रु.३७४९।४
को डेढीले रु.५६२३।५६ ४ महीना १५ दिन
प्र.प्रेमबहादुर तमाङ्
के ऐ.ऐ.ले रु.५६२३।५६ ४ महीना १५ दिन
प्र.वीरबहादुर के
पहिला पटक हुँदा
निजलाई लाग्ने रु.५६२३।५६ १ महीना १५ दिन प्रतिवादी पुनरावेक जीताली गुरुङ के माथि इन्साफ खण्डमा लेखिए बमोजिम म.क्षे.अ.को इन्साफ मनासिब ठहरेकोले अ.बं.२०३ नं. बमोजिम म.क्षे.अ.ले गरेको जरिवाना रु.३७४९।४ को पुनरावेदन गरे बापत पुनरावेदनको यो पहिलो पुनरावेदन हुँदा सयकडा १० प्रतिशतले रु.३७४।९० जरिवाना हुन्छ वेरुजु हुँदा लगत कसी असूल गर्नु भनी शुरु जि.अ.मा लेखी पठाउन का.जि.अ.त.मा लगत दिनु…..२
म.क्षे.अ.को इन्साफ केही उल्टी भएकोले म.क्षे.अ.को मा.मु.न्या.श्री हिण्येश्वरमान प्रधान तथा मा.न्या.श्री अरविन्द नाथ आचार्यको केही उल्टीमा रेकर्ड राख्नु…..३
मिसिल नियम बमोजिम गरी बुझाई दिनु……..४
उक्त रायमा म सहमत छु ।
न्या.प्रचण्डराज अनिल
इतिसम्वत् २०४३ साल पौष ८ गते रोज ३ शुभम् ।