निर्णय नं. २८४४ – उत्प्रेषण
निर्णय नं. २८४४ ने.का.प. २०४३ अङ्क ९ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी सम्वत् २०४२ सालको रिट नम्बर २३६० आदेश...
निर्णय नं. २८४४ ने.का.प. २०४३ अङ्क ९
डिभिजनबेञ्च
माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह
माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी
सम्वत् २०४२ सालको रिट नम्बर २३६०
आदेश भएको मिति : २०४३।३।२०।६ मा
निवेदक : जिल्ला महोत्तरी वनौटा गा.पं.वडा नं.३ बस्ने रुपनारायण साह सुडी
विरुद्ध
विपक्षी : भूमिसुधार कार्यालय महोत्तरीसमेत
विषय : उत्प्रेषण
(१) मोहीको मृत्यु भन्दा अगाडि निजको छोराले बाली बुझाएको भए तापनि जग्गाधनीले सोही छोरालाई मोहीको मृत्यु पछि पनि पत्याएको भनी मान्न मिल्ने अवस्था नदेखिने ।
(प्रकरण नं. १०)
(२) मोहीको मृत्यु पछि मोही रोज्न पाउने हक जग्गावालालाई रहने ।
(प्रकरण नं. १०)
निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री दमन ढुङ्गाना
विपक्षीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री प्रेमबहादुर विष्ट र विद्वान वरिष्ठ अधिवक्ता श्री कुञ्जविहारीप्रसाद सिंह
आदेश
न्या.सुरेन्द्रप्रसाद सिंह : नेपालको संविधानको धारा ७१ अन्तर्गत दायर हुनआएको प्रस्तुत रिट निवेदनपत्रको संक्षिप्त तथ्य यसप्रकार रहेछ ।
२. विपक्षी लछुमन साह र रामचन्द्र साहको पिता सरजुग साहका नाममा दर्ता रहेको म.जि.बलवा आदर्श गा.पं.वडा नं.९(क) कि.नं.५ को ०–७–५½ र कि.नं.७ को ०–४–० तथा प्रत्यर्थी लछुमन साहु एवं राम पुनीत साहको पिता दुलार साहका नाममा दर्ता रहेको आ.गा.पं.बलवा वडा नं.९(क) कि.नं.४ को ०–१८–१० समेतको जग्गाहरू म निवेदकको पिता पलट साहले मोहीमा कमाउँदै आएकोमा २०२९ सालमा परलोक हुनु भयो । जग्गा नाप जाँच हुँदा म निवेदकले किसान महलमा पिता पलटकै नाम लेखाई जग्गा म निवेदकले कमाउँदै आएको छु । व्यहोरा जनाई फिल्डबूकमा सहिछाप गरेको थिएँ । साविक जग्गाधनी दुलार साह र सरजुग साह जिउञ्जेल निजहरूलाई र निजहरू परलोक भएपछि लछुमन साह र राम पुनीत साह तथा निज सरजुगको छोरा महन्थ साह रामचन्द्र साहलाई २०३० सालदेखि २०४१ सालसम्मको बाली बुझाउँदै आएकोले मलाई मोही पत्याएको प्रष्ट छ ।
३. यस्तैमा बद्री साह र ज.ध.हरू मिली २०२९ सालमा परलोक भएका पितालाई २०३९ सालमा परलोक भएको देखाई मोही नामसारी गरी पाउँ भनी विपक्षी बद्री साहले विपक्षी भूमिसुधार कार्यालय समय निवेदन दिएकोमा जग्गाधनीहरूले पलटको दुई छोरा मध्ये बद्री साहलाई मोही पत्याएको छौं रुपनारायणलाई पत्याएका छैनौं भन्ने लिखितजवाफ प्रस्तुत गरेकोमा भुमिसुधार अधिकारीबाट दुलार साहका नामको कि.नं.४ को ०–१८–१० जग्गाको कित्ताकाट भई कायम हुनआएको कि.नं.२२६ र २२७ तथा सरजुगका नामको कि.नं.५ र ७ को जग्गाको मोही बद्री साहका नाममा नामसारी गर्ने गरी २०४१।९।२४ मा निर्णय भएको ।
४. म निवेदकले २०२९ सालदेखि जग्गा कमाई अहिलेसम्म बाली बुझाई भर्पाई लिँदै आएकोबाट प्रस्तुत विवादमा मोही पत्याउने काम भइसकेको छ । मलाई मोहीबाट वञ्चित गर्ने गरी भएको भू.सु.का.को फैसलामा ने.का.प. ०३४ पृष्ठ २९५ मा प्रतिस्थापित सिद्धान्तको भू.सं.ऐन, २०२१ को दफा २६ संविधानको धारा ७३ अ.बं.१८४(क) १८९ समेतको विपरीत निर्णय भएको छ । म निवेदक मोही रहेको कुरा सर्भे नाप नक्शा तथा बाली बुझाएको भर्पाईबाट समेत प्रष्ट रहँदा रहँदै र वादी प्रतिवादीबाट पलटको छोरा म निवेदक रहेको कुरा देखिँदा देखिँदै मलाई नबुझी गरिएको निर्णय अ.बं.१३९ नं. र प्राकृतिक न्याय सिद्धान्तको विपरीत हुँदा नेपालको संविधानको धारा ७१ अन्तर्गत उत्प्रेषण लगायतको आज्ञा, आदेश जारी गरी भू.सु.का.महोत्तरीको मिति २०४१।९।२४ को निर्णय बदर गरी पाउँ भन्ने समेतको रिट निवेदनपत्र रहेछ ।
५. विपक्षीहरूबाट लिखितजवाफ मगाई आएपछि पेश गर्नु भन्ने सिंगलबेञ्चको मिति २०४२।४।९ को आदेश ।
६. बाबु पलट साहको दुई छोरा भएकोमा विवाद छैन । तर मेरो बाबु २०२९ सालमा स्वर्गवास भएको भन्ने झुठ्ठा हो । उहाँ ०३९ सालमा परलोक भएको कुरा मृत्यु दर्ता प्र.पुर्जाबाट पनि प्रमाणित भइरहेको छ । २०३९ साल चैत्र २८ गते बाबु पलट साह परलोक भएपछि २०४० साल देखिको बाली म स्वयंले जग्गाधनीलाई बुझाउँदै आएको र ज.ध.ले मोही पत्याउन सक्ने व्यवस्था रहेकै हुँदा रिट निवेदन खारेज गरी पाउँ भन्ने बद्री साह सुडीको लिखितजवाफ रहेछ ।
७. पलट साहुको मृत्यु २०३९ साल चैत्रमा भएपछि हामी चारै जना ज.ध.ले बद्री साहुलाई नै मोहीमा पत्याई साल सालको कूत बुझी निजलाई भर्पाई पनि दिँदै आएका छौं । मोही पलट साहुको मृत्यु २०२९ सालमा भएको र निवेदकलाई मोहीमा पत्याएको भन्ने कुरा झुठ्ठा हुँदा रिट खारेज गरी पाउँ भन्ने महन्थ साह रामचन्द्र साह लछुमर साह र राम पुनित साह समेत जना ४ को संयुक्त लिखितजवाफ रहेछ ।
८. २०३९ साल चैत्र १२ गतेका दिन मोही मेरो बाबु पलट साहको मुत्यु भएकोले म पलटको छोरा बद्री साहुले जग्गा कमाउँदै आएकोमा मोहियानी नामसारी गरी पाउँ भनी निवेदन दिएको जग्गाधनीहरूले बद्री साहुलाई पत्याउछौं भनी लिखितजवाफ दिएका सम्बन्धित गा.पं.को सिफारिश मुचुल्का र मृत्यु दर्ता प्रमाणपूर्जाबाट पनि पलट साहको मृत्युपछि बद्री साहुले जग्गा कमाउँदै आएको पुष्टि हुनआएकोले निजको नाममा मोहियानी नामसारी हुने ठहराई यस कार्यालयबाट भएको निर्णयमा त्रुटि नहुँदा रिट निवेदन खारेज गरी पाउँ भन्ने भू.सु.का.महोत्तरीको लिखितजवाफ रहेछ ।
९. नियम बमोजिम पेशी सूचीमा चढी बेञ्च समक्ष पेश हुनआएको प्रस्तुत रिट निवेदनपत्रमा रिट निवेदकतर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री दमन ढुङ्गाना, भूमिसुधार कार्यालय महोत्तरीको तर्फबाट खटिई आउनु भएका विद्वान सरकारी सहन्यायाधिवक्ता श्री प्रेमबहादुर विष्ट तथा लिखितजवाफ कर्ता बद्री साहको तर्फबाट रहनु भएका विद्वान वरिष्ठ अधिवक्ता श्री कुञ्ज विहारीप्रसाद सिंहले प्रस्तुत गर्नुभएको बहस समेत सुनियो ।
१०. बद्रीनारायण साह सुडीका नाममा मोहियानी नामसारी गर्ने गरेको भू.सु.का.महोत्तरीको निर्णय बदर गरी पाउँ भन्ने मुख्य निवेदन जिकिर भएको प्रस्तुत मुद्दामा निवेदकका माग बमोजिमको आदेश जारी हुने हो होइन सो तर्फ विचार गर्दा यसमा रिट निवेदकका बाबु साविक मोही पलटू साहू २०२९ सालमा परलोक भएको भन्ने रिट निवेदकको कथन रहेको पाइन्छ । तर विपक्षीहरू तर्फबाट पलटू चौधरी २०३९।१२।२८ गते परलोक भएको भनी गाउँ पञ्चायतले २०४०।१।२४ मा दिएको प्रमाणपत्र पेश गरेको पाइन्छ । २०२९ सालमा परलोक भएको भन्ने कतैबाट प्रमाणित हुनआएको देखिएन । मोहीको मृत्यु भन्दा अगाडि निजको छोराले बाली बुझाएको भए तापनि जग्गाधनीले सोही छोरालाई मोहीको मृत्यु पछि पनि पत्याएको भनी मान्न मिल्ने अवस्था देखिँदैन । भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(१) बमोजिम मोहीको मृत्युपछि मोही रोज्न पाउने हक जग्गावालालाई रहने नै हुँदा भू.सु.का.महोत्तरीबाट बद्री साह सुडीको नाममा मोहियानी नामसारी हुने गरी मिति २०४१।९।२४ मा भएको निर्णयमा कुनै त्रुटि रहेको नदेखिँदा निवेदकको माग बमोजिमको हक प्रचलन गर्न मिलेन प्रस्तुत रिट निवेदन खारेज हुने ठहर्छ । नियमानुसार गरी फायल बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.हरिहरलाल राजभण्डारी
इतिसम्वत् २०४३ साल आषाढ २० गते रोज ६ शुभम् ।