November 25, 1986
Created by nepalarchives

निर्णय नं. २८१९ – उत्प्रेषण

निर्णय नं. २८१९     ने.का.प. २०४३       अङ्क ८ संयुक्तइजलास माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०४२ सालको रिट नम्बर १५११...

निर्णय नं. २८१९     ने.का.प. २०४३       अङ्क ८

संयुक्तइजलास

माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह

माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान

सम्वत् २०४२ सालको रिट नम्बर १५११

आदेश भएको मिति : २०४३।८।१० मा

 

रिट निवेदक : नु.जि.खड्ग भन्ज्याड्ड गा.पं.वा.नं.८ बस्ने साम्भप्रसाद अधिकारीसमेत

विरुद्ध

विपक्षी : प्र.जि.अ. श्री धनबहादुर बस्नेत जिल्ला कार्यालय नुवाकोट विदुरसमेत

 

विषय : उत्प्रेषण

 

(१)         २ पक्षका बीचमा विवाद उत्पन्न भएको कुरामा यस किसिमको कागज गराउने अधिकार प्र.जि.अ.लाई कुनै कानुनले दिएको देखिन नआएकोले सो भए गरेको कागज उत्प्रेषणको आदेशले बदर हुने ।

(प्रकरण नं. ९)

 

आदेश

न्या.सुरेन्द्रप्रसाद सिंह : प्र.जि.अ.ले गरे गराएको २०४२।३।२६ को कागज बदर गरी हाम्रो संविधानद्वारा प्रदत्त हकको प्रचलन गराई पाउँ भनी नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा निम्न प्रकार छ ।

२. नु.जि. खड्ग भन्ज्याड्ड गा.पं.वा.नं.९ कि.नं.६२ को जग्गामा परापूर्व कालदेखि घट्ट बनाई बसोबास घट्ट चलाई आएको छ । विपक्षी बुद्धिप्रसाद घिमिरेले जबरजस्ती तरीकाबाट निवेदक मध्येको म साम्भप्रसाद अधिकारीको उक्त कि.नं.६२ को जग्गा समेतमा भित्री घट्ट बनाउने आंशका लागेकोले निषेधाज्ञाको आदेश जारी गरिपाउँ भनी बागमती अञ्चल अदालतमा दिएको निवेदनमा कारवाही चल्दै हाल उक्त मुद्दा म.क्षे.अ.मा छ ।

३. उल्लेख गरिएअनुसार मुद्दा चलिरहेकोमा विपक्षी बुद्धिप्रसाद घिमिरेले के कस्तो व्यहोराको निवेदन प्र.जि.अ. को कार्यालय नुवाकोटमा दिनु भएको छ । नु.जि.का.ले हामीलाई झिकाई म साम्भप्रसाद अधिकारीलाई मेरो कि.नं.६२ को जग्गा घट्ट समेत विपक्षी बुद्धिप्रसाद घिमिरेलाई बनाउन दिने तथा बनाउनमा मद्दत गरी घट्ट समेत बनाई दिन्छु भन्ने समेत व्यहोराको गैरकानुनी कागज गराउनु भयो । कामी वीरबहादुर समेतलाई विपक्षी बुद्धिप्रसाद घिमिरेको  जस्ताको तस्तै घट्ट समेत बनाई दिन्छौं भनी प्र.जि.अ.ले अनाधिकार प्रयोग गरी गराएको कागज अ.बं.३५ नं.ले बदरभागी छ । बढी कुरा नगरिकन सहिछाप गर्ने, अन्यथा जिउले गोता खान्छ भनी डर, धाक र त्रास समेत दिएकोले बाध्य भई कागज गरेको हौं नेपालको संविधानको धारा १० धारा ११(१) धारा ११ को उपधारा २ को देहाय (ङ) र धारा १५ द्वारा प्रदत्त अधिकारमा आघात पर्ने गरी प्र.जि.अ.ज्यूले २०४२।३।२६ मा गरे गराएको कागज बदर गरी संविधानद्वारा प्रदत्त हकको प्रचलन गराई पाउँ भन्ने समेत व्यहोराको रिट निवेदन ।

३. विपक्षीहरूबाट लिखितजवाफ मगाई आएपछि नियमानुसार गरी पेश गर्नु भन्ने यस अदालत सिंगलबेञ्चको आदेश ।

५. म बुद्धिप्रसाद घिमिरेले जिल्ला कार्यालयमा कुनै निवेदन दिएको छैन । विपक्षी साम्भप्रसाद अधिकारी समेतले २०४१।१०।३ गते दिउँसो ११ बजेको समयमा मेरो घट्ट भत्काई दिएको हुँदा सो विषयमा जि.का.को प्र.जि.अ.लाई मौखिक रुपमा अवगत गराएको थिएँ । प्र.जि.अ.ले विपक्षीहरूलाई सम्झाउँदा घट्ट बनाई दिन्छौं भनी विपक्षीहरूले सहमती जनाएका हुन् । विपक्षीहरूले घट्ट बनाई नदिएको हुँदा सो विषयमा मैले नु.जि.अ.मा २०४२।२।२९।३ मा नालिश गरेको छु । पूर्पक्ष हुँदैन । प्र.जि.अ.ले कागज गराएको मलाई थाहा छैन । म प्रेमबहादुर ढुड्डेलको व्यहोरा यो छ कि विपक्षी साम्भप्रसाद अधिकारी समेतले बुद्धिप्रसाद घिमिरेको बयान कि.नं.६१ को जग्गामा बनेको घट्ट भत्काई दिएकोले सो विषयमा प्र.जि.अ.ले मलाई समेत बोलाई छलफल गराउँदा विपक्षीहरूले घट्ट बनाई दिने भनेका हुन् कागज गरेको मलाई थाहा छैन भन्ने समेत व्यहोराको उप प्र.पं.यमबहादुर ढुड्डेल, बुद्धिप्रसाद घिमिरेको संयुक्त लिखितजवाफ ।

६. दुबै पक्षलाई रोहवरमा राखी छलफल हुँदा पक्ष विपक्षी बीच मेल मिलाप गर्ने सम्बन्धी कुरा दुबै थरीले सम्बन्धित गा.पं.का प्र.पं., उप प्र.पं.जिल्ला पञ्चायत सभापति, उपसभापति र प्रमुख जिल्ला अधिकारी समेत घटनास्थलमा गई स्थलगत निरीक्षण गरी औचित्य हेरी मिलाई दिएमा मिल्न मञ्जूरी छौं भनी भनेबाट २०४२।१।६ गते म प्रमुख जिल्ला अधिकारी समेतका मानिसहरू विवादीत घटनास्थल गई स्थलगत निरीक्षण गरी अन्य गाउँका साँध संधियार समेतका मानिसहरूलाई समेत सम्बन्धी दुवै पक्षलाई सम्झाई बुझाई मेल मिलाप गराउने उद्देश्यबाट विपक्षी साम्भप्रसादबाट आफ्नो खुशीराजीबाट १ महीनाभित्र घट्ट जस्तोको तस्तै बनाई दिन्छु भनी मन्जूर गरी मिति २०४२।१।६ गते घटनास्थल गई कागज गरेका हुन निजको उजूरीमा २०४२।३।२६ मा जबरजस्ती कागज गराएको भन्ने उल्लेख छ । विपक्षीले २०४२।६।२६ मा मलाई जबरजस्तीबाट अनाधिकार मेरो हक हनन् हुने गरी गराएको कागज बदर गरी पाउँ भनी दिएको उजूरी निवेदन सम्बन्धमा २०४२।३।२६ मा विपक्षी साम्भप्रसाद लगायतका व्यक्तिलाई कुनै कुराको कागज गराएको छैन भन्ने समेत व्यहोराको प्र.जि.अ.धनबहादुर बस्नेतको लिखितजवाफ ।

७. बुद्धिप्रसादको जिल्ला कार्यालय नुवाकोटमा उजूर परेको थियो । यसरी उजूर परेपछि अदालतमा मुद्दा पर्दापर्दै किन यस्तो गरेको भनी जिल्ला कार्यालयबाट सम्झाउँदा समेत अन्यथा गरी हिंडेबाट जिल्ला कार्यालयबाट स्थितिको कागज गराउने सम्मको कारवाही भएको हो । प्र.जि.अ.लाई आफ्नो जिल्ला भित्रको जिम्मेवारी भएबाट एकको सम्पत्ति अर्काले भत्काई खोलामा फाल्दा पनि जिल्ला कार्यालयले केही नगर्ने हो भन्ने व्यवस्थामा देश कानुन प्रति जनताको आस्था नहुने भएबाट यथास्थिति राख्‍न सम्मको कारवाही भएको हो निवेदन खारेज गरी पाउँ भन्ने समेत व्यहोराको जगतबहादुर तामाड्डको लिखितजवाफ ।

८. नियम बमोजिम निर्णयार्थ यस बेञ्च समक्ष पेश हुनआएको प्रस्तुत रिट निवेदनको माग बमोजिम  आदेश जारी गर्न मिल्ने र नमिल्ने के रहेछ सो कुराको निर्णय दिनु पर्ने हुनआएको छ ।

९. घट्ट जस्ताको तस्तै बनाई दिन्छु भनी कागज गराउने अधिकार प्र.जि.अ.लाई भएको नदेखिनाले सो कागज अनधिकृत हुँदा बदर गरी पाउँ भनी रिट निवेदकको दावी भएकोमा सो बमोजिम गर्न मिल्ने नमिल्ने के हो सोतर्फ हेर्दा प्र.जि.अ.बाट प्राप्त भएको लिखितजवाफमा ०४२।३।२६ मा होइन ०४२।१।६ मा राजीखुशीले कागज गरिदिएको भनी उल्लेख भई आएको देखिन्छ । दुई पक्षको बीचमा विवाद उत्पन्न भएको कुरामा यस किसिमको कागज गराउने अधिकार प्र.जि.अ.लाई कुनै कानुनले दिएको देखिन नआएकोले सो ०४२।१।६ गतेको दिन भए गरेको कागज उत्प्रेषणको आदेशले बदर हुने ठहर्छ । विपक्षी कार्यालयको जानकारीको लागि आदेशको प्रतिलिपि म.न्या.का.मार्फत पठाई फायल नियमानुसार गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

न्या.हरगोविन्द सिंह प्रधान

 

इतिसम्वत् २०४३ साल मार्ग १० गते रोज शुभम् ।