March 23, 1965
Created by nepalarchives

निर्णय नं. २८० – दर्ता बदर

निर्णय नं.२८०       ने.का.प.२०२२ फुल बेञ्च प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह न्यायाधीश श्री लोकराज जोशी दे.फु.नं.२९४।२८५ निवेदक, प्रतिवादी : का.इ.झोंछे तुसाल...

निर्णय नं.२८०       ने.का.प.२०२२

फुल बेञ्च

प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह

न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह

न्यायाधीश श्री लोकराज जोशी

दे.फु.नं.२९४।२८५

निवेदक, प्रतिवादी : का.इ.झोंछे तुसाल बस्ने जगदीशप्रसाद माडवारी १ का.ई.पाको पोखलड्याङ बस्ने मागेलाल माडवारी समेत

विरुद्ध

विपक्षी वादी : का. ई. भोटाहिटी बस्ने पशुपति मैनाली

मुद्दा : दर्ता बदर

(१)   रजिष्ट्रेशन पास भएको छोडपत्र लिखतका नाताले घर दर्ता गराएको भए म्याद भित्र उक्त छोडपत्र बदर गरी पाउँ भन्ने उजुर नगरी दर्ता बदर गरी पाउँ भनी गरेको उजुरीमा दावी नलाग्ने।

            मागेलाल समेतबाट आफ्नो अंश वापत जानकी दाशले रु.७०००। नगदी लिई चल अचलको ०७।१२।१०।१ मा घरसारमा र ०७।६।९।३ मा का.पो.रजिष्ट्रेशन मार्फत पास गरी छोडपत्र गरी दिएको । सोही छोडपत्रको नाताले मागेलालले दर्ता गराएको देखिएको र आफ्नो दृष्टिमा असर पर्ने भई मागेलालको दर्ता बदर गराउन परेको भए मागेलालले सो घर दर्ता गराउन पाउने हक पुगेको लिखत उक्त छोडपत्रलाई नै बदर गरी पाउँ भनी म्याद भित्र ऐन बमोजिमको उजुर गरी सो छोडपत्र बदर गराउन सक्नु पर्ने । सो छोडपत्र उपर उजुर गरी बदर गराउन वादीले सकेको नदेखिएकोले सो छोडपत्र कायमै रहेको भएपछि त्यसका नाताबाट भएको दर्ता बदर गरी पाउँ भन्नेसम्मको वादीको दावी लाग्न सक्ने देखिएन ।

(प्रकरण नं.९)

(२)   दृष्टि लेखिएको अघिल्लो लिखत रजिष्ट्रेशन पास गर्ने म्याद नाघि पछि अर्को लिखत गराएकोमा, अघिल्लो लिखतले दृष्टि कायम गर्न नमिल्ने । पछिल्लो लिखतलेसम्म दृष्टि कायम हुने ।

            एउटालाई छोडपत्र गरी दिएको घर पछि अर्कोलाई दृष्टि लिखत गरीदिन नपाउने ।

            पछिल्लो तमसुक खडा भएपछि रजिष्ट्रेशन पास गर्ने ऐनको हदम्याद ६ महिना नाघेको, अघिल्लो तमसुकले दृष्टि लेखिएको घर जग्गामा सो हैसियतले दावा पुग्न नसक्ने हुँदा ०७।६।३० देखि दृष्टि कायम सम्झन नमिल्ने भई वादीले दृष्टि लेखाई लिएका पछिल्लो ०८।२६।६ का तमसुकलेसम्म दृष्टि कायम गर्ने थियो । तर सो भन्दा अगावै मागेलाललाई छोडपत्र गरी दिइसकेको घर जानकी दासले धितो राखी दृष्टिबन्धकीको लिखत गरी दिन नपाउने र गरिदिए पनि सदर नभई अघिल्लो मितिमा पास भएको छोडपत्र बमोजिम गरेको दर्ता कायम रहने हुनाले दर्ता बदर गरी पाउँ भन्ने वादीको दावा नपुग्ने देखिन्छ ।

(प्रकरण नं.१०)

निवेदक तर्फबाट : एडभोकेट मधुप्रसाद शर्मा, कृष्णप्रसाद घिमिरे

विपक्षी तर्फबाट      : प्लिडर नारायणप्रसाद

फैसला

      १.     काका भतिजा मिली मैले ०८।६।२६ मा दृष्टिमा लिएको विरगञ्जको घर समेत मेरो थैली कपाली गर्न निमित्त ०८।११।१२ मा मागेलाल नाउँमा दर्ता गराएको ०११।३।११ मा फैसला भएबाट थाहा पाएकोले उक्त दर्ता गरेको बदर गरी पाउँ भन्ने समेत वादी ।

      २.    जानकी दास नरसिं दास २ भाई भई नरसिंह मर्दा जानकीले आफ्नो अंश हक छोडी रु.७००० मा छोडपत्र गराई लिएको छोडपत्र बमोजिम आफ्नो अंश हक समेत दर्ता भए गरेको सदर कायम थामि पाउँ भन्नेसमेत मागेलालको प्रतिवादी ।

      ३.    रजिष्ट्रेशनका ७ नं. ले पासै नभएको लिखतका नाताले सो लिखतमा लेखिएको जग्गा जमिन घरमा दावा नपुग्ने हुँदा वादी दावी पुग्न सक्दैन भन्ने समेत ०१४।३।१।६ को रा. का.दे.अ.दो. का हाकिमको फैसला र लिखत पास मुद्दा किनारा भई पास हुने नहुने टुंगो नलागि यो मुद्दाको अंग नपुग्ने भन्ने समेत असिस्टेन्ट र बिचारीको राय पर्चा ।

      सो इन्साफमा चित्त बुझेन भन्ने समेत वादीको अपील ।

      ४.    मागेलाल माडवारीका नाउँमा दर्ता भएको विरगञ्ज म्युनिसिपल्टी अफिसमा दर्ता भएको जग्गा विगाहा ८१।२ र सो जग्गामा बनेको कच्ची मुन्डाघर ०८।११।२३ गते मो.रु.७००१ मा रजिष्ट्रेशन पास गरी लिएको दर्ता बदर हुन नसक्ने भन्ने समेत जगदीशप्रसाद माडवारीको पाटन जिल्ला अदालतमा बयान ।

            साहु असामीको २७ नं. ले दृष्टि तमसुक पशुपति मैनालीकै अघिल्लो मिति कायम हुन आउने छोडपत्र बमोजिम दर्ता नाउँसारी गरेको बदर हुने ठहर्छ । जानकीले पास गरी दिनुपर्ने ठहर्छ । चेतकुमारीले लिएको हकमा भने साहु असामीका २७ नं.बमोजिम रीत पुराई थैली बुझाए पाउने नै देखिएकाले यसमा निर्णय गर्नु नपर्ने भन्ने समेत ०१७।१२।१।४ को जिल्ला अदालत पाटनको फैसला ।

      ५.    सो इन्साफमा चित्त बुझेन भन्ने समेत मागेलाल माडवारी र जगदिशप्रसाद माडवारीको अपील ।

      ६.    मलाई लिखत गरी दिएको घर जग्गामा मुद्दा परी आखिर सो घर जग्गा भतिजाका नाउँमा दर्ता गराई मेरो थैली भुस्याउने नियत गरेका भन्ने कुरा फैसला भएपछि थाहा पाएँ भन्ने मुख्य वादी दावा देखियो । आजै छिनिएको पास मुद्दामा जानकीले पशुपतिलाई ०७।६।३० देखिनै विरगञ्जको र पाको पोखलड्याङको घर जग्गा दृष्टिबन्धकी लेखि ६ महिनामा तमसुक फेरी दिएको भन्ने कुरा तमसुकबाट देखिएको र नरसिं मरेपछि घरको दामकाम जानकी दासले गरेको मुख्य मानिस भन्ने कुरा चेतकुमारीलाई गरीदिएको लिखतबाट पनि देखिएकाले सगोलमा रहे बसेका बखतको व्यवहार सबैले व्यहोर्नु पर्ने र पशुपतिको ऋण तिरीसकेको भन्ने नदेखिई भतिजालाई हक छाडेको कागजमा पनि यो ऋणको केही उल्लेख नगरी आफूले नगद लिई अरु छाडी दिएको भन्ने लेख भएबाट पशुपतिसंग झगडा समेत पर्दै रही रहेकाले आपसमा मिल्दो जुल्दो कागज गरी भतिजाका नाउँमा जग्गा दर्ता गराई अर्को तर्फ लेखाई दिएमा साहुले लिखत पास गर्न नपाई पाखा पर्ने सम्झी सो छोडपत्र गराई मुख्य मानिस छँदै अनपत्यारको छोडपत्र गरी भतिजाका नाउँमा दर्ता गराएको भन्ने कुरा सबै लिखत व्यवहारबाट देखिएकाले बीरगञ्जको घरसम्म दृष्टि सदर ठहरेको हुँदा सो घरको दर्ता बदर गरी दिने गरेको पाटन जिल्ला अदालतको इन्साफ मुनासिव छ भन्ने समेत २०१९।१०।४।५ को सर्वोच्च अदालत डिभिजन बेञ्चको फैसला ।

      ७.    अ.बं.१०६ नं. ले दर्ता हक बदर गरी पाउँ भन्ने वादीको उजुरै लाग्न नसक्नेमा दर्ता बदर गरी दिने गरी भएको फैसलामा चित्त बुझेन भन्ने समेत जगदिशप्रसाद माडवारीले दिनु भएको बिन्तिपत्रमा व्यहोरा साँचो भए यसका हकमा पनि यसका विपक्षका निवेदनमा भएका हु.प्र.बमोजिम इन्साफ जाँची ऐन बमोजिम गर्नु भन्ने श्री ५ महाराजाधिराजबाट हुकुम बक्सेको छ भनी मौसुफका विशेष जाहेरी विभागबाट २०।७।२६ मा लेखि आएको हुकुम प्रमांगी र विपक्षले जुन लिखतको कारणबाट दर्ता बदर गरी पाउँ भन्ने दावा गरेका छन् । सो लिखतमा आंशिक पास भएका नाताबाट जग्गा बदर हुनेगरी भएको फैसलामा चित्त बुझेन । लिखत पास मुद्दामा विपक्षले हुकुमको प्रमांगी बक्स पाए सरह यो मुद्दा एक पटक सर्वोच्च अदालत फुल बेञ्चबाट दोहर्‍याई हेरी दिनु भन्ने प्रमांगी पाउँ भन्ने समेत मागेलाल माडवारीले दिनु भएको बिन्तिपत्रको व्यहोरा समेत श्री ५ महाराजाधिराजका हजुरमा जाहेर हुँदा व्यहोरा साँचो भए अघि पशुपति मैनालीका निवेदनपत्रमा भएका हु.प्र.बमोजिम गरी यिनीहरूका हकमा पनि जाँची दिनु भन्ने हुकुम बक्सेको छ भन्ने समेत मौसुफको विशेष जाहेरी विभागबाट लेखि आएको २०।८२९ का हुकुम प्रमांगीको व्यहोरा समेत पेश हुँदा ।

      ८.    व्यहोरा साँचो भए बक्स भई आएका हुकुम प्रमांगी बमोजिम गर्न दुवै पक्ष राखी फुल बेञ्चमा पेश गर्नु भन्ने समेत माननीय का.मु.प्रधान न्यायाधीशज्यूको २०।९।१५। र ०२०।१०।२३ को आदेश । यसमा तारेखमा रहेका पक्षहरू रोहवरमा रहि २१।१२।३।३ मा पेश भई निवेदक मागेलालको तर्फबाट विद्वान एडभोकेट मधुप्रसाद शर्मा, कृष्णप्रसाद मिमिरे र जगदीशप्रसादको तर्फबाट विद्वान प्लीडर नारायणप्रसाद समेतले गर्नु भएको बहस समेत सुनी आजको निर्णय सुनाउने तारिख तोकिएको प्रस्तुत मुद्दामा वादी वादी बमोजिम घर मागेलालका नाउँमा दर्ता गराएको बदर हुने होइन भन्ने कुराको निर्णय गर्न पर्ने देखिन्छ ।

      ९.    मेरो रुपैंया कपाली गराउनाको लागि एकाघरका काका जानकी दास र भतिजा मागेलाल मिलि घरको मुख्य जानकार जानकी दास छँदै भतिजा मागेलालका नाउँमा दर्ता गराएको बदर गरी पाउँ भन्ने वादी दावी भएको विरगञ्जको घर पहिले नरसिं दासका नाउँमा दर्ता रहेको नरसिं दास मरेपछि निजकै छोरा भनेको मागेलालका नाउँमा नाउँ सारी दर्ता गराउँदा कुनै कानूनको उल्लंघन हुन नजाने । एउटाको मात्र हक हुने । अरुले खतपत्र केही नभए नरसिं दासको दर्ताबाट दृष्टि लेखि दिन पाएसरह मागेलालको दर्ताबाट पनि घरको मुख्य जानकारी दृष्टि लेखिदिएको कायमै रहन सक्ने हुन्थ्यो । सो दर्ताले मात्र वादीको दृष्टि लिखतमा असर पार्न नसक्ने हुँदा दृष्टि रुपैंयासम्मको हक पुग्ने । वादीले मागेलालको दर्ता बदर गरी पाउँ भनी उजुर गर्न मिल्ने अवस्था थिएन । तर यस्मा त्यस किसिम एकाघरका अंशियारको नाताले मात्र दर्ता गरेको पनि नदेखिई मागेलाल समेतबाट आफ्नो अंशवापत जानकी दासले मो.रु.७०००। नगदी लिई अरु चल अचलको ०७।१२।१०।१ मा घरसारमा र ०७।६।९।३ मा का.पो.रजिष्ट्रेशन मार्फत पास गरी छोडपत्र गरी दिएको सोही छोडपत्रका नाताले मागेलालले दर्ता गराएको देखिएको र आफ्नो दृष्टिमा असर पर्ने भई मागेलालको दर्ता बदर गराउनु परेको भए मागेलाल सो घर दर्ता गराउन पाउने हक पुगेको लिखत उक्त छोडपत्रलाई नै बदर गरी पाउँ भनी म्याद भित्र ऐन बमोजिमको उजुर गरी सो छोडपत्र बदर गराउन सक्नु पर्ने । सो छोडपत्र उपर उजुर गरी बदर गराउन वादीले सकेको नदेखिएकोले सो छोडपत्र कायम रहेको भएपछि त्यसका नाताबाट भएको दर्ता बदर गरी पाउँ भन्नेसम्मको वादीको दावी लाग्न सक्ने देखिएन ।

      १०.    वादीले सो घर ०७।६।३० देखिनै दृष्टिबन्धकी लेखाई लिएको तमसुक छ महिनामा फेरी दिने गरेकोले ०७।६।३० देखिकै दृष्टि कायम रहने किसिमको डिभिजन बेञ्चको फैसलामा उल्लेख भएको पाइन्छ । त्यस तर्फ पछिल्लो तमसुक खडा भएपछि रजिष्ट्रेशन पास गर्ने ऐनको हदम्याद ६ महिना नाघेको अघिल्लो तमसुकले दृष्टि लेखिएको घर जग्गामा सो हैसियतले दावा पुग्न नसक्ने हुँदा ०७।६।३० देखिको दृष्टि कायम संझन नमिल्ने भई वादीले दृष्टि लेखाई लिएका पछिल्लो ०८।६।२६।६को तमसुकलेसम्म दृष्टि कायम गर्ने थियो । तर सो भन्दा अगावै मागेलाललाई छोडपत्र गरी दिईसकेको घर जानकी दासले धितो राखी दृष्टिबन्धकीको लिखत गरी दिन नपाउने र गरी दिए पनि सदर नभई अघिल्लो मितिमा पास भएको छोडपत्र बमोजिम गरेको दर्ता कायमै रहने हुनाले समेत सो दर्ता बदर गरी पाउँ भन्ने वादीको दावी नपुग्ने देखिन्छ । तसर्थ, सो घर मागेलालका नाउँमा दर्ता गराएको बदर गरी पाउँ भन्ने वादी दावी पुग्न नसक्ने ठहराएको इन्साफ शुरु रा. का.दे.दो. का हाकिमको मुनासिव छ । दर्ता बदर गर्ने गरेको पाटन जिल्ला अदालत र डिभिजन बेञ्चको इन्साफ ठहर मुनासिव नदेखिएकोले अरु तपसील बमोजिम गर्नु ।

 

तपसील

पाटन जिल्ला अदालतको ०१७।१२।१।४ को फैसला बमोजिम वादी पशुपति मैनालीलाई प्रतिवादी मागेलालबाट भराई दिने गरेको कोर्ट फि दस्तुर समेत रु.५।६२ भराउन नपर्ने हुँदा लगत काटी दिनु भनी का.श्रे.अ.त. मा लगत दिनु ………………………१

ऐ.ऐ.फैसलाले देहायका मानिसलाई गर्न गरेको देहाय बमोजिम जरिवाना नलाग्ने हुँदा असुल भईसकेको जति फिर्ता बाँकी जति लगत कट्टा गरी दिनु भनी ऐ ऐं……………………२

ना.सु.गुणनाथ उपाध्या के.२।

अ.डी.गुण राज पाध्याय के २।

वि.गंगाबहादुर थापा के.१।

जिल्ला अदालत पाटन जि.न्या.इश्वरी जंगबहादुर सिंको इन्साफ उल्टीको रेकर्ड राख्न रजिष्ट्रार अफिसमा सूचना दिनु ……………………..३

मिसिल नियम बमोजिम बुझाई दिनु ……………………४

 

 

इति सम्वत् २०२१ साल चैत्र १० गते रोज ३ शुभम् ।