November 7, 1986
Created by nepalarchives

निर्णय नं. २७७२ – कर्तव्य ज्यान

निर्णय नं. २७७२    ने.का.प. २०४३ फुलबेन्च माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री हरगोविन्दसिंह प्रधान माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान सम्वत् २०४३ सालको फौ.फु.नं....

निर्णय नं. २७७२    ने.का.प. २०४३

फुलबेन्च

माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह

माननीय न्यायाधीश श्री हरगोविन्दसिंह प्रधान

माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान

सम्वत् २०४३ सालको फौ.फु.नं. २१

फैसला भएको मिति : २०४३।७।२१।६ मा

 

निवेदक/प्रतिवादी : केन्द्रीय कारागार, काठमाडौंमा थुनामा रहेको बुद्धिबहादुर गुरुङको हकमा सीता गुरुङसमेत

विरुद्ध

विपक्ष/वादी : डोरबहादुर समेतको जाहेरीले श्री ५ को सरकार

 

मुद्दा : कर्तव्य ज्यान

 

(१)         अदालतमा बयान गर्दा प्रहरीमा कुटपिट गरी डरधाक देखाई साविती बयान गराएको हो कर्तव्य गरी मारेको छैन भनी इन्कारी बयान गरे पनि निजले कुटपिट गरेको कुनै घाचोट छ भनेर भन्नसकेको नदेखिएकोबाट अदालतमा गरेको निजको बयान साँचो नदेखिई प्रहरी समक्ष भएको बयान कागज बमोजिम निजले मर्नेलाई कर्तव्य गरी मारेको देखिन आयो ।

(प्रकरण नं. ३५)

(२)  प्रहरीको कागज समर्थित भएको र सरजमीनको अधिकांश व्यक्तिहरूले पनि निजमाथि शंका देखाएका छन् । उपरोक्त कारणहरूबाट निज प्रतिवादीले अदालतमा गरेको इन्कारी बयानलाई तथ्ययुक्त मान्न र निज समेत भई कर्तव्य गरी मारेको होइन भन्न मिलेन ।

(प्रकरण नं. ३६)

 

निवेदक/प्रतिवादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारी, विद्वान अधिवक्ता श्री गोपालप्रसाद भण्डारी, विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त, विद्वान अधिवक्ता श्री श्यामप्रसाद खरेल

विपक्षी/वादीतर्फबाट : विद्वान उपन्यायाधिवक्ता श्री कृष्णप्रसाद श्रेष्ठ विद्वान अधिवक्ता श्री बालकृष्ण न्यौपाने

 

फैसला

न्या.सुरेन्द्रप्रसाद सिंह : श्री ५ महाराजाधिराजबाट यो जाहेरी र यसै साथ रहेको पो.वै.७१९ तथा ७२७ तथा ख ८२ नं.को बिन्तिपत्र जाहेर हुँदा यसमा बिन्तिपत्रको व्यहोरा साँचो भए त्यस अदालतबाट किनारा भएको बिन्तिपत्रमा लेखिएको कर्तव्य ज्यान मुद्दाको मिसिल झिकी फुलबेञ्चबाट दोहोर्‍याई हेरी कानुन बमोजिम गरी निर्णय गर्नु भन्ने हुकुम बक्स भई आएबमोजिम फुलबेञ्चको लगतमा दर्ता भई निर्णयार्थ यस बेञ्चमा पेश हुनआएको प्रस्तुत मुद्दाको सिंक्षिप्त व्यहोरा यसप्रकार छ :

२. ०३५।३।२५ गते माया र मैती गुरुंगस्यानीलाई नदेखिएको र बाहिरबाट ढोकामा ताल्चा लगाएको बस्तुभाउ र कुखुरा समेत अलपत्र परेका समेत र गाउँ घरमा खोज्न जाँदा पत्ता नलागेकोले निजैको घरको आँखी झ्यालबाट चियाई हेर्दा ओछ्यानमा सुतिरहेको देखिँदा कसैको कर्तव्यबाट निजहरूको मृत्यु भएको हुनुपर्छ भन्ने गाउँ समाजको विश्वास भएको हुँदा म निजको हकदार भएकोले जाहेर गरेको छु कर्तव्यवालाहरूको पत्ता लगाई कानुन बमोजिम कारवाही गरी पाउँ भन्ने ०३५।३।२७ को शेरबहादुर गुरुङको जाहेरी दर्खास्त ।

३. पाङग्रे साँचो लगाई बन्द भएको ढोका खोली भित्र पसी हेर्दा खाट माथि विस्तारामा मैति गुरुङस्यानीको लाश र खाट मुनी भित्तामा रगतको छिट्को दाहिने कोल्टे परी अगाडिको मोहडा पश्चिम फर्किएको देब्रे कानको छातीको आडबाट खुकुरीले हाने जस्तो चोट, मुख चिउँडो समेत काटिएको आधी गर्दनसम्म चोट परेको सो घाउ धेरैपटक प्रहार गरे जस्तो देखिएको किरा परी पानी निस्किएको रगतले ओछ्यान, सिरक, डस्ना, तन्ना सब भिजेको, गुदद्वारबाट मल निस्किएको, घाँटीबाट साँचोको झुप्पा राख्ने जस्तो डोरी झुण्डिएको सो डोरी काटी साँचोको झुप्पा नभएको लाश पल्टाई हेर्दा सडी गली दुर्गन्ध आइरहेको सो को उत्तरपट्टि माझको कोठामा तन्ना सजेको खाट र सो खाटमा माया गुरुङस्यानीको लाश दाहिने कोल्टा परी सुतेको लाशको टाउको पट्टिको तन्नामा प्रशस्त रगतको छिर्का भएको ४ इन्च लम्बाई र ३ इन्च चौडाई टाउकोको खप्परको चोक्टो उडी सो प्वालबाट कुहिएको गिदी वगिरहेको किरा स्याउ स्याउ परेको देब्रे गाला देखि गर्दनसम्म काँधको बीच बीचबाट प्रहार गरेको उक्त घाउमा किरा परी हडिलो पानी बगीरहेको टुपीनेर ४ इन्च लम्बाई २ इन्च चौडाइको चोट केही फुटी गिदी निस्केको हातको चोर औला पछाडि र सोही हातको हत्केलाको नाडीमा काटेको घाउ हातको वरिपरि प्रसस्त घाउ चिउडो मुनी २२ इन्च लम्बाई चौडाइको घाउ पल्टाई हेर्दा अनुहार चिन्न नसकिने भएको कान काटी रिङ टाउको मुनी देखिएको चुरा सबै फुटेका नक्शामा देखिएका चार नक्शाका कब्जाहरू फोरिएको भित्र हेर्दा नगद केही नभई साधारण कपडा मात्र देखिएको अरु भाँडा कुँडा अन्नपात यथावत रहे भएको जस्तो देखिएको भन्ने समेत व्यहोराको ०३५।३।२८ को लाश जाँच प्रकृति मुचुल्का ।

४. मेरी आमा ७२ वर्षको र १८ वर्षकी भान्जी माया गुरुङस्यानीलाई ०३५।३।२४ गते कसले हो कर्तव्य गरी मारेछन् निम्न गहनाहरू समेत लगेछन् । म भारत सरकारको नोकरीमा हुँदा सो खबर पाई घरमा आई काज क्रिया गरी जाहेर गर्न आएको छु । अपराधीहरूले जम्मा रु.६३,९५६।को सुन चाँदी र नगद समेत लगेछन् अपराधीहरू र धनमालको समेत खोजतलास गरी कारवाही गरी पाउँ भनी ०३५ श्रावणको हे.मे.डोरबहादुर गुरुङको जाहेरी दर्खास्त ।

५. माया गुरुङस्यानी अविवाहित भएकोले निजले कस्को गर्भ बोकी रहेको कुरा चलिरहेकोमा चन्द्रबहादुरको छोरा इमान सिंहको हो र कसैले सार्कीको हो भन्ने चर्चा चलिरहेकोमा त्यसैमा ज्येष्ठ महीनाको रातमा मैतीले बच्चालाई घरदेखि पश्चिमतर्फ खरियाको फेदमा लगी गाडेको देखेको हुँ, ०३५ साल आषाढमा गते वार को सम्झना थाहा भएन चन्द्रबहादुरले म र माष्टर टेकबहादुरलाई बोलाई मैती र मायाले मेरो छोराले गर्भ बोकाएको भनेका छन् । बेइज्जत हुन्छ की दुबै जनाले खतम गर्नु पर्‍यो जे परेको म गर्न तयार छु भनेको हुँदा हामी दुबै जनाले सल्लाह गर्दै गरौला भनी आफ्नो  घरमा गयौं पछि ज्ञानबहादुरलाई हामी पोखराबाट २३२४ गते आउछौं हाम्रो बाटो हेरी राख्‍नु हेर्नु भनी चन्द्रबहादुरले भने अनुसार माया र मैतीलाई खतम गरी धन सम्पत्ति लिनु पर्छ भनेका थिए । ०३५ आषाढ २४ गते रातको १० बजेको समय हुँदो हो म गाउँकै चोतामा पर्खी बसेको १ घण्टा पछि टेकबहादुर, ज्ञानबहादुर, ओमबहादुर, महेन्द्र र बराल भन्ने ६ जना भई चन्द्रबहादुरको ठूलो परिवार भएकोले हो हल्ला होला भनी नबोलाई मैतीको घरमा गई चेवा गर्न भनी महेन्द्र, ज्ञानबहादुर र बराललाई बाहिर राखी पाली माथिको झ्यालबाट म, ओमबहादुर र टेकबहादुर ३ जना भित्र पसी टकबहादुरले लाइट बाली मैले भकारीबाट खुकुरी झीकी पोखराबाट ल्याएको खुकुरी समेत जम्मा २ वटा भएकोले भुइँतलामा आई हेरी मैले मैतीलाई २ चोटमा नै खतम गरी माया भएको ठाउँमा गई ओमबहादुरले मायालाई ३४ चोट काट्दा नकराए तापनि छटपट गरेकीले ३४ चोट मैले पनि काट्दा तहीं पनि नमरेकीले छटपटाएकोले ओमेको हातबाट टेकबहादुरले खुकुरी खोसी निजले पनि ३४ चोट काटेपछि मात्र माया मरेकी हुन त्यसपछि मैतीले गलाको साँचोको झुप्पाको डोरी काटी टिनको बक्सा खोली सुना र नगद रु.४०४५ लिई ढोका उघारी बाहिर निस्की टेकबहादुरले साँचो लगाई गाउँकै पँधेरामा हात गोडा धोई खुकुरी पखाली आफ्नो घर आई सुतेका हौं र मनमाया गुरुङस्यानीले सरजमीनमा दाखिल गरेको खुकुरीले मैती र मायालाई काटेको खुकुरी यही हो भन्ने समेत व्यहोराको ०३५।९।२० मा प्रहरीमा गरेको ततिम्बा कागज समेत प्र. बुद्धिबहादुरको कागज ।

६. ०३५ साल आषाढ ६ गते अध्यक्ष चन्द्रबहादुरले म र बुद्धिबहादुरलाई बोलाई मैती र मायालाई मारी मेरो इज्जत बचाई देऊ भनेकोले सोही आषाढ २४ गते राती पोखराबाट टी.एन. बराल, ज्ञानबहादुर, ओमबहादुर, महेन्द्र समेत ५ जना भेला भई पोखराबाट हिँडी घम्पुस पुगी बुद्धिबहादुरसँग भेट भई ६ जना भई मैतीको घरमा पुगी ओमबहादुर, म र बुद्धिबहादुर समेत ३ जना भई भित्र गई भकारीको खुकुरी लिई बुद्धिबहादुरले मैतीलाई काटी मारी माया सुतेको ठाउँमा गई खुकुरीले हानेको चोटले चलबलाउन लागेकोले मैले ओमबहादुरले लिई राखेको खुकुरीले ३४ चोटी हाने पछि मात्र माया मरेका हुन् । बुद्धिबहादुरले मैतीको गलाको साँचो काटी बाक्सा खोली सुन र नगद ४०/४५ मात्र भेटी सुटकेस खोली हेर्दा सुनको औंठी ३ समेत लिई ढोका खोली बाहिर निस्की पँधेरामा पखाली बुद्धिबहादुर आफ्नै घरमा र हामी पोखरा आएको हो । मेरो भागमा ६००।मात्र पाएको छु । ओमबहादुरले लगेको खुकुरी पोखरा जनसेवा मम रेष्टुराँ लगी मैले राख्‍न दिएको र साँचो बारीमा फालेको हो उक्त हत्या गर्ने सल्लाह चन्द्रबहादुरले दिएका र हत्या गर्न बुद्धिबहादुर, ओमबहादुर, टि.एन्.बराल, महेन्द्र, ज्ञानबहादुर र म मात्र हुँ । ०३५।९।१२ को मुचुल्कामा उल्लेख भएको खुकुरी यही हो भन्ने समेत व्यहोराको ०३५।९।१२ र ०३५।९।२० मा समेत ततिम्बा गरी प्र. टेकबहादुर भण्डारी क्षेत्रीले प्रहरीमा गरेको कागज ।

७. ०३५ साल आषाढ २४ गते महेन्द्र, टि.एन्. बराल, टेकबहादुर, ज्ञानबहादुर म समेत ५ जना भेला भई मैले जनसेवा मम रेष्टुराँबाट खुकुरी लिई घम्पुस पुग्दा बुद्धिबहादुर बसिरहेका थिए ६ जना भई मैतीको घरमा पुग्दा बुद्धिबहादुर, टेकबहादुर, म भित्र पस्दा माया र मैतीलाई ३ जनाले ३४ चोट ३४ चोट हानी मारी साँचोको झुप्पा झिकी सुन चाँदी टेकबहादुरले झिकी ढोका खोली बाहिर निस्की बाहिरबाट टेकबहादुरले साँचो लगाई हामी ६ जना हात गोडा खुकुरी पखाली बुद्धिबहादुर अफ्नो घरमा गए म समेत अरु पोखरा आएका हौं मैले कुनै पनि नगद हिस्सा पाएको छैन माग्दा सुन गहना बिक्री भएको छैन भनी टेकबहादुरले भनेको हो । हामीले मैती र मायालाई मारेको कुरा उदयबहादुरले थाहा पाएछ २५ हजार लेउ म मिलाई दिन्छु भनेको छ भन्दा  मसँग पैसा र गहना छैन जे गर्छौ गर भनेकोले टेकबहादुरलाई राख्‍न लगाएको । ०३५।९।१२ को मुचुल्कामा उल्लेख भएको खुकुरी यही हो मार्नको लागि हामी सित गएका टि.एन्.बराल भन्ने टेकनाथ बराल पनि यिनै हुन् भनी ०३५।९।३० मा ततिम्बा भएको समेत व्यहोराको ओमबहादुर गुरुङको प्रहरीमा गरेको कागज ।

८. ०३५ साल आषाढ २४ गते हामी ५ जना समेत ६ जना भई माया र मैतीलाई मार्न भनी मैतीका घर गई म समेतका ३ जना बाहिर बसी बुद्धिबहादुर, टेकबहादुर र ओमबहादुर भित्र पसी करिब १ घण्टा पछि बाहिर आई ढोकामा साँचो लगाई बुद्धिबहादुर आफ्नो घर गयो । हामी ५ जना पोखरातर्फ आएको बाटोमा मैती र मायालाई मारियो भनी ओमबहादुरले भनेका थिए भन्ने समेत व्यहोराको ज्ञानबहादुर पौडेलले प्रहरीमा गरेको कागज ।

९. ०३५ साल आषाढ २४ गते ओमबहादुरले घम्पुस गाउँमा गई एक जनालाई कुटपिट गरी पैसा लुटी ल्याउनु पर्छ भनी भनेकोले मैले त्यती टाढा जान्न भन्दा मलाई धम्की र त्रास देखाई म निजसँग जाँदा बाटामा मैले नचिनेका अरु ४ जना समेत घरमा पुगी मलाई र २ जनालाई राखी आफू समेत ३ जना भित्र पसी १ घण्टापछि ओमेले सानो टिनको डब्बा दियो एकजनाले ढोका बन्द गर्‍यो र एक जना त्यहीं बसे अरु पोखरा आएको बाटोमा ओमेले २ जनालाई काटी मारी आएको भनेका थिए भन्ने समेत व्यहोराको महेन्द्र भट्टचनले प्रहरीमा गरेको कागज ।

१०. प्र. बुद्धिबहादुरको कागज अनुसार मैती र मायालाई मार्न म गएको हैन रीसइवीबाट पोलेका हुन भन्ने समेत व्यहोराको टि.एन्. बरालले प्रहरीमा गरेको कागज ।

११. बुद्धिबहादुरको घरमा निजले लेखाए अनुसारको बेरुवावाला जोर १, तीन बेरुवा सुनको औंठी १, नील पत्थर जडेको १, राता पत्थर जडेको १, अंग्रेजी अक्षरको के.बी. लेखिएको सुनको औंठी १, सुनको अडकुने माथिएको सिक्री ११ वटा मुगा सुनको गेडी समेत भएको माला २ इञ्चमा २ लाइन् कम भएको पातलो सुनको डण्डा १ आईमाईले लगाउने रातो पत्थर भएको सुनको कली १ चाँदीको रेया जोडा १ चाँदीको केटाकेटीले लगाउने बाला जोर १ चाँदीको टुक्रा १ नगद रुपैयाँ ६००।समेत व्यहोरा भएको ०३५।९।१० को खानतलासी मुचुल्का ।

१२. ०३५।१।९ गते मायाले बच्चा जन्माई दबाएको कुरा सुनेको थिएँ निज माया र मैती जेल जाने हुँदा जाहेर नगरेको हो पछि छोरा ईमान सिंहको गर्भ मायाले बोकेको छिन् भन्ने कुरा मायाले भनेको हो भनी सुनेपछि छोरासँग सोधपुछ गरुँला भनेको थिएँ । पछि बुद्धिबहादुर गुरुङले मायाले फालेको गर्भ तपाइको छोराको भनेकी छन् बेइज्जत हुने भयो तपाई किन चूप लाग्नु हुन्छ तपाइको आड पाएँ भने जे पनि गर्न सक्छु भनी भनेकाले जे जसो हुन्छ, बेइज्जत हुन नपाउने काम गर मैले भनेको थिएँ, म मैतीलाई नमारी छोड्दिन भनी निज बुद्धिबहादुरले भनेको थियो । ०३५ आषाढ २५ गते मैतीको घरमा ताल्चा लगाएको र बस्तुभाउ अलपत्र परिरहेको देखि झ्यालबाट लाइट बाली हेर्दा दुवै सुते झैं देखी प्रहरीमा खबर गरी ताल्चा खोली हेर्दा दुवैको हत्या भई धन माल हिनामिना गरेको देखि बुद्धिबहादुर माथि मेरो शंका थियो तर निज १३ दिने दाज्यू भाइ हुँदा नराम्रो होला भनी जाहेर नगरेको हो भन्ने समेत व्यहोराको बडा अध्यक्ष चन्द्रप्रसाद गुरुङको प्रहरीमा गरेको कागज ।

१३. प्र. बुद्धिबहादुरको बयान अनुसार मायाले जन्माएको बच्चा मैतीले खनियाको बोटमुनि गाडेको भन्ने ठाउँको वरपर हेर्दा कुनै केही चिन्ह नपाएको भन्ने समेत व्यहोराको ०३५।९।१९ को मुचुल्का ।

१४. माया, मैतीलाई कर्तव्य गरी मार्नेमा बुद्धिबहादुर, ज्ञानबहादुर उपर शंका लागेको थियो प्रमाण  केही नभएकोले जाहेर गर्नसकेको थिइन । मैती र माया मारेको विषयमा बुद्धिबहादुरसँग २५ हजार लिएको हैन निजहरू उपर शंका नभएको हैन भन्ने समेत व्यहोराको उदयबहादुर गुरुङको ०३५।९।२३ को प्रहरीमा गरेको कागज ।

१५. प्र.मध्ये बुद्धिबहादुर, टेकबहादुर समेत २ जनालाई ज्यानसम्बन्धीको १३(३) अनुसार सर्वस्वसहित जन्मकैद ओमबहादुरलाई ऐ.ऐनको १३(३) अनुसार जन्मकैद र प्र.ज्ञानबहादुर, टि.यन.बराल भन्ने टेकनाथ बराल, महेन्द्र भट्टचन सोही ऐनको १७(२) नं. अनुसार सजायँ हुनुपर्ने महेन्द्रको उमेर १५ वर्षको देखिँदा अ.बं.१ नं.अनुसार निजलाई सोही १७(२) अनुसार सजायँ हुनुपर्ने प्र.वडा अध्यक्ष चन्द्रबहादुरलाई ज्यानसम्बन्धीको १६ नं. बमोजिम सजायँ हुनुपर्ने, जाहेरवालाको जाहेरीमा उल्लिखित बिगो चोरीका २० नं. अनुसार निज प्रतिवादीहरूबाट जाहेरवालालाई दिलाई बरामद भएको सुनको औंठी १ जाहेरवालालाई दिलाई दिन पर्ने भन्ने समेत व्यहोराको स.स.अ. तथा प्रहरीको संयुक्त प्रतिवेदन ।

१६. प्रहरीमा उल्लेख गरेको काजगमा उल्लेख गरे बमोजिम ०३५।३।२४ गतेको रातमा मैती र माया गुरुङस्यानीलाई खुकुरीले काटी कर्तव्य गरी मारे काटेको र धनमाल डाँका गरी चोरी समेत गरेको होइन । प्रहरीमा कुटपिट गरी साविती कागज गराएका हुन् भन्ने समेत व्यहोराको प्रतिवादी ओमबहादुर, टेकबहादुर, बुद्धिबहादुर, ज्ञानबहादुर, चन्द्रबहादुर, महेन्द्र भट्टचन, टि.एन्. बराल भन्ने टेकनाथ बराल समेतले भिन्न भिन्न कास्की जिल्ला अदालतमा गरेको बयान ।

१७. ०३५।३।२४ गते राती आमालाई र भान्जीलाई कसले कर्तव्य गरी मारी धनमाल समेत लिई गएकाले कर्तव्यवाला यही हो भन्न नसकेकोले मेरो जम्मा बिगो रु.६३,९५६।भराई पाउँ भनी प्रहरीमा जाहेरी दर्खास्त दिएको थिएँ, पछि मात्र यी प्र.हरू रहेछन् थाहा हुन आयो भन्ने समेत व्यहोराको जाहेरवालाको ०३५।१२।१९ मा कास्की जि.अ.मा गरेको बयान ।

१८. ०३५।२।२८ मा भएको मुचुल्कामा उल्लेख भए अनुसार जिउ भरी घाउ खत काटिएको डामहरू भएको र अभियुक्तहरू समेत प्रहरीमा माया र मैतीलाई मारेको सावित भएको हुँदा ज्यान कर्तव्यबाट मरेको देखिएकोले वारदात भएकै देखिन्छ । प्रहरी प्रतिवेदन माग दावीलाई पूर्ण विश्वास लाग्छ भनी अदालतमा समेत उल्लेख गरी लेखी दिएको र चन्द्रबहादुरले कुनै ठोस प्रमाण दाखिल गर्न नसकेकोले निजले ज्यानसम्बन्धीको १६ नं. अनुसारको अपराध गरेको हैन भन्ने मिल्ने देखिएन । प्र.बुद्धिबहादुर अदालतमा इन्कारी बयान गरेका छन् तापनि प्रहरीमा सावित भएकोले निजहरूलाई सरजमीनका व्यक्तिहरूले पूर्ण विश्वास लाग्छ भन्ने किटानी साथ यस अदालतमा बकेको र प्र.बुद्धिबहादुरको घर खानतलासी गर्दा निजको घरबाट उल्लेख भएको औंठीहरू समेत फेला परेकाबाट मैतीलाई मारेको होइन भन्न मिलेन । तसर्थ निज प्र.बुद्धिबहादुरलाई ज्यानसम्बन्धीको १३(३) अनुसार सर्वश्व सहित जन्मकैद र प्र.टेकबहादुर, प्र.ओमबहादुरले प्रहरीमा साविती बयान गरे तापनि अदालतमा इन्कारी बयान गरेकाले मायाको मृत्यु भएको कुरा सावित भई किटानी लेखिदिएको सरजमीनले पूर्ण शंका गरेको र प्र.बुद्धिबहादुरले निजहरूसंग भित्र पसी काटी मारेको भन्ने बयान गरिदिएको समेतबाट मायालाई मारेको होइन भन्न मिल्ने नदेखिएकोले प्र.टेकबहादुरलाई ज्यानसम्बन्धीको १३(३) अनुसार सर्वश्व सहित जन्मकैद र प्र.ओमबहादुरलाई सोही ऐनको दफा १३(३) अनुसार जन्मकैद हुन्छ ।

१९. प्र.टि.एन. बराल, महेन्द्र भट्टचन, ज्ञानबहादुरका साक्षीहरूले किटानी साथ बकपत्र गरेकोबाट निज तिनै जना घटनास्थलमा उपस्थित शंकास्पद विषय देखिन आएकोले माया र मैतीलाई कर्तव्यबाट मार्न लगाउनु पर्ने खास कारण मिसिलबाट देखिन नआएकोले  निजहरू घटनास्थलमा उपस्थित भएको भन्न मिल्ने देखिन आएन ।

२०. प्र. उदयबहादुर भू.पु.प्र.पं.समेत भएकोले आफ्नो गाउँमा कर्तव्यबाट ज्यान मरेको कुरा थाहा पाएन होला भन्ने पत्यार लाग्दो कुरा नहुँदा निजले जाहेर नगरेको सम्म अपराध गरेकोले ज्यानसम्बन्धीको २५ नं.सजायँ हुने देखिन्छ भन्ने समेत व्यहोराको कास्की जिल्ला अदालतको ०३६।९।१२ गतेको जाहेरी फैसला ।

२१. उक्त फैसलामा चित्त बुझेन भन्ने समेत व्यहोराको टेकबहादुर भण्डारीको समेतको भिन्दा भिन्दै पुनरावेदन ।

२२. पुनरावेदकहरूको विरुद्ध विश्वास र शंका देखाउने सरजमीनका व्यक्तिहरू अदालतबाट बुझिएको नदेखिँदा विश्वास र शंका देखाउने सरजमीनका व्यक्तिहरू बुझ्नु परेबाट उपस्थित गराउनु भनी सरकारी अधिवक्ताको कार्यालयमा लेखी पठाई सम्बन्धित पक्ष पुनरावेदक समेतको रोहवरमा बकपत्र गराई नियमानुसार गरी पेश गर्नु भन्ने प.क्षे.अ. डिभिजनबेञ्चको ०३७।८।१२ को आदेश ।

२३. कास्की जिल्ला अदालतको फैसलामा प्रमाणका अभावमा फरक पर्ने देखिएबाट अ.बं.२०२ नं.र क्षेत्रीय अदालत नियमावली बमोजिम प.क्षे.अ कार्यालयलाई सूचना दिई नियमानुसार पेश गर्ने भन्ने प.क्षे.अ. डिभिजनबेञ्चको ०३७।१०।१० को आदेश ।

२४. मैती र माया कर्तव्यबाट मारिएकोमा प्रतिवादीहरूले विवाद उठाएको पाइँदैन । लाश जाँच प्रकृति मुचुल्का हुँदा प्रहरी अधिकृत इन्स्पेक्टर हुन जरुरी थियो तर कर्तव्य ज्यानमा विवाद गरेको नदेखिँदा सो अनियमिततामा विचार गरी रहनु परेन । आषाढ २७ गते शेरबहादुरको जाहेरी परेकोमा ०३५।९।१९ मा सरजमीन मुचुल्का भएको छ । सरजमीन हुने अवस्था नै ढिला सुस्ती भएको छ । डोरबहादुरका जाहेरीबाट पुन कारवाई भएको देखिन्छ । त्यस अवस्थामा बुढि आमा गाउँमा बस्ने छोरा भारतीय सैनिक सेवामा भारतमा बस्ने घटना घटेको सूचना पाएपछि धम्पुस आई सम्पत्ति खोली जाहेरी गरेको छ । त्यस स्थितिमा जाहेरीमा उल्लिखित सम्पत्तिको विवरण अनुमानिक आधारमा लेखिनु स्वभाविक छ । प्र.बुद्धिबहादुर घर छिमेकका व्यक्ति हुन् भन्ने कुरामा विवाद छैन बरामदी मुचुल्कामा उल्लिखित औंठीहरू चोरीको माल हैन भन्न सकिएन, दसि नै कायम हुन्छ । त्यस्तै खुकुरीले ज्यान मारेको सम्बन्धमा प्र.बुद्धिबहादुर, प्र.टेकबहादुर, प्र.ओमबहादुरको कुरा मिल्न आएको छ । त्यस बारेमा प्रहरीमा सनाखत भएको छ र साथै पुष्ट्याई भएको देखिन्छ । तसर्थ उल्लिखित बुँदा प्रमाण तथा शुरु अदालतको ठहरमा लेखिएको सबूद समेतका आधारमा प्र.बुद्धिबहादुर १, प्र.टेकबहादुर १, प्र.ओमबहादुरले अपराध गरेको ठहराएको र सजायँ गर्ने गरेको शुरु कास्की जिल्ला अदालतको फैसला मनासिब ठहर्छ । तसर्थ उपरोक्त प्रतिवादीहरू बुद्धिबहादुर, टेकबहादुर र ओमबहादुरको पुनरावेदन जिकिर पुग्न सक्दैन ।

२५. अब कसूरदार ठहराएको चन्द्रबहादुर उदयबहादुरको हकमा बच्चा लाशको सबूद नभएकोले चन्द्रबहादुरको छोरा इमान सिंहले मायाको गर्भ बोकाएको गर्भ पतन गराएको पुष्टयाई भएको पाइएन । अतएव चन्द्रबहादुरले षडयन्त्र गरेको ठहराएको शुरुको इन्साफ गल्ती ठहर्छ । उदयबहादुर लाश प्रकृति मुचुल्कामा उपस्थित रहेको र सोरबहादुरले जाहेरी दिएकै देखिँदा उदयबहादुरलाई दावा ठहराएको शुरुको इन्साफ गल्ती ठहर्छ ।

२६. श्री ५ को सरकारतर्फबाट गरिएका पुनरावेदनका सम्बन्धमा प्रतिवादीहरू टि.एन्. बराल, ज्ञानबहादुर, महेन्द्र भट्टचन इन्कारी रहेको छन् । सावितीको पोल अन्य प्रमाणबाट समर्थित हुनुपर्ने थियो तर यी प्रतिवादीहरूको हकमा पुष्ट्याई हुनसकेको देखिएन तसर्थ यी प्रतिवादीहरूलाई सफाई दिने गरेको शुरुको  इन्साफ मनासिब ठहर्छ । श्री ५ को सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने समेत व्यहोरा भएको प.क्षे.अ.को ०३७।१०।२०।३ को जाहेरी फैसला ।

२७. उक्त प.क्षे.अ.को फैसलामा चित्त बुझेन भन्ने समेत व्यहोरा भएको प्रतिवादीहरू बुद्धिबहादुर, टेकबहादुर र ओमबहादुरको पृथक पृथक पुनरावेदन साथै श्री ५ को सरकारको यस अदालतमा पर्न आएको पुनरावेदनपत्र ।

२८. यसमा शुरु जाहेरी दर्खास्तमा कुनै अभियुक्तको नाम उल्लेख भएको नदेखिनुको साथै ०३८।९।७ मा पेश गरेको प्रहरी प्रतिवेदनमा टेकबहादुर, बुद्धिबहादुरलाई पक्राउ गर्नु पर्ने कुनै तथ्ययुक्त कारण र आधार नखुलिएको र प्रतिवादीहरू अदालतमा इन्कारी बयान गरेका साथै चस्मोदित गवाहीको समेतको अभावमा प्रहरी प्रतिवेदन अनुसार अभियोग सावित गर्न विश्वासनीय प्रमाण मिसिलबाट नदेखिएकोले प.क्षे.अ.ले गरेको इन्साफ मिलेको नदेखिँदा छलफलका निमित्त अ.बं.२०२ नं.अनुसार उपस्थित हुन महान्यायाधिवक्ताको कार्यालयलाई सूचना दिई नियमानुसार पेश गर्नु भन्ने समेत व्यहोरा भएको यस अदालतको डिभिजनबेञ्चको ०३९।१।३० को आदेश ।

२९. लाश जाँच मुचुल्काबाट र अभियुक्तहरू माया र मैतीलाई काटी मारेकोमा प्रहरीमा साविती भएकोले ज्यान कर्तव्यबाट मरेको देखिनाले वारदात भएकै देखिन आयो । पुनरावेदक प्रतिवादी बुद्धिबहादुर अदालतमा इन्कारी बयान गरे तापनि प्रहरीमा मैतीलाई काटी मारेकोमा किटानी उल्लेख गरेको, सरजमीनका अधिकांश व्यक्तिहरूले निज माथि पूर्ण शंका लाग्छ भनी बकी लेखिदिएको, बुद्धिबहादुरको घर खानतलासी गर्दा डोरबहादुरको सनाखतीमा उल्लिखित सामानहरू फेला परेको देखिनाले निजले मैतीलाई काटी मारेको होइन भन्न मिलेन । पुनरावेदन टेकबहादुर अदालतमा इन्कार रहे तापनि निजले ओमबहादुरले पहिलो चोट हानी पछिल्लो चोट मैले हान्दा निज मायाको मृत्यु भएको किटानीसाथ उल्लेख गरी प्रहरीमा कागज गरेको । मायालाई काटी मारेको र रेष्टुराँमा राखेको खुकुरी यीनै हुन निजहरूले देखाए अनुसारको खुकुरी बरामद भएको, साथै सरजमीनले पूर्णरुपमा शंका गरेको देखिएकोले निजले मायालाई काटी मारेको होइन भन्न सकिएन । निजहरूको पुनरावेदन जिकिर पुग्न सक्दैन । प्र.बुद्धिबहादुर, प्र.टेकबहादुर, प्र.ओमबहादुरले अपराध गरेको ठहर्‍याएको र सजायँ गर्ने गरेको र टि.एन्. बराल, ज्ञानबहादुर, महेन्द्र भट्टचनलाई सफाई दिने गरेको शुरु कास्की जिल्ला अदालतको फैसलालाई सदर गरी गरेको प.क्षे.अ.को फैसला मनासिब ठहर्छ । चन्द्रबहादुर गुरुङ र उदयबहादुरलाई सफाई दिने गरेको प.क्षे.अ.को फैसला मनासिब हुँदा यी प्रतिवादीहरूका हकमा श्री ५ को सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने समेत यस अदालत डिभिजनबेञ्चको मिति ०३९।८।२३।४ को फैसला ।

३०. डिभिजनबेञ्चबाट भएको उक्त फैसला फुलबेञ्चबाट दोहोर्‍याई हेर्नु भन्ने समेत श्री ५ महाराजाधिराजबाट हुकुम बक्स भई आएको ।

३१. श्री ५ महाराजाधिराजबाट हुकुम प्रमांगी बक्स भई आएबमोजिम प्रस्तुत मुद्दा फुलबेञ्चको लगतमा दर्ता भई निर्णयार्थ यस बेञ्चमा पेश हुँदा निवेदक प्रतिवादी बुद्धिबहादुर गुरुङकातर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारी तथा विद्वान अधिवक्ता श्री गोपालप्रसाद भण्डारीले वारदात ०३५।३।२४ मा भएको ०३५।३।७ मा अर्थात् वारदात भएको ६ महीना पछि मात्र मेरो पक्षलाई पक्राउ गरिएको छ र यस्तो अस्वाभाविक प्रक्रियाबाट गराइएको सावितीलाई प्रमाणमा लिनु हुँदैन । वारदात भएको देख्ने चस्मदिद व्यक्ति कोही छैन । सरजमीनका व्यक्तिहरूलाई अदालतमा बकपत्र गराइएको नहुनाले उक्त सरजमीन प्रमाण ऐनको दफा १८ अनुसार प्रमाण योग्य छैन । मेरो पक्षले मृतकहरू माया  र मैतीलाई मार्नुपर्ने कारण कुनै छैन । प्रस्तुत वारदातका मूल नायक मार्न लगाउने चन्द्रबहादुरले सफाई पाएको छ भने मेरो पक्षले दोषी हुन सक्दैन । तसर्थ मेरो पक्ष बुद्धिबहादुरले सफाई पाउनु पर्दछ भन्ने समेत बहस गर्नु भयो । प्रतिवादी टेकबहादुर भण्डारीकोतर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त तथा विद्वान अधिवक्ता श्री श्यामप्रसाद खरेलले ०३५।३।२४ वा वारदात घटेपछि लाश प्रकृति मुचुल्का मात्र गरी अरु कुनै कारवाही नगरिएको र वारदात भएको छ महीना पछि मात्र प्रहरी बटुप्रसादको प्रतिवेदनबाट कारवाही चलाई मिति ०३५।९।१९ मा सरजमीन गराइएको छ । यी सरजमीनका व्यक्तिहरू मध्ये ११ जनालाई मात्र क्षेत्रीय अदालतले झिकाएकोले यी ११ जना बाहेक अन्य सरजमीनका व्यक्तिहरूको भनाई प्रमाण ग्राह्य हुँदैन । मेरो पक्षलाई विभिन्न शारीरिक यातना दिई डर धाकबाट प्रहरीमा साविती बयान गराइएकोले उक्त सावितीलाई प्रमाणमा लिन मिल्दैन । मेरो पक्षले वारदातको समय आफू उक्त वारदात स्थलमा नभई अन्यत्र छु भन्ने जिकिर लिएतर्फ कुनै पनि तहको अदालतबाट त्यस्मा विचार गरिएको छैन । दसीलाई साक्षीहरूले अदालतमा आएर सनाखत गरिदिएको छैन । तसर्थ मेरो पक्ष टेकबहादुरले सफाई पाउनु पर्दछ भन्ने समेत बहस गर्नु भयो । वादी श्री ५ को सरकारतर्फबाट बहस गर्न खटी उपस्थित हुनुभएका विद्वान उपन्यायाधिवक्ता श्री कृष्णप्रसाद श्रेष्ठले प्रतिवादीहरू माया र मैतीलाई मारेको कुरामा प्रहरी समक्ष सावित भएका छन् र उनीहरूको उक्त साविती अनुसार वारदातको घटनाक्रम मिलेको दसी बरामद हुनआएको छ । प्रतिवादीहरूको अधिकार प्राप्त अधिकारी समक्ष भएको साविती अन्य सबूद प्रमाणहरूबाट समर्थित हुनआएकोले यी प्रतिवादीहरूलाई सजायँ गर्ने गरेको इन्साफ मनासिब छ भन्ने समेत र जाहेरवालाका तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री बालकृष्ण न्यौपानेले कर्तव्य भएको कुरा प्रतिवादीहरूले नै स्वीकार गरेकोले कर्तव्य भएको हो भन्ने कुरामा विवाद रहेन । अभियुक्तहरू रोहवरमा नराखी गरिएको सरजमीनको कानुनी प्रमाणिकता नहुने हुनाले पहिले सरजमीन नगराइएको र अभियुक्तहरू पक्राउ भइसकेपछि मात्र सरजमीन गराइएको हो । प्रतिवादीहरूको प्रहरीमा भएको साविती बयान अनुसार दसीहरू बरामद भएको छ । अतः यी प्रतिवादीहरूलाई सजायँ गर्ने गरेको डिभिजनबेञ्चको निर्णय मनासिब हुनुपर्दछ भन्ने समेत बहस गर्नु भयो ।

३२. आज निर्णय सुनाउने तोकिएको प्रस्तुत मुद्दामा निर्णयतर्फ हेर्दा प्रस्तुत मुद्दा प्रतिवादी बुद्धिबहादुर गुरुङ र प्रतिवादी टेकबहादुर भण्डारीको हकमा श्री ५ महाराजाधिराजबाट हु.प्र. बक्स भई दोहोरिएर आएको हुनाले यी निवेदक प्रतिवादीहरू बुद्धिबहादुर गुरुङ र टेकबहादुर भण्डारीको हकमा यस अदालत डिभिजनबेञ्चबाट भएको निर्णय मिलेको छ छैन हेर्नु परेको छ ।

३३. मिति ०३५।३।२७ मा परेको सोरबहादुरको प्रथम जाहेरी दर्खास्तबाट प्रस्तुत मुद्दाको कारवाही चलेको देखिन्छ । मिति २०३५।३।२८।४ मा मृतकहरू मैती गुरुङसेनी र माया गुरुङस्यानीको लाश जाँच मुचुल्का भएको पाइन्छ । उक्त लाश जाँच मुचुल्काबाट खाट मुनि र घरको भित्तामा रगतको छिट्टा प्रशस्त देखिएको मैतीको चिउँडो समेत काटिएको पछाडि गर्दनसम्म चोट पुगेको घाउ, सो घाउ धेरैपटक प्रहार गरेको देखिएको लाश सडे गलेको भन्ने समेत र त्यस्तै गरी मर्ने माया गुरुङस्यानीको टाउकोपट्टि भित्तामा रगत प्रशस्त भएको टाउकोको खप्परको चौटो उडी सो प्वालबाट कुहेको गिदी बगिरहेको र शरीरको ठाउँ ठाउँमा खुकुरीले काटी घाउ भइरहेको भन्ने समेतको व्यहोराको उल्लेख भएको पाइन्छ ।

३४. उक्त लाश जाँच प्रकृति मुचुल्कामा उल्लिखित विवरण र प्रतिवादीहरू प्रहरी समक्ष माया र मैतीलाई कर्तव्य गरी मारेको हुँ भनी सावित भएका र अदालतमा पनि माया र मैतीको मृत्यु कर्तव्यबाट भएको हो भनी  बयान गरेबाट समेत मृतकहरू माया गुरुङस्यानी र मैती गुरुङस्यानीको मृत्यु कर्तव्यबाट भएको प्रष्ट देखिन आयो ।

३५. मैती गुरुङस्यानी र माया गुरुङस्यानीको मृत्यु कर्तव्यबाट भएको देखिन आएकोमा यो प्रतिवादी बुद्धिबहादुर गुरुङले कर्तव्य गरेको हो कि होइन ? त्यसतर्फ मिसिल संलग्न सबूद प्रमाण हेर्दा निजले , टेकबहादुर र प्र.ओमबहादुर समेत ३ जना माया र मैती सुती रहेको ठाउँमा गई मैले दावबाट खुकुरी निकाली मैतीलाई २ चोट गर्धन समेतमा काट्दा निज मैती कुनै हलचल नगरी मरेकोले सो ठाउँबाट माया भएको ठाउँमा गई ओमबहादुरले मायाको ठाउँ ठाउँमा ३४ चोट खुकुरीले काट्दा माया नमरेकीले मैले पनि आफ्नो हातमा भएको मैतीलाई काटेको सोही खुकुरीले ३४ चोट काट्दा पनि माया नमरेकीले माष्टर टेकबहादुरले ओमबहादुरको हातमा भएको खुकुरीले ३४ चोट काटेपछि मात्र माया मरेकी हुन्भनी प्रहरी समक्ष मैती र मायालाई कर्तव्य गरी मारेकोमा सावित भई बयान दिएका छन् । सोही साविती बयानमा उनले मैती र मायाको घरबाट ल्याएका गहनाहरू मध्ये आफूले सुनको बेरुवा औंठी १ र पत्थर जडेको सुनको औंठी १ समेत लिई आफ्नो घरमा राखेको छु भनी बयान गरे बमोजिम मिति २०३५।९।१० मा बुद्धिबहादुर गुरुङको घरमा खानतलासी गर्दा ती सुनको औंठी समेतका गहनाहरु बरामत भई आएको र उक्त औंठीलाई मृतक मैती गुरुङस्यानीका छोरा जाहेरवाला डोरबहादुरले अदालतमा समेत सनाखत समेत गरेकोबाट अभियुक्तको प्रहरी कागज, प्राप्त भएको दसी र घा जाँच मुचुल्काबाट समेत समर्थन भएको देखिन आएको छ । जहाँसम्म खानतलासी मुचुल्कामा बसेका साक्षीहरू अदालतमा आएर यी दसीहरूको सनाखत नगरेकोले ती दसीहरूलाई प्रमाणमा लिन मिल्दैन भन्ने प्रतिवादी पक्षका विद्वान वरिष्ठ अधिवक्ताले जिकिर लिएको छ । बरामद मुचुल्का मुलुकी ऐन अ.बं.१७२ नं.अनुसार भएका र साक्षीहरू बरामदी मुचुल्कामा देखाइएका सामानहरू बरामद भएको हो भनी देखाउने साक्षीहरू मात्र भएकोले तिनीहरूले अदालतमा आई सो मालहरू सनाखत गर्नु बेगर ती बरामद भएका दसीहरूलाई प्रमाणमा लिन मिल्दैन भन्न मिलेन । यसको अलावा अदालतमा समेत आई बकपत्र गर्ने सरजमीनका अधिकांश व्यक्तिहरूले पनि निज माथि पूर्ण विश्वास लाग्छ भनी लेखिदिएका र यी प्रतिवादी बुद्धिबहादुरले अदालतमा बयान गर्दा प्रहरीमा कुटपिट गरी डरधाक देखाई साविती बयान गराएको हो, माया र मैतीलाई कर्तव्य गरी मारेको छैन भनी इन्कारी बयान गरे पनि निजले कुटपिट गरेको कुनै घाचोट छ भनेर भन्नसकेको नदेखिएकोबाट अदालतमा गरेको निजको बयान साँचो नदेखिई प्रहरी समक्ष भएको बयान कागज बमोजिम निजले मर्ने माया र मैतीलाई कर्तव्य गरी मारेको देखिन आयो ।

३६. अब निवेदक प्रतिवादी टेकबहादुर भण्डारीको हकमा यस अदालत डिभिजनबेञ्चबाट भएको निर्णय मिलेको छ छैन भन्नेतर्फ हेर्दा निजले क्रमिक रुपले वारदातको वर्णन गर्दै बुद्धिबहादुरले ३।४ चोट काट्दा नमरी छटपटाएकोले ओमबहादुरले ३।४ चोट काट्दा पनि माया छटपटाएकोले ओमबहादुरका हातबाट खुकुरी मैले लिई मायालाई ३।४ चोट काटेपछि मात्र निज माया छटपटाउन चल्न छाडी मरेका हुन । मैती र माया २ जनालाई हत्या गरी मैतीको घरको ढोकामा साँचो लगाई सो साँचोको झुप्पा मैतीकै घर दक्षिणपट्टिको कोदो मकैको बारीमा मैले फाली दिएको छु र ओमबहादुरले लिएको खुकुरी के.आई.सिंह पुल पोखरानेरको जनसेवा मम रेष्टुरेन्टमा पुर्‍याएको छु भनी बयान दिएका छन् । निज प्र.टेकबहादुरको प्रहरीमा भएको बयान बमोजिम जनसेवा मम रेष्टुराँ नभई सो रेष्टुरेन्टको धनी त्रिलोचन पौडेल रहे बसेको निजको घर खानतलासी लिँदा सो घरबाट निज प्रतिवादीहरूले भने बमोजिमको खुकुरी बरामद भएको र उक्त खुकुरीलाई  यी प्रतिवादीहरू ओमबहादुर गुरुङ र माष्टर टेकबहादुरले सनाखत गरी दिएको भन्ने समेत मिति ०३५।९।१२।४ मा भएको खानतलासी बरामदी मुचुल्काबाट देखिन्छ । यो प्रतिवादी टेकबहादुरले आफ्नो प्रहरी कागजमा मैतीका बारीमा फालेको भनेको साँचोको झुप्पा मनमाया गुरुङस्यानीले मिति ०३५।९।१९।४ मा भएको सरजमीनमा दाखिल गरेको कुरा मिसिलबाट देखिन आएकोले निजको सो प्रहरीको कागज समर्थित भएको र सरजमीनको अधिकांश व्यक्तिहरूले पनि निज माथि शंका देखाएका छन् । उपरोक्त माथिका कारणहरूबाट निज प्रतिवादी टेकबहादुरले अदालतमा गरेको इन्कारी बयानलाई तथ्ययुक्त मान्न र निज समेत भई माया गुरुङस्यानीलाई कर्तव्य गरी मारेको होइन भन्न मिलेन ।

३७. तसर्थ उपरोक्त माथि उल्लिखित प्रमाणहरू तथा यस अदालत डिभिजनबेञ्चको ठहरमा लेखिएका बुँदा प्रमाण समेतका आधारमा प्र.बुद्धिबहादुर गुरुङ, प्र.टेकबहादुर भण्डारीले अपराध गरेको ठहराएको र निजहरूलाई सर्वस्वसहित जन्मकैदको सजायँ गर्ने गरेको शुरु कास्की जिल्ला अदालत तथा पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला सदर गर्ने गरेकोमा यस अदालत डिभिजनबेञ्चको मिति ०३९।८।२३।४ को फैसला मनासिब ठहर्छ । यस अदालत डिभिजनबेञ्चको फैसला मनासिब ठहरेकोले निवेदक प्रतिवादीहरूलाई थप सजायँ गर्नु पर्दछ कि भन्नलाई निजहरूले सर्वस्वसहित जन्मकैदको सजायँ पाएकोले थप सजायँ गर्नु परेन यो फैसला भएको जानकारी निवेदक प्रतिवादीहरूलाई दिई मिसिल नियम बमोजिम गर्नु ।

 

उक्त रायमा मेरो सहमती छ ।

न्या.हिरण्येश्वरमान प्रधान

 

खुकुरी र साँचोको झुप्पो बरामदी भएको विषयमा बाहेक अरुमा मेरो सहमती छ ।

न्या.हरगोविन्द सिंह प्रधान

 

इतिसम्वत् २०४३ साल कार्तिक २१ गते रोज ६ शुभम् ।