निर्णय नं. २७७१ – उत्प्रेषणको आदेश जारी गरिपाउँ
निर्णय नं. २७७१ ने.का.प. २०४३ अङ्क – ६ सिंगलबेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह सम्वत् २०४३ सालको रिट नं. १७२५ आदेश भएको मिति :...
निर्णय नं. २७७१ ने.का.प. २०४३ अङ्क – ६
सिंगलबेञ्च
सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह
सम्वत् २०४३ सालको रिट नं. १७२५
आदेश भएको मिति : २०४३।६।६।२ मा
निवेदक : जिल्ला सप्तरी डाँडा गा.पं.वडा नं.५ बस्ने जोखन कुर्मी
विरुद्ध
विपक्षी : भूमिसुधार कार्यालय सप्तरीसमेत
विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ
(१) कूत बुझाएको भन्न मिलेन भन्ने आधार लिई मोही निष्कासन गर्ने गरेको निर्णयलाई त्रुटिपूर्ण भन्न मिल्ने अवस्था नहुँदा प्रत्यर्थीहरूबाट लिखितजवाफ मगाइरहनु नपर्ने ।
(प्रकरण नं. ८)
निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री उमेश खकुरेल
आदेश
प्र.न्या.धनेन्द्रबहादुर सिंह : नेपालको संविधानको धारा ७१ अन्तर्गत दर्ता भई निर्णयार्थ पेश हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा यसप्रकार छ ।
२. जिल्ला सप्तरी डाँडा गा.पं.वडा नं.६ कि.नं. १३० को ०–४–२ जग्गा विपक्षीले स्थापित गर्नुभएको लक्ष्मीनारायण भगवानको नाममा दर्ता रही मेरो पिता दुखी कुर्मीले मोहियानी हकको प्रमाणपत्र समेत प्राप्त गर्नु भई जोतभोग कमोद गरी आउनु भएकोमा पिता परलोक हुनु भई मेरो मोही हक हुन आई बाली बुझाई आइरहेको, उक्त जग्गा मोहियानी हकको प्रमाणपत्रमा कि.नं. १२३ लेखिए तापनि नापीमा र विपक्षीको ज.ध.प्र.पू.समेतमा कि.नं. १३० भएको र विपक्षीले बाली बुझ्दा समेत कि.नं. १३० बाट नै बुझेको छ । पछि २०३९ सालको बाली भू.सं. ऐनको म्यादभित्र विपक्षी कुशेश्वरलाई बुझाउन जाँदा आलटाल गरी धरौटी राख्ने म्याद समेत गुजारी दिनु भएपछि बाली नबुझाएकोले निष्कासन गरिपाउँ भनी फिराद गर्नुभएकोमा जग्गा धनीले आलटाल गरी धरौटी राख्ने म्याद समेत गुजारी दिएको हो कूत यस कार्यालयबाट तोकिएको तारेखमा नै बुझाई दिनेछु भनी मैले प्रतिउत्तर गर्दा दावीको सालको कूत बुझाउन बाँकी छ भन्ने व्यहोराको विपक्षीको प्रतिउत्तरबाट देखिएकोले आफ्नो कर्तव्यप्रति लापरवाही देखिएकोले प्रतिवादीको स्वर्गीय बाबु दुखी कुर्मीको मोही हकबाट भू.सं.ऐनको दफा २४(१) बमोजिम निष्कासन हुने ठहर्छ भन्दै विपक्षी भू.सु.का.बाट मिति ०४३।३।२९ मा फैसला भयो ।
३. मैले भू.सु.का.मा प्रतिउत्तर दिँदा नै तारिख तोकी बाली बुझाई पाउँ भनी जिकिर लिएकोबाट पनि बाली एकलौटी खाने मेरो नियत रहेको थिएन छैन । बाली भराई मोही निष्कासन गरिपाउँ भनी दावी लिएकोमा बाली भराउनेतर्फ फैसला मौन रहेबाट भूमिसम्बन्धी ऐनको दफा २९(३) लाई विपक्षी भू.सु.का.बाट निष्कृय बनाएको छ । मैले ०४०, ०४१ र ०४२ सालको बाली समेत भू.सु.का.सप्तरीमा धरौटी राख्दा विपक्षी कुशेश्वर झाले ०४१ र ०४२ सलको धरौटी रकम फिर्ता पाउँ भनी मलाई मोही देखाई मैले राखेको धरौटी मिति ०४३।४।३० मा बुझी लिनु भएको र मुद्दाको कुरा समेत उल्लेख गर्नु भई कागज समेत गरी दिनु भएबाट मुद्दा दायर गरी सकेपछि पनि विपक्षी जग्गा धनीले मलाई मोही मान्नु भएको देखिएकोले भू.सु.का.को फैसला त्रुटिपूर्ण छ । विपक्षी भू.सु.का.ले सोही दिन फैसला गरेको वादी यिनै विपक्षी कुशेश्वर झा र प्रतिवादी सैनी यादव भएको मेरो जस्तै अवस्थाको मोही निष्कासन मुद्दामा मोही निष्कासन नगरी बाली मात्र भराउने गरेबाट पनि विपक्षी भू.सु.का.पक्षपात पूर्व भावनाले प्रेरित रहेको देखिन्छ । न्यायिक मनको अभावमा म प्रति पूर्वाग्रह राखी गरेको उक्त निर्णयबाट नेपालको संविधानको धारा १०(१), ११(२)(ङ) तथा १५ द्वारा प्रत्याभूत मौलिक हक हनन् भएकोले उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरी भू.सु.का.को उक्त फैसला बदर गरिपाउँ भन्ने समेत निवेदन जिकिर ।
४. निवेदकतर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री उमेश खकुरेलले रिट निवेदकले प्रत्यर्थीलाई कूत बुझाउँन गएकोमा बुझ्न आलटाल गर्नु भएबाट धरौट राख्ने म्याद गुज्रन गएको हो, कूत बाली बुझाउँन मञ्जूर गरी प्रतिउत्तर परेको छ । कूततर्फ कुनै कुरा नबोली मोही निष्कासन गर्ने गरेको भु.सु.का.को निर्णय त्रुटिपूर्ण हुँदा बदर हुनु पर्दछ भन्ने समेत बहस गर्नुभयो ।
५. प्रस्तुत निवेदनमा निवेदकका माग अनुसारको आदेश जारी हुनुपर्ने हो होइन ? सो कुराको निर्णय दिनुपर्ने हुन आएको छ ।
६. यसमा निर्णयतर्फ हेर्दा कूत बुझाउन बाँकी छ भन्ने प्रतिउत्तरपत्रबाट देखिएकोले कूत बुझाएको भन्न मिलेन जग्गाबाट प्रतिवादीको स्वर्गीय बाबु दुखी कुर्मीको मोही हकबाट भू.सं. ऐनको दफा २९(१) बमोजिम निष्कासन हुने ठहर्छ भनी प्रत्यर्थी भूमिसुधार कार्यालय सप्तरीबाट निर्णय गरेको देखिन्छ ।
७. भूमिसम्बन्धी ऐन, २०२१ को दफा २९ को उपदफा (१) मा दैवी परी बाली नास भएकोमा वा उब्जाउन नसकेमा बाहेक मोहीले कूत बुझाएन भन्ने कुराको जग्गावालाले उजूरी दिएमा तोकिएको अधिकारीले त्यस्तो मोहीलाई जग्गाबाट निष्कासन गर्ने आदेश दिन सक्नेछ भन्ने लेखिएको पाइन्छ ।
८. प्रस्तुत मुद्दामा प्रत्यर्थी भूमिसुधार कार्यालयले कूत बुझाएको भन्न मिलेन भन्दै मोहीबाट निष्कासन गर्ने निर्णय गरेको पाइन्छ । त्यसप्रकार कूत बुझाएको भन्न मिलेन भन्ने आधार लिई मोही निष्कासन गर्ने गरेको निर्णयलाई त्रुटिपूर्ण भन्न मिल्ने अवस्था नहुँदा प्रत्यर्थीहरूबाट लिखितजवाफ मगाई रहन परेन । प्रस्तुत रिट निवेदन खारेज हुने ठहर्छ । फायल नियम बमोजिम गरी बुझाइदिनू ।
इति सम्वत् २०४३ साल आश्विन ६ गते रोज २ शुभम् ।