September 29, 1986
Created by nepalarchives

निर्णय नं. २७५५ – लिखत पास कीर्ते

निर्णय नं. २७५५    ने.का.प. २०४३     अङ्क – ६ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल २०४१ सालको दे.वि.वि.न. १२१ फैसला भएको...

निर्णय नं. २७५५    ने.का.प. २०४३     अङ्क – ६

डिभिजनबेञ्च

माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह

माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल

२०४१ सालको दे.वि.वि.न. १२१

फैसला भएको मिति : २०४३।६।१३ मा

 

निवेदक/वादी : औराही गा.पं.बा.नं.४ बस्ने किशोरी चौधरी कलवारको हकमा का.जि.का.न.पं.वा.नं.१२ टेकू बस्ने वर्ष २८ को मदनराय यादव

विरुद्ध

विपक्षी/प्रतिवादी : बाराथोस गा.पं.वा.नं. ८ बस्ने जिम्दार शाह

 

मुद्दा : लिखत पास कीर्ते

 

(१) वादीले राजीनामा गराउँदा ज.ध.प्र.पूर्जा अथवा जग्गाको मालपोत तिरेको रसीद प्रतिवादीबाट लिएको हुनुपर्नेमा सो भएको फिरादबाट देखिएको छैन । लिखत पारीत हुन सक्ने भएन तर त्यस्तो रीत नपुगेको लिखतलाई सद्देकीर्ते भनी इन्साफ गरिरहनु परेन ।

(प्रकरण नं. १४)

 

निवेदक/वादीतर्फबाट : विद्वान अधिवक्ता श्री कमलनारायणदास

 

फैसला

न्या.बब्बरप्रसाद सिंह :     मध्यमाञ्चल क्षेत्रीय अदालतको मिति ०३८।८।२८।१ को फैसला उपर चित्त नबुझी वादीको यस अदालतमा पुनरावेदनको अनुमतिको लागि पर्न आएको निवेदनमा अनुमति प्रदान नभए उपर श्री ५ महाराजाधिराजका हजूरमा इन्साफ जाँच गरिदिनु भनी हु.प्र.बक्स पाउँ भन्ने निवेदक वादी किशोरी  चौधरीको हकमा मदन राय यादवको परेको निवेदनमा इन्साफ जाँच  गरी दिनु भनी हु.प्र. भई आएको प्रस्तुत लिखत पास कीर्ते मुद्दाको संक्षिप्त विवरण यसप्रकार छ :

२. विपक्षीले मसंग रु.३२,०००।कर्जा लिई निजका हकको जम्मा जग्गा विगहा ३१८१३ मिति ०३४।९।२३ मा राजीनामा लिखत गरिदिएको म्यादभित्र पास गरी नदिएकोले पास गराई पाउँ भन्ने वादी किशोरी चौधरीको फिराद । वादी दावा बनावटी हो वादीसँग मैले कुनै रकम लिई जग्गा राजीनामा गरी दिएको समेत होईन लिखत हेर्न पाउँ भन्ने समेत प्र.जिमदार साहतेलीको प्रतिउत्तर ।

३. वादी दावीको लिखत हेरें मैले मेरै गाउँको सुदिष्ट झालाई ०३०।३१ सालतिर रु.७००।को लिखत गरिदिएको थिएँ निज सुदिष्ट झा लाई वादीको ससुरा गुगुल चौधरीले मिलाई सो लिखतको व्यहोरा उठाई मेरो सहिछाप यथावत राखी यो दावीको लिखत कीर्ते खडा गरेका हुन् लिखतमा अंक र अक्षर समेत खादिएकोबाट लिखत अन्तरसाक्षीहरू समेत मिली खडा गरेका हुन् । सजायँ गराई पाउँ भन्ने समेत प्र.जिमदार सातेलीको बयान ।

४. राजीनामा सद्दे व्यहोराको हो कीर्ते होइन । सद्दे लिखतलाई कीर्ते भनेमा निजलाई नै सजायँ गराई पाउँ भन्ने समेत वादी वा रामसेवकको बयान ।

५. लिखतको मिति कागजको प्रकृति र सहिछापबाटै लिखत सच्चाई बनाएको भन्ने स्पष्ट छ । लेखात्मक सहिछाप दोहराई लेखेको समेत देखिँदा लिखतमा उल्लेख भएको मितिको लिखत रहेछ भन्ने मिल्दो जुल्दो देखिँदैन । ल्याप्चे छाप पनि उडे उडाएको र कागज पनि पछाडिबाट टाँसी अर्कै स्वरुपको सृजना गरेको देखिँदा सहिछाप अप्रष्ट र कीर्ते गरेको देखिँदा लिखत पारीत गरिपाउँ भन्ने दावी पुग्न नसक्ने ठहर्छ भन्ने सर्लाही जिल्ला अदालतको फैसला ।

६. लिखत व्यहोरा र सहिछाप उडे उडाएको वा दोहराई लेखेकोमा रेखा विशेषज्ञद्वारा प्रयोगशालामा अनुसन्धान नभई कीर्तेमा ठहराई लिखत पारीत नहुने ठहर्‍याएको इन्साफ बदर गरी लिखत पारीत गरिपाउँ भन्ने वादी किशोरी चौधरीको म.क्षे.अ.मा परेको पुनरावेदन ।

७. यसमा वादीले पेश गरेको सक्कल लिखत हेरी विवेचना गरी लिखतको प्रकृति समेतको आधारबाट लिखत कीर्ते ठहर्‍याई सर्लाही जिल्ला अदालतबाट फैसला गरेको र सो लिखत मिसिल सामेल नदेखिएकोले सक्कल लिखत खोजी गरी पठाई दिनु भनी मध्यमाञ्चल क्षेत्रीय अदालतबाट सर्लाही जिल्ला अदालतलाई लेखि पठाएकोमा सो लिखत हराए बापत रिकर्ड कीपरलाई रु.५०।जरिवाना गर्ने गरी सर्लाही जिल्ला अदालतबाट मिति ०३७।८।१५।१ मा फैसला आदेश भएको भनी सर्लाही जिल्ला अदालतबाट पत्र र आदेशको प्रतिलिपि समेत पठाएको देखिँदा यसरी सक्कल लिखत हराएको स्थितिमा शुरुको फैसला उल्टाउन सकिने आधार देखिन नआएकोले पुनरावेदन जिकिर पुग्न सक्दैन र सक्कल लिखत बेञ्चले हेर्न नपाएको स्थितिमा पुनरावेदन गरेबाट अ.बं.२०३ ले थप सजायँ गर्न नमिल्ने ठहर्छ भन्ने समेत मिति २०३८ साल मार्ग २८ गते रोज १ को मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला रहेछ ।

८. यसमा मध्यमाञ्चल क्षेत्रीय अदालतबाट मिति ०३८।८।२८।१ मा भएको फैसला उपर चित्त बुझेन पुनरावेदन गर्ने अनुमति पाउँ भनी यस अदालतमा पर्न आएको वादीको निवेदनमा म.क्षे.अ.को निणर्यमा कुनै कानुनी त्रुटि नदेखिएकोले पुनरावेदन गर्ने अनुमति दिन मिलेन भन्ने समेत मिति ०३९।४।३।१ को यस अदालत डिभिजनबेञ्चको आदेश रहेछ ।

९. वादी दावी नपुग्ने गरी म.क्षे.अ.ले गरेको इन्साफमा पुनरावेदन गर्ने अनुमति नदिने गरी गरेको यस अदालतको डिभिजनबेञ्चको उक्त आदेशबाट मलाई घोर अन्याय परेको हुँदा म.क्षे.अ.को फैसलालाई सर्वोच्च अदालतबाट इन्साफ जाँच गरी दिनु भनी स.अ.को नाउँमा हु.प्र. बक्स पाउँ भनी वादीको श्री ५ महाराजाधिराजका हजूरमा चढाएको निवेदनमा इन्साफ  जाँची कानुन बमोजिम निर्णय गर्नु भनी यस अदालतका नाउँमा हु.प्र. बक्स भई आई डिभिजनबेञ्चको लगतमा दायर भएको रहेछ ।

१०. यसमा वादीले फिराद साथ पेश गरेको राजीनामाको सक्कल कागजको नक्कलमा जनिएको शिर व्यहोराबाट कागजमा कुनै किसिमको कैफियत भएको नजनिएको र लेखक साक्षी जैशीराम र बासुदेव महतोको बयानबाट पनि रु.३२,०००।लेनदेन भई कागज लेखिएको भन्ने देखिन आएबाट सो राजीनामा कागजलाई कीर्ते ठहर्‍याई शुरु सर्लाही जिल्ला अदालतले गरेको फैसलालाई सदर गरी मध्यमाञ्चल क्षेत्रीय अदालतले गरेको इन्साफ मिलेको देखिएन । अ.बं.२०३ नं. बमोजिम छलफलको निमित्त विपक्षी प्रतिवादी जिमदार शाहलाई झिकाई आएपछि नियमानुसार पेश गर्नु भन्ने समेत यस अदालत डिभिजनबेञ्चको मिति ०४२।६।६।१ को आदेश रहेछ ।

११. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी बेञ्च समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा तारेखमा रहेको वादीको वा तथा प्रतिवादीलाई बेञ्चमा पटक पटक बोलाउन लगाउँदा लगाउँदै उपस्थित नभएका । निवेदक वादीको तर्फबाट बहसको लागि उपस्थित हुनुभएका विद्वान अधिवक्ता श्री कमलनारायण दाशले गर्नुभएको बहस जिकिर समेत सुनियो ।

१२. प्रस्तुत मुद्दामा मध्यमाञ्चल क्षेत्रीय अदालतले गरेको इन्साफ मनासिब बेमनासिब के रहेछ सो सम्बन्धमा निर्णय दिनुपर्ने हुन आयो ।

१३. यसमा रुपैयाँ कर्जा लिई राजीनामा लिखत गरी दिएको म्यादभित्र पास गरी नदिएकोले पास गराई पाउँ भन्ने वादी किशोरी चौधरीको फिराद भई वादीसँग कुनै रकम लिएको र जग्गा राजीनामा गरी दिएको होइन लिखत कीर्ते हुनाले वादीलाई सजायँ गरिपाउँ भन्ने प्रतिवादीको जिकिर भएकोमा लिखत कीर्ते देखिँदा लिखत पारीत गरिपाउँ भन्ने वादी दावी पुग्न नसक्ने ठहर गरी कीर्ते गरेमा वादीलाई सजायँ गर्ने समेत गरेको शुरु जि.अ.को इन्साफलाई म.क्षे.अ.ले सदर गरेको पाइन्छ ।

१४. यस सम्बन्धमा मिसिल कागजात अध्ययन गर्दा हाल सक्कल लिखित पेश हुन नसके तापनि लिखितको सक्कल बमोजिम नक्कल भनी फिराद पेश भएकोमा कारणीको ल्याप्चे सहिछापको जाँच नछुट्टिने भनी कैफियत जनाएको देखिँदा लिखतलाई रीतपूर्वकको लिखत भन्न मिलेन । वादीले राजीनामा गराउँदा ज.ध.प्र.पूर्जा अथवा जग्गाको मालपोत तिरेको रसीद समेत प्रतिवादीबाट लिएको हुनु पर्नेमा सो भएको फिरादबाट देखिएको छैन । तसर्थ लिखत पास हुन सक्ने भएन तर त्यस्तो रीत नपुगेको लिखतलाई सद्देकीर्ते भनी इन्साफ गरिरहनु परेन । कीर्ते ठहर गरी सजायँ गरेको सम्म सर्लाही जि.अ.को इन्साफ मनासिब ठहर गरेको म.क्षे.अ.को इन्साफ बदर हुन्छ । म.क्षे.अ.को इन्साफ केही उल्टी हुने ठहर्छ । अरु तपसील बमोजिम गर्नु ।

तपसील

माथि इन्साफ खण्डमा लेखिए बमोजिम शुरु जि.अ.का मिति ०३६।९।१२ का फैसलाले वादीलाई कीर्ते गरेमा सजायँ गर्ने गरेको हदसम्म उल्टी भई फैसला भएकोले उक्त जि.अ.का फैसलाले वादी समेतलाई जरिवाना गरेको लगत कायम नरही कट्टा हुने हुँदा सो जि.अ.का फैसलामा तपसील खण्डको दफा १ र २ मा कायम गरेको लगत कायम नरही कट्टा हुने हुँदा वादी समेतबाट असूल गर्ने गरेको रकम असूल भइसकेको भए ऐन बमोजिम सम्बन्धित पक्ष (वादी समेतको) रकम फिर्ता पाउँ भनी दर्खास्त पर्न आए फिर्ता गरी दिनु भनी र असूल उपर भई नसकेको भए असूल गरिरहनु परेन भनी शुरु जि.अ.मा लेखी पठाउन का.जि.अ.त.मा लगत दिनु ………….. १

माथि इन्साफ खण्डमा लेखिए बमोजिम म.क्षे.अ.को इन्साफ केही उल्टी भई फैसला भएकोले म.क्षे.अ. का मा.मुख्य न्यायाधीश श्री पृथ्वीबहादुर सिंह तथा  मा.न्या. श्री रुद्रबहादुर सिंहको केही उल्टीमा रेकर्ड राख्‍नु………. २

मिसिल नियम बमोजिम गरी बुझाइदिनू……… ३

 

उक्त रायमा म सहमत छु ।

न्या.प्रचण्डराज अनिल

 

इति सम्वत् २०४३ साल आश्विन १३ गते रोज शुभम् ।