August 14, 1986
Created by nepalarchives

निर्णय नं. २७५१ – उत्प्रेषण

निर्णय नं. २७५१    ने.का.प. २०४३     अङ्क – ६ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी सम्वत् २०४१ सालको रि.न. १७७१ आदेश...

निर्णय नं. २७५१    ने.का.प. २०४३     अङ्क – ६

डिभिजनबेञ्च

माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह

माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी

सम्वत् २०४१ सालको रि.न. १७७१

आदेश भएको मिति : २०४३।४।३०।५ मा

 

निवेदक : ल.पु.न.पं.वडा नं.२ शान्तिपाखा बस्ने वर्ष ५० को बालकृष्ण विष्टसमेत

विरुद्ध

विपक्षी : भूमिसुधार कार्यालय ललितपुरका भू.सु.अ. ल.पु.न.पं.वडा नं.२ झम्सीखेल बस्ने कोमलबहादुर विष्टसमेत

 

विषय : उत्प्रेषण

 

(१)         केबल बाली बुझेको भर्पाईको एक्लो प्रमाण मात्रलाई मोहियानीको आधार मान्न मिल्ने स्थितिको देखिँदैन ।

(प्रकरण नं. १३)

 

निवेदकतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवाली

विपक्षीतर्फबाट : विद्वान का.मु.सहन्यायाधिवक्ता श्री बलिरामकुमार

 

आदेश

न्या.बब्बरप्रसाद सिंह : नेपालको संविधानको धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदकको निवेदन तथ्य एंव जिकिर निम्न प्रकार छन ।

२. निवेदक मध्ये म बालकृष्ण विष्ट स्व.भिमबहादुर विष्टको छोरा हुँ र म विनायक विष्ट निवेदक बालकृष्ण विष्टको एकाघरको सगोलको छोरा हुँ ल.पु.न.पं.वडा नं.२(६) कि.नं. १६१ ऐ.कि.नं. १६२ ऐ.कि.नं. १५९ को जग्गा निवेदकहरूले २०२३ साल देखि कमाई आएकोले मोहियानी हकको प्रमाणपत्र पाउन निवेदन प्रत्यर्थी अधिकृतज्यू समक्ष दिएका थियौं । उक्त कि.नं. का जग्गा धनीहरूमध्ये कि.नं.१५९ र १६१ जग्गाधनी उपस्थित भई हामीबाट बाली बुझेको छ र कोमलबहादुर मोही हुन भन्ने समेत बयान गर्नुभएको थियो । कोमलबहादुरले भाइ भाइको बीचमा २०३४ सालमा अंशबण्डा भई भाइको भागमा परेको मोहियानी जग्गा समेत आफूले कमाई खाने उद्देश्यले निवेदन दिएको भन्ने तथ्यसाथ प्रतिवाद गर्नुभएको थियो ।

३. उक्त विवादमा गरिएको निर्णयाधार यसप्रकार छ । निवेदकहरूले साविकमा मोही प्र.से. कोमलबहादुर विष्ट मोही कायम भइरहेकोले कि.नं.तथा क्षेत्रफलका जग्गाहरूमा मोही कायम गरी निस्सा पाउँ भनी माग दावी गरेको देखिने र भू.सु.लागू हुँदाका अवस्थामा विपक्षी मोही कायम भई निजैका नाउँमा २ नं.अनुसुची लगत समेत प्रकाशन भएपछि निवेदक मोही भएको भए सोही अवस्थामा उजूरी दिनुपर्ने कानुनमा व्यवस्था भएकोमा निवेदकतर्फबाट सो गरे भएको नदेखिने हाल बाली बुझाएको आधारमा मात्र निवेदक मोही कायम हुने हुन कि त भन्नालाई पनि ज.ध.हरूले दर्तावाला मोही प्र.से.कोमलबहादुर विष्ट नै भएको बालीसम्म निवेदकहरूबाट बुझि लिएको भनी बयान दिएबाट कायम भइरहेको मोही छँदा छदै सोही जग्गामा अन्य व्यक्तिलाई मोही कायम गर्न र प्रमाणपत्र समेत दिन भू.सं. ऐनमा कुनै व्यवस्था नभएको हुँदा निवेदकहरूको माग दावी पुग्न सक्दैन दावी खारेज हुने ठहर्छ ।

४. निवेदकहरूको नाममा मोहियानी हक प्राप्त हुने तथा प्रमाणपत्र पाउने भनी निश्चित छ तसर्थ उक्त फैसला भू.सु. ऐन, २०२१ को दफा २६(१), २५(४), दफा २ समेतको प्रतिकूल र अन्य व्यक्तिले जग्गा कमाएको समेत देखिँदैन यस अवस्थामा निवेदकको मोही हक प्राप्त हुने अकाट्य छ । यस सम्बन्धमा ने.का.प.२०३४ पृष्ठ २९२ ने.का.प.०३२ पृष्ठ १०० मन स्थापित नजीर र अ.बं. १८४(क) १८५ को कानुनको आधारमा निवेदकहरूको उल्लिखित हक अपहरित हुनुको साथै नेपालको संविधान २०१९ को धारा (१), ११(२)(ङ) र धारा १५ द्वारा प्रत्याभूमि मौलिक हकबाट समेत बञ्चित हुनु परेकोले उत्प्रेषणको आदेशद्वारा बदर गरी परमादेशको आदेश वा जो चाहिने अन्य उपयुक्त आज्ञा, आदेश जा पुर्जी जारी गरिपाउँ भन्ने समेत रिट निवेदन जिकिर ।

५. यसमा के कसो भएको हो निवेदकको माग बमोजिम आदेश किन जारी हुन नपर्ने हो विपक्षीहरूबाट लिखितजवाफ मगाई आएपछि नियम बमोजिम पेश गर्नु भन्ने यस अदालत सिंगलबेञ्च मिति २०४१।१०।९ को आदेश ।

६. रिट निवेदकको माग दावी कानुनसंगत नभएको भई यस कार्यालयको मिति २०४१।८।२० का निर्णय दावी खारेज सम्म गरी दिएको हो यस कार्यालयको निर्णयबाट रिट निवेदकको कुनै मैलिक हक अपहरण नगरिएको हुँदा रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत भूमिसुधार कार्यालयको लिखितजवाफ ।

७. भूमिसुधार अधिकारीज्यूको मिति २०४१।८।२०।४ को निर्णयमा कुनै कानुनी त्रुटि नहुँदा विपक्षीहरूको रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत कोमलबहादुर विष्टको लिखितजवाफ ।

८. कानुन र नजीर सिद्धान्तको आधारमा भएको भू.सु.का.ल.पु.को मिति २०४१।८।१० को निर्णयबाट निवेदकको कुनै पनि हक अपहरण नभएको हुँदा रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत शिवदास डंगोलको लिखितजवाफ ।

९. यस अदालतको नोटीस म्याद मिति २०४२।८।२७।५ मा योगराज शाक्य तथा न्हुच्छेराज शाक्य आफैंले बुझी लिएको तर लिखितजवाफ नपठाएको ।

१०. यस अदालतको नोटिस म्याद मिति २०४२।४।१८ मा मंगलदास डंगोलको एकाघर बस्ने नाती महर्जनले बुझी लिएको तर लिखितजवाफ नपठाएको ।

११. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत विषयमा रिट निवेदकको तर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवाली र विपक्षीतर्फबाट उपस्थित सहन्यायाधिवक्ता श्री बलिरामकुमारले गर्नुभएको बहस जिकिर समेत सुनियो । प्रस्तुत विवादमा निवेदकको माग बमोजिम आदेश जारी गर्नुपर्ने हो वा होइन भन्ने सम्बन्धमा निर्णय दिनुपर्ने हुन आयो ।

१२. यसमा विवादीत जग्गाको विपक्षीहरूलाई बाली बुझाई सो को भर्पाई समेत लिई सकेकोबाट जग्गा कमाएको भन्ने अकाट्य हुँदा हामीलाई मोहियानी कायम गरिनु पर्नेमा कोमलबहादुर विष्टलाई नै मोही ठहर गर्ने गरेको विपक्षी कार्यालयको निर्णय त्रुटिपूर्ण हुँदा सो निर्णय बदर गराई पाउँ भन्ने मुख्यतया रिट निवेदन जिकिर भएको पाइन्छ सोतर्फ हेर्दा बाली बुझाएको रसीद प्राप्त गर्दैमा निवेदकहरू मोही हुने हो होइन सो कुराको मुख्य रुपमा निर्णय दिनुपर्ने हुन आएको छ ।

१३. भूमिसम्बन्धी ऐन, २०२१ मा व्यवस्था भए अनुसार भूमिसम्बन्धी ऐन लागू हुनुभन्दा पहिला देखि जग्गा कमाउने मोहीले १ नं. लगत भरी २ नं. अनुसूची प्रकाशित गरी सकेपछि सो अन्तिम रुपमा बसे पछि मात्र त्यस्तो व्यक्तिले कानुनी मोही हक प्राप्त गर्ने अथवा भूमिसम्बन्धी ऐन लाग्नु पश्चात मोही हुँ भन्न आउने मोहीले जग्गा धनीबाट कबुलियत गराई सो को १ प्रति स्थानीय पञ्चायतमा पेश गर्नुपर्ने र १ प्रति आफू कहाँ राख्‍न पर्ने कुरा अनिवार्य रुपमा हुनुपर्ने कुरा इङ्गित गरेको छ तब मात्र त्यस्तो व्यक्ति कानुनी रुपमा मोही हुने प्रावधान गरेको छ । प्रस्तुत विवादमा आफू अधिकार प्राप्त मोही हुँ भन्ने निवेदकहरूले आफ्नो नाममा विवादीत जग्गाको १ नं. लगत भरेको र २ नं. अनुसूची निजको नाउँ उल्लेख भई प्रकाशित भएको हो भन्ने जिकिर समेत लिन सकेका छैनन् भने दोश्रोतर्फ भूमिसम्बन्धी ऐन, ०२१ को दफा ३४ बमोजिमको जग्गावालासँग विवादीत जग्गा कमाउने सम्बन्धमा कबूलियत समेत भएको र सो को एक प्रति स्थानीय पञ्चायतमा पेश गरेको छु भनी सो नक्कल पेश गर्न सकेको अथवा लेखाउन सकेको समेत देखिँदैन । केवल जग्गावालालाई बाली बुझाएको रसीद पेश गरेको छु भन्ने मात्र लिएको जिकिरतर्फ हेर्दा जग्गा धनीले मोही कोमलबहादुर विष्ट नै हुनुहुन्छ हामीले निजसँग बाली बुझ्न जाँदा मेरा भाइ बालकृष्णबाट बुझी लिनु भनेबाट विपक्षी बालकृष्ण विष्टसँग बाली बुझी लिएका हौं भन्ने गरेको प्रतिउत्तरबाट निजबाट मोहीको हैसियतले बाली बुझेको नभई मोही बालकृष्ण भएको र विपक्षी निजको भाइ भएको हुँदा वालकृष्णको भनाई बमोजिम निजबाट बाली बुझिलिएको भन्ने देखिएकोबाट केवल बाली बुझेको भर्पाईको एक्लो प्रमाण मात्रलाई मोहियानीको आधार मान्न मिल्ने स्थितिको देखिँदैन । अतः निवेदकहरू भूमिसम्बन्धी ऐन, २०२१ मा भएको प्रावधान बमोजिमको मोही नदेखिएको अवस्थामा निजहरूको माग दावी खारेज गर्ने गरेको विपक्षी भू.सु.का.ललितपुरको निर्णयमा कानुनी त्रुटि नदेखिएको हुँदा प्रस्तुत रिट  निवेदन खारेज हुने ठहर्छ । नियमानुसार गरी फायल बुझाइदिनू ।

 

उक्त रायमा म सहमत छु ।

न्या.हरिहरलाल राजभण्डारी

 

इति सम्वत् २०४३ साल श्रावण ३० गते रोज  ५ शुभम् ।