September 23, 1986
Created by nepalarchives

निर्णय नं. २७४८ – कर्तव्य ज्यान

निर्णय नं. २७४८    ने.का.प. २०४३     अङ्क – ६ डिभिजनबेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४२ सालको फौ.पु.नं. ६५२।६६७।३६६...

निर्णय नं. २७४८    ने.का.प. २०४३     अङ्क – ६

डिभिजनबेञ्च

सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह

माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल

सम्वत् २०४२ सालको फौ.पु.नं. ६५२।६६७।३६६

सम्वत् २०४३ सालको फौ.सा.नं.४७

फैसला भएको मिति : २०४३।६।७।३ मा

 

पुनरावेदक/वादी : शिवालक सिंहको प्रतिवेदनले श्री ५ को सरकार

विरुद्ध

विपक्षी/प्रतिवादी : रामदेव मण्डल धानुकसमेत

 

पुनरावेदक/प्रतिवादी : जि.का.महोत्तरी जलेश्वरमा बन्दी रहेको रामदेव मण्डल धानुकसमेत

विरुद्ध

विपक्षी/वादी : सिवालक सिंहको प्रतिवेदनले श्री ५ को सरकार

 

मुद्दा : कर्तव्य ज्यान

 

(१)         प्रहरी प्रतिवेदन दावी अनुसार अपराधी ठहर गर्न प्रहरी प्रतिवेदन दावी अनुसारको अपराध गरेको हो भन्ने तथ्ययुक्त सबूद प्रमाण हुन पर्ने ।

(प्रकरण नं. २९)

 

पुनरावेदक/वादीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री राजकिशोर सिंह

प्रतिवादी/पुनरावेदकतर्फबाट : विद्वान अधिवक्ता श्री बलराम काफ्ले विद्वान अधिवक्ता श्री बद्रिबहादुर कार्की

 

फैसला

प्र.न्या.धनेन्द्रबहादुर सिंह : मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसलामा चित्त बुझेन भन्ने दुवैपक्षको पुनरावेदन पर्न आएको प्र.उपेन्द्रदास तत्मा समेतका हकमा साधक जाहेर भई पेश हुन आएको प्रस्तुत मुद्दाको तथ्य यसप्रकार छ :

२. रघुवीर पाण्डे, बृजनन्दन पाण्डे, महेन्द्र पाण्डे समेतको कामदार गणेश यादव र लल्हवा भन्ने राम रेखा भूमिहारको र गाउँलेहरू बीच मोही जग्गा सम्बन्धी झैं झगडा चलिरहेको, सोही सन्दर्भमा २०३७।६।९ गते राती ७।८ बजे तिर गाउँले र त्यही मानिसहरू बीच झगडा भएको सो दिन देखि गणेश र राम रेखा फेला नपरेकोमा २०३७।६।१२ गते धानको खेतमा निजहरूको मरी रहेको दुवै लाश पुरी राखेको फेला परेकोले जाहेर गर्न आएको छु । कानुन बमोजिम गरिपाउँ भन्ने समेत व्यहोराको जाहेरी ।

३. लाश गाडेको खाल्टो खनी हेर्दा नाडी दुवै जोडी खरले बाँधेको, बायाँ आँखा माथि १ इन्च लामो, आधा इन्च चौडा काटेको घाउ, दाहिने कन्चट तथा दाहिने कान माथि १ इन्च लामो आधा इन्च चौडा काटेको घाउ, घाँटीमा केराको सुकेको सुट्लोले २ फन्का कसी बाँधी गाठो पारेको, लाश सडी गली सकेको भन्ने समेत मृतक राम रेखाको र सो लाश हटाई मुनी हेर्दा घाँटीमा हरियो बाबियाको डोरीको २ फन्काले बाँधी गाठो पारेको चिउँडोमा धारिलो हतियारले काटेको घाउ, लाश सडी गली बेरुप भएको भन्ने समेत मृतक गणेश यादवको मिति २०३७।६।१३ को लाश प्रकृति मुचुल्का ।

४. लाश सडी गली पोष्ट मार्टम गराउन लैजान सक्ने स्थितिको नहुँदा सदगत गर्न पिप्राढी गा.पं.का.प्र.पं.बहिद कवारीले लाश बुझी लिएको भर्पाई ।

५. २०३७।६।९ गते अं.६ बजे साँझ लाठी, भाला, गरासा समेत लिई ५०।५५ जना आई रघुवीर पाण्डे समेतले हामीलाई लुटपीट मुद्दा चलाए, बृजनन्दनको घर लुट भनी भन्दा बृजनन्दनको घरमा काम गर्ने रामरेखा र गणेशले सम्झाउँदा निजहरूलाई नै कुटपिट गर्न लागेकोले निजहरू बृजनन्दनको घरमा जाँदा त्यहाँ पनि डर भई रघुवीरको घरमा जाँदा त्यहाँ पनि सबैले पिछा गरेकोले दुवै जना भागी गएकोमा निजहरूको पछि पछि लखेट्दै जानेमा रामदेव, विन्देश्वर, राम किशोर, रामरतन, सुखदेव, ढोडाई, ईलिपास, गंगा मण्डल, उपेन्द्रदाश, निरधिन, चन्द्रेश्वर, जुगेश्वर, फुलगेन, रामकृपाल, प्रसाद भन्ने रामप्रसाद दाश समेतलाई मौकामा पहिचान गरेको हुँदा, निजहरूलाई मारेको भन्ने आशंका लागि खोज तलाश गर्दा प्रहरीहरूले नै २०३७।६।१२ गते धान खेतमा लाश गाडेको पत्ता लगाएका हुन् ज्यान मार्दा नदेखेकोले के परिबन्दसँग मारेको हुन खुलाउन सक्दैन भन्ने समेत व्यहोराको बुझिएका जयनन्दन राय भूमिहारको २०३७।६।१७ को कागज ।

६. २०३७।६।९ गते साँझ अं. ६ बजेको समयमा गाउँका चारैतिरबाट लाठी, भाला समेत लिई करीब ४०।४५ जनाहरू हल्ला गर्दै पाण्डेहरूले हामीहरू माथि किन मुद्दा दिए बृजनन्दनको घर लुटौं भनी भन्दा  बृजनन्दन कहाँ काम गर्ने गणेश र रामरेखाले सम्झाउँदा निजहरूलाई नै पिट्न आई लाग्दा भागी बृजनन्दनको घरमा गएकोमा त्यहाँ पनि पस्लान जस्तो गरेकोले मेरा घरमा आई लुकेकोमा हुलै मेरा घरमा समेत आएबाट निजहरू भागी गएका निजहरूको पछि पछि लखेट्दै जानेमा रामदेव, विन्देश्वर, राजकिशोर, गंगा मण्डल, गुलाई कवारी, सुकदेव, कोपेन्द्र, चन्दे्रश्वर, जुगेश्वर, फुलगेन, नन्दुदास, पलट दास, प्रसाद भन्ने रामप्रसाद दास समेतलाई पहिचान गरे । भोलिपल्ट निजहरू पत्ता नलागेकोले मारेको भन्ने आशंका लागी सितापुर प्रहरी चौकीमा खबर पठाएपछि प्रहरीहरू आई खोज तलास गर्दा २०३७।६।१२ मा धानको खेतमा लाश गाडेको पत्ता लागेको हो, ज्यान मार्दाको अवस्थामा आँखाले नदेखेकोले को कसले मारे खुलाउन सक्दैन भन्ने समेत व्यहोराको २०३७।६।१७ को बुझिएका तपेश्वर पाण्डेको कागज ।

७. २०३७ साल आश्विन महीना हो गते बार सम्झना छैन । गणेश र रामरेखाले गाउँका आईमाईहरूलाई छेड खानी गरे भन्ने हल्ला हुँदा गाउँका मानिसहरू र म समेत हात हातमा लाठ्ठी भाला, गडासा लिई आउँदा पठ्ठाहरू भागी बृजनन्दनको घरमा र त्यसपछि रघुवीरको घरमा पसेको त्यहाँ पनि हुलले पिछा गरेकोले त्यहाँबाट भागी गएकोमा म समेतका हुल पिछा गर्दै थियौं । त्यसरी लखेट्दै जानेमा पल्टदास, रामदेव, विन्देश्वर, चन्द्रेश्वर जुगेश्वर, राम कृपाल, फुलगेन, नन्दुदास, लालबाबु, बृक्ष भन्ने राम बृक्ष, भोला कुर्मी, सुकदेव, उत्तम दास, झझु, प्रसाद भन्ने रामप्रसाद बेचनदास, ढोडाई, मुस्लिम कवारी, सलिम कवारी, गुलाई कवारी, ईलियास, राज किशोर, घुसका मुसहर, निरधिन सुवधा, मंगलु, कमलु, कुवरा, पल्टु, उपेन्द्र कोपेन्द्र हरीनन्द, जदुनन्दन, शिवनन्दन, राम विलास, नथुनी, नन्दू मण्डल, गंगा मण्डल, खेहरू र म तथा अरु नाम यकीन नभएको १०।१२ जना सहित अं.४५।५० जनाका हुल थियां, लखेट्दै जाँदा रामरेखालाई चौबाटोमा फेला पारी समातेका, गणेश अगाडि दौड्दै गई राखेकोमा हुलमध्ये २०।२२ जना निजको पछि लखेट्दै गए र राम रेखालाई समातेका बखत म पनि सोही ठाउँमा थिएँ, विन्देश्वर, उपेन्द्र, गंगा कोपेन्द्र जुगेश्वर, ढोडाई सलिम, गुलाई, निरधिन र म समेतले लछार पछार पारी लडाए पछि गंगा र उपेन्द्रले लाठ्ठीले घाँटी च्यापी केराको सुप्लाले घाँटीमा कसी मारेको र सो ठाउँ देखि १५।२० विगहा फरकमा गणेशलाई जदुनन्दन, शिवनन्दन, खेहरू समेतले समाती घाँटीमा बाबियोको डोरीले कसी मारी सकेका रहेछ । मारी सकेपछि घर फर्की आएकोमा राती अं.११ बजे पलट र रामदेवले लाश दबाउनु पर्‍यो भनी बोलाएकोले रामदेव, पलट, चन्देश्वर, भोला, ढोडाई, गुलाई, सलिमप्रसाद, जदुनन्दन, शिवनन्द, गंगा उपेन्द्र कोपेन्द्र, खेहरू, जुगेश्वर, विन्देश्वर, वेचन, निरधिन र म समेत भई गई राम रेखाको लाशलाई गंगा उपेन्द्रले र गणेशको लाशलाई जदुनन्दन, शिवनन्दनले बाँधी धानको खेतमा खाल्डो खनी गाडी आएका हौं भन्ने समेत व्यहोराको अलिमन कवारीको कागज ।

८. २०३७ साल आश्विन महीना गते बार सम्झना छैन बोरिङ पाइपमा मुसहर्नी आईमाईलाई गणेश र रामरेखाले दारुको नशामा छेडखान गरे भन्ने हल्ला हुँदा पठ्ठाहरूलाई ठीक पार्नु पर्छ भनी गाउँलेहरू हात हातमा लाठ्ठी, भाला लिई आउँदा म समेत लाठ्ठी लिई गाउँलेहरू साथ जाँदा निज गणेश र रामरेखा डरले बृजनन्दनको घर भित्र पसे त्यहाँ पनि हुल गएकोले त्यहाँबाट भागी रघुवीर पाण्डेको घरमा गएकोमा त्यहाँ पनि हुल गएकोले निजहरू त्यहाँबाट भागी जाँदा हुलका सबै मानिसहरू पछि पछि गयौं । त्यसरी जानेमा म पलट, रामदेव, विन्देश्वर, राजकिशोर, चन्देश्वर, राम कृपाल, फुलगेन, जुगेश्वर, राम बृक्ष, नन्दुनास, लालबाबु, शुकदेव, उत्तम झुमु भोला, बेचन, रामप्रसाद, ढोडाई, मुस्लिम, गुलाई, ईलिपास, सलिम, घुस्का, सुवधा, मंगलु, कमलु, अलिमन, उपेन्द्र, कोपेन्द्र, जदुनन्दन, शिव नन्दन,  राम विलाश, खेहरू, नन्दु मण्डल, गंगा बेचन, बाजिया, लंगडा, लखन, रामदयाल, नथुनी, पलटु, थिए, रामरेखालाई समाती गंगा, उपेन्द्र, चन्द्रेश्वर, पल्ट, प्रसाद, बेचन र म समेतले लाठ्ठी, भाला प्रयोग गरी पिटेपछि गंगा र उपेन्द्रले घाँटीमा लाठी च्यापी म समेतले हात खुट्टा समाती केराको सुटलीले घाँटीमा कसी मारेको । गणेशलाई २०।२५ जनाले अगाडि लखेट्दै गई मारी सकेको भनी पल्टुले भनेबाट घर फर्केको हुँ भन्ने समेत व्यहोराको निरधिन मुसहरको कागज ।

९. वारदातको हकमा निरधिनको कागजकै मिलान र गणेश र रामरेखाको पछि जानेमा कोपेन्द्र, उपेन्द्र, गंगा, रामदेव, विन्देश्वर, राजकिशोर, चन्द्रेश्वर, जुगेश्वर, फुलगेना, राम कृपाल, जदुनन्दन, शिवनन्दन, नन्दुदास, भोला, गुलाई, ईलियास, पलटदास, प्रसाद, तत्मा बेचन तत्मा, शुकदेव, अलिमन, निरधिन, घुस्का, लखन, राम दयाल, सुबधा, ढोढाई र म समेत थिएँ । लखेट्दै जाँदा रामरेखालाई फेला पारेको गणेश अगाडि गएकोमा २२।२३ जना निजको पछि गएको । रामरेखालाई कोपेन्द्र, उपेन्द्र, चन्द्रेश्वर, गंगा, अलिमन, निरधिनप्रसाद, बेचन, पलट समेतले घेरी कोपेन्द्रले गडासा समेत प्रहार गरी कुट्पीट गरी लडाएकोमा मैले निजलाई केही नगरी गणेश लाई के गरे भनी हेर्न जाँदा जदुनन्दन, शिवनन्दन, समेतले डोरीले घाँटी कस्न लागेकोमा मैले पनि तानतुन धकेल धुकल गरी मार्ने काम गरे भन्ने समेत व्यहोराको खेहरू हजामको कागज ।

१०. गणेश र रामरेखालाई क कसले मारे थाहा छैन भन्ने समेत १० जनाको र गरीब, धनीको विवादमा बृजनन्दनको घर लुट्न भनी रामदेव, चन्देश्वर, ढोढाई पलट, गुलाई चन्द्रेश्वर, विन्देश्वर, रामप्रसाद, कोपेन्द्र, नन्दुदास समेत हुल भई लाठी, भाला साथ लिई जाँदा गणेश र रामरेखाले निजहरूलाई सम्झाउँदा निजै माथी जाई लागेकाले भागी गएका थिएँ । मार्दाको अवस्था देखिन भन्ने समेत ५ जनाले बकी लेखाई दिएको सरजमीन मुचुल्का ।

११. रामरेखा र गणेशलाई लाठीले घाँटी च्यापी डोरीले कसी ज्यान मार्ने गंगा मण्डल, उपेन्द्र दास, जदुनन्दन, शिवनन्दन, खेहरू समेत उपर ज्यानसम्बन्धीको १३(३) को र ज्यान मार्नमा हात हाली संयोग पारी दिने विन्देश्वर, ढोढाई, निरधिन, चन्द्रेश्वर, जुगेश्वर, प्रसाद भन्ने रामप्रसाद गुलाई, कोपेन्द्र, पलटदास, बेचन दास, मुस्लिम, अलिमन समेत उपर ऐ.ऐ.को १३(४) को र ज्यान मार्नलाई घेरा दिई बाटो गोडा छेकी भाग्न उम्कन नदिई संयोग पारी दिने रामदेव, रामरत्‍न, राजकिशोर, शुकदेव, ईलिपास, रामकृपाल, फुलगेन, नन्दुदास, लालबाबु, राम बृक्ष, भोला, उत्तम, झमु सलिम, घुस्सा, मगंलु, कमलु, कुवरा, पल्टु, हरि नन्दन, राम विलाश, नथुनी मण्डल, नन्दु मण्डल बेचन, बजिया, लंगडा रामदयाल, नथुनी मुसहर लखन समेत उपर ऐ.ऐ.को १७(२) को दावी लिई पर्न आएको प्रहरी प्रतिवेदन ।

१२. २०३७।६।९ गतेका दिन म गाउँ घरमा नभई चेपकेट बहिनी कहाँ गएको रामरेखा र गणेशलाई चिनेको छैन निजहरूलाई को कसले मारे थाहा छैन प्रहरीमा कुटपिट गरी व्यहोस् गराएको अवस्था सहिछाप गराएका हुँदा मैले दावी बमोजिम कसूर गरेको छैन भन्ने समेत व्यहोराको प्र.निरधिन मुसहरको बयान ।

१३. रामरेखा र गणेशलाई कसले मारे थाहा छैन, प्रहरीमा कुटपिट गरी व्यहोस् भएको अवस्था सहिछाप गराएको हुँदा मैले दावी बमोजिम कसूर गरेको नहुँदा फुर्सद पाउँ भन्ने भन्ने व्यहोराको प्र.अलिमन कवारीको बयान ।

१४. २०३७।६।९ गते गाउँ घरमा नभई भगवानको पूजामा ससुराल, गएको, रामरेखा र गणेशलाई चिने जानेको पनि छैन, प्रहरीमा कुटपिट गरी बेहोस अवस्थामा सही छाप गराएको हुँदा झुठ्ठा दावीबाट फुर्सद पाउँ भन्ने समेत व्यहोराको प्र.खेहरूको बयान ।

१५. रामरेखा र गणेश यादवलाई कुनै कर्तव्य गरी मारेको होइन अलिमन समेतले किन पोल गरे थाहा छैन, दावी बमोजिम सजायँ हुनुपर्ने होइन भन्ने समेत व्यहोराको प्र.लखन मुसहरको बयान र करीब सोही मिलानको प्र.कुवरा मुसहरको प्र.सुबधा मुसहरको, प्र.बेचनदासको, प्र.नथुनी मण्डलको प्र.नथुनी मुसहरको बयान ।

१६. २०३७।६।९ गते वारदातको दिन गाउँघरमा छैन गणेश र रामरेखालाई मैले कर्तव्य गरी मारेको होइन, कसले मारे थाहा छैन म उपरको दावी झुठ्ठा हुँदा दावी बमोजिम सजायँ हुनुपर्ने हैन भन्ने समेत व्यहोराको प्र.रामबृक्ष मण्डलको बयान, करीब सोही मिलानको प्र.नन्दु मण्डल प्र.भोला कुर्मी, प्र.राम विलास मण्डल, प्र.पलटदास, प्र.झसुदास, प्र.बेचनमण्डल धानुक, प्र.सुकदेवदास, प्र.उत्तमदास, प्र.पल्टु मुसहर, प्र.धुस्का मुसहर, प्र.रामदयाल, प्र.फुलगेन, प्र.जुगेश्वर, प्र.राम कृपाल, प्र.चन्द्रेश्वर, प्र.ईलिपास, प्र.गुलाई, प्र.रामदेव, प्र.राजकिशोर, प्र.रामरत्‍न प्र.ढोढाई, प्र.नन्दुदास, प्र.सलीम कवारी, प्र.प्रसाद तत्मा, प्र.विन्देश्वर, प्र.मुस्लिम कवारी, प्र.गंगा मण्डल, प्र.उपेन्द्र दास, प्र.कोपेन्द्र, प्र.जदुनन्दन, प्र.शिवनन्दन मण्डलको बयान ।

१७. प्रतिवादी मध्ये लालबाबु कमलू, बजिया, मंगलु हरिनन्दन, लंगडा समेत जना ६ ले २०३७।९।१५ को तामेल भएको ७० दिने म्याद पुर्जीमा गुजारी बसेको ।

१८. प्रतिवादीहरू उपर लगाइएको कसूर प्रमािणत गर्ने कुनै अन्य सबूद प्रमाण पेश नभएको प्रहरीको साविती पनि एक मिलान नभएको यस्तो अवस्थामा खाली उजूरीमा सजायँ गर्नु न्यायको मुटुमा झिर रोप्नु मात्रै हुने भएबाट प्र.लालबाबु, कमलू, बजिया, मंगलु, हरिनन्दन, लंगडा समेत ६ जनाको हकमा मुल्तवी रहेको हुँदा निजहरू बाहेक अन्य सबै प्रतिवादीहरूले दावीबाट सफाई पाउने ठहर्छ भन्ने समेत व्यहोराको महोत्तरी जिल्ला अदालतको फैसला ।

१९. मौकामा बुझिएका तपेश्वर, जदुनन्दनले मर्ने गणेश र रामरेखालाई हुलले लखेटेको भनी अदालतमा समेत सोही कुरा बकिदिएका, अधिकार प्राप्त अधिकारी समक्ष निरधिन खेहरू, अलिमन समेतले कसूर स्वीकार गरी अभियुक्तहरूलाई पोल गरेकोमा सो कुरा स्वइच्छाले भनेको हैन भनी प्रतिवादीहरूले प्रमाण दिन नसकेको, सरजमीनका ५ जनाले मृतकलाई लखेट्दै लगेको भनी किटानी लेखी दिएको सोही कुरा अदालतमा समेत आई बकपत्र गरेको छँदाछँदै सोतर्फ विचार नगरी प्रतिवादीहरूलाई सफाई दिने गरी गरेको शुरुको फैसला मिलेन अतः सो फैसला बदर गरी प्रहरी प्रतिवेदन माग दावी बमोजिम गरिपाउँ भन्ने समेत व्यहोराको श्री ५ को सरकार तर्फबाट पर्न आएको पुनरावेदनपत्र ।

२०. मुलतवी रहेका प्रतिवादीहरू बाहेक अन्य प्रतिवादीहरूलाई सफाई दिएको इन्साफ फरक पर्ने भएबाट अ.बं.२०२ नं.बमोजिम सबै प्रतिवादीहरू छफललमा झिकाउने भन्ने समेत मध्यमाञ्चल क्षेत्रीय अदालत डिभिजनबेञ्चको आदेश ।

२१. झगडा कुटपिट गर्ने ४५।५० जना मध्येकै व्यक्तिहरूले कुटपिट गरी बाँध छाड गरी मृतकहरूलाई मारी गाडेको भन्ने परिस्थितिजन्य प्रमाण आधारबाट देखिन आउँछ । प्रतिवादी विन्देश्वर मण्डल, ढोढाई कवारी नीरधिन, चन्देश्वर, प्रसाद भन्ने रामप्रसाद, गुलाई कवारी, पलटदास तत्मा, र उपेन्द्र दास तत्मा समेतलाई झगडा कुटपिट वारदात तथा मृतकहरूलाई लखेटेको अवस्थामा जयनन्दन, तपेश्वर र सरजमीनका रौदी समेत लेखेको भनी बकपत्र गरेको देखिएकोले उल्लिखित प्रतिवादीहरूले मृतकहरूलाई कर्तव्य गरी मारेको ठहर्छ । यसको चोटबाट मर्न गएको भन्ने मिसिल प्रमाणबाट नदेखिएकोले ज्यानसम्बन्धीको १३(३) नं. बमोजिम उल्लिखित ८ जना प्रतिवादीहरूलाई जन्मकैद हुन्छ । प्र.रामदेव मण्डल धानुक र प्र.नन्दुदास तत्मालाई झगडा  कुटपिट वारदात र लखेट्दा समेत देखेको भनी सरजमीनका रोदी यादव समेतले बकपत्र गरेकोबाट समेत यी प्रतिवादीहरू २ जनाले पनि कसूर गरेको प्रमाणित हुन आएकोले दावी बमोजिम ज्यानसम्बन्धीको १७(२) नं. बमोजिम प्रत्येकलाई कैद वर्ष पाँच हुन्छ । निजहरूलाई सफाई दिएको शुरुको फैसला मिलेको देखिएन । उल्लिखित १० जना प्रतिवादीहरू बाहेक अन्य प्रतिवादीहरूलाई सफाई दिने ठहराएको शुरुको इन्साफ मनासिब ठहर्छ भन्ने समेत मध्यमाञ्चल क्षेत्रीय अदालतको २०४२।१।१३।५ को फैसला ।

२२. ज्यानसम्बन्धीको १३(४) को दावी भएको मा १३(३) बमोजिम सजायँ गरेको मिलेको छैन । प्रहरी प्रतिवेदन दावी बमोजिम सबै प्रतिवादीहरूलाई सजायँ हुनुपर्नेमा केही प्रतिवादीहरूलाई सफाई दिएको इन्साफमा चित्त बुझेन भन्ने समेत श्री ५ को सरकार तर्फको पुनरावेदन ।

२३. जन्म कैदको सजायँ गरेको इन्साफमा चित्त बुझेन आरोपित कसूरबाट सफाई पाउनु पर्छ सफाई पाउँ भन्ने समेत प्रतिवादी निरधीन मुसहरको पुनरावेदन ।

२४. आरोपित कसूरबाट सफाई पाउनुपर्नेमा ज्यानसम्बन्धीको १७(२) नं. ले कैद वर्ष ५ गर्ने गरेको इन्साफ त्रुटिपूर्ण हुँदा पुनरावेदनको अनुमति पाउँ भन्ने प्रतिवादी रामदेव मण्डल धानुक र प्र.नन्दुदास तत्माको निवेदन परेकोमा वादी श्री ५ को सरकारको फौ.पु.नं.६५२ र केही प्रतिवादीहरूको समेत फौ.पु.नं. ६६७ को पुनरावेदन परी सकेको देखिँदा यसमा पनि पुनरावेदनको अनुमति प्रदान गरिएको छ भन्ने सर्वोच्च अदालत डिभिजनबेञ्चको २०४२।४।३० को आदेश ।

२५. पुनरावेदक नन्दुदास तत्मा र रामदेव मण्डललाई नियम बमोजिम नाम पुकार गराउँदा उपस्थित हुन नआएको पुनरावेदक वादी श्री ५ को सरकार तर्फबाट बहस गर्न उपस्थित हुन भएका विद्वान सहन्यायाधिवक्ता श्री राजकिशोर सिंहले परिस्थितिजन्य प्रमाणहरूबाट रामरेखा र गणेश यादव कर्तव्यबाट मरेको भन्ने मिसिल प्रमाणबाट देखिन्छ । प्रहरीमा सावित हुने खेहरू समेतले प्रतिवादीहरूलाई पोल गरेको छ । प्रतिवादी निरधीन मुसहर समेत १० जनालाई ठहर गरी अरु प्रतिवादीहरूलाई सफाई दिएको इन्साफ मिलेको छैन । प्रहरी प्रतिवेदन अनुसार सजायँ हुनुपर्छ भन्ने समेत र प्रतिवादी पुनरावेदकहरू तर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री बलराम काफ्ले र विद्वान अधिवक्ता श्री बद्रिबहादुर कार्कीले प्रतिवादी पुनरावेदकहरूले मृतकहरूलाई कर्तव्य गरी मारेको देख्‍ने कोही छैन । पुनरावेदकहरू आरोपित कसूरमा इन्कारी रहेको छ । सरजमीनका व्यक्तिहरूको सरजमीन र अदालतमा भनाई एक रुपता छैन । यस्तो भनाइलाई प्रमाणमा लिन मिल्दैन । तसर्थ पुनरावेदकहरूले सफाई पाउनु पर्दछ भन्ने समेत बहस गर्नुभयो ।

२६. प्रस्तुत मुद्दामा मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मिलेको छ छैन ? सो कुराको निर्णय दिनुपर्ने हुन आएको छ ।

२७. यसमा निर्णयतर्फ हेर्दा प्रतिवादी लाल बाबु, मंगलु कमलु, हरिनन्दन, बजीया र लंगडा फेरार रहेकोले निजहरूको हकमा मुल्तवी राखेको हुँदा त्यसमा विचार गर्नु परेन । प्रतिवादीहरू उपेन्द्रदास, तत्मा, विन्देश्वर मण्डल, नीरधीन मुसहर, चण्देश्वर मण्डल धानुक, प्रसाद भन्ने प्रसाद दास खत्मा, गुलाई कवारी, पलट दास तत्मा र ढौढाई कवारी समेत ८ जनालाई ज्यानसम्बन्धीको १३(३) नं. अनुसार जन्मकैद र प्र.रामदेव मण्डल धानुक र नन्दुदास तत्मालाई ज्यानसम्बन्धीको १७(२) नं. ले जनही कैद वर्ष ५ गर्ने गरेतर्फ प्र.नीरधीन मुसहर प्र.रामदेव मण्डल र धानुक प्र.नन्ददास तत्माको र अरु प्रतिवादीहरूलाई सफाई दिएतर्फ श्री ५ को सरकारको पुनरावेदन परेको देखिन्छ ।

२८. मिसिल हेर्दा लाश प्रकृति मुचुल्काबाट लाश गाडिएको खाल्टोमा पानी र रगत फेटिई पानी रातो भएको नाडी दुवै जोडी खरले बाँधेको बायाँ  आँखा माथि १लामो ½” चौडाई काटेको घाउ, दाहिने कानमाथी १लामो ½” चौडा काटेको घाउ, बायाँ घँडामा काटेको घाउ, घाँटीमा केराको सुकेको सुप्लोले २ फन्का कसी गाँठो पारेको, दाहिने खुट्टाको पिडौलामा घाउ, आँखा निक्लेको लाश सडी गली राखेको रामरेखाको लाश भन्ने र सो लाश मुनी घाँटीमा हरियो बाबियोको डोरीले २ फनकाले कसी गाँठो पारेको च्यूडोमा धारिलो हतियारले काटेको सडी गली सकेको गणेश यादवको लाश भन्ने देखिन्छ । सो लाश रामरेखा र गणेश यादवको लाश हो भन्ने कुरामा विवाद देखिन्न । प्रतिवादीहरू आरोपित कसूरमा इन्कार रही अदालतमा बयान गरेको देखिन्छ । तर प्रतिवादीहरू समेतका हुलहरू बृजनन्दनको घरमा गएको भन्ने कुरा जयनन्दन समेतको प्रहरी र अदालतमा भएको कागज बयानबाट पुष्ट्याई भई राखेको पाइन्छ । वारदातको स्थलमा रहेको भन्ने बुझिएको आधारमा प्रहरीले अपराध अनुसन्धानको सिलसिलामा बुझ्न सक्ने नै हुन्छ । लुटपीट मुद्दा परी बृजनन्दन रघुनन्दनसँग रिसइवी परेको पनि मिसिलबाट देखिन्छ । मौकामा महेन्द्र मण्डल समेतले सरजमीनमा क्षेत्रीय अदालतले अपराधी ठहर गरेका प्रतिवादीहरूलाई पहिचान गरेको भनी लेखाई दिएको कुरा अदालतमा समेत सरजमीनका नरेश मण्डल, रौदी यादव, सोगारथ शिव यादव र भोला तत्मा बुझिएका जयनन्दन र तपेश्वर समेतले बकपत्र गरेको पाइन्छ । त्यसबाट लखेट्दै लगेको देखिएको छ । सो बकपत्रलाई प्रमाणमा लिन नमिल्ने आधार केही देखिँदैन । प्रहरी चौकीमा मानिस हराएको सूचना प्राप्त भएपछि खोजतलाश गर्दा लाश बरामद भएको पाइन्छ । सो लाश मर्ने रामरेखा र गणेश यादवको लाश होइन भनी प्रतिवादीहरूले अदालतमा भन्न सकेको छैन । प्रतिवादी नीरवीन, रामदेव र नन्दुदास बाहेक अरु प्रतिवादीहरूले पुनरावेदन गरेको देखिएन । यस स्थितिमा उपर्युक्त उल्लेख भए अनुसार बुझिएका तपेश्वर जयनन्दन र सरजमीनका रोदी यादव समेतका बकाई समेतको परिस्थितिजन्य सबूद प्रमाणको आधारबाट समेत क्षेत्रीय अदालतले अपराधी ठहर गरेका प्रतिवादीहरू निर्दोष रहेछ भन्न सकिने अवस्था रहेन ।

२९. अरु क्षेत्रीय अदालतबाट सफाई दिएका प्रतिवादीहरूलाई प्रहरी प्रतिवेदन दावी अनुसार अपराधी ठहर गर्न निजहरूले प्रहरी प्रतिवेदन दावी अनुसारको अपराध गरेको हो भन्ने तथ्ययुक्त सबूद प्रमाण हुनुपर्छ । सो बमोजिमको तथ्ययुक्त सबूद प्रमाण समेत केही नदेखिएकोले त्यसतर्फ श्री ५ को सरकारको पुनरावेदन जिकिर पुग्न सक्ने देखिएन । तसर्थ प्रतिवादी उपेन्द्रदास तत्मा, विन्देश्वर मण्डल, नीरवीन मुसहर, चण्डेश्वर मण्डल धानुक, प्रसाद भन्ने रामप्रसाद दास तत्मा गुलाई कवारी पलट दास तत्मा र ढौढाई कवारी समेत ८ जनालाई ज्यानसम्बन्धीको १३(३) नं. अनुसार जन्मकैद र प्र.रामदेव मण्डल धानुक र नन्ददास तत्मालाई ज्यानसम्बन्धीको १७(२) नं. अनुसार जनही कैद वर्ष ५ गर्ने ठहराई साधक जाहेर गरेको र अरु प्रतिवादीहरूलाई सफाई दिएको समेतको मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिब ठहर्छ । पुनरावेदकहरूको पुनरावेदन जिकिर पुग्न सक्दैन । अरु तपसील बमोजिम गर्नु ।

तपसील

पुनरावेदक प्रतिवादी देहायका मानिस के पुनरावेदन गरे बापत अ.बं. २०३ नं. ले जनही शुरु कैद वर्ष ५।को सयकडा १० ले जनही कैद महीना ६६ थप कैद हुन्छ बेरुजु हुँदा ऐन बमोजिम असूल गर्नु भनी काठमाडौं जिल्ला अदालतमा लगत दिनु…….१

रामदेव मण्डल धानुक १ नन्दुदास तत्मा १ देहायका प्रतिवादीहरूलाई मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसलाले जनही कैद वर्ष ५।गर्ने गरेको सो कैद बापत मल भोगीया देवीको नाम दर्ताको जिल्ला महोत्तरी लोहार पठ्ठी गा.पं.वडा नं.९ ख.कि.नं. ७४ को ज.वि.०८ छ कठ्ठा आठ धुर जेथाजमानी दिएको हुँदा सो कैद असूल भएपछि जेथाजमानी फुकुवा गर्नु  सम्बन्धित कार्यालयमा लेखी पठाउन महोत्तरी जिल्ला अदालतमा लेखी पठाई दिनु……….२

रामदेव मण्डल धानुक १ नन्दुदास तत्मा १ पुनरावेदन निर्णय भएको सूचना पुनरावेदक नीरमीन मुसहर र न्यायाधिवक्ताको कार्यालयलाई दिनु  ….३

मिसिल नियम बमोजिम गरी बुझाइदिनू……….४

 

उक्त रायमा म सहमत छु ।

न्या.प्रचण्डराज अनिल

 

 

इति सम्वत् २०४३ साल आश्विन ७ गते रोज ३ शुभम् ।