September 16, 1986
Created by nepalarchives

निर्णय नं. २७४६ – परमादेश मिश्रित उत्प्रेषणको रिट जारी गरिपाउँ

निर्णय नं. २७४६    ने.का.प. २०४३     अङ्क – ६ डिभिजनबेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव सम्वत् २०४२ सालको रिट नं.१७३५...

निर्णय नं. २७४६    ने.का.प. २०४३     अङ्क – ६

डिभिजनबेञ्च

सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह

माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव

सम्वत् २०४२ सालको रिट नं.१७३५

आदेश भएको मिति : २०४३।५।३१।३ मा

 

निवेदक : न्हुछेमाया खड्गी का.जि.यटखा, दमाई टोल

विरुद्ध

विपक्षी : श्री मालपोत कार्यालय, काठमाडौंसमेत

 

विषय : परमादेश मिश्रित उत्प्रेषणको रिट जारी गरिपाउँ

 

(१)   रिट निवेदकले रैकरमा परिणत गरिपाउँ भनी दावी लिंदा २२ जग्गाको  दावी गरेको पाइन्छ सो बाहेक अरु जग्गामा निजको रैकरमा परिणत गरिपाउँ भन्ने दावी भएको देखिँदैन । प्रत्यर्थीको रैकरमा परिणत गरिपाउँ भनी निवेदन परेको आधारमा बाँकी जग्गा प्रत्यर्थी मोहिका नाउँमा रैकर परिणत हुने ठहर्छ भनी गरेको प्रत्यर्थी मालपोत कार्यालयको निर्णयलाई अन्यथा भन्न सकिने स्थिति नरहने ।

(प्रकरण नं. १०)

 

निवेदकतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री सर्वज्ञरत्‍न तुलाधर

प्रत्यर्थीतर्फबाट : विद्वान का.मु. सहन्यायाधिवक्ता श्री श्यामबहादुर प्रधान र विद्वान अधिवक्ता श्री बच्चूसिंह खड्का

 

आदेश

प्र.न्या.धनेन्द्रबहादुर सिंह : मालपोत कार्यालयको २०४२।५।१७ को निर्णय बदर गरिपाउँ भनी नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको तथ्य यसप्रकार छ :

२. साविकका यटखा लगत नं. ९५७ मा दर्ता भएको धेरै कित्ता जग्गा मध्ये याकपा रोपनी ४।। को हाल गोंगबु वडा ४(ग) कि.नं. ४०५ को २२ जग्गा रैकर परिणत गरि पाउँ भन्ने मेरो निवेदन परी मालपोत कार्यालयको ०३८।११।२५ को निर्णयबाट मेरो नाममा रैकर परिणत गरि दिनु भएको थियो । सो निर्णय बदर गरिपाउँ भनी मोही सोबीर लामाले रिट निवेदन दिनु भएकोमा सो निर्णय बदर गर्ने गरी स.अ. डिभिजनबेञ्चबाट ०३९।१२।१४ मा आदेश भएको थियो । मालपोत कार्यालयको निर्णय बदर गर्ने गरेको डिभिजनबेञ्चको निर्णय मनासिब ठहर्छ । कानुन बमोजिम निर्णय गर्नु भन्ने मालपोत कार्यालयको नाममा परमादेश पनि जारी हुने भनी सर्वोच्च अदालत फुलबेञ्चबाट ०४१।९।२५ गते आदेश भएपछि पुनः कारवाही चालु हुँदा कि.नं. ४०५ को ७२ मा न्हुछे मायाले ०३८।९।२५ मा दावी लिए बमोजिम रोपनी २२ कित्ता र न्हुछे मायाको नाउँमा रैकर परिणत हुने र कि.नं. ४०५ को अरु बाँकी जग्गा ६१४० विर्ता उन्मूलन ऐनको दफा ७(४) अनुसार सोही सोवीरको नाउँमा रैकर परिणत हुने ठहर्छ भनी विपक्षी मालपोत कार्यालयबाट २०४२।५।१७ गते निर्णय पर्चा । कि.नं. ४०५ को ६१४० कायम मध्ये २२ मेरो नाउँमा रैकर परिणत गरी दिने गरेको हदसम्म कायम होस् । क्षेत्रफल ४२ जग्गा विपक्षीको नाउँमा रैकर परिणत गर्ने गरेको हदसम्मको निर्णय त्रुटिपूर्ण र अनधिकृत छ ।

३. कि.नं. ४०५ को जग्गा नापी हुँदा फिल्ड बुकमा क्षेत्रफलको २२ मात्र अंकित गरिएको थियो । तर मोहीले प्राप्त गरेको जो.अ.नि.मा ७२ अंकति रहेछ । नक्शाको ट्रायलको चेक गराउँदा खास क्षेत्रफल अहिले ६१४० मात्र कायम भएको निर्णयले महसूस गरेको छ । अड्डाको भूलको कारणले कम क्षेत्रफल उल्लेख हुन गयो भन्दैमा मेरो दावी नै कम जग्गामा भएको भन्न मिल्दैन । त्यस आधारमा मेरो नाउँमा दर्ता भएको कि.नं.४०५ मा भएको बाँकी ४२ जग्गाको हक जान सक्ने कुरा आउँदैन । अड्डाको भूलले जनताको हक जान सक्दैन । यसबारे सर्वोच्च अदालतबाट धेरै नजीरहरू प्रतिपादित भएको छ । मालपोत कार्यालयको निर्णय उक्त नजीरको विपरीत त्रुटिपूर्ण छ । कि.नं. ४०५ मा रहेको सम्पूर्ण जग्गा मेरो नभई २२ मात्र मेरो हो भन्ने विपक्षीको भनाई छैन । मेरो खण्डे दावी पनि होइन । २२ बाहेक ४२ को जग्गा उक्त  कि.नं.४०५ को जग्गा होइन भन्न सकेको पनि छैन । क्षेत्रफल घटिबढी भएमा अ.बं. १३३ अनुसार मेरो कागज गराई सम्पूर्ण जग्गा मेरो नाउँमा रैकर परिणत गरी दिनुपर्नेमा त्यसो नगरी निर्णय गरेको अ.बं. १३३ को त्रुटि छ । पहिले निवेदन दिँदा २२ भनी लेखिए पनि ०३८।११।२५ को निर्णय बदर भई पुनः कारवाहीको लागि मैले ०४१।११।३० मा निवेदन दिँदा ७० को नै रैकर परिणत गरिपाउँ भनी माग गरेको छु । दावी नै नभएको भन्नु निर्णय गर्नु सबूद प्रमाणको ठाडै विपरीत छ । विपक्षी मोही भएको व्यक्तिले १० रोपनी भन्दा बढी मोहीमा कमाउन सक्दैन जो.अ.नी. मा १६ रोपनी भन्दा बढी जग्गा भएको देखिन्छ । हद भन्दा बढी जग्गा मोही कायम हुने गरी मोहीको हैसियतले रैकर परिणत गर्न दिइएको भू.सं.ऐन, ०२१ को दफा ८ को विपरीत त्रुटिपूर्ण छ । हक बेहक हुने गरी निर्णय गर्ने मालपोत कार्यालयलाई हक अधिकार पनि छैन । अतः उत्प्रेषणयुक्त रिट आज्ञा, आदेश वा पुर्जी जारी गरी विपक्षी मालपोत कार्यालयबाट ४२ जग्गा विपक्षीका नाउँमा रैकर परिणत गरी दिने गरेको हदसम्मको ०४२।५।१७ को निर्णय बदर गरी मेरो नाउँमा रैकर परिणत गरी दिनु भन्ने परमादेशको आदेश पनि जारी गरिपाउँ भन्ने समेत रिट निवेदन ।

४. विपक्षीसँग लिखितजवाफ आएपछि वा अवधि नाघेपछि पेश गर्नु भन्ने समेत सर्वोच्च अदालत सिंगलबेञ्चको ०४२।७।२५ को आदेश ।

५. ०३८।९।२५ मा जग्गाधनीको हैसियतले दर्ता माग गर्दा कि.नं.४०५ मा ६१४० क्षेत्रफल भएर पनि २२ मात्र रैकर परिणत माग गरेको ०३८।१०।२६ मा मोही सोवीर लामाले कि.नं.४०५ जग्गा मोहीको हैसियतले रैकर परिणत माग गरेको देखिन्छ । २२ मात्रको जग्गा धनीको पहिलो निवेदन हुँदा विपक्षीको नाउँमा २२ जग्गा, बाँकी ४२ जग्गा मोहीको नाममा रैकर परिणत दर्ता हुने गरी ०४२।५।१७ मा निर्णय भएको र यसै निर्णयलाई कानुनी त्रुटि भयो भनी सोवीर लामाले दिएको रिट नं. १७०२ को रिट निवेदनमा ०४२।९।१० मा पठाएको लिखितजवाफको व्यहोरा प्रमाण लगाई रिट खारेज गरिपाउँ भन्ने समेत मालपोत कार्यालय काठमाडौंको लिखितजवाफ ।

६. विपक्षीका नाउँमा २२ रैकर परिणत गर्ने गरी भएको निर्णय बदर गराई माग्न मेरो रिट निवेदन परी ०२६।६।२८ मा लिखितजवाफ मगाउने आदेश भएको छ । मेरा नाउँमा रैकर परिणत भएकोमा कुनै कानुनी त्रुटि छैन । मेरो रिट निवेदन परी सकेको थाहा पाई दुःख दिन रिट गर्नुभएको हो । मोहिका नाउँमा भएको रैकर परिणत बदर हुन सक्ने कानुनी आधार नहुँदा रिट निवेदन खारेज गरिपाउँ । विर्ता उन्मूलन ऐन, ०१६ ले प्रदत्त अधिकारको अधीनमा रही गरेको निर्णय कुनै त्रुटि छैन । विर्ता उन्मुलन ऐन, ०१६ को दफा ७(१) को हदम्याद पश्चात मोहिका नाउँमा दर्ता गरिने छ भनी ऐ.ऐनको ऐ.दफाको उपदफा (४) ले स्पष्ट गरेको छँदै हकदैया विहिन व्यक्तिको रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत सोवीर लामाको लिखितजवाफ ।

७. रिट निवेदक तर्फबाट रहनु भएका विद्वान वरिष्ठ अधिवक्ता श्री सर्वज्ञरत्‍न तुलाधरले विवादीत जग्गाको जग्गाधनी रिट निवेदक भन्ने प्रत्यर्थीले स्वीकारेको छ । फिल्डबुकबाट जग्गा २२ भन्ने देखिन्छ । ट्रायल चेकबाट ६१४० जग्गा भएको छ । त्यसको जग्गाधनी रिट निवेदक होइन भन्न सकेको छैन । सर्वोच्च अदालतबाट परमादेश जारी भएपछि सबै जग्गा दावी गरी निवेदन समेत परेको छँदा छदै सवै जग्गा रिट निवेदकका नाममा रैकर परिणत नगरी ४२ जग्गा प्रत्यर्थी मोहिका नाउँमा रैकर परिणत गर्ने गरेको मालपोत कार्यालयको निर्णय त्रुटिपूर्ण हुँदा बदरभागी छ भन्ने बहस गर्नुभयो । प्रत्यर्थी कार्यालय तर्फबाट बहस गर्न उपस्थित हुनुभएका विद्वान का.मु. सहन्यायाधिवक्ता श्री श्यामबहादुर प्रधानले सर्वोच्च  अदालतबाट परमादेश जारी भए अनुसार मोहीको निवेदन समेतमा छानबीन गरी मालपोत कार्यालयबाट मोहिका नाउँमा रैकर परिणत गरी दर्ता गर्ने गरेको निर्णय कानुनसंगत छ भन्ने समेत र प्रत्यर्थी सोवीर लामाको तर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री बच्चु सिंह खड्काले रिट निवेदकका नाउँमा रैकर परिणत गरेको निर्णय बदर गरिपाउँ भन्ने प्रत्यर्थी सोवीरको रिट निवेदन परेको थाहा पाई दुःख दिन यो रिट दिएको हो । विर्ता उन्मूलन ऐनको म्यादभित्र रिट निवेदकको रैकर परिणतको निवेदन परेको छैन । मोहीले रैकर परिणत गरिपाउँ भनी दिएको निवेदनबाट प्रत्यर्थी सोवीर लामाका नाउँमा जग्गा रैकर परिणत गरी दर्ता गर्ने गरेको निर्णयमा कुनै त्रुटि नहुँदा रिट निवेदन खारेज हुनु पर्दछ भन्ने समेत बहस गर्नुभयो ।

८. प्रस्तुत रिट निवेदनमा निवेदकका माग अनुसारको आदेश जारी हुनुपर्ने हो होइन सो कुराको निर्णय दिनुपर्ने हुन आएको छ ।

९. यसमा निर्णयतर्फ हेर्दा कि.नं. ४०५ को ७२ मा न्हुछे मायाले ०३८।९।२५ मा दावी लिए बमोजिम २२ विर्तावाल न्हुछे मायाका नाउँमा रैकर परिणत हुने ठहर्छ । कि.नं.४०५ को जग्गामा २२ मात्र दावी गरी अरु क्षेत्रफलमा ०३८।९।२५ को निवेदनमा दावी नलिएकोले २२ बाहेकको अरु बाँकी क्षेत्रफलमा न्हुछे मायाको दावी पुग्न सक्ने देखिएन । अरु बाँकी क्षेत्रफल ४२ जग्गा मोही सोवीर लामाका नाउँमा रैकर परिणत हुने ठहर्छ भनी प्रत्यर्थी मालपोत कार्यालय काठमाडौंबाट निर्णय गरेको देखिन्छ ।

१०. रिट निवेदक न्हुछेमाया खड्गीले रैकरमा परिणत गरिपाउँ भनी ०३८।९।२५ मा दावी लिंदा २२ जग्गाको दावी गरेको पाइन्छ । सो बाहेक अरु जग्गामा निजको रैकरमा परिणत गरिपाउँ भन्ने दावी भएको देखिँदैन । प्रत्यर्थी मोही सोवीर लामाको रैकरमा परिणत गरिपाउँ भनी ०३८।१०।१६ मा निवेदन परेको आधारमा बाँकी जग्गा प्रत्यर्थी मोही सोवीर लामाका नाउँमा रैकर परिणत हुने ठहर्छ भनी गरेको प्रत्यर्थी मालपोत कार्यालयको निर्णयलाई अन्यथा भन्न सकिने स्थिति रहेन । तसर्थ अधिकार प्राप्त अधिकारीले अधिकार क्षेत्रभित्र रही निर्णय गरेको देखिँदा निवेदकको माग अनुसारको आदेश जारी गर्न मिलेन । प्रस्तुत रिट निवेदन खारेज हुने ठहर्छ । फायल नियम बमोजिम गरी बुझाइदिनू ।

 

उक्त रायमा म सहमत छु ।

न्या.जोगेन्द्रप्रसाद श्रीवास्तव

 

 

इति सम्वत् २०४३ साल भाद्र ३१ गते रोज ३ शुभम् ।