निर्णय नं. २७४५ – उत्प्रेषणको आदेश जारी गरिपाउँ
निर्णय नं. २७४५ ने.का.प. २०४३ अङ्क – ६ डिभिजनबेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव सम्वत् २०४२ सालको रिट नं.१८००...
निर्णय नं. २७४५ ने.का.प. २०४३ अङ्क – ६
डिभिजनबेञ्च
सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह
माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव
सम्वत् २०४२ सालको रिट नं.१८००
आदेश भएको मिति : २०४३।५।२९।१ मा
निवेदक : का.जि.इचंगु गा.पं.वडा नं.२ बस्ने बद्रिबहादुर गोतामे
विरुद्ध
प्रत्यर्थी : भूमिसुधार कार्यालय, काठमाडौंका भू.सु.अ.विजयप्रसाद रेग्मीसमेत
विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ
(१) आफ्नो काबुभन्दा बाहिरको परिस्थितिमा बाहेक १ वर्षसम्म खेती नगरेमा वा हेलचक्र्याई गरेमा त्यस्तो मोहिलाई जग्गाबाट निष्कासन गर्न सक्ने अधिकार भूमिसम्बन्धी ऐन, २०२१ को दफा २९(२) बमोजिम जिल्ला अदालतलाई भएको देखिने ।
(प्रकरण नं. ९)
प्रत्यर्थीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री प्रेमबहादुर विष्ट विद्वान अधिवक्ता श्री सुधानाथ पन्त
आदेश
प्र.न्या.धनेन्द्रबहादुर सिंह : नेपालको संविधानको धारा ७१ अन्तर्गत दर्ता भई निर्णयार्थ यस बेञ्च समक्ष पेश हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा यसप्रकार छ :
२. विपक्षी मध्येकी गंगादेवी थापाले सीतापाइला गा.पं.वडा न.५ (ख) कि.नं. ३४ क्षेत्रफल १–९–० जग्गाको २०३६ सालको बाली नदिएको र धरौटी समेत नराखेको हुँदा उक्त जग्गाको किसिमको बमोजिम मकै १५ पाथी ६ माना डेढ चौथाईको हुने रु.१२४।०४ पैसा दिलाई भराई उक्त जग्गाबाट निष्कासन समेत गरिपाउँ भनी मेरो स्वर्गीय आमा हरिकुमारी गोतामेको नाममा विपक्ष भूमिसुधार कार्यालयमा फिराद दिई मेरी आमाको नाममा म्याद पठाइएकोमा मेरी आमा आफ्ना कालगतिले ०३३ सालमा परलोक हुनुभएका हुँदा आमाको हक पछि विपक्षी गंगादेवीले दावी गर्नुभएको जग्गा म निवेदकले नै मोहीको हैसियतले जोती भोगी आएको हुँदा उक्त म्याद बुझी कि.नं. ३४ को उक्त जग्गा सर्भे नापी हुँदा जग्गाधनीमा शंकर मोहीमा स्व.आमा हरिकुमारीको नाम भई शंकरदेवलाई कूत तिरी बुझाई आएको ०३० साल श्रावण देखि नै उक्त जग्गामा मेरो लागि बेकम्मा भएको, जग्गाधनी शंकरदेवले बेचविखन दान दातव्य वा अंशबण्डा भएकोमा मोहिलाई र स्थानीय पञ्चायतलाई सूचना दिनुपर्नेमा सूचना नआएको हुँदा विपक्षी जग्गाधनी गंगादेवी हो भन्ने थाहा थिएन, उक्त जग्गा वडा नं.५(ग) बाट नापी भएको हो, वडा नं.५(ख) बाट होइन भन्ने मेरो प्रतिउत्तर परी विपक्ष कार्यालयबाट विवादका जग्गा कुन अवस्थामा छ भनी सरजमीन बुझी निर्णय गर्दा मोहीले खेती गरेको नै देखिन आएन, यसरी खेती नै नगर्ने मोहीको नाम लगतमा राखिरहन मनासिब नहुँदा मोहीको नाम लगतबाट कट्टा गरी दिने ठहर्छ भनी मिति ०४२।२।६मा निर्णय भयो ।
३. विवादको जग्गा विपक्ष गंगादेवीले ०३३।५।२४।५ मा बकसपत्र गरी लिंदा ०३० सालदेखि नै पैरो लागि बेकम्मा भएको भन्ने हेरी जाँची बुझीकन लिएको भन्ने कुरा सरजमीनका सम्पूर्ण व्यक्तिले लेखाई दिएकोमा भूमिसम्बन्धी ऐन, २०२१ को दफा २९(क) को म्याद खिलाप गर्न आएको उजूरीमा विपक्षको शुरु दावी बेगर मोहीले खेती गरेको नै देखिन आएन भनी निर्णय गरेको मुलुकी ऐन, अ.बं. १२८ नं. को त्रुटि छ । ०३० सालमा ढुङ्गा झिकी ३२ सालमा पैरो लागेको भन्ने कुराको प्रमाण लिई ०३६ सालमा पर्न आएको उजूरी भूमिसम्बन्धी ऐन, ०२१ को दफा २९(क) को हदम्याद खिलाफ गरी पर्न आएको उजूरीमा गरिएको निर्णय त्रुटिपूर्ण छ र भूमिसम्बन्धी ऐन, ०२१ को दफा २९(२) अनुसार जिल्ला अदालतले मोहिलाई जग्गाबाट निष्कासन गर्ने आदेश जारी गर्न सक्नेमा आफूले नपाएको अधिकार प्रयोग गरी विपक्ष भूमिसुधार अधिकारीज्यूले गर्नुभएको निर्णय अ.बं.३५ नं.ले बदरभागी छ । उक्त निर्णयबाट मेरो कानुनी हक र नेपालको संविधानको धारा ११(२)(ङ), १५ द्वारा प्रदत्त हक हनन गरिएकोले उक्त ०४२।३।६ को निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरिपाउँ भन्ने समेत रिट निवेदन ।
४. विपक्षहरूबाट लिखितजवाफ मगाई आएपछि वा अवधि नाघेपछि पेश गर्नु भन्ने समेत मिति ०४२।८।४।३ को सिंगलबेञ्चको आदेश ।
५. जग्गाधनीलाई बाली बुझाएको वा धरौट राखेको नदेखिँदा र जग्गा खेती गर्नेतर्फ लागेको समेत नदेखिँदा कानुन बमोजिम निष्कासन गर्ने गरी यस कार्यालयबाट भएको निर्णय भू.सं.ऐन नियम अन्तर्गत नै भएकोले रिट निवेदन खारेज गरी पाउन अनुरोध गर्दछु भन्ने समेत प्रत्यर्थी भूमिसुधार कार्यालय, काठमाडौंको लिखितजवाफ ।
६. विपक्षी स्वयं घोषित मोही भएकोले निवेदन दिने हकदैया छैन । निवेदक विपक्षीले आमा मरेको आफूले जग्गा जोतेको छैन भने जोताहा कसरी हुने । पैरो गएकोमा पनि जोती खेती गर्न सक्ने कुरा भएको सरजमीनबाट प्रष्ट देखिन्छ । जग्गा जोत्ने र बाली बुझाउने काम नगर्नु आफ्ना हक प्रचलन गर्नेतर्फ कानुन बमोजिम नगई कानुनलाई आफ्नो हातमा लिई स्वयं घोषित हक भनी दिएको निवेदन हक बीना खारेज हुन्छ । भूमिसुधार कार्यालयले आफूलाई भएको अधिकार भित्र भई गरेको यो निर्णय कानुनी हुँदा उजूरी खारेज गरिपाउँ भन्ने समेत प्रत्यर्थी गंगादेवी थापाको लिखितजवाफ ।
७. निवेदकको वारिसलाई बेञ्चबाट पुकार गर्दा उपस्थित नभएको विपक्षी भू.सु.का.काठमाडौंको तर्फबाट उपस्थित विद्वान सहन्यायाधिवक्ता श्री प्रेमबहादुर विष्ट तथा विपक्षी गंगादेवीको तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री सुधानाथ पन्तले मोहीले बाली नबुझाएको हुँदा भू.सु.अधिकारीबाट सबूद प्रमाणको मूल्याङ्कन गरी मोहीको नाम लगतबाट कट्टा गर्ने निर्णय भएको छ । रिट निवेदकलाई जग्गाधनीले पत्याएको छैन । साविक मोही हरीकुमारी गोतामे मरिसकेको छ तसर्थ रिट निवेदन खारेज हुनुपर्छ भन्ने समेत बहस गर्नुभयो ।
८. यसमा निर्णयतर्फ हेर्दा मोहीले २०३६ सालको कूत बाली नबुझाएको हुँदा बाली दिलाई मोही निष्कासन गरिपाउँ भनी जग्गाधनी गंगादेवीको भू.सु.का.काठमाडौंमा उजूरी परेकोमा जग्गामा मोहीले खेती नै गरेको देखिन आएन । यसरी खेती नै नगर्ने मोहीको नाम लगत राखिरहन मनासिब नहुँदा मोहीको नाम लगतबाट कट्टा गरी दिने ठहर्छ भन्ने समेत भूमिसुधार कार्यालय, काठमाडौंबाट ०४२।३।६ मा निर्णय गरेको देखिन्छ ।
९. आफ्नो काबुभन्दा बाहिरको परिस्थितिमा बाहेक १ वर्षसम्म खेती नगरेमा वा हेलचक्रयाई गरेमा त्यस्तो मोहिलाई जग्गाबाट निष्कासन गर्न सक्ने अधिकार भूमिसम्बन्धी ऐन, २०२१ को दफा २९ (२) बमोजिम जिल्ला अदालतलाई भएको देखिन्छ । प्रस्तुत केशमा वादी दावी भन्दा बाहिर गई अधिकार क्षेत्रको अतिक्रमण गरी भू.सु.का.काठमाडौंले खेती नै नगर्ने मोहीको नाममा लगत राखिरहन मनासिब नहुँदा लगत कट्टा गरी दिने भनी ०४२।३।६ मा गरेको निर्णय त्रुटिपूर्ण देखिँदा सो निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ । अब वादी दावीको कुरामा सिमित रही कानुन बमोजिम निर्णय गर्नु भनी प्रत्यर्थी भू.सु.का.काठमाडौंको नाउँमा परमादेशको आदेश समेत जारी हुने ठहर्छ । यो आदेशको एक प्रति प्रतिलिपि विपक्षी कार्यालयमा पठाउन महान्यायाधिवक्ताको कार्यालयमा पठाई मिसिल नियम बमोजिम गरी बुझाइदिनू ।
उक्त रायमा मेरो सहमती छ ।
न्या.जोगेन्द्रप्रसाद श्रीवास्तव
इति सम्वत् २०४३ साल भाद्र २९ गते रोज १ शुभम् ।