निर्णय नं. २७४३ – उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ
निर्णय नं. २७४३ ने.का.प. २०४३ अङ्क – ६ डिभिजनबेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह सम्वत् २०४२ सालको रिट नम्बर...
निर्णय नं. २७४३ ने.का.प. २०४३ अङ्क – ६
डिभिजनबेञ्च
सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह
माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह
सम्वत् २०४२ सालको रिट नम्बर १८१८
आदेश भएको मिति : २०४३।५।२०।६ मा
रिट निवेदक : जि.झापा लखनपुर गा.पं.वडा नं.७ बस्ने टंकबहादुर सेढाइ
विरुद्ध
विपक्षी : श्री ५ को सरकार, भूमिसुधार मन्त्रालयसमेत
विषय : उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ
(१) नाबालख छोराहरूका नामको जग्गाको उल्लेख नगरी नदेखाई जग्गा बिक्री वितरणमा प्राप्त गर्न रिट निवेदकले निवेदन दिई जग्गा प्राप्त गरेको भन्ने कुरामा विवाद देखिँदैन, तसर्थ अधिकार प्राप्त अधिकारीले अधिकार क्षेत्रभित्र रही निर्णय गरेको देखिएकोले निवेदकका माग अनुसारको आदेश जारी गर्न मिलेन ।
(प्रकरण नं. १०)
प्रत्यर्थीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री प्रेमबहादुर विष्ट
आदेश
प्र.न्या.धनेन्द्रबहादुर सिंह : नेपालको संविधानको धारा ७१ अन्तर्गत दर्ता भई निर्णयार्थ यस बेञ्चमा पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यसप्रकार छ :
२. साविक जग्गाधनी रुपध्वज ताजपुरियाको जि.झापा तत्कालीन दमक गा.पं.वार्ड नं. ९ कि.नं. ३९१ को –१५– वा.नं.९ कि.नं. ३११ को –१०– जग्गा मोहियानीमा जोती जिल्लामा भूमिसुधार लागू हुँदा भू.सं.ऐन, २०२१ को दफा २५(१) अनुसारको मोहियानी पाएकोमा रुपध्वजबाट भूमिसुधार कार्यालय झापाले हदबन्दी भन्दा बढी भएको भनी जफत गरी मोहीको हैसियतले मलाई बिक्री वितरणमा दिई आजसम्म भोग गरी आएको विपक्षी नं.२ समितिले भूमिसुधार मन्त्रालय अन्तर्गत गठित समितिको अधिकार प्रयोग गरेको भनी मिति ०४२।३।३१ गते जफत हुने निर्णय गरी मिति ०४२।४।२८ मा ३१ गते जफत हुने निर्णय गरी मिति ०४२।४।२८ मा जफत गरिएको जग्गा जिल्ला भूमिसुधार कार्यालयका आनन्द भन्ने खरिदारका भाइ नाताका दुर्गाप्रसाद गडतोलालाई बिक्री वितरणमा मिति ०४२।४।२८ मा दिइएको रहेछ । नक्कल सार्न माग्दा दिइएन । मैले ७ नं.फाँटवारी पेश गर्दा मेरो आमा पनि हुनुहुन्थ्यो र वहाँबाट मैले र नातीहरूले पाएको अंश विभाजन गर्दा दफा ८ को अधिकतम हदभन्दा बढी जग्गा हुँदैन । दफा ८ अनुसार जग्गा मैले प्राप्त गरेको मोहियानीको लगत कट्टा गर्ने निर्णय गरेर मात्र जफत हुने नहुने भन्ने कुराको निर्णय हुनु पर्नेमा प्रथम जफत भएर त्यसपछि अन्य व्यक्तिलाई बिक्री वितरण गरेर मोहीको लगत काटेको छ । ०३८ सालमा मेरो अंश हुँदा –१०– मात्र जग्गा आफ्नो नाममा भएपछि मेरो जग्गा र प्राप्त जग्गा मिलाउँदा र अन्य बाङ्गलुङ्गको जग्गा समेत गरी अधिकतम नाघेको छैन वर्तमान जग्गा प्राप्त गर्ने दुर्गाप्रसाद गडतौलाले आफ्नो विवरणमा सुकुम्बासीको हैसियत देखाए पनि निज गौरीगञ्ज साझा संस्थाको कर्मचारी भई पाँचथर जिल्लामा पनि निजका नाममा जग्गा भई जि.झापा गौरीगञ्ज गा.पं.वा.नं. ८ मा आफ्नो नम्बरी जग्गा छ र उनी सुकुम्बासी होइनन् । यस्तोमा निजले व्यहोरा ढाँटी सो जग्गा प्राप्त गरेको छ । अतः मैले मोहीको हैसियतले कमाई आएको र सोही नाताले अधिकतम हद भित्रै पारी किस्ता समेत बुझाई भोगेको जग्गा परिवारको भित्र पारेको भनी ०२१ सालको ७ नं. फाँटवारीको आधार लिई ०४१ सालको बिक्री वितरणको निर्णय बदर गरी प्रत्यर्थी दुर्गाप्रसादलाई दिने गरेको विपक्षी समितिको ०४२।३।३१ र ०४२।४।२८ को निर्णय बदर गरी साविक मोहीको नाउँमा भएको बिक्री वितरणको दर्ता कायम गरी दिनु भन्ने आदेश पाउँ भन्ने समेत रिट निवेदन ।
३. विपक्षीहरूबाट लिखितजवाफ मगाई आएपछि वा अवधि नाघेपछि पेश गर्नु भन्ने समेत सिंगलबेञ्चको मिति ०४२।८।७।६ को आदेश ।
४. विपक्षका नाममा दमक गा.पं.वार्ड नं. ९ मा ज.वि. १०–११–१९ र लमजुङ्ग जिल्लाको चिति गा.पं.अन्तर्गतको माटो मुरी ३२–१–२ बीजन १–२–३ समेतको ७ नं. फाँटवारी पेश गरेका विपक्ष जग्गावाला व्यक्ति हुन् दमकको जग्गा नापीमा दमक गा.पं.वा.नं. ९ कि.नं. १६७, १६८, १७२ र ६६५ समेतमा जम्मा ज.वि.१२–६–५ कायम भई धनी पूर्जा समेत पाइसकेका र ०३६।४।२ मा मालपोत कार्यालय झापाबाट ज.वि. २–१९–० दर्ता गराई धनी पूर्जा समेत लिई सकेका छन् विपक्ष दमक गा.पं.वार्ड नं.९ को ज.वि.१–५–० को मोही हुँ भनी भरेको १ नं. मोहीको लगत सोमा निजको परिवारको विवरणमा निजकी पत्नी १, वर्ष साँढे तीनको छोरा १, वर्ष १ को छोरा १ समेत मात्र भएको कुरा देखिन्छ । आफ्नो नम्बरी जग्गा १–०–१० मात्र छ भनी झुठ्ठा व्यहोरा पेश गरी सो रुपधोज ताजपुरियाबाट जफत भएको ज.वि.१–५–० मोहिका नाताले बिक्री वितरणमा लिए पाएको कुरा थाहा भएकोले भूमिसम्बन्धी ऐन, २०२१ को दफा २४(क) बमोजिम जफत गरिपाउँ भन्ने शिवगञ्ज गा.पं.वार्ड नं. १ बस्ने विष्णुप्रसाद उपाध्याय खतीवडाको उजूरी पर्न आई कार्यवाही हुँदा उजूरी दावी अनुसार ७ नं.फाँटवारी पेश गरेको र झापा जिल्ला दमक गा.पं.अन्तर्गतको जग्गा नापीका समयमा ज.वि.११–१५–१० कायम भएको व्यहोरामा समेत सहमत भई बयान गरी मिति ०४२।१।११ का दिन हाजिर हुन आउने गरी तोकी पाएकोमा कानुनले थाम्न थमाउन पाउने हदम्याद समेत गुजारी विपक्ष चित्त बुझाई बसेको विपक्षीले झुठ्ठा विवरण पेश गरी जग्गा वि.वि.मा लिए पाएकोले निजबाट ऐनको दफा २४(क) बमोजिम जफत गर्ने गरेको मिति ०४२।३।२८ को निर्णय र मिति ०४२।३।३१ मा दुर्गाप्रसाद गर्तौलालाई बिक्री वितरणमा सो जग्गा दिने ठहराई अधिकार प्राप्त समितिबाट भएको निर्णयहरूबाट कानुनी तथा संवैधानिक हकमा कुनै असर नपरेको हुनाले उक्त रिट निवेदन खारेज हुन अनुरोध गर्दछु, भन्ने समेत प्रत्यर्थी भूमिसुधार कार्यालय झापाको लिखितजवाफ ।
५. भूमिसम्बन्धी ऐन, २०२१ को परिच्छेद १० को दफा ५२ मा भूमिसम्बन्धी ऐनको उद्देश्य पूर्ति गर्नको लागि श्री ५ को सरकारले आवश्यक अधिकारीहरूको नियुक्ति र समितिहरूको गठन गर्न सक्ने व्यवस्था रहेको र भूमिसम्बन्धी (एघारौं संशोधन २०४० सहित) नियमहरू, २०२१ को नियम ४१क. मा श्री ५ को सरकारले आवश्यक देखेमा नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकेका जिल्लामा ऐन बमोजिम तोकिएको अधिकारीले गर्नुपर्ने काम कारवाही मध्ये सोही सूचनामा तोकिएको काम कारवाही गर्नको लागि अध्यक्ष लगायत तीनजना सदस्य भएको एक समिति गठन गर्न सक्ने व्यवस्था रहेछ छ । भइरहेका उक्त कानुनी व्यवस्था अनुरुप नै श्री ५ को सरकारबाट गठित अधिकार प्राप्त समितिबाट प्रस्तुत विषयमा काम कारवाही भई यस मन्त्रालयलाई विपक्षी बनाउनु पर्ने खास कानुनी बुँदाहरू निवेदकले आफ्नो निवेदनको व्यहोरामा उल्लेख गर्न नसकेको समेतबाट रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत प्रत्यर्थी भूमिसुधार मन्त्रालयको लिखितजवाफ ।
६. निवेदकले आफ्नो जग्गा नदेखाई झुठ्ठा व्यहोरा पेश गरी ज.वि. १–५–० जग्गा बिक्री वितरणमा प्राप्त गरेको जग्गा भू.सं.ऐन, ०२१ को दफा २४क. अनुसार जफत गर्ने गरी भू.सु.मन्त्रालय जिल्ला समिति झापाबाट समितिको अध्यक्षको हैसियतले मैले र भू.सु.अधिकारी समेत भई निर्णय गरेको सो निर्णयमा कानुनको त्रुटि नदेखिने हुँदा रिट खारेज हुन अनुरोध छ भन्ने केदारप्रसाद गिरी अञ्चल न्यायाधीश सगरमाथा अञ्चल अदालत रा.वि.बेञ्चको लिखितजवाफ ।
७. रिट निवेदकको वारेस रामप्रसाद अधिकारी रोहवरमा रही पेश हुन आएकोमा प्रत्यर्थी समिति तर्फबाट बहस गर्न उपस्थित हुनुभएका विद्वान सहन्यायाधिवक्ता श्री प्रेमबहादुर विष्टले आफ्नो भइरहेको जग्गा नदेखाई झुठ्ठा व्यहोरा पेश गरी विपक्षले जग्गा प्राप्त गरेकोमा उजूर परी भू.सं.ऐनको दफा २४(क) बमोजिम समितिबाट जग्गा जफत गरेको हुँदा रिट खारेज हुनु पर्दछ भन्ने बहस गर्नुभयो ।
८. प्रस्तुत रिट निवेदनमा निवेदकका माग अनुसारको आदेश जारी हुनुपर्ने हो होइन ? सो कुराको निर्णय दिनुपर्ने हुन आएको छ ।
९. यसमा निर्णयतर्फ हेर्दा प्रत्यर्थी रुपध्वजबाट जफत भएको ज.वि.१–५–० जग्गाको विपक्षी दर्तावाला मोही देखिएकोले समितिका ०४१।९।१८ का निर्णयले विपक्षीलाई बिक्री वितरणमा दिइएकोमा झुठ्ठा व्यहोरा पेश गरी ज.वि. १–५–० मोहिका नाताले बिक्री वितरणमा लिएकोले जफत गरिपाउँ भनी उजूरी पर्न आई कारवाही हुँदा आफ्नो परिवारको नाममा नामसारी राखेको ज.वि.११–१५–१० र लमजुङ्ग अन्तर्गतको जग्गा नदेखाई झुठ्ठा व्यहोरा पेश गरी विपक्षीले बिक्री वितरणमा लिए पाएको ज.वि.१–५–० जग्गा दफा २४क. बमोजिम जफत हुने ०४२।३।२८ मा निर्णय भएको भन्ने भू.सु.कार्यालय झापाको लिखितजवाफ समेतबाट देखिन्छ ।
१०. सहन्यायाधिवक्ताले बेञ्च समक्ष देखाएको फायलबाट मिति ०४१।११।२१ गते रिट निवेदकले समिति समक्ष बयान गर्दा साइला छोरा वर्ष १३ को टिकाबहादुर, काइलो वर्ष १० को कुमार कान्छा वर्ष ८ को टेकबहादुर भनेको पाइन्छ । उक्त नाबालख छोराहरू भूमिसम्बन्धी ऐन बमोजिम रिट निवेदककै परिवार भित्रकै कायम हुने भएकोले त्यस्तो नाबालख छोराहरूका नामको जग्गाको उल्लेख नगरी नदेखाई जग्गा बिक्री वितरणमा प्राप्त गर्न रिट निवेदकले निवेदन दिई जग्गा प्राप्त गरेको भन्ने कुरामा विवाद देखिँदैन । तसर्थ अधिकार प्राप्त अधिकारीले अधिकार क्षेत्रभित्र रही निर्णय गरेको देखिएकोले निवेदकका माग अनुसारको आदेश जारी गर्न मिलेन । प्रस्तुत रिट निवेदन खारेज हुने ठहर्छ । फायल नियम बमोजिम गरी बुझाइदिनू ।
उक्त रायमा म सहमत छु ।
न्या.बब्बरप्रसाद सिंह
इति सम्वत् २०४३ साल भाद्र २० गते रोज ६ शुभम् ।