निर्णय नं. २७४२ – उत्प्रेषण लगायत जो चाहिने उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ
निर्णय नं. २७४२ ने.का.प. २०४३ अङ्क – ६ डिभिजनबेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह सम्वत् २०४१ सालको रिट नं.१६९३...
निर्णय नं. २७४२ ने.का.प. २०४३ अङ्क – ६
डिभिजनबेञ्च
सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह
माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह
सम्वत् २०४१ सालको रिट नं.१६९३
आदेश भएको मिति : २०४३।५।१९।५ मा
रिट निवेदक : जि.लमजुड्ड चण्डीस्थान गा.पं.वडा नं.७ बस्ने ललितबहादुर रिमाल
विरुद्ध
प्रत्यर्थी : जिल्ला पञ्चायत न्यायिक समिति लमजुड्ड, जिल्ला पञ्चायत, लमजुड्डसमेत
विषय : उत्प्रेषण लगायत जो चाहिने उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ
(१) गाउँ पञ्चायत न्यायिक समितिले कूलोको पानी सम्बन्धमा गरेको निर्णय उपर जिल्ला पञ्चायत न्यायिक समितिले पुनरावेदन निर्णय गर्दा गाउँ पञ्चायत न्यायिक समितिको निर्णयलाई अन्यथा गर्नुपर्ने देखिए सो गाउँ पञ्चायत न्यायिक समितिको निर्णयबाट जित्नेलाई पनि सम्मिलित गरी निजलाई पनि आफ्नो कुरा भन्ने मौका प्रदान गरी दुवै थरको कथनलाई दृष्टिगत गरी निर्णय गर्नुपर्ने ।
(प्रकरण नं. ९)
रिट/निवेदनतर्फबाट : विद्वान अधिवक्ता श्री राधेश्याम अधिकारी
प्रत्यर्थीतर्फबाट : विद्वान अधिवक्ता श्री विश्वकान्त मैनाली
आदेश
प्र.न्या.धनेन्द्रबहादुर सिंह : नेपालको संविधानको धारा ७१ अन्तर्गत दर्ता भई निर्णयार्थ यस बेञ्चमा पेश हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा यसप्रकार छ :
२. १९४० सालमा दर्ता भएको १९९० सालमा अंशबण्डाबाट मेरो बाबुको हक हुन आएको साविक जि.मु.धनबहादुर रिमाल हाल लोकबहादुर जिम्मा लमजुङ्ग मालमा तिरो तिरिने मिलनटार भन्ने जग्गामा ओखले छहराबाट पानी लगाई आएकोमा म विदेश गएको मौका पारी ललितबहादुरले ओखले छहराको पुछारबाट कुलो काटी निजकै तीन गरा जग्गा समेत सुखा पारी कुलो लगेको, जसबाट मेरो खेत मुरी ९।१०।२ को जग्गालाई समेत असर पर्न गएकोले ललितबहादुर कै सिरानबाट कूलो ल्याई कूलो लगाई पाउँ भन्ने समेत उजूरी विपक्षी नरबहादुर रिमालले म निवेदकका विरुद्ध चण्डीस्थान गा.पं.लमजुङ्गमा दिएको । विपक्षको दावा बमोजिम नभई २००९ सालमा म निवेदकले निजी रु.५०००।– खर्च गरी शुरबहादुर तथा चीनबहादुरको खेतमा उम्रेको पानीको मूलबाट कुलो काटी लगेको हुँ विपक्षीको खेतमा चलेको कुलो मैले रोकेको छैन भन्ने समेत प्रतिउत्तर मैले दिएकोमा उजूरीबाट नै ललितबहादुरले कूलो पछि खनेको हो भन्ने समर्थन हुन आएकोले कूलो ललितबहादुरले निजी खर्चबाट खनेको देखिन्छ । हाल फुकुवा कुलो नभएकोले भू.ऐन जग्गा आवाद गर्ने को (३) नं. बमोजिम वादीले प्रतिवादीको मन्जूर बेगर उक्त जग्गाबाट कुलो लैजान नपाउने र प्रतिवादीको निजी खर्च पनि टोलाउन नमिल्ने भनी गाउँ पञ्चायत न्यायिक समितिबाट निर्णय भएको थियो । उक्त निर्णय उपर विपक्षीको प्रत्यर्थी जिल्ला पञ्चायत न्यायिक समितिमा पुनरावेदन परेकोमा पुनरावेदकलाई पानी दिन्न भन्न नमिल्ने देखिन्छ । रु.३६७।५० पैसा नरबहादुर रिमालबाट ललितबहादुर रिमाललाई भरी भराउ गराई नरबहादुर रिमाललाई उक्त कूलोबाट पानी लगी खेत सिंचाई गर्न दिने ठहर्छ भन्ने समेत निर्णय गरियो । गाउँ पञ्चायतको निर्णयलाई उल्टाउनु अघि सो मुद्दाको म प्रतिवादीलाई अ.बं. २०२ नं. बमोजिम झिकाई मेरो सबूद प्रमाणको मूल्याङ्कन गरी मेरो आफ्नो भन्नु पर्ने कुराहरू समेत सुनी निर्णय हुनु पर्नेमा मलाई नबुझी एकतर्फी फैसला गरिनु कार्यविधि सम्बन्धी कानुन एवं प्राकृतिक न्याय सिद्धान्त समेत प्रतिकूल निर्णय गरिएको छ । अतः २०४१।६।२६ को जिल्ला पञ्चायत न्यायिक समिति लमजुङ्गको निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरिपाउँ भन्ने समेत रिट निवेदन ।
३. विपक्षीहरूबाट लिखितजवाफ मगाई आएपछि वा अवधि नाघेपछि पेश गर्नु भन्ने समेत सिंगलबेञ्चको मिति ०४१।९।१०।२ को आदेश ।
४. जिल्ला पञ्चायत न्यायिक समितिले विपक्षी समेतको रोहवरमा निर्णय गरेको र विपक्षी समेतको प्रतिउत्तरपत्र समेत भएको कथन र सो सम्बन्धमा बुझिएका सरजमीनको आधारमा लिखितजवाफ प्रस्तुतकर्तालाई कुलोबाट पानी सिंचाई गर्न दिनेसम्म निर्णय भएको हो र यसबाट अ.बं.२०२ नं. लाई प्रतिकूल असर परी प्राकृतिक न्यायका बर्खिलाप निर्णय भएको छैन । विपक्षीको हकाधिकारमा प्रतिकूल असर पारी विपक्षीको खेतमा उक्त कुलोबाट सिंचाई हुन नसक्ने निर्णय नभएको हुँदा यसमा प्रतिवाद गर्नका लागि अ.बं.२०२ नं. बमोजिम झिकाई रहनु पर्ने स्थिति नहुँदा जि.पं.न्या.स.को निर्णय मनासिब छ । अतः रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत प्रत्यर्थी नरबहादुर रिमालको लिखितजवाफ ।
५. चण्डीस्थान गा.पं.मा नरबहादुर रिमालको पर्न आएको निवेदन तथा विपक्षीको रिट निवेदक ललितबहादुर रिमालको प्रतिवाद एवं चण्डीस्थान गा.पं.न्याय समितिबाट भएको निर्णय सहित प्रस्तुत मुद्दामा संकलित सबूद प्रमाण र व्यवहारिकता दुवैपक्षको हितलाई ध्यानमा राखी कानुन बमोजिम नै जिल्ला पञ्चायत न्याय समितिबाट निर्णय भएको र निवेदकको मौलिक हकमा आघात पुगेको नहुनाले रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत प्रत्यर्थी जिल्ला पञ्चायत न्यायिक समिति लमजुङ्गको लिखितजवाफ ।
६. रिट निवेदकका तर्फबाट विद्वान अधिवक्ता श्री राधेश्याम अधिकारीले जिल्ला पञ्चायत न्यायिक समिति लमजुङ्गले गाउँ पञ्चायत न्यायिक समितिबाट भएको निर्णयलाई उल्टाई निर्णय गर्नु गर्नु अघि अ.बं.२०२ नं.बमोजिम मेरो पक्षलाई बुझिएको छैन । अतः जिल्ला पञ्चायत न्यायिक समितिको निर्णय अ.बं.२०२ तथा प्राकृतिक न्यायको सिद्धान्तको समेत विपरीत हुनाले उक्त निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरिपाउँ भन्ने समेत र प्रत्यर्थी नरबहादुर रिमालका तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री विश्वकान्त मैनालीले रिट निवेदकको हकाधिकारमा प्रतिकूल असर पारी निजको खेतमा उक्त कूलोबाट सिचाई हुन नसक्ने निर्णय नभएको हुँदा अ.बं.२०२ नं. बमोजिम रिट निवेदकलाई बुझी राख्न पर्ने अनिवार्यता छैन । तसर्थ जिल्ला पञ्चायत न्यायिक समिति लमजुङ्गले सबूद प्रमाणको मूल्याङ्कन गरी कानुन बमोजिम गरेको निर्णयबाट रिट निवेदकको कुनै मौलिक हक अधिकारको हनन् नहुनाले रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत बहस गर्नुभयो ।
७. आज निर्णय सुनाउने तारिख तोकिएको प्रस्तुत रिट निवेदनमा निवेदकको माग अनुसारको आदेश जारी हुनुपर्ने हो होइन निर्णय दिनु परेको छ ।
८. निर्णयतर्फ हेर्दा यसमा गाउँ पञ्चायत न्यायिक समितिको निर्णय उपर विपक्षी वादी नरबहादुरको जिल्ला पञ्चायत न्यायिक समिति लमजुङ्गमा पुनरावेदन परेकोमा गाउँ पञ्चायतको निर्णयलाई उल्टाउनु अघि सो मुद्दाको म प्रतिवादीलाई झिकाउनु पर्नेमा नझिकाई गरेको त्रुटिपूर्ण निर्णय बदर गरिपाउँ भन्ने मुख्य जिकिर रिट निवेदकले लिएको पाइन्छ । चण्डीस्थान गाउँ पञ्चायत न्यायिक समितिले वादीले प्रतिवादीको मञ्जूरी बेगर विवादीत कूलोबाट पानी लैजान नपाउने भनी गरेको निर्णय उपर वादी नरबहादुरको जिल्ला पञ्चायत न्यायिक समितिमा पुनरावेदन परेकोमा नरबहादुर रिमाललाई उक्त कुलोबाट पानी लगी खेत सिचाई गर्न दिने ठहर्याई उक्त समितिबाट निर्णय भएको कुरा झिकाई आएको मिसिल संलग्न निर्णयबाट देखिन्छ । यसरी गा.पं.न्यायिक समितिको फैसलालाई उल्टाई निर्णय गर्दा वादीलाई झिकाइएको कुरा उक्त निर्णयबाट देखिँदैन र सो कुराको जिकिर प्रत्यर्थी जिल्ला पञ्चायत न्यायिक समितिबाट लिएको पनि पाइँदैन ।
९. गाउँ पञ्चायत न्यायिक समितिले कूलोको पानी सम्बन्धमा गरेको निर्णय उपर जिल्ला पञ्चायत न्यायिक समितिले पुनरावेदन निर्णय गर्दा उक्त गाउँ पञ्चायत न्यायिक समितिको निर्णयलाई अन्यथा गर्नुपर्ने देखिए सो गाउँ पञ्चायत न्यायिक समितिको निर्णयबाट जित्ने निवेदक ललितबहादुर रिमाललाई पनि सम्मिलित गरी निजलाई पनि आफ्नो कुरा भन्ने मौका प्रदान गरी दुवैथरको कथनलाई दृष्टिगत गरी निर्णय गर्नुपर्ने हुन्छ । तर रिट निवेदक ललितबहादुर रिमाललाई मुद्दामा सम्मिलित गराई निजलाई आफ्नो कुरा भन्ने मौका दिई जिल्ला पञ्चायत न्यायिक समिति लमजुङ्गले निर्णय गरेको देखिँदैन ।
१०. अतः उपयुक्त कारणबाट जिल्ला पञ्चायत न्यायिक समितिले गरेको पुनरावेदन निर्णय त्रुटिपूर्ण हुँदा उत्प्रेषणको आदेशले बदर हुने ठहर्छ । अब रिट निवेदकलाई समेत बुझी कानुन बमोजिम पुनरावेदन निर्णय गर्नु भनी प्रत्यर्थी जिल्ला पञ्चायत न्यायिक समिति, लमजुङ्गको नाममा परमादेश जारी हुने ठहर्छ मिसिल नियम बमोजिम गर्नु ।
उक्त रायमा म सहमत छु ।
न्या.बब्बरप्रसाद सिंह
इति सम्वत् २०४३ साल भाद्र १९ गते रोज ५ शुभम् ।