August 29, 1986
Created by nepalarchives

निर्णय नं. २७४१ – कर्तव्य ज्यान

निर्णय नं. २७४१    ने.का.प. २०४३     अङ्क – ६ डिभिजनबेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४२ सालको फौ.पु.नं. ४०१...

निर्णय नं. २७४१    ने.का.प. २०४३     अङ्क – ६

डिभिजनबेञ्च

सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह

माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल

सम्वत् २०४२ सालको फौ.पु.नं. ४०१

सम्वत् २०४३ सालको फौ.सा.नं. ११३

फैसला भएको मिति : २०४३।५।१३।६ मा

 

पुनरावेदक/प्रतिवादी : जि.का.चितवन कारागारमा थुनामा रहेका कृष्णहरि कोइराला

विरुद्ध

प्रत्यर्थी/वादी : प्र.नि.बाबुजन प्रधानको प्रतिवेदन र  फणिनारायण पौडेलको जाहेरीले श्री ५ को सरकार

 

मुद्दा : कर्तव्य ज्यान

 

(१)         पुनरावेदक प्रतिवादी कलिलो उमेरको विद्यार्थी देखिएको विद्यार्थी समूहको बीच विवाद चली मारिएको स्थितिमा अपराध गरेको अवस्था समेतबाट प्रतिवादीलाई ज्यानसम्बन्धीको १३(१) नं. बमोजिम सर्वस्वसहित जन्मकैदको सजायँ गर्दा चर्को पर्ने ।

(प्रकरण नं. ४१)

 

पुनरावेदक/प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री दमन ढुङ्गाना र विद्वान अधिवक्ता श्री सुनिल अधिकारी

 

फैसला

प्र.न्या.धनेन्द्रबहादुर सिंह : मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसलामा चित्त बुझेन भनी प्रतिवादीको पुनरावेदन परी पेश हुन आएको प्रस्तुत मुद्दाको तथ्य यसप्रकार छ ।

२. २०३८।१२।१ गते वीरेन्द्र क्याम्पसमा विद्यार्थीहरू बीच झगडा भई छुरी हानाहान भयो भन्ने खबर अनुसार म मद्दत साथ उक्त क्याम्पमा जाँदा प्रहरी आएको देखि केही विद्यार्थी भागी गएका र घटनास्थलको स्थिति अध्ययन गर्दा क्याम्पसको १ नं. कोठामा छुरी प्रहारबाट विद्यार्थी ५ जना मध्ये शिवप्रसाद पौडेल र भीमकुमार लामिछानेको हालत चिन्ताजनक भएको देखि छुरी प्रहार गर्ने कृष्णहरि कोइराला, छुरी हातमा लिई भागे भन्ने बुझिन आएको र घाइते शिवप्रसाद पौडेल सहित ५ जनालाई भरतपुर अस्पतालमा उपचार गर्न ल्याई कृष्णहरि कोइरालालाई खोज तलास गर्दै जाँदा क्षेत्रपुरको अर्जुन विष्टको घरमा गई लुकी बसेका कृष्णहरीलाई विद्यार्थीहरुले घरबाट बाहिर निकाली कुटपिट गर्दै रगतपच्छे भएका कृष्णहरि कोइरालालाई उत्तेजित विद्यार्थी समूहबाट छुटाई अस्पतालमा भर्ना गरी कृष्णहरि कोइराला क्याम्पसबाट भागेको बाटोबाट खोजी गर्दै जाँदा रगत लागेको छुरी क्षेत्रपुरतर्फबाट आएको देउती खोलाको घोल गहुँबारी नजिक डिलमा छुरी फेला परेको र घाइते ६ जना विद्यार्थीहरूलाई भरतपुर अस्पतालमा भर्ना गरेको मध्ये शिवप्रसाद पौडेलको सोही दिन १३.५० बजे मृत्यु भइसकेको र अन्य घाइते जना ५ को उपचार भइरहेकोले फेला परेको रगत लागेको फलामे छुरी बरामत भई मुचुल्का समेत प्रतिवेदन साथ दाखिल गर्न ल्याएको छु भन्ने समेतको प्र.नि.बाबुजन प्रधानको मिति ०३८।१२।१ को प्रतिवेदन ।

३. ०३८।१२।१ गते वीरेन्द्र क्याम्पस भरतपुरमा घटना घटेको सम्बन्धमा तत्काल उठाएको घटनास्थलको प्रकृति मुचुल्का तथा मृतक शिवप्रसाद पौडेलको भनिएको घटनास्थलबाट उठाइएको रगतको प्रकृति मुचुल्का ।

४. कृष्णहरिले साथमा लुकाई राखेको छुरी झिकी मेरो छोरा समेतलाई छुरी प्रहार गरी घाइते भएको निज छोरा शिवप्रसाद पौडेल भरतपुर अस्पतालमा उपचार हुँदा हुँदै सोही छुरीको चोट बेदनाबाट ०३८।१२।१ गते अं.२ बजेको समयमा मृत्यु भयो, तसर्थ कृष्णहरि कोइरालालाई ज्यानसम्बन्धी महल बमोजिम कारवाही गरी सजायँ समेत गरिपाउँ भन्ने समेत व्यहोराको ०३८।१२।१ को फणीनारायणको जाहेरी दर्खास्त ।

५. मृतक शिवप्रसादको मृत्यु हुनुको कारण  हतियारको चोट प्रहारबाट घाउ भई रक्तपात भई मृत्यु भएको भन्ने शव परीक्षण प्रतिवेदनमा डाक्टरको राय ।

६. साइकलको झगडाबाट इवी लिएका कृष्णहरिले छुरीले हामी समेत र मर्ने शिवप्रसाद लाई हानी सोही चोट वेदनाबाट शिवप्रसाद पौडेलको मृत्यु भयो हामी उपचार निमित्त अस्पतालमा भर्ना भयौं भन्ने समेत व्यहोराको डिस्चार्ज भइसकेपछि बुझिएका हरि तामाङ्ग, रविन्द्र शर्मा, बाबुराम घिमिरे समेतले प्रहरी समक्ष गरेको कागज ।

७. ०३८।१।२८ गते विद्यार्थी बीच साइकलको विषयमा झगडा भएछ, सो ठाउँमा म थिइन । ऐ.२९ गते सोही विषयलाई लिई पढाई भएन । ऐ.चैत्र १ गते साँढे एघार बजेतिर विद्यार्थी समूहले मलाई घेरी कुटी कुटपिट गर्न लागे । मेरो सहारा पक्षमा कोही पनि नभएकोले क्याम्पस प्रमुखको कोठाभित्र पस्न गएँ । त्यहाँ पनि विद्यार्थीहरूले कुटपिट गर्न लागेकोले सोही कोठाको गजवार टिपी रिङ्गयाउँदा को को कसलाई लाग्न गयो मलाई थाहा भएन । सो पछि विद्यार्थीको समूह कम भएकोले तहाँबाट भागी क्षेत्रपुर अर्जुन विष्टको घरमा गई लुकें । त्यहाँ विद्यार्थी र प्रहरी पुगी बाहिर निकाली अस्पताल भर्ना गराए । मैले मर्ने शिवप्रसाद र अन्य विद्यार्थीहरूलाई छुरी प्रहार गरेको छैन । म निर्दोष छु भन्ने व्यहोराको कृष्णहरि कोइरालाको प्रहरीमा भएको कागज ।

८. मर्ने शिवप्रसाद पौडेललाई र अरु घाइते विद्यार्थी समेतलाई कृष्णहरि कोइरालाले छुरी प्रहार गरेको हो देखाइएको छुरी कृष्णहरिले प्रहार गरेको छुरी हो । सोही छुरीको चोट बेदनाबाट शिवप्रसाद पौडेलको मृत्यु भएको हो भन्ने समेत सनाखत गर्दै किटानी साथ प्रत्यक्षदर्शी भई बुझिएका सरजमीनका मानिस मध्ये १७ जनाले बकी लेखाई दिएको सरजमीन मुचुल्का ।

९. ०३८।१२।१ गते कृष्णहरिले शिवप्रसाद पौडेललाई छुरी प्रहार गर्नु भन्दा अघि मलाई छुरी प्रहार गरी घाइते बनाएका हुन् । उक्त अवस्थामा निजसँग बाहेक अरुसँग छुरी नभएको हुँदा निजकै छुरीको चोट बेदनाबाट शिवप्रसादको मृत्यु भएको जस्तो लाग्छ भन्ने समेत व्यहोराको भिमकुमार लामिछानेको प्रहरीमा भएको कागज ।

१०. क्याम्पस प्रशासनलाई थाहा भए अनुसार ०३८।१२।१ गते प्रविणता प्रमाणपत्र प्रथम वर्षको छात्र कृष्णहरि कोइरालाले हतियार छुरी प्रहार गरेको र सोही छुरीको प्रहारबाट शिवप्रसाद पौडेलको मृत्यु भएको र अन्य विद्यार्थी घाइते भएका हुन् भन्ने वीरेन्द्र क्याम्पस भरतपुरको पत्र ।

११. २०३८।१२।१ गतेका दिन वीरेन्द्र क्याम्पस भरतपुरको भवनको मुलढोका भित्रको कोठामा कृष्णहरि कोइरालाले छुरी प्रहार गरी पर्न गएको चोट बेदनाबाट शिवप्रसाद पौडेलको मृत्यु भएको देखिएकोले निज प्रतिवादी कृष्णहरि कोइराला उपर मुलुकी ऐन ज्यानसम्बन्धी महलको १, १३(१) बमोजिम कारवाही गरी सजायँ हुनुपर्ने भन्ने समेत व्यहोराको प्रहरी प्रतिवेदन माग दावी ।

१२. २०३८।१२।१ गतेका दिन ११.३० बजे म वीरेन्द्र क्याम्पसमा पढ्न गएको थिएँ । मृतक शिवप्रसाद कहाँ हुनु हुन्थ्यो । मलाई थाहा भएन । म.ने.वि. संघको विद्यार्थी हुँदा अखिलका विद्यार्थीहरू रिसाएका थिएँ । सोही रिसइवीबाट मलाई फसाउने उद्देश्यले शिवप्रसादको हत्यारा भनेका हुन् मैले शिवप्रसादको हत्या गरेको होइन, भन्ने समेत व्यहोराको प्र.कृष्णहरी कोइरालाको अदालत समक्ष भएको बयान ।

१३. २०३८।१२।१ गते वीरेन्द्र क्याम्पसमा अध्ययन गर्ने कृष्णहरि कोइराला भन्नेले सोही क्याम्पसका शिवप्रसाद पौडेललाई छुरी प्रहार गरी मारे अरे भन्ने कुरा गाउँमा सुनेको हुँ भन्ने समेत व्यहोराको अ.बं. १३९ नं. बमोजिम बुझिएका हरीप्रसाद आचार्यले अदालतमा गरेको बयान ।

 

१४. २०३८।१२।१ गते मेरा घरमा विद्यार्थी  हरूको हुल पसेको कुरा घरमा आएपछि थाहा पाएँ । किन आएका रहेछन् भनी सोद्धा नचिनेका कृष्णहरिले शिवप्रसाद पौडेललाई मारे रे भन्ने कुरा सुनेको हुँ भन्ने समेत व्यहोराको अर्जुनराज विष्टको अदालतमा भएको बयान ।

१५. २०३८।१२।१ गते विद्यार्थी बीच हानाहान हुँदा केही विद्यार्थी घाइते र मर्ने शिवप्रसाद शख्त घाइते भएको देखि उपचारार्थ लगियो । पछि थाहा भए अनुसार कृष्णहरिबाट हात हालिएको रहेछ भन्ने समेत व्यहोराको विष्णुप्रसादको अदालतमा भएको बयान ।

१६. २०३८।१२।१ गतेका दिन १ जना विद्यार्थीलाई वीरेन्द्र क्याम्पसकै विद्यार्थीले मारे अरे भन्ने सुनें । कसले कसलाई मारेको हो मलाई थाहा छैन भन्ने समेत व्यहोराको लालकुमार श्रेष्ठको अदालतमा भएको बयान ।

१७. २०३८।१२।१ गते म आफ्नै घर सूर्य नगरमा थिएँ । शिवप्रसाद मरेको ज्यान मुद्दामा मलाई केही थाहा छैन भन्ने समेत व्यहोराको झंकमान राई तथा सन्तमान राइको अदालतमा भएको बयान ।

१८. शिवप्रसाद मरेको ज्यान मुद्दामा विद्यार्थी विद्यार्थी झगडा गरेर वीरेन्द्र क्याम्पसका विद्यार्थी मरे भन्ने सुनेको हुँ । अरु मलाई केही थाहा भएन भन्ने समेत व्यहोराको नलकुमार श्रेष्ठको अदालतमा भएको बयान ।

१९. क्याम्पसको बरण्डामा चर्को बोलेको सुनी हामी कोठाबाट निस्की सक्दा कृष्णहरिले चुप्पी हान्दै अगाडि बढ्दै थिए रोक्ने प्रयासमा गएका भीमकुमारको खुट्टामा कृष्णहरिबाट प्रहार भएको चुप्पीबाट घाउ लागे म घाउको रगत थामनेतिर लागें । त्यसपछि कृष्णहरि अगाडि जाँदा शिवलाई चुप्पी हाने भनेको सुने भन्ने समेत रामराज पौडेलले गरेको बयान ।

२०. २०३८।१२।१ को प्रतिवेदन मैले दिएको हुँ । शिवप्रसाद मरेको ज्यान मुद्दामा प्रतिवेदनमा उल्लेख भएका कुराहरू बाहेक अरु मलाई थाहा छैन भन्ने समेत व्यहोराको प्र.नि.बाबुजन प्रधानको बकपत्र ।

२१. २०३८।१२।१ गते वीरेन्द्र क्याम्पसमा भएको घटनामा कृष्णहरि कोइरालाले आफ्नो चूप्पी निकाली विद्यार्थी समूहमा हान्न थाल्यो । त्यसमा म लगायतका ५ जना विद्यार्थीहरू घाइते भयौं । उक्त चोटले नै शिवप्रसाद पौडेलको मृत्यु भएको हो । शिवप्रसादलाई कृष्णहरिले पहिलो पटक छातीमा र दोश्रोपटक पछाडि पातामा हिर्काई मृत्यु तुल्याएको हो । म स्वयं देखिरहेको थिएँ भन्ने समेत व्यहोराको घाइते बाबुराम घिमिरेको बकपत्र ।

२२. २०३८।१२।१ गते वीरेन्द्र क्याम्पसको घटनामा कृष्णहरि कोइरालाले शिवप्रसादलाई दायाँ तिर छातीमा छुरीले रोप्दा शिवप्रसाद आत्तिएर घोप्टो पर्दा पछाडि तिर बायाँ पट्टि त्यही छुरीले दोश्रो प्रहार गरेर निज क्याम्पस प्रमुखको क्वाटर तिर भागे भन्ने समेत व्यहोराको मीरा प्रधानको बकपत्र ।

२३. शिवप्रसादको मृत्यु कसले हानेको चोट बेदनाबाट भयो मलाई थाहा छैन भन्ने समेत व्यहोराको केशवभक्त सापकोटाको बकपत्र ।

२४. २०३८।१२।१ गतेको वीरेन्द्र क्याम्पसको घटनामा शिवप्रसाद पौडेललाई नमर्दैको अवस्थामा ठूलो भिड भएकोले मैले देखिन भन्ने समेत व्यहोराको लक्ष्मीविलास कोइरालाको बकपत्र ।

२५. शिवप्रसादलाई पहिला छुरीले दाहिने छातीमा हानी शिवप्रसाद पौडेलले ऐया भनी घोप्टो पर्दा फेरी देब्रे पातामा पनि छुरी प्रहार गरेको र त्यसपछि क्षेत्रपुरतर्फ मैले नाम नजानेको व्यक्तिको घरमा निज कृष्णहरि कोइराला भागी गएको हो भन्ने समेत व्यहोराको सरजमीनका मानिस धनबहादुर लामाको बकपत्र ।

२६. कृष्णहरि कोइरालाले शिवप्रसाद पौडेललाई मारेको होइन । शिवप्रसादलाई कसले हानी मारे  भिड भएको हुनाले थाहा पाउन सकिन भन्ने समेत व्यहोराको प्रतिवादीका साक्षी कृष्णराज कोइरालाको बकपत्र ।

२७. छुरी कसको थाहा छैन । शिवप्रसादलाई कसले मारे थाहा छैन भन्ने समेत व्यहोराको सरजमीनका मानिस कल्पना तिवारीको बकपत्र ।

२८. शिवप्रसादलाई छुरी कृष्णहरि कोइरालाले हानेका हुन भएको व्यहोरा सरजमीनमा लेखाई दिएको छ भन्ने समेत व्यहोराको सरजमीनका मानिस कालीदास पौडेलको बकपत्र ।

२९. शिवप्रसाद पौडेललाई दायाँ छाती र पुनः पछाडि बायाँ पट्टि छुरी प्रहार गरी क्याम्पस चिफको क्वाटर तिर कृष्णहरि कोइराला भागेको हो भन्ने समेत व्यहोराको सरजमीनका मानिस लक्ष्मीकान्त चालिसेको बकपत्र ।

३०.   २०३८।१२।१ गतेको घटनामा पहिले पनि साइकलको विषयमा झगडा हुँदा विद्यार्थी समूहबाट हुल ल्याई गुण्ड्याई गर्ने को हुन् भन्दा विद्यार्थी समूहबाटै यही कृष्णहरि कोइराला हो भन्ने वित्तिकै आज पनि हेर कतिको ज्यान लिन्छु भनी छुरी निकाली भिमकुमार समेतका केही मानिस घाइते पारी मेरो छोरा शिवप्रसाद पौडेललाई मार्ने नियतले छातीमा छुरी हानी निज कृष्णहरि क्षेत्रपुरतर्फ भागे छन् । अस्पतालमा विरामी छोरालाई भेट्न जाँदा अं.२ बजेतिर छोरा शिवप्रसादको मृत्यु भइसकेको देखि जाहेरी दर्खास्त दिएको छु । उक्त जाहेरी ठीक हो भन्ने समेत व्यहोराको जाहेरीवाला फणीनारायणको बकपत्र ।

३१. शिवप्रसाद पौडेललाई कृष्णहरि कोइरालाले छुरी प्रहार गर्दा शिवप्रसाद घोप्टिए । फेरि पछाडि पातामा पुनः छुरी प्रहार गरियो र त्यसपछि कृष्णहरि कोइराला क्याम्पसको मूल ढोकाबाट निस्की क्षेत्रपुरतर्फ भागे भन्ने समेत व्यहोराको सरजमीनका मानिस हरीप्रसाद लामिछानेको बकपत्र ।

३२. २०३८।१२।१ गते वीरेन्द्र क्याम्पसमा भएको घटनामा म समेत पीडित भएको हुँ । मलाई कृष्णहरिले हानेको छुरीबाट मेरो दाहिने तिघ्रामा चोट लाग्यो । शिवप्रसाद पौडेलको मृत्यु कृष्णहरिले हानेको छुरीको चोट बेदनाबाट भएको हो भन्ने समेत व्यहोराको घाइते भिमकुमार लामिछानेको बकपत्र ।

३३. विवादास्पद छुरी कृष्णहरिले नै प्रयोग गरेको, छुरी निजको नै भएको र मृतक शिवप्रसादको मृत्यु सोही छुरीकै प्रहारबाट भएको देखिएकोले प्र.कृष्णहरि कोइरालाले ज्यानसम्बन्धीको १ नं. अनुसारको अपराध गरेकै र १३(१) बमोजिमको सजायँ समेत हुने ठहर्छ भन्ने समेत व्यहोराको ठहर भएको र सर्वश्वसहित जन्मकैदको सजायँ चर्को हुन जाने देखिँदा अ.बं.१८८ नं. को व्यवस्था अनुसार १० वर्षको कैद गर्न उपयुक्त देखिएकोले छुट्टै राय प्रस्तुत गरेको छु भन्ने समेत व्यहोराको राय भएको मिति २०४०।३।५। को चितवन जिल्ला अदालतको जाहेरी फैसला ।

३४. मेरो निर्दोषिताको प्रमाण ध्यानमा नलिई प्रमाण छाडी गरेको फैसला उल्टाई सफाई पाउँ भन्ने समेत प्रतिवादी कृष्णहरि कोइरालाको मध्यमाञ्चल क्षेत्रीय अदालतमा परेको पुनरावेदन ।

३५. अ.बं.२०२ नं. एवं क्षेत्रीय अदालत नियमावली बमोजिम विपक्षी झिकाउनु पर्ने हुँदा महान्यायाधिवक्ताको कार्यालयलाई सूचना दिई पेश गर्नु भन्ने समेत मध्यमाञ्चल क्षेत्रीय अदालतको ०४१।३।२३ को आदेश ।

३६. ज्यानसम्बन्धीको १ नं.अन्तर्गत कै अपराध कृष्णहरिले गरेको देखिएकोले प्र.कृष्णहरि कोइरालालाई प्रहरी प्रतिवेदन दावी अनुसार कसूरदार ठहराई ज्यानसम्बन्धीको १३(१) नं. बमोजिम सजायँ गर्ने गरी र अ.बं.१८८ नं. बमोजिम राय व्यक्त गरी चितवन जिल्ला अदालतले गरेको इन्साफ मनासिब ठहर्छ  भन्ने समेत मध्यमाञ्चल क्षेत्रीय अदालतको ०४१।८।१५ को फैसला ।

३७. सो फैसलामा चित्त बुझेन अपराधबाट सफाई पाउनु पर्छ भन्ने समेत प्रतिवादी कृष्णहरि कोइरालाको पुनरावेदनपत्र ।

३८. पुनरावेदक प्रतिवादी कृष्णहरी कोइराला तर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री दमन ढुंगाना र विद्वान अधिवक्ता श्री सुनिल अधिकारीले पुनरावेदक प्रतिवादी कृष्णहरी कोइराला आरोपित कसूरमा प्रहरी र अदालत समेतमा इन्कार रहेको  छ । अपराध गरेको भनेको हतियार प्रतिवादीबाट बरामद हुनसकेको छैन । चस्मदिद देख्‍ने भनेका व्यक्तिहरुको प्रहरी र अदालतको बकाईमा एकरुपता नभई भिन्नता छ । प्रतिवादीले नै आरोपित कसूर गरेको हो भन्ने किटानी प्रमाण केही छैन । तसर्थ प्रतिवादी पुनरावेदकले सफाई पाउनु पर्छ भन्ने समेत बहस गर्नुभयो ।

३९. प्रस्तुत मुद्दामा मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मिलेको छ छैन  सो कुराको निर्णय दिनुपर्ने हुन आएको छ ।

४०. यसमा निर्णयतर्फ हेर्दा मौकामा भएको लाश प्रकृति मुचुल्का, शव परीक्षण प्रतिवेदन, मौका सरजमीन मुचुल्का, जाहेरी प्रतिवेदन तथा जाहेरी दर्खास्त समेतबाट मर्ने शिवप्रसाद पौडेल छुरी प्रहारको चोटबाट मृत्यु भएको भन्ने मिसिल प्रमाणबाट देखिन्छ । हरीप्रसादको साइकल झंकमानले खोसेको बारे वीरेन्द्र क्याम्पस भरतपुरमा ने.वि.समूह र अखिल समूहका विद्यार्थीहरुका बीच झगडा भई छुरी प्रयोग भई मर्ने शिवप्रसाद समेतका विद्यार्थीहरु घाइते भएको भन्ने कुरा अभियुक्त कृष्णहरी कोइराला समेतको बयानमा उल्लेख भएको पाइन्छ । प्रतिवादी पुनरावेदक कृष्णहरी कोइराला उपर ज्यानसम्बन्धीको १३(१) अनुसारको सजायको माग गर्दै प्रहरी प्रतिवदेन दावी भई प्रस्तुत मुद्दा कारवाही चलेको देखिन्छ । पुनरावेदक प्रतिवादी कृष्णहरी कोइरालाले बयान गर्दा मैले शिवप्रसादलाई छुरी हानेको होइन । मलाई रामराज पौडेल, घिरेन्द्र श्रेष्ठ र लालकुमार समेतले कुट्दा छुरी समेतले टाउकोमा हान्दा भागी क्याम्पस प्रमुखको कोठामा पसें, त्यहाँ पनि विद्यार्थीहरुले हुल गर्दा गजबार रिङ्याउँदै क्षेत्रपुरतर्फ भागें रामराज पौडेल, घिरेन्द्र श्रेष्ठ, लालकुमारहरुले नै शिव पौडेललाई हानेका हुन भनी आरोपित कसूरमा इन्कार रहेको देखिन्छ । बुझिएका लालकुमारले ०३८।१२।१ गते म आफ्नै कार्यालय चुरोट कारखानाको बिक्री शाखा भरतपुरमै थिएँ । शिवप्रसाद मरेको ज्यान मुद्दामा मलाई केही थाहाछैन । झगडा हुँदा एकजना विद्यार्थी मरे रे भन्ने सुनें भनेर अर्को रामराज पौडेलले कृष्णहरीले चुप्पीद्वारा शिवप्रसादलाई मारे भन्ने सुनें तर मैले अरु घाइतेलाई उपचार गर्न लगेको हुँदा प्रत्यक्ष देखिन भनी बयान गरेको छ । यसबाट प्रतिवादीका भनाई अनुसार निजहरुले शिवप्रसादलाई छुरी हानेको भन्ने देखिँदैन । सरजमीनका चस्मदिद देख्‍ने लक्ष्मीकान्त चालिसेले फाल्गुण २८ गते कृष्णहरी लगायत अन्य केही व्यक्तिहरुले गोकर्ण थापा लगायतका साथीहरुलाई कुटपिट गरे । अबत क्याम्पस पढ्न पठाउन अभिभावकहरु अनकनाउन थाले भन्ने कुरा गरिरहेको बेला कृष्णहरीले अस्ति २८ गते मात्र होइन आज पनि ठीक पार्छु भनी हातमा छुरी लिएर बाहिर निस्केको देखें । विद्यार्थीहरुले छुरी समात भन्दै आवाज निकाल्दा निकाल्दै कृष्णहरीले भीमकुमार लामिछानेको साप्रामा छुरी प्रहार गरी क्याम्पस प्रमुखको कोठामा पस्न प्रयास गरे त्यहाँ पस्न नदिएपछि एकाउण्टेन्टको कोठामा छुरी लिएरै पसे । विद्यार्थीहरुले बाहिर आउ भन्दा कृष्णहरीले एक हातमा छुरी अर्को हातमा टेबुलको खुट्टा लिएर निस्की केही विद्यार्थी निजको छुरी समाउने प्रयासमा लागे । त्यसै अवस्था हरी तामाङ, रविन्द्र पौडेल, बाबुराम घिमिरे, सोमराज महतो आदि साथीहरु छुरीको चोटबाट घाइते भए त्यसपछि कृष्णहरी छुरी लिएरै क्याम्पसको मूल ढोकातिर अगि बढे । त्यसै अवस्था मूल ढोकाबाट भित्र आइरहेका शिवप्रसाद  पौडेलको दायाँ छातीमा कृष्णहरीले छुरी प्रहार गरी छातीमा हातले छाम्दै मूल ढोकातिर फर्किएका शिवप्रसादलाई पुनः पछाडि बायाँपट्टि छुरी प्रहार गरी कृष्णहरी त्यहाँबाट हातमा छुरी लिएरै भागी क्षेत्रपुरको अर्जून विष्टको घरमा पसे । हामीहरु क्षेत्रपुर गई कृष्णहरीलाई कुटपिट गर्दाको अवस्था प्रहरी पुगी कृष्णहरीलाई समाती लगे भनी घटनाक्रमको समेत चित्रण गर्दै मौका सरजमीनका र अदालतमा समेत लक्ष्मीकान्त चालिसेले बकपत्र गरेको छ । त्यस्तै सरजमीनका कालिदास पौडेलले शिवप्रसादलाई कृष्णहरीले छुरी हानेको देखेको हुँ भन्ने र धनबहादुर लामाले शिवप्रसादलाई कृष्णहरीले छुरी प्रहार गरी भागी लुक्न गएको भन्ने र हरीप्रसाद लामिछानेले शिवप्रसादलाई कृष्णहरीले छुरी प्रहार गरी क्षेत्रपुरतर्फ भागे भन्ने र मिरा प्रधानले शिवप्रसादलाई कृष्णहरीले छातिमा छुरी रोपी छुरी लिएरै कृष्णहरी भागे भन्ने समेत अदालतमा आई बकपत्र गरेको पाइन्छ । निजहरुले घटनाको अवस्था आफूले देखेको कुरा भन्ने समेतको विस्तृत विवरण उल्लेख गरी बकपत्र गरेको देखिन्छ । सो बकाईलाई प्रमाण लिन नपर्ने तथ्ययुक्त आधार प्रतिवादीले देखाउन सकेको छैन । सो वारदातमा घाइते भएकाहरु बाबुराम घिमिरेले कृष्णहरीले चूप्पी हान्दा म समेतका ५ जना विद्यार्थी घाइते भयौं । शिवप्रसादलाई कृष्णहरीले छुरी प्रहार गरी मृत्यु तुल्याएको हो म स्वयंले देखिरहेको भन्ने र भिमकुमार लामिछानेले कृष्णहरीले हानेको छुरी मेरो दाहिने तिघ्रामा लाग्यो । शिवप्रसादको मृत्यु कृष्णहरीले हानेको छुरीको चोटबाट भएको हो, छुरी अरु कसैको साथमा थिएन भन्ने समेत अदालतमा बकपत्र गरेको छ । त्यसरी वारदातका अवस्था घाइते भएका बाबुराम घिमिरे समेतले शिवप्रसादलाई कृष्णहरीले छुरी प्रहार गरी मारेको हो भनी किटानीसाथ बकपत्र गरेको देखिन्छ । सरजमीनका चस्मदिद देख्‍ने व्यक्तिहरु तथा वारदातका अवस्था घाइते भएका भिमकुमार लामिछाने समेतका बकाईबाट अभियुक्त पुनरावेदक कृष्णहरी कोइरालाले प्रहार गरेको छुरीको चोटबाट शिवप्रसाद पौडेल कर्तव्य भई मरेको भन्ने देखिन्छ । आरोपित कसूरमा इन्कार रहेका पुनरावेदक प्रतिवादी कृष्णहरी कोइरालाका साक्षी कल्पना तिवारी र कृष्णराज कोइरालाले शिवप्रसाद पौडेललाई कृष्णहरीले मारेको होइन । शिवप्रसादलाई कसले मारे थाहाछैन भनी बकपत्र गरेको छ । तर सो बकाई कुनै सत्यतामा आधारित देखिँदैन  । साथै छुरी बरामद भएको छ । कृष्णहरीले शिवप्रसादलाई प्रहार गरेको छुरी यही हो भनी बाबुराम घिमिरे र मिरा प्रधान समेतले आफ्नो बकपत्रमा भनेको पाइन्छ । विशेषज्ञको जाँचबाट सो वारदातमा प्रयोग भएको छुरीमा लागेको रगत र शिवप्रसाद घाइते भई लडेको घटनास्थलको रगत मिल्न आएको देखिन्छ । यस स्थितिमा निज पुनरावेदक प्रतिवादी कृष्णहरी कोइराला निर्दोष रहेछ भन्न सकिने अवस्था नहुँदा सफाई पाउनु पर्छ भन्ने निजको पुनरावेदन जिकिर पुग्न सक्दैन । उपरोक्त प्रमाण परिबन्द र अरु क्षेत्रीय अदालतको फैसलामा उल्लेख भएको बूँदा प्रमाण समेतबाट पुनरावेदक प्रतिवादी कृष्णहरी कोइरालाले मर्ने शिवप्रसाद पौडेललाई छुरी प्रहार गरी कर्तव्य गरी मारेको ठहराएको चितवन जिल्ला अदालतको इन्साफ सदर गरेको मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिब ठहर्छ ।

४१. शुरु चितवन जिल्ला अदालतले अ.बं. १८८ नं. बमोजिम राय लगाएको सदर गरेतर्फ हेर्दा प्रस्तुत मुद्दाको घटनाक्रम जाहेरवालाको जाहेरी मृतकको मृत्यु सम्बन्धी तमाम कृयाहरुको सम्बन्धमा विचार गर्दा उपरोक्त मुद्दाको शुरुवात विद्यालयमा दुई समूहको बीचमा झगडा भई उत्पन्न परिस्थितिबाट भएको मर्नेलाई पहिलो प्रहार नभई प्रत्यक्षदर्शी घाइतेहरुलाई चोट लाग्न गई भिमकुमार लामिछाने मुर्छित भइसकेपछि मानिस मरेको सम्झी तमाम विद्यार्थीहरु प्रतिवादीलाई लखेट्न लागेको आक्रोशमा भएको देखिएको प्रतिवादीले आफ्नो सुरक्षा निमित्त क्याम्पसकै कोठामा शरण लिएको त्यहाँबाट पनि भाग्नु पर्ने परिस्थिति उत्पन्न भएको निज बाहिर जान लागेको बेलामा मर्ने शिवप्रसाद निजको  बाटोमा परेको र उत्तेजित भिडको आक्रोशबाट छुट्कारा पाउँन निमित्त निजबाट फुत्की भाग्न खोज्ने स्थितिमा छुरी प्रहार भएको देखिएको मृतककै बाबु फणीनारायणको बकपत्र हुँदा मार्नु पर्ने सम्मको रिसइवी भएको नदेखिएको साथै प्रत्यक्षदर्शी घाइते सरजमीनका व्यक्तिहरूले समेत सो तथ्यलाई स्वीकार गरेको देखिएको निज प्रतिवादीको उमेर २१ को मात्र भएको देखिएको निज विद्यार्थी भएको इत्यादी आधारबाट माथि सजायँ खण्डमा उल्लेख गरेको सर्वश्वसहित जन्मकैदको सजायँ चर्को हुन जाने देखिँदा अ.बं. १८८ नं. अनुसार १० वर्षको कैद गर्ने उपयुक्त देखिएकोले छुट्टै राय प्रस्तुत गरेको छु भनी चितवन जिल्ला अदालतको फैसलामा राय उल्लेख गरेको पाइन्छ । क्षेत्रीय अदालतले सो रायलाई सदर गरेको देखिन्छ । यसबाट पुनरावेदक प्रतिवादी कृष्णहरि कोइराला कलिलो उमेरको विद्यार्थी देखिएको दुई विद्यार्थी समूहको बीच विवाद चली शिवप्रसाद मारिएको देखिँदा यस स्थितिमा अपराध गरेको अवस्था समेतबाट निज प्रतिवादी कृष्णहरि कोइरालालाई ज्यानसम्बन्धीको १३(१) नं. बमोजिम सर्वश्वसहित जन्मकैदको सजायँ गर्दा चर्को पर्ने देखिएकोले निज प्रतिवादी पुनरावेदक कृष्णहरि कोइरालालाई अ.बं. १८८ नं. बमोजिम १० वर्ष कैद हुने ठहर्छ । पुनरावेदन तहबाट निर्णय भइसकेको हुँदा साधकबाट बोली रहन परेन साधकको लगत कट्टा गरी दिनु । अरु तपसील बमोजिम गर्नु ।

तपसील

पुनरावेदक प्रतिवादी कृष्णहरि कोइराला के माथि लेखिए अनुसार अ.बं. १८८ नं.ले कैद वर्ष १० हुन्छ । निज हाल जिल्ला कार्यालय चितवन कारागारमा थुनामा हुँदा थुनिएका मिति देखि कैद कट्टी भनी चितवन जिल्ला अदालतमा लेखी पठाउन काठमाडौं जिल्ला अदालतमा लगत दिनु………..१

प्रतिवादी कृष्णहरि कोईराला के निजलाई शुरु चितवन जिल्ला अदालतमा ०४०।३।५ का फैसलाले सर्वश्वसहित जन्मकैद गर्ने गरेकोमा माथि लेखिए बमोजिम १० वर्ष मात्र कैद हुने भएकोले सो सर्वश्वसहित जन्मकैदको लगत काटी दिनु भनी ऐ.ऐ…………..२

मुद्दा निर्णय भएको सूचना पुनरावेदकलाई दिनु…………….३

मिसिल नियम बमोजिम गरी बुझाइदिनू …………..४

 

उक्त रायमा म सहमत छु ।

न्या.प्रचण्डराज अनिल

 

इति सम्वत् २०४३ साल भाद्र १३ गते रोज ६ शुभम् ।