September 30, 1986
Created by nepalarchives

निर्णय नं. २७३९ – जग्गा हक कायम दर्ता

निर्णय नं. २७३९    ने.का.प. २०४३     अङ्क – ६ फुलबेञ्च माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान सम्वत्...

निर्णय नं. २७३९    ने.का.प. २०४३     अङ्क – ६

फुलबेञ्च

माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह

माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी

माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान

सम्वत् २०४१ सालको दे.फु.नं. ७०

फैसला भएको मिति : २०४३।६।१४।३ मा

 

विपक्षी/प्रतिवादी : हेटौंडा न.पं.वार्ड नं.१ को हाल वार्ड नं.५ बस्ने गणेशलाल श्रेष्ठसमेत

विरुद्ध

विपक्षी/वादी : हेटौंडा न.पं.वडा नं.४ बस्ने भजकृष्ण गोर्खाली

 

मुद्दा : जग्गा हक कायम दर्ता

 

(१)         जग्गामा प्रतिवादीको दाता गणेशलालको नै हक कायम हुन नसकेकोले विवादीत जग्गा गणेशलालबाट राजीनामाद्वारा हक प्राप्त गर्नेको हक कायम हुन सक्ने नदेखिने ।

(प्रकरण नं. १२)

 

निवेदकतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी विद्वान अधिवक्ता श्री चूडामणीराज सिंह मल्ल

विपक्षीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री लक्ष्मणप्रसाद अर्याल

 

फैसला

न्या.हिरण्येश्वरमान प्रधान : सर्वोच्च अदालत डिभिजनबेञ्चको निर्णय उपर निवेदकको श्री ५ महाराजाधिराजका जुनाफमा बिन्तिपत्र पर्दा व्यहोरा साँचो भए त्यस अदालतबाट छिनिएको बिन्तिपत्रम लेखिएको जग्गा हक कायम दर्ता मुद्दाको मिसिल झिकी फुलबेञ्चबाट दोहोर्‍याई हेरी कानुन बमोजिम निर्णय गर्नु  भन्ने समेत मौसुफका विशेष जाहेरी विभाग मार्फत बक्स भई आएको हुकूम प्रमांगी बमोजिम फुलबेञ्चको लगतमा दर्ता भई निर्णयार्थ यस बेञ्च समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा संक्षिप्त विवरण निम्न बमोजिम छ :

२. जिल्ला मकवानपुर प्रगन्ना खेश्राहा ७२ नं. मौजे हेटौंडा मेठबन्दी भित्रको प्रति जग्गा ०१३ साल देखि दाता विष्णुमाया समेतले ढालफाड आवाद गरी घरबास समेत गरी भोगी चर्ची आएको ऐलानी पुरानो डिभिजन अर्थात् बझाङ्गी राजाको क्याम्प जाने सडक देखि पश्चिम, हिमालय अटोमोबाइलको पर्खाल देखि पूर्व, माइला कामी देखि उत्तर, हरि घलान र हाल रामप्रसाद अर्याल देखि दक्षिण यति ४ किल्ला भित्रको जग्गा मध्ये रामप्रसाद अर्याल देखि दक्षिण, दाताकै जग्गा देखि उत्तर, हिमालय अटोमोबाइलको पर्खाल देखि पूर्व बझाङ्गी राजाको क्याम्प जाने तथा भूटनदेवी हाई स्कूलको चउर पश्चिम पट्टिको सडक देखि पश्चिम यति ४ किल्ला भित्रको पूर्व मोहडा उत्तर दक्षिण ४५ हात पूर्व पश्चिम सडक देखि हिमालय अटो मोवाइलको पर्खालसम्म अन्दाजी १२० हातको घडेरी जग्गा रु.१२,०००।मा ०३१।६।१३ मा छोडपत्रबाट खरीद गरी लिई मेरो हक हुन आई सोही सालमा ७।११ को कच्ची घर समेत बनाई अविछिन्न रुपमा जोत भोग चलन घरबास समेत गरी आएको जग्गा ०३२।९।२८ मा सर्भे नापीका बखत मेरो हकको कि.नं.२९२ मा नाप नक्शा हुँदा विपक्षीले अनाधिकार दर्ता खिचोला गरी पुड्के राईका नाममा रेति नं. ४ कि.नं. ४ र ७ को एकै चौहद्दी भित्रको दोहोरा दर्ता भएको कि.नं.७ को जग्गा विपक्षी मध्येका गणेशबहादुरले २०१६ सालमा खरीद गरी लिई ०१८ सालमा दा.खा.गर्न जाँदा बेपते उडुवा जग्गा भनी जिमिदार कचहरीबाट दा.खा. भई सो उपर उजूर नपरी विपक्षी गणेशलाल बसेको यस्तै उडुवा बेपते जग्गा मध्येबाट विपक्षी डिल्लीबहादुरले विपक्षी गणेशबाट ०१८।६।३ मा राजीनामा गरी लिई प्रचलित मोल रु.१२,०००।पर्ने मेरो जग्गामा खिचोला गरेकोले खिचोला मेटाई पाउँ भन्ने समेत व्यहोराको फिराद ।

३. फिराद दावी असत्य हो । वादीले ऐलानी भनी लेखाउनु भएको जग्गा हे.न.पं.वा.नं. १ बस्ने गणेशलाल श्रेष्ठबाट निजका हकभोग तिरोको रे.नं. ४ कि नं. ७ को ज.वि.०१९१६ को हेटौंडा मेठबन्दी भित्रको ०१३ सालको सर्भे नापीमा भएको नं. १४० मा दर्ता भएको मध्ये चौहद्दी गणेशलाल सो दक्षिण, जंगल सो पश्चिम, अभयप्रसाद सिंह, रुद्रप्रसाद सो पूर्व, निज गणेशलाल सो उत्तर यति ४ किल्ला चौडाई हात उत्तर दक्षिण ५३ पूर्व पश्चिम हात ८१ को अर्दतुल ४४ को दुई कठ्ठा १८ धुर जग्गा ०१८।६।३।३ मा मकवानपुर माल मार्फत राजीनामा पारीत गराई तिरो भरो गरी भोगचलन गरी आएको जग्गा विपक्ष भजकृष्ण र निजै दाताले समेत नापीमा दावी गरी खिचोला जनिई गएको हो । वादीले विष्णुमायाको हकभोग भनी फिराद साथ पेश गरेको छोडपत्र रजिष्ट्रेशन गरेको नहुँदा मान्यता विहिन छ भन्ने समेत ०३४।८।३० को डिल्लीबहादुर सिलवालको प्रतिउत्तर ।

४. वादीले पेश गरेको छोडपत्र पास नभएको हुँदा कानुनी मान्यता पाउन नसक्ने हुँदा अ.बं.८२ नं. ले फिराद गर्ने अधिकार कानुनले प्रदान गरेको देखिँदैन । नालेश गर्ने अधिकार नभएको व्यक्तिले गरेको फिराद अ.बं. ८० ले खारेज हुनुपर्ने मात्र जिकिर छ । वादीले जुन ऐलानी जग्गा हो भनी दावी गर्न आउनु भएको छ । सो जग्गामा वादीका नाउँमा दर्ता तिरो भोगमा छ भनी वादीले लेख्‍न सक्नु भएको छैन । जग्गा खिचोला कुन ऐन बमोजिम छुटाई दिनुपर्ने सो उल्लेख गर्न सक्नु भएको नदेखिँदा अस्पष्ट फिराद दावीबाट न्याय पाउन सक्ने देखिँदैन । हाल वादी र प्र. मध्येका डिल्लीबहादुर सिलवाल र मेरो बीचमा नापी तेरो मेरो परेको हे.न.पं., वडा नं.४ को कि.नं.२९२ को ०१२ जग्गा साविक देखि मेरो दर्ता हकभोग तिरोको नम्बरी दर्ता  जग्गा हो । उक्त जग्गा ०१६।४।१।२ मा पुडके राईबाट ९९९। मा रै.४ कि.नं. ७ मध्येको जग्गा मैले राजीनामा गराई लिएको जग्गा हो र डिल्लीबहादुर सिलवाललाई उक्त जग्गा मध्ये ०१३ राजीनामा गरी दिएको छु वादी दावीको जग्गा ऐलानी हुँदा झुठ्ठा दावीबाट फुर्सद पाउँ भन्ने समेत ०३४।८।३०।५ को गणेशलालको प्रतिउत्तर ।

५. प्र.गणेशलालबाट राजीनामा गराई मेरो दर्ता हक भोगको जग्गा भनी प्र.डिल्लीबहादुरले दाखिल गरेको मालपोत तिरेको रसीद प्रतिलिपिबाट ७२ नं. मौजे हेटौंडाको रै.नं. ३९२ डिल्लीबहादुरका नाउँमा २।।३ जग्गा देखिएको आसामी महलमा नदीकाट बालुवा बुर्जामा कारवाही भइरहेको भन्ने जनिएको देखिन आएको हाल विवादग्रस्त कि.नं. २९२ को जग्गा वरपर यस्तो नदीकाटको स्थिति नै नपरेको देखिएको हेटौंडा नगर भित्रको शहरी क्षेत्र धेरै घर भएको ठाउँमाको जग्गाको यो रसीद भए त्यस्तो नदी काटमा कारवाही भएको भन्ने जानिनु पर्ने स्थिति नपर्ने हुनाले निजले दाखिल गरेको रसीदको जग्गा यो देखि बाहेक अयन्त्रै रहेछ मैले स्पष्ट हुन आएकोले र बुझाएका सरजमीनबाट पनि जग्गा ऐलानी हुँदा वादी दावी बमोजिम प्रतिवादीहरूले वादीको बेदर्ताको ऐलानी सरहको जग्गामा नापी खिचोला गरेको भई वादीले दर्ता गरी पाउने ठहर्छ भन्ने समेत मकवानपुर विशेष अदालतको ०३४।११।२९ को फैसला ।

६. उक्त निर्णयमा चित्त बुझेन भन्ने समेत डिल्लीबहादुर सिलवाल समेतको म.क्षे.अ.मा परेको पुनरावेदन ।

७. यसै झगडाको विषयवस्तु र सोही अनुसारको अधिकारको स्रोत प्रस्तुत भएको यिनै वादी गणेशलाल र प्रतिवादी हिराकाजी समेत भएको जग्गा खिचोला समेत मुद्दामा यसै म.क्षे.अ. बाट वादी गणेशलालको ठहरी ०३७।४।६ मा फैसला भएको देखियो । उक्त फैसला भएको मुद्दाको नक्शा र हाल झगडा परेको यस मुद्दामा भएको नक्शा झिकाई हेर्दा अघिको मुद्दामा न.नं.२५ मा प्रतिवादी हिराकाजीले घर बनाई बसेको पूर्व पश्चिम १६४ फुट उत्तर दक्षिण ५४ फिटको झगडीया जग्गा भनेको सो जग्गा हालको न.नं. ४ मा हिराकाजी मगरको घर जग्गा भनी जनिएको देखिन आयो । सो न.नं. ४ देखि दक्षिण न.नं. १ मा कि.नं. २९२ भनी जनिई झगडा जनाएको जग्गा साविक नक्शामा उक्त २५ नं. देखि दक्षिण न.नं. २६ का यिनै वादी भजकृष्ण, रामकृष्ण गोर्खालीले उत्तर दक्षिण ६६ फुट, पूर्व पश्चिम १६४ फुट जग्गा घर बनाई बसेको भनी जनिएको हुनाले अहिलेको झगडा परेको न.नं. १ को जग्गा र अघिको नक्शा नं. २६ को झगडा जनिएको जग्गा एउटै देखिन आयो । सो नं. २५ र सो देखि दक्षिण पट्टिको न.नं. २६ को समेतको रातो मसीले झगडा जनिएको राप्ती होटल जाने सडक देखि उत्तर पट्टिको सम्पूर्ण जग्गा उस मुद्दाको वादी यस मुद्दाको प्रतिवादी गणेशलालको ठहरी उपर्युक्त उल्लेख गरिए अनुसार ०३७।४।२६ मा अन्तिम फैसला भएको र सो फैसला उपर अ.बं.८६ नं. को ऐन अनुसार उजूर गरी बदर गराउन वादीले सकेको देखिएन वादीले जग्गा ऐलान भनी दावी लिएको र हर्ष घलानले कमाएको जग्गा भन्ने फिरादमा उल्लेख नभएको र वादीकै किल्लामा हरि घलान र रामप्रसाद अर्याल देखि दक्षिण मध्येको जग्गा राजीनामा गरेको विष्णुकुमारीसँग लिएको भनी उल्लेख गरेबाट मकवानपुर विशेष अदालतको फैसला त्रुटिपूर्ण हुनाले बदर हुने ठहर्छ भन्ने समेत म.क्षे.अ.को ०३८।४।२७।३ को फैसला ।

८. उक्त निर्णयमा चित्त नबुझेको हुँदा पुनरावेदनको अनुमति पाउँ भन्ने भजकृष्ण गोर्खालीको यस अदालतमा परेको निवेदनमा यसमा नि.नं. ८९२ को जग्गा खिचोला मुद्दामा पुनरावेदन गर्न आजै यस बेञ्चबाट अनुमति दिइएकोले प्रस्तुत मुद्दामा पनि न्याय प्रशासन  सुधार ऐन, २०३१ को दफा १३(५)(ख) बमोजिम पुनरावेदनको अनुमति दिइएको छ भन्ने डिभिजनबेञ्चको ०३८।१०।२१ को आदेश ।

९. निर्णयार्थ डिभिजनबेञ्च समक्ष पेश हुँदा यी प्रतिवादी डिल्लीबहादुर सिलवालले विवादको जग्गामा आफ्नो अधिकारको श्रोत गणेशलालबाट ०१८।६।३।३ मा मकवानपुर माल मार्फत गरी दिएको राजीनामालाई देखाएको पाइयो । जुन जग्गाको प्र.डिल्लीबहादुरले हक अधिकारको दावी गरेका छन् सोही विवादास्पद समुच्चा जग्गामा नै निजका दाता गणेशलालको हक समाप्त भएपछि यी प्रतिवादीको अधिकार पनि स्वतः समाप्त हुने भएबाट वादी दावी बमोजिमको जग्गा प्रतिवादीहरूले नापी खिचोला गरेको ठहराएको मकवानपुर विशेष अदालतको इन्साफ मनासिब ठहर्छ भन्ने समेत सर्वोच्च अदालत डिभिजनबेञ्चको ०३९।३।६ को फैसला ।

१०. बक्स भई आएको हुकूम प्रमांगी बमोजिम इन्साफ जाँचको लागि यस बेञ्च समक्ष पेश भएकोमा निवेदकतर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी र विद्वान अधिवक्ता श्री चुडामणीराज सिंह मल्ल तथा विपक्षीतर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री लक्ष्मणप्रसाद अर्यालको बहस समेत सुनियो ।

११. आज निर्णय सुनाउने तारिख तोकिएको प्रस्तुत मुद्दामा निर्णयतर्फ हेर्दा २०१३ साल देखि दाता विष्णुमाया समेतले भोग गरेको जग्गा मध्ये रामप्रसाद अर्याल देखि दक्षिण, दाताके जग्गा देखि उत्तर, हिमालय अटोमोवाइलको पर्खाल देखि पूर्व, बझाङ्गी राजाको क्याम्प जाने तथा भुटनदेवी हाइस्कूलको चौर पश्चिम पट्टिको सडक देखि पश्चिम यति ४ किल्ला भित्रको ०३१।६।१३ मा छोडपत्रबाट खरीद गरी लिई मेरो हक हुन आएको जग्गा सर्भे नापीमा कि.नं. २९२ मा नापी भएकोमा विपक्षीले खिचोला गरेकोले तेरो मेरोमा अदालतमा जानु भनी सुनाएकोले फिराद गर्न आएको छु । विपक्षीहरूले गरेको दर्ता खिचोला मेटाई मेरो हक कायम गरी दर्ता गरिपाउँ भन्ने समेत वादी र वादी दावीको जग्गा गणेशलाल श्रेष्ठबाट २०१८।६।३।३ मा राजीनामा पारीत गराई लिई भोग गरेको र सो जग्गामा वादीका हकै नहुँदा वादी दावीबाट फूर्सद पाउँ भन्ने समेत प्रतिवादीहरूको जिकिर देखिन्छ ।

१२. यस लगाउको दे.फु.नं. ६९ को वादी गणेशलाल श्रेष्ठ प्रतिवादी हिराकाजी राना मगर समेत भएको जग्गा खिचोला मुद्दा मिसिल संलग्न नक्शा मुचुल्का हेर्दा झगडा जनिएको न.नं.२६ को जग्गामा वादी भजकृष्णका पिता रामकृष्ण गोर्खालीको घर जग्गा भन्ने उल्लेख भएको देखिन्छ । उक्त मुद्दा वादी गणेशलाल श्रेष्ठको फिराद ज.मि.को तत्कालीन १८ नं.को म्याद नाघी परेको भनी आजै वादी दावी खारेज हुने ठहरी फैसला भएकोबाट उक्त न.नं.२६ सहितको समुच्चा जग्गामा प्रतिवादीको दाता गणेशलालको नै हक कायम हुन नसकेकोले विवादीत जग्गा गणेशलालबाट ०१८।६।३।३ को राजीनामाद्वारा हक प्राप्त गर्ने डिल्लीबहादुर सिलवालको हक कायम हुन सक्ने देखिएन ।

१३. अतः विवादको जग्गामा वादी दावी बमोजिम प्रतिवादीहरुले नापी खिचोला गरेको ठहराएको मकवानपुर विशेष अदालतको इन्साफ सदर गरेको सर्वोच्च अदालत डिभिजनबेञ्चको ०३९।३।६ को इन्साफ मनासिब ठहर्छ । मिसिल नियम बमोजिम गरी बुझाइदिनू ।

 

उक्त रायमा हामीहरूको सहमती छ ।

न्या.सुरेन्द्रप्रसाद सिंह

न्या.हरिहरलाल राजभण्डारी

 

इति सम्वत् २०४३ साल आश्विन १४ गते रोज ३ शुभम् ।