September 16, 1986
Created by nepalarchives

निर्णय नं. २७३८ – चलन चलाई पाउँ

निर्णय नं. २७३८    ने.का.प. २०४३     अङ्क – ६ फुलबेञ्च माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह सम्वत्...

निर्णय नं. २७३८    ने.का.प. २०४३     अङ्क – ६

फुलबेञ्च

माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह

माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान

माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह

सम्वत् २०४१ सालको फु.वे.नं. ७३

फैसला भएको मिति : २०४३।५।३१।३ मा

 

निवेदिका/वादी : भ.पु.जि.ठिमी बालकुमारी गा.पं.वडा नं.५ बस्ने बद्री लक्ष्मी श्रेष्ठ

विरुद्ध

विपक्षी/प्रतिवादी : भ.पु.जि.बालकुमारी गा.पं.वडा नं.६ बस्ने चन्द्रकुमारी साहु श्रेष्ठ मरी मु.स गर्ने निजकी श्रीमती कान्छी माया साहुनी श्रेष्ठ

 

मुद्दा : चलन चलाई पाउँ

 

(१)         यस अदालतले क्षेत्रीय अदालतको इन्साफ जाँच गर्दा सर्वप्रथम क्षेत्रीय अदालतबाट भएको फैसला कानुनको रीत पुगी भएको छ छैन हेरी नभए बदर गरी र भए मात्र इन्साफतर्फ विचार गर्नुपर्ने ।

(प्रकरण नं. १६)

 

निवेदिका/वादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री बासुदेवप्रसाद ढुङ्गाना

विपक्षी/प्रतिवादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारी र विद्वान अधिवक्ता श्री हरिशंकर निरौला

 

फैसला

न्या.हिरण्येश्वरमान प्रधान : डिभिजनबेञ्चबाट मिति ०४०।९।४।२ मा फैसला भएको उपरोक्त मुद्दा फुलबेञ्चबाट दोहोर्‍याई पाउँ भनी निवेदिकाको विशेष जाहेरी विभाग मार्फत श्री ५ महाराजाधिराजका हजुरमा निवेदन परेकोमा व्यहोरा साँचो भए फुलबेञ्चबाट दोहराई कानुन बमोजिम निर्णय गर्नु भन्ने हुकुम बक्स भई आए बमोजिम फुलबेञ्चको लगतमा दर्ता भई निर्णयार्थ यस बेञ्चमा पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यसप्रकार छ :

२. विपक्ष इन्द्रकुमारले मसँग रु.१७,०००।कर्जा लिई पूर्व मूल बाटो, पश्चिम लागलदेखि विश्वनाथको घर, उत्तर विपक्ष चन्द्रकुमारको घर, दक्षिण तिर्थरामको घर यति ४ किल्ला भित्रको मेरो हक भोगको स्ववासी भ.पु.जि.ठिमी दुदपोखरी टोलको पूर्व मोहडा उत्तरदक्षिण लङको दुई कवले चार नाले चार तल्ले पक्की झिंगटी घर सो घरले चर्चेको लगापात समेत २०३२।८।२९।२ मा फार्छे लेखिदिएको २०३३।३।१ का दिन अन्दाजी १ बजे निजले चलन गर भनी घर छाडी दिएको निजको भिन्न भएको भाइ चन्द्रकुमारले मेरो अंश भागको घर हो छाडी दिन्न भनी छाडी नदिएकोले चलन चलाई पाउँ भन्ने फिरादपत्र ।

३. वादीलाई बिक्री गरेको घर सदर गरी वादी दावाबाट अलग फुर्सद गरिपाउँ भन्ने समेत इन्द्रकुमारको प्रतिउत्तर । अंश मुद्दाबाट बण्डा हुने धेरै बण्डा भएको छैन, त्यो नाप ४ किल्लाको पनि छैन भने इन्द्रकुमारको कुन घर के हेरी रु.१७,०००।लिई दिएको प्रतित पर्ने कुरो नभई इन्द्रकुमार र यो वादी मिली झुठ्ठा लिखत खडा गरी यो झुठ्ठै नालिश गर्न आएको हो । त्यसमा पनि कुनै घर पनि यसरी मुद्दा परिरहेकै छ, छुट्टिए छिनिएको पनि छैन भने त्यस्तो स्थितिमा निजहरू मिली त्यसरी बीच बीचै जुनसुकै किसिमले लिनु दिनु गरेको भए पनि सदर हुन सक्ने कुरो समेत होइन लिखत देखाइएकै बखत आवश्यक परे बयान गर्नेछु भन्ने समेत चन्द्रकुमारको प्रतिउत्तरपत्र ।

४. मेरो आमाले मलाई बकसपत्र दिएको घर पूर्व पट्टि र बाबु चन्द्रकुमार समेतको बण्डा लाग्ने घर पश्चिम पट्टि जोडिएको थियो आमाको हकको घर मलाई बकसपत्र ०३२।३।१६ मा आमा कान्छी मायाले लेखिदिएको छ, इन्द्रकुमारले बद्री लक्ष्मीलाई लेखिदिएको मेरो घरको दक्षिण पट्टिको आधा भाग समेत परेको छ भन्ने बुझिएको सूर्य लक्ष्मीले गरेको बयान ।

५. मैले दाइजो पेवाबाट करीब ३० वर्ष अघि लिएको घर छोरी सूर्यलक्ष्मीलाई बकसपत्र गरी दिएको छु, वादी दावीको किल्लाभित्र सो बकसपत्र दिएको घर आधी समेत पर्दछ भन्ने बुझिएको कान्छी श्रेष्ठको बयान ।

६. दाजु भाइका बीचमा बण्डा छुट्टी नसकेको अवस्थामा वादी दावीको घर कसको भागमा पर्ने हो सो कुराको निश्चित नहुँदै प्र.इन्द्रकुमारले मात्र बेचेको सदर हुन नसक्ने हुनाले चलन चलाई पाउँ भन्ने वादी दावी पुग्न सक्दैन भन्ने समेत भ.पु.जि.अ. को फैसला ।

७. उक्त इन्साफमा चित्त बुझेन भन्ने समेत वादी बद्रिलक्ष्मीको पुनरावेदन ।

८. बण्डापत्र खडा हुनु अगावै वादी दावीको घर बिक्री भएकोले त्यस्तो घर बिक्री भएतर्फ आफ्नो हक जतिको लिखत बदर गराउन लेनदेन व्यवहारको १० नं. बमोजिम प्र.चन्द्रकुमार आउनु पर्ने स्थिति छ । बा.अं.अ. को फैसला बमोजिम आधा घरमा इन्द्रकुमारको हक पुग्ने नै देखिँदा वादी दावी नपुग्ने ठहर्‍याई सम्पूर्ण लिखत कपाली ठहर्‍याएको शुरुको इन्साफ मिलेको नदेखिँदा अ.बं. २०२ नं. बमोजिम झगडीया झिकाउने भन्ने समेत मध्यमाञ्चल क्षेत्रीय अदालत सिंगलबेञ्चको आदेश ।

९. प्रतिवादी चन्द्रकुमारको अंशियार प्र.इन्द्रकुमारले वादीलाई घर बिक्री गर्दा उत्तर साँधका चन्द्रकुमार भनी लेखेको र बागमती अञ्चल अदालतबाट आधा आधा अंश पाउने ठहरी फैसला भएपछि अंशबण्डा नछुट्टिदै अंश नभएका अंशियारले सगोलको अचल सम्पत्ति बिक्री गरेको देखिनाले सो फार्छे गरी दिने कार्यबाट प्रतिवादी चन्द्रकुमारको हक गएको भए ऐनका म्यादभित्र उजूर गरी आफ्नो हक जति बदर गराउन पर्ने सो बदर गराएको नदेखिनाले आधा अंश पाउने अंशियारले आफ्नो हक जति बिक्री गरेको लिखतको कानुनी मान्यता लोप नहुने हुनाले लिखत बमोजिम थैलीमा वादीको कपालीमा उजूर परेका बखत ठहरे बमोजिम हुने हुँदा वादी दावा नपुग्ने ठहर्छ भन्ने भ.पु.जि.अ.को फैसला कानुन प्रतिकूल देखिनाले बदर हुने ठहर्छ । फार्छे लिखत अनुसारको वादी दावा बमोजिमको घर वादीले प्र.चन्द्रकुमारबाट चलन समेत पाउने ठहर्छ भन्ने समेत मध्यमाञ्चल क्षेत्रीय अदालत डिभिजनबेञ्चको ०३८।१।९।३ को फैसला ।

१०. पुनरावेदनको अनुमति पाउँ भनी प्रतिवादी चन्द्रकुमार श्रेष्ठले दिएको निवेदनमा क्षेत्रीय अदालतको निर्णयमा न्याय प्रशासन सुधार ऐन, २०३१ को दफा १३ को उपदफा (५) को खण्ड (ख) अनुसार सार्वजनिक महत्वको विषयमा प्रत्यक्षतः गम्भीर कानुनी त्रुटि भएको नदेखिएकोले प्रस्तुत निवेदनमा पुनरावेदनको अनुमति दिन मिलेन भन्ने यस अदालत डिभिजनबेञ्चको ०३८।६।२८।४ को आदेश ।

११. सर्वोच्च अदालत डिभिजनबेञ्चबाट भएको ०३८।६।२८।४ को निर्णय दोहर्‍याई पाउँ भनी न्यायिक समिति मार्फत श्री ५ महाराजाधिराज सरकारका हजुरमा चन्द्रकुमार साहू श्रेष्ठले चढाएको निवेदनमा नेपालको संविधानको धारा ७२(ख) बमोजिम दोहर्‍याई दिनु भन्ने हुकुम प्रमांगी बक्स भई आएकोमा हुकुम प्रमांगी बमोजिम गर्न फुलबेञ्चको लगतमा दर्ता गरी पेश गर्नु भन्ने समेत सम्मानीय प्रधान न्यायाधीशज्यूको ०३९।५।२०।१ को आदेश ।

१२. आफ्नो हक जतिमा बदर गराउन फिराद गर्नुपर्ने भन्ने तर्क लिँदै वादी दावी बमोजिमको घर चलन पाउने ठहर गरेको मध्यमाञ्चल क्षेत्रीय अदालतको ०३८।१।९।३ को निर्णयमा अंशबण्डाको २८ नं. तथा लेनदेन व्यवहारको १० नं. को त्रुटि देखिएको र त्यस्तो त्रुटि सार्वजनिक महत्वको समेत हुँदा न्याय प्रशासन सुधार ऐन, ०३१ को दफा १३(५)(ख) बमोजिम पुनरावेदनको अनुमति दिइएको छ भन्ने समेत ०३९।९।१३।३ मा फुलबेञ्चको बहुमतको रायको आदेश ।

१३. यसमा वादीले इन्द्रकुमारसँग गराई लिएको लिखतको सम्पत्ति समेतमा इन्द्रकुमार चन्द्रकुमार बीच परेको अंश मुद्दाबाट अंशबण्डा नछुट्टी कसको हक कायम हुने अर्थात् इन्द्रकुमारको नै हक हुन्छ भन्ने कुराको निर्णय भई नसक्दै इन्द्रकुमारले मेरो हकको सम्पत्ति भनी राजीनामा गर्न पाउने हक देखिँदैन । इन्द्रकुमार र चन्द्रकुमारको बीचमा विवाद परी रहेको सम्पत्ति सो राजीनामाको खरीद गरी लिने बद्रिलक्ष्मीले सो राजीनामाको आधारबाट चलन चलाई पाउँ भन्ने दावी पुग्न नसक्ने भनी भ.पु.जि.अ.ले गरेको इन्साफ मनासिब हुँदा मध्यमाञ्चल क्षेत्रीय अदालतको २०३८।१।९।३ को फैसला उल्टी हुने ठहर्छ भन्ने मिति २०४०।९।४।२ को डिभिजनबेञ्चको फैसला ।

१४. डिभिजनबेञ्चबाट भएको उक्त निर्णय फुलबेञ्चबाट दोहर्‍याई हेरी दिनु भन्ने हुकुम प्रमांगी बक्स भई आएको ।

१५. नियम बमोजिम निर्णयार्थ यस बेञ्चमा पेश हुँदा निवेदिका वादीतर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री बासुदेवप्रसाद ढुङ्गानाले र विपक्षी प्रतिवादीका तर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारी तथा विद्वान अधिवक्ता श्री हरिशंकर निरौलाले गर्नुभएको बहस समेत सुनियो ।

१६. आज निर्णय सुनाउने तारिख तोकिएको प्रस्तुत मुद्दामा डिभिजनबेञ्चको निर्णय मिलेको छ छैन हेर्नु परेको छ । निर्णयतर्फ हेर्दा यसमा वादी बद्रिलक्ष्मीले आफूले इन्द्रकुमारबाट पाएको राजीनामा बमोजिमको घर चलन चलाई पाउँ भनी चन्द्रकुमार उपर दिएको फिरादमा चन्द्रकुमारले प्रतिउत्तर फिराउँदा सो लिखत भित्र कान्छी श्रेष्ठले आफ्नी छोरी सूर्यलक्ष्मीलाई गरी दिएको बकसपत्र भित्रको घरसमेत परेको भन्ने समेत व्यहोराको प्रतिउत्तर दिएकोबाट जिल्ला अदालतले निज कान्छी र सूर्य लक्ष्मीलाई पेटबोलीबाट बुझ्दा निजहरूले पनि सोही बमोजिम आफूले दिएलिएको बकसपत्र भित्रको घरको दक्षिणपट्टिको आधा भाग परेको भनी बयान गरेकोबाट निजहरूलाई प्रतिवादी बनाई फैसला हुँदासम्म तारिखमा समेत राखिएको देखिन आउँछ । शुरु जिल्ला अदालतले फैसला गर्दा वादीले इन्द्रकुमारबाट पाएको राजीनामा कानुनी मान्यता नपाउने भनी ठहर गरेको उपर वादीको क्षेत्रीय अदालतमा पुनरावेदन परेकोबाट कारवाही भई फैसला हुँदा शुरु जिल्ला अदालतको उक्त फैसला उल्टाई वादी दावी बमोजिम लिखतको घर चलन पाउने ठहर्‍याएको देखिन आउँछ । यसरी आफ्नै तहमा अन्तिम हुने मुद्दामा शुरुको फैसला उल्टाई ठहर गर्न परेमा सो फैसलाबाट असर पर्ने प्रतिवादी बनाई फैसला हुँदासम्म तारिखमा रहेका निज कान्छी र सूर्यलक्ष्मी समेतलाई अ.बं.२०२ नं. बमोजिम झिकाई मात्र ठहर गर्नुपर्नेमा सो गरेको मिसिलबाट नदेखिएकोले मध्यमाञ्चल क्षेत्रीय अदालतबाट भएको उक्त फैसला कानुनको  रीत पुगेको भन्न मिल्ने देखिन आएन । मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदन गर्ने अनुमति प्राप्त गरी पुनरावेदन तहबाट यस अदालतले मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ जाँच गर्दा सर्वप्रथम क्षेत्रीय अदालतबाट भएको फैसला कानुनको रित पुगी भएको छ छैन हेरी नभए बदर गरी र भए मात्र इन्साफतर्फ विचार गर्नुपर्नेमा यस अदालतको डिभिजनबेञ्चबाट सोतर्फ नहेरी रीत नपुगी भएको फैसलामा इन्साफ जाँच गरी म.क्षे.अ.को इन्साफ उल्टाएको देखिन आएकोले यस अदालतको डिभिजनबेञ्चको फैसला पनि कानुन मिल्दो देखिन नआएको हुँदा यस अदालतको डिभिजनबेञ्चको फैसला मध्यमाञ्चल क्षेत्रीय अदालतबाट अ.बं. २०२ नं. को रीत नपुर्‍याई भएको फैसला समेत बदर हुने ठर्हछ । कानुन बमोजिम गर्नु भनी हाजिर रहेका पक्ष विपक्षलाई तारिख तोकी मध्यमाञ्चल क्षेत्रीय अदालतको रेकर्ड मिसिल तथा शुरु मिसिल र यस अदालतको रेकर्ड मिसिलमा रहने कागज बाहेक अरु कागजहरू समेत मध्यमाञ्चल क्षेत्रीय अदालतमा पठाई दिनु । यही लिखत सम्बन्धमा चन्द्रमायाको लिखत बदर गरिपाउँ भन्ने समेतको मुद्दा बागमती अञ्चल अदालतमा मुलतबी रहेको देखिन आएकोले यो फैसलाको जनाउ बागमती अञ्चल अदालत समेतलाई दिनु ।

 

उक्त रायमा हामी सहमत छौं ।

न्या.बब्बरप्रसाद सिंह

न्या.रुद्रबहादुर सिंह

 

इति सम्वत् २०४३ साल भाद्र ३१ गते रोज ३ शुभम् ।