August 7, 1986
Created by nepalarchives

निर्णय नं. २७१४ – अवैध घडी पैठारी

निर्णय नं. २७१४    ने.का.प. २०४३     अङ्क – ५ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४१ सालको फौ.पु.नं.५६८ फैसला भएको...

निर्णय नं. २७१४    ने.का.प. २०४३     अङ्क – ५

डिभिजनबेञ्च

माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह

माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल

सम्वत् २०४१ सालको फौ.पु.नं.५६८

फैसला भएको मिति : २०४३।४।२३ मा

 

पुनरावेदक/वादी : त्रिभुवन विमानस्थल भन्सार कार्यालय काठमाडौं

विरुद्ध

विपक्षी/प्रतिवादी : जिल्ला बर्दिया गुलरिया जन्म भई हाल का.न.पं.वडा नं.१० बानेश्वर बस्ने विष्णुप्रसाद शर्मासमेत

 

मुद्दा : अवैध घडी पैठारी

 

(१)         अनुमान प्रमाण होइन, न्यायिक निर्णय हुँदा न्यायकर्ताले वस्तुस्थितिको विषयमा जानकारी लिने सामान्य प्रकृया मात्र हो ।

(प्रकरण नं. २३)

 

पुनरावेदक/वादीतर्फबाट : विद्वान का.मु.अतिरिक्त न्यायाधिवक्ता श्री भैरवप्रसाद लम्साल

विपक्षी/प्रतिवादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठ

 

फैसला

न्या.सुरेन्द्रप्रसाद सिंह : मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसलामा चित्त बुझेन पुनरावेदनको अनुमति पाउँ भनी भन्सार कार्यालयको यस अदालतमा निवेदन पर्दा मिति २०३९।११।२५।४ मा यस अदालत डिभिजनबेञ्चबाट अनुमति प्रदान गर्न मिलेन भन्ने भएको आदेशमा न्यायिक समिति मार्फत श्री ५ महाराजाधिराज सरकारको जुनाफमा त्रिभुवन भन्सार कार्यालयले दिएको विन्तीपत्रमा ७२(ख) बमोजिम मुद्दा दोहर्‍याई दिनु भन्ने भएको हु.प्र.बमोजिम यस अदालत फुलबेञ्चबाट अनुमति प्राप्त गरी पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न प्रकारको छ :

२. २०३७ साल फाल्गुण ४ गते हङकङबाट दिनको ३ बजे आएको ए.बी.एन. जहाजमा अवैध सामान लुकाई ल्याएको छ, भन्ने विश्वस्त शुत्रबाट थाहा भई प्रमुख भन्सार अधिकृत नारायणप्रसाद शर्मा, भन्सार अधिकृत माधवप्रसाद श्रेष्ठ, ना.सु.श्री केदारकुमार सिलवाल, आर. एन.ए.सी. का ग्राउण्ड इन्जिनियर गणेशचन्द्र ठकुरी, विष्णुभक्त श्रेष्ठ तथा टेक्नीसियन भिमबहादुर अधिकारी समेतको रोहवरमा जहाजको विभिन्न स्थानमा तलासी गर्दा ककपिटको दाहिने तर्फको  अक्सिजन प्यानलबाट भेटिएको सिटिजन अटोमेटीक जेम्स डे. एण्ड डेट चेन सहितको घडी थान ४०, लेडिज घडी का मुममेन्ट (अर्ध तयारी पूर्जा) ४००, ककपिटको देब्रे पट्टीको च्यानलबाट फेला परेको नेशनल भिडियो क्यासेट ३, ककपिट पाइलट बस्ने सिट पछाडि फेला परेको जानीवाकर रेडलेवस्त व्हीस्की २, चार्ली १, डुटलक २, ट्रेक सुजीर १, लेडीज सेन्डल जुत्ता १ जोर जहाजको अगाडिको ट्वाइलेट भित्र फेला परेको नेशनल भिडियो क्यासेट २ स्कप भिडियो क्यासेट १ सानियो १७०० एच टुईन वन १, एडपटर २, भिडी १ फेला परेको मिति २०३७।११।४ को मौका मुचुल्का ।

३. यस सम्बन्धमा मलाई कुनै जानकारी छैन ती सामानहरू कसले लुकाएका थिए मलाई केही थाहा छैन, जहाज खानतलासी हुँदा अवैध सामान निस्केको भन्ने म घर गइसकेपछि हल्ला सुनेको थिएँ । आर.एन.ए.सी. को उक्त जहाज हङकङबाट काठमाडौंसम्म सुरक्षापूर्वक लिएर आउने उत्तर दायित्व तथा अधिकार पाइलटको हुन्छ मैले जहाजको चेकलिष्ट अनुसार चेक गरेको हुँ सो सबै इन्डीकेटरले ठीकै देखाएको हुँदा उडान योग्य सम्झी उडाइ ल्याएको हुँ । यसबारे हामीलाई थाहा हुन सक्ने कुरै आउँदैन । चेक लिष्ट बमोजिम चेकिङ म समेत तिनै जना क्याप्टेन ए.वी. श्रेष्ठ, फ्लाइट इन्जीनियर यू.के. काफ्ले मिली गरेका थियौं । क्रु मैम्बरहरू कसैलाई पनि जहाजको कुनै पार्टपूर्जा खोल्ने बन्द गर्ने अधिकार छैन हङकङबाट बैंककसम्म पाइलटको हैसियतले उडेको थिएँ । बैंकक देखि काठमाडौंसम्म बायाँतर्फको सिटमा कमाण्डरको हैसियतले उडेको थिएँ सो जहाजमा क्याप्टेन ए.वि. श्रेष्ठको थियो भन्ने समेत देवकुमार बुद्धिष्टको बयान ।

४. सो सामानहरू कसको हो कसले राखेका थिए मलाई थाहा छैन क्याप्टेन कोपाइलटलाई अक्सिजन प्यानलभित्र के के सामान लुकाई ल्याएको छ भन्ने जानकारी हुन सक्ने कुनै अवस्था थिएन । मैले खरीद गरेको पनि छैन ल्याएको र ककपिटमा फिट गरेको पनि छैन अवैध सामान कुनै क्रु मेम्बरले ल्याए फिट गरेको र खरीद गरेकोसमेत थाहा छैन मिति २०३७।११।४ का दिन विहान हङकङको समयानुसार ७।४० अन्दाजीमा सो जहाज हङकङ पुग्यो र काठमाडौंबाट गएका क्रु मेम्बरहरूले सो जहाज हङकङ एअरक्राफ्ट इञ्जिनीयरिङ्ग कम्पनीलाई जिम्मा दिई गएछन र म समेत अरु क्रु मेम्बरहरू सो दिन अन्दाजी १०।२० हङकङ समयानुसार जहाजनेर पुग्यौं अरु क्रु मेम्बरहरू जहाज भित्र गए म बाहिर निरीक्षण र तेल भर्ने काममा लागें अन्दाजी १५ मिनेट पछिमात्र म जहाज भित्र गएँ । ककपिटमा सबै क्रु मेम्बर आउने जाने गर्दछन जान आउन सक्दछन सुरक्षात्मक तथा जिम्मेवारी कमाण्डरको नै हुन्छ भन्ने ग्राउण्ड इञ्जिनीयर विष्णुप्रसाद शर्माको बयान ।

५. फ्लाइटमा फिट भएको वा ल्याएको भए क्रु मेम्बर कसैको कर्तव्य हो भन्ने कुरामा सहमत छु म हङकङमा विशेष गरी होटलमा नै बसेको हुँदा को को क्रु मेम्बरले के के सामान खरीद गरे भन्ने पूर्ण जानकारी मलाई थाहा थिएन अवैध सामान जहाजमा ल्याएको मैले देखिन र कसैले जानकारी दिएन ककपिटको अक्सिजन प्यानलमा घडी समेत कसैले फिट गरेको मैले देखेन । कमाण्डरको हैसियतले मेरो मातहतमा क्रुल मेम्बरहरू कसैले अनुशासन र जहाजलाई क्षति पुग्ने कुनै काम कारवाही मेरो उपस्थिति तथा जानकारीमा गरेमा तिनीहरूलाई कारवाही गर्ने काम मेरो हो सो बाहेक कसैले के गर्न लागेका छन के गरेका छन भनी बुझी हिंड्ने मेरो कर्तव्य होइन आर.ए. ८३२ बाट माल सामान बरामद भए पनि उक्त माल सो भन्दा अघि अघिको हङकङ काठमाडौं उडानमा फिट भएको पनि हुन सक्तछ । र कसैले पहिले पहिले नै उक्त स्थानबाट झिक्न नसकी रहेको पनि हुन सक्दछ भन्ने क्याप्टन अम्बरबहादुर श्रेष्ठको बयान ।

६. अक्सिजन प्यानल भित्र लुकाएको मैले नदेखेको हुँदा मलाई जानकारी छैन बरामद भएको  अवैध सामान जहाज नं. ८३२ मा लुकाएको हुन सक्दछ । त्यस अघि अघिको हङकङ उडानको जहाजमा लुकाई ल्याएको भई कठमाडौंमा ल्याएपछि पहिले गएका उडानमा ककपिट क्रुहरूले कुनै कारणबस सो जहाजबाट ती सामानहरू हटाउन नसकेको हुनाले पनि त्यही रहन सक्दछ मैले अवैध काम गरेको छैन भन्ने फ्ला.ई. उमाकान्त काफ्लेको बयान ।

७. सोधिएका सामान मेरो होइन मैले छाडेको थिएन हामी केविन क्रुहरूलाई केविनको विषयमा मात्र जानकारी हुने र ककपिट भित्रको कुनै प्यानल के हो कुन पूर्जा चलाउँदा त्यसको कस्तो प्रभाव पर्छ भन्ने जानकारी र तालीम समेत नहुने हुनाले र ककपिट केविन क्रुले लुकाउने समय र मौका पनि नपाउने हुनाले ककपिट क्रु बाहेक अरुले लुकाउने सम्भावना छैन लुकाउने ठाउँको ज्ञात नहुने कुरा म सहमति छु भन्ने विमान परिचारीका सारदा तामाङ्गबको बयान ।

८. बरामदी सामान मेरो होइन कसको हो कसले राखेको हो मलाई जानकारी छैन केविनमा क्रुहरूलाई ककपिटको कुनै पार्टपूर्जा खोल्ने बन्द गर्ने चलाउने सम्बन्धी ज्ञान नहुने र तालिम पनि नहुने हुँदा क्याविन क्रुले लुकाउन नसक्ने अक्सिन प्यानल भित्र लुकाउने काम त्यस्तो पार्टपूर्जा खोल्नेको पूर्ण जानकारी हुने ककपिट क्रुहरू मध्येकै कसैको कर्तव्य हुन पर्ने सो सामान अघि अघिको फ्लाइटमा नै त्यसरी राखेर काठमाडौंमा निकाल्ने मौका नपाएकोले रही रहेको पनि हुन सक्दछ भन्ने के.ए.किशोर ताम्राकारको बयान ।

९. ककपिटको अक्सिजन प्यानलबाट बरामद भएको सामानको हकमा म केविन क्रु भएकोले ककपिट भित्र बस्न नपाउने हुँदा सो सामान सम्बन्धमा केही जानकारी छैन । अगाडिको ट्वाइलेट्बाट बरामद भएको सामानको हकमा जहाज अडी सकेपछि म समेतका केविन क्रु ग्यालरिमा गई खाने पिउने सामान तयार गर्ने र वितरण गर्ने कामतर्फ लाग्नु पर्ने हुँदा सो ट्वाइलेट्को ढोकामा बसी रहन नपाउने तसर्थ त्यो सामान कसले कुन बेला राख्यो मलाई थाहा छैन । बोलावट नभई केविन क्रुहरू ककपिटमा जान मिल्दैन जहाज ओराल्ने बेलामा अगाडीको शौचालयको ढोका खुलै राख्‍ने हुनाले शौचालय भित्र त्यसै देखिने कसैले पनि केही माल राखिएको देखिएन भन्ने योगेन्द्रविक्रम राणाको बयान ।

१०. म ककपिटभित्र पस्दै नपसेको हुनाले ककपिट भित्रको बरामदी सामान बारे केहि जानकारी छैन । अगाडिको ट्वाइलेटमा प्राप्त भएको सामानहरू कसको हो मलाई जानकारी छैन मेरो पनि होइन कसको हो भन्ने समेत विमान परिचारीका अम्बिका राणाको बयान ।

११. ककपिट जस्तो सानो ठाउँमा क.अम्बरबहादुर श्रेष्ठ, के.देवकुमारव, बुद्धिष्ठ, ग्रा.ई.विष्णुप्रसाद शर्मा, फ्ला.ई.उमाकान्त काफ्ले ४ जनाको निरन्तर उपस्थिति रहँदा रहँदै ती सबैको मिलिमतो नभई अवैध सामान चोरी पैठारी गरिएको थियो भन्न मिलेन । ककपिटभित्र पाइलट बस्ने सिट पछाडि फेला परेको जानिवाकर व्हीस्की, चार्ली सेन्ट, डोरलक टे«क सुज, लेडिज सेन्डल समेत ककपिटहरूले देखेन र निजहरूको जानकारीमा थिएन भन्ने कुरा पनि तर्क पूर्ण देखिएन ककपिट भित्र फेला परेको भिडियो क्यासेट लगायतका अरु सामानहरू क्रु मेम्बरहरूको हुनु देखिन आएको हुँदा ककपिट भित्रका ४ जनाको मिलिमतोबाट भएको ठहर्छ । केविनको शौचालयमा फेला परेको सामानको सम्बन्धमा केविन क्रुहरू पर्सर योगेन्द्रविक्रम राणा के.ऐ.किशोर ताम्राकार, विमान परिचारीका अम्बिका राणा र शारदा तामाङ्गको मिलिमतोबाट भएको ठहर्छ भनी मिति २०३७।११।२०।३ मा त्रि.वि.भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारायणप्रसाद शर्माले गरेको फैसला ।

१२. उक्त फैसलामा चित्त बुझेन सफाई पाउँ भन्ने योगेन्द्रविक्रम राणा, किशोर ताम्राकार, अम्बिका राणा शारदा तामाङ्ग समेतको १ र अम्बरबहादुर श्रेष्ठ,  देवकुमार बुद्धिष्ठ, म उमाकान्त काफ्ले विष्णुप्रसाद शर्मा समेतको बागमती अञ्चलाधीश कार्यालयमा परेको पुनरावेदन ।

१३. पुनरावेदक योगेन्द्रविक्रम राणा, किशोर ताम्राकार, अम्बिका राणा, शारदा तामाङ्ग केप्टन द्वय अम्बरबहादुर तथा देवकुमारलाई प्र.भ.अधिकृतले दोषी ठहराएको नमिलेको हुँदा सफाइ पाउने ठहर्छ ।

१४. ग्राउण्ड इञ्जिनीयर विष्णुप्रसाद शर्मा र फ्लाइट इञ्जिनीयर उमाकान्त काफ्ले जहाजको पार्टपूर्जा इन्जीन आदिको प्राविधिकरण गर्ने व्यक्ति देखिएको अक्सिजन प्यानल समेत निजहरूकै रेखदेखको भएको र अरुले सो खोल्ने बन्द गर्ने समेत गर्न नसक्ने हुँदा भित्र लुकाई पैठारी गरिएको सामान निज ग्राउण्ड इञ्जिनीयर विष्णुप्रसाद शर्मा तथा फ्लाइट इञ्जिनीयर उमाकान्त काफ्लेको हकमा सम्म त्रिभुवन विमान स्थल भन्सार कार्यालय भन्सार अधिकृतले कसूर गरेको ठहराई गरेको फैसला मनासिब ठहर्छ भन्ने समेत बागमती अञ्चलाधीश कार्यालयको फैसला ।

१५. उक्त बागमती अञ्चलाधीशको कार्यालयको फैसलामा चित्त बुझेन पुनरावेदनको अनुमति पाउँ भनी उमाकान्त काफ्ले र विष्णुप्रसाद शर्माको मध्यमाञ्चल क्षेत्रीय अदालतमा निवेदन पर्न जाँदा पुनरावेदनको अनुमति प्राप्त गरेको छ भन्ने मध्यमाञ्चल क्षेत्रीय अदालतको आदेश ।

१६. यिनै पुनरावेदकहरूले नै सो प्लेनबाट अवैध सामानहरू ल्याएको हो भन्ने किटानी ठोस् सबूद प्रमाणको अभावमा दोष ठहर गर्न न्यायसंगत नहुने हुँदा सफाई पाउने ठहर्छ भन्ने समेत मध्यमाञ्चल क्षेत्रीय अदालतको मिति २०३८।८।२।३ को फैसला ।

१७. उक्त फैसलामा चित्त बुझेन पुनरावेदनको अनुमति पाउँ भनी प्रमुख भन्सार अधिकृतको यस अदालतमा निवेदन पर्दा मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ न्याय प्रशासन सुधार ऐन, ०३१ को दफा १३(५)(ख) को अवस्था विद्यमान नहुँदा पुनरावेदनका अनुमति दिन मिलेन भन्ने यस अदालत डिभिजनबेञ्चको मिति २०३९।११।२५।४ को आदेश ।

१८. उक्त डिभिजनबेञ्चको अनुमति नदिने गरी गरेको आदेशमा चित्त बुझेन नेपालको संविधानको धारा ७२(ख) अनुसारको ठहर्‍याई पाउँ भनी त्रिभुवन विमान स्थल भन्सार कार्यालयको न्यायिक समिति राजदरबार मार्फत श्री ५ महाराजाधिराज सरकारको जुनाफमा बिन्तिपत्र चढाउँदा नेपालको संविधानको धारा ७२(ख) बमोजिम उपर्युक्त मुद्दा दोहर्‍याई दिनु भन्ने भई आएका हु.प्र. बमोजिम यस अदालत फुलबेञ्चबाट मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला प्रमाण ऐन, २०३१ को दफा ७(ग) तथा दफा २९ को त्रुटि देखिएको हुँदा पुनरावेदन अनुमति दिइएको छ भन्ने आदेश भई विपक्षी समेतलाई झिकाई पेश भएको रहेछ ।

१९. नियम बमोजिम निर्णयार्थ यस बेञ्च समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदकतर्फबाट रहनु भएको का.मु. अतिरिक्त न्यायाधिवक्ता श्री भैरवप्रसाद लम्सालले विमानको ककपिट भित्र र अक्सिजन प्यानल समेतमा अवैध सामानहरू फेला परेको कुरामा शंका छैन, ककपिटभित्र र अक्सिजन प्यानल समेतमा अवैध सामानहरु बाहिरको व्यक्तिहरू गई सामान राख्‍नु अविश्वसनीय मात्र नभई असम्भव पनि छ, सयौं यात्रु रहेको विमानको अक्सिजन प्यानलमा समेत अवैध सामान राख्‍नु गैरकानुनी मात्र नभई मानवताको नाताले समेत अक्षम्य छ, त्यस्तो ठाउँमा सामान राख्‍ने प्राविधिक व्यक्तिले बाहेक अरुले राख्‍न सक्छ भन्न सकिँदैन, अतः विपक्षीहरूलाई त्यस्तो ठाउँको पूर्ण ज्ञान भएकोमा निजहरूले बाहेक अन्य व्यक्तिले सामान राखेको भन्न नसकिने हुँदा निजहरूलाई सफाई दिएको मिलेको छैन भन्ने र झिकाइएको विपक्षीहरू तर्फबाट रहनु भएका विद्वान वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठले विपक्षीहरूले सामान ल्याएको र विवादीत ठाउँमा राखेको भन्ने केही कतै कुनै प्रमाणले पनि पुष्टी  गर्न सकेको छैन । फौज्दारी न्याय सिद्धान्त अनुसार शङ्का र अनुमानको भरले मात्र दोषी ठहर गर्न मिल्दैन । अतः सफाई दिने गरी गरेको मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मिलेकै हुँदा सदर हुनु पर्दछ भन्ने बहस गर्नुभयो । दुवैपक्षको विद्वान अधिवक्ताहरूको बहस समेत सुनी निर्णयतर्फ विचार गर्दा मुख्यतः म.क्षे.अ. को फैसला मिले नमिलेको के रहेछ सो को निर्णय दिनुपर्ने हुन आयो ।

२०. निर्णयतर्फ विचार गर्दा यसमा विवादीत विमानको फ्लाइटबाट विवादीत सामान आएको कुरामा शङ्का गर्न पर्ने स्थिति छैन । अवैध सामान प्राप्त भएको भन्ने कुरा मिति २०३७।११।४ को बरामदी मुचुल्का समेतबाट प्रष्ट रुपमा देखिन आउँदछ । मुख्य रुपमा बरामद भएको अवैध सामान विपक्षीहरूले लुकाई छिपाई ल्याएको हो होइन, सो को निरोपण गर्नुपर्ने हुन आएको छ ।

२१. २०३७ साल फाल्गुण ४ गते हङकङबाट आएको ए.एन.वी. जहाजमा मुचुल्का बमोजिमको विभिन्न अवैध सामान बरामद भए तापनि जहाजमा सबै क्रु मेम्बरहरूले आफूले सामान राखेको र ल्याएको बारेमा सबैले इन्कारी बयान गरेका छन भने झिकाइएका यी विपक्षीहरू ग्राउण्ड इन्जिनीयर विष्णुप्रसाद शर्मा, फ्लाइट इन्जीनियर उमाकान्त काफ्ले समेत आपूmले सामान राखेको र ल्याएकोमा इन्कार गरेका छन् । सो बाहेक विमानका अन्य केविन क्रु लगायतका क्याविन क्रुहरू समेतले विपक्षीहरूले विमानभित्र सामान राखेको देखेका हौं भन्ने समेत कसैले भन्न लेखाउन सकेका छैनन् ।

२२. प्रस्तुत विवाद फौज्दारी प्रकृतिको विवाद हो जसमा कसूर प्रमाणित गर्ने भार वादी पक्षमा रहेको हुन्छ । कसूर प्रमाणित गर्ने प्रमाणहरू के के छन् सो को मूल्याङ्कन गरेपछि मात्र निर्णय दिनुपर्ने हुन आउँदछ । यो मुद्दामा वादीको रुपमा रहेको त्रिभुवन विमानस्थलको भन्सार कार्यालयले यि विपक्षीहरू प्राविधिक भएको हुँदा नै विमानको भित्री तह (अक्सिजन प्यानल समेत) मा राखेको सामान निजहरूले नै राखेको हो भन्ने अनुमानको भरमा गरेको निर्णयलाई अञ्चलाधीश कार्यालयले सदर गरेको पाइन्छ ।

२३. अनुमानलाई कसूर प्रमाणित गर्ने प्रमाणको रुपमा लिनु कतिको न्यायसंगत हुन्छ भन्ने कुरा यस अदालतको विभिन्न मुद्दाहरूमा व्याख्या भइरहेको छ । अनुमान प्रमाण होइन न्यायिक निर्णय हुँदा न्याय कर्ताले वस्तुस्थितिको विषयमा जानकारी लिने सामान्य प्रकृया मात्र हो । फौज्दारी मुद्दाको सिद्धान्त अनुसार यदि निर्णय गर्दा शंकाको स्थिति उत्पन्न भएको खण्डमा शङ्काको सुविधा अभियुक्तले पाउनु पर्दछ । प्रस्तुत मुद्दामा यी विपक्षीहरू आफूले अवैध सामान ल्याएकोमा इन्कार रहेको र निजहरूले नै सो सामान राखेको देख्‍ने साक्षीको अभाव रहेको र सो बाहेक निजहरूले सामान ल्याएको भए सो सामान रहे भएको ठाउँबाट निजहरूले झिक्ने प्रयास गरेको हुनुपर्ने त्यस्तो प्रयास यिनीहरूबाट भएको भन्ने मिसिल संलग्न कागजातबाट नदेखिएको मात्र होइन, अपितु यी प्रतिवादीहरू ओर्ली प्लेनबाट गइसकेपछि मात्र विवादका सामान फेला परेको कुरा मिसिल संलग्न कागजातबाट निर्विवाद रुपमा देखिन्छ । यस्तो स्थितिमा यी प्रतिवादीहरूले नै अवैध रुपमा राखी ल्याएको भनी केवल अनुमानको भरमा ठहर गर्न न्यायसंगत भएन । यस्तो अवस्थामा प्राविधिक भएकै नाताबाट मात्र निजहरूले नै विवादीत अवैध सामान शङ्कारहित र ठोस सबूदको अभावमा ल्याएको भन्न मिलेन, अतः मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला बूँदा समेतको आधार प्रमाणबाट निजहरुले सफाई पाउने ठहराएको मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ कानुनसंगत नै हुँदा श्री ५ को सरकार त्रिभुवन विमानस्थल भन्सार कार्यालयको पुनरावेदन जिकिर पुग्न सक्दैन । इन्साफ म.क्षे.अ.को मनासिब छ । श्री ५ को सरकारको पुनरावेदन पर्न आएकोले कसैलाई केही गरी रहन परेन मिसिल नियमानुसार गरी बुझाइदिनू ।

 

उक्त रायमा म सहमत छु ।

न्या.प्रचण्डराज अनिल

 

 

इति सम्वत् २०४३ साल श्रावण २३ गते रोज शुभम् ।