July 31, 1986
Created by nepalarchives

निर्णय नं. २७११ – उत्प्रेषण

निर्णय नं. २७११     ने.का.प. २०४३     अङ्क – ५ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०४२ सालको रिट नम्बर १७३४...

निर्णय नं. २७११     ने.का.प. २०४३     अङ्क – ५

डिभिजनबेञ्च

माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह

माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा

सम्वत् २०४२ सालको रिट नम्बर १७३४

आदेश भएको मिति : २०४३।४।१६।५ मा

 

निवेदिका : का.न.प.वडा नं १७ धोविचौर बस्ने नारायणदेवी श्रेष्ठ

विरुद्ध

विपक्षी : ऐ.बस्ने ईश्वरमान श्रेष्ठसमेत

 

विषय : उत्प्रेषण

 

(१)         घर बनाउने सम्पूर्ण जग्गामै तेरोमेरो परेको प्रष्ट देखिँदा देखिँदै यस्तो हक बेहकको प्रश्‍नमा नगर पञ्चायतले गरेको टिप्पणी निर्णय अनाधिकृत हुँदा उत्प्रेषणको आदेशद्वारा बदर हुने ।

(प्रकरण नं. ९)

 

निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री नूतन थपलिया

विपक्षीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री सर्वज्ञरत्‍न तुलाधर

 

आदेश

न्या.सुरेन्द्रप्रसाद सिंह : नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा निम्न प्रकारको छ ।

२. मिति २०२९।८।६।३ मा दुवैले एकै मितिमा साविक ब्लक नं. १३।९०२ भएको घरलाई पूर्वतर्फ ईश्वरमान श्रेष्ठले र पश्चिमतर्फ म निवेदिकाले राजीनामा गरी लिएको हाल पनि सो दुवै घरमा एउटै ब्लक नं. ६२४० काठमाडौं ३, छ । म निवेदक र विपक्षीको कि.नं.५४३ र ५४६ को बीचमा चोक र इनार छ । इनारको साथमा विभिन्न देवताहरू र कुमारीको मन्दिर छ । माथि उल्लेख भएको अवस्थाको घर जग्गामा चोक इनार र कुमारीको मूर्ति समेत मासी मेरो लगापात र पेटीलाई पनि भित्री घर बनाउने बखत पास गर्न विपक्षीले का.न.पं.मा निवेदन दिनु भएको रहेछ र २०४२।१०।१०।२ मा का.न.पं.बाट सूचना प्रकाशित हुँदा मेरो घर जग्गा मिची घर बनाउन दिन मन्जूर छैन र म निवेदकलाई संधियार नदेखाई दिएको दर्खास्त पनि कानुन बमोजिम छैन भन्ने नालेश उजूर दिएको थिएँ । मिति २०४२।२।१।३ मा सन्धि सर्पन पीर मर्का पर्दै पर्दैन भनी सरजमीन हुँदा पनि सोही कुरा दर्शाएको थिएँ । पछि बाधा नपर्ने देखिएकोले उजूरीको हकमा पछि का.न.पं.ले निर्णय भए बमोजिम हुने गरी हाललाई नक्शा गरिपाउँ भनी विपक्षीले निवेदन दिएकोमा नक्शा दर्खास्तमा लेखिए बमोजिमको डिजाइन र तरीकाबाट घर बनाउन स्वीकृति दिइएको छ, भन्ने मिति २०४२।२।३ को टिप्पणीबाट उजूरी परेको भाग बाहेक गरियो नक्शा पास गरेको निर्णय निम्न लेखिए बमोजिम गैरकानुनी छ भनी प्रष्ट गरेको छु ।

३. जिकिर : माथि उल्लेख गरिए बमोजिम म समेतको इनार मन्दिर भत्काई त्यसमाथि घर बनाउने म निवेदिकाको घर जग्गा समेत मिची घर बनाउने उत्तरतर्फ म निवेदिकालाई संधीयार समेत नदेखाइएकोबाट  घर बनाउने सम्पूर्ण जग्गामा तेरो मेरो परेको कुरा विपक्षी का.न.पं.को टिप्पणीबाट पनि प्रष्ट देखिएको अवस्थामा नक्शा पास गरी दिनु पूर्णतया गैरकानुनी भएको प्रष्ट छ । निज दर्खास्तवालाले नक्शा दर्खास्त शुरुमा दिँदा ल.फु.४०४ चौ.फु ४२७ र उचाई फुट १६० भनी लेखेको र हाल झगडा परेको देखि बाहेक पनि नक्शा पास गरेको ल.फु. र चौडाई सोही बमोजिमको छ यसरी देखा देखि झगडा परेको बाहेक भनी सोही बमोजिमको नक्शा पास गर्नु देखा देखि परेको बाहेक भनी सोही बमोजिमको नक्शा पास गर्नु अनियमित छ । दर्खास्तवालाले दिएको नक्शा बमोजिमको क्षेत्रफल जग्गा त्यस विवादीत जग्गामा जग्गा नै छैन अतः सम्पूर्ण जग्गामा तेरो मेरो परेको स्थितिमा नक्शा पास गर्ने गरेको विपक्षी न.पं.को निर्णयमा न.पं ऐन, २०१९ को दफा ४८, ४९(२) को विपरीत भएकोले मिति २०४२।३।३ को टिप्पणी निर्णय उत्प्रेषण अन्य उपयुक्त आज्ञा, आदेशले बदर गरिपाउँ भन्ने समेत रिट निवेदन ।

४. विपक्षीहरूबाट लिखितजवाफ मगाई आएपछि पेश गर्नु भन्ने समेत यस अदालत सिंगलबेञ्चको आदेश ।

५. विपक्षीकै लेखाइबाट पनि विवादीत घर २ जनाको भएको र ५४३ र ५४६ मा नापी भएको भन्ने कुरा प्रष्ट रुपमा देखिएको छ र आफ्नो आफ्नो नाममा समेत नापी गराएकोबाट प्रष्ट छ । नापीमा कुनै उजूरी छैन यसरी नापी भइसकेको घरमा विपक्षी ईश्वरीमानले घर बनाउन नपाउने प्रश्‍न नै उठ्दैन नक्शा पास गर्दा आफ्नो कित्ताको जग्गाको क्षेत्रफल सिमाङ्कन भन्दा बाहिर गई बनाउने नक्शा पास पनि भएको छैन । सरजमीनबाट घर लगायत समेत आएको भन्ने नदेखिएको र नक्शा पास गर्दा उजूर परेको भाग बाहेक गरी मात्र नक्शा पास गरी दिएको हुँदा समेत रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत का.न.पं.को लिखितजवाफ ।

६. विपक्षीले र मैले जग्गाहरू अलग अलग राजीनामा नापी समेत गरी आफ्नो हकमा हुन आएको हो । विपक्षीको घर कि.नं. ५८३ र मेरो घर कि.नं. ५४६ भई नापी नक्शा भएकोबाट नापीमा विपक्षीको उजूर छैन । विपक्षीको र मेरो घर बीच मन्दिर देवी देवता छैन सो कुरा नाप नक्शा हेरे प्रष्ट हुन्छ मैले आफ्नो कि.नं.५४६ को जग्गामा आफ्नै इनार बनाएको छु । मेरो कि.नं.५४६ को खाली जग्गामा नक्शामा लेखिए बमोजिम घर बनाउन नक्शा दर्खास्त दिइएको हो । नक्शा बमोजिम घर बनाउन पश्चिम पट्टि ९ फिट आफ्नै जग्गा र सो देखि पश्चिम भाग विपक्षीको घर छ अतः जग्गा मिच्यो भन्ने प्रश्‍न नै उठ्दैन मैले पारीत नक्शा बमोजिम घर बनाउँदा पनि केही जग्गा पुनः खाली नै रहने छ । विपक्षीको घर र दक्षिण उत्तरतर्फ नभई मेरै आफ्नै घर छ सो कुरा नक्शाबाट अवगत हुने नै छ । विपक्षीको उजूर मेरो घर बनाउनेमा नभई लिग लगापात देखाएन देवता भएको भन्ने कुरा भाग के कस्तो हुँदा उजूर परेको बाहेक भनी नक्शा पास गर्दा दिइएको नक्शाको लम्बाई चौडाई घटाउनु पर्ने प्रश्‍न नै आउँदैन विपक्षीको एउटा आधारहीन झुठ्ठा उजूरीबाट मैले आफ्नो खरिदी दर्ता हक भोग चलनको जग्गा चोकमा मैले घर बनाउन पाउने गरी नक्शा पास गरेको विपक्षी न.पं.को निर्णय न्यायसंगत नै हुँदा रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत ईश्वरमान श्रेष्ठको लिखितजवाफ ।

७. नियम बमोजिम निर्णयार्थ यस बेञ्च समक्ष पेश हुन आएको प्रस्तुत रिट निवेदनमा निवेदकतर्फबाट रहनु भएको विद्वान अधिवक्ता श्री नूतन थपलिया र विपक्षी का.न.पं.र ईश्वरमान श्रेष्ठबाट रहनु भएको विद्वान वरिष्ठ अधिवक्ता श्री सर्वज्ञरत्‍न तुलाधरले गर्नुभएको बहस जिकिर समेत सुनियो । मुख्यतया रिट निवेदकको माग बमोजिमको आदेश जारी हुने हो वा होइन सो को निर्णय दिनुपर्ने हुन आयो ।

८. निर्णयतर्फ विचार गर्दा यसमा मेरो घर जग्गा समेत च्यापी वादीले दिएको नक्शा पास गर्ने गरी    गरेको विपक्षी न.पं.को टिप्पणी आदेश अनाधिकृत हुँदा बदर गरिपाउँ भन्ने मुख्यतया निवेदिकाको रिट निवेदन जिकिर रहेको पाइन्छ ।

९. मुख्यतया प्रस्तुत विवादमा विपक्षीले नक्शा पास गर्ने गरेको विवादीत जग्गामा विपक्षी ईश्वरमान श्रेष्ठको भाग एकलौटी भएको जग्गा हो वा होइन हक बेहकमा परेको जग्गामा विपक्षी न.पं.ले १ पक्षले दिएको नक्शापास दर्खास्त पास गर्न मिल्छ मिल्दैन सो कुराको निर्णय दिनुपर्ने हुन आएको छ । सो बमोजिम हेर्दा मिति २०२९।८।६।३ मा यीनै रिट निवेदकका पक्ष विपक्ष दुवैले एकै मितिमा ब्लक नं. १३।९०२ भएको १ घरलाई राजीनामा गरी लिएको कुरालाई दुवैपक्षले स्वीकार नै गरेको पाइन्छ । यिनै रिट निवेदिकाले सरजमीनमा समेत विरोध गरी म निवेदिकाको घर र मलाई संधीयार नदेखाई दिएको दर्खास्त पनि कानुन बमोजिमको छैन भनी का.न.पं.मा मिति २०४२।१।२१ मा नालेश उजूर पनि गरेको भन्ने समेत पाइन्छ । यस्तो स्थितिमा घर बनाउने सम्पूर्ण जग्गा तेरो मेरो परेको प्रष्ट देखिँदा देखिंदै यस्तो हक बेहकको प्रश्‍नमा नगर पञ्चायतले गरेको मिति २०४२।२।३ को टिप्पणी निर्णय अनाधिकृत हुँदा उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ । नियमानुसार गरी फायल बुझाइदिनू ।

 

उक्त रायमा म सहमत छु ।

न्या.महेशरामभक्त माथेमा

 

इति सम्वत् २०४३ साल श्रावण १६ गते रोज ५ शुभम् ।