निर्णय नं. २७० – जालसाजी
निर्णय नं.२७० ने.का.प.२०२२ फुल बेञ्च प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह न्यायाधीश श्री गु.प्रो.उपेन्द्रराज पण्डितज्यू न्यायाधीश श्री भैरवप्रसाद उपाध्याय न्यायाधीश श्री सं.इश्वरीराज मिश्र न्यायाधीश श्री...
निर्णय नं.२७० ने.का.प.२०२२
फुल बेञ्च
प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह
न्यायाधीश श्री गु.प्रो.उपेन्द्रराज पण्डितज्यू
न्यायाधीश श्री भैरवप्रसाद उपाध्याय
न्यायाधीश श्री सं.इश्वरीराज मिश्र
न्यायाधीश श्री बाशुदेव शर्मा
फौ.फु.नं.२८८
निवेदक, प्रतिवादी : का.ई.बागबजार बस्ने राजमाया श्रेष्ठनी
विरुद्ध
विपक्ष, वादी : का.त्यौड तँलाछी टोल बस्ने विष्णुकेशरी महरजननी ।
मुद्दा : जालसाजी
(१) सबै अंशियारको हक लाग्नेमा मेरो मात्र हक लेखी दिएमा जालसाजी भन्न मिलेन ।
किर्तेकागज को ३ नं. मा आर्काको हक मेट्ने म्याद तारेख जाने वा कुनै तरह संग नोक्सान पार्ने इत्यादी जुनसुकै मतलबले होस, नगरेर नभएको झुठ्ठा कुरा गरे भएको भनी वा मिति अंक व्यहोरा फरक पारी सहीछाप गरी दिने लिने दुवै थर मिली कागज लेखी सहीछाप गरीदिने लिने कारवाई गर्ने जो हो, जालसाजी ठहरी बात लाग्छ भन्ने उल्लेख भएको । उक्त लेखिए बमोजिम सबै अंशियारको हक लाग्ने सम्पत्तिमा मेरो मात्र हक भनी नभएको कुरा लेखि व्यहोरा फरक पारी दिएको देखिन आएकोले जालसाजीको परिभाषा भित्र परेको देखिने ।
(प्रकरण नं.१५)
(२) अर्काले पाउने अंश हक मेटिने गरी बकसपत्र लेखि दिएमा बदर हुने ।
आफ्नो हक अंश जति मात्र दिएको नभई सबै अंशियारको हक लाग्ने सम्पत्तिहरू कसैको हक नलाग्ने, आफ्नो मात्र हक लाग्ने लेखि दिएबाट वादीले पतिको अंशबाट पाउने हक मेटिने गरी लिखत भए गरेको देखिने ।
(प्रकरण नं.१६)
निवेदकका प्रतिवादी तर्फबाट : विद्वान एडभोकेट कृष्णप्रसाद भण्डारी, विद्वान एडभोकेट कृष्णप्रसाद पन्त
फैसला
१. माना चामल भरी भराउन गर्न बिगो फाँटबाट डोर जाँदा श्यामभक्तको अंश समेत सासु रत्नमायाले बुहारी राजमायालाई ०६।८।२३।५ मा बकसपत्र गरी पास भएको कागज देखाए पछि डोर फर्कि आएबाट मैले थाहा पाएको हुनाले नालिस गर्न आएकी छु । सो जालसाजी बकसपत्र बदर गरी पाउँ भन्ने समेत दावी ।
२. जालसाजी गरेको छैन । आमाको आर्जन आमाले दिएकोमा सदर हुने भन्ने समेत मि.सु.नारायणभक्त । सासुले रिज वापतमा मलाई लोग्ने र देवर श्यामभक्त समेत साक्षी राखिदिएको हुँदा जालसाजी गर्नुपर्ने कारण नभएको । बकसपत्र सदरै राखी पाउँ भन्ने समेत राजमाया । मेरो आर्जनको हुँदा छोराहरू साक्षी राखी बुहारी राजमायालाई बकसपत्र गरी दिएको हुँ भन्ने समेत रत्नमाया । आमाको आर्जन हुँदा जसलाई दिए पनि मन्जुर हुनु पर्ने हुँदा साक्षी बसेको हुँ । जालसाजी गरेको छैन भन्ने समेत श्यामभक्त समेतको प्रतिवादी ।
३. दाइजो पेवाको भन्ने सबुद दान दातब्यको ३ नं. को ऐन बमोजिम रीत पुगेको प्रमाण दिन नसकेको । बकसपत्र गरी दिंदा अंश हक पुग्ने छोराहरू साक्षी राखेको भए पछि अंशमा हक पुग्ने वादी पनि साक्षी राख्नु पर्ने राखेको नदेखिएकोले वादीको हक जान्छ भन्न नहुने हुँदा वादीले ऐन बमोजिम पाउने अंश जति वादीको हक बदर हुने र वादीको छोरा हेराकाजीको हकमा ०६ साल मार्ग २३ गते लिखत भईसकेपछि ०९ सालमा मात्र जन्मेको देखिएकोले आफु नजन्मदैको व्यवहारमा वादीको छोराको दावी नपुग्ने भन्ने समेत रा. का.फौ.अ. को ०१६।४।११।१ को फैसला ।
४. जम्मै बदर कि सबै सदर हुनु पर्नेमा वादीको हकभोग मात्र कसरी बदर हुने ? ०१३ साल चैत्र ४ गते आमाले नै हामी दाज्यू नारायणभक्त र मलाई बकसपत्र गरी दिएको छ । सो ०१३ साल चैत्र ४ गतेको बकसपत्र उपर यो वादीले आजसम्म उजुर बाजुर केही नगरी त्यसै बकसपत्रबाट मेरो हक हुन आएको घर जग्गाबाट वादीले पाउने ठहरेको माना चामल वापतको बिगोमा दावी गरी जायजात गरी बिगो भराई लिएको समेत हुनाले शुरुको इन्साफ चित्त बुझेन भन्ने समेत श्यामभक्तको र लोग्ने स्वास्नीको ५ नं. मा प्रकाश नगरी बाहिर राखेको स्वास्नीले लोग्नेले दिए बाहेक अरु नपाउने । अंशमा दैया पनि नलाग्ने भन्ने लेखेको । यो वादीलाई ०६ साल श्रावण देखि बाहिर राखेको ठहरे पनि ०९ साल जेष्ठमा छोरा पाए पछि खान लाउन नदिएको भनी ०९ साल चैत्रमा वादीको उजुर परेको । ९९ सालमा सरकारबाट म रत्नमायालाई एकलौटी पेवा गरी पाएको धनबाट खरिद भएको घर जग्गा ०६ साल मार्गमा राजमायालाई पास गरी बकस दिएको । आफ्नो हक नपुग्ने कुरामा वादीको उजुर लाग्न नसक्ने भन्ने समेत प्र. रत्नमाया, नारायणभक्त, राजमाया समेतको र छोराको हकमा नपाउने फैसला गर्नु मनासिव होइन । किनकी निज छोरा पनि मै वरावरकै अंशियार हो । छोराको हक पाउने नपाउने तर्फ शुरुले निर्णय दिन यो मुद्दा देखि बाहिरको कुरा हुँदा शुरुको इन्साफ चित्त बुझेन भन्ने समेत वादी विष्णुकेशरी समेतको अपील ।
५. दान दातव्यको ऐन बमोजिम दाइजो पेवाको सबुद नआएको । गोश्वाराबाट सबै जहानले आज्र्येको सबै जाहानको हक लाग्ने हुनाले र अरु शुरुका फैसलामा लेखिएका बुँदा प्रमाणबाट इन्साफ शुरु रा. का.फौ.अ. ले गरेको मनासिव छ भन्ने समेत अपील तेश्रा फाँटको ०१६।९।१५।४ को फैसला ।
६. मेरो शुरु उपरको पहिलो अपीलको बुँदाहरू उपर ध्यानै नदिई सो बुँदा जिकिर काट्न नसकी शिर्फ शुरुको इन्साफ मनासिव भनी फैसला गर्नु भएकोले अपीलको इन्साफ बदर गरी पाउँ भन्ने समेत वादी विष्णुकेशरीको र वादीलाई साक्षी राख्ने भन्ने उक्त बुँदालाई वादी विष्णुकेशरीले श्यामभक्तसंग बरावर मेरा माइती घरमा आउने गरेकाले मेरा माइती घरमा ०६।४।१५ गते देखि स्वास्नी तुल्याई माइती घरमा राखेको । ०९।२।८ गते छोरा जन्मेको । खान लाउन नदिएकाले माना चामल भराई पाउँ भनी श्यामभक्त समेत उपर ०९ साल चैत्रमा देवानीमा नालिस गरेको हुँदा वादीकै लेखाईबाट माइती घर राखेको भन्ने भएकोमा ०९ साल चैत्रमा नालिस गरेपछि मात्र हामीले थाहा पाएकोमा त्यस्ता मानिसलाई साक्षी कसरी राख्ने ? हामीले कसरी जान्ने ? अंशबण्डाको ३७।३८ र विधवा अंशधनको १ नं.दान दातब्यको १,२,७, साहु असामीको ६।७।८।९ को ऐनले पनि आफ्नो पालाको अर्जन दाइजो पेवा आफुखुसी गर्न हुने हुनाले समेत अपीलको इन्साफ चित्त बुझेन भन्ने समेत प्र.रत्नमाया, राजमाया, मि.सु.नारायणभक्त समेतको अपील ।
७. दाइजो पेवाकै जग्गा जेथा हो भन्ने रत्नमायाले समेत पक्का सबुद प्रमाण पेश गर्न नसकेको हुनाले अंशियार सबैको हक लाग्ने । अंश हुनु पर्ने मध्येकै जग्गा जेथा मध्येबाट बकसपत्र गरी सगोलको १ जना बुहारीलाई मात्र बकसपत्र गरी दिएको रहेछ भन्ने सिद्ध हुन आउने । सो बकसपत्रमा छोराहरूलाई सगोलका भनी साक्षी बसी सहीछाप गरेको मिसिल प्रमाणबाट प्रष्ट देखिएको । सगोलमै रहे बसेको भएपछि अंशबण्डाका २,६,२३, ३७ नं. का ऐन बमोजिम सबै अंशियारले अंश पाउने र विधुवा अंशधनको १ नम्बर लाग्न नसक्ने हुनाले समेत रत्नमायाले राजमायालाई गरी दिएको बकसपत्र बदरै हुने र विष्णुकेशरीबाट जन्मेको छोराले अंशै नपाउने र विष्णुकेशरीका अंशमा पर्ने जतिमा र बकसपत्र बदर गर्ने भनी फोज्दारी र अपीलको इन्साफ केही उल्टी ठहर्छ भन्ने समेत मध्येमाञ्चल उच्च अदालत डिभिजन बेञ्चको ०१७।३।२४ को फैसला ।
८. सासुज्यूले पाउनु भएको धनबाट खरिद भएको घर जग्गा मध्ये लोग्नेले पाएको ०१३ सालको बकसपत्र भन्ने कायममा ने.०६ सालमा पाएको बकसपत्र जालसाजी भनी भित्री तवरबाट मिली बदर गराउन खोज्ने र कानून काटी बदर हुने फैसला गरी दिनु अन्याय मर्का परेकोले इन्साफ दोहर्याई पाउँ भन्ने समेत प्र.राजमायाले श्री ५ महाराजाधिराजका हजुरमा चढाउनु भएको बिन्तिपत्रमा माना चामल दिलाइ पाउँ भन्ने मुद्दा फुल बेञ्चबाट दोहरिने भएको हो होइन र उस मुद्दालाई यस मुद्दाले असर पार्छ पार्दैन ? उसै मुद्दाको यो अंग हो होइन ? सर्वोच्च अदालतमा यो निवेदन पठाई राय लेखि आएपछि जाहेर गर्नु भन्ने श्री ५ महाराजाधिराजबाट हुकुम बक्सेको छ भनी २०।५।४।३ मा श्री ५ माहाराजाधिराजको विशेष जाहेरी विभाग राजदरबारबाट लेखि आएको हुनाले बक्स भई आएका उक्त हुकुम प्रमांगी बमोजिम यस अदालतबाट विवरण सहीतको राय पठाउँदा निवेदनको यस पत्रको व्यहोरा समेत श्री ५ महाराजाधिराजका हजुरमा जाहेर हुँदा माना चामल मुद्दा फुलबाट दोहर्याउने आजै हुकुम बक्सिएको र उस मुद्दालाई असरसम्म पर्ने भन्ने यस पत्रबाट देखिएकोले सो माना चामल मुद्दाका साथ यो मुद्दा पनि फुल बेञ्चबाटै दोहर्याई एकै पटक ऐन बमोजिम किनारा गरी दिनु भन्ने हुकुम बक्सेको छ भन्ने ०२०।८।२४।३ मा बक्स भई आएको हुकुम प्रमांगीको व्यहोरा समेत माननीय प्रधान न्यायाधीशज्यू समक्ष पेश हुँदा बक्स भई आएका हुकुम प्रमांगी बमोजिम गर्न निमित्त लगतमा दर्ता गरी दुवै पक्ष राखी माना चामल मुद्दाका साथ यो मुद्दा पनि फुल बेञ्चमा पेश गर्नु भन्ने ०।१०।६।२ को आदेश ।
९. यसमा गत पौष ८ गते दोहराउने निवेदीका राजमायाको र प्र.नारायणभक्तको वारेस मन्जुभक्त, विपक्षी वादी विष्णुकेशरी समेत छलफलमा रही निवेदीका राजमाया तर्फबाट रहनु भएको विद्वान वकिल एडभोकेट कृष्णप्रसाद भण्डारी कृष्णप्रसाद पन्तको बहस समेत सुनी निर्णय सुनाउने तारेख मुकरर भएको प्रस्तुत मुद्दामा निर्णय तर्फ बिचार गर्दा,
१०. वादीको उजुर म्याद नाघेको ठहरी शुरु र अपीलबाट पहिले किनारा भए उपर अपील तह चल्दै आउँदा आखिर माना चामल भराउन डोर जाँदामात्र बकसपत्र भए गरेको कुरा थाह पाएको भनी यो उजुर परेको । त्यस अघि वादीले थाहा पाएको प्रमाण प्रतिवादीले केही दिन नसकेको । दान दातब्यका १५ नं. ले हक पुगी भोग चलन गरेको २ बर्ष भित्र नालिस गर्नु पर्ने । सो बकस पाउने राजमाया समेत सबै प्रतिवादी सगोलका भनी वादीले उजुर गरी बयान गरेकोमा ऐन बमोजिम रीतपूर्वक बण्डा भई छुट्टिएको भन्ने प्रमाण दिन प्रतिवादीले नसकेको । बकस पाउनेले मात्र एकलौटी भोग गरेको नभई साविक देखि जुन किसिमबाट भोग थियो । उसै गराएका घर सगोलमा बकस दिने दाता प्रतिवादीले पनि भोग चलन गरी रहेकै भएपछि पाउनेले भोग चलन गरेको जानी थाहा पाई २ वर्ष नाघे पछि उजुर गरेको भन्ने मिसिलबाट नदेखिएको हुँदा हद नाघेको उजुर खारेज गर्ने भनी शुरु र अपीलले गल्ती गरेको ठहराई ०१५।५।११ मा सर्वोच्च अदालत डिभिजन बेञ्चबाट अन्तिम निर्णय गरेको मुनासिवै देखियो ।
११. बकसपत्र जालसाजी हो, हैन भन्ने तर्फ बिचार गर्दा, वादी दावीमा मेरो र मेरा छोरा हेराकाजीको मानाचामल अंश मार्नाका नियतबाट खडा गरेको बकसपत्र बदर बातेल गरी जालसाजी गरेमा सजाय गरी पाउँ भनी दावी लिएको ।
१२. प्रतिवादी रत्नमायाले राजमायालाई गरिदिएको ००६।८।२३ को बकसपत्र हेर्दा अरु कसैको हक नलाग्ने मेरो मात्र हक भएको आफू खुशी गर्न पाउने भनी छोरा मि.सु.नारायणभक्त, श्यामभक्त समेतलाई साक्षी राखी घर जग्गाहरू हालै देखिको बकसपत्र लेखिदिएको छ ।
१३. यसरी वादीले लोग्ने समेत साक्षी बसी बकसपत्र दिएकोमा वादीको दावी पुग्न नसक्ने हो कि भन्न वादीलाई २००६ साल श्रावण १५ गते देखि नै स्वास्नी तुल्याई राखेको हुँ भनी ०१९।५।१५ मा कागज लेखिदिएको । वादी विष्णुकेशरीले अगाडि यिनै प्रतिवादी श्यामभक्त उपर दिएको माना चामल र स्वास्नी होइन भन्यो भन्ने समेत ०११।३।२३ गते रा. का.दे.दो.बाट किनारा भएको मुद्दामा सो कागज मैले गरी दिएकै होइन भनी जिकिर लिएको । आखिर सो कागज निजले गरी दिएकै ठहरी पत्नी ठहरिन आउनु भएकी वादी विष्णुकेशरीले माना चामल भरी पाउने गरी किनारा भएको । निज विष्णुकेशरी २००६।४।१५ गते देखि नै प्र.श्यामभक्तकी पत्नी ठहर्नु भएको र २००६।८।२३ गते बकसपत्र भएको । सो बकसपत्रमा मेरो समेत अंश मार्न जालसाजी गरे भनी लोग्ने श्यामभक्त समेत उपर उजुर गरेकोमा वादीको उजुर नपुग्ने भन्न मिलेन ।
१४. प्रतिवादी रत्नमायाले बयान गर्दा मेरो आर्जनको मेरो सुख गर्न पाउने हुनाले दिएको भनी जिकिर लिएकी । दाईजो पेवाको भन्ने सबुद प्रमाण कुनै नआएको । आफ्नो आर्जन भए पनि त्यस्तो सगोलको अंशियारासंग भएका बखत गरेको आर्जन अंशबण्डाका ३७ नं. ले सबै अंशियारको बण्डा लाग्ने ।
१५. किर्ते कागजको ३ नं. मा अर्काको हक मेट्ने म्याद तारेख जाने वा कुनै तरह संग नोक्सान पर्ने इत्यादि जुनसुकै मतलबले होस, नगरे नभएको झुठ्ठा कुरा गरे भएको भनी वा मिति अंक व्यहोरा फरक पारी सहिछाप गरी दिने लिने दुवै थर मिलि कागज लेखि सहीछाप गरी दिने लिने कारवाई गर्ने जो हो, जालसाजी ठहरी बात लाग्छ भन्ने उल्लेख भएको । उक्त लेखिए बमोजिम सबै अंशियारको हक लाग्ने सम्पत्तिमा मेरो मात्र हक भनी नभएको कुरा लेखि व्यहोरा फरक पारी दिएको देखिएन आएकोले उक्त बकसपत्र जालसाजीको परिभाषा भित्रै परेको देखिने ।
१६. विधवा अंशधनका ऐन बमोजिम छोरा हकवाला साक्षी राखिदिएको सदरै हुने भन्ने हकमा आमा बाहेक अंशसम्म हकवाला साक्षी राखी गरेको व्यवहार पुरै सदर हुन सक्ने । प्रस्तुत मुद्दामा रत्नमायाले आफ्नो हक अंश जति मात्र दिएको नभई सबै अंशियारको हक लाग्ने सम्पत्तिहरू कसैको हक नलाग्ने आफ्नो मात्र हक लाग्ने भनी लेखिदिएकोबाट वादीले पतिको अंशबाट पाउने हक मेटिने गरी लिखत भए गरेको देखियो ।
१७. उक्त लेखिए बमोजिम नभएको कुरा लेखि व्यहोरा फरक पारी लिए दिएको बकसपत्र जालसाजी भन्ने देखिन आयो । वादीको पति श्यामभक्त, जेठाजु नारायणभक्तले मन्जुर भई सही गरेको र वादी भन्दा पहिलेकी श्यामभक्तकी आर्की पत्नीको बदर गरी पाउँ भन्ने उजुरी नहुँदा निजहरूको हकमा बिचार गर्नु परेन ।
१८. वादीको उजुर परेकोले उहाँको पतिको अंश भागबाट उस बखत उहाँले पाउने जति बकसपत्र जालसाजी देखिएकाले बदर हुने ठहर्छ । छोराको समेत अंश मार्न जालसाजी गरे भन्ने वादीका भनाईको हकमा ०६।८।२३ को बकसपत्र भएको र निज ०९ सालमा मात्र जन्मेको भन्ने देखिंदा त्यस तर्फ वादी दावी मुनासिव देखिएन । तसर्थ, घर जग्गामा रत्नमाया मि.सु.नारायणभक्त, श्यामभक्तको अंश गरी श्यामभक्तको अंशबाट वादीको ऐन बमोजिम पाउने अंश जति हकमा बकसपत्र बदर हुने ठहराई शुरु राजधानी काठमाडौं फौजदारीले गरेको इन्साफ ०१६।९।१५।४ मा सदर गरी अपील तेश्राले किनारा गरेको मुनासिव छ । बकसपत्र सबै बदर गर्ने गरी ०१७।३।२४ मा मध्यमान्चल उच्च अदालतले गरेको इन्साफ मिलेको देखिएन अरु तपसील बमोजिम गर्नु ।
तपसील
माथि उल्लेख भए बमोजिम वादी हक जतिमा बकसपत्र जालसाजी ठहरेकोले सो जालसाजी गर्ने ठहरेका प्रतिवादीहरूलाई उस बखत बाहाल रहेको किर्ते कागजका १३ नं.बमोजिम शुरुले तजविजी रु.५। जरिवाना गरेकोमा मध्यमाञ्चल उच्च अदालतका फैसलाले सोही नै कायम राखेको र अपील गरे वापत भएको जरिवाना कायमै हुने हुँदा केही गर्नु परेन …………………..१
मध्यमाञ्चल उच्च अदातलका फैसलाले इन्साफ केही उल्टीमा देहायका अंकका देहायका मानिसहरूलाई गर्ने गरेको जरिवाना नलाग्ने हुँदा असूल भए फिर्ता र नभए व्यहोरा जनाई लगत कट्टा गरी दिनु भन्ने काठमाडौं श्रेस्ता अदालत तहसिलमा लगत दिनु ………………२
रा. का.फौ.अ. का. का.मु.हाकिम सूब्बा हरिबहादुर श्रेष्ठ के रु.।८०
रा. का.फौ.अ. का वि.मुकुन्द राज पाध्या के.रु.।२०
अपील तेश्राका का.मु.हाकिम सुब्बा देव मुनि गुभाजु के रु.।५०
ऐ.ऐ. का अ.ख. डिल्लीबहादुर श्रेष्ठ के रु.।३०
ऐ्.ऐ का वि.बद्री नारायण प्रधान के रु.।२०
मिसिल नियम बमोजिम बुझाई दिनु …………………३
इति सम्वत् २०२१ साल माघ ९ गते रोज ६ शुभम् ।