निर्णय नं. २६९ – माना चामल
निर्णय नं.२६९ ने.का.प.२०२२ फुल बेञ्च प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह न्यायाधीश श्री गु.प्रो.उपेन्द्रराज पण्डित न्यायाधीश श्री भैरवप्रसाद उपाध्याय न्यायाधीश श्री सं.इश्वरीराज मिश्र न्यायाधीश श्री...
निर्णय नं.२६९ ने.का.प.२०२२
फुल बेञ्च
प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह
न्यायाधीश श्री गु.प्रो.उपेन्द्रराज पण्डित
न्यायाधीश श्री भैरवप्रसाद उपाध्याय
न्यायाधीश श्री सं.इश्वरीराज मिश्र
न्यायाधीश श्री बाशुदेव शर्मा
दे.फु.नं.२५९
निवेदक, वादी : विष्णुकेशरी महर्जन्नी समेत
विरुद्ध
प्रतिवादी : ख.श्यामभक्त समेत
मुद्दा : माना चामल
(१) फैसला उपर मौकामै दोहराउन निवेदन नदिएमा र पछि हालको अवस्था देखाई जिकिर लिएको मुनासिव भन्न नमिल्ने ।
वादीलाई मासिक माना चामल वापत रु.३५।– का दरले दिएकै छु । हाल अहिले जागिर बहाल समेत टुटी सकेकाले फुल बेञ्चका फैसला अनुसार मासिक रु.१००। दिन सक्ने मेरो अवस्था छैन भन्ने श्यामभक्तको निवेदन जिकिरका हकमा अगाडि ०१९।४।५ मा फुल बेञ्चबाट फैसला भए उपर मौकामा माना चामल बढी भराइयो भनी श्यामभक्त समेतले दोहराइ पाउँ भनी निवेदन दिएको पनि नदेखिन आएको र ०१९।४।५ मा फुल बेञ्चबाट किनारा हुँदा उस बखतसम्मको अवस्था बिचार गरी बेञ्चबाट अघिको अवधिको माना चामलमा निर्णय दिएको । हाल २०।५।२१ मा दोश्रो फुल बेञ्चबाट पनि किनारा भईसकेपछि मात्र हालको अवस्था देखाई मासिक रु.१००। दिन नपरोस भन्ने प्रतिवादी श्यामभक्तको जिकिर पुग्न सक्दैन ।
(प्रकरण नं.१७)
(२) अंशबण्डाको २८ नं.– अंशमा हक पुगी सकेको देखिएमा सगोलैबाट पाउँ भन्ने जिकिर पुग्न नसक्ने ।
सगोलैबाट माना चामल पाउनु पर्ने भन्ने विष्णुकेशरीको जिकिरका हकमा पनि अंशबण्डाको २८ नं. मा बाबुसंग अंश नभई संग बसेका लोग्नेले सौता भएकी स्वास्नीलाई खान लाउन नदिई निकाला गरेको भए अंशमा नपुगेसम्म ससुरा लोग्नेको समेत इज्जत आमद अनुसार खान लाउन दिनु भन्ने लेखिएको । बाबु परलोक भई श्यामभक्तको अंशमा हक पुगी सकेको देखिएकोले सगोलैबाट पाउँ भन्ने निजको जिकिर पुग्न सक्दैन ।
(प्रकरण नं.१८)
फैसला
१. अन्यायवाला नारायणभक्त मेरो जेठाज्यू रत्नमाया सासु श्यामभक्त खसम हुन । मलाई र मेरो नाबालक छोरालाई खान लाउन नदिएमा नालिस गर्दा ०९।२।१ देखि ०२०।१।९ तकको माना चामल मो.रु.७४६।९८ खसमबाट भरी पाउने ठहरी दे.दो.बाट ०११।३२३ मा फैसला भई सो बिगो अ.त.बिगोबाट भरी पाउँ । त्यस बीचमा म र छोराले खान लाउन दुःख पाउँदा बरावर उजुर गर्दै थिएँ । भाईबाट महिनाको रु.३५।––दिन्छु भनी जेठाज्यूले प्रधान न्यायालयमा कागज गरी सो बमोजिम काठमाडौं टोल रक्षा संघ मार्फत केही महिना दिने गरी भरपाई लिने गर्नु भएको थियो । सो माना चामल पनि कैले दिने कैले नदिने गरी आमा छोरा भोक भोकै छौं । ०१० साल बैशाख १० गते यताको माना चामल पाउँ । बाँकी नै हुनाले मलाई पुरै र छोरा ६ बर्षको हुँदा निजलाई आधा समेत गरी जम्मा ०१०।१।१० देखि ०१४।९।१४ तक बर्ष ४।८।५ को मो.रु.६४४२८ र त्यस यता मुद्दा फैसला हुने दिन तकको सोही दरले हुने अंकमा महिनाको रु.३५।–दरले कति दिएको छ ? निजहरूबाट भरपाई खिचि कटाई बाँकी दिलाई भराई पाउँ भन्ने विष्णुकेशरीको ०१४।९।१५ को फिरादपत्र ।
२. यो वादीलाई श्यामभक्तले टिपुवा गरी बाहिर स्वास्नी राखेको छ भन्ने कुरा प्रचार नगरी राखेकाले हामीलाई थाहा नभएकोमा पटक–पटक नचाहिने कुरामा हामीहरू उपर उजुर गर्दै आएकी र म रत्नमायाको धेरै सम्पत्ति श्यामभक्तले हिना मिना गरेको कारणले अघि नै छुट्टि बेगल बस्न गएकोमा जालसाजी गरे भनी वादीले हामी समेत उपर उजुर गरेकी फजुल ठहरी रा. का.फौ.अ.बाट फैसला भईसकेको छ । छुट्टिसकेका मानिस हामीले वादीलाई माना चामल दिन कर नलाग्ने भन्ने समेत मि.सु.नारायणभक्त, रत्नमायाको र ने.रु.७४६। भरी पाउने ठहरी वादीलाई भराई दिईसकेको र आयस्ताले पुगेसम्मको हिसाबबाट महिनाको रु.३५ का दरले लिने दिने गर्ने दुवै थरको मञ्जुर भई संघ मार्फत दिने खाने गरी आएको वादीलेखबाट सिद्ध छ । महिनाको रु.७०। तलब खाने मैले रु.३५।–सम्म दिए ठिक हुने निश्चय भए बमोजिम लिने दिने गरेको हो । माना चामल भन्ने कुुरा औकात आयस्ता अनुसार हुने । वादीले प्राईमिनिष्टरको आयस्ता खानु भन्दा पनि बढी दावी गर्दैमा दिन नसकिने । नपुग्ने भए साथै बस्न आउ भनी भन्दा निजको आमा भाइलाई मैले नै पाल्नुपर्ने आग्रह गरी म संग बस्न आउन मञ्जुर नगरी उजुर गरेको हुन । वादी वादी बमोजिम औकात आयस्ताले नपुग्ने माना चामल भर्न नसकिने कुरा छ । चित्त नबुझेको भए सो रु.३५।–ले लिनु दिनु नै नपर्ने मञ्जुर भई दिई लिई आएकोमा अहिले दोहरो दावी गर्नु फजुल देखिएको छ । ०१० साल बैशाख १० गते देखिको दावी गरेकीलाई लोग्ने स्वास्नीको १४ नं. ले १ बर्ष भित्रको उजुर नभएबाट वादी वादी नलाग्ने र ०१४ साल फाल्गुण तक रु.३५।–दरले महिनै पिच्छे लिई खाई सकेको कुरामा अहिले बढी दर राखी झुठ्ठा उजुर गरेको हुँदा उजुरी खारेज गरी पाउँ भन्ने समेत ख.श्यामभक्तको प्रतिउत्तर ।
३. वादीको लोग्नेको आमद यति छ भनी वादीले लेख्न नसकेको । वादी र निजको छोरालाई खान लाउन निमित्त महिनामा रु.३५।–मा नघटाई चाहिने मनासिव माफिकको रुपैंया दिनु भन्ने ०१२।४।११ मा श्री माननीय प्रधान न्यायाधीशज्यूबाट आदेश भएको । सो बमोजिम ०१२।४।१६ देखि ०१४।११।१६ तक महिनाको रु.३५।–ले बुझी लिईसकेको भरपाई पेश हुन आएको । पुग्ने भन्ने यो उजुर लोग्ने स्वास्नीको १४ नं. को हद १ बर्ष नाघी सकेको देखिनाले समेत वादीको दावी पुग्न सक्दैन भन्ने ०१५।३।३० को रा. का.दे.दो. को फैसला ।
४. लोग्ने स्वास्नीको १४ नं. को १ बर्षको म्याद नाघी सकेकोले पनि नपुग बढीमा माना चामल भराई पाउँ भन्ने दावा पुग्न नसक्ने भन्ने बुडालाई माना चामलको दावा गराईमा उक्त ऐनको हद लाग्ने होइन । यो माना चामल दावाको मुद्दामा लोग्ने स्वास्नीका महलमा ऐनको हदै छैन । अ.बं.६० नं. ले जहिलेसुकै पनि आफूलाई अन्याय परेको कुराको अवस्था हेरी नालिस दिन पाउने नै हुनाले हद नाघेको अर्थ लागु हुन नसक्ने हुनाले समेत शुरुको इन्साफ चित्त बुझेन भन्ने समेत वादी विष्णुकेशरीको अपील ।
५. नपुग भए माना खर्च नबुझी उजुर गर्नु पर्नेमा माना खर्च बुझेमा सावित हुँदा इन्साफ शुरुको मनासिव ठहर्छ भन्ने समेत अपील तेश्रा फाँटको ०१६।९।१५ को फैसला ।
६. मैले शरु उपरको अपीलमा दफा दफा खोली लेखेको कुरा नकटाई सो दफा उपदफाको इन्साफै नदिई शुरुको इन्साफ सदर मात्र भनी फैसला गरेको हुनाले सो अपील जिकिर बमोजिम शुरु अपीलको फैसला बदर गरी पाउँ भन्ने समेत वादी विष्णुकेशरीको अपीलपत्र ।
७. लोग्ने स्वास्नीको ऐन प्रस्तुत मुद्दामा लाग्न नसक्ने र वादी र निजको छोरालाई खान लाउन निमित्त महिनाको रु.३५।–मा नघटाई चाहिने मनासिव माफिकको दिनु भन्ने ०१२।४।११ मा श्री माननीय प्रधान न्यायाधीशज्यूबाट आदेश भएको मुताविक लिएको भरपाई नक्कलबाट देखिएको । महिनाको रु.३५।– मा मञ्जुर गरी लिने दिने गरी सकेपछि गईसकेका दिनको पनि यो दरले खाना खर्च दिलाई पाउँ भन्ने बढी दावी गरेको देखिएकोले महिनाको रु.३५।– दरले ०१४ साल चैत्र देखि ०१७ साल जेष्ठ मसान्त तकको बाँकी रु.९४५। ख.श्यामभक्तले दिनु तिर्नु पर्ने र अरु वादीले बढी दावा गरेको ठहर्छ भन्ने मध्यमाञ्चल उच्च अदालतको ०१७।३।२४।५ को फैसला ।
८. मध्यमाञ्चल उच्च अदालतको इन्साफमा चित्त बुझेन । दोहर्याइ पाउँ भन्ने विष्णुकेशरीको बिन्तीपत्र श्री ५ महाराजाधिराजका हजुरमा जाहेर हुँदा सर्वोच्च अदालतबाटै हेरी इन्साफ जाँची दिनु भन्ने ०१८।२।११ को हुकुमको प्रमांगी ।
९. लोग्ने स्वास्नीको १४ नं.यस्मा लाग्नै सक्दैन । प्रधान न्यायाधीशज्यूका आदेशानुसार महिनाको रु.३५।–दरले दिने बुझाउने गरी राखेकोले उजुर झुट्टा हो कि भन्नलाई सो आदेश ऐन अन्तर्गत निर्णयको होइन । विष्णुकेशरीले दुःख पाईरहेको बखत प्रतिवादीहरूले टोल संघ मार्फत रु.३५।– का दरले दिने प्रस्तावबाट हुन गएको देखिन आयो । आमा छोरा २ व्यक्ति र छोरो बढ्दै गएको पढाउन पनि खर्च लाग्ने । महंगी बढ्दै गएकाले खान लाउन रु.३५।–बाट नपुग्ने स्वाभाविकै भएको र ०९।२।१ देखि ०१०।१।९ तकको खाना खर्च रु.७४६।९८ भरी पाउने निर्णय भई किनारा भएको । त्यसबाट सदर र महिनाको रु.७०। पाउने देखिएको । २ ब्यक्तिलाई रु.३५।– दरले महिना १ मा रु.७०। दिलाई दिनु पनि बहुतै मुनासिव हुनाले ०१०।१।१० देखि ०१४।९।१५ तक बर्ष ४९।५ को मो.रु.४०००/१५। मा बुझाएको रु.१०८५। कट्टा गरी बाँकी २९१५।१५ वादीलाई प्र.श्यामभक्तले दिनु बुझाउनु पर्छ भन्ने समेत डिभिजन बेञ्चको ०१८।८।२६।२ को फैसला ।
१०. चित्त बुझेन । दोहर्याई पाउँ भनी विष्णुकेशरीले चढाएको ०१८।०।२।२ को निवेदनपत्र श्री माननीय प्रधान न्यायाधीशज्यूको समक्ष पेश हुँदा डिभिजन बेञ्चले मासिक रु.७०। उजुर परेको मिति तक दिलाउने फैसला गरेको । उक्त रु.७०। ले पुगेन । फैसला भएका मिति तकको पाउनु पर्ने भन्ने समेत निवेदन परेकोमा न्यायोचित बिचार गर्नुपर्ने देखिंदा दोहर्याउने निस्सा दिएको छ । विपक्षीलाई सो माग बमोजिम किन हुन नपर्ने हो ? १५ दिन भित्र लिखित जवाफ दिनु भनी सूचना दिई लिखित जवाफ आएपछि दुवै थर झगडीया राखी फुल बेञ्चमा पेश गर्नु भन्ने ०१८।१०।१८।४ मा आदेश भएको ।
११. अघि भरी पाउने भएका फैसलाको उक्ति समेतबाट ०१०।१।१० देखि मुद्दा दायर भएको मिति ०४।९।१५ तक मासिक ने.रु.७०। का दरले पाउने ठहराएको डिभिजन बेञ्चको फैसला मनासिव छ । फिराद हेर्दा मुद्दा किनारा हुँदा तकको पाउनु पर्ने भन्ने वादी भएको । त्यस तर्फ डिभिजन बेञ्चका फैसलाले नपाउने भन्ने लेखिए पनि अंश नपाएसम्म माना चामल पाउने हुँदा फैसला भएको मिति तकको पाउँदैन भन्न भएन । प्रतिवादी पक्षबाट संतोषजनक आयस्ताको फाँट नआएको र छोराको उमेर पनि बढ्दै आएको । छोराको पढाई खर्च समेत चाहिने भन्ने वादी पक्षको जिकिर बेमनासिव भन्न नहुने । जमाना अनुसार मासिक रु.१००। चाहिने मनासिवै देखिएकाले ०१४।९।१६ देखि मुद्दा किनारा भएको आज तक ४ बर्ष ६ महिना २१ दिनको मासिक ने.रु.१००। का दरले जम्मा ने.रु.४५७०। मिसिलबाट प्रतिवादी पक्षहरू सगोल भईरहेको देखिएको हुनाले प्र.हरूबाट बराबरका दरले वादीले भरी पाउने ठहर्छ । वादी मरेपछिको भरी भराउ गराउन रुल नियम नमिल्ने हुँदा अर्को उजुर गर्नु भनी सुनाइ दिनु भनी डिभिजन बेञ्चले लेखेको मनासिव भएन भन्ने समेत ०१९।४।५।६को सर्वोच्च अदालत फुल बेञ्चको फैसला ।
१२. सर्बोच्च अदालत फुल बेञ्चबाट भएको ०१९।४।५।६को फैसला इन्साफ दोहर्याई पाउँ भन्ने समेत मि.सु.नारायणभक्त श्रेष्ठ, रत्नमाया श्रेष्ठनी १ समेत जवान २ को निवेदनमा एक पटक दोहर्याई ऐन सवाल बमोजिम गरी दिनु भन्ने हुकुम प्रमांगी ।
१३. यिनै निवेदक समेत उपर वादीले दिएको बकस जालसाजी मुद्दामा छुट्टि बेगल भएको मिसिलबाट नदेखिएको भनी ०१७।३।२४ मा फैसला समेत भएको देखिएकाले निवेदकको भनाई बमोजिम श्यामभक्त छुट्टि भिन्न भईसकेको भन्ने जिकिर पुग्न नसक्ने । अंशबण्डाको २८ नं. मा बाबुसंग अंश नभई संग बसेको लोग्नेले सौता भएको स्वास्नीलाई खान लाउन नदिई निकाला गरेको भए अंशमा हक नपुगेसम्म ससुरा लोग्नेले समेत इज्जत आमद अनुसार खान लाउन दिनु भन्ने देखिएको । अर्थात बाबु छँदै छोराको अंशमा कर नलाग्ने हुँदा सगोलमा हुने लोग्नेले साधारणतया माना चामल भर्न नसक्ने हुनाले ससुरा समेतले माना चामल भर्न कर लगाएको देखिन्छ । लोग्नेको अंशमा हक पुगेपछि पनि उही स्थिति कायम रहन्छ भनी भन्न मिल्दैन । बाबु परलोक भईसकेपछि श्यामभक्तको अंशमा हक पुगी सकेको मान्नु पर्ने हुनाले यस्तो स्थितिमा निवेदक जेठाज्यू सासु समेतलाई माना चामल भर्नुपर्छ भनी भन्न कर लगाउन उपरोक्त वाक्यांशबाट मिल्ने नदेखिएकोले ०९।४।५ को फुल बेञ्चको फैसला बमोजिम नारायणभक्त, रत्नमाया समेतबाट भराउन मिल्दैन । अंशमा श्यामभक्तको हक पुगी सकेको देखिंदा वादीले पाउने माना चामल सबै प्र.श्यामभक्तबाटै निजको अंश भागबाट भरी पाउने ठहर्छ भन्ने समेत ०२०।५।२१।६को फुल बेञ्चको फैसला ।
१४. नलाग्ने २८ नं. को अर्थ लगाई अंशबण्डाको २७ नं.लाई फ्याकी फैसला भएकोले फुल बेञ्चको फैसला दोहर्याई पाउँ भन्ने समेत वादी विष्णुकेशरीको र हामी निवेदकहरूबाट समेत माना चामल भराउने गरी अघिल्लो फुल बेञ्चको फैसला भएकोमा अहिलेको फुल बेञ्चको फैसलाले गलत ठहराई सकेपछि पनि गलत ठहरिएको पुरानो फैसलाको कुरालाई नै घुमाउरो तवरबाट कार्यचित्त गरी हामीबाट रु.३६६६७० वादीलाई दिलाउने गरेको फुल बेञ्चको इन्साफ दोहराई पाउँ भन्ने समेत मि.सु.नारायणभक्त समेतको र वादीलाई घरमा आई बस भन्दा पनि नआएको । श्री प्रधान न्यायाधीशज्यूको आदेश बमोजिम महिनाको रु.३५।– का दरले दिई राखेको छु । फुल बेञ्चका फैसला बमोजिम माना चामल भर्न मेरो औगातले नसक्ने भएकोले इन्साफ दोहराई पाउँ भन्ने समेत श्यामभक्तको समेत बिन्तिपत्रमा दुवै थरले चित्त बुझेन भनी जाहेर गरेकाले अब १ पटक दोहराई हेरी दिनु भन्ने २०।८।२४।३ मा बक्स भई आएका हुकुम प्रमांगीको व्यहोरा समेत श्री माननीय प्रधान न्यायाधीशज्यू समक्ष पेश हुँदा बक्स भई आएका हुकुम प्रमांगी बमोजिम गर्न निमित्त दुवै पक्ष राखी फुल बेञ्चमा पेश गर्नु भन्ने ०२०।९।८।२ को आदेश ।
१५. गत पौष १८ गते दोहर्याउने निवेदन दिने निवेदिका वादी विष्णुकेशरी प्र.श्यामभक्तको वारेस दामोदर रत्नमायाको सकार गर्ने समेत मि.सु.नारायणभक्तको वारेस मञ्जुभक्त समेतलाई छलफलको तारेख तोकी विष्णुकेशरी तर्फबाट रहनु भएको विद्वान वकिल प्लिडर नारायणप्रसाद वैतनिक वकिल प्लिडर सुधानाथ, मि.सु.नारायणभक्त तर्फबाट रहनु भएको विद्वान वकिल एडभोकेट कृष्णप्रसाद घिमिरे, कृष्णप्रसाद भण्डारी, श्यामभक्त तर्फबाट रहनु भएको विद्वान वकिल एडभोकेट मधुप्रसाद समेतको बहस सुनी निर्णय सुनाउन तारेख मुकरर भएको प्रस्तुत मुद्दामा ०१९।४।५ गते फुल बेञ्चबाट फैसला भएका मितिसम्मको माना चामल मि.सु.नारायणभक्त समेतबाट भराई दिनेगरी फैसला भए उपर दोहर्याई पाउँ भनी मि.सु.नारायणभक्त, रत्नमाया समेतले दिएको निवेदनबाट दोहरी पेश हुँदा बाबु परलोक भईसकेपछि श्यामभक्तको अंशमा हक पुगी सकेको मान्नु पर्ने हुनाले यस्तो स्थितिमा निवेदक जेठाज्यू सासु समेतलाई माना चामल भर्नुपर्छ भनी भन्न कर लगाउन मिल्ने नदेखिएकाले ०१९।४।५ का फुल बेञ्चका फैसला बमोजिम नारायणभक्त समेतबाट भराउन मिल्दैन । अंशमा श्यामभक्तको हक पुगी सकेको देखिंदा वादीले पाउने माना चामल सबै श्यामभक्तबाटै निजको अंश भागबाट भरी पाउने ठहर्छ । रत्नमाया मि.सु नारायणभक्तबाट ने.रु.१८३३।५ का दरले असुल भई विष्णुकेशरीका नाउँमा खर्च लेखि गैसकेको भन्ने देखिंदा नारायणभक्त, रत्नमाया तर्फबाट भराएको उक्त बिगो अंशबण्डा भएका बखत श्यामभक्तको भागबाट कटाई लिनु भनी निवेदकहरूलाई सुनाई दिनु भनी २०।५।२१।६मा फुल बेञ्चबाट फैसला भएकोमा हामीहरूबाट माना चामल भराउने गरेको अहिलेको फुल बेञ्चको फैसलाले गलत ठहराई सकेपछि पनि गलत ठहरिएको पुरानो फैसलाको कुरालाई नै घुमाउरो तवरबाट कार्यान्वित गरियो भन्ने समेत जिकिर लिई ०१८।१०।२ को बण्डापत्र नक्कल भनी खेश्रा पेश गरेको रहेछ ।
१६. पुरानो फैसलाको कुरालाई नै घुमाउरो तरिकाबाट कार्यान्वित गरियो भन्ने निवेदक जिकिरको हकलाई माना चामल भर्ने सबै अंशियाराको उत्तरदायित्व गराइएकोलाई पछिल्लो फुल बेञ्चको फैसलाले अरुको उत्तरदायित्व हटाई लोग्नेको हक अंशबाट मात्र भरी पाउने ठहराइएको सिर्फ वादीले लिई खाई सकेको रुपैंया पट्टीको हिस्साबाट अरु दिने अंशियारले कटाई लिन पाउने भएकोले यस तर्फ निवेदन जिकिर मुनासिव देखिएन । ०१८।१०।२ मा अंशबण्डा भईसकेको भनी २०।६।२४ को निवेदन साथ बण्डापत्रको खेश्रा नक्कल पेश गरेको । २०।५।२१ मा फुल बेञ्चबाट फैसला हुँदासम्म उक्त ०१८।१०।२ गतेको बण्डापत्र भएको भन्ने कुरा बेञ्च समक्ष प्रस्तुत भएको नदेखिएकोले उक्त फैसलामा नारायणभक्त, रत्न मायातर्फबाट भराएको बिगो अंशबण्डा भएका बखत श्यामभक्तको भागबाट कटाई लिनु भनी उल्लेख भएको देखिन आयो । तसर्थ, निवेदक जिकिर बमोजिम रीतपूर्वक अंशबण्डा भईसकेको भए, २०।५।२१ को फैसलाबाट निवेदक समेतले श्यामभक्तको अंशबाट कटाई लिन पाउने भएको बिगो निज श्यामभक्तबाट लिन पाउने नै हुनाले सो बमोजिम दिनु लिनु भनी निवेदक समेतको प्रतिवादीहरूलाई सुनाई दिनु ।
१७. वादीलाई मासिक माना चामल वापत रु.३५।– का दरले दिएकै छु । हाल अहिले जागिर बाहाल समेत टुटी सकेकाले फुल बेञ्चका फैसला अनुसार मासिक रु.१००। दिन सक्ने मेरो अवस्था छैन भन्ने श्यामभक्तको निवेदन जिकिरका हकमा अगाडि ०१९।४।५ मा फुल बेञ्चबाट फैसला भए उपर मौकैमा माना चामल बढी भराईयो भनी ई.श्यामभक्त समेतले दोहराई पाउँ भनी निवेदन दिएको पनि देखिन आएको र ०१९।४।५ मा फुल बेञ्चबाट किनारा हुँदा उस बखतसम्मको समय अवस्था बिचार गरी बेञ्चबाट अघिको अवधिको माना चामलमा निर्णय दिएको हाल २०।५।२१ मा दोश्रो फुल बेञ्चबाट पनि किनारा भईसकेपछि मात्र घरको अवस्था देखाई मासिक रु.१००। दिनु नपरोस् भन्ने प्रतिवादी श्यामभक्तको जिकिर पुग्न सक्दैन । ।
१८. सगोलैबाट माना चामल पाउनु पर्ने भन्ने विष्णुकेशरीको जिकिरका हकमा पनि अंशबण्डाको २८ नं. मा बाबुसंग अंश नभई संग बसेको लोग्नेले सौता भएकी स्वास्नीलाई खान लाउन नदिई निकाला गरेको भए अंशमा हक नपुग्नेसम्म ससुरा लोग्नेले समेत इज्जत आमद अनुसार खान लाउन दिनु भन्ने लेखिएको । बाबु परलोक भई श्यामभक्तको अंशमा हक पुगी सकेको देखिएकोले सगोलैबाट पाउँ भन्ने निजको जिकिर पुग्न सक्दैन । उपरोक्त कारणहरूबाट इन्साफ २०।५।२१ को फुल बेञ्चको मुनासिव छ । अरु तपसील बमोजिम गर्न ।
तपसील
दोहराउने वादी विष्णुकेशरी प्र.रत्नमायाको सकार गर्ने समेत मि.नारायणभक्तलाई अगाडिका फुल बेञ्चका फैसलाले सजाय भएको नदेखिंदा मुलुकी ऐन अदालती बन्दोबस्तका २०४ नं. ले रु.१ का दरले जरिवाना हुन्छ विष्णुकेशरी रुजु र नारायणभक्तको वारेस हुँदा रुजु हुने संग असुल गरी र वारेस राख्नेका हकमा लगत कसी असूल गर्न समेत काठमाडौं श्रेस्ता अदालत तहसिलमा लगत दिनु ……………………१
दोहर्याउने ख.श्यामभक्त श्रेष्ठ के.२०५।२१ का फुल बेञ्चका फैसलाले निज संग कोर्ट फि रु.२७३।५० लिने गरेको देखिंदा मुलुकी ऐन अ.बं.२०४ नं.सयकडा १० ले दसौंद जरिवाना रु.२७।३५ लाग्छ । वारेस हुँदा लगत कसी असूल गर्न ऐ ऐ ……………………२
मिसिल नियम बमोजिम बुझाई दिनु …………………….३
इति सम्वत् २०२१ साल माघ ९ गते रोज ६ शुभम् ।