July 10, 1986
Created by nepalarchives

निर्णय नं. २६७४ – कर्तव्य ज्यान

निर्णय नं. २६७४    ने.का.प. २०४३ २०४३ अङ्क – ४ डिभिजनबेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान सम्वत् २०४२ सालको फौ.सा.नं....

निर्णय नं. २६७४    ने.का.प. २०४३ २०४३ अङ्क – ४

डिभिजनबेञ्च

सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह

माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान

सम्वत् २०४२ सालको फौ.सा.नं. ४८

फैसला भएको मिति : २०४३।३।२६।५ मा

 

वादी : काले सार्कीको जाहेरीले श्री ५ को सरकार

विरुद्ध

प्रतिवादी : जि.सुर्खेत लगाम गा.पं.वडा नं.७ बस्ने खड्गे सार्की

 

मुद्दा : कर्तव्य ज्यान

 

(१)         अभियुक्तले मर्नेलाई आंशी (खुर्पा) जस्तो धारिलो जोखिमी हतियारले दुईपटकसम्म हिर्काई गर्दन छिनाली कर्तव्य गरी मारी लाश समेत नदीमा फालेमा समेत सावित भई बयान गरेको देखिएकोले समेत यस्तोमा मार्ने पूर्व मनसाय नभएको भन्ने आधारमा अ.बं. १८८ नं. बमोजिम राय लगाएको मिलेको देखिएन ।

(प्रकरण नं. १३)

 

फैसला

प्र.न्या.धनेन्द्रबहादुर सिंह : न्याय प्रशासन सुधार ऐन, २०३१ को दफा १४ अनुसार साधक सदरको लागि जाहेर गरेको प्रस्तुत मुद्दाको तथ्य यसप्रकार छ :

२. जिल्ला सुर्खेत लगाम गा.पं.मा पर्ने जंगल डोर भन्नेमा ढुङ्गा निकाल्ने सल्लाह भई ०३९।९।१५ गते गई ढुङ्गा निकालेका थियौं । बाबु चन्द्रे सार्की र ससुरा खड्गे सार्की जंगलमा पटुवा झिक्न भनी गएको खड्गे सार्की मात्र आएको बाबु नआएकोले खोज तलास गर्दा फेला नपरेकोले ०३९।१०।२९ गते शङ्का लागी ससुरालाई सोधपूछ गर्दा पटुवा काट्दा ढुङ्गा लडी सम्धी मरे मलाई शङ्का गर्लान् भन्ने डरले बेद खोलामा लगी गाडेको भेल आई बगाई सक्यो होला भनेकोले ज्यानसम्बन्धी महल अनुसार कारवाही गरिपाउँ भन्ने समेत जाहेरी दर्खास्त ।

३. ०३७ साल बैशाखमा दुहुने गाई उधारो ल्याएको सो गाईको रुपैयाँ बुझाई, बाँकी रु.१९०।थियो ०३९।१०।१२ गते भोटे जंगलमा ढुङ्गा निकाली सकेपछि बाटोमा बाँकी रु.१९०।को विषयमा झगडा वादविवाद भई हाताहात हुँदा रिसको झोकमा आँसीले दुई चोटी हानी मारेपछि स्याउलाले छोपी दिएँ सो कुरा साला मनेलाई मात्र थाहा थियो । ०३९।१०।१३ गते रात साला र म भई कर्णाली नदीमा फ्याँकी दियौं भन्ने समेत खड्गे सार्कीले प्रहरीमा गरेको बयान ।

४. जाहेरवालाको बाबु हराएको हल्ला हुँदा खड्गे सार्की माथि शङ्का लागी सोधपूछ गर्दा चन्द्रेको लाश बेल खोलामा फाली दिएको पहिले भनेको र आज भोली मने म भई कर्णाली नदीमा फाली दियौं भनेको हुँदा दुवैजना मिली चन्द्रेको लाश कर्णाली नदीमा फालेको विश्वास लाग्छ भन्ने समेत सरजमीन मुचुल्का ।

५.    खड्गे सार्कीलाई ज्यानसम्बन्धी १३(३) अनुसार, लाश बगाउन सहमति हुने मने कामीलाई ऐ.को ४ नं. अनुसार सजायँ गरिपाउँ भन्ने प्रहरी प्रतिवेदन ।

६. लेनदेन विषयमा सम्धिसँग झगडा भई मलाई दुई थप्पड हिर्काए पछि भूइँमा लडाई घुँडाले टेकेपछि छाडी दिएँ मैले पनि रिसको झोकमा निजकै खसेको आँसीले हिर्काउँदा गर्दनको हड्डी छुट्टिएको छाला मात्र बाँकी भई नछिनेकोले अर्को चोट हिर्काई लाशलाई छोडी डेरामा आएँ । अपराधको विषयमा साला भिनालाई मात्र थाहा थियो । ०३९।१०।१३ गते रात साला भिना दुवै भई लाश कर्णाली नदीमा फालेका हौं भन्ने समेत खड्गे सार्कीले अदालतमा गरेको बयान ।

७. ०३९।१०।१२ गते भोटेचीन भन्ने जंगलमा ढुङ्गा झिक्ने काम गरी सकेपछि म र पद्माखर घाँस काट्न गयौं । पटुवा झिक्न भनी बाबु र प्र.अर्कोतर्फ गए बेलुका ससुरा मात्र आउँदा बाबु खोई भनी बहिनीले सोद्धा भिनाजु तल्लो बाटो आउनु होला भने रात जंगलमा खोज्दा पत्ता नलागेको सोध खोज गर्दा ढुङ्गा पल्टी भिनाजुको पानी कोखमा लागी मरे ज्यान मारेको शङ्का गर्लान भनी पोखरीमा फालें भने । प्रहरीले केरकार गर्दा गाईको रुपैयाँ माग्दा वाद विवाद हुँदा आँसीले धार नभए पट्टिबाट हान्छु भनेको धार पट्टीबाट लागेकोले कुम काटिएकोले मर्नु भयो भनी बीच ढाडबाट काटी दुई टुक्रा बनाई म र मने गई कर्णाली नदीमा फाँले भनेकोले निजैले बाबु चन्द्रेलाई मारेको विश्वास लाग्छ भन्ने समेत जाहेरवालाले अदालतमा गरेको बकपत्र ।

८. प्रहरीमा चन्द्रेलाई मारी मने कामी र म समेत भई कर्णाली नदीमा फालेको हुँ भनी सावित भएकोले खड्गेले नै मारेको शङ्का लाग्छ भन्ने समेत सरजमीनका पद्माखर भण्डारी र प्रेमबहादुर हमाल समेतको अदालतमा गरेको बकपत्र ।

९. मृतक चन्द्रे सार्कीलाई खड्गे सार्कीले लेनदेन विषयमा वाद विवाद भई तत्काल उठेको रिस थाम्न नसकी आँसी प्रयोग गरी चन्द्रे सार्कीलाई मारेको देखिएकोले ज्यानसम्बन्धीको १४ नं.अन्तर्गत वारदात कायम हुने र प्रहरी प्रतिवेदन दावी पुग्न नसक्ने हुँदा ऐ.ऐनको १४ नं. अनुसार १० वर्ष कैद हुने ठहर्छ भन्ने सुर्खेत जिल्ला अदालतको फैसला ।

१०. ज्यानसम्बन्धीको १४ नं. प्रयोग गरेको फैसला कानुनी त्रुटिपूर्ण हुँदा बदर गरी प्रहरी प्रतिवेदन दावी अनुसार सजायँ गरिपाउँ भन्ने समेत श्री ५ को सरकारको पुनरावेदन ।

११. प्रतिवादीले गरेको बयान बमोजिम निजले मर्ने चन्द्रे कामीलाई हतियार खुर्पा प्रयोग गरी गर्दनमा २ पटक हानी गर्दन छिनाली ज्यान मारेको देखिँदा ज्यानसम्बन्धीको १३(३) अनुसार जन्मकैद हुने देखिन आयो । शुरुले ज्यानसम्बन्धीको १४ नं. लगाई १० वर्ष कैद गर्ने गरेको सजायँ मिलेको देखिएन । ज्यान लिनु पर्ने सम्मको रिस ईवि भएको मिसिलबाट देखिन नआएकोले प्र.खड्गे सार्कीलाई ज्यानसम्बन्धीको १३(३) अनुसार सर्वश्वसहित जन्मकैद गर्दा चर्को पर्ने देखिएकोले घटी सजायँको लागि राय व्यक्त गरेका छौं । प्रतिवादीलाई ज्यानसम्बन्धीको १३(३) नं. अनुसार सर्वश्वसहित जन्मकैद हुने ठहरेकाले साधक सदरका लागि जाहेर गर्ने भन्ने समेत मध्य पश्चिमाञ्चल क्षेत्रीय अदालतको २०४१।१२।८।५ को फैसला ।

१२. प्रस्तुत मुद्दामा मध्य पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला जाँची साधक निकाशा दिनुपर्ने हुन आएको छ ।

१३. यसमा साधक निकाशातर्फ हेर्दा मेरा बाबु चन्द्रे सार्कीलाई ससुरा नाताको खड्गे सार्कीले कर्तव्य गरी मारी लाश बेत खोलीमा फाली दिए भनेकोले कारवाही गरिपाउँ भन्ने जाहेरी परेको देखिन्छ । लाश फेला परेको देखिँदैन । तर प्रतिवादी अभियुक्त खड्गे सार्कीले २०३९।१०।१२ गते साँझ ४।५ बजे ४ जना बसी तमाखु खायौं । काले सार्की पद्माखर २ जना घाँस काट्न भनी गए । म र मर्ने चन्द्रे सार्की ओर आई भालुको लहरा काटौं भनी जंगलमा गयौं । लहरा काट्न नपाउँदै चन्द्रे र मेरो बीच गाईको मूल्य रु.१९०।बाँकी रुपैयाँमा वाद विवाद भई चन्द्रेले मलाई कुटपिट गरी पल्टाए गालामा कुममा हिर्काए मलाई उत्तानो पारी छातीमा घुँडाले टेकेपछि छाडी दिए, पछि म उठी निजले भूइँमा राखेको आँसीले मर्ने चन्द्रे सार्कीको गर्दनमा एक चोट हिर्काए पछि गर्दनको हड्डी छुट्टी सकेको छालासम्म बाँकी भएकोले अर्को चोट प्रहार गरी घाँटी छिनाली मारी माघ १३ गते साला मने कामी समेत भई लाश कर्णाली नदीमा फालेको भनी प्रहरी र अदालतमा समेत आफूले अपराध गरेको कुरा स्वीकारी बयान गरेको देखिन्छ । अभियुक्त प्रतिवादी खड्गे सार्की र मर्ने चन्द्रे सार्की जंगल गएको र फर्की नआएको भन्ने जाहेरवालाको र सरजमीनका पद्माखरले अदालतमा बकपत्र गरेको पाइन्छ । यसबाट चन्द्रे सार्कीलाई कर्तव्यबाट मारेको भन्ने अभियुक्तको साविती बयानलाई पुष्टि गरेको देखिन्छ । अभियुक्त प्रतिवादी खड्गे सार्की अपराधी होइन भन्न सकिने तथ्ययुक्त आधार केही देखिँदैन । अभियुक्त खड्गे सार्कीले मर्ने चन्द्रे सार्कीलाई आँसी (खुर्पा) जस्तो धारीलो जोखमी हतियारले दुई पटकसम्म हिर्काई गर्दन छिनाली कर्तव्य गरी मारी लाश समेत कर्णाली नदीमा फालेमा समेत सावित भई बयान गरेको देखिएकोले समेत यस्तोमा मार्ने पूर्व मनशाय नभएको भन्ने आधारमा अ.बं. १८८ नं. बमोजिम राय लगाएको मिलेको देखिएन । अतः अभियुक्त प्रतिवादी खड्गे सार्कीलाई अपराधी ठहराई ज्यानसम्बन्धीको १३(३) अनुसार सर्वश्वसहित जन्मकैद हुने ठहराई मध्य पश्चिमाञ्चल क्षेत्रीय अदालतले साधक जाहेर गरेको इन्साफ मनासिब ठहर्छ । सर्वश्व रोक्का मिसिलबाट नदेखिएको सर्वश्व रोक्कातर्फ तुरुन्त कानुन बमोजिम गर्नु भनी मिसिल मध्य पश्चिमाञ्चल क्षेत्रीय अदालतमा पठाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

न्या. हिरण्यश्वेरमान प्रधान

 

इति सम्वत् २०४३ साल असार २६ गते रोज ५ शुभम् ।