June 16, 1986
Created by nepalarchives

निर्णय नं. २६६६ – दर्ता बदर गरी दर्ता गरिपाउँ

निर्णय नं. २६६६     ने.का.प. २०४३  अङ्क – ३ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०४१ सालको दे.पु.नं. ६४६ फैसला...

निर्णय नं. २६६६     ने.का.प. २०४३  अङ्क – ३

डिभिजनबेञ्च

माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला

माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा

सम्वत् २०४१ सालको दे.पु.नं. ६४६

फैसला भएको मिति : २०४३।३।२ मा

 

पुनरावेदक/प्रतिवादी : जि.सुनसरी सोनापुर गा.पं.वडा नं.८ बस्ने अच्छेलाल ठाकुर हजामसमेत

विरुद्ध

विपक्षी/वादी : ऐ.ऐ.घर भई हाल वविया गा.पं.वार्ड नं. ९ बस्ने सिविया ठाकुर हजामनी

 

मुद्दा : दर्ता बदर गरी दर्ता गरिपाउँ

 

(१)         यो यस परिबन्धबाट हाम्रो हक भोगको हामीले नपाउन पाउने जग्गा हो भनी प्रतिवादीको प्रमाण खण्डमा प्रमाण दिई प्रतिवाद गर्न नसकेको र वादीले देखाएको निजको हक भोगको श्रोतलाई खण्डन गर्न पनि नसकेको हुँदा यसप्रकारको दुषित दर्तालाई मान्यता दिन नमिल्ने ।

(प्रकरण नं. १०)

 

पुनरावेदक/प्रतिवादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठ

विपक्षी/वादीतर्फबाट   : विद्वान अधिवक्ता श्री शिवानन्ददास सरस

 

फैसला

न्या.गजेन्द्रकेशरी बास्तोला : मिति २०४१।७।२९ मा भएको पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसलामा चित्त बुझेन भनी पर्न आएको पुनरावेदनको अनुमति प्राप्त भई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य निम्नानुसार छ ।

२. मेरो लोग्ने र ससुराको नाममा दर्ता रहेको नयाँ सोनपुर वा.नं. ८(क) कि.नं.११६, ११७, ११८, १०८ र ८५ वा.नं. ७(ख) को समेत जग्गाहरू मध्ये वहाँहरूको स्वर्गेबास पश्चात सबै नापी हुँदा विरामी परी आफ्नो नाममा दर्ता गराउन नसक्दा,  मालपोत भने तिरी रहेको अवस्थामा विपक्षीहरूले संयुक्त रुपमा दर्ता गरी कि.नं. ११८(क) को जग्गा विपक्षी ३ जना र म समेत ४ जनाको नाउँमा संयुक्त दर्ता गराएकोले शेष पछिका विपक्षीहरूबाट र उक्त जग्गा म जीवितै अवस्थामा दर्ता गरे गराएको हुँदा दर्ता बदर गरी मेरो नाममा दर्ता गरिपाउँ भन्ने समेत व्यहोराको फिरादपत्र ।

३. वादीबाट समयमा नै उक्त जग्गाहरू आफ्नो नाममा दर्ता गराउन कारवाही पनि नभएको र मालपोत समेत तिरेको प्रमाण नहुँदा वादी दावी झुठ्ठा हो भन्ने समेत व्यहोराको प्रतिउत्तरपत्र ।

४. विवादास्पद जग्गा पहिला लोग्ने ससुराको नाममा दर्ता र हाल वादी कै भोग चलन गरेको देखिँदा प्रतिवादीहरूबाट गराएको दर्ता बदर गरी वादीको नाममा दर्ता गरी लिन पाउने ठहर्छ भन्ने समेत व्यहोराको मिति ०३८।५।१ को शुरु सुनसरी जि.अ.को फैसला ।

५. शुरु इन्साफ चित्त नबुझी ०३८।७।३ मा कोशी अं.अ. मा दायर भएको पुनरावेदनपत्र ।

६. म्याद भित्र दायर नभएको फिरादपत्र उपर कारवाही गर्न नमिलेकोमा कारवाही गरी गरेको निर्णय खारेज हुन्छ भन्ने समेत व्यहोराको मिति ०३९।१।२ मा भएको कोशी अं.अ. को फैसला ।

७. कोशी अं.अ. को खारेजी फैसला उपर चित्त बुझेन शुरुको निर्णय बमोजिम होस् भन्ने समेत व्यहोराको मिति ०२९।१।१९ मा पू.क्षे.अ. मा दिएको पुनरावेदन । दावीले जग्गाधनी दर्ता प्रमाण पूर्जा वितरण भएपछि धनी पूर्जा नपाएकोले ४५ दिनभित्र सम्बन्धित अधिकारी समक्ष उजूर गरेको भनी फिरादमा उल्लेख गरेकोमा सो कुरालाई प्रतिवादीले पनि प्रतिउत्तरपत्रमा स्वीकार गरेकै देखिन आयो । दावीले विवादका कि.नं. हरूमा जग्गा साविक कि.नं. २२४, २२५ समेत ससुरा पतिका नाउँको दर्ताको जग्गा हो भनी दावी लिएकोमा सो कुरा होइन भनी प्रतिवादीले खण्डन गर्न नसकेको र विवादको जग्गाको हक पुग्ने श्रोत यो हुनाले हामीलाई पाउने अधिकार छ भनी प्रतिवादीहरूले प्रमाणित गर्न समेत नसकेको यसप्रकारको स्थितिमा हदम्याद नाघेको भनी फिराद खारेज गर्ने गरेको कोशी अं.अ.को फैसला कानुनी त्रुटिपूर्ण हुँदा बदर हुन्छ । प्रतिवादीहरूले गराएको दर्ता बदर हुने र वादीले प्रमाण पूर्जा पाउने समेत ठहर्‍याएको शुरु सुनसरी जिल्ला अदालतको इन्साफ मनासिब ठहर्छ भन्ने समेत व्यहोराको मिति ०४१।७।२९ को पु.क्षे.अ.को फैसला उक्त फैसलामा चित्त बुझेन भन्ने व्यहोराको मिति ०४१।१०।३ मा यस अदालतमा पर्न आएको पुनरावेदन ।

८. दर्ता भएको दुई वर्ष नघाई प्रस्तुत नालेश ज.मि.को १८ नं. को हदम्याद नघाई परेकोलाई मान्यता दिई क्षेत्रीय अदालतबाट भएको निर्णयमा उक्त ऐनको प्रत्यक्ष उल्लंघन भई कानुनी त्रुटि भएको हुँदा न्याय प्रशासन सुधार ऐन, २०३१ को दफा १३(५)(ख) बमोजिम पुनरावेदनको अनुमति मिति ०४१।९।२९।४ मा यस अदालतबाट प्रदान भई पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीको तर्फबाट विद्वान वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठ र विपक्षी वादी सिविया ठाकुर हजामनीको तर्फबाट विद्वान अधिवक्ता श्री शिवानन्द दास सरसको बहस समेत सुनियो ।

९. प्रस्तुत मुद्दामा पूर्वाञ्चल क्षेत्रीय अदालतले गरेको इन्साफ मनासिब बेमनासिब के रहेछ निर्णय दिनु परेको छ ।

१०. यसमा सर्भे नापी हुँदा आफ्नो नाममा दर्ता गराउन नसक्दा विपक्षीहरूले संयुक्त रुपमा कि.नं. ११८(क) दर्ता गरी म समेतको ४ जनाको नाममा दर्ता गराएकोले दर्ता बदर गरी मेरो नाममा दर्ता गरिपाउँ भनी वादीले फिरादमा उल्लेख गरेको पाइन्छ । मिति ०३६।७।२३ का दिन नक्कल सारी लिंदा थाहा पाएको भन्ने वादी दावी र लालपूर्जा नपाएकोमा ४५ दिनभित्रै भूमिप्रशासन कार्यालय सुनसरीमा उजूर गरेको भन्ने कुरालाई  प्रतिवादीले खण्डन गर्न सकेको छैन र यस भन्दा मुख्य कुरा प्रतिवादीले उक्त जग्गा यो यस परिबन्धबाट हाम्रो हक भोगको हामीले नपाउन पाउने जग्गा हो भनी प्रतिवादीको प्रमाण खण्डमा प्रमाण दिई प्रतिवाद गर्न नसकेको र वादीले देखाएको निजको हक भोगको श्रोतलाई खण्डन गर्न पनि नसकेको हुँदा यसप्रकारको दुषित दर्तालाई मान्यता दिन नमिल्ने हुँदा पूर्वाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिब ठहर्छ । कोर्टफी लागि दायर भएको हुँदा केही गर्न परेन । नियम बमोजिम मिसिल बुझाइदिनू ।

 

उक्त रायमा म सहमत छु ।

न्या. महेशरामभक्त माथेमा

 

इति सम्वत् २०४३ साल असार २ गते रोज शुभम् ।