June 5, 1986
Created by nepalarchives

निर्णय नं. २६६० – खिचोला

निर्णय नं. २६६०     ने.का.प. २०४३  अङ्क – ३ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला सम्वत् ०४१ सालको दे.पु.नं. ६५१ फैसला...

निर्णय नं. २६६०     ने.का.प. २०४३  अङ्क – ३

डिभिजनबेञ्च

माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह

माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला

सम्वत् ०४१ सालको दे.पु.नं. ६५१

फैसला भएको मिति : २०४३।२।२२ मा

 

पुनरावेदक/प्रतिवादी : भ.पु.जि.ठिमी बालकुमारी गा.पं.वडा नं.३ माझटोल बस्ने काजीबहादुर नानीचा श्रेष्ठ

विरुद्ध

विपक्षी/वादी : ऐ.वडा नं.८ इनाम बस्ने जनकबहादुर श्रेष्ठ

 

मुद्दा : खिचोला

 

(१)         मोहियानी हक नरहेको देखिँदा देखिंदै मोहियानी हक बेहकको प्रश्‍न देखाई भूमिसुधार कार्यालयको अधिकार क्षेत्रभित्र पर्ने भनी खारेज गर्ने गरेको बा.अं.अ.को फैसला मिलेको नदेखिएकोले उल्टी भई वादी दावा अनुसार प्रतिवादीले खिचोला गरेको ठहराएको मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिब ठहर्छ ।

(प्रकरण नं. १३)

 

पुनरावेदकतर्फबाट : विद्वान अधिवक्ता श्री रामगोपाल श्रेष्ठ

विपक्षीतर्फबाट : विद्वान अधिवक्ता श्री विष्णु राउत

 

फैसला

न्या.बब्बरप्रसाद सिंह : मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला त्रुटिपूर्ण हुँदा पुनरावेदनको अनुमति पाउँ भन्ने प्र.को निवेदन परी अनुमति प्राप्त भई यस अदालतमा दर्ता भई बेञ्च समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य तथा पुनरावेदन जिकिर निम्न बमोजिम छ ।

२. मेरो नाममा मा.पो.का.भ.पु.मा दर्ता भएको भ.पु.जि.बालकोट गा.पं.वडा नं.९ को कि.नं.११९० को रोपनी ५१०० जग्गा मेरो हक भोग चलनको हो, २०२१ सालमा जग्गा धनीमा मेरो र मोहीमा  विपक्षले आफ्नो नाम गराई नापीबाट अस्थायी निस्सा पनि पाएको थिएँ । २०२५।४।१५ मा विपक्षीले जग्गा कमाउन असमर्थ भएकोले जोत छाडी पाउँ भनी भनेकाले सो जग्गा म आफैंले भोग चलन गरी आएको छु । मैले १० कर्म गरी बाली लगाई ०३१ सालको कार्तिक १३ गते भित्राएको लुटपीट गरे भनी भ.पु.जि.अ.मा फिराद गरेकोमा दावी पुग्न नसकी फैसला भए उपर अं.अ.मा पुनरावेदन परी शुरुकै सदर भएको र म.क्षे.अ.बाट पुनरावेदनको अनुमति नदिई अन्तिम भएकोबाट समेत सो जग्गा मेरो भएकोमा शंका छैन । २०३९।३।२१ गते खेतमा आई रोपाईं गरी रहेको अवस्थामा विपक्षी आई रोपाई गरी रहेको अवस्थामा विपक्षी आई मेरो जग्गा हो भनी बीउमा बीउ मिलाई खिचोला गरेको हुँदा खिचोला मेटाई पाउँ भन्ने समेत व्यहोराको मिति २०३९।६।२५ को जनकबहादुरको फिरादपत्र ।

३. बालकोट गा.पं.वडा नं.९ कि.नं.११९० को जग्गा अन्यायवालाले कमाई आएको २०२५।२।१२ मा रु.२०००।र २०२५।६।३० मा रु.५००।२०३६।३।७ मा रु.४९९।लिई निजको नामको ९ नं. देवल टोल कि.नं.३३६३ को जग्गा समेत पृथक पृथक राजीनामा गरी दिएको २०३०।७।२ मा निजको नामको दर्ता मेरो नाममा गरी लिनु भनी मन्जूरीको कागज गरे मुताविक मैले जोती आइरहेको लिखत बमोजिम जोत कायम गरी दिनुपर्ने गरी नदिएकोले २०३०।७।२ को लिखत पास गरिपाउँ भन्ने समेत विपक्षीले मेरो नाममा मिति २०३१।२।४ मा नालेश गर्नुभएकोमा दावी पुग्न नसकी फैसला भएको उल्लिखित जग्गाको मोही म हुँ भन्ने कुरामा विपक्षी सावित हुनु हुन्छ । मोहीको हैसियतले गर्नुपर्ने सबै काम कारवाही मैले गरेको छु । तसर्थ झुठ्ठा वादी दावीबाट फुर्सद पाउँ भन्ने समेत व्यहोराको प्रतिउत्तरपत्र ।

४. वादी दावी अनुसार प्रतिवादीहरूले जग्गामा खिचोला गरेको ठहर्छ भन्ने शुरु भ.पु.जि.अ.को फैसला ।

५.    सो फैसलामा चित्त बुझेन भन्ने समेत प्रतिवादीको बा.अं.अ.मा परेको पुनरावेदनपत्र ।

६. वादी प्र. मोही र जग्गाधनी देखिएको प्रतिवादीले छोडपत्र दिइसकेको भन्ने वादी भनाई भएकोमा सो छोडपत्रको आधारबाट मोही कायम रहने नरहने भन्ने कुरा भू.सु.का.का अधिकारी क्षेत्र देखिँदा मोही कायमतर्फ उजूरी गर्न जानु भनी सुनाई प्रस्तुत मुद्दा खारेज गरी दिएको छ, भन्ने समेत व्यहोराको बागमती अञ्चल अदालतको मिति २०३२।७।३० को फैसला ।

७. बागमती अञ्चल अदालतको फैसला कानुनी त्रुटिपूर्ण देखिँदा पुनरावेदनको अनुमति दिएको छ भन्ने समेत व्यहोराको म.क्षे.अ.को आदेश ।

८. श्रेस्तामा लगत कट्टा नभएको भन्ने सम्मको आधारले मोहि हक प्रतिवादीको रहेको भन्न मिलेन तसर्थ कानुन बमोजिम प्र.ले मोहियानी हक छाडी सकी निजको मोहियानी हक नरहेको देखिँदा देखिंदै मोहियानी हक बेहकको प्रश्‍न देखाई भू.सु.का.को अधिकार क्षेत्रभित्र पर्ने भनी खारेज गर्ने गरेको बागमती अञ्चल अदालतको फैसला मिलेको नदेखिँदा उल्टी भई वादी दावा अनुसार प्रतिवादीहरूले खिचोला गरेको ठहराएको शुरुको इन्साफ मनासिब ठहर्छ भन्ने समेतको मध्यमाञ्चल क्षेत्रीय अदालतको मिति २०४१।७।१३ को फैसला ।

९. मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला सार्वजनिक महत्वको विषयमा प्रत्यक्ष कानुनी त्रुटि भएकोले पुनरावेदनको अनुमति पाउँ भन्ने समेत व्यहोराको प्रतिवादीको निवेदनपत्र ।

१०.    निवेदक काजीबहादुरका नाम मोहीको लगतमा कायम रहेकोमा निजले खिचोला गरेको ठहर्‍याएको मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला त्रुटिपूर्ण  देखिँदा पुनरावेदनको अनुमति दिइएको छ भन्ने समेत यस अदालत डिभिजनबेञ्चको आदेश ।

११. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्र.को तर्फबाट उपस्थित हुनुभएका विद्वान अधिवक्ता श्री रामगोपाल श्रेष्ठ र विपक्षीको तर्फबाट उपस्थित हुनुभएका विद्वान अधिवक्ता श्री विष्णु राउतले गर्नुभएको बहस जिकिर समेत सुनियो ।

१२. प्रस्तुत मुद्दामा म.क्षे.अ.ले गरेको इन्साफ मनासिब बेमनासिब के रहेछ सोतर्फ निर्णय दिन पर्ने हुन आयो ।

१३. यसमा ०२१ सालमा भू.सु.नापीमा विवादीत जग्गाको जग्गाधनी वादी र प्र.मोही रहेको कुरामा विवाद देखिँदैन । प्र.ले जग्गा कमाउन असमर्थ नै भई मोहियानी हक छाडेको सूचना बालकोट गा.पं.मा दिएको र जोत जग्गाधनी वादीका नाममा कायम गर्न सिफारिश समेत भू.सु.का.लाई ०३१।१०।१४ मा भएको कुरा प्रमाणमा आएका लिखतपास र लुटपीट मुद्दाबाट देखिन्छ । भू.सं. ऐन, ०२१ को दफा २६(१) को तत्कालीन प्रतिबन्धात्मक वाक्यांश हेर्दा मोहीले कुनै सालमा खेतीको यामभन्दा कमसे कम एक महीना अगावै जग्गावालालाई स्थानीय पं.मार्फत सूचना दिई आफ्नो हक छाड्न पाउने छ भन्ने देखिन्छ । प्रस्तुत मुद्दामा मोहीले जोत छाडेको सूचना सम्बन्धी पञ्चायतमा दिएकोबाट मोहियानी हक छाडेको कुरा स्वीकार गरेको देखिएको छ । श्रेस्तामा लगत कट्टा नभएको भन्ने समेतको आधारले मोही हक प्रतिवादीको रहेको भन्न मिलेन । तसर्थ कानुन बमोजिम प्र.ले मोहियानी हक छाडी सकी निजको मोहियानी हक नरहेको देखिँदा देखिँदै मोहियानी हक बेहकको प्रश्‍न देखाई भूमिसुधार कार्यालयको अधिकार क्षेत्रभित्र पर्ने भनी खारेज गर्ने गरेको बा.अं.अ.को फैसला मिलेको नदेखिएकोले उल्टी भई वादी दावी अनुसार प्रतिवादीले खिचोला गरेको ठहराएको मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिब ठहर्छ । कोर्टफी रही पुनरावेदन दायर भएको देखिँदा केही गर्न परेन । मिसिल नियम बमोजिम बुझाइदिनू ।

 

उक्त रायमा म सहमत छु ।

न्या. गजेन्द्रकेशरी बास्तोला

 

इति सम्वत् २०४३ साल ज्येष्ठ २२ गते रोज ३ शुभम् ।