July 5, 1986
Created by nepalarchives

निर्णय नं. २६५६ – धनीपूर्जा पाउँ

निर्णय नं. २६५६     ने.का.प. २०४३  अङ्क – ३ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०४० सालको दे.पु.नं. ६६३...

निर्णय नं. २६५६     ने.का.प. २०४३  अङ्क – ३

डिभिजनबेञ्च

माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह

माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान

सम्वत् २०४० सालको दे.पु.नं. ६६३

फैसला भएको मिति : २०४३।३।१२।६ मा

 

पुनरावेदक/प्रतिवादी : विराटनगर नगर पञ्चायत वडा नं.४ बस्ने ठगनाथ उपाध्याय  चापागाई

विरुद्ध

विपक्षी/वादी : ऐ.ऐ.वडा नं.१ बस्ने गंगाप्रसाद उपाध्याय भट्टराई

 

मुद्दा : धनीपूर्जा पाउँ

 

(१)         तेरो मेरोको प्रश्‍न उठेकोमा अदालतमा उजूर गरी आफ्नो हक कायम गरी ल्याएपछि सोही बमोजिम गर्ने प्रष्ट कानुनी व्यवस्था भएको पाइने ।

(प्रकरण नं. १३)

 

पुनरावेदकतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त

विपक्षीतर्फबाट : विद्वान अधिवक्ता श्री नारायणराज खरेल

 

फैसला

न्या.सुरेन्द्रप्रसाद सिंह : पूर्वाञ्चल क्षेत्रीय अदालतको इन्साफमा चित्त बुझेन पुनरावेदनको अनुमति पाउँ भनी प्रतिवादी पुनरावेदकले दिएका निवेदनमा पुनरावेदकको अनुमति प्राप्त गरी पुनरावेदनमा दर्ता भई यस बेञ्च समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको तथ्य तथा पुनरावेदन जिकिर संक्षिप्त निम्न प्रकार छ :

२. कसैनी गा.पं.अन्तर्गतको हामीहरूका सगोल दर्ताको रैति नं. १३८ को जग्गा सर्भे हुँदा वडा नं.२(ङ) कि.नं. १ को जग्गाको जग्गा छुट भएछ । २०२७।१२।२ मा नक्शा लिई हेर्दा थाहा भएकोले सो नक्शा हाम्रै कायम गरी धनी पूर्जा समेत पाउँ भन्ने समेत व्यहोराको प्र.पुरुषोत्तम चापागाईले मिति २०२७।१२।६ मा दिएको निवेदनमा पिठमा मुक्तिप्रसाद समेतले सनाखत गरेको ।

३. नापीमा जस्ताको तस्तै भएकै होला भनी घरमा श्रेस्ता मिलाई नापी गर्न गएकोमा हाल हेर्दा अघि नापी भए बमोजिम नभई कसैनी गा.पं.वडा नं.२(ङ) कि.नं. १, १४ तथा १७ जग्गाधनी पूर्जामा नचढेकोले जो बुझ्नुपर्ने बुझी मेरो जग्गा मेरै कायम गरिपाउँ भन्ने गंगाप्रसादले २०२७।१२।८ मा निवेदन दिई २०२७।१२।२७ मा गरेको सनाखत कागज ।

४. उक्त उल्लिखित कारवाही चलेको जग्गामा नै सो जग्गाको जिमदारी मातृकाप्रसाद थपलियाले आफ्नो एकाघरका छोरा गोविन्दप्रसादका नामको रसीद देखाई मेरो कसैनी गा.पं.वडा नं.२(ख) कि.नं. २८ र १२४ तथा १२५ र ऐ.(ङ) कि.नं. १४ को जग्गा मेरो हो भनी निवेदन गरे भन्ने सुनेकोबाट निवेदन गरेको छु उक्त कि.नं. २६ को जग्गा निर्वाणप्रसाद समेतको हो र कि.नं. १२४ र १२५ तथा १४ को जग्गा मेरो हो यी कित्ताहरू मेरो नाममा दर्ता गरी ज.ध.प्र.पूर्जा पाउँ भन्ने समेत व्यहोराको गंगाप्रसादको निवेदन ।

५.    गंगाप्रसादको नम्बरी जग्गा हो भन्ने कृष्णबहादुर समेत २० जना र मुक्तिप्रसादको भन्ने गंगा बन सन्यासी समेत १२ जना र नम्बरी ऐलानी जान्दिन गंगाप्रसाद समेतले खाएका छन् भन्ने पंचा खवास समेत ६१ जना र ऐनाली नम्बरी के हो थाहा छैन उक्त जग्गा ठगनाथ समेतले खाएका छन् भन्ने समेत १२ जना र केही जान्दिन भन्ने २ जना समेत भएको सरजमीन मुचुल्का ।

६. कसैनी गा.पं.वडा नं.२(ङ) कि.नं. ११४ तथा १७ को र ऐ.२(क) कि.नं. १२४ र १२ को जग्गा फिल्डबुक उतारबाट पर्ति देखिएको कि.नं.२८ को जग्गा निर्वाणकुमार भट्टराई समेतका नाममा कायम भएको सो बाहेक अरु विवरणमा गोविन्दप्रसाद थपलिया गंगाप्रसाद भट्टराई पुरुषोत्तम, मुक्तिप्रसाद समेतको दावी देखिएको गंगाप्रसादले ०२४।८।१७ मा पूर्जा बुझेको र ठगनाथले ०२७।१०।१९ मा पूर्जा बुझेको उक्त कित्ताहरूमा तेरो मेरो देखिएकोले तेरो मेरो छुट्याउने  काम यस कार्यालयको अधिकार क्षेत्रभित्र नपर्ने हुँदा जग्गा नाप जाँच ऐन नियमको दफा ५ र ६ बमोजिम अदालतमा उजूर गरी आफ्नो हक कायम गराई ल्याउनु भनी निवेदकलाई सुनाई दिने भन्ने समेत व्यहोराको ०३१।३।१८ को भू.प्र.का.मोरङ्गको आदेश ।

७. मैले मिति २०२४।८।१७ मा धनी पूर्जा पाएकोमा ४५ दिनभित्र उजूर गर्नुपर्ने नगरी ३ वर्ष पछि उजूर गरेकोमा तेरो मेरोमा अदालतमा जानु भनी भू.प्र.का.ले गरेको आदेश बदर गरिपाउँ भनी प्रमुख जिल्ला अधिकारीको कार्यालय मोरङ्गमा मुक्तिप्रसादले दिएको पुनरावेदन ।

८. यसमा एकथरीको उजूरी म्याद नाघेको र एक थरीको उजूरी म्यादभित्रैको हुँदा जग्गा नाप जाँच ऐन नियमको दफा ५ र ६ अनुसार तेरो मेरोको परिभाषा भित्र पर्न आउने देखिएकोमा म्याद गुजारी निवेदन गर्ने गंगाप्रसादको अन्य कानुनी बाटो भए अदालतमा जानु भन्ने सम्म रोक लगाउन नदिएको भई म्यादभित्र पर्न आएको उजूरीमा जग्गा नाप जाँच ऐन नियम बमोजिम भू.प्र.का.बाट कारवाही गर्नुपर्नेमा तेरो मेरो देखियो भनी म्यादभित्र उजूर गर्न निवेदक समेतलाई अदालतबाट हक गराई ल्याउनु भनी सुनाउनु भन्ने भू.प्र.का.मोरङ्गले गलतसंग आदेश गरेको ठहर्छ भन्ने प्र.जि.अ. को का.मोरङ्गले गरेको मिति २०३२।५।१७।५ को फैसला ।

९. सो फैसलामा चित्त बुझेन भन्ने समेत पुनरावेदनको अनुमति पाउँ भनी पू.क्षे.अ.मा गंगाप्रसादले दिएको निवेदनमा पुनरावेदनको अनुमति प्राप्त भएको ।

१०.    यसमा सर्भे नापीको कि.नं.१, , १४ तथा १२४ र १२५ को जग्गा मेरो हो भन्ने गंगाप्रसादको र मेरो हो भन्ने मुक्तिप्रसाद समेतको दावी जिकिर भएकोमा अदालतबाट बदर हुनुपर्ने भनी गरेको भू.प्र.का.को इन्साफ मनासिब र प्र.जि.अ.को इन्साफ उल्टी हुने ठहर्छ भन्ने पू.क्षे.अ.को फैसला ।

११. सो फैसलामा चित्त बुझेन पुनरावेदनको अनुमति पाउँ भन्ने ठगनाथले यस अदालतमा दिएको निवेदनमा यसमा वादी प्रतिवादीबाट पेश भएका प्रमाण अ.बं.७८ नं. बमोजिम सुनाई निर्णय गर्नुपर्ने नगरेकोले न्या.प्र.सु.ऐन, ०३१ को दफा १३(५) को खण्ड (ख) अनुसार पुनरावेदनको अनुमति दिइएको छ, भन्ने समेत व्यहोराको डिभिजनबेञ्चको आदेश ।

१२. पुनरावेदकतर्फबाट उपस्थित हुनुभएका विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्तले र विपक्षी गंगाप्रसाद तर्फबाट उपस्थिति हुनुभएका विद्वान अधिवक्ता श्री नारायणराज खरेलले गर्नुभएको बहस समेत सुनियो । मुख्यतः पू.क्षे.अ.ले गरेको निर्णय मिलेको छ छैन के रहेछ सो कुराको निर्णय दिनुपर्ने हुन आएको छ ।

१३. यसमा विवादीत कि.नं. १ र १४ तथा कि.नं. १२४, १२५ समेतका जग्गाहरूमा मेरो हो भन्ने गंगाप्रसादको निवेदन र मेरो हो भन्ने मुक्तिप्रसाद भई विवाद भएको कुरा प्रष्ट देखिएको छ । यस्तो स्थितिमा नाप जाँच नियम ५ र ६ मा त्यस्तो तेरो मेरोको प्रश्‍न उठेकोमा अदालतमा उजूर गरी आफ्नो हक कायम गरी ल्याएपछि सोही बमोजिम गर्ने प्रष्ट कानुनी व्यवस्था भएको पाइन्छ । सोही अनुसार आफ्नो हक कायम गराई ल्याउनु भनी निवेदकलाई सुनाई दिने ठहराई भू.प्र.का.मोरङले गरेको निर्णय मनासिब ठहराई प्र.जि.अ.को कार्यालय मोरङ्गले गरेको फैसला उल्टी गर्ने गरी क्षेत्रीय अदालतले गरेको निर्णयमा कुनै कानुनी त्रुटि रहे भएको देखिन नआएकोले इन्साफ पूर्वाञ्चल क्षेत्रीय अदालतको मनासिब ठहर्छ । कोर्टफी राखी पुनरावेदन दायर भएकोले केही गर्न परेन नियमानुसार गरी फायल मिसिल बुझाइदिनू ।

 

उक्त रायमा म सहमत छु ।

न्या. हरगोविन्द सिंह प्रधान

 

इति सम्वत् २०४३ साल आषाढ १२ गते रोज ६ शुभम् ।