June 9, 1986
Created by nepalarchives

निर्णय नं. २६५३ – उत्प्रेषण लगायत जो चाहिने उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ

निर्णय नं. २६५३    ने.का.प. २०४३  अङ्क – ३ डिभिजनबेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह सम्वत् २०४२ सालको रिट नं....

निर्णय नं. २६५३    ने.का.प. २०४३  अङ्क – ३

डिभिजनबेञ्च

सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह

माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह

सम्वत् २०४२ सालको रिट नं. १३५६

आदेश भएको मिति :  २०४३।२।२६।२ मा

 

निवेदक : जिल्ला सप्तरी गा.पं.रामनगर बहुअर्वा वडा नं.५ बस्ने राम औतार मण्डल धानुक

विरुद्ध

विपक्षी : जिल्ला भूमिसुधार अधिकारीको कार्यालय, सर्लाहीसमेत

 

विषय : उत्प्रेषण लगायत जो चाहिने उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ

 

(१)         छुट्टाछुट्टै उजूरी निवेदन परेकोमा छुट्टाछुट्टै मिसिल बनाई छुट्टाछुट्टै निर्णय गर्नुपर्ने ।

(प्रकरण नं. १०)

 

निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री ताराप्रसाद सापकोटा

प्रत्यर्थीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री प्रेमबहादुर विष्ट

 

आदेश

प्र.न्या.धनेन्द्रबहादुर सिंह : नेपालको संविधानको धारा ७१ अन्तर्गत दर्ता भई निर्णयार्थ यस बेञ्च समक्ष पेश हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य तथा जिकिर यसप्रकार छ :

२. जिल्ला सर्लाही गा.पं.रामनगर बहुअर्वा वडा नं.४ कि.नं.८४ को क्षेत्रफल ०११० विगहा जग्गा साविकमा राम एकवाल सिंह एवं सोबाट खरीद गरी हाल प्रत्यर्थी भगलु साह तेली जग्गाधनी साथै साविक जग्गा धनीकै पालादेखि मेरा पिता जुगेश्वर मण्डल धानुक उक्त जग्गाको मोही भई कमाई आएकोमा २०३४ सालमा पिता परलोक हुनु भएपछि तत्पश्चात मैले अटुट रुपमा उक्त जग्गा जोती आएकोले भूमिसम्बन्धी ऐनको दफा २६ उपदफा (१) बमोजिम मेरो नाउँमा मोहियानी हक नामसारी गरिपाउँ भनी मैले प्रत्यर्थी भूमिसुधार कार्यालय समक्ष दावा लिएकोमा उक्त जग्गा राम एकवाल सिंहसँग मिति २०३२।२।५ मा खरीद गरेर लिएपछि बृजनन्दनलाई कबूलियत गरी कमाउन दिएको छु जुगेश्वर मण्डल र निजको छोरा राम औतार  मण्डल समेतले मेरा उक्त जग्गा नकमाएकोले मुद्दा खारेज गरिपाउँ भन्ने प्रतिवाद प्रत्यर्थी मंगलुले लिएको र भूमिसुधार कार्यालय सर्लाहीले भूमिसम्बन्धी ऐन, २०२१ को दफा २(ख) र २५(१) बमोजिम मोही कायम गरी माग्ने दावी बृजनन्दन साह तेलीका नाममा मोही कायम हुने ठहर्छ, राम औतार मण्डलले जग्गा नै नजोतेको देखिएकोले निजको नाममा मोही नामसारी गर्ने मिलेन भनी मिति ०४२।२।२७ मा निर्णय गरियो । म निवेदक राम औतारको मोही नामसारी गरिपाउँ भनी प्रत्यर्थी मगलु साह उपर छुट्टै निवेदन परी र प्रत्यर्थी बृजनन्दन साहको पनि मोही कायम गरिपाउँ भनी प्रत्यर्थी मगलु साह उपर छुट्टै निवेदन परी अलग अलग मिसिल खडा भएकोमा दुवै मिसिलमा एउटै गोश्वारा निर्णय गरिएबाट अ.बं. १८५ को प्रतिकूल निर्णय भएको छ । सम्मानीत सर्वोच्च अदालतले रिट नं.११०० बच्चुराम विरुद्ध भू.सु.अ. काभ्रेपलाञ्चोक भएको उत्प्रेषण रिटमा मिति ०३२।१२।३०।१२ मा छुट्टाछुट्टै उजूरी दिएकोमा छुट्टै मिसिल खडा गरी निर्णय नगरी एउटै निर्णय गरेको अ.बं. १८५ नं. को त्रुटि हुने भनी नजीर प्रतिपादित भएको छ । बहुसंख्यक सरजमीनको मानिसले उक्त जग्गा मैले नै जोती भोगी आएको भनी लेखाई दिएका छन् । एकाको नाममा मोही लगत खडा रहकै अवस्थामा कानुनको यथोचित विधि अवलम्बन गरी लगत कट्टा नगरी जग्गा धनीले अर्कोलाई मोहीमा कमाउन दिन मिल्ने न्यायोचित एवं कानुन देखिँदैन । प्रत्यर्थीबाट पेश भएको मिति ०३२।१०।१५ को कबूलियत भूमिसम्बन्धी ऐन, २०२१ को दफा ३४(१) बमोजिमको छैन । प्रत्यर्थी बृजनन्दन उल्लिखित जग्गामा ऐ.दफा २५(१) अन्तर्गत मोही हुन नसक्ने व्यक्तिलाई ऐ.ऐनको दफा २(ख) र दफा २५(१) बमोजिम बृजनन्दन साह तेलीको नाममा मोही कायम हुने ठहर्‍याएको प्रत्यर्थी कार्यालयको त्रुटिपूर्ण निर्णयले मेरो संविधानको धारा १०(१), ११(२)(ङ) एवं धारा १५ द्वारा प्रदत्त मौलिक हकमा आघात पुर्‍याएकोले संविधानको धारा १६।७१ अन्तर्गत उत्प्रेषण लगायत जो चाहिने आज्ञा, आदेश वा पुर्जी जारी गरी हक प्रचलन गराई पाउँ भन्ने समेत रिट निवेदन ।

३. विपक्षीहरूबाट लिखितजवाफ मगाई आएपछि वा अवधि नाघेपछि पेश गर्नु भन्ने समेत सिंगलबेञ्चको आदेश ।

४. यसमा रिट निवेदकले कुनै पनि सालको कूत बुझाएको भर्पाई पेश गर्न नसकेकोले रिट निवेदकको बाबुको मृत्यु पश्चात जग्गा यथावत जोती रहेको भन्ने कुरा पत्यार लायकको नहुँदा निजको नाममा मोही नामसारी गर्न नमिली निजको नामसारी गरिपाउँ भन्ने दावी खारेज हुने र ऐ.ऐ.को दफा ३४(१)(२) मा व्यवस्था भए बमोजिमको प्रकृया पुरा गरी प्रत्यर्थी मध्येका बृजनन्द शाह तेलीले ०३२।१०।१५ को कबूलियत बमोजिम जग्गा जोती रहेको कुरा मिति ०४२।२।१२ को सरजमीनबाट समेत पुष्टि हुन आएकोले ऐ.ऐनको दफा २५(२) बमोजिम मोही कायम हुने भनी यस कार्यालयले गरेको निर्णयबाट रिट निवेदकको कुनै हक हनन् नहुनाले रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत प्रत्यर्थी भू.सु.का.सर्लाहीको लिखितजवाफ ।

५.    बाबुको शेषपछि विपक्षीले जग्गा नजोतेको कुरा सरजमीनबाट प्रमाणित हुन आएको आधारमा भू.सु.ऐनको दफा २५(४) अनुसार विपक्षीको मोही कायम गर्न नमिल्ने भनी विपक्षीको नाममा मोही नामसारी हुन नसक्ने गरी भू.सु.का.ले गरेको निर्णय कानुन बमोजिमकै हुनाले रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत प्रत्यर्थी बृजनन्दन साह तेलीको लिखितजवाफ ।

६. भू.सु.का.सर्लाहीले एउटै जग्गाको मोही नामसारीको विषयलाई लिएर आफ्नै कार्यालयमा दर्ता रहेको दुवै मुद्दाहरूको विषय बस्तुलाई अ.बं. ८९ नं. बमोजिम एउटै किसिमको सम्झी मुद्दालाई एउटै ठाउँमा मिलाई निर्णय लिएकोमा कुनै गल्ती नहुनाले रिट निवेदन  खारेज गरिपाउँ भन्ने समेत प्रत्यर्थी भगलु साह तेलीको लिखितजवाफ ।

७. रिट निवेदकतर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री ताराप्रसाद सापकोटाले रिट निवेदकको मोही नामसारी गरिपाउँ भनी दावी लिई निवेदन परेको र प्रत्यर्थी बृजनन्दन साहूले मोही कायम गरिपाउँ भनी दावी लिई अर्को निवेदन परेको छ । दुवै निवेदनमा छुट्टाछुट्टै निर्णय गर्नुपर्नेमा दुवै निवेदन एउटै मिसिल बनाई एउटै निर्णय गरेको त्रुटिपूर्ण हुँदा बदरभागी छ भन्ने र प्रत्यर्थी कार्यालयबाट बहस गर्न उपस्थित विद्वान सहन्यायाधिवक्ता श्री प्रेमबहादुर विष्टले दुवै जनाले विवादको जग्गामा मोही सम्बन्धी दावी लिएकोमा एउटै निर्णय गरेकोलाई त्रुटि भन्न मिल्दैन । रिट निवेदन खारेज हुनुपर्छ भन्ने समेत बहस गर्नुभयो ।

८. प्रस्तुत रिट निवेदनमा निवेदकका माग अनुसारको आदेश जारी हुनुपर्ने हो होइन ? सो कुराको निर्णय दिनुपर्ने हुन आएको छ ।

९. यसमा निर्णयतर्फ हेर्दा निवेदकको बाबु जुगेश्वर मण्डल धानुकका नाममा मोहीको साविक लगत कायम रहेको कुरामा विवाद छैन । बाबु मरेकोले मोही हक नामसारी गरिपाउँ भन्ने रिट निवेदकको र मोही कायम गरिपाउँ भन्ने प्रत्यर्थी बृजनन्दनको छुट्टाछुट्टै उजूर परेकोमा राम औतार मण्डल धानुकले जग्गा जोत अवाद गरी जग्गा धनीलाई कूत बुझाएको भर्पाई पेश हुन नसकेको सरजमीनबाट बृजनन्दनले जग्गा जोती रहेको देखिएको र सक्कल कबूलियत पेश भएको कूत बुझाएको भर्पाईबाट देखिएकोले वादी बृजनन्दन साहू तेलीको नाममा मोही कायम हुने ठहर्छ । मोही नामसारी गरी माग्ने राम औतारका नाममा मोही नामसारी गर्न मिलेन भनी प्रत्यर्थी भू.सु.का.सर्लाहीबाट निर्णय गरेको देखिन्छ ।

१०.    त्यसरी बाबु जुगेश्वरले जग्गा जोति आएको बाबु ०२४ सालमा परलोक भएकोले मोही नामसारी गरिपाउँ भन्ने रिट निवेदकको र ०३३ सालको बाली देखि कबूलियत गरी जग्गा जोति आएकोले मोही कायम गरिपाउँ भन्ने प्रत्यर्थी बृजनन्दनको छुट्टाछुट्टै उजूरी निवेदन परेको पाइन्छ । त्यसप्रकार छुट्टाछुट्टै उजूरी निवेदन परेकोमा छुट्टाछुट्टै मिसिल बनाई छुट्टाछुट्टै निर्णय गर्नुपर्ने हुन्छ । प्रस्तुत मुद्दामा मोही नामसारी गरिपाउँ भन्ने रिट निवेदकको र मोही कायम गरिपाउँ भन्ने प्रत्यर्थी बृजनन्दनको छुट्टाछुट्टै दावी जिकिर लिई परेको निवेदनमा छुट्टाछुट्टै मिसिल बनाई छुट्टाछुट्टै कारवाही गरी निर्णय गरेको देखिँदैन । तसर्थ दुवै उजूरी निवेदनलाई एउटै मिसिल बनाई प्रत्यर्थी बृजनन्दन साहू तेलीको नाममा मोही कायम हुने ठहर्छ । राम औतारको नाममा मोही नामसारी गर्न मिलेन भनी एउटै निर्णय गरेको प्रत्यर्थी भू.सु.कार्यालय सर्लाहीको मिति २०४२।२।२७।१ को निर्णय त्रुटिपूर्ण देखिन आयो ।

११. अतः उपर्युक्त उल्लेख भए अनुसार प्रत्यर्थी भू.सु.कार्यालय सर्लाहीले गरेको मिति २०४२।२।२७ को त्रुटिपूर्ण निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ कानुन बमोजिम निर्णय गर्नु भनी प्रत्यर्थी कार्यालयका नाउँमा परमादेशको आदेश समेत जारी गरिएको छ । जानकारीको लागि यो आदेशको प्रतिलिपि प्रत्यर्थी कार्यालयमा पठाउन महान्यायाधिवक्ताको कार्यालयमा पठाई फायल नियम बमोजिम गरी बुझाइदिनू ।

 

उक्त रायमा म सहमत छु ।

न्या. सुरेन्द्रप्रसाद सिंह

 

इति सम्वत् २०४३ साल ज्येष्ठ २६ गते रोज २ शुभम् ।