June 10, 1986
Created by nepalarchives

निर्णय नं. २६५० – खिचोला मेटाई चलन चलाई पाउँ

निर्णय नं. २६५०     ने.का.प. २०४३  अङ्क – ३ फुलबेञ्च माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी...

निर्णय नं. २६५०     ने.का.प. २०४३  अङ्क – ३

फुलबेञ्च

माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह

माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान

माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी

सम्वत् २०४० सालको दे.फु.नं. ६३

फैसला भएको मिति : २०४३।२।२७।३ मा

 

निवेदक/प्रतिवादी : ल.पु.न.पं.वडा नं.१२ हौगलकुटु झोछें बस्ने काजिबाबु ताम्राकार

विरुद्ध

विपक्षी/वादी : ऐ.ऐ.इखाटोल चाडो वाकोननी बस्ने दानरत्‍न शाक्य

 

मुद्दा : खिचोला मेटाई चलन चलाई पाउँ

 

(१)         वादीको किलासमा तला थपी घर बनाएको भए उसै अवस्थामा उजूर परी बदर भएको हुनुपर्ने ।

(प्रकरण नं. १४)

 

निवेदक/प्रतिवादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी र विद्वान वरिष्ठ अधिवक्ता श्री रत्‍नलाल कनौडिया

विपक्षी/वादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री लक्ष्मणप्रसाद अर्याल र विद्वान वरिष्ठ अधिवक्ता श्री छविरमण सिटौला

 

फैसला

न्या.सुरेन्द्रप्रसाद सिंह : सर्वोच्च अदालत डिभिजनबेञ्चको निर्णय उपर निवेदकको श्री ५ महाराजाधिराजका जुनाफमा बिन्तिपत्र पर्दा बिन्तिपत्रको व्यहोरा साँचो हो र २०१३ सालको नगरपालिकाको पास पुर्जी अनुसारको नापका सम्बन्धमा विवादको किलास गारोमा अद्यापि निदाल छाना धुरी अडिई राखेको भन्ने जिकिरका सम्बन्धमा समेत प्रष्ट निर्णय भएको रहेनछ भने त्यस अदालतको डिभिजनबेञ्चबाट छिनिएको विन्तिपत्रमा लेखिएको खिचोला मेटाई चलन चलाई पाउँ भन्ने मुद्दाको मिसिल झिकी बेञ्चबाट दोहराई हेरी कानुन बमोजिम निर्णय गर्नु भन्ने मौसुफका विशेष जाहेरी विभाग मार्फत बक्स भई आएका हुकुम प्रमांगी बमोजिम पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न बमोजिम छ ।

२. गणेशबहादुर राजकर्णिकार १, लक्ष्मण विन्द १ समेत सँग रु.१६,०००।मा ०२६।४।२० मा राजीनामा पास गराई लिई भोग चलन गरेको ल.पु.न.पं.वडा नं.१२ लौगल टोल कुटु झोछें पूर्व साझा चोक पश्चिम मुल सडक, उत्तर दीलमाया हलवाईनीका घर, दक्षिण न्हुछेराज ताम्राकारको घर समेतको ४ किल्ला भित्रको घर पातालमा हाल घर बनाउनेको साँध पूर्व साझा चोक, पश्चिम मूल सडक, उत्तर दिलमायाको छोरा प्रेम कृष्णको घर, दक्षिण न्हुछेराजको पार्क काजि बाबु ताम्रकारको घर यति ४ किल्ला भित्रको घर पातालमा उत्तर पट्टि चौडाई ६ इन्च, उचाई ४ फुट भएको गाह्रो र दक्षिण पट्टि किलास लम्बाई फुट १९इन्च चौडाई फुट १।८ को पूरा गाह्रो सो गाह्रो जमीनसम्म भत्काई सोही ४ किल्ला भित्र पारी लम्बाई पूर्वतर्फ १०.१ पश्चिमतर्फ १२.७ चौडाई १९.७ इन्ची गरी नक्शा बमोजिम घर बनाउन पास पुर्जी पाउँ भन्ने समेत ल.पु.न.पं.मा दर्खास्त दिएकोमा विपक्षी काजि बाबुले दक्षिण सडकतर्फ उत्तर दक्षिण लम्बाई फुट १०।११ इन्ची मात्र हुनेले दक्षिणतर्फ मेरो घरको लम्बाई फिट १।८ इन्च चौडा फिट १९।७ इन्च मिचि आफ्नो हुने गरी दर्खास्त दिएको भन्ने उल्लेख गरी उजूरी गरेबाट जग्गामा तेरो मेरो देखिन आएकोले अदालतमा जानु भनी ल.पु.न.पं.बाट ०३३।६।६।४ मा सुनाएकोले फिराद गर्न आएको छु । घर पाताल जग्गाको नाप फुट भित्रै पारी लिखत गरिएको र त्यसबाट पनि सो किलास गाह्रो रहे भएको जग्गा समेत मलाई राजीनामा गरी दिने दाताहरूकै रहेछ भन्ने देखिन्छ । सो जग्गामा उठाई राखेको गाह्रोको दाँत मेरै जग्गातर्फ फर्किरहेको छ । किलास गाह्रो नभत्काई दिनुहोस् पक्की घर बनाउँदा भत्काई बनाउनु होला भनी विपक्षका बाबु दाजुहरूले बिन्तिभाउ गरेकोले नभत्काई खडै राखी छाडेको हो । विपक्षको निस्सा प्रमाण केही छैन विपक्षीको ०२७।५।१७।४ को बण्डापत्रमा उत्तर मेरा एकाघरको बाबु मानकाजीको घर पर्खाल भनी विपक्षीको घरको पश्चिम मोहडा उत्तर दक्षिण लम्बाई फुट १० को कित्ता एक भनी बण्डापत्रमा उल्लेख भएको छ । नाप फुट खुलाई राजीनामा पास गराई लिई भोग भएको पूर्व पश्चिम लम्बाई फुट १९.७ इन्ची उत्तर दक्षिण चौडाई फुट १२.७ इन्चीको किलास गाह्रो सहितको घर पाताल जग्गा मध्ये विपक्षको घर देखि उत्तर तर्फको मेरो सोही राजीनामा भित्रको पाताल जग्गा देखि दक्षिण साझा चोक देखि पश्चिम मूल सडक देखि पूर्व तर्फको दक्षिणतर्फ उत्तर दक्षिण लम्बाई फिट १।८ इन्च पूर्व पश्चिम चौडाई फुट १९.७ इन्च र पूर्वतर्फ लम्बाई फुट १।३ इन्च चौडाई १९.७ इन्चको किलास गाह्रो भत्काई मिची बनाउन नपावस् भनी मेरो हकको किलास गाह्रो सहितको जग्गालाई हकै नपुग्ने विपक्षको हक गराई लिने खाने उद्देश्य लिई विपक्षको हकको किलास गाह्रो भनी उजूरी दिई खिचोला गरेकोले उक्त घर किलास सहितको जग्गाको खिचोला मेटाई चलन चलाई पाँउ भन्ने समेत फिराद दावी ।

३. फिरादीको दावी फिरादीले गराई लिएको राजीनामामा उल्लेख भएको चार किल्ला तथा क्षेत्रफलबाट आधारहीन तथा बदनियतपूर्ण रहेको भन्ने प्रष्ट देखिँदा वादीले राजीनामा गराई लिएको उक्त जग्गामा २ नाले तीन तले घर थियो भन्ने यिनै वादीले दिएको दर्ता बदर मुद्दाको फिराद दावीबाट देखिएकोले वादीको किलास गाह्रो तीन तला वा ३ तला भन्दा कम हुनुपर्ने तर मेरो भनी दावी गरेको किलास गाह्रो मेरो साँढे चार तल्ले घरको माथिसम्म नै रहे भएकोले सो किलास गाह्रो मेरो घरको हो भन्ने स्पष्ट छ । वादीले दावी गरेको किलास गाह्रोमा मेरो घरको छाना समेत अडेको मेरो घरको अभिन्न अंगको रुपमा रहेको छ । ०२६ साल आश्विनमा दिएको नक्शा दर्खास्तमा दक्षिण पट्टि गाह्रो देखाई भत्काउने आदि कुनै कुरा उल्लेख गरेको छैन नयाँ नक्शा दर्खास्तमा मेरो किलासलाई आफ्नो बनाउने गलत प्रयास गरेको छ । सो किलास गाह्रो ०२६ साल पछि खडा गरेको र बनाएको भन्ने कथन नहुँदा ०२६ सालमा नक्शा दर्खास्त दिँदा भन्न लेख्‍न नसकेको कुरा ०३२ सालमा लेखी नक्शा दर्खास्त गरेकोमा न.पं.बाट पर्चा गर्दैमा म्याद शुरु हुने नभएबाट वादी दावीबाट फुर्सद पाउँ भन्ने समेत प्रतिउत्तर जिकिर ।

४. राजीनामाको नक्कल हेर्दा पूर्व पश्चिम लम्बाई १९ फिट ८ इन्च, उत्तर दक्षिण चौडाई १२फिट ७ इन्चको पाताल कित्ता १ लेखिएको विवाद परेको किलास सो राजीनामाबाट खरीद गरेको नदेखिएको हुँदा त्यस्तो आफ्नो राजीनामाबाट खरीद नगरेको गाह्रो वादीले आफ्नो भनी गलत दावी गरेको ठहर्छ भन्ने समेत ललितपुर जिल्ला अदालतको ०३४।६।२६ को फैसला ।

५.    उक्त फैसला उपर वादीको बागमती अञ्चल अदालतमा परेको पुनरावेदन ।

६. खिचोला भनेको किलास गाह्रो समेत राजीनामा लिएको देखिन नआएकोबाट हक नै गराउन नसकेको कुरा लिई दावी लिएकोलाई सही दावी गरेको भन्न नमिल्ने हुनाले वादीले गलत दावी गरेको ठहराएको इन्साफ शुरुको मनासिब ठहर्छ भन्ने समेत बागमती अञ्चल अदालतको ०३४।१०।१० को फैसला ।

७. उक्त फैसला उपर वादी दानरत्‍नको मध्यमाञ्चल क्षेत्रीय अदालतमा परेको पुनरावेदनको अनुमति पाउँ भन्ने निवेदनमा अ.बं. १७१ नं. को रीत पुर्‍याई नक्शा मुचुल्का समेत गरी निर्णय गर्नुपर्नेमा वा.अं.ब.बाट त्रुटिपूर्ण फैसला गरेको भन्ने समेत आधारमा पुनरावेदनको अनुमति प्रदान गर्ने गरेको मध्यमाञ्चल क्षेत्रीय अदालतको ०३५।३।१५ को आदेश ।

८. विवादस्पद किलास २०२६ सालको नक्शा दर्खास्तमा उल्लेख भएको किल्लाबाट राजीनामा भित्र देखिन आएको छ । नक्शा हेर्दा किलासमा दलिन निदाल घुसेको देखिँदैन र किलासको दाँती जग देखि उत्तर फर्केको छ । सो किलास वादीको पातालको घरको अभिन्न अंग भई प्रतिवादीको घरबाट स्वतन्त्र रुपमा रहेको देखिएको कारणबाट वादी दावीको किलासमा प्रतिवादीले खिचोला गरेको र सो किलास दावी अनुसार चलन पाउने समेत ठहर्छ । बागमती अञ्चल अदालतको इन्साफ उल्टी हुन्छ भन्ने समेत मध्यमाञ्चल क्षेत्रीय अदालतको ०३६।१२।१०।१ को फैसला ।

९. उक्त निर्णय उपर प्रतिवादी काजी बाबु ताम्राकारको श्री ५ महाराजाधिराजका जुनाफमा बिन्तिपत्र पर्दा इन्साफ जाँची दिनु भन्ने बक्स भई आएको प्रमांगी बमोजिम निर्णयार्थ सर्वोच्च अदालत डिभिजनबेञ्च समक्ष पेश हुँदा ०१३ सालमा गणेश राजले दिएको दर्खास्तमा किलासको हकमा छुट्टाछुट्टै आफ्नै कायम गरी नयाँ घर बनाउने भनी उल्लेख गरेको र २०२६ सालको वादीको राजीनामामा पाताल जग्गा खरीद गरेको र दक्षिण किल्ला न्हुछेराज ताम्रकारको घर भनी किल्ला राखेको देखिएकोले २०२६ सालको राजीनामामा उल्लेख भएको किल्लाबाट राजीनामा भित्रकै घर  किल्लामा देखिन आएको भनी विवादको किलास गाह्रो राजीनामा भित्र परेको भन्ने म.क्षे.अ.को इन्साफ नमिलेको हुँदा अ.बं.२०२ नं. बमोजिम विपक्षी झिकाई पेश गर्नु भन्ने सर्वोच्च अदालत डिभिजनबेञ्चको आदेश ।

१०.    निर्णयार्थ डिभिजनबेञ्च समक्ष पेश हुँदा वादीले फिराद गर्दा किलास गाह्रोको दाँति मेरै पाताल जग्गातर्फ फर्किरहेको भनी उल्लेख गरेको छ । प्रतिवादीले वादी दावी अनुसार किलास गाह्रोको दाती पाताल जग्गातर्फ फर्केको होइन भनी त्यस कुरामा कुनै खण्डन गरेको देखिँदैन, नक्शाबाट झगडा परेको किलास गाह्रोको दाती उत्तर फर्केको भन्ने र नापबाट समेत सो किलास गाह्रो वादीको खरीद गरी लिएको राजीनामाको नाप भित्रै परेको देखिन आएकोले झगडा परेको किलास गाह्रो मेरो भन्ने प्रतिवादीको जिकिर पुग्न सक्दैन म.क्षे.अ.को इन्साफ मनासिब ठहर्छ भन्ने समेत डिभिजनबेञ्चको ०३९।६।१७ को फैसला ।

११. निवेदक प्रतिवादीको तर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता द्वय श्री मुकुन्द रेग्मी तथा श्री रत्‍नलाल कनौडियाले ०२६ सालमा वादीले पाताल जग्गा मात्र राजीनामा गरी लिएको छ । वादी र वादीको दाता मिली कीर्तिबहादुर उपर दिएको दर्ता बदर मुद्दाबाट वादीले खरीद गरेको जग्गामा २ नाले तीन कवले तीन तले घर भएको भन्ने छ । मेरो पक्षको घर चार तले, हुँदा सो घरको किलास वादीको हुनै सक्दैन । २०२६ सालमा वादीले नक्शा दर्खास्त दिँदा किलासको उल्लेख गरेको छैन । किलास गाह्रोको दाँती उत्तरतर्फ फर्केको भन्ने नक्शाबाट देखिँदैन । विवादको किलास वादीको ठहराएको डिभिजनबेञ्चको इन्साफ मिलेको छैन भन्ने समेत बहस गर्नुभयो । विपक्षी वादीतर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री लक्ष्मण अर्याल तथा अधिवक्ता श्री छविरमण सिटौलाले भई आएको नक्शामा विपक्षीको घर तीनै तला देखिएको छ । नक्शामा दुइवटा इँटको दाती उत्तरतर्फ फर्केको छ । ०३१ सालको नक्शा दर्खास्तमा उत्तर ठाकुरलाल तमोटको घर किलास भन्ने उल्लेख भएको छ र घर किलास छुट्टाछुट्टै बनाउने शर्तमा नक्शा पास भएको छ । नक्शाबाट पनि पर्खाल बाहेक नै प्र.को जग्गा बढी देखिन्छ तसर्थ खिचोला ठहराएको डिभिजनबेञ्चको इन्साफ सदर हुनुपर्छ भन्ने समेत बहस गर्नुभयो ।

१२. ०४३।२।२० मा यस बेञ्च समक्ष पेश भई आज निर्णय सुनाउने तारिख तोकिएको प्रस्तुत मुद्दामा निर्णयतर्फ हेर्दा वादी दावी बमोजिमको किलास गाह्रोमा प्रतिवादीले खिचोला गरेको ठहराएको डिभिजनबेञ्चको ०३९।६।१७ को इन्साफ मिले नमिलेको के हो सो विषयमा निर्णय दिनुपर्ने हुन आयो ।

१३. यसमा वादी दानरत्‍न शाक्यले गणेशबहादुर तथा लक्ष्मण गोविन्दसँग गराई लिएको ०२६।४।२० को राजीनामाबाट विवादीत किलास गाह्रो आफ्नो हक भएको भनी दावी गरेको देखिएबाट वादीले हक प्राप्त गरेको राजीनामातर्फ नै सर्वप्रथम दृष्टि दिन पर्ने हुन आयो । उक्त राजीनामाबाट पूर्व साझा चोक, पश्चिम मूल सडक, उत्तर दिलमाया हलवाइनीको घर, दक्षिण न्हुछेराज ताम्राकारको घर यति चार किल्ला भित्रको घर भत्की पाताल भएको घर पाताल कित्ता वादीले राजीनामा गराई लिएको देखिन्छ । उक्त राजीनामा लिखतमा कतै पनि किलास गाह्रोको उल्लेख भएको देखिँदैन । ०२६।४।२० मा राजीनामा लिएपछि वादीले ललितपुर न.पं.मा नक्शा दर्खास्त दिँदा दक्षिण साँध न्हुछेराज ताम्रकारको घर भन्ने उल्लेख भएको देखिन्छ । न्हुछेराज यी प्रतिवादी काजी बाबुको दाजु भएकोमा विवाद देखिँदैन । यदि वादीले लिएको पाताल जग्गामा विवादको किलास समेत रहेको भए उक्त किलासको बारेमा पनि नक्शा दर्खास्तमा केही कुरा उल्लेख भएको हुनुपर्ने हो तर विवादको किलास बारेमा कुनै कुरा उल्लेख भएको देखिँदैन । वादीले २०३२ सालमा आएर नक्शा दर्खास्त दिँदा मात्र दक्षिणपट्टि पुरा गाह्रो भएको सो गाह्रो  जमीनसम्म भत्काउने कुरा उल्लेख भएको देखिन्छ । २०३२ सालमा मौजूद रहेको गाह्रो २०२६ सालमा मौजूद नरहने अवस्था रहँदैन । के कारणबाट २०२६ सालको नक्शा दर्खास्तमा सो किलास गाह्रोको कुरा उल्लेख नभएको हो वादीले खुलाउन सकेको देखिँदैन ।

१४. ललितपुर नगरपालिकाबाट ०१३।२।३१ मा पास पुर्जी पाएपछि प्रतिवादीले आफ्नो घरको माथिल्लो एक तला थपेको र उक्त नक्शा सम्बन्धमा सरजमीन हुँदा वादीको बाबु मानकाजीले सहिछाप गरी दिएको भन्ने प्रतिवादीको जिकिर देखिन्छ । सो कुरालाई होइन भन्न वादीले सकेको छैन । उक्त पास पुर्जीमा नक्शा पुर्जी बमोजिम बनाउँदा किलासको हकमा आफ्नो छुट्टाछुट्टै कायम गरी बनाउने भन्ने शर्त परेको देखिन्छ । प्रतिवादीले उक्त शर्तको उल्लंघन गरी घर वादीको किलासमा तला थपी घर बनाएको भए उसै अवस्थामा उजूर गरी बदर भएको हुनु पर्ने, त्यस्तो केही भएको मिसिलबाट देखिँदैन । यस अदालतको आदेश बमोजिम ०४१।२।११ मा भई आएको नक्शामा पनि बुईगल तलामा धुरी अडाउने थाम निदाल धुरी बलो भ्याल्सी दलिन विवादीत गाह्रोमा अडेको भन्ने उल्लेख भई आएको देखिन्छ । विवादीत गाह्रोमा माथि उल्लेख गरे बमोजिम थाम निदाल आदि अडेपछि उक्त त्यस्तो थाम निदाल अडेको गाह्रो प्रतिवादीको नभई वादीको रहेछ भनी मान्न सकिने अवस्था देखिएन ।

१५.   अतः उपर्युक्त कारणहरूबाट विवादीत किलास गाह्रोमा वादीको हक पुग्न सक्ने नदेखिँदा उक्त किलास गाह्रो प्रतिवादीले खिचोला गरेको ठहराएको मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ सदर गरेको सर्वोच्च अदालत डिभिजनबेञ्चको ०३९।६।१७ को इन्साफ मिलेको देखिएन । वादी दावी नपुग्ने ठहराएको शुरु ल.पु.जि.अ.को इन्साफ सदर गरेको बागमती अञ्चल अदालतको इन्साफ मनासिब ठहर्छ । अरु तपसील बमोजिम गर्न

तपसील

माथि इन्साफ खण्डमा वादी दावी नपुग्ने ठहरेकोले वादीले दाखिल गरेको कोर्टफी प्रतिवादीबाट भराउने र किलास चलन पाउने ठहराएको मध्यमाञ्चल क्षेत्रीय अदालतको ०३६।१२।१० को फैसला बमोजिम गर्नु पर्दैन व्यहोरा जनाई लगत कट्टा गरी दिनु भनी का.जि.अ.त.मा लगत दिनु………… १

माथि इन्साफ खण्डमा वादी दावी नपुग्ने ठहरेकोले प्रतिवादीको मुद्दा दोहर्‍याउँदा यस अदालतका आदेश बमोजिम ०४०।१२।१२ मा दाखिल गरी सदर स्याहा भएको कोर्टफी रु.१२।वादीबाट भरी पाँउ भनी कानुनका म्यादभित्र दर्खास्त परे कानुन बमोजिम वादीबाट भरी पाउँ भनी कानुनका म्यादभित्र दर्खास्त परे कानुन बमोजिम वादीबाट भराई दिनु भनी ऐ.ऐ.मा पठाउन ऐ.ऐ.मा लगत दिनु …… २

मिसिल नियम बमोजिम गरी बुझाइदिनू …..३

 

उक्त रायमा हामीहरूको सहमती छ ।

न्या. हरगोविन्द सिंह प्रधान

न्या. हरिहरलाल राजभण्डारी

 

इति सम्वत् २०४३ साल आषाढ २७ गते रोज ३ शुभम् ।