June 27, 1986
Created by nepalarchives

निर्णय नं. २६४९ – आगलागी

निर्णय नं. २६४९     ने.का.प. २०४३  अङ्क – ३ फुलबेञ्च माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत्...

निर्णय नं. २६४९     ने.का.प. २०४३  अङ्क – ३

फुलबेञ्च

माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह

माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला

माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा

सम्वत् २०४२ सालको फौ.फु.वे.नं. ३१

फैसला भएको मिति : २०४३।३।१३।६ मा

 

पुनरावेदक/प्रतिवादी : जिल्ला दाङ पवन नगर गा.पं.वार्ड नं.७ अधेरे बस्ने निमराज कडेल

विरुद्ध

विपक्षी/वादी : श्री ५ को सरकार

 

मुद्दा : आगलागी

 

(१)         एकपटक प्रहरी प्रतिवेदन दायर भइसकेपछि संकलित थप सबूद प्रमाणहरूबाट अरु पनि अभियुक्त देखिन आएमा त्यस अभियुक्त उपर सजायँको माग गरी पुनः अर्को प्रहरी प्रतिवेदन दायर गर्न सक्ने ।

(प्रकरण नं. २९)

 

पुनरावेदक/प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री श्यामप्रसाद खरेल

 

फैसला

न्या.सुरेन्द्रप्रसाद सिंह : डिभिजनबेञ्चबाट माननीय न्यायाधीशहरूको बीचमा मतैक्य हुन नसकी सर्वोच्च अदालत नियमावली, २०२१ बमोजिम यस फुलबेञ्चमा पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यसप्रकार छ :

२. २०३७ साल ज्येष्ठ २ गते राती सुती निदाएको बखत अन्दाजी १२ बजेको समयमा भान्छा घरको पश्चिम तर्फबाट आगलागी भई तातोले जागी गाउँका मानिस समेतलाई कराई आगो निभाउँदा निभाउँदै मिल समेतका ३ वटा घर जली रु.१,०९,५००।५० को धनमाल नोक्सान भएको, दाङ अंधेरे बस्ने डिल्लीराज भुसालले नै आगो लगाएको हो भनी गाउँका मानिसबाट थाहा भएकोले जली नोक्सान भएको उक्त बिगो दिलाई निज अभियुक्तलाई पक्री सजायँ गरिपाउँ भन्ने ०३७।२।४ को शोभाकर बस्यालको जाहेरी दर्खास्त ।

३. रक्सी खाएको झोकमा खल्तीबाट सलाई झिकी मिल घरको पश्चिम उत्तरतर्फको शुरुबाट फुसको छानोमा आगो झोसी आफ्नो घर गएको हुँ भन्ने समेत ०३७।२।५ मा डिल्लीराजले प्रहरीमा गरेको बयान ।

४. निमराज कडेल र डिल्लीराज भुसाल समेतले काट्छु मार्छु भन्दै रहन्थे, म घरमा नभएको मौका पारी बाबु, श्रीमती, छोरा, छोरीलाई भित्रै मार्ने नियतले आगो लगाई दिएको मलाई शंका लाग्ने निमराज कडेलले बचन दिने र डिल्लीराज भुसालले आगो लगाउने गरी बिगो रु.१७,९४०।धनमाल नोक्सान पारी दिएकोले शोभाकर बस्यालले दिएको दर्खास्तमा छुटफुट सम्बन्धमा दर्खास्त गर्न आएको छु, शंका लाग्ने निमराज कडेललाई पक्री कारवाही गरिपाउँ भन्ने ०३७।२।१४ को खगेन्द्र बस्यालको अर्को जाहेरी दर्खास्त ।

५.    जाहेरवालाको घरमा आगो लागेको देखी म समेतले आगो निभाएको हु । प्र.पं.समेतले डिल्लीराजलाई सोधपूछ गर्दा मैले आगो लाएँ माफ पाउँ भनेपछि प्रहरीले पक्राउ गरी लगेको हो, मैले निजलाई आगो लाउन सिकाएको होइन भन्ने ०३७।२।१७ को निमराजको प्रहरीमा बयान ।

६. निमराज र डिल्लीराज पाण्डे राम्रो चाल चलन भएको मानिस हुँदा आगो लगाएकोमा शंका पनि लाग्दैन भन्ने समेत अधिकांश मानिसहरूको भनाई भएको ०३७।२।९ को सरजमीन मुचुल्का ।

७. अभियोग स्वीकार गर्ने डिल्लीराज भुसाललाई आगो लगाउनेको ५ नं. बमोजिम सजायँ गरिपाउँ निमराज र डिल्लीराज पाण्डेले आगो लगाउन पठाएको कुरा कतैबाट खुल्न नआएकोले सबूद प्रमणको अभावमा निमराज कडेल उपर मुद्दा चलाउन नमिल्ने भन्ने समेत ०३७।२।१९ को प्रहरी प्रतिवेदन ।

८. मैले आगो लगाएको होइन, निमराज कडेलले आगो लगाइदे भनेकाले लगाएको हुँ भनी बयान गर्नु तिमी बची हाल्छौं भनी प्र.पं.बामदेवले भनेकाले प्रहरीमा सोही कुराको बयान गरेको हुँ, बामदेव र निमराज कडेलको निर्वाचन सम्बन्धी रिसइवी थियो भन्ने समेत डिल्लीराज भूसालको ०३७।२।१९ मा अदालतमा बयान ।

९. मेरो मिल तथा घरमा निमराज कडेल, डिल्लीराज पाण्डे र डिल्लीराज भूसाल समेत भई रातीको अवस्था ज्यानै मरोस् भन्ने उद्देश्यले आगो लगाई दिएको हो, आगो लगाएकोमा निजहरू तिनै जनालाई सजायँ गरी आगलागीबाट भएको धनमालको क्षति निजहरूबाटै दिलाई भराई पाउँ भन्ने समेत जाहेरवाला शोभाकर बस्यालको अदालतमा बकपत्र ।

१०.    मेरो बाबु शोभाकरले दिएको दर्खास्तमा क्षतिग्रस्त धनमालको बिगो उल्लेख हुन छुट भएको ज्ञान भएपछि छुट भएको धनमालको मूल्य १७९४०।को बिगो समावेश हुन भनी मैले ०३७।२।१४ मा पुनः दर्खास्त दिएको हु । सो बिगो समेत समावेश भई उपरोक्त अपराध गर्ने व्यक्तिहरूलाई सजायँ गरी दर्खास्तहरू  बमोजिमको बिगो समेत भराई पाउँ भन्ने जाहेरवाला खगेन्द्र बस्यालको अदालतमा बकपत्र ।

११. जाहेरवाला खगेन्द्र राज र निज निमराजहरूको पहिलेदेखि नै ठूलो रिसइवी समेत परी रहेको कारणबाट त्यस दिन निमराजले मैले आगो लगाएको रहेछ भन्ने कुरा प्रष्ट देखियो भन्ने समेत मिति ०३७।९।२६ को दोश्रो सरजमीनमा अधिकांश सरजमीनहरूको भनाई ।

१२. तुल्सा घिमिरेको घरमा रक्सी खाएर आएपछि डिल्लीराज पाण्डे आफ्नो घरतर्फ लागे निमराज कडेल मिल घरतर्फ आई खगेन्द्रराजको मिल घरको पश्चिम तर्फबाट सलाई कोरी आगो लगाई आएछन् । निमराजले सिमको १ विगहा खेत र १० कठ्ठा बारी तिम्रो नाउँमा पास गरी दिन्छु तिमीलाई परे म बचाउँछु मैले आगो लगाएको भन्नु भनेकोले विश्वास लागी मैले नगरेको अपराध (कसूर) भए पनि स्वीकार गरी शोभाकरको पाउमा परी माफी पनि मागेको हुँ । निमराजलाई नपोल्नु भनेकोले निमराजले आगो लगाएका हुन् तापनि मैले नै आगो लगाएको हुँ भनी प्रहरी थानामा कागज गरी दिएको हुँ भन्ने समेत व्यहोराको प्र.डिल्लीराज भुसालको मिति ०३७।९।२६।६ को प्रहरीमा भएको ततिम्बा कागज ।

१३. आगो लगाउनेको २ नं. र ५ नं. बमोजिम कसूर गरेको देखिन आएकोले ऐ.को ५ नं. र ज्यानसम्बन्धीको १५ नं. बमोजिम निमराजलाई बिगो भराई सजायँ हुन र डिल्लीराज भुसाललाई ऐ.ऐनको ७ नं. बमोजिम कारवाही गरिपाउँ भन्ने मिति ०३७।१०।१ को दोश्रो प्रहरी प्रतिवेदन ।

१४. डेढ विघा जग्गा दिन्छु, जेल परे बचाउँछु भनी निमराजले भनेकाले आगो लगाएको हुँ भनी भनेको हुँ, आगो मैले लगाएको नभई निमराजले नै लगाएका हुन् भन्ने समेत व्यहोराको ०३७।१०।१ को डिल्लीराज भुसालको अदालतमा पुनः बयान ।

१५.   प्र.पं.बामदेवसंग चुनाव सम्बन्धी रिसइवी भएकोले डिल्लीराज भूसाललाई सिकाई बयान गर्न लगाएका होलान्, वारदातका दिन म बर्दियामा हुँदा मैले आगो लगाएको होइन भन्ने समेत व्यहोराको ०३७।१२।१० को प्र.निमराजको अदालतमा बयान ।

१६. निमराज, डिल्लीराजले सलाई जलाई फुसको छानो भएको घरमा आगो लगाएका हुन् भन्ने समेत सरजमीनका तुल्सीरामले अदालतमा गरेको बकपत्र ।

१७. आगो लगाई दिएकोमा निमराज उपर शङ्का लाग्छ भन्ने समेत सरजमीनका दयाराम भट्टराईको अदालतमा बकपत्र ।

१८. आगो लगाई दिएकोमा निमराज, डिल्लीराज उपर शङ्का लाग्छ भन्ने समेत भट्टीवालनी तुल्सा घिमिरेको अदालतमा बकपत्र ।

१९. एउटै अपराधमा दोहोरो दावी लिन नमिल्नुको अतिरिक्त निमराजले आगो लगाएको हो भनी कसैले भन्न नसकी केहीले मात्र शङ्का सम्म देखाएको र निजका साक्षीले समेत निज बाँकेमा आफ्ना साना बाबुकहाँ गएका थिए भनी बकी दिएका समेत हुँदा निमराजले जाहेरवालाको घरमा आगो लगाएको ठहर्दैनप्र.डिल्लीराज भुसालले आगो लगाएको ठहर्छ भन्ने समेत ०३८।९।५ को जिल्ला अदालत दाङको फैसला ।

२०.   उक्त फैसला उपर श्री ५ को सरकारको पुनरावेदन ।

२१. शुरु जि.अ.को फैसला मिलेको नदेखिँदा अ.बं. २०२ नं. बमोजिम झगडीया झिकाउने भन्ने म.प.क्षे.अ.को आदेश ।

२२. अनधिकृत व्यक्तिबाट भएको सरजमीन बदर भई अदालतको आदेशानुसार दोश्रो सरजमीन हुँदा मुद्दा चलाउन सबूद पुग्ने भनी निमराज कडेलका हकमा दावी लिई पर्न आएको प्रहरी प्रतिवेदन अ.बं. ८८ को कानुन अनुरुप नभएको भन्न मिलेन । निर्दल बहुदल सम्बन्धमा विवाद भएको रिसइवीबाट निमराज समेतले आगो लगाएको भनी खगेन्द्रराज बस्यालले जाहेरी दिएका, बुझिएका सरजमीनका मानिसहरू मध्ये धेरैले प्रतिवादी  समेत उपर कसूर देखाई बकपत्र गरेको, मौकाको व्यक्ति तुल्सी घिमिरेनीले घटना घटेको दिन बेलुकीपख निमराज र डिल्लीराजले मेरो भट्टीमा रक्सी पिई घर जाउँ भनी भट्टीबाट साथै गएका हुन् भन्ने व्यहोराको मौकाको कागजलाई समर्थन गरी अदालतमा बकपत्र परी दिएको, निमराज अपराधमा संलग्न रहेको भनी प्रहरी तथा अदालतमा डिल्लीराज भुसालले गरेको बयान अन्य स्वतन्त्र प्रमाणहरूबाट समर्थित हुन आएको मिसिलबाट देखिएकोले निमराजको इन्कारी सत्यता बाहिर भई निज निमराज वारदातमा सम्मिलित थिएन भन्न मिलेन । तर निजैले आगो लगाएको भन्ने कुराको ठोस प्रमाणको अभाव हुँदा आगो लगाउने क्रियामा डिल्लीराज भुसालसँग मतियार सम्म देखिँदा आगो लगाउनेको ७ नं. बमोजिम २ वर्ष कैद हुने ठहर्छ र प्र.डिल्लीराज भुसाललाई आगो लगाउनेको ५ नं. बमोजिम सजायँ भई शुरुबाट भएको फैसलामा चित्त बुझाई पुनरावेदन नगरी बसेको देखिन्छ भन्ने समेत म.प.क्षे.अ.को ०४०।२।२४ को फैसला ।

२३. उक्त फैसलामा सार्वजनिक महत्वको विषयमा प्रत्यक्षतः गम्भीर त्रुटि भएकोले पुनरावेदन गर्न अनुमति पाउँ भन्ने प्र.निमराज कडेलको निवेदन परेकोमा अ.बं. ८८ नं. को विपरीत दायर भएको मुद्दामा प्रतिवादीलाई सजायँ गर्ने गरी म.प.क्षे.अ.ले उक्त ऐनको प्रत्यक्षतः गम्भीर त्रुटि गरेको देखिएकोले न्याय प्रशासन सुधार ऐन, ०३१ को दफा १३(५)(ख) अनुसार पुनरावेदन गर्ने अनुमति प्राप्त भई प्रस्तुत मुद्दा डिभिजनबेञ्चमा पेश भएको रहेछ ।

२४. मुलुकी ऐन अ.बं. ८८ नं. को व्यवस्थानुसार अरु अभियुक्त छन् भनी पुनः प्रहरी प्रतिवेदन दायर गर्न बन्देज नभएबाट अदालतको आदेशले अनाधिकृत व्यक्तिबाट गराएको भनी पहिलो सरजमीन बदर भई अधिकृत व्यक्तिबाट अर्को सरजमीन हुँदा मुद्दा चलाउन सबूद प्रमाण पुग्ने भनी पु.प्र. निमराज कडेलको हकमा दावी लिई पर्न आएको दोश्रो प्रहरी प्रतिवेदन कानुन अनुरुप भएन भन्न नमिल्ने हुँदा यस्तो अवस्थामा निज प्र. निमराज उपर दोहोरो दावी भयो भनी भन्न सकिने अवस्था रहेन । प्र.निमराज कडेल डिल्लीराज भुसालसँग अपराधमा मतलबी मतियार सम्म रहे भएको भन्ने निर्विवाद रुपमा देखिन आएकोले निज निमराजलाई मुलुकी ऐन आगो लगाउनेको ७ नं. अनुसार २ वर्ष कैद गर्ने गरेको म.प.क्षे.अ.को इन्साफ मनासिब ठहर्छ भन्ने समेत माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंहको राय ।

२५.   प्र.निमराज कडेल उपर पहिलापटक प्रहरी प्रतिवेदन दायर गर्दा सबूद प्रमाणको अभावमा मुद्दा चलाउन नसकिने भनी राय पेश गरेपछि निजै उपर सजायँको दावी लिई पुनः अर्को पटक प्रहरी प्रतिवेदन पेश गरेको अ.बं. ८८ नं. को अनुकूल भयो भन्न सकिने स्थिति रहेन । तसर्थ त्यस्तो कानुन विपरीत दायर भएको प्रहरी प्रतिवदनको आधारमा पु.प्र. निमराजलाई सजायँ गर्ने गरेको म.प.क्षे.अ.को इन्साफ मिलेको नदेखिँदा उल्टी हुने ठहर्छ भन्ने माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारीको राय भई मिति ०४१।११।३०।४ मा डिभिजनबेञ्चबाट निर्णय भएको रहेछ ।

२६. नियम बमोजिम आज यस बेञ्चमा पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीका तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री श्यामप्रसाद खरेलले अदालतमा एकपटक प्रहरी प्रतिवेदन परी सकेपछि प्रहरीले पुनः ततिम्बा गराउन सक्दैन । यदि पुरक प्रहरी प्रतिवेदन परेको भए अ.बं. ८८ नं. बमोजिम डिल्लीराजलाई फेरि प्रतिवादी बनाउनु पर्दैन । ठोस सबूद प्रमाणको अभावमा मुद्दा चलाउन नसकिने भनी सकेको व्यक्तिका हकमा पुनः सजायँको माग गरी प्रहरी प्रतिवेदन दायर गर्नु अ.बं. ८८ नं. को विपरीत हुने हुनाले त्यस्तो कानुन विपरीत दायर भएको प्रहरी प्रतिवेदनको आधारमा मेरो पक्षलाई सजायँ गर्ने गरेको म.प.क्षे.अ.को त्रुटिपूर्ण निर्णय उल्टी हुने ठहराउनु भएको डिभिजनबेञ्चका माननीय  न्यायाधीश श्री हरिहरलाल राजभण्डारीज्यूको राय सदर हुनुपर्छ भन्ने समेत बहस गर्नुभयो ।

२७. डिभिजनबेञ्चमा निर्णयको लागि यो मुद्दा पेश भएकोमा मुलुकी ऐन अ.बं. ८८ नं. अनुसार दोहोरो प्रहरी प्रतिवेदन दायर हुन सक्ने कि नसक्ने र सो दोहोरो प्रहरी प्रतिवेदनको आधारमा प्र. निमराजलाई सजायँ गर्न मिल्छ वा मिल्दैन भन्ने विषयमा डिभिजनबेञ्चका माननीय न्यायाधीशहरूको बीचमा मतैक्य हुन नसकी निर्णयार्थ यस फुलबेञ्चमा मिति ०४३।३।३।२ मा पेश भई आज निर्णय सुनाउने तारिख तोकिएको रहेछ ।

२८. अतः सर्व प्रथम यस मुद्दामा ठोस सबूद प्रमाणको अभावमा निमराज कडेल उपर मुद्दा चलाउन नसक्ने भनी पहिलो प्रहरी प्रतिवेदन दायर गरी सकेपछि अ.बं. ८८ नं. बमोजिम पुनः निज निमराज कडेल उपर सजायँको माग गरी दोश्रो प्रहरी प्रतिवेदन दायर गर्न सकिन्छ कि सकिदैंन र उक्त दाश्रो प्रहरी प्रतिवेदनको आधारमा निज उपर मुद्दा चलाउन मिल्छ मिल्दैन निर्णय गर्नुपर्ने हुन आयो ।

२९. यस कुराको निर्णय गर्नको लागि मुलुकी ऐन, अ.बं. ८८ नं. को व्यवस्थालाई अवलोकन गर्नु अत्यावश्यक हुन आउँछ । अ.बं. ८८ नं., मा श्री ५ को सरकार वादी हुने फौज्दारी मुद्दामा फिरादपत्र, प्रतिउत्तरपत्र वा बयान सो मुद्दा हेर्ने अड्डामा एकपटक दिइसकेपछि अरु पनि अभियुक्त हुन् वा छन् भनी उसै मानिसले पछि थपी लेखी दिएको सदर हुँदैन । प्रहरी प्रतिवेदनको हकमा भने यो बन्देज रहने छैनभन्ने व्यवस्था भएको देखिन्छ । अ.बं.८८ नं. को यस व्यवस्थाले श्री ५ को सरकार वादी हुने फौजदारी मुद्दामा फिरादपत्र, प्रतिउत्तरपत्र वा बयानमा मात्र पुनः अरु अभियुक्तहरू छन् भनी थप्न बन्देज लगाएको देखिन्छ । प्रहरी प्रतिवेदनको हकमा भने यो बन्देज रहने छैन भन्ने स्पष्ट व्यवस्था गरिएबाट एकपटक प्रहरी प्रतिवेदन दायर भइसकेपछि संकलित थप सबूद प्रमाणहरूबाट अरु पनि अभियुक्त देखिन आएमा त्यस अभियुक्त उपर सजायँको माग गरी पुनः अर्को प्रहरी प्रतिवेदन दायर गर्न सक्ने देखिन आयो । प्रस्तुत मुद्दामा अदालतको आदेशले अनधिकृत व्यक्तिबाट गराएको भनी पहिलो सरजमीन बदर भई अधिकृत व्यक्तिबाट अर्को सरजमीन हुँदा मुद्दा चलाउन सबूद प्रमाण पुग्ने भनी पुनरावदेक प्रतिवादी निमराज कडेलको हकमा दावी लिई दोश्रो प्रहरी प्रतिवेदन पर्न आएको देखियो । तसर्थ एकपटक सबूद प्रमाणको अभावमा मुद्दा चलाउन नमिल्ने भनिएको व्यक्ति उपर सजायँको माग गरी पुनः अर्को प्रहरी प्रतिवेदन दायर गर्नु अ.बं. ८८ नं. को विपरीत छ भन्ने पुनरावेदक तर्फका विद्वान अधिवक्ताले लिनु भएको जिकिरसँग यो बेञ्च सहमत हुन सकिएन ।

३०. अब पुनरावेदक प्रतिवादीलाई सजायँ गर्ने गरेको निर्णय मिलेको छ छैन भन्नेतर्फ हेर्दा जनमत संग्रहको बेला निर्दल र बहुदल भन्ने विषयमा झगडा भई सो को रिसइवीबाट निमराज समेत भई आगो लगाएको हो भन्ने किटानी जाहेरी खगेन्द्र बस्यालको परेको देखिन्छ । यी जाहेरवाला खगेन्द्र बस्याल र जाहेरवाला शोभाकर बस्यालले यी पुनरावेदक प्रतिवादी निमराज कडेल समेत भई आगो लगाएको हुन भनी अदालतमा बकपत्र गरी दिएको पाइन्छ । अधिकांश सरजमीनका व्यक्तिहरूले निमराज कडेल समेत उपर कसूर गरेको भनी लेखिदिएको र ती सरजमीनका व्यक्तिहरू मध्ये तुल्सी राम बस्याल, दयाराम भट्टराई र गुमान सिं समेतले निमराज कडेल समेत भई आगो लगाएका हुन भनी अदालतमा आई बकपत्र गरी दिएका छन् । मौकाको व्यक्ति तुल्सी घिमिरेनीले मौकामा तथा अदालतमा आई निमराज कडेल तथा प्र.डिल्लीराज भूसाल घटना भएको बेलुकी पख मेरो भट्टीमा रक्सी खाई घर जाउ भनी साथै गएका भनी बकी लेखाएकी छिन् सहअभियुक्त डिल्लीराज भुसालले यो प्रतिवादी निमराज कडेल अपराधमा संलग्न रहेको भनी प्रहरीमा तथा अदालतमा बयान गरेको कुरा  मिसिलबाट देखिन आउँछ ।

३१. अतः यि पुनरावेदक प्रतिवादी निमराज कडेल वारदातको दिन आफू अन्यत्र थिए भनी अपराध गरेकोमा इन्कारी रहे तापनि माथि लेखिएका सबूद प्रमाणहरुबाट निज निमराज कडेल अपराधमा संलग्न नभएको भन्न मिलेन । पुनरावेदक प्रतिवादी निमराज कडेलले नै जाहेरवालाको घरमा आगो लगाएको भन्ने सबूद प्रमाणको अभाव रहेको र आगो लगाएकोमा सजायँ पाएका प्र. डिल्लीराज भूसालले जिल्ला अदालतको फैसला उपर चित्त बुझाई बसेको समेत देखिँदा प्र.निमराज कडेल डिल्लीराज भुसालसँग अपराधमा मतलवी मतियार सम्म रहे भएको भन्ने निर्विवाद रुपमा देखिन आएकोले निज पु.प्र. निमराज कडेललाई मुलुकी ऐन आगो लगाउनेको ७ नं. अनुसार २ वर्ष कैदको सजायँ गरेको म.प.क्षे.अ.को इन्साफ मनासिब ठहर्‍याएको डिभिजनबेञ्चका माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंहको राय मनासिब ठहर्छ । पुनरावेदक प्रतिवादी निमराज कड्ल के म.प.क्षे.अ.को फैसला उपर पहिलो पुनरावेदन गरेमा मुलुकी ऐन, अ.बं. २०३ नं. बमोजिम म.प.क्षे.अ.को फैसलाले गरेको कैद वर्ष दुई (२) को सयकडा दश (१० प्रतिशत) ले कैद महीना ।२।१२ दुई महीना बार्‍ह दिन थप कैद हुन्छ । बेरुजु हुँदा ऐन बमोजिम असूल गर्नु भनी का.जि.अ.मा लगत दिई मिसिल नियम बमोजिम गरी बुझाइदिनू ।

 

उक्त रायमा हामी सहमत छौं ।

न्या. गजेन्द्रकेशरी बास्तोला

न्या. महेशरामभक्त माथेमा

 

 

इति सम्वत् २०४३ साल आषाढ १३ गते रोज ६ शुभम् ।