निर्णय नं. २६४७ – कर्तव्य ज्यान
निर्णय नं. २६४७ ने.का.प. २०४३ अङ्क – ३ फुलबेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री हरगोविन्द सिंह...
निर्णय नं. २६४७ ने.का.प. २०४३ अङ्क – ३
फुलबेञ्च
सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह
माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह
माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान
सम्वत् २०४१ सालको फौ.फु.नं. ७
फैसला भएको मिति : २०४३।३।१०।३ मा
निवेदक/प्रतिवादी : जिल्ला बाँके कम्दी गा.पं.वडा नं.४ भसाहा बस्ने रमजान अलिशेषसमेत
विरुद्ध
विपक्षी/वादी : विष्णुप्रसादको जाहेरीले श्री ५ को सरकार
मुद्दा : कर्तव्य ज्यान
(१) अस्पतालको छाप नलागेको डिस्चार्ज टिकटलाई आधार बनाई प्रतिवादीहरू वारदातमा नरहेको भन्न नमिल्ने ।
(प्रकरण नं. २९)
निवेदक/प्रतिवादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठ
विपक्षी/वादीतर्फबाट : विद्वान का.मु.अतिरिक्त न्यायाधिवक्ता श्री भैरवप्रसाद लम्साल
फैसला
प्र.न्या.धनेन्द्रबहादुर सिंह : यस अदालतको डिभिजनबेञ्चबाट मिति २०३९।१२।३।५ मा कर्तव्य ज्यान मुद्दामा भएको फैसला फुलबेञ्चबाट दोहर्याई पाउँ भनी निवेदकले श्री ५ महाराजाधिराजका हजूरमा बिन्तिपत्र चढाउनु भएकोमा त्यसमा व्यहोरा साँचो भए त्यस अदालतबाट छिनिएको बिन्तिपत्रमा लेखिएको कर्तव्य ज्यान मुद्दाको मिसिल झिकी फुलबेञ्चबाट दोहर्याई कानुन बमोजिम गर्नु भन्ने विशेष जाहेरी विभाग मार्फत हुकूम बक्स भई यस अदालतको फुलबेञ्चको लगतमा दर्ता भई निर्णयार्थ यस बेञ्चमा पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यसप्रकार छ :
२. ०३१।७।१८ गते विहान अं.१० बजे काम्दी गा.पं.वार्ड नं. ९ मौजे छगडहवा भन्ने लगदहवाको उकाश मुद्दा जिति पाएको जग्गामा लागेको धान बाली हेर्न भनी मेरो बाबु बामनप्रसाद उपाध्याय १, रहिम बस मनिहार १ तथा म समेत ३ जना भई माया गिरीको घरमा रातमा बसी भोलिपल्ट उक्त जिति पाएको जग्गामा अं.१ बजे जाँदा भू.पू.प्र.पं.सदिक खाँ पठान १, सन्दिक शेष १, सन्दिक शेषको भाइ अजिज शेष १, नासिर मुसलमान १, समेत ४ जना लाठी लिई उभिरहेका र पूर्णध्वज गिरी १, निजको भतिजा धनबहादुर गिरी १, महमत तकी खाँ १, प्र. पं.दुर्गाप्रसाद कुर्मीको दाजु नाउँ नजानेको देखी चिन्न सक्ने १, मुन्सी खाँ पठान १ समेतका र नाउँ नजानेका अं.२०,२५ जना मानिसहरू मध्ये कोही खेतको बाली काटिरहेका र कोही खेतमा बसेका कसैको हातमा लठी र कसैको हातमा हँसिया थियो । मर्ने मेरो बाबु बामनप्रसादले यो जग्गामा झगडा परी कारवाही चली रहेकाले रोक्का राख्नु पर्छ भनी भन्दा हामी रोक्का राख्दैनौं धेरै कुरा गर्यो भने ज्यान मारी दिनेछौं भनी सन्दीक शेषले भनेको र पुनः बामनप्रसादले धान काटी लान पाउँदैनौं भन्दा के देखेका छौं मार जे परे पर्ला देखा जाला भनी सन्दिक खाँ पठानले वचन दिनासाथ निज सन्दिक शेषले आफ्ना हातमा लिएको कुकाठको लठ्ठीले मेरो बाबु मर्ने वामनप्रसादलाई टाउकोमा प्रहार गर्दा बाबु भूइँमा खसी कराउँदा अजिज शेष, मुन्सी शेष, नसीर मुसलमान समेतले लाठीले प्रहार गरेका र अन्तिम चोट सन्दिक शेषले लाठीले हान्दा बाबु वामनप्रसाद मरे भनी कराउनु भई मर्नु भएको र माया गिरीले बचाउ गर्दा सबै लेखिएका व्यक्तिहरू भई माया गिरीलाई लाठीले मर्न बाँच्न दोसाँध गरी दिएका र मलाई पनि मुन्सी खाँ, पञ्च नसिर खाँ, मुसलमान, अजिज शेष, भू.पू.प्र.पं.सदिक खाँ समेत भई रगतपच्छे पारी कुटेकाले मर्ने मेरा बाबु वामनप्रसादको लास तथा माया गिरी र दर्खास्तवाला समेतलाई गाउँलेहरूले भेरी अञ्चल अस्पतालमा दाखिल गरेको हुनाले दर्खास्त गरेको छु कानुन बमोजिम कारवाई गरिपाउँ भन्ने विष्णुप्रसाद उपाध्यायको मिति ०३१।७।२०।३ को जाहेरी दर्खास्त ।
३. मुख निधार सबै रगतले मुछिएको दाहिने आँखा फुटेको सो आँखामा वरिपरि ३ इन्च गोलाई भएको घाउ भएको, देव्रे आँखा सुनिई चिम्लिएको र सोही आँखा माथि १।। इन्च लम्बाई १ इन्च गोलाई भएको टाउँको पछाडि दाहिने पट्टि टाउकोमा आधा इन्च गहिराई ३ इन्च लम्बाई काटेको चोट देखिएको अन्यत्र शरीरमा कतै चोट नदेखिएको मुख बाएको भन्ने समेत मिति ०३१।७।२०।३ को लाश प्रकृति मुचुल्का ।
४. मुन्सी पठान र संदिक सेखले वामनप्रसादलाई लठ्ठीले टाउकोमा हानेको ४०० गज जति फरकबाट खुद मैले देखेको हुँ सो घटना देखेर नमार नमार भन्दै घटनास्थल पुग्दा सन्दिक पठानले यसलाई पनि मारी देउ भन्नासाथ मुन्सी पठान र अर्को एक जना नाउँ थाहा नपाएकोले मेरो हातमा र टाउकोमा समेत लठ्ठीले हानेपछि म बेहोस भई लडें र अस्पतालमा आएपछि उपचार हुँदा हुँदै होस्मा आएको हुँ भन्ने समेत माया गिरीको प्रहरीमा भएको बयान कागज ।
५. म वारदात भएको ठाउँमा पुग्दा बापनप्रसाद निजको छोरा यो जाहेरवाला, सन्दिक शेष, रमजान, अलिशेष र अरु नचिनेका २०।२२ जना धानको विषयलाई लिएर झगडा गरी रहेको अवस्थामा माया गिरी आई पुगेर यो धान सबै वामनप्रसादको हो यो धान सबै मेरो घरमा लैजाउ भनी भन्दा रहीम बक्सको श्रीमतीले बोझा उठाई लैजान लाग्दा सन्दिक शेष, रमजान अलिशेष समेतका नमालुम कसले हो वामनप्रसादलाई लठ्ठीले प्रहार गरी भूइँमा लडाए र त्यसपछि जाहेरवाला विष्णुप्रसाद र माया गिरी समेतलाई लुठ्ठीको प्रहार लागेको हो । म सोही घटनास्थलमा सरिक भई नजिकबाट हेरी रहेको थिएँ र मेरो साथमा लठ्ठी नभएकोले केही पनि गरिन, वामनप्रसादलाई कुटे पिटेको छैन भन्ने समेत सन्दिक भन्ने मुहमद सन्दिक खाँ मुसलमानको प्रहरीमा भएको बयाज कागज ।
६. ०३१ साल कार्तिक १९ गते विहान ६ बजेको समयमा गाडा लिई कम्दी गाउँको पश्चिम मेरो घरबाट उत्तर तर्फको जंगलको छेउमा खादमल लिन गएको हुँ र करीब दिनको १० बजे घर फर्कि आई फेरि खादमल लिन गएको हुँ । बेलुकीपख हाम्रो गाउँको सन्दिक शेष १, सन्दिक शेषको भाइ रमाजान र मर्ने वामनको बीच खेतमा झगडा भई वामनप्रसादलाई ज्यादै चोट परेकोले नेपालगञ्जतर्फ लगे भन्ने सुनेको हुँ म वारदात भएको ठाउँमा गइन मेरा भाइ सन्दिक खाँ पठान वारदातमा गएका हुन् । बामनप्रसादलाई मैले कुटेको छैन भन्ने समेत मुन्सी खाँ पठानले प्रहरीमा गरेको कागज बयान ।
७. ०३१।७।१९ गते दिउँसो वामनप्रसादको खेतमा धान काटी बोझ उठाउने कुरामा झगडा भएको आवाज र मानिसहरू जम्मा भइरहेको देख्दा के रहेछ भनी सो घटनास्थल देखि १००० गज फरक मेरो घरबाट घटनास्थल पुग्दा जाहेरवाला तर्फका बेरा गोसाई १, धनबहादुर गिरी १, तुल्सी राम गिरीको छोरा नाम थाहा नभएको १, बलबहादुर धर्ती १, सेवक पार्सी १, सरुन खट्टिक १, नाम थाहा नभएको ओरे गिरीको छोरा १, जाहेरवाला विष्णुप्रसाद १, माया गिरी समेत थिए र उता पट्टिका सन्दिक पठान, निजको दाजु मुन्सी, सन्दिक शेष र निजको भाइ रमजान शेष समेतलाई चिने अरु २०।२५ जवानलाई चिनिन । निजहरूको हातमा लाठी थियो, झगडा भइरहेकै अवस्थामा निज वामनप्रसादले बोझा उठाई अर्को ठाउँमा लान पर्छ भनी उठाउँदाको अवस्थामा सन्दिक पठान, सन्दिक शेष समेतले नउठाउ भन्दा नमानी जबरजस्ती उठाउन लाग्दा सन्दिक पठानलाई किन छुट्याउँछस् भनी धकेल्दा यसलाई नमारी हुन्न ल हान भन्नासाथ सन्दिक शेष र सन्दिक शेषको भाइ रमजानले निज वामनप्रसादलाई लठ्ठीले छड्के पारी टाउको आँखानिर हानेको मैले खुद देखेको हुँ । पछि निजहरू दुवै जनाको लठ्ठीको चोटबाट वामनप्रसाद उठ्न नसकी भूइँमा खसी व्यहोस भई रगतपच्छे भए मैले केही गर्न नसकी हेरी बसी रहें । सन्दिक शेष र रमजानको कुटाइको चोटले वामनप्रसादको मृत्यु भएको हो । अरु कसै उपर शंका पनि लाग्दैन भन्ने धनु गिरी समेतका मानिसहरूको मिति ०३१।८।८।७ को सरजमीन मुचुल्का ।
८. सन्दिक शेष र निजको भाइ रमजान शेष उपर ज्यानसम्बन्धीको १३(३) बमोजिम कारवाही गरी सन्दिक खाँ पठान उपर १३(४) अनुसार मुन्सी खाँ उपर १७(३) अनुसार कारवाही गरी मुद्दा चलाउने र अन्य व्यक्तिको हकमा सरजमीनबाट तथ्य पूर्ण रुपले केही कुरा खुल्न नआएको हुँदा अरु कसै उपर कुनै कारवाही गर्न नपर्ने भन्ने मिति ०३१।८।१७।२ को प्रहरी प्रतिवेदन ।
९. वारदात भएको भनेको मिति ०३१।७।१९ गते भन्दा अगावै खेत जोत्नको लागि ट्रयाक्टर लिन घरबाट ०३१।७।१८ गते हिंडी जवदाहामा ट्रयाक्टरवाला मुन्ना राजासँग गई कुराकानी गर्दा २ दिनपछि आउनु ट्रयाक्टर दिउँला भन्नु भएबाट सो दिन साँझ परेकोले सोही ठाउँ बस्ने पञ्च जंगली थारुको घरमा बास बसी भोलिपल्ट ०३१।७।१९ गते घर फर्कि आउँदा म सँग गहुँको बीउ लिन जंगली थारु, मुसई खरीक र अरु चिनेका नाम नजानेका मानिस समेत विहान १० बजे आई निजहरूलाई घरबाट गहुँ दिने काममा व्यस्त रही सो काम सकेपछि खाना समेत खाई बेलुका ४ बजे निजहरूसँग मेरा घरबाट आधा कोश जति टाढा पर्ने रेन्ज अफिससम्म गई बेलुकी ६ बजे साँझ मात्र घर फर्कि आएकोले वारदात मिति र समयमा घटनास्थलमा नभई अन्तै भएकोले मैले मर्ने बामनप्रसाद उपाध्यायलाई मार भनी बचन दिएको र कुटपिट गरेको छैन होइन भन्ने समेत सन्दिक भन्ने मुहम्मद सन्दिक खाँ पठानले बाँके जिल्ला अदालतमा बयान गरेको ।
१०. ०३१।७।१९ गतेका दिन विहानै मेरो घर देखि अन्दाजी १ मिल टाढा उत्तरतर्फ जंगल किनारामा भएको मलखाद हाल्न भनी लडिया लिएर गई १० बजे हुँदो हो घर फर्कि आई दिनको २/२½ बजे फेरी पनि खाद लिन गई बेलुकी अन्दाजी ६ बजेमा घर फर्की आउँदा आज छगडहवा गाउँमा खेतीको धान बारेमा वामनप्रसादसँग सन्दिक शेष र निजैको भाइ रमजान शेष समेतको झगडा मारपीट भई वामनप्रसाद मरी वामनप्रसादको छोरा र माया भन्नेलाई पनि चोट लागेको छरे भन्ने कुरा गाउँमा कुरा गर्न लागेको सुनेको हुँ । म आफ्नो काममा रहेकोले घटनास्थलमा म गएकै होइन । मैले वामनप्रसादलाई मारे मराएको समेत कुनै कुरा होइन भन्ने समेत मुन्सी खाँको अदालतमा भएको बयान ।
११. ०३१ साल कार्तिक महीनाको पहिलो हप्ता देखि मलाई पेट सम्बन्धी र भाइ रमजान अलीललाई पेट छाती सम्बन्धी रोग लागेकोले ऐ.कार्तिक १४ गते घर गाउँबाट हिंडी लखनउ बलरामपुर अस्पतालमा ऐ.१६ गते पुगी सोही दिन जाँच गराई उक्त अस्पतालमा भर्ती भई इलाज गराई सञ्चो भएपछि ऐ.२२ गते अस्पतालबाट फुर्सद पाएँ । भाइ रमजान अलि शेष उक्त दिन भर्ना हुन नपाई ऐ.१७ गते मात्र उक्त अस्पतालको म बसेको कोठा देखि छट्टै कोठामा भर्ति भए र सञ्चो नभइसकेकोले कुरी बसें पछि भाइ रमजान सञ्चो भएपछि ऐ.ऐ.२५ गतेका दिन अस्पतालबाट फूर्सद पाई म र भाइ रमजान भारत बेगमपुरमा अहमद हुसेनको घरमा १०।१२ दिन बसी आफ्नो घर गाउँ फर्कि आउँदा वामनप्रसाद उपाध्याय मरेको ज्यान मुद्दामा म र मेरो भाइ रजमानलाई पोलेको छ प्रहरीले पक्राउ गरी सास्ती गरी साविक गराउलान भन्ने डरले भागी गएका हौं । माया गिरी र विष्णुप्रसाद के कस्को कर्तव्यबाट चोट पटक लाग्यो मलाई थाहा छैन । मैले निजहरूलाई कुटी चोट पटक पारेको होइन र मर्ने वामनप्रसाद उपाध्यायलाई कुटपिट गरी मारेको समेत कुनै कुरा होइन भन्ने समेत अभियुक्त सन्दिक शेषले अदालतमा गरेको बयान ।
१२. ०३१ साल कार्तिकको पहिलो हप्तादेखि दाजु सन्दिक शेषलाई पेट सम्बन्धी र मलाई पेट र छाती सम्बन्धी रोग लागेकोले ऐ.१४ गते भारत लखनउ गई बलरामपुर अस्पतालमा ऐ.१६ गते दाजु सन्दिक शेष ऐ.१७ गते म भर्ना भई उपचार गराई दाजु ऐ.कार्तिक २२ गते र म ऐ.२५ गते अस्पतालबाट डिस्चार्ज भई भारत बेगमपुरमा १२।१५ दिन बसी आफ्नो गाउँ घर फर्किंदा बामनप्रसाद मरेको खुन केसमा म र दाजुलाई समावेश गरिएको छ । प्रहरीले पक्रे भने कुटपिट गरी साविक गराउलान भन्ने डरले बेगमपुरमा महमद हुसेन शेषको घरमा बस्यौं । मर्ने वामनप्रसादलाई कर्तव्य गरी मारेको होइन, कसको कर्तव्यबाट मर्यो थाहा छैन । माया गिरी विष्णुप्रसादलाई को कसको चोट लाग्न गएको हो थाहा छैन । मर्ने बामनप्रसाद र हाम्रो बीचमा छगडवा भन्ने लगदहवाको जग्गा बारेमा कुनै झै झगडा मुद्दा मामिला समेत छैन भन्ने समेत अभियुक्त रमजान अली शेषले अदालतमा गरेको बयान ।
१३. ०३१ साल कार्तिक १९ गतेका दिन आयकर अदालतको फैसला बमोजिम कम्दी गा.पं.वा.नं. ९(ख) र (च) मा २१–१४–१३ जग्गाको धान बटैया गर्न भनी सो ठाउँमा पुग्दा सोही अवसरमा रमजान अलि शेष, सन्दिक शेष र मुन्सी शेष, बचन दिनेवाला भू.पू.प्रधानपञ्च सन्दिक खाँ पठान समेतले हँसिया लिई धान काटी रहेका थिएँ । सो बेलामा म जाहेरवालले यो धान अबदेखि बाली बटैया गरी मात्र लग्नु पर्छ भन्दा यो बढ्ता बोल्ने भनी भू.पू. प्रधानपञ्च सन्दिक खाँले मार पछि देखाजाला भन्ने वचन दिई अरु रमजान शेष सन्दिक शेष र मुन्सी शेषले प्रहार गरी मलाई र मेरो बुबा बामनप्रसाद समेतलाई ज्यान मार्न उद्योग लिई प्रहार गरी मारेका हुन । पछि अस्पताल ल्याई इलाज गराउँदा बुबा स्वर्गीय हुनुभएका हो भन्ने समेत जाहेरवाला विष्णुप्रसादको अदालतमा बकपत्र ।
१४. ०३१ साल कार्तिक १९ गते अं.१२ बजे आफ्नो खरिहानमा दाइँ गरी राख्दा अं. ५०० गज टाढा खेतमा हल्ला र लठ्ठीहरू देखिएकोले मारपीट भयो भन्ने शंका लागी म दौड्दै जाँदा एकाएक महोम्मद सन्दिक खाँले मर्ने वामनप्रसादलाई मार भनी बचन दिनासाथ मन्सी खाँले वामनप्रसादको टाउकोमा र त्यसपछि सन्दिक शेष, रमजान अलि शेषले पनि मार्यो । मैले बचाउ बचाउ भनी भन्दा यो बडो बचाउन आएछ यसलाई पनि मार भनी मोहम्मद सन्दिक खाँले भन्दा मेरो टाउकोमा मुन्सी खाँले लठ्ठीले हान्दा म बेहोस भएँ । अस्पतालमा आई ईलाज भयो अनी मात्र मलाई होस आयो । त्यसपछि मलाई केही थाहा छैन भन्ने समेत पेटबोलीबाट बुझिएको माया गिरीको अदालतमा बकपत्र ।
१५. मारी देउ खतम गरी देउको आवाज मात्र सुनें कसले भन्यो थाहा छैन । त्यति भन्नासाथ वामनप्रसादको टाउकोमा ३ जना मानिसले हाने । पहिला कसले हाने र कति चोट हाने धेरै दिनको कुरा भएकोले थाहा छैन । वामनप्रसादलाई बचाउ गर्न जाँदा माया गिरीको टाउकोमा पनि हाने, विष्णुप्रसादको टाउकोमा पनि हाने भन्ने समेत पेटबोलीबाट बुझिएको बालारामले अदालतमा गरेको बकपत्र ।
१६. ०३१ साल कार्तिक १९ गते म वारदात स्थलबाट ४५ हात जति टाढा थिएँ । भू.प्र.प्रधानपञ्च सन्दिक सित वामनप्रसादसँग पकडा पकडी भएको देखें । वामनप्रसादलाई मार भन्ने शब्द सुनें कसले मार्यो मलाई थाहा छैन, त्यति भन्ने बित्तिकै मुन्सी खाँ सन्दिक शेष, रमजान शेष, यी तीनजनाले लठ्ठी प्रहार गरी भुँईमा गिराएको देखें त्यस पछाडि पछाडि मुन्सी खाँ गई माया गिरीलाई पनि हान्न गएको देखें । वामनप्रसादलाई सब भन्दा पहिले १ चोट सन्दिक शेषले हानेको त्यसपछि रमजानले १ चोट र मन्सी खाँले १ चोट हान्यो भन्ने समेत पेटबोलीबाट बुझिएको धनु गिरीको अदालतमा बकपत्र ।
१७. ०३१ साल कार्तिक १९ गते अं. २, २½ बजे वामनप्रसादको खेतमा मानिसहरू भेला भएको देखेकोले त्यहाँ पुग्दा पुग्दै लौ लौ मार भन्ने आवाज सुनें कसको आवाज हो मैले बुझ्न सकिन । त्यो कुरा सुनेपछि वामनप्रसादको टाउकोमा लाठी पर्यो । लाठी हान्ने मान्छे सन्दिक शेष, रमजान शेष, मुन्सी शेष हुन । पहिलो चोट सन्दिक शेषले हानेका हुन माया गिरीलाई पनि मुन्सी खाँले लाठीले टाउकोमा हानेका हुन भन्ने समेत पेटबोलीबाट बुझिएको अम्बरबहादुर क्षेत्रीको अदालतमा बकपत्र ।
१८. ०३१ साल कार्तिक १९ गते छग्रहवाको खेतमा ४०।५० जनाको हूल देखि हूलमा मलाई पुग्नलाई १००० गज टाढा थिएँ । ५०० हज पुग्दा मार भनेको आवाज सुनें त्यो आवाज कसले भन्यो मलाई थाहा छैन । वामनप्रसादलाई हान भने र मुन्सी खाँले लाठी उठायो र त्यसको अलावा सन्दिक शेष र निजको भाइले पनि लाठी उठायो । वामनप्रसाद माथि प्रहार कसले गर्यो थाहा छैन । भन्ने समेत पेटबोलीबाट बुझिएका कुलमान थापाले अदालतमा गरेको बकपत्र ।
१९. प्रतिवादी रमजान अलि शेष र सन्दिक शेष समेतले कुटपिट गरेको जरियाबाट मर्ने वामनप्रसाद उपाध्याय भवितव्यमा परी मरेको ठहर्छ । प्रतिवादी मोहम्मद सन्दिक खाँले वचन दिएको प्रतिवादी मुन्सी खाँ पठानले कुटपिट गरेको समेत सबूद प्रमाण पुग्न नआएकोले मोहम्मद सन्दिक खाँ पठान, मुन्सी खाँ पठान समेतले सफाई पाउने ठहर्छ भन्ने समेत शुरु बाँके जिल्ला अदालतको मिति ०३४।३।१६।५ को फैसला ।
२०. बाँके जिल्ला अदालतको उक्त फैसला उपर सुदूर पश्चिमाञ्चल क्षेत्रीय अदालतमा श्री ५ को सरकार रमजान अलिशेष तथा सन्दिक शेषको छुट्टाछुट्टै पुनरावेदन परेकोमा वामनप्रसादलाई लठ्ठीले सदिक खाँ को वचन मानी मुन्सी खाँ सन्दिक शेष, रमजानले हानेको भनी चस्मदिद भई बक्ने मध्ये अम्बरबहादुर धनुगिरीले सन्दिकले बचन दिएको देखेको भनी किटानी लेखी दिएका देखिन आएकोले सन्दिक खाँ पठानलाई सफाई दिएको मिलेन । मुन्सी पठान उपर वादी दावीको ज्यानसम्बन्धीको १७(३) को दावी लिएको भए पनि चस्मदिद गवाहको बकाईबाट मुन्सी पठानले समेत लाठीले वामनप्रसादलाई हानेको भनी लेखी दिएकोबाट ज्यानसम्बन्धीको १३(३) को अवस्थाको हुँदा निजलाई सफाई दिएको देखिँदा अ.बं. २०२ नं. र क्षेत्रीय अदालत नियमावली, २०३० अनुसार सफाई पाउने मुन्सी पठान, सन्दिक खाँ पठानलाई नोटिश म्याद दिई झिकाई नियम बमोजिम पेश गर्नु भन्ने मिति ०३६।६।२६।६ को सुदूर पश्चिमाञ्चल क्षेत्रीय अदालतको आदेश ।
२१. धान लान नदिने प्रतिवादीहरूको प्रयास र मनसाय मात्र भई मर्ने वामनप्रसादको तर्फबाट वाधा विरोध पर्न गएकोले यसै कारणबाट सोही अवस्थामा उठेको रिस थाम्न नसकी आफूले अघि देखि लिई राखेको लठ्ठी सोही ठाउँमा प्रहार गर्दा वामनप्रसादको मृत्यु हुन गएको देखिन आएकोले प्रतिवादी सन्दिक शेष र रमजान अलि शेष, मुन्सी खाँ पठानलाई मुलुकी ऐन ज्यानसम्बन्धीको १४ नं. अनुसार कैद वर्ष १० (दश) हुने ठहर्छ र प्रतिवादी सदिक भन्ने मोहम्मद सदिक खाँलाई ज्यानसम्बन्धीको १७(३) अनुसार तजबिजी कैद वर्ष ३ (तीन) हुने ठहर्छ भन्ने समेत सुदूर पश्चिमाञ्चल क्षेत्रीय अदालतको मिति ०३८।२।१६।६ को फैसला ।
२२. सुदूर पश्चिमाञ्चल क्षेत्रीय अदालतको उक्त फैसला उपर प्रतिवादी मोहम्मद सदिक खाँ पठान मुन्सी खाँ पठान, रमजान अलि शेष, सदिक शेष र श्री ५ को सरकारको छुट्टाछुट्टै यस सर्वोच्च अदालतमा पुनरावेदन पर्न आएको रहेछ ।
२३. सदिक खाँ पठानले वामनप्रसादलाई मार्न वचन दिएको कुरा चस्मदिद व्यक्ति माया गिरी, धनु गिरीको बयानबाट समेत समर्थित नभएकोले प्र. मोहम्मद सदिक खाँ पठानले बचन दिएको भन्न मिलेन, निजले सफाई पाउने ठहर्छ प्र. मुन्सी खाँ पठान उपर ज्यानसम्बन्धीको १३(३) अन्तर्गतको प्रहरी प्रतिवेदन दावी भएको देखिन्छ । तर प्रस्तुत वारदात ज्यानसम्बन्धीको १४ नं. अन्तर्गतको ठहर भएकोले प्र. मुन्सी खाँलाई अरु किसिमसँग सल्लाहमा पसेको भन्न मिलेन र वादी दावी भन्दा बढी कुरामा सजायँ गर्न समेत नमिल्ने हुँदा प्र.मुुन्सी खाँले सफाई पाउने ठहर्छ । प्र.सन्दिक शेष र रमजान अलि शेषलाई ज्यानसम्बन्धीको १४ नं. बमोजिम दश वर्ष कैद गर्ने गरेको सुदूर पश्चिमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिब ठहर्छ भन्ने समेत यस अदालत डिभिजनबेञ्चको मिति २०३९।१२।३।५ को फैसला ।
२४. उक्त फैसला दोहर्याई पाउँ भनी निवेदकहरू रमजान अलिशेष र सदिक शेषको श्री ५ महाराजाधिराजका हजूरमा बिन्तिपत्र पर्दा उक्त मुद्दा फुलबेञ्चबाट दोहर्याई हेरी दिनु भन्ने हुकूम बक्स भई आए बमोजिम फुलबेञ्चको लगतमा दर्ता भई निर्णयार्थ मिति २०४३।२।२७।३ मा यस फुलबेञ्च समक्ष पेश भएको ।
२५. प्रस्तुत मुद्दामा निवेदक प्रतिवादीहरू रमजान अलिशेष तथा सदिक शेषका तर्फबाट रहनु भएका विद्वान वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठले जाहेरी दर्खास्तमा तथा सरजमीनमा मेरो पक्ष रमजानको नाउँ उल्लेख छैन । जाहेरवालाको जाहेरीको कुरा र अदालतमा गरिएको बकपत्रमा भिन्नता छ । यस्तै गरी सरजमीनका मानिसहरूको सरजमीनको भनाई र अदालतमा गरेको बकपत्रमा विरोधाभास हुनाले त्यस्तो भनाईलाई प्रमाणमा लिनु हुँदैन । अतः त्यस्ता अविश्वसनीय प्रमाणको आधारमा मेरा पक्षहरूलाई दोषी करार गर्न नमिल्ने हुनाले सफाई पाउनु पर्दछ भन्ने समेत बहस गर्नुभयो । श्री ५ को सरकारको तर्फबाट खटी उपस्थित हुनुभएका विद्वान का.मु.अतिरिक्त न्यायाधीश श्री भैरवप्रसाद लम्सालले जाहेरवाला लगायत अन्य चस्मदिद साक्षीहरूले जग्गाको स्वामित्वको सम्बन्धमा झगडा भएको भनी अदालतमा समेत बकपत्र गरी दिएबाट यही जग्गाको बाली सम्बन्धी कुरालाई लिएर वारदात घटेको देखिन्छ । मृतक बामनप्रसादलाई टाउको जस्तो मर्मस्थानमा लाठी प्रयोग गरिएको छ । जाहेरवाला विष्णुप्रसाद लगायत अन्य प्रत्यक्षदर्शीहरू जस्तै अम्बरबहादुर गिरी, धनु गिरी, समेतले रमजान, सदिक शेष, मुन्सी खाँ समेतले मृतक बामनप्रसादको टाउकोमा लाठीले प्रहार गरेको हुन भन्ने कुरा अदालतमा आई बकपत्र गरिदिएका छन् । अतः यी प्रतिवादीहरू रमजान अलि शेष र सदिक शेषलाई प्रहरी प्रतिवेदनको माग दावी अनुसार सजायँ हुनु पर्दछ भन्ने समेत बहस गर्नुभयो ।
२६. आज निर्णय सुनाउने तारेख तोकिएको प्रस्तुत मुद्दामा डिभिजनबेञ्चबाट भएको निर्णय मनासिब छ छैन हेर्नु परेको छ । डिभिजनबेञ्चबाट प्रतिवादीहरू मोहम्दम सदिक खाँ पठान र प्रतिवादी मुन्सी खाँ पठानलाई सफाई दिने ठहराई र प्रतिवादी रमजान अलिशेष र प्रतिवादी शेष सदिकलाई ज्यानसम्बन्धीको १४ नं. बमोजिम दश वर्ष कैद हुने ठहराई मिति ०३९।१२।३।५ मा निर्णय भएको देखिन्छ । डिभिजनबेञ्चको निर्णयबाट सफाई पाउने ठहरिएका प्रतिवादी मुन्सी खाँ पठान र मोहम्मद सदिक पठानको हकमा मुद्दा दोहरिएर आएको नहुनाले त्यसतर्फ केही विचार गरी रहनु परेन ।
२७. प्रतिवादी रमजान अलिशेष र प्रतिवादी सदिक शेषलाई ज्यानसम्बन्धीको १४ नं. अनुसार दश वर्ष कैद हुने ठहर्याएको डिभिजनबेञ्चको निर्णय मिलेको छ छैन भन्नेतर्फ हेर्दा जाहेरवाला विष्णुप्रसाद उपाध्यायले सदिक शेष र निजको भाइ समेत चार जनाले लाठी लिई उभिरहेको र सदिक शेषले आफ्नो हातमा लिएको लाठ्ठीले मेरो बाबुको टाउकोमा प्रहार गरेको र अन्तिम चोट पनि निज सदिक शेषले नै प्रहार गरेको भन्ने कुरा जाहेरी दर्खास्तमा प्रष्ट रुपमा किटानी गरेको देखिन्छ । प्र.सदिक अलि शेष र रमजान अलि शेष दाजु भाइ भएकोमा विवाद छैन । अदालतमा पनि सोही कुरालाई समर्थन गर्ने प्रतिवादी रममाज अलि शेष, सदिक शेषले वामनप्रसादलाई लठ्ठीले प्रहार गरी मारेका हुन् भनी बकपत्र गरेको मिसिलबाट देखिन आउँछ ।
२८. घटनास्थलमा कुटपिटबाट पीडित हुने स्वयं माया गिरीले सदिक शेष र रमजान अलि शेषले पनि वामनप्रसादले टाउकोमा मारेको भन्ने कुरा किटानीमा साथ अदालतमा आई बकपत्र गरेकी पाइन्छ । सरजमीनमा वारदात देख्ने भनिएका मानिस अम्बरबहादुर, धनु गिरी कुलमान थापा समेतलाई प्रमाण ऐन अनुसार अदालतमा उपस्थित गराउँदा सदिक शेष, रमजान शेषले मर्ने वामनप्रसादलाई टाउकोमा लठ्ठीले प्रहार गरेको देखेको भनी प्रष्ट रुपले बकपत्र गरी दिएका छन् । मिसिल संलग्न लाश प्रकृति मुचुल्का तथा पोष्टमार्टम रिपोर्टमा पनि टाउकोमा चोट लागेको कुरा उल्लेख भएको पाइन्छ ।
२९. प्रतिवादी सदिक शेष, रमजान अलि शेषले पेट सम्बन्धी रोगको उपचार गराउन ०३१ साल कार्तिक १४ गते घरबाट हिंडी भारत लखनउ बलरामपुर अस्पतालम ऐ.१६ गते पुगी भर्ना उपचार गराई बसेकोले वामनप्रसादलाई कर्तव्य गरी मारेको होइन भनी अपराधमा इन्कार रही अदालतमा बयान गरेको देखिन्छ । प्रमाण स्वरुप पेश गरेको अस्पतालको डिस्चार्ज टिकटमा अस्पतालको निसाना छाप लागेको पाइँदैन । प्रतिवादीहरूले आफू भर्ना भएको बेडको नम्बर यो थियो भनी बयानमा भन्न सकेको पनि छैन । निजहरूका साक्षी वाकर अलि, अहम्मद अली, महम्मद हुसेन र बसीर अलिले बकपत्र गर्दा प्रतिवादी रमजान अली शेष र सदीक शेषलाई उपचार गराउन लखनउ बलरामपुर अस्पतालमा लगी भर्ना गराएको भनेको छ तर निज साक्षीहरू चारै जना प्रतिवादीहरूका घरमा के काममा गएको हो सो कुरा बकपत्रमा खुल्दैन । प्रतिवादीहरूको बयानबाट पनि निज साक्षीहरू आफ्नो घर आउन परेको कारण पनि खुल्दैन । तसर्थ त्यस्तो अस्पतालको छाप नलागेकोको डिस्चार्ज टिकटलाई आधार बनाई उक्त साक्षीका बकाईको भरमा प्रतिवादीहरू वारदात नरहेको भन्न मिल्ने देखिैदैन ।
३०. उपरोक्त सबूद प्रमाणहरूबाट यी प्रतिवादी रमजान अलि शेष तथा प्रतिवादी सदिक शेषले वारदातको दिन आफूहरू वारदात स्थलमा नभई अन्यत्र थिएँ भनी लिएको जिकिर तथा इन्कारी बयान तथ्ययुक्त हो भन्न मिल्ने देखिन आएन । तसर्थ प्रतिवादी रमजान अली शेष र प्रतिवादी सदिक शेषलाई ज्यानसम्बन्धीको १४ नं. बमोजिम दश (१०) वर्ष कैद हुने ठहर्याएको यस अदालत डिभिजनबेञ्चको मिति ०३९।१२।५ को फैसला मनासिब ठहर्छ । अरु तपसील बमोजिम गर्नु ।
तपसील
निवेदक प्रतिवादी देहायका मानिस के इन्साफ दोहर्याए बापत अ.बं.२०४ बमोजिम शुरु कैद वर्ष १० को सयकडा १० ले जनही कैद वर्ष १ को दरले थप कैद हुन्छ । बेरुजु हुँदा ऐन बमोजिम असूल गर्नु भनी काठमाडौं जिल्ला अदालतमा लगत दिनु…………….. १
रमजान हलि शेष १
सदिक शेष १
देहायका प्रतिवादीहरूले यस सर्वोच्च अदालत डिभिजनबेञ्च बेञ्चको ०३९।१२।३ को फैसालाले गर्ने गरेको जनही कैद वर्ष १ को हुने रु.४५०।– का दरले सदिक शेषले ०४१।४।१० मा र रमजान अली शेषले ०४१।५।६ मा काठमाडौं जिल्ला अदालतमा धरौट राखेको देखिँदा लागेको कैद असूल गरी सो धरौटी कानुनको रिट पुर्याई फिर्ता दिनु भनी काठमाडौं जिल्ला अदालतमा लगत दिनु .. २
रमजान अलि शेष के रु.५४०।–,
सदिक शेष के.रु.५४०।–,
मिसिल नियम बमोजिम गरी बुझाइदिनू … ३
उक्त रायमा हामी सहमत छौं ।
न्या. पृथ्वीबहादुर सिंह
न्या. हरगोविन्द सिंह प्रधान
इति सम्वत् २०४३ साल आषाढ १० गते रोज ३ शुभम् ।