निर्णय नं. २६४६ – उत्प्रेषणको आदेश जारी गरिपाउँ
निर्णय नं. २६४६ ने.का.प. २०४३ अङ्क – ३ फुलबेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री हरगोविन्द...
निर्णय नं. २६४६ ने.का.प. २०४३ अङ्क – ३
फुलबेञ्च
सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह
माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह
माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान
सम्वत् २०४१ सालको रि.फु.नं. ४६
आदेश भएको मिति : २०४३।३।१०।३ मा
निवेदक/विपक्षी : सुनसरी जिल्ला गा.पं.भाडा गाउँ सिनवारी वार्ड नं. २ बस्ने ठे.सतनलालको हक सकार गर्ने छोरा चुमुकलाल चौधरी
विरुद्ध
विपक्षी/निवेदक : ऐ.ऐ.वडा नं.६ बस्ने भरतलाल चौधरीसमेत
विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ
(१) बाबुको नाउँको मोहियानी हकको जग्गामा बाबु मरेपछि जग्गा धनीले पत्याएमा त्यस्तो जग्गाको मोहियानी हक छोरामा सर्न सक्ने, र छोराले पाउन सक्ने अवस्था रहने हुँदा त्यस्तो हकको जग्गामा अ.बं.६२(३) नं.बमोजिम छोराले मुद्दा सकार गर्न पाउँदैन भन्न नमिल्ने ।
(प्रकरण नं. ८)
(२) बाबुको मोही हक नामसारी गरी पाउन निजको छोराले छुट्टै निवेदन दिनुपर्ने ।
(प्रकरण नं. ९)
भू.सु.कार्यालयतर्फबाट : विद्वान अधिवक्ता सहन्यायाधिवक्ता श्री बलिरामकुमार
निवेदक/विपक्षीतर्फबाट : विद्वान अधिवक्ता श्री प्रभुनारायण चौधरी
विपक्षी/निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री अवधेशकुमार सिंह
आदेश
प्र.न्या.धनेन्द्रबहादुर सिंह : यसमा सर्वोच्च अदालत डिभिजनबेञ्चबाट मिति २०४१।४।८।२ मा भएको निर्णय दोहर्याई पाउँ भनी निवेदकले विशेष जाहेरी विभाग मार्फत श्री ५ महाराजाधिराजका जुनाफमा चढाउनु भएको विन्तिपत्रमा “यसमा व्यहोरा साँचो भए त्यस अदालतबाट निर्णय भएको यसमा लेखिएको उत्प्रेषणको आदेश जारी गरिपाउँ भन्ने निवेदन सम्बन्धी मुद्दाको मिसिल झिकी फुलबेञ्चबाट दोहोर्याई हेरी कानुन बमोजिम निर्णय गरी दिनु भन्ने हुकूम बक्स भई आए बमोजिम फुलबेञ्चको लगतमा दर्ता भई निर्णयार्थ यस बेञ्चमा पेश हुन आएको प्रस्तुत रिटको संक्षिप्त व्यहोरा यस प्रकार छ :
२. सुनसरी जिल्ला भाद गाउँ सिनवारी गा.पं.वार्ड नं.२(ग) को कित्ता नं. ४६ को १–१७–९½ जग्गा ऐ.वार्ड नं. को कित्ता नं.६ को ०–१६–२ समेतको जग्गा २००७ सालमा भरतलालको बाबु चुवालालको नाउँमा रहेको र वहाँले तिलकप्रसाद श्रेष्ठलाई भोगबन्धकी लेखी दिनु भएको थियो । सो जग्गा ठेक्का पट्टामा हामीले कमाई आएका थियौं । २ वर्षको बाली बापतको ठेक्का रकम नबुझाएकोले अदालतमा मुद्दा परी तिलकप्रसादले ठेक्काबाट हटक गरी दिएको थियो । तिलकप्रसादले बद्रीबहादुरलाई ०१० सालमा लखबन्धकमा लेखी दिएको पछि बद्रीबहादुरले सोही जग्गा सूर्यकुमारीलाई लखबन्धकी लेखी दिएको थियो । ऋण निश्चितको लागि उजूर गर्दा ऋण निश्चित भएको थियो । हामी आफैंले जोतकोड गरी रहेका थियौं । धानबाली विपक्षीका बाबु लगायतका मानिसहरूले ०३२।९।९।४ का दिन लुटी लगेको र शाखा अधिकृत गणेशलाल कायस्त समेतका कर्मचारीले जबरजस्ती लेखी राखेको कागजमा डर त्रास देखाई सही गराएकोमा कर्मचारी उपर मुद्दा दायर गर्न स्वीकृतीको लागि लेखेको ०३२।१२।६।६ मा बाली लुटपीटतर्फ निवेदक समेत उपर फिराद दायर गरी सकेको छ । सुनसरी जिल्ला अदालतमा चल्दैछ । कि.नं.६ मा ०–७–१० जग्गामा लगाएको जग्गा धनीले लुटी लगेको हुनाले मोही बेदखली गरेमा विपक्षीको बाबुले जि.भू.सुनसरीमा उजूर दिएको हाम्रो जोतकोडको जग्गा भएकोले विपक्षीको दावी झुठ्ठा हो भनी हाम्रो प्रतिउत्तर परेको । लुटपीट गरी जबरजस्ती कागज गराएको सम्बन्धमा परेको नालेश फैसला नभएसम्म विपक्षीले दिएको मोही बेदखल मुद्दा स्थगित गरिपाउँ भनी हामीले भू.प्र.का.सुनसरीमा निवेदन दियौं । लुटी लगेको बालीको बिगोमा अदालत मार्फत नालेश गर्ने भनी वादीलाई सुनाई दिने । मोही बेदखल गराएको सन्दर्भमा बेदखल गर्न नपाउने हुनाले प्रतिवादीहरूलाई रु.२५१।– का दरले जरिवाना गर्ने भनी भू.प्र.का.सुनसरीले ०३३।४।५ मा फैसला गर्यो । आफ्नो जोतकोडको हुनाले र विपक्षीले कुन साल देखि जग्गा मोहीको हैसियतले जोडतोड गरी रहेको भन्ने कुरा भन्न सकेको छैन । कूत बुझेको प्रमाण पेश गर्न सकेका छैन । यस सम्बन्धमा बृहत फुलबेञ्चबाट अजीमुल्ला मुसलमान विरुद्ध भू.सु.अ. कपिलवस्तु समेत नि.नं. ८७१ ने.का.प.पृ.सं.३७५ फैसला मिति ०३०।१२।२३।६ को मुद्दा साहूले थैली बुझी सकेपछि भोगबन्धकी लिंदाको अवस्थामा नै सम्पत्ति फिर्ता गर्नुपर्ने र हक कायम हुने पनि निर्णय भई प्रतिपादित भएको सिद्धान्तको विपरीत छ । ठे.सतनलाल चौधरी स्वर्गीय भएपछि भू.सु.ऐनको दफा २६(१) बमोजिम सकार गराउनु पर्नेमा नगराई सोझैं भू.सु.का.मा मुद्दा सकार गर्दैमा चुमुकलाल चौधरीको हकदैया हुने होइन । मोही रोज्ने काम अधिकारीको होइन । हक नपुग्ने चुमुकलाई मोही कायम गरेको अवैध छ । बेरितको सरजमीनको आधारमा मोही कायम हुने होइन । अ.बं.को १८४(क) १८५।१८९ को विपरीत भई बदरभागी छ । २०३६।११।२ को फैसला बदर गराउन संविधानको धारा १६।७१ अन्तर्गत निवेदन गर्न आएको छु । उत्प्रेषण लगायतको आदेश जारी गरी उक्त फैसला बदर गरिपाउँ भन्ने समेत व्यहोराको रिट निवेदनपत्र रहेछ ।
३. विपक्षीबाट लिखितजवाफ लिई पेश गर्नु भन्ने सर्वोच्च अदालत सिंगलबेञ्चको २०४०।३।१३।२ को आदेश रहेछ ।
४. रिट निवेदकले भू.सु.का.सुनसरीको निर्णयलाई भू.सु.ऐन, ०२१ को दफा २६(१) को त्रुटि भन्नु भएको कानुनमा आधारित छैन । प्रस्तुत मुद्दा मोहीको देहान्त पछि जग्गा धनीबाट मोही रोजाउने विषयको नभई मोही बेदखली विषयको हो । मोही ठे.सतनलालले मोही बेदखली विषयमा विपक्षीहरू उपर कारवाही चलाउनु भएको मुद्दा ठे.सतनलालको देहान्त पछि निजको छोराको हैसियतले सो मुद्दा सकार गरेको हुँ भनी मोही बेदखली मुद्दामा मोही रोजाउने कार्यविधि अपनाउ नमिल्नेमा रिट निवेदकले सो असम्बन्धित विषयतर्फ लिनु भएको जिकिर कानुनसंगत नहुँदा रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत व्यहोराको ठे.सतनलालको हक सकार गर्ने छोरा चुमकलाल चौधरीको लिखितजवाफ रहेछ ।
५. २०३२।१२।३ मा वादीले रवी बाली रिट कर्ताले लुटी खाए भनी दिएको फिराद र पुनः ०३३।३।६ मा मोही बेदखली गर्यो भनी विपक्षी ठे.सतनलालले दिएको फिराद संलग्न राखी दुवै फिरादको एकै निर्णय कार्यालयबाट भएकोमा छुट्टाछुट्टै निर्णय गर्नुपर्ने हुँदा त्रुटिपूर्ण निर्णय गरेको ठहर्याई पुनः कार्यबाही गर्ने सर्वोच्च अदालतबाट मिसिल फिर्ता आई वादी प्रतिवादी दुवैपक्ष विपक्षीलाई यस कार्यालयबाट झिकाई पुनः कारवाही चालू गरिएको रिटकर्ता भरतलाल चौधरी समेत जना ३ ले भोगबन्धकी जग्गामा मोही हक कायम रहनु नपर्ने भन्नु भएकोमा ०२५।४।२१ मा भोगबन्धकी ऋण निश्चित भएपछि मोही हक कट्टा गराउन सक्नु पर्ने सो समेत नगरेको ०३२।९।४ को बाली बुझी लिई भर्पाई गरी दिई ०३४ सालमा मोही लगत कट्टा गर्ने निवेदन दर्ता गराई कुनै कारवाही नगराई बस्नु भएको । कागज प्रमाणको आधारबाट कार्यालयले गरेको निर्णय कानुनसंगत हुँदा रिट निवेदन खारेज हुनुपर्ने व्यहोरा अनुरोध गर्दछु भन्ने भूमिसुधार कार्यालय सप्तरीको लिखितजवाफ ।
६. मुलुकी ऐन, अ.बं. ६२ नं. को देहाय ३ अनुसारको प्रस्तुत केश नभई मोही बेदखली मुद्दा हुँदा उक्त ६२ नं. ऐन अनुसार ठे.सतनलाल स्वर्गीय भई मुद्दा सकार गर्ने चुमुकलाल चौधरी भनी सकार गराइएको उक्त ऐनको विपरीत भएको र बाबुको मृत्युपछि भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(१) को प्रकृया नअपनाई मोही कायम हुने गरी चुमुकलाललाई मुद्दा सकार गराई मोही बेदखली गरेको ठहर्याई गरेको निर्णयमा भू.सु.ऐन, ०२१ को दफा २६(१) को समेत त्रुटि गरेको देखिनाले भूमिसुधार कार्यालय सुनसरीको २०३९।११।२।२ को निर्णय उत्प्रेषणको आदेश जारी गरी बदर गरी दिने ठहर्छ भन्ने समेत डिभिजनबेञ्चको मिति २०४१।४।८।२ को आदेश ।
७. मिति ०४३।२।२७।३ मा निर्णयार्थ यस फुलबेञ्चमा पेश हुँदा निवेदकतर्फबाट विद्वान अधिवक्ता श्री प्रभूनारायण चौधरीले बाबुको नाममा मोहियानी हक रहेको जग्गा बाबुको मृत्युपछि छोराले सकार गर्न पाउँछ । सकार गर्न नमिल्ने भनेको हदसम्म डिभिजनबेञ्चको निर्णय मिलेको छैन भन्ने समेत बहस गर्नुभयो । भूमिसुधार कार्यालयको तर्फबाट उपस्थित विद्वान सहन्यायाधिवक्ता श्री बलिरामकुमारले सबूद प्रमाणको मूल्याङ्कन गरी मोही बेदखली गरेको ठहराएका भू.सु.का.को निर्णयमा कुनै त्रुटि नहुँदा रिट निवेदन खारेज हुनुपर्छ भन्ने समेत बहस गर्नुभयो । विपक्षी रिट निवेदकको तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री अवधेशकुमार सिंहले अ.बं. ६२(३) को कानुनी व्यवस्था अनुसार मोही हकमा मुद्दा सकार हुन सक्दैन । भू.सु.का.ले भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(१) को प्रकृया अवलम्बन नगरी चुमुकलालको मोही हक सुरक्षित छ भनेको मिलेको छैन । तसर्थ डिभिजनबेञ्चको इन्साफ सदर हुनुपर्छ भन्ने समेत बहस गर्नुभयो ।
८. आज निर्णय सुनाउने तारिख तोकिएको प्रस्तुत मुद्दामा निर्णयतर्फ हेर्दा निवेदक चुमुकलालको बाबु ठे.सतनलाल चौधरीले भूमिसुधार कार्यालयमा मोही बेदखली मुद्दा चलाई कारवाही चल्दैको अवस्थामा सतनलालको मृत्यु भएकोले निवेदक चुमुकलाल चौधरीले २०३९।४।२९ मा मुद्दा सकार गरेको देखिन्छ । बाबुको नाउँको मोहियानी हकको जग्गामा बाबु मरेपछि जग्गा धनीले पत्याएमा त्यस्तो जग्गाको मोहियानी हक छोरामा सर्न सक्ने र छोराले पाउन सक्ने अवस्था रहने हुँदा त्यस्तो हकको जग्गामा अ.बं. ६२(३) नं. बमोजिम छोराले मुद्दा सकार गर्न पाउँदैन भन्न मिल्ने देखिँदैन ।
९. प्रस्तुत मुद्दामा दावी बमोजिम बेदखल गरेको ठहर गरेको देखिन्छ । बाबु सतनलालको मोही हक नामसारी गरी पाउन निजको छोरा चुमुकलालले छुट्टै निवेदन दिनुपर्ने हुन्छ, त्यस्तो निवेदन पर्न आएमा भूमिसुधार अधिकारीले भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(१) को प्रकृया अवलम्बन गरी नामसारीतर्फ कारवाही गर्नुपर्ने हुन्छ । तर मोही हक नामसारीमा चुमुकलालको निवेदन परी भूमिसुधार अधिकारीले उक्त दफा २६(१) बमोजिम नामसारीतर्फ छुट्टै कारवाही चलाएको भन्ने मिसिलबाट देखिँदैन । यस्तो अवस्थामा भूमिसम्बन्धी ऐनको दफा २६ को उपदफा (१) बमोजिम वादीको मोही हक सुरक्षित रहेको देखिन्छ भन्ने सम्म भूमिसुधार अधिकारीले वादी दावी नै नभएको कुरामा निर्णय गरेको देखिन आयो ।
१०. अतः वादी दावी नै नभएको कुरामा भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(१) बमोजिम मोही हक सुरक्षित नै देखिन्छ भनेको हदसम्म भूमिसुधार अधिकारीको ०३९।११।२ को निर्णय उत्प्रेषणको आदेशले बदर हुने ठहर्छ । उक्त हदसम्म भूमिसुधार कार्यालयको निर्णय बदर गर्नुपर्नेमा सम्पूर्ण निर्णय बदर गरेको डिभिजनबेञ्चको ०४१।४।८ को इन्साफ मिलेको देखिएन जानकारीको लागि यो आदेशको एक प्रति प्रतिलिपि विपक्षी कार्यालयमा पठाउन महान्यायाधिवक्ताको कार्यालयमा पठाई मिसिल नियम बमोजिम गरी बुझाइदिनू ।
उक्त रायमा हामी सहमत छौं ।
न्या. पृथ्वीबहादुर सिंह
न्या. हरगोविन्द सिंह प्रधान
इति सम्वत् २०४३ साल आषाढ १० गते रोज ३ शुभम् ।