निर्णय नं. २६२१ – जालसाजी
निर्णय नं. २६२१ ने.का.प. २०४३ अङ्क – २ फुलबेञ्च माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी सम्वत्...
निर्णय नं. २६२१ ने.का.प. २०४३ अङ्क – २
फुलबेञ्च
माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह
माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला
माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी
सम्वत् २०४१ सालको फौ.पु.नं. २५
फैसला भएको मिति : ०४३।२।२।६ मा
निवेदिका/प्रतिवादी : रौतहट रघुनाथपुर गा.पं.वडा नं.४ बस्ने कौशिलादेवी बानिया
विरुद्ध
विपक्षी/वादी : ऐ.वडा नं.३ बस्ने रुपनारायण शाह
मुद्दा : जालसाजी
(१) अस्थायी नागरिकताको प्रमाणपत्र लिंदा स्वास्नी भनी लेखाएको जालसाजी ठहर्याई जालसाजतर्फ सजायँ गर्ने गरेको इन्साफ मनासिब ठहर्छ ।
(प्रकरण नं. १५)
निवेदिका/प्रतिवादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारी
विपक्षी/वादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भूप्रसाद ज्ञवाली
फैसला
न्या.सुरेन्द्रप्रसाद सिंह : यस अदालतको डिभिजनबेञ्चबाट मिति २०४१।२।७।१ मा भएको फैसला फुलबेञ्चबाट दोहर्याई पाउँ भनी निवेदिकाले विशेष जाहेरी विभाग मार्फत श्री ५ महाराजाधिराजका हजुरमा चढाउनु भएको बिन्ति पत्रमा “व्यहोरा साँचो भए बिन्तिपत्रमा लेखिएको त्यस अदालतबाट निर्णय भएको जालसाजी मुद्दाको मिसिल झिकी फुलबेञ्चबाट दोहर्याई हेरी कानुन बमोजिम गर्नु” भन्ने हुकुम बक्स भई आए बमोजिम यस अदालत फुलबेञ्चको लगतमा दर्ता भई निर्णयार्थ यस बेञ्चमा पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यसप्रकार छ :
२. २०३३ साल फाल्गुण महीनामा नागरिकता टोली आएकोमा मेरो कोही नभएको विपक्षी कौशिलादेवीलाई उचाली प्र.पं.ले कौशिलादेवी मेरो स्वास्नी हो भनी सिफारिश गरी मलाई लोग्ने कायम गरी अस्थायी नागरिकताको प्रमाणपत्र प्राप्त गरेकोमा झुठ्ठा कुराको सिफारिश गर्ने प्र.हरूको नाममा फिराद गर्न आएको छु । कीर्ते कागजको १० नं. बमोजिम प्र. हरूलाई सजायँ गरिपाउँ भन्ने समेतको फिराद जिकिर रहेछ ।
३. मेरो जीवनमा दुई लोग्ने भएकोमा पहिलो लोग्ने सटहु परलोक भएपछि वादीसँग पति पत्निको सम्बन्ध स्थापित गरी निजको कर्णी वीर्यबाट मेरो गर्भबाट जन्मेको एक छोरा बैजू शाह मौजूद छ सो कुरा गाउँलेहरूलाई थाहा भएको आधारमा प्र.जि.अ.ले लोग्ने स्वास्नी कायम गरी दिएको झुठ्ठा दावीबाट फुर्सद पाउँ भन्ने समेतको कौशिलादेवीको प्रतिउत्तर जिकिर रहेछ ।
४. प्रतिवादी कौशिलाको लोग्ने सटहु परलोक भएपछि कौशिलालाई वादीले पत्नी बनाई राखेको हुन भन्ने शेष सुजायतको प्रतिउत्तर रहेछ ।
५. कौशिला वादीको स्वास्नी हो वादीको कर्णीबाट वैजू भन्ने छोरा भएको हो हामीहरूले झुठ्ठा सिफारिश गरेको छैन, भन्ने समेतको फालिसाको प्रतिउत्तर जिकिर रहेछ ।
६. बिनाआधार रुपनारायणको छोरा देखिन नआएकोले प्रतिवादी कौशिला वादीको स्वास्नी भन्न मिलेन अस्थायी नागरिकता प्रमाण लिई रुपनारायणको स्वास्नी भनी लेखिएको बदर गरिएको छ, भन्ने समेतको शुरु रौतहट जिल्ला अदालतको फैसला रहेछ ।
७. उक्त फैसलामा चित्त बुझेन भनी प्रतिवादीको नारायणी अञ्चल अदालतमा परेको पुनरावेदनमा शुरु जिल्ला अदालतको फैसला जालसाजी कीर्तेमा दावी भएकोमा सोतर्फ नबोली अस्थायी नागरिकता प्रमाणपत्र बदर हुने ठहर उल्लेख भएको फैसला इन्साफ कानुनसंगत भएको नदेखिँदा वादी दावी नपुग्ने भन्ने समेतको नारायणी अञ्चल अदालतको फैसला रहेछ ।
८. उक्त फैसला कानुन त्रुटिपूर्ण हुँदा पुनरावेदन गर्न अनुमति पाउँ भनी वादीको श्री मध्यमाञ्चल क्षेत्रीय अदालतमा निवेदन परी पुनरावेदन गर्न अनुमति प्राप्त भई फैसला हुँदा वादी दावी बमोजिम जालसाजी ठहर्याएको शुरु रौतहट जिल्ला अदालतको फैसला मनासिब ठहर्छ । नारायणी अञ्चल अदालतको फैसला उल्टी हुने ठर्हछ, भन्ने समेतको मिति २०३९।१।१२ को म.क्षेत्रीय अदालतको फैसला रहेछ ।
९. उक्त फैसला त्रुटिपूर्ण छ पुनरावेदन गर्न अनुमति पाउँ भनी प्रतिवादीको निवेदन परेकोमा क्षेत्रीय अदालतको फैसला त्रुटिपूर्ण देखिएको हुँदा पुनरावेदन गर्न अनुमति दिइएको छ, भन्ने समेतको यस अदालतको डिभिजनबेञ्चको मिति २०३९।६।६।४ को आदेश रहेछ ।
१०. प्रमाण निमित्त आएको वादी कौशिलादेवी प्रतिवादी बुल्ला साहू भएको अंश मुद्दा मिति २०२७।११।२६ मा डिसमिस फैसला भएको मिसिलबाट देखिन्छ । सो मुद्दाको पुनरावेदकले दिएको फिरादमा विवाहिता लोग्ने सटहु देहावसान भएपछि जातका रीत अनुसार देवर बुल्लासँग लोग्ने स्वास्नी कायम गरी ३ महीनाको गर्भ समेत धारण गरेको भन्ने लेखिएको पाइन्छ । पुनरावेदिका प्रतिवादीका जिकिर अनुसार वादी रुपनारायणलाई लोग्ने कायम गर्न सकिने तथ्ययुक्त सबूद प्रमाण पुनरावेदिकाले दिन सकेको छैन । उक्त डिसमिस फैसला भएको अंश मुद्दा समेतको प्रमाणपत्र वादी दावी बमोजिम अस्थायी नागरिकता प्रमाणपत्र लिंदा रुपनारायणको स्वास्नी भनी लेखाएको बदर गरिएको छ भनी प्र.हरूलाई जालसाजीतर्फ सजायँ गरी गरेको रौ.जि.अ.को फैसलालाई सदर गरेको म.क्षेत्रीय अदालतको इन्साफ मनासिब ठहर्छ भनी सर्वोच्च अदालत डिभिजनबेञ्चको मिति २०४१।२।७।१ को फैसला ।
११. नियम बमोजिम निर्णयार्थ आज यस बेञ्चमा पेश हुन आएको प्रस्तुत मुद्दामा निवेदिका प्रतिवादीका तर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारी तथा विपक्षी वादीतर्फबाट विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भूप्रसाद ज्ञवालीले गर्नुभएको बहस समेत सुनियो ।
१२. आज निर्णय सुनाउने तारिख तोकिएको प्रस्तुत मुद्दामा यस अदालत डिभिजनबेञ्चबाट भएको फैसला मिलेको छ, छैन निर्णय गर्नु परेको छ । यसमा २०३३ साल फाल्गुण महीनामा खटिएका नागरिकता टोलीमा प्र.पं.मिलाई विपक्षीले आफ्नो मरी सकेको लोग्ने सटहू साहूको ठाउँमा मलाई लोग्ने भनी झुठ्ठा कुरा गरी जाल रची २०३३।११।२५।३ का दिन बैवाहिक सम्बन्धको अस्थायी नागरिकताको प्रमाणपत्र प्राप्त गरेकोले सो अस्थायी नागरिकताको प्रमाणपत्र बदर गरिपाउँ भन्ने दावी वादीले लिएको पाइन्छ । विवाहित लोग्ने सटहू मरेपछि वादीसँग मेरो पति पत्नीको सम्बन्ध स्थापित भएको र वादीकै करणी वीर्यले मेरो गर्भबाट जन्मेको छोरा एक जना वैजू भन्ने सात वर्षको छ । मैले पाएको नागरिकतामा मेरो लोग्नेको नाममा वादीको नाम लेखिएको विलकूल ठीक छ भन्ने कुराको जिकिर प्रतिवादी कौशिलादेवीले आफ्नो प्रतिउत्तरपत्रमा लिएकी छिन ।
१३. अतः वादी रुपनारायण प्रतिवादी कौशिलादेवीका पति हुन् वा होइनन् भन्ने कुरामा सर्व प्रथम विचार गर्नुपर्ने हुन आयो । यसतर्फ हेर्दा प्रमाण निमित्त आएको वादी कौशिलादेवी बनियाइनी विरुद्ध बुल्ला साहू भएको अंश मुद्दामा विवादीत लोग्ने सटहू मरेपछि जातका रीत अनुसार देवर बुलासँग लोग्ने स्वास्नी सम्बन्ध कायम गरी निजको करणीबाट ३ महीनाको गर्भ भइसकेको छ, भन्ने कुरा मिति २०२७।१।३० मा दिएको फिरादपत्रमा उल्लेख गरेको छ । यसरी उक्त अंश मुद्दामा कौशिलादेवी बनिया आफू स्वयंले बुला साहूलाई लोग्ने मानी निजको करणीबाट ३ महीनाको गर्भ रहेको कुरा स्वीकार गरी सकेकोलाई अहिले आएर प्रस्तुत मुद्दामा वादी रुपनारायण बाहेक मेरो लोग्ने अर्को कुनै नभएको र विवादीत पति सटहूको मृत्यु पछि वादीसँग मेरो पति पत्नीको सम्बन्ध कायम भएको हो भनी अस्वीकार गर्न प्रमाण ऐन, २०३१ को दफा ३४ को विबन्धनको सिद्धान्तले मिल्दैन ।
१४. यस्तै गरी कौशिलादेवीले मिति २०२७।१।३० मा दिएको अंश मुद्दाको फिरादमा बुला साहूसंगको करणी बाट ३ महीनाको गर्भ रहेको छ, भनी लेखेकी र प्रस्तुत मुद्दा मिति २०३४।६।२५।२ मा प्रतिउत्तरपत्र दिँदा ७ वर्षको बैजू भन्ने छोरा छ, भनी उल्लेख गरेकी छिन् । यसरी २०२७।१।३० मा ३ महीनाको गर्भमा रहेको बच्चा प्र.कौशिलादेवीले २०३४ सालमा प्रतिउत्तर दिँदा लगभग ७ वर्ष नै पुग्ने हुन आउँछ ।
१५. यसरी निवेदिका प्रतिवादी कौशिलादेवीले वादी रुपनारायणलाई लोग्ने कायम गर्न सकिने तथ्ययुक्त प्रमाण दिनसकेकी छैन, यसबाट अस्थायी नागरिकताको प्रमाणपत्र लिंदा रुपनारायणकी स्वास्नी भनी लेखाएको जालसाजी देखियो । अतः वादी दावी बमोजिम प्रतिवादीले अस्थायी नागरिकताको प्रमाणपत्र लिंदा रुपनारायणको स्वास्नी भनी लेखाएको जालसाजी ठहर्याई जालसाजतर्फ सजायँ गर्ने गरेको शुरु रौतहट जिल्ला अदालत तथा मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिब ठहराइएको डिभिजनबेञ्चको इन्साफ मनासिब ठहर्छ । मिसिल नियम बमोजिम गरी बुझाइदिनू ।
उक्त रायमा हामीहरूको सहमती छ ।
न्या. गजेन्द्र केशरी बास्तोला
न्या.हरिहरलाल राजभण्डारी
इति सम्वत् २०४३ साल ज्येष्ठ २ गते रोज ६ शुभम् ।