निर्णय नं. २५९७ – उत्प्रेषण
निर्णय नं. २५९७ ने.का.प. २०४३ अङ्क १ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी सम्वत् २०४१ सालको रि.नं. १८९५ आदेश भएको...
निर्णय नं. २५९७ ने.का.प. २०४३ अङ्क १
डिभिजनबेञ्च
माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह
माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी
सम्वत् २०४१ सालको रि.नं. १८९५
आदेश भएको मिति : २०४३।१।७।१ मा
निवेदक : का.प.जि.फुलबारी गा.पं.वा.नं. ७ बस्ने हर्कबहादुर श्रेष्ठसमेत
विरुद्ध
विपक्षी : वन डिभिजन कार्यालय काभ्रेपलान्चोकसमेत
विषय : उत्प्रेषण
(१) दर्ता तिरो भोगको नम्बरी जग्गा वन सीमाना भित्र पारी रोकुवा जनाएको समेतका सम्पूर्ण कारवाई कानुन अनुरुप मिलेको देखिन नआउने ।
(प्रकरण नं. ७)
निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री गुरुप्रसाद बराल
विपक्षीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री बलीरामकुमार
आदेश
न्या.सुरेन्द्रप्रसाद सिंह : संविधानको धारा ७१ अन्तर्गत यस अदालतमा दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं जिकिर यसप्रकार छन् ।
२. हामी हिरालाल समेतको ससुरा कृष्णलालले रु.९९९।– मा २००४।८।३० मा का.प.मालमा रजिष्ट्रेशन पास गरी कृष्णचन्द ढुङ्गानाबाट राजीनामा गरी लिएको पूर्व रैकर खेत र कुवेरमानको विर्ता पश्चिम काक्रेली अधिकारीको विर्ता उत्तर कुवाले पानी खोल्सो दक्षिण मूलबाटो र कुवेरको विर्ता खोल्सो यति चार किल्ला भित्रको विर्ता जग्गा फार्सा गरी लिई विर्ता छँदा भोग गरी रहेको र विर्ता उन्मूलन भएपछि ०१७।२।१९ मा विर्ता रैकरमा परिणत गर्दा जम्मा तिरो रु.३।९० लागि दर्ता भएको र बसोवास गरी आएको र निवेदक हर्कलालको बाबु कुवेरमानले जयमणी ढुङ्गानाबाट रु.९९।५० मा २००५।५।५।२ र पुनः २००५।५।१७ मा फार्सा राजीनामा गरी लिएको २ कित्ता जग्गा विर्ता छँदा विर्ता र विर्ता उन्मूलन भई रैकरमा परिणत हुँदा कुवेरमानका नाउँमा २०१७।२।१९।४ मा रैकरमा परिणत गरी जम्मा तिरो रु.२।६६ तिरो लागी रैकरमा दर्ता भएको पूर्व नाल बन्दी खेत पश्चिम पानी ढलो उत्तर काक्रेली पाखो जाने बाटो दक्षिण भोजराज पाध्यायको यति ४ किल्ला भित्रको जग्गामा बसोवास भएको निवेदक श्यामकृष्ण श्रेष्ठको बाबा मोहनलालका नाउँमा ०१७।२।१९।४ मा विवरण गर्दा पेश गरेको राजीनामाको जग्गा रैकरमा परिणत हुँदा झारे बारीको पूर्व मानबहादुरको पश्चिम हिटीको पहिरो खोल्सो उत्तर खोल्सा दक्षिण मूलबाटो यति ४ किल्ला भित्रको कित्ता १ र मल्लेवारीको पूर्व काक्रेली अधिकारीको साँध पश्चिम कुवेरमानको साँध उत्तर खोला दक्षिण मूलबाटो यति चार किल्ला भित्रको कित्ता १ समेत जम्मा २ कित्ता जग्गा र निवेदक रत्नूलाल श्रेष्ठको दर्ता चतुरलाल श्रेष्ठले शिवनाथ पाध्यायसँग राजीनामा गरी २०२०।११।२५ र २०२१।५।३।३ मा समेत गरी २ पटक राजीनामा लिएको पूर्व पोते तामाङ र मानबहादुर पश्चिम रामकृष्ण श्रेष्ठको खोल्सो उत्तर मानबहादुरको मल्ल खोलो दक्षिण मूलबाटो यति चार किल्ला भित्रको जग्गा फुलबारी गा.पं.वडा नं.६ को कि.नं.२११, २२३, २२४ मिति ०३७।११।२९ मा मालपोत कार्यालय मार्फत रु.९०००।– मा राजीनामा गरी लिएको जग्गामा २ तले घर समेत भएको हामी निवेदकहरूले राजीनामा फार्से गरी आ–आफ्ना नाउँमा रैकर विवरण समेत गरी बसोवास गरी दर्ता चल र राजीनामा वालाबाट तिरो फुटाई भोगचलन गरी आएको जग्गा नापीका बखत फुलबारी गा.पं.वडा नं.६ को कि.नं.२१६ मा कि.का.भएको जोताहाको महलमा भीर बुटेन सैछाप भन्ने महलमा वन क्षेत्र चौहदीमा पूर्वतर्फ कि.नं. १३८ पश्चिम बाटो उत्तर कि.नं. १३८ दक्षिण बाटो यति चार किल्ला जनाई कित्ताकाट भएको रहेछ । सो कुरा नापी टोलीमा गई आ–आफ्नो वन विरुवा लगाई तिरो तिरी भोग गरी आएको जग्गा हो भनी निवेदन गरेकोमा निर्णय हुन बाँकी छँदै वन सीमाना भित्रको हो भनी वन डिभिजन कार्यालयद्वारा डिमार्केशन गरी पिलर लगाई यो जग्गामा प्रवेश नगर्नु भनी अष्ट्रेलीयन वन परियोजना समेत लगायतमा विपक्षीहरूबाट सुनाउने गरेबाट नागरिक अधिकार ऐन, ०१२ को दफा १७(१) अन्तर्गत बागमती अञ्चल अदालतमा निषेधाज्ञा जारी गरिपाउँ भनेकोमा निवेदकहरूको ०१७ सालको दर्ता सक्रिय छैन नापीमा कि.नं. २१६ मा भिर बुटेन जनिएको छ । फुलबारी गा.पं.लाई पञ्चायती वन नियमावली अनुसार २०३७।११।१३ मा पञ्चायतलाई हस्तान्तरण गरी सकेको छ विलम्ब गरी अदालत समक्ष आएको भन्ने समेत विपक्षी वन डिभिजन कार्यालय काभ्रेको लिखितजवाफमा उल्लेख गरेको भए तापनि पञ्चायतलाई हस्तान्तरण गरेको जग्गा हाम्रो दर्ता तिरोको नभई किल्ला क्षेत्रफल लगायतबाट फुलबारी गा.पं.वार्ड नं. ९ को कि.नं.९६७ को जग्गा देखिन आउँछ । उक्त जग्गा दर्ता आवादीको जग्गा हो मालपोत ऐन, ०३४ को दफा ७ अनुसार फिल्डबुकमा वन क्षेत्र जनाई दिएको कारणले जग्गाधनी प्रमाण पूर्जा लिने समेतको काम बाँकी भए पनि साविक दर्ताको जग्गा दर्ता गर्न माल अड्डाको श्रेस्ताको लगतद्वारा रैकर नम्बरी जग्गामा हाम्रो हक समाप्ती हुन सक्तैन ।
३. वन ऐनको दफा ३(क) ५, ९, १०, १२(क) बमोजिम नम्बरी दर्ता जग्गा त्यस्तो जग्गामा घर बनेको आवश्यक भएमा बाहेक प्राप्त गर्ने छैन भन्ने किटानी व्यवस्था हुँदा हुँदै एकाएक वन क्षेत्र भित्र पारी निवेदकको सम्पत्तिको हकमा कुण्ठित गर्न कानुनसंगत हुँदैन कि.नं.२१६ को जग्गा वन सीमाना भित्र पर्ने भनी ०३४।२।१८ मा वन प्रतिनिधिबाट रोकुवा भएको भनी कैफियत महलमा जनाइएको कुरा क्षेत्रीय किताबको नक्कल ०४१।१०।२८ मा सारी लिंदा थाहा भएबाट हाम्रै सबूद प्रमाण देखाउने मौकाबाट पूर्ण रुपमा बञ्चित गरिएकोले प्राकृतिक न्यायको सिद्धान्त प्रतिकूल भएकोले फुलबारी गा.पं.वडा नं.६ को कि.नं.२१६ को जग्गा रोक्का राख्नेो पत्र र उक्त वन सीमाना भित्र पारिएको भन्ने क्षेत्रीय किताबमा उल्लेख भएको व्यहोरा समेत उत्प्रेषणको आदेशद्वारा बदर गरिपाउँ भनी रिट निवेदकले जिकिर लिएको रहेछ ।
४. विपक्षीहरूबाट लिखितजवाफ झिकाई प्राप्त भएपछि पेश गर्नु भन्ने यस अदालत सिंगलबेञ्चको मिति ०४१।११।२८।२ को आदेश रहेछ ।
५. निवेदकका उक्त कि.नं.२१६ मा कुनै हक दावी नपुग्ने र यस कार्यालय समेतबाट निवेदकहरूलाई हक अधिकारमा आघात पुर्या६ई निवेदकहरूको अधिकार तिरो तिरान भित्रको जग्गामा वृक्षरोपण नगरी आफ्नो सरकारी वन क्षेत्र भित्रको जग्गामा वृक्षारोपण गरी रहेकोले श्री ५ को सरकारको सामुदायिक वन विकास कार्यक्रम अनुसार उक्त ठाउँमा वृक्षारोपण भई आएकोले उक्त सरकारी वन क्षेत्रलाई अरु कुनै निस्सा प्रमाण बेगर मेरो हक भोगको छ भनी बिनाआधार प्रमाणबाट दिएको निवेदन खारेज गरिपाउँ भन्ने व्यहोराको वन कार्यालय काभ्रेपलान्चोकको लिखितजवाफ रहेछ । मधुरापाटी फुलबारी गा.पं.कार्यालयको तर्फबाट लिखितजवाफ प्राप्त हुन नआएको देखिएको ।
६. निवेदकतर्फबाट उपस्थित हुनुभएका विद्वान अधिवक्ता श्री गुरुप्रसाद बरालले र विपक्षी कार्यालयतर्फबाट उपस्थित हुनुभएका विद्वान सरकारी सहन्यायाधिवक्ता श्री बलिरामकुमारले गर्नुभएको बहस समेत सुनियो मुख्यत निवेदकका माग बमोजिमको आदेश जारी गर्न मिल्ने नमिल्ने के रहेछ सो कुराको निर्णय दिनुपर्ने हुन आएको छ ।
७. हामीहरूका नाउँमा नम्बरी दर्ता भई घरबास खरीद बिक्री समेत गरी भोग तिरो गरी आएका जग्गालाई हामीलाई कुनै जानकारीसम्म नदिई वन सीमाना भित्र पारी रोक्का भनी क्षेत्रीय किताबमा जनाई राखेकोले सो सबै कारवाई उत्प्रेषणको आदेशद्वारा बदर गरिपाउँ भन्ने मुख्य रिट निवेदकहरूको जिकिर भएको पाइन्छ । यसमा विवादीत जग्गा निवेदकहरूका नाउँमा विर्ता उन्मूलन भई रैकरमा दर्ता गरी खरीद बिक्री समेतबाट दर्ता भई भोग तिरो गरेकोमा र सो दर्ता श्रेस्ताको कुनै लगत काटिएको र दर्ता बदर भए गरेको छ भन्ने समेत कुनै प्रमाणित विवाद भए गरेको देखिँदैन यस्तो दर्ता तिरो भोगको जग्गामा रिट निवेदकहरूको घरबास गरी बसेको र भोग गरेको तथा खरीद बिक्री व्यवहार गरी रहेको कुरामा पनि कुनै विवाद गरेको पाइन्न । विवादीत जग्गा वन सीमाना भित्र पार्नु पर्ने अत्यावश्यक परेको कानुनी कारण प्रमाण सहितको कानुनी विधिवत रिट निवेदक दर्तावालाहरूलाई कुनै जानकारी दिएको पनि देखिँदैन । यस्तो स्थितिमा रिट निवेदकहरूका दर्ता तिरो भोगको नम्बरी जग्गा वन सीमाना भित्र पारी रोकुवा जनाएको समेतका सम्पूर्ण कारवाही कानुन अनुरुप मिलेको देखिन आएन । उक्त उल्लिखित विवादीत जग्गामा विपक्षी वन डिभिजन कार्यालय काभ्रे तथा मथुरापाटी गा.पं.काभ्रे समेतले गरी दिएको रोकुवा निर्णय समेतका सम्पूर्ण कारवाही उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ । नियमानुसार गरी फाइल बुझाइदिनू ।
उक्त रायमा म सहमत छु ।
न्या.हरिहरलाल राजभण्डारी
इति सम्वत् २०४३ साल वैशाख ७ गते रोज १ शुभम् ।