March 10, 1986
Created by nepalarchives

निर्णय नं. २५९५ – कर्तव्य ज्यान

निर्णय नं. २५९५ ने.का.प. २०४३ अङ्क १ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला सम्वत् २०४१ सालको फौ.पु.नं. ४७० सम्वत् २०४१...

निर्णय नं. २५९५ ने.का.प. २०४३ अङ्क १

डिभिजनबेञ्च

माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह

माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला

सम्वत् २०४१ सालको फौ.पु.नं. ४७०

सम्वत् २०४१ सालको फौ.सा.नं. ११६

फैसला भएको मिति : २०४२।११।२७।२

 

पुनरावेदक/प्रतिवादी : कारागार शाखा पाल्पामा बन्दी रहेको प्रेमबहादुर के.सी.

विरुद्ध

विपक्षी/वादी : प्रहरी गोपालबहादुरको जाहेरीले श्री ५ को सरकार

 

मुद्दा : कर्तव्य ज्यान

 

(१) सावितीलाई अन्य चस्मदिद साक्षी सरजमीनबाट समेत पूर्ण रुपमा पुष्टि भएको   देखिन्छ । मृतकसंग घटनासँगकै समयमा पिटापीट भएकोमा र बक्सिंग हानी मेरो नाकबाट रगत आएको भन्ने अदालतमा समेत प्रत्यवादीले साविती बयान गरेको पाइन्छ । यस्तो स्थितिमा पुनरावेदक  प्रतिवादीलाई ज्यानसम्बन्धीको १३(३) अनुसार सजायँ गर्ने गरेको इन्साफमा कुनै कानुनी त्रुटि नभई मिलेकै देखिने । 

(प्रकरण नं. २०)

 

पुनरावेदक/प्रतिवादीतर्फबाट : विद्वान वैतनिक अधिवक्ता श्री रमेश कार्की

 

फैसला

न्या.सुरेन्द्रप्रसाद सिंह : पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसलामा चित्त बुझेन भनी पुनरावेदक प्रतिवादीले दिनु भएको पुनरावेदनमा लिएका जिकिर तथा तथ्य संक्षेपमा निम्न प्रकार छ ।

२. ०३७।१।२५ गते बेलुका अं.७ बजे तिर प्रहरी मदन सिंह दाहाल प्रहरी, रामप्रसाद थापा र म ३ जना रोलकलको समय भएकोले कार्यालयतर्फ आउन लागेका थियौं कार्यालय तर्फबाट प्रहरी ओमबहादुर गुरुङ्ग प्रहरी, प्रेमबहादुर के.सी. भट्टीतर्फ आउँदै थिए । हामीहरूको भेट भट्टी निरको कलभर्टको बीचमा भयो र प्रेमबहादुर के.सी. ले मदनसिंह दाहाललाई संकेत गर्दै मेरो पेटी लिइस् भन्दा तेरो पेटी मैले लिएको छैन भनी मदनले भन्यो र त्यत्तिकैमा प्रेमबहादुरले मदनको जिउमा बक्सीङले एकपटक हिर्काएपछि मदनले पनि मुक्काले प्रेमबहादुरलाई हिर्काउन थाल्यो प्र.जि.अ.ज्यू र प्रहरी निरीक्षकज्यू जि.का.को गाडीमा आउनु हुँदा थाहा पाई लडाई गर्न छाडेका थिए म पछाडि थिएँ किन हो मदन र प्रेमबहादुर आपसमा लड्दै कलभर्टको उता यहीतर्फ बाटोमा पुगें म पनि उतै फर्कें त्यस्तैमा मदनले (यसको) प्रेमबहादुरका हातमा चक्कू छ खोस भनी कराएको सुनियो झट्ट अगाडि बढी प्रेमबहादुरका हातबाट चक्कू खोस्न नपाउँदै निजले निज मदन माथि चक्कूको प्रहार गरी सकेको रहेछ फेरी पनि फलामको धारीलो चक्कू प्रहार गर्न खोज्दा चक्कू मैले खोसें चक्कूको प्रहारबाट मेरो दाहिने हातको बूढी औंलाको केही भाग काटिएको छ । घाइते मदनसिंको अवस्था मर्न बाँच्न दोसाँध रहेको जस्तो लाग्छ । औषधी उपचार गर्न घाइते मदन सिंहलाई र मार्ने प्रयास गर्ने प्रेमबहादुर के.सी.लाई र निजले प्रहार गरेको देसी चक्कू एक समेत कारवाहीको लागि यसैसाथ पेश गरेको छु भन्ने समेत व्यहोराको ०३७।१।२५ को प्रहरी गोपालबहादुर तामाङको प्रतिवेदन ।

३. जि.प्र.का.त.को कम्पाउण्डमा रहेको पुरानो भान्सा घरदेखि पश्चिम क्वार्टर गार्डदेखि पूर्व माछा पाल्ने सगरा देखि उत्तर पूर्व पश्चिम आउने जाने सडक देखि दक्षिण यति ४ किल्ला भित्रको २३ हात लामो १० हात चौडाई भएको फुसको छाना र चारैतिर टाटी नै घेरी उत्तरतर्फ खुल्ला ढोका भएको घरको विवरण उत्तरतर्फ निस्किने ढोका देखि ३ हात पश्चिममा उत्तर टाउको दक्षिण खुट्टा गरी सिरकले पुरा छोपी भुँईमा सुताई राखेको भन्ने समेत लाश रहेको ठाउँको विवरण मुचुल्का ।

४. मदन सिंको लाश हेर्दा घाँटीको दायाँ पट्टि लहरै सात वटा सानो सानो नङ्गले कोरेको जस्तो दागहरू गर्धन देखि ६ अङ्गूल तल आधा इन्च लम्बाइमा धारीलो चिजले रोपेको जस्तो घाउ देखिएको सो देखि तल डेढ इन्च जति लामो करीब २१/३ इन्च जति गहिरो घाउ देखिएको कुमको हड्डीनेर ११/३ लामो काटिएको भन्ने समेत असद अली समेतले लेखाई दिएको लाश प्रकृति मुचुल्का ।

५. बायाँ फोक्सोबाट बेसरी रक्तश्राव भएकोले मान्छे मरेको हो भन्ने समेत व्यहोराको ०३७।१।२६ को पोष्टमार्टम रिपोर्ट ।

६. ०३७।१।२५ गते साँझ ओमबहादुर गुरुङ्गसंग भट्टितिर जान हिंडे ओमबहादुरले मदन सिंह  दाहाल त्यहि भट्टिमा होला त्यसलाई पिट्नु पर्छ भन्ने कुरा गर्यो  भट्टीको छेउ अकल भट्टतिर पुग्दा निज मदन सिं त्यहीं रहेछ ओमबहादुर मदन यहीं रहेछ तैंले पिट भन्यो, मैले पहिलो तिमीले पिट भनें, कलघट्टनेर मदनसंग भेट हुनासाथ मदनसंग मेरो बेल्ट कहाँ छ ल्याउँ भनें भनाभन पछि निजले ल तेरो बेल्ट भन्दै मलाई बकसिंगले हिर्कायो मैले पनि बक्सिंग हिर्काउन थालें गाडी प्रहरी कार्यालयतर्फ आउन लागेको देखि इन्सपेक्टर साहेवहरू आउनु भएको जस्तो लाग्यो र दुबै थरी चुपचाप भयौं र त्यसपछि रुद्रबहादुर समेत १०।८ जना जति एकसाथ प्रहरी कार्यालयतर्फ आउन भट्टिनेर कलभर्टबाट यतातिर आई सकेपछि सबभन्दा अगाडि हिंडिरहेको मदनसिंह फर्कि पछाडि पट्टी फर्केर निजले मलाई मुखमा दुई पटक बकसिङले हिर्कायो र फेरी फर्की अगाडि यहीं आयो, ओमबहादुर गुरुङ्गले मलाई के हेरेको छस् हिर्का पत्यारे मैले मेरो साथमा रहेको आफ्नै फलामको धार पित्तलको विंड भएको चक्कू पहिले एक चोट पिठ्यूमा ताकी हिर्काएँ कुन ठाउँमा लाग्यो अन्दाज भएन अरु कति चोटी हिर्काएँ र कुन कुन ठाउँमा घाउ लाग्यो सो कुराको मलाई आवेशमा याद हुन सकेन मैले चक्कू प्रहार गरेको देख्नेउ प्रहरीहरू मध्ये कसले हो मलाई याद छैन मेरो हातबाट चक्कू खोसेका थिए सो चक्कू यहाँ दाखिल भएकै रहेछ मदन सिंलाई प्रहार गरेको यही नै चक्कू हो भन्नेसमेत व्यहोराको ०३७।१।२७ को प्रेमबहादुर के.सी.ले प्रहरीमा गरेको बयान ।

७. मदन सिंहको मृत्यु प्रेमबहादुरले आफ्ना साथमा भएको पितलको विंड भएको फलामे चक्कू निकाली धमाधम हिर्काएकोले सोही चक्कूले प्रहार गरेको चोटबाट नै भएको हुन सक्दछ । निज मदनलाई बल प्रयोग गर्न बचन प्रहरी प्रेमबहादुरलाई दिएको होइन निजले आफ्नै विचारले आफ्ना साथको चक्कू लिई प्रहार गरेको हो । सो कुरा देख्नेल जाने घटनास्थलमा मानिस समेत बुझी पाउँ भन्ने समेत व्यहोराको ओमबहादुर गुरुङ्गको ०३७।१।२७ मा प्रहरीमा भएको बयान ।

८. प्रेमबहादुर के.सी. सँग मेरो लोग्नेको आजसम्म राम्रो बोलचाल पनि थिएन । रिस ईविबाट निज प्रेम के.सी.ले नै मारेको हो भन्ने पुरा विश्वास छ र निज प्रेम के.सी.को साथमा ओमबहादुर जानु भएको मानिसले पनि मौका मौकामा धाक धम्की समेत देखाई रहन्थ्यो भन्ने कुरा मृतक मदन मेरो श्रीमानले म संग भन्नु हुन्थ्यो र निज ओमबहादुरसंग मेरो श्रीमानको बोलचाल पनि थिएन भन्ने समेत व्यहोराको मृतक मदन सिंको श्रीमती जमुनादेवी दाहालले प्रहरीमा ०३७।१।२८ मा गरेको बयान ।

९. मदन सिंले र प्रेमबहादुर के.सी.ले मुक्का मुक्की गरी पछि कार्यालयतर्फ आउन लाग्दा कलभर्ट पुगेपछि प्रेमबहादुर पछाडि मदन सिंहतर्फ फर्किई मदनलाई लखट्दै कलभर्टनिर भाग्दै गरेको देखें सोही मौकामा प्रेमबहादुरदले मदनको पछाडिबाट चक्कूले हिकार्एको हुनुपर्छ भन्ने समेत प्रहरी लालबहादुर पुलामीको र रुद्रबहादुर के.सी. को ०३७।१।३० को सरजमीन मुचुल्का ।

१०. सबूद प्रमाणका आधारमा मुख्य कर्तव्यवाला प्रेमबहादुर के.सी. लाई मुलुकी ऐन ज्यानसम्बन्धीको १३(३) बमोजिम र ओमबहादुर गुरुङ्ग मदन सिंह दाहालको ज्यान मारी मार्न लगाई आफ्नो रिस साधन गर्न खोज्ने मतलबीसम्म देखिएको हुँदा निजलाई ज्यानसम्बन्धीको १७(३) बमोजिम सजायँ गरी माग्छौं भन्ने एकै व्यहोराको प्रहरीको संयुक्त प्रतिवेदन ।

११. प्रहरीमा गरेको ल्याप्चे र सहिछाप मेरै हो तर मदनले मेरो नाकमा १ बक्सिङ हानी निस्केको मेरो रगत हो, सट र चक्कू कस्को जान्दिन, बंडरी सर्ट मेरो हेरी सनाखत गर्दै प्रहरीमा मलाई थुनी लेखी राखेको कागजमा डर त्रासले मैले सहिछाप गरी दिएको हो प्रहरी प्रतिवेदन अनुसार सजायँ हुनुपर्ने होइन भन्ने समेत व्यहोराको प्रेमबहादुर के.सी. ले अदालतमा गरेको  बयान ।

१२. मैले कुटेको छुरी हानेको कुनै होइन सबै मोलाहट झुठ्ठा हो मैले प्रहरीमा गरेको कागज ठिक छ म निर्दोष हुँदा मलाई प्रहरी प्रतिवेदन अनुसार सजायँ हुनुपर्ने होइन भन्ने समेत व्यहोराको प्रहरी ओमबहादुरले अदालतमा गरेको बयान ।

१३. सरजमीनका मानिस रुद्रबहादुर, भीमबहादुर थापा, रामप्रसाद थापा, पद्‌मबहादुर थापा र प्र.का साक्षी रामबहादुर मगर समेतको बकपत्र ।

१४. रक्सी भट्टी मरिकसी आएपछि बेल्टका विषयलाई लिएर दुबै थरीको बीच विवाद भएको र त्यसैमा पछि कुटपिट हुँदा रक्सीको शुरमा मृतक मदन सिंहलाई तत्काल उठेको रिस थाम्न नसकी प्रेमबहादुर के.सी.ले चक्कू प्रहार गरेबाट निजको मृत्यु भएको देखिन आएको हुँदा प्रहरी प्रतिवेदन दावी अनुसार निजलाई ज्यानसम्बन्धीको १३(३) अनुसार सजायँ गर्ने अवस्था नदेखिएको हुँदा सोही ऐनको १४ नं. अनुसार सजायँ हुने र मात्र प्रहरीमा प्रेमबहादुरले पोल गरेकै आधारलाई प्रमाण स्वरुप ग्रहण गरी सजायँ गर्नु न्यायोचित नहुने हुँदा प्रमाणको अभावमा ओमबहादुर गुरुङ्गले सफाई पाउने ठहर्छ भन्ने समेत व्यहोराको कपिलवस्तु जिल्ला अदालतको फैसला ।

१५. सो फैसलामा चित्त बुझेन प्रहरी प्रतिवेदन दावी अनुसार सजायँ गरिपाउँ भन्ने समेत व्यहोराको वादी श्री ५ को सरकारले प.क्षे.अ.मा दिएको पुनरावेदन ।

१६. यसमा सरजमीनले किटानी प्र.प्रेमबहादुरले चक्कूले हानेको देखेको भनी बकेको समेत देखिँदा अ.बं.२०२ नं. बमोजिम प्र.प्रेमबहादुरलाई झिकाउनु भन्ने डिभिजनबेञ्चको आदेश ।

१७. यसमा मृतक मदन सिंले चक्कूले हाने भनी कराएको सुनेको भनी जाहेरीमा उल्लेख भएको सरजमीन रामप्रसाद, भीमबहादुर रुद्रबहादुरले अदालतमा बयान गर्दा पनि प्रेमबहादुरले चक्कू प्रहार गरेको देखेको हुँ भनी भनेको ओमबहादुरले पनि चक्कू प्रहार गरेको देखेको हुँ भनेकोमा शुरुले यस्तो अवस्थामा ज्यानसम्बन्धीको १४ नं. लगाई प्रेमबहादुरलाई सजायँ गरेको कानुनसंगत भएन । वारदातको रुप र मृतकको शरीरमा परेको घा चोट समेतबाट प्र.प्रेमबहादुर के.सी.लाई ज्यानसम्बन्धीको १३(३) अनुसार सर्वश्वसहित ज्यान कैद हुने ठहर्छ । प्र.ओमबहादुर गुरुङ्गले कसूरमा इन्कार रही बयान गरेको मृतक मदनको पूर्व रिसइवी रहेको प्रमाणित हुन नसकेको समेत देखिँदा सबूद प्रमाणको अभावमा निजलाई सफाई दिने गरेको शुरुको इन्साफ मनासिब छ भन्ने समेत व्यहोराको पश्चिमाञ्चल क्षेत्रीय अदालतको ०४१।३।१३ को फैसला ।

१८. सो फैसलामा चित्त बुझेन भन्ने प्र.प्रेमबहादुर के.सी.ले यस अदालतमा दिएको पुनरावेदन ।

१९. पुनरावेदक प्रतिवादीतर्फबाट उपस्थित हुनुभएको विद्वान वैतनिक अधिवक्ता श्री रमेश कार्कीले गर्नुभएको बहससमेत सुनियो मुख्यत प.क्षे.अ.को निर्णय मिलेको छ छैन सो कुराको निर्णय दिनुपर्ने हुन आएको छ ।

२०. यसमा धारीलो हतियार प्रयोग भई मृतक मदन सिं दाहालको मृत्यु भएको र बक्सिङ्ग हानाहान भएकोमा कुनै विवाद देखिएन । घटनाको स्थितिसँग मिलान हुने रगत लागेको हतियार चक्कू सर्ट आदि मेरै हो भनेर मैले प्रहार गरेको हुँ भन्ने समेत प्रत्यवादीले प्रहरीमा पूर्ण सम्मती भई सनाखत बयान गरेको पाइन्छ सो सावितीलाई अन्य चम्मदित साक्षी सरजमीनबाट समेत पूर्ण रुपमा पुष्टि भएको देखिन्छ । मृतक मदन सिंह दाहालसंग घटनाकै समयमा पिटापिट भएकोमा र मदन सिंहले बक्सिङ्ग हानी मेरो नाकबाट रगत आएको भन्ने अदालतमा समेत प्रतिवादीले साविती बयान गरेको पाइन्छ । यस्तो स्थितिमा पुनरावेदक प्रत्यवादीलाई ज्यानसम्बन्धीको १३(३) अनुसार सजायँ गर्ने गरेको पश्चिमाञ्चल  क्षेत्रीय अदालतको इन्साफमा कुनै कानुनी त्रुटि नभई मिलेकै देखिँदा सदर हुने ठहर्छ । पुनरावेदन परेकोले सो को लगत काटी मिसिल नियमानुसार गरी बुझाइदिनु ।

 

उक्त रायमा म सहमत छु । 

न्या.गजेन्द्रकेशरी बास्तोला

 

इति सम्वत् २०४२ साल फाल्गुण २७ गते रोज २ शुभम् ।