February 10, 1986
Created by nepalarchives

निर्णय नं. २५९१ – जालसाजी लेखत बदर

निर्णय नं. २५९१     ने.का.प. २०४३ अङ्क १ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०४२ सालको फौ.पु.नं. ५४० फैसला...

निर्णय नं. २५९१     ने.का.प. २०४३ अङ्क १

डिभिजनबेञ्च

माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह

माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान

सम्वत् २०४२ सालको फौ.पु.नं. ५४०

फैसला भएको मिति : २०४२।१०।२८।२

 

पुनरावेदक/वादी : विराटनर न.पं.वडा नं.९ बस्ने रेवतमल धाडेवा

विरुद्ध

विपक्षी/प्रतिवादी : ऐ.विराटनगर बजार बस्ने जगदीशप्रसाद सिंघानीयासमेत

 

मुद्दा : जालसाजी लेखत बदर

 

(१)         आफ्नो आर्जनको आफूखुसी गर्न पाउने अचल सम्पत्ति बिक्री गरेको सदर गरी जालसाजी गरेको नठहराई पूर्वाञ्चल क्षेत्रीय अदालतले गरेको फैसलामा कुनै कानुनी त्रुटि गरे भएको नदेखिने ।

(प्रकरण नं. १५)

 

पुनरावेदक/वादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री शुम्भुप्रसाद ज्ञवाली

विपक्षी/प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री यादवप्रसाद खरेल

 

फैसला

न्या.सुरेन्द्रप्रसाद सिंह : पूर्वाञ्चल क्षेत्रीय अदालतको इन्साफमा चित्त बुझेन पुनरावेदनको अनुमति पाउँ भनी दिएको निवेदनमा पुनरावेदनका अनुमति प्राप्त गरी यस बेञ्च समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा लिएको पुनरावेदन जिकिर तथा तथ्य संक्षेपमा निम्न प्रकारका छन् ।

२. प्रतिवादी ईश्वरी चन्द्र पिता र रामलाल भाइ भए पनि काकाले रीतपूर्वक अंश नदिनु भएकोले दायर गरेको अंश मुद्दा उक्त अदालतमा छ । मेरो हक मेटाउन काकाले केही जग्गा भाइ रामलालको पत्‍नी राजकुमारीका नाउँमा जालसाजी राजीनामा गरी दिनु भएको मुद्दा यसै अदालतमा छ । फेरी अन्यायीहरू मिली करपुरको १।९।। धनी बाबु र ऋणीमा जगदीशप्रसाद सिंहानीया र साक्षीमा रामलाल अरु नोकर समेतका मानिस राखी रु.२१,७०१।मा ०१६।९।२४ गते राजीनामा गराएको भन्ने बुझिएकोले नक्कल लिई ३५ दिनभित्र उजूर गर्न आएको छु । जुन जग्गाको राजीनामा गरिएको छ । सो जग्गाको उचित मुल्य ३०।३५ हजार हुन आउँछ काका तथा धनी हुनेको घरबाट इलाका माल रु.१००।गज फरकको हुँदा हरतरहबाट लिनु दिनु केही नगरी मेरो हक मार्न जालसाजी लिखत खडा गरी गराएको देखिन आउने र जालसाजी खडा गरेको लिखत बदर गरी अन्यायीहरूलाई ऐन बमोजिम सजायँ गरिपाउँ भन्ने रेवतमल धाडेवाको फेरादी ।

३. वादी दावी बमोजिम लिनु दिनु नगरी वादीको हक मार्नलाई जालसाजी गरी बिक्री गरेको नभई खास मैले आर्जन गरेको सम्पत्ति हुँदा वादीलाई मैले अघि अंश दिएको चित्त नबुझे पनि दिने नदिने मेरो खुस हुनाले शंकरपुर मौजाको जग्गा मध्ये १।९।। जगदीशलाई २१७०१।मा राजीनामा लेखी दिई मालमा पारीत समेत गरी दिएको जगदीश मेरो कुनै नातेदार गफमेलको मानिस नभई निजको बाबु बाजे अघि देखि झगडीया हुँदा घर व्यवहार चलाउन मुस्किल परी जगदीशलाई मात्र होइन कि यो भन्दा अघि पछि पनि बिक्री व्यवहार अरुलाई गरेको छु अड्डामा गनी गनाउ नगरी गरेको जालसाजी हुन्छ भन्ने कुनै ऐनमा नभएको आफ्नो आर्जनको धन नदिई अरुलाई दिनुपर्ने प्रयोजन नभएको र रजिष्ट्रेशन पास नहोस् भनी वादीले निवेदन दिएकोमा पास रोकिएन पास भएको छ भने राजकुमारीलाई  दिएकोमा पनि जालसाजी मुद्दा दिएको प्रतिउत्तर परेबाट विदित हुने हुनाले वादी दावा झुठ्ठा हो भन्ने समेत व्यहोराको ईश्वरी चन्द्रको प्रतिउत्तर ।

४. वादी समेत काका ईश्वरीचन्द्रका ५ छोरा हो काकाले हामी जम्मै छोरालाई घरबाट निकाला गरेको बखत एकैसाथ बसी कुनियत चिताई गर गहना समेत लुटी कुटी काटी मर्ने बाच्नेको दोसाँध पारेको भन्ने समेत मुद्दा चलेको हुँदा वादीको दावा झुठ्ठा हो लिनु दिनु नगरी जालसाजी लिखत भएको छैन भन्ने समेत व्यहोराको रामलालको प्रतिउत्तर ।

५.    इश्वरीचन्द्रबाट शंकरपुरका जग्गाको विगहा ११० मा रु.२१,७०१।मा ०१६।९।२४ गते ईश्वरीसंग राजीनामा गराई लिई पास समेत भएको छ । १ऽ४ जग्गा किसनलाई सालको भा. रु.३०० मा ठेक्का दिएको ऽ१।। कठ्ठामा घर बनाउने नगरपालिकामा दर्खास्त दिएबाट झुठ्ठा जालसाजी मुद्दा दिएको छ जालसाजी गराएको नहुँदा वादीलाई नै सजायँ होस् भन्ने समेत व्यहोराको जगदीशप्रसादको प्रतिउत्तरपत्र ।

६. प्र.इश्वरी चन्द्रकै आर्जनको सम्पत्ति अंशबण्डाको ३८ नं. बमोजिम अंशियार छोरा स्वास्नीमा भेदभाव नगरी दिने समेत गरेको नभई बिक्री व्यवहार गर्ने गरेको वादी लेख दावा बाटै देखिएको, त्यस्तोमा साहू असामीको ६८ नं. बमोजिम वादी समेतको उजूर नलाग्ने वादी खारेज हुन्छ भनी विराटनगर इलाका अदालतको ०१९।३।४।२ को फैसला ।

७. इलाका अदालतको खारेजी फैसलामा चित्त बुझेन भन्ने समेत व्यहोराको रेवतलालको पुनरावेदन । निर्णय दिनुपर्नेमा खारेज गरेको नमिलेको हुँदा विराटनगर इलाका अदालतको ०१९।३।४ को फैसला बदर गरी दिएको छ कानुन बमोजिम निर्णय गरी दिनु दुवैपक्षलाई तारेख तोकी मिसिल शुरु जि.अदालतमा पठाई दिनु भन्ने समेत ०३४।१२।७ को पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसला ।

८. पूर्खाका पालाको सम्पत्ति मेरो मन्जुरी बेगर जालसाजबाट लिनु दिनु बिक्री पास गरेको भन्ने वादीको दावी नभई अंश मुद्दा परिरहेकोले अंश मार्न जालसाजबाट पास लिनु दिनु गरेको लिखत बदर गरिपाउँ भन्ने वादी दावा भएको वादी दावाको प्रत्यवादीहरूले लिनु दिनु गरेको जग्गा पितापूर्खाको पालाको पैतृक सम्पत्ति हो वा पैतृक सम्पत्तिबाट किनेको भन्न वादीले सकेको पनि नदेखिएकोले र वादीले दावी लिएको जग्गा प्रत्यवादी ईश्वरीचन्द्रका नाउँमा दर्ता रहेको देखिएको र निजले आफ्नो आर्जनको भनी जिकिर लिएको देखिएकोले र आफ्नो आर्जनको जग्गा जुनसुकै अवस्थामा पनि आफू खुसी बिक्री व्यवहार गर्न पाउने देखिएकोले र यस्तो आफू खुस गर्न पाउने जग्गा थैली नलिई त्यसै दिएको होला भनी पत्यार लिन पनि नसकिने भएकाले यस्तो स्थितिमा अंशबण्डाको १८ नं. तथा लेनदेन व्यवहारको १० नं. ले आफ्नो आर्जन आफैंले बिक्री गरेको बदर हुन नसक्ने भएकोले वादी दावा पुग्न नसक्ने ठहर्छ । वादीलाई रु.५००।जरिवाना हुन्छ भन्ने समेत व्यहोराको मोरङ्ग जिल्ला अदालतको ०३५।१२।९ को फैसला ।

९. सो फैसलामा चित्त बुझेन भन्ने व्यहोराको वादीको कोशी अञ्चल अदालतमा परेको पुनरावेदन ।

१०.    आफ्नो आर्जन आफैंले बिक्री गरेको बदर हुन नसक्ने भएकोले वादी दावा पुग्न नसक्ने ठहर्छ भन्ने समेत व्यहोराको कोशी अञ्चल अदालतको फैसला ।

११. सो फैसलामा चित्त बुझेन भन्ने वादी रेवतलाल धाडेवाको पू.क्षे.अदालतमा दिएको पुनरावेदन ।

१२. यसमा ईश्वरी चन्द्रले जगदीशप्रसादलाई जग्गा बिक्री गरेकोमा जालसाज भएको भन्ने दावी देखियो । ईश्वरी चन्द्रको आफ्नो आर्जनको जग्गा देखिएको र पूर्खौली सम्पत्ति भन्ने वादीको दावी देखिन्न । रुपैयाँ लिनु दिनु गरी बिक्री भएको भन्ने देखिँदा जालसाज लिखत भन्ने मिलेन मोरङ्ग जिल्ला अदालतको  इन्साफ मनासिब छ भन्नेसमेत व्यहोराको पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसला ।

१३. सो फैसलामा चित्त बुझेन भन्ने पुनरावेदनको अनुमति पाउँ भनी वादी रेवतमल धाडेवाले यस अदालतमा दिएको निवेदनमा आफ्नो आर्जनको हो भन्ने जिकिर लिए तापनि उक्त जग्गा आफ्नो आर्जनको हो भन्ने सबूद प्रमाण निजबाट गुज्रन आएको देखिएन । तसर्थ ईश्वर चन्दको आफ्नो आर्जनको जग्गा ठहर्‍याई लिखत जालसाज भन्न मिलेन भन्दै मिति ०३८।८।३० मा पू.क्षे.अ.बाट भएको फैसलामा अंशबण्डाको १८ नं. तथा अ.बं. १८४(क) को त्रुटि देखिएकोले पुनरावेदनको अनुमति दिइएको छ भन्ने यस अदालत डिभिजनबेञ्चको ०४०।१२।२।४ को आदेश ।

१४. पुनरावेदकतर्फबाट उपस्थित हुनुभएका विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवालीले र विपक्षी प्रतिवादी जगदीशप्रसाद तर्फबाट उपस्थित हुनुभएका विद्वान अधिवक्ता श्री यादवप्रसाद खरेलले गर्नुभएको बहस समेत सुनियो मुख्यत पूर्वाञ्चल क्षेत्रीय अदालतले गरेको फैसला मिले नमिलेको के रहेछ सो कुराको निर्णय दिनुपर्ने हुन आएको छ ।

१५.   यसमा विवादीत जग्गा प्रतिवादी ईश्वरचन्द्रको आर्जन होइन भन्ने विषयमा कुनै विवाद उठेको र सबूद प्रमाण पेश भएको देखिंदैन । ईश्वरचन्द बाबु र प्रतिवादी रेवत मल छोरा नाता भएकोमा पनि कुनै विवाद छैन । जालसाज गरेको भन्ने वादी दावी भएकोमा जालसाजी गर्नुपर्ने पर्याप्त कारण सहितको कानुनी सबूद प्रमाण पेश भएको पनि पाइँदैन । यस्तो स्थितिमा बाबु ईश्वर चन्दले आफ्नो आर्जनको आफू खुसी गर्न पाउने अचल सम्पत्ति बिक्री गरेको सदर गरी जालसाजी गरेको नठहराई पूर्वाञ्चल क्षेत्रीय अदालतले गरेको फैसलामा कुनै कानुनी त्रुटि गरे भएको नदेखिँदा इन्साफ क्षेत्रीय अदालतको मनासिब ठहर्छ । तपसिलका कुरामा तपसिल बमोजिम गर्नु ।

तपसील

पुनरावेदक वादी रेवतलाल धाडेवा के माथि इन्साफ खण्डमा लेखिए बमोजिम पूर्वाञ्चल क्षेत्रीय अदालतको इन्साफ सदर भएकोले पुनरावेदन गरे बापत अ.बं.२०३ नं. बमोजिम शुरु जरिवाना रु.५००।को सयकडा ५।ले रु.२५।जरिवाना हुन्छ । लगत कसी असूल गर्नु भनी शुरु मोरङ्ग जिल्ला अदालतमा लेखी पठाउन का.जि.अ.मा. लगत लिनु ……. १

मिसिल नियमानुसार गरी बुझाइ दिनु ……………………………………२

 

उक्त रायमा म सहमत छु ।

न्या. हरगोविन्द सिंह प्रधान ।

 

इति सम्वत् २०४२ साल माघ २८ गते रोज २ शुभम् ।