February 5, 1986
Created by nepalarchives

निर्णय नं. २५९० – बन्दीप्रत्यक्षीकरण

निर्णय नं. २५९०     ने.का.प. २०४३ अङ्क १ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला सम्वत् २०३९ सालको रिट नं. १३९१...

निर्णय नं. २५९०     ने.का.प. २०४३ अङ्क १

डिभिजनबेञ्च

माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह

माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला

सम्वत् २०३९ सालको रिट नं. १३९१

आदेश भएको मिति : ०४२।१०।२३।४

 

निवेदक : कारागार शाखा भद्रगोलमा थुनामा रहेको शिवनन्दन खत्वेसमेत

विरुद्ध

विपक्षी : महोत्तरी जिल्ला अदालत, जलेश्वर

 

विषय : बन्दीप्रत्यक्षीकरण

 

(१)               एकै कसूरदारले गरेको विभिन्न कसूरमा जुन कसुर गरे बापतमा धेरै सजायँ हुन्छ सो सजायँ मात्र हुने ।

(प्रकरण नं. ८)

आदेश

न्या.सुरेन्द्रप्रसाद सिंह : संविधानको धारा १६।७१ अन्तर्गत दायर हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य यसप्रकार रहेछ ।

२. हामी रिट निवेदकहरूलाई मिति ०३२।१।१ को मुगालालको जाहेरीले वादी श्री ५ को सरकार भएको डाँका मुद्दा र वासुदेव तिवारीको जाहेरीले वादी श्री ५ को सरकार भएको खुन डाँका मुद्दा समेतका मुद्दाहरू लागेकोमा बासुदेव तिवारीको जाहेरीले श्री ५ को सरकार वादी भएको खुन डाँका मुद्दामा सर्वश्व सहितको सजायँ हुने गरी फैसला भएको छ खुन डाँका यसरी खुन डाँका मुद्दामा सर्वश्वसहित जन्मकैद हुने गरी फैसला भइसकेपछि मुगालालको जाहेरीले वादी श्री ५ को सरकार भएको डाँका मुद्दा कैद वर्ष ६ र जरिवाना बापत कैद वर्ष ४ समेत कैद वर्ष १० गरी दुवै मुद्दाको जोडी जम्मा कैद वर्ष ३० वर्ष गर्ने गरेको फैसला मिलेको छैन ३० वर्ष कैद कायम गर्न कानुनी व्यवस्था छैन । मुलुकी ऐन दण्ड सजायँको महलको ४१ नं. अनुसार ठूलो सजायँ भइसकेपछि सानो सजायँको खत खापिदैन साथै सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्त समेतको आधारमा हामीहरूलाई खुन डाँका मुद्दामा २० वर्षको सजायँ गरी सकेपछि फेरी अर्को गर्ने गरी दिएको लगत बदर गरी २० वर्ष कैद गर्ने गरी लगत कायम गरिपाउँ भन्ने समेतको रिट निवेदनपत्र रहेछ ।

३. विपक्षबाट लिखत जवाफ मगाई आएपछि पेश गर्नु भन्ने यस अदालत सिंगलबेञ्चको ०४२।३।१६ को आदेश रहेछ ।

४. जि.महोत्तरी आ.गा.पं.बल्बा वा.नं. ५ बस्ने मुगालालको जाहेरीले वादी श्री ५ को सरकार प्रतिवादी यो निवेदक द्वय भएको डाँका मुद्दामा मिति ०३३।१२।३।४ को फैसलानुसार जनही कैद वर्ष ६ र जरिवाना रु.७५००।भएको र जि.म. कोलुवाको वा गा.पं.वा.नं. ३ बस्ने बासुदेव तिवारीको जाहेरीले  वादी श्री ५ को सरकार प्रतिवादी यिनै निवेदकहरू भएको डाँका ज्यान मुद्दामा दुवै निवेदकलाई जन्मकैद हुने ठहरी मिति ०३३।१२।३।४ मा फैसला भएको र सोही फैसला म.क्षे.अ. र स.अ.बाट समेत सदर भई आएको देखिँदा मुलुकी ऐन दण्ड सजायँको ४१ नं. बमोजिम एकै मानिसलाई एकै वा धेरै मुद्दामा धेरै कलमको कैद ठेक्नु परेमा जुन कलममा कैदको सबभन्दा ठूलो हद छ सो हद ननाघ्ने गरी एक वा धेरै मुद्दामा कैद ठेक्नु पर्दछ भन्ने व्यवस्था जरिवाना नतिरे बापत चोरीको २८ नं. बमोजिम जनही कैद वर्ष ४ तथा ज्यान मुद्दामा जनही कैद वर्ष २० समेत जनही कैद वर्ष २४ हुनुपर्ने देखिँदा उक्त ऐन अनुसार ठूलो कलम जनही कैद वर्ष २० हुनुपर्ने भन्ने निवेदकहरूको जिकिर मनासिब नहुँदा निवेदन खारेज गरिपाउँ भन्ने समेत महोत्तरी जिल्ला अदालतको लिखितजवाफ ।

५.    नियम बमोजिम निर्णयार्थ यस बेञ्च समक्ष पेश हुन आएको प्रस्तुत रिट निवेदनमा मुख्यतया रिट निवेदकको माग बमोजिमको आदेश जारी हुनुपर्ने हो होइन सो को निर्णय गर्नुपर्ने हुन आयो ।

६. निर्णयतर्फ विचार गर्दा यसमा मु.ऐन दण्ड सजायँको ४१ नं. बमोजिम ठूलो कैद मात्र ठेक्न पर्नेमा दण्ड जरिवाना गरी ३० वर्ष कैद ठेक्ने गरेको विपक्षी अदालतको निर्णय न्यायसंगत नहुँदा कानुन बमोजिमको कैद ठेकी पाउँ भन्ने समेत मुख्यतया रिट निवेदन जिकिर भएको पाइन्छ ।

७. मुगालालको जाहेरीले वादी श्री ५ को सरकार र प्रतिवादीहरू भएको डाँका मुद्दामा मिति ०३३।१२।२।४ को फैसला अनुसार कैद वर्ष ६ र रु.६५००।भएको र बासुदेव तिवारीको जाहेरीले वादी श्री ५ को सरकार प्रतिवादी यिनै निवेदकहरू भएको डाँका ज्यान मुद्दामा यी निवेदकहरूलाई जन्मकैद हुने गरी स.अ.बाट समेत फैसला भई अन्तिम रुपमा रहेको पाइन्छ ।

८. मुलुकी ऐन दण्ड सजायँको ४१ नं. मा व्यवस्था गरे अनुसार एकै मानिसलाई एकै वा धेरै मुद्दा कलमको कैद ठेक्नु पर्दा जुन कलममा सबभन्दा ठूलो हद छ सो ननाघ्ने गरी एकै वा धेरै मुद्दामा एकै वा धेरै कलममा गरी कैद ठेक्नु पर्दछ भन्ने व्यवस्था गरेको पाइन्छ माथि उल्लिखित व्यवस्थालाई हेर्दा एकै कसूरदारले गरेको विभिन्न कसूरमा जुन कसूर गरे बापतमा धेरै सजायँ हुन्छ सो सजायँ मात्र तोक्ने व्यवस्था गरेको पाइन्छ । खत खापी सजायँ गर्न नमिल्ने भन्ने यस अदालतको कतिपय मुद्दामा नजीर समेत प्रतिपादित भइसकेको पाइन्छ । प्रस्तुत रिट निवेदकहरूले गरेको २ वटा कसूर डाँका र डाँका ज्यान मुद्दामा डाँका ज्यान मुद्दामा ज्यान मुद्दामा जन्मकैदको सजायँ निजहरूले पाइसकेको कुरा निजको रिट निवेदनबाट समेत प्रष्ट रुपले देखिन आएको छ । मुलुकी ऐन दण्ड सजायँको ६ नं. मा व्यवस्था गरे अनुसार निवेदकहरूले गरेको डाँका र डाँका ज्यान मुद्दामा जन्मकैदको सजायँ पाएको देखिएको हुँदा निजहरूलाई उक्त नम्बर अनुसार अब २० वर्ष मात्र कैद हुने देखिँदा जि.अ.ले डाँका मुद्दाको दण्ड र जरिवाना समेत गरी ३० वर्ष कैद ठेकेको देखिएको नमिलेको हुँदा सोही ऐन बमोजिम ठूलो सजायँ कैद वर्ष २० बीस गर्ने गरी लगत सच्चाउनु भनी सम्बन्धित जि.अ.मा लेखी पठाई फायल नियमानुसार गरी बुझाइदिनू ।

 

उक्त रायमा म सहमत छु ।

न्या. गजेन्द्रकेशरी बास्तोला ।

 

इति सम्वत् २०४२ साल माघ २३ गते रोज ४ शुभम् ।