May 9, 1986
Created by nepalarchives

निर्णय नं. २५८४ – उत्प्रेषण लगायत जो चाहिने आज्ञा, आदेश जारी गरिपाउँ

  निर्णय नं. २५८४    ने.का.प. २०४३ अङ्क १ फुलबेञ्च माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी २०४२...

 

निर्णय नं. २५८४    ने.का.प. २०४३ अङ्क १

फुलबेञ्च

माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह

माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला

माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी

२०४२ सालको रिट फुलबेञ्च नम्बर ४६

आदेश भएको मिति : २०४३।१।२६।६

 

निवेदक : का.न.पं.वडा नं.१० बानेश्वर बस्ने कमल शमशेर राणा

विरुद्ध

विपक्षी : सचिव, श्री ५ को सरकार अर्थ मन्त्रालय, काठमाडौंसमेत

 

विषय : उत्प्रेषण लगायत जो चाहिने आज्ञा, आदेश जारी गरिपाउँ

 

(१)          निवेदक उपर लगाइएका आरोपहरू अन्य सबूदबाट समर्थित भएको पाइँदैन, यसबाट निर्णयमा उल्लिखित कारणहरूलाई उचित र पर्याप्त कारण भन्न सकिने अवस्था नदेखिने ।

(प्रकरण नं. १३)

(२)          स्पष्ट तथ्यमा आधारित नभई दिइएको कारणहरूलाई न्यायोचित कारण भन्न सकिने देखिँदैन ।  

(प्रकरण नं. १४)

(३)  प्रमाणित अभियोगमा मात्र नोकरीबाट बर्खास्त गर्न सकिन्छ भने नोकरीबाट हटाउँदा अभियोग प्रमाणित भएको हुनुपर्छ भन्ने केही छैन ।

(प्रकरण नं. १५)

(४)  नियम १०.१(६) बमोजिम नोकरीबाट बर्खास्त गरिएको स्थिति र नियम १०.१(५) बमोजिम नोकरीबाट हटाएको स्थितिमा कर्मचारीले पाउने सुविधाहरू फरक फरक छन्, निवेदकलाई दिइएको पत्रमा दुई ठाउँमा बर्खास्त शब्द परेको छ, यसबाट निर्णयकर्ताले कानुनको अध्ययन बिना नै हतार हतारमा निर्णय गरी पत्र थमाउने कार्य गरेको छ भन्ने पनि देखिने ।

(प्रकरण नं. १५)

निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री कोमलप्रकाश घिमिरे

विपक्षीतर्फबाट : विद्वान मुख्यन्यायाधिवक्ता श्री केदारप्रसाद शर्मा

 

आदेश

न्या.सुरेन्द्रप्रसाद सिंह : सर्वोच्च अदालत डिभिजनबेञ्च समक्ष पेश हुँदा माननीय न्यायाधीशहरू बीच मतैक्य हुन नसकी सर्वोच्च अदालत नियमावली २०२१ को नियम ३३(क) बमोजिम निर्णयार्थ यस बेञ्च समक्ष पेश हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त विवरण निम्न बमोजिम छ :

२. म निवेदक २०२२ सालमा श्री ५ को सरकारको खरिदार पदमा सेवा प्रवेश गरी २०३५ सालमा ना.सु.पदमा पदोन्नती पाई भन्सार विभाग अन्तर्गत रही विभिन्न कार्यालयमा कार्यरत रहेकोमा एकाएक मिति २०३९।२।२८ मा निजामती सेवा ऐन, २०१३ को दफा ६(१)(ख) बमोजिम पर्चा खडा गरी नि.से.नि., २०२१ को नियम १०.१(५) अनुसार भविष्यमा सरकारी नोकरीको लागि अयोग्य नठहरिने गरी नोकरीबाट बर्खास्त गरिएको छ भन्ने विपक्षी महानिर्देशकले सही गरेको पत्र दिइयो । मलाई दिएको पत्रसाथ नि.से.नि २०२१ को नियम १०.९(३) अनुसार दिइनु पर्ने सजायँको आदेशको नक्कल दिइएन । सो समेत कुरा उल्लेख गरी विपक्षी सचिव समक्ष पुनरावेदन गरेकोमा महानिर्देशकबाट भएको निर्णय कानुनसंगत देखिएकोले तपाईको जिकिर पुग्न सक्दैन भनी भएको मिति २०४१।१।१९ को पुनरावेदन निर्णय मिति २०४१।१।२० को पत्रद्वारा मिति २०४१।२।२५ मा प्र्राप्त भयो ।

३. निवेदकलाई भविष्यमा सरकारी नोकरीको लागि अयोग्य नठहरिने गरी सेवाबाट बर्खास्त गर्दा नि.से.नि., २०२१ को दफा १०.१ को देहाय (५) अनुसार गर्ने गरेको छ । सजायँ दिनु अघि स्पष्टीकरण लिनु पर्ने लिएको छैन र त्यस्तो स्पष्टीकरण लिनु अख्यितारवाला (साविक पेज नं.४) लाई अव्यवहारिक लागेमा त्यसको कारण खुलाई निजामती सेवा ऐन, २०१३ को दफा ६(१) को प्रतिबन्धात्मक वाक्यांश (ख) बमोजिम पर्चा खडा गरी बर्खास्त गर्दा पनि सो नियम १०.१ बमोजिम उचित र पर्याप्त कारण विद्यमान भएकै हुनुपर्छ । निवेदकलाई बर्खास्त गर्ने भनी गरेको निर्णय उक्त नियम १०.१ बमोजिम उचित र पर्याप्त कारणमा आधारित नभई गैरकानुनी एवं त्रुटिपूर्ण छ । नोकरीबाट हटाउने वा बर्खास्त गर्नको लागि नि.से.नि.को नियम १०.६ को देहाय १ देखि ९ सम्मको आरोपहरूको उचित र पर्याप्त कारण हुनुपर्छ सो बिना गरेको महानिर्देशकको निर्णय नियम १०.१ र १०.६ को प्रत्यक्षत कानुनी त्रुटिपूर्ण छ । महानिर्देशकले सेवाबाट बर्खास्त गर्ने गरी निवेदकलाई दिएको मिति २०३९।२।२८ को पत्रमा नोकरीबाट हटाउँदा वा बर्खास्त गर्ने आदेश गर्दा हुनुपर्ने नि.से.नि.को नियम १०.६ मा उल्लिखित अवस्थाहरू मध्ये कुनै अवस्थाको उल्लेखसम्म छैन । निवेदकलाई सजायँको आदेश पर्चाको प्रतिलिपि समेत दिइएको छैन । उक्त मिति २०४१।१।१९ को निर्णय पर्चामा उल्लिखित आधारहरूमा मिति २०३९।२।१७ का दिन प्रज्ञापनपत्र नं. ७४ एयरवेविल नं. २१७१८१७५२५३ बाट १२२ किलो तौल जनिएको मालसामान जाँच पास गर्दा अनियमित तरिकाबाट मालसामानहरू छाडी गैर जिम्मेवारपूर्ण कार्य गरी आफ्नो पद अनुसारको आचरण नगरेको भनी भन्सार विभागका महानिर्देशकले गरेको निर्णय बेमनासिब देखिएन भनी मन्त्रालयबाट सदर गरिएको छ जुन आधारहरू त्रुटिपूर्ण गलत छन्, मिति २०३९।२।१७ को प्र.द.नं.७४ बाट गुण्टा झिटी भारी नियम अन्तर्गत पाउने भन्सार सुविधाको लामो फारामको सामान लगायत १८७ प्रतिशत महसूल तिरी लान पाउने अन्य सामानहरू समेत जाँच पास भएको हो भन्सार प्रणाली अनुसारको लामो फाराममा रहेको महसूल तिर्नु नपर्ने सामानहरू प्रज्ञापनपत्रमा उल्लेख गर्नु नपर्ने र महसूल लाग्ने सामानमा मात्र प्रज्ञापनपत्रमा उल्लेख गर्नुपर्ने थियो । महसूल नलाग्ने सुविधाको सामान लामो फाराममा मात्र चिन्ह लगाई छाड्ने गरिन्थ्यो । यस्तो अवस्थामा प्रज्ञापनपत्रमात्र हेरी लामो फारामबाट सुविधाको सामान के कति जाँची छाडिएको छ सो को वास्ता नराखी १२२ किलो तौल नपुगेको अनियमित भएको भन्ने आरोप सरासर मनगडन्ते र काल्पनिक छ । मिति २०३९।२।१७ को प्र.द.नं. ७४ को गुण्डा झिटी मारी नियम अन्तर्गत पाउने भन्सार सुविधाको लामो फारामको सामान लगायत १८७ प्रतिशत महसूल तिरी लान पाउने अन्य सामान समेत जाँच पास भएको हो । मैले गरे भनेको तौल सम्बन्धी अनियमित तरिका के हो भन्सार तौलमा लिने नभई छुट सुविधाको सामान बाहेक प्रज्ञापनमा भरिएका सामानमा लिने नियमको विपरीत हुने कार्य मबाट के भयो जुन कार्यले हालसम्म पनि प्रचलित भन्सारको रुल नियमलाई कसरी उल्लघंन गरेको थियो र जसले गर्दा मलाई सफाई सम्म पनि दिने मौका प्रदान गर्न अव्यवहारिक भयो भन्ने कुरा विपक्षीलाई लागेको हो त्यो कतैबाट पनि खुल्दैन । चित्तमा लाग्न पनि ठोस आधार चाहिन्छ सिर्फ अनियमित वा अव्यवहारिक भन्ने शब्द प्रयोग गर्दैमा बिना कारण सेवा अन्त गर्न मिल्दैन अतः विपक्षी महानिर्देशकको म निवेदकलाई बर्खास्त गर्ने गरेको मिति २०३९।२।२८ को निर्णय र पत्र विपक्षी सचिवको २०४१।१।१९ को निर्णय कारवाही समेत त्रुटिपूर्ण हुँदा उत्प्रेषणको आदेशद्वारा बदर गरी पुनः साविक पदमा बहाल गरी दिनु भनी परमादेश समेत जारी गरिपाउँ भन्ने समेत मिति २०४१।३।२८ को कमल शमशेर राणाको रिट निवेदन जिकिर ।

४. विपक्षीहरूबाट लिखितजवाफ मगाई पेश गर्नु भन्ने यस अदालत सिंगलबेञ्चको मिति २०४१।३।३० को आदेश ।

५.    निर्णयको प्रतिलिपि सम्बन्धित कर्मचारीलाई दिन बाध्यता छैन । त्रिभुवन विमानस्थल जस्तो अन्तर्राष्ट्रिय विमानस्थलमा बसी स्मगलिङ्गलाई प्रोत्साहन दिई आफूलाई गैरकानुनी लाभ र व्यापारीलाई गैर कानुनी फाइदा पुर्‍याउने बदनियत लिई काम गरेको प्रष्ट भएको र निजले मिति २०३९।२।१७ का दिन प्रज्ञापनपत्र नं. ७४ र एयर वेविल नं. २२७१८१७५२५३ मा किलो १२२ उल्लेख भएकोमा चेक जाँच गरी निजले पास गरेको उक्त सामानहरू भिडाई हेर्दा धेरै कम तौलको सामान अनियमित तरिकाबाट छाडी गैर जिम्मेवारपूर्ण काम गरी पद अनुसारको आचरण नगरेको प्रष्ट हुन आई राजस्व असूली गर्ने कार्यालयमा राखी सफाईको सबूद पेश गर्न मौका दिँदा राजस्व हिनामिना हुने र तस्करीलाई प्रोत्साहन मिल्ने देखि निजलाई सेवामा राख्‍न नहुने कुरा चित्तमा लागि पर्चा खडा गरी कानुनी परिधिभित्र रही रिट निवेदकलाई बर्खास्त गर्ने गरेको निर्णय कानुन बमोजिम भए गरेको हुँदा रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत महानिर्देशक, भन्सार विभागको मिति २०४१।६।११ को लिखितजवाफ ।

६. रिट निवेदकलाई विभागीय सजायँको आदेश दिन पाउने अधिकारी विभागीय प्रमुख भन्सार विभागका महानिर्देशकले निवेदकको गैरकानुनी काम कारवाहीलाई ध्यानमा राखी नि.से.ऐन, २०१३ को दफा ६.१(ख) अन्तर्गत पर्चा खडा गरी गरेको विभागीय सजायँको निर्णय उपर पुनरावेदन परेकोमा सो निर्णय परिवर्तन गर्नुपर्ने आधार नदेखिई यस मन्त्रालयलबाट महानिर्देशकको निर्णय मनासिब ठहराई गरेको पुनरावेदन निर्णय समेत कानुनको परिधिभित्र रही गरेको हुँदा रिट जारी हुनुपर्ने होइन रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत श्री ५ को सरकार अर्थ मन्त्रालयका सचिवको लिखितजवाफ ।

७. निर्णयार्थ डिभिजनबेञ्च समक्ष पेश हुँदा निजामती सेवा ऐन, २०१३ को दफा ६ को उपदफा (१) को खण्ड (ख) ले विभागीय सजायँको आदेश दिन पाउने अधिकारीको चित्तमा सफाईको सबूद पेश गर्न मौका दिँदा अव्यवहारिक हुन्छ भन्ने लागेमा पर्चा खडा गरी बर्खास्त गर्न पाउने व्यवस्था गरेको पाइन्छ । यसबाट महानिर्देशकलाई उक्त पर्चा खडा गरी नोकरीबाट बर्खास्त गर्न सक्ने अधिकार प्राप्त भएकै देखिन आयो । सफाईको मौका दिन अव्यवहारिक हुने कारण समेत उल्लेख गर्दै महानिर्देशकले पर्चा खडा गरी निवेदकलाई भविष्यमा सरकारी नोकरीको लागि अयोग्य नठहरिने गरी हटाउने निर्णय गरेको र सो निर्णय सदर गरी सचिवबाट पुनरावेदन निर्णय गरेकोलाई कानुनको त्रुटि गरी निर्णय गरेको भन्न मिल्ने स्थिति नहुँदा रिट निवेदन खारेज हुने ठहर्छ भन्ने समेत माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंहको राय ।

८. निजामती सेवा ऐन, २०१३ को दफा ६(१)(ख) बमोजिम पर्चा खडा गर्दा पनि नि.से.नि., २०२१ को नियम १०(१) बमोजिम उचित र पर्याप्त कारण विद्यमान हुनुपर्छ र त्यसरी प्रर्याप्त कारण भएको अवस्थाको कर्मचारीलाई सजायँको आदेश दिनु अघि सफाईको मौका दिँदा अव्यवहारिक हुन जाने भएमा सो कुराको कारण खुलाई मात्र पर्चा खडा गरी नि.से.नि., २०२१ को नियम १०.१ को देहय १ देखि ६ सम्ममा वर्णित कुनै सजायँ गर्न सक्ने कुरा हुन्छ । त्यसरी पर्चा खडा गरी कुनै कर्मचारीलाई नोकरीबाट हटाउने सजायँ गर्दा सफाइको मौका दिन अव्यवहारिक हुन्छ भन्ने कुरा के कसरी चित्तमा लाग्यो सो स्पष्ट कारण पर्चामा खुलाई उल्लेख गर्नु पर्छ र उक्त कारणहरू न्यायोचित पनि हुनुपर्छ अन्यथा चित्तमा लाग्नु र पर्चा खडा गर्नु मात्र पर्याप्त हुने होइन । निवेदक उपर पर्चामा लगाइएको आरोप अन्य सबूदबाट समर्थित हुनसकेको पनि छैन । त्यसरी उचित र पर्याप्त कारण बेगर सफाइको मौका नै प्रदान नगरी पर्चा खडा गरी नोकरीबाट बर्खास्त गर्न गरेको महानिर्देशकको मिति २०३९।२।२८ को निर्णय पर्चा र सो सदर गरेको पुनरावेदन निर्णय समेत त्रुटिपूर्ण देखिँदा उक्त काम कारवाहीहरू उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ भन्ने समेत माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधानको राय भई २०४२।५।१३ मा निर्णय भएको  रहेछ ।

९. निवेदकतर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री कोमलप्रकाश घिमिरेले पर्चा खडा गरी हटाउँदा कर्मचारी सफाइको मौकाबाट बञ्चितसम्म रहन्छ तर कारवाही गरिंदा उचित र पर्याप्त कारण हुनुपर्ने नि.से.नि.को बाध्यात्मक व्यवस्थाबाट विपक्षीहरू पन्छन मिल्दैन । मेरो पक्ष उपर जुन माल तौल गरी छोड्नु पर्नेमा अनियमित तरिकाले छोडेको भन्ने आरोप लगाइएकोछ, त्यसरी छोडिएको नभई झिटी गुन्टा अन्तर्गत आएको सामानहरू नै छोडिएको हो । निवेदक उपर लगाइएको आरोप प्रमाणित छैन । आधारहीन आरोपमा बर्खास्ती गरेको विपक्षीहरूको निर्णय त्रुटिपूर्ण हुँदा बदर हुनुपर्छ भन्ने समेत बहस गर्नुभयो । विपक्षी भन्सार विभाग समेतको तर्फबाट उपस्थित विद्वान मुख्यन्यायाधिवक्ता श्री केदारप्रसाद शर्माले भन्सारमा आएको सामान कानुन बमोजिम महसूल नलिई पास गरायो भन्ने आरोप लगाइएको छ । निजामती सेवा ऐन बमोजिम कारवाही गरेको हुँदा नियमको रीत पुर्‍याई रहनु पर्दैन नियम ऐनको पछि लाग्ने हो ऐन नियमको पछि लाग्ने होइन । पर्चामा कारण खुलाइएको छ । पुनरावेदनमा जस्तो ती व्यक्त गरेका कुराहरू सबूद प्रमाणबाट समर्थित छन् छैनन् भनी हेर्न मिल्दैन तसर्थ रिट निवेदन खारेज हुनुपर्छ भन्ने समेत बहस गर्नुभयो ।

१०.    आज निर्णय सुनाउने तारिख तोकिएको प्रस्तुत रिट निवेदनमा निर्णयतर्फ हेर्दा भन्सार विभागका महानिर्देशकले निवेदकलाई निजामती सेवा ऐन, २०१३ को दफा ६(१)(ख) अनुसार पर्चा खडा गरी निजामती सेवा नियमावली, २०२१ को नियम १०.१(५) अनुसार भविष्यमा सरकारी नोकरीको निमित्त अयोग्य नठहरिने गरी नोकरीबाट बर्खास्त गर्ने निर्णय गरेको र सो उपर निवेदकले पुनरावेदन गर्दा भन्सार विभागका महानिर्देशकको निर्णय नै सदर गरी अर्थ सचिवबाट मिति २०४१।१।१९ मा पुनरावेदन निर्णय गरेको देखिन्छ ।

११. उचित र पर्याप्त कारण भएमा मात्र कुनै निजामती कर्मचारीलाई निजामती सेवा नियमावली, २०२१ को नियम १०.१ मा वर्णित (१) देखि (६) सम्मका कुनै सजायँ गर्न सकिन्छ । निजामती सेवा ऐन, २०१३ को दफा ६(१) को प्रतिबन्धात्मक वाक्यांश (ख) बमोजिम पर्चा खडा गरी बर्खास्त गर्दा पनि नियम १०.१ बमोजिम उचित र पर्याप्त कारण विद्यमान भएकै हुनुपर्छ । रिट निवेदकलाई सेवाबाट बर्खास्त गर्ने भनी गरेको निर्णयमा उचित र पर्याप्त पर्चा कारण छैन भन्ने समेत जिकिर रिट निवेदकले लिएको देखिन्छ । रिट निवेदकतर्फका विद्वान अधिवक्ताले पनि सोही कुरालाई उठाउनु भएको छ ।

१२. रिट निवेदकलाई सेवाबाट बर्खास्त गरेको मिति २०३९।२।२८ को पत्रमा निजामती सेवा ऐन, २०१३ को दफा ६(१)(ख) बमोजिम पर्चा खडा गरी नि.से.नि.को नियम १०.१(५) अनुसार भविष्यमा सरकारी नोकरीको लागि अयोग्य ठहरिने गरी नोकरीबाट बर्खास्त गरिएको व्यहोरा उल्लेख भएको देखिन्छ । निजामती सेवा नियमावलीको नियम १०.१ मा उचित र पर्याप्त कारण भएमा निजामती कर्मचारीलाई देहायको सजायँ गर्न मिल्छ भन्ने उल्लेख भई देहाय (१) देखि (६) सम्म विभिन्न किसिमको सजायँ व्यवस्था गरिएको छ । उक्त व्यवस्थाबाट उचित र पर्याप्त कारण भएमा मात्र नियम १०.१ को देहाय (१) देखि (६) सम्म वर्णित कुनै सजायँ गर्न सकिने हुन्छ, अन्यथा सकिंदैन ।

१३. सफाइको सबूद दिने मनासिब माफिकको मौका नदिई बर्खास्ती गर्न वा दर्जा तलब घटाउन हुँदैन भनी निजामती सेवा ऐन, २०१३ को दफा ६(१) ले निजामती कर्मचारीको सेवाको सुरक्षाको व्यवस्था गरेको छ । सेवाको सुरक्षा कर्मचारीको नैसर्गिक अधिकार पनि हो । विभागीय सजायँको आदेश दिन पाउने अधिकारीको  चित्तमा सफाइको सबूद पेश गर्ने मौका दिँदा अव्यवहारिक हुन्छ भन्ने लागि त्यसको कारण खुलाई दफा ६(१)(ख) बमोजिम पर्चा खडा गरेको स्थितिमा निजामती कर्मचारी आफ्नो सफाइको सबूद पेश गर्ने अवसरबाट बञ्चित हुन्छ र दफा ६.१(ख) को प्रयोजन पनि आरोप लागेको व्यक्तिलाई सफाइको सबूद पेश गर्ने अवसरबाट बञ्चित गर्नु सम्ममा सीमित रहन्छ । ऐनको दफा ६.१(ख) बमोजिम पर्चा खडा गरी निजामती कर्मचारी उपर विभागीय कारवाही तथा सजायँ गर्दा त्यस्तो कारवाही तथा सजायँ उचित र पर्याप्त कारणको विद्यमानताको अभावमा पनि गर्न सकिन्छ भन्न मिल्दैन । पर्चा खडा गरिएको स्थितिमा पनि उचित र पर्याप्त कारण विद्यमान हुनुपर्छ र त्यो कुरा पर्चाबाट बस्तुगत रुपले देखिनु पर्छ । प्रस्तुत केशमा भन्सार विभागका महानिर्देशकले खडा गरेको मिति २०३९।२।२८ को पर्चा निर्णयमा रिट निवेदकलाई भन्सारमा आएका सामानहरू अनियमित तरिकाले छाडेको गैर जिम्मेदारीपूर्ण कार्य गरी आफ्नो पद अनुसारको आचरण नगरेको भन्ने आरोप लगाइएको देखिन्छ । उक्त निर्णयबाट सजायँ गर्ने अधिकारीले रिट निवेदक उपर निश्चित आरोप लगाउन सकेको देखिन्न । किनभने भन्सारमा आएका माल सामानहरू कानुन बमोजिम लाग्ने महसूस नलिई छाड्ने छोडाउने तथा त्यस्मा मिलिमतो गर्ने कार्य भ्रष्टाचार निवारण ऐन, २०१७ अन्तर्गतको अपराधभित्र पर्न आउँछ भने गैर जिम्मेदारीपूर्ण कार्य गरी आफ्नो पद अनुसारको आचरण नगर्ने कार्य निजामती सेवा नियमावली अन्तर्गतको कसूर भित्र पर्न आउँछ । निवेदकहरू उपर भ्रष्टाचारमा कारवाही गरिएको कतैबाट देखिँदैन । सरकारी पक्षबाट पनि सो कुरा देखाउन सकेको पाइएन । रिट निवेदक उपर लगाइएका आरोपहरू अन्य सबूदबाट समर्थित भएको पनि पाइँदैन, यसबाट उक्त निर्णयमा उल्लिखित कारणहरूलाई उचित र पर्याप्त कारण भन्न सकिने अवस्था देखिँदैन ।

१४. प्रस्तुत केशमा रिट निवेदकलाई सफाइको सबूद पेश गर्न उचित मौका दिई कारवाही गर्दा अरु विकृतिको रोग अन्य कर्मचारीहरूमा फैलन गई राजस्व हिनामिना हुने र तस्करी व्यापार गर्नेहरूले प्रोत्साहन पाउने सम्भावना भएकोले निजामती सेवा ऐन, २०१३ को दफा ६(१)(ख) बमोजिम पर्चा खडा गरिएको कुरा निर्णय पर्चामा उल्लेख भएको देखिन्छ । रिट निवेदकलाई सफाइको मौका दिँदा कस्तो विकृतिको रोग फैलने हो ? पर्चाबाट खुल्न सकेको छैन । त्यस्तै तस्करी व्यापार गर्नेहरूले कसरी प्रोत्साहन पाउने हुन् ? त्यो पनि खुल्नसकेको छैन । पर्चामा उल्लेख गरिएको उपर्युक्त कारणलाई कारणको लागि दिइएको कारणमात्र भन्नु पर्ने स्थिति छ । स्पष्ट तथ्यमा आधारित नभई दिइएको ती कारणहरूलाई न्यायोचित कारण भन्न सकिने देखिँदैन ।

१५.   निजामती सेवा नियमावलीको नियम १०.१(५) मा नोकरीबाट बर्खास्त गर्ने भन्ने शब्दावलीको प्रयोग भएको छैन, नोकरीबाट हटाउनेभन्ने शब्दावलीको प्रयोग भएको छ । यी दुई शब्दावलीहरूको भिन्न भिन्न अर्थ हुन्छ । प्रमाणित अभियोगमा मात्र नोकरीबाट बर्खास्त गर्न सकिन्छ भने नोकरीबाट हटाउँदा अभियोग प्रमाणित भएको हुनुपर्छ भन्ने केही छैन । निजामती सेवा नियमावलीको बनौटमा समेत यस कुरालाई विशेष ध्यान दिइएको कुरा नियम १०.१(५) र १०.१(६) को अवलोकनबाट स्पष्ट हुन्छ । नियम १०.१(६) बमोजिम नोकरीबाट बर्खास्त गरिएको स्थिति र नियम १०.१(५) बमोजिम नोकरीबाट हटाएको स्थितिमा कर्मचारीले पाउने सुविधाहरू फरक फरक छन् । निवेदकलाई दिइएको पत्रमा दुई ठाउँमा बर्खास्त शब्द परेको छ । यसबाट निर्णयकर्ताले कानुनले अध्ययन बिना नै हतार हतारमा निर्णय गरी पत्र थमाउने कार्य गरेको छ, भन्ने पनि देखिन्छ ।

१६. अतः उपर्युक्त कारणहरूबाट विपक्षी भन्सार विभागका महानिर्देशकले गरेको मिति २०३९।२।२८ को  निर्णय तथा सो उपर परेको पुनरावेदनमा अर्थ सचिवले गरेको मिति २०४१।१।१९ को पुनरावेदन निर्णय समेत त्रुटिपूर्ण देखिँदा उक्त निर्णय र तत्सम्बन्धी काम कारवाही उत्प्रेषणको आदेशद्वारा बदर गर्ने गरेको माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधानको राय मनासिब ठहर्छ । रिट निवेदकलाई पुनः निजको साविक पदमा बहाल गरी दिनु भनी विपक्षीहरूका नाममा परमादेशको आदेश समेत जारी हुने ठहर्छ । यो आदेशको एकप्रति प्रतिलिपि विपक्षीकहाँ पठाउन महान्यायाधिवक्ताको कार्यालयमा पठाई मिसिल नियम बमोजिम गरी बुझाइदिनू ।

 

उक्त रायमा हामीहरूको सहमती छ ।

न्या.गजेन्द्रकेशरी बास्तोला

न्या. हरिहरलाल राजभण्डारी

 

इति सम्वत् २०४३ साल वैशाख २६ गते रोज ६ शुभम् ।