March 3, 1986
Created by nepalarchives

निर्णय नं. २५७३ – न्वारान गराई पाउँ

निर्णय नं. २५७३    ने.का.प. २०४२      अङ्क १२   डिभिजन बेञ्ज इजलाश माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला सम्वत् २०४१ सालको...

निर्णय नं. २५७३    ने.का.प. २०४२      अङ्क १२

 

डिभिजन बेञ्ज

इजलाश

माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह

माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला

सम्वत् २०४१ सालको फौ.पु.नं. ६००

मुद्दा : न्वारान गराई पाउँ ।

निवेदक/प्रतिवादी: गा.अ.कास्की पो.न.पं.वा.नं.१ बस्ने बालकृष्ण सुवेदी।

विरुद्ध

विपक्षी/वादी: ऐ. शिशुवा गा.पं.वा.नं.४ खुदिबजार बस्ने कुन्तीमाया च्वाई ।

 

फैसला भएको मिति:२०४२।११।२०।२ मा

     फोरेन्सीक रिपोर्ट अनुसार ब्लड ग्रुप मिल्दैमा पैत्रिकत्व प्रमाणित हुन सक्तैन ।

(प्रकरण नं. १६)

पुनरावेदक, प्रतिवादी तर्फबाट:विद्वान वरिष्ठ अधिवक्ता श्री वासुदेव ढुंगाना र विद्वान अधिवक्ता श्री प्रकाश वस्ती

विपक्षी तर्फबाट      :विद्वान अधिवक्ता श्री यादव प्रसाद खरेल

उल्लेखित मुद्दाःX

फैसला

न्या.पृथ्वी बहादुर सिंहः पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदन गर्ने अनुमति प्रदान भई पेश हुन आएको प्रस्तुत मुद्दाको व्यहोरा संक्षेपमा यसप्रकार रहेछ ।

२.    विपक्षी बालकृष्ण सुवेदीको करणी सहबासबाट ११ र ८ वर्षका २ छोरी भइसकेपछि सौता ल्याउनु भई मलाई हेला गर्न थालेकाले निज उपर अंश मुद्दा दिएको रीस इविले विपक्षीले पशुपतीसँग पोइल गएकी भनी म उपर धनमाल भराई पाउँ भनी मुद्दा दायर गरी रहेकै बखत निजैको सहबासबाट मेरो गर्भ रहन गई ०३७ साल चैत्र ३० गते छोरी जातक पाएकीले हाम्रो कुल धर्मानुसार न्वारान गरिदिनुहोस् भन्दा इन्कार गरेकोले विपक्षीलाई अदलको ११ नं.बमोजिम सजायँ समेत गरिपाउँ भन्ने समेत कुन्तीमायाको फिरादपत्र ।

३.    मेरो विवाहीता स्वास्नी विपक्षी शिशुवा आ.गा.पं.वा.नं.४ बस्ने पशुपतिसँग सहबासमा बिग्री ०३७ साल मार्ग २७ गते मेरो घरबाट स्वेच्छाले निस्की पशुपतिको घरमा गई बसेकी हुन् । विपक्षीको छोरीको न्वारान पशुपतीले ०३८।१।१० गते साँझ ७ बजे गरेको कुरा रामेश्वर र रामबहादुरले देखेको हुँदा छोरी जातकको न्वारान पशुपतीले गरी सकेकोले मैले न्वारान गरी दिन पर्ने होइन वादी दावा झुठ्ठा हो भन्ने समेत बालकृष्णको प्रतिउत्तर ।

४.    ०३९।११।८ मा विशेषज्ञ डा.कुमार संशेर ज.ब.रा.को जि.अ.मा बकपत्र भएको साथै प्रतिवादीको साक्षीको पनि बकपत्र मिसिल सामेल रहेको । रगत जाँच भई आएको ।

५.    आफ्नो प्रचलनअनुसार प्र.बालकृष्णले न्वारान गरिदिनुपर्ने ठहर्छ भन्ने कास्की जि.अ.को फैसला ।

६.    कानुन प्रतिकुल फैसला बदर हुनुपर्छ भन्ने बालकृष्णको पुनरावेदन ।

७.    जिल्ला अदालतको इन्साफ मनासिव छ भन्ने पश्चिमान्चल क्षेत्रिय अदालतको फैसला ।

८.    पश्चिमान्चल क्षेत्रिय अदालतको फैसलामा सार्वजनिक महत्वको विषयमा प्रत्यक्षतः गम्भीर कानुनी त्रुटि भएकोले पुनरावेदन गर्ने अनुमति पाउँ भन्ने प्रतिवादीको निवेदन परेकोमा पश्चिमान्चल क्षेत्रिय अदालतको फैसलामा प्रमाण ऐन, २०३१ को दफा ५४ को त्रुटि देखिएको भनी पुनरावेदन गर्ने अनुमति प्रदान भई पुनरावेदन लगतमा दर्ता भई पेश हुन आएको रहेछ ।

९.    नियम बमोजिम पेश हुन आएको प्रस्तुत मुद्दाको मिसिल अध्ययन गरी पुनरावेदकतर्फबाट रहनु  भएको विद्वान वरिष्ठ अधिवक्ता श्री वासुदेव ढुंगाना र विद्वान अधिवक्ता श्री प्रकाश वस्ती विपक्षी कुन्तीमाया पशुपतिसँग पोइल गएकी र निजकै घरमा लोग्ने स्वास्नी भई बसी निजैको विर्यबाट जातक छोरी जन्मेको हो भन्ने कुरा डाक्टरको फोरेन्सीक रिपोर्टले प्रमाणित गरेको छ किनकी रिपोर्ट अनुसार बच्ची र पशुपतीको ब्लड ग्रुप मिलेको छ बालकृष्णको ब्लड ग्रुप फरक पाइएको छ । तसर्थ पुनरावेदक बालकृष्णले न्वारान गराउनु पर्ने प्रश्नै आउँदैन । पुनरावेदक बालकृष्णलाई बच्चीको बाबु कायम गरी निजले न्वारान गरिदिनु पर्ने ठहर्‍याएको निर्णयहरू बदर हुनुपर्छ भन्ने समेत र विपक्षी कुन्तीमायाको तर्फबाट रहनुभएको विद्वान अधिवक्ता श्री यादवप्रसाद खरेलले ब्लड ग्रुप नै पैत्रिकत्वको अन्तिम प्रमाण होइन किनभने मोदीको मेडिकल जुरिस्प्रुडेन्सले यसमा बीस प्रतिशतसम्म गलत नतीजा आउन सक्ने सम्भावना रहन्छ भनेको छ । कुन्तीमाया पशुपतीसँग पोइल गएको भन्ने कुरा प्रतिवादीकै साक्षीले किटानसाथ भन्न सकेको छैन । पुनरावेदक प्रतिवादीले वादीलाई घरबाट निकाला गरेको र वादीले अंश मुद्दा समेत दिएकी छन् । वादी प्रतिवादी बीच वैवाहिक सम्बन्ध रहेको निर्विवाद छ । तसर्थ जातक बच्ची प्रतिवादीकै कायम गरी प्रतिवादीले न्वारान गरिदिनु पर्ने ठहर्‍याएको निर्णयहरू मनासिव छन् सदर हुनुपर्छ भन्ने समेत प्रस्तुत गर्नु भयो ।

१०.    अब पश्चिमान्चल क्षेत्रिय अदालतको फैसला मिले नमिलेको के रहेछ सो को निर्णय दिनु परेको छ ।

११.    निर्णयतर्फ बिचार गर्दा यसमा शुरु जि.अ.तथा पश्चिमाञ्चल क्षेत्रीय अदालतले वादी दावी बमोजिम वादीले जन्माएको जातक बच्चीको न्वारान प्रतिवादी बालकृष्णले गरिदिनु पर्ने ठहर्‍याएकोमा बच्ची र पशुपती दुबैको ब्लड ग्रुप बीभई मिल्न आएकोले जातक बच्ची पशुपतीको कायम हुनु पर्नेमा प्रतिवादी बालकृष्णको ठहर्‍याएको निर्णय त्रुटिपूर्ण भएको भन्ने आधारमा प्रस्तुत मुद्दामा पुनरावेदन गर्ने अनुमति दिइएको देखिन्छ ।

१२.   अब ब्लड ग्रुपले नाता सम्बन्ध कायम गर्ने हकमा कस्तो भूमिका खेल्न सक्छ भनी हेर्दा मोदीको मेडीकल जुरिष्प्रुडेन्सको (बिसौं संस्करणको पृष्ठ ९३ मा) रगत परीक्षणबाट अस्सी प्रतिशत मात्र सही नतीजा आउन सक्ने अर्थात २० प्रतिशत गलत नतीजा आउन सक्ने सम्भावना रहन्छ भनी उल्लेख गर्नुको साथै (ऐ.को पेज नं.३२६ मा) बच्चाको पैत्रिक रगत परिवर्तन Change पनि हुन सक्छ (It has recently ascertained that factors in chicet’s blood right change) अर्थात रगत परीक्षणबाट मात्रै बच्चाको पैत्रिकत्वको आधार लिन मिल्दैन भन्ने कुराको नै पुष्टी हुन आएको देखिन्छ ।

१३.   यसप्रकार हेर्दा रगत परीक्षणको नतीजालाई अन्य प्रमाणहरूले पनि समर्थन गरेको हुनुपर्ने जरुरी देखिन आउँछ ।

१४.   प्रस्तुत मुद्दामा वादी कुन्तीमाया र प्रतिवादी विवाहीत लोग्ने स्वास्नी मात्र नभई निजहरूबाट अरु २ जना छोरीहरू पनि जन्मी सकेका छन् । यसै बीच प्रतिवादीले अर्को विवाह गरी वादीलाई हेला गर्न थालेको र बसी आएको घरबाट निकाला गरी प्रतिवादीकै खुदीढुंगे पाटन भन्ने ठाउँको घरमा लगी राखेको भन्ने कुरा विवादरहित देखिन्छ । हेला गरी निकाला गरेपछि वादी कुन्तीमायाले प्रतिवादी बालकृष्ण समेत उपर अंश मुद्दा दिएकी छन् । निज वादी पशुपतीसँग पोइल गएको कुरा इन्कार रही आफ्नै विवाहीत पतिको सत्यमा बसेकी छु भनी बयान गरेकी छन्। उता पशुपतिले प्रतिवादी आफ्नै वंशका व्यक्ति भएको निजहरू बीच पुरानो रीसइवी रहेको र सोही रीसइवी साध्न झुठ्ठा उजूर गरेका हुन् भनी अभियोगमा इन्कारी रहेका छन् । प्र.कै साक्षीहरूले पनि कुन्तीमाया पशुपतीसँग पोइल गएको हुन् भनी किटानीसाथ भन्न नसकी त्यस्तो सुनेको मात्र भनेका छन् वादी कुन्तीमायाले आफू बसेको घरमा निज प्रतिवादी  कहिले काँही आउने गरेको बखत नै सहबास भई गर्भ रहेको बताएकी छिन् ।

१५.   यी सम्पूर्ण कुराबाट के देखिन आउँछ भने वादी कुन्तीमायाले प्रतिवादी बालकृष्ण समेत उपर अंशमा नालिश गरेको हुनाले निजलाई अंशबाट वञ्चित गर्ने षडयन्त्र मात्र हो । अर्को कुरा वादी कुन्तीमाया र पशुपतिबीच अवैध यौन सम्बन्ध रहेको पशुपतिसँग वादी कुन्तीमाया पोइल गएको दुबै लोग्ने स्वास्नी भई पशुपतिको घरमा बसेको भन्ने कुरा प्रतिवादी स्वयं र निजका बाबु आमाको मौखिक भनाई अर्थात प्रतिउत्तरमा जिकिर मात्र सिमित रहेको पाइन्छ । यी कुराहरूलाई प्रमाणित गर्ने ठोस प्रमाण प्रतिवादीले दिन सकेको छैन ।

१६.    उपरोक्त आधार प्रमाणको विश्लेषण गरी हेर्दा फोरेन्सीक रिपोर्ट अनुसार ब्लड ग्रुप मिल्दैमा पैत्रिकत्व प्रमाणित हुन सक्दैन । यसर्थ जातक बच्ची र पशुपतीको ब्लड ग्रुप मिलेमा बच्ची पशुपतिको करणी विर्यबाट जन्मेको हुन् भन्ने मिलेन । त्यसकारण वादी कुन्तीमायाले जन्माएकी जातक छोरी निज वादीका विवाहीत लोग्ने प्रतिवादी बालकृष्ण सुवेदीको कायम गरी निजले छोरीको न्वारान गरिदिनु पर्ने ठहर्‍याएको शुरु कास्की जि.अ.को इन्साफ सदर गरेको पश्चिमाञ्चल क्षेत्रीय अदालत को इन्साफ मनासिव ठहर्छ । प्रतिवादी जिकिर पुग्नसक्तैन । नियम बमोजिम मिसिल बुझाइदिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या.गजेन्द्रकेशरी बास्तोला

 

 

इतिसम्वत् २०४२ साल फाल्गुण २० गते रोज २ शुभम् ।