निर्णय नं. २५३१ – उत्प्रेषणको आदेश जारी गरिपाउँ
निर्णय नं. २५३१ ने.का.प. २०४२ अङ्क ११ डिभिजन बेञ्ज इजलाश सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्र बहादुर सिंह माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०४१...
निर्णय नं. २५३१ ने.का.प. २०४२ अङ्क ११
डिभिजन बेञ्ज
इजलाश
सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्र बहादुर सिंह
माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा
सम्वत् २०४१ सालको रिट नम्बर २०१५
विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ ।
निवेदक :जिल्ला कपिलवस्तु कज्रहर्वा गा.पं.वडा नं.६ बस्ने रघुवीर कोरी ।
विरुद्ध
विपक्षी :जिल्ला कपिलवस्तु कज्रहर्वा गा.पं.वडा नं.७ बस्ने राकेश कुमार तिवारी ।
ऐ.बस्ने मुनेश्वर तिवारी ।
ऐ.बस्ने शिव शरण तिवारी ।
ऐ.बस्ने राम सुरत तिवारी ।
ऐ.बस्ने महादेव तिवारी ।
ऐ.बस्ने रामदेव तिवारी ।
ऐ.बस्ने वृज भुषण तिवारी ।
ऐ.बस्ने सानो वशिष्ठ तिवारी ।
आदेश भएको मिति:२०४२।११।२०।२ मा
प्रत्यर्थीले समयमा हुनु पर्ने कानुन बमोजिमको कार्यविधी पूरा गरी निर्णय गरेको भन्ने देखिन नआएकोले सो कार्यविधी पूरा नगरी रिट निवेदकको दावी खारेज गर्ने गरेको भू.सु.का.को निर्णय त्रुटिपूर्ण भन्नुपर्ने ।
(प्रकरण नं. ११)
निवेदक तर्फबाट:विद्वान वरिष्ठ अधिवक्ता श्री कुन्जविहारी प्रसाद सिंह
विपक्षी तर्फबाट :विद्वान सह–न्यायाधीवक्ता श्री भैरव प्रसाद लम्साल
उल्लेखित मुद्दाःX
आदेश
प्र.न्या.धनेन्द्र बहादुर सिंहः भूमि सुधार अधिकारीको मिति २०४१।११।१० को निर्णय बदर गरिपाउँ भनी नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको तथ्य यसप्रकार छ :
२. विपक्षी ज.ध.को जग्गा २०२५ सालदेखि प्रति विगहा १ को रु. ६०।– नगद हुँदा बुझाउने गरी मोहीको हैसियतले जोतकोड गरी आएको नापी हुँदा गा.पं.कज्रहर्वा वडा नं.५ कि.नं.२१३ वडा नं.७ कि.नं.१९६, ३१९ वडा नं.८(क) कि.नं.५०७ र वडा नं.८(ख) कि.नं.१४० को ०–१४–१७ समेतको जग्गामा विवाद जनिएको र हाल पनि मेरो जोत भोगमा भएकोले मोही हक कायम गरी प्रमाणपत्र पाउँ भनी निवेदन परेकोमा ज.ध.हरूका नाममा सूचना पठाएकोमा निरंजनलाई वारिश गरिदिएको र निजले म्याद थमाई कार्यालयमा उपस्थित हुन नआई हु.बाट निवेदक रघुवीर कोरीले निवेदनमा दावी गरेको जग्गा निजको मोही कायम गरिदिन मेरो मन्जूर छ भनी पठाएको रहेछ ज.ध.को वा.निरंजन तेली अड्डामा हाजिर भई तारिख लिई गए तर तारिखमा उपस्थित नभई मोहीले जग्गा जोतेको कुरा स्वीकार गरी हु.बाट माग निवेदन पठाउँदा हु.बाट पठाएको निवेदन स्वीकार गरेको भन्न रीतपूर्वकको मान्न नमिल्ने भएको, ज.ध.लाई म्याद पठाउँदा हाजिर भई स्वीकार गरेको नदेखिने, जो.अ.नि.समेत नभएकोले निवेदकको दावी खारेज हुने ठहर्छ भनी मिति २०४१।११।१० मा भू.सु.अधिकारीले निर्णय गर्र्नुभयो ।
३. विपक्षीको वा.निरंजन तेली हाजिर भएको कुरा फैसलाबाट देखिन्छ । अ.बं.१२९ नं. बमोजिम निजलाई बयान लिई तारिख दिनु पर्नेमा बयान नगराई तारिख दिएको अ.बं.१२९ नं.को प्रतिकूल छ । वा.निरंजन तेलीले हाम्रो जोतलाई स्वीकार गरी निवेदन दिनु भएको छ । त्यसलाई मान्यता नदिने अधिकारीज्यूको फैसला कानुनसंगत छैन । मेरो जोत सम्बन्धमा सरजमीन बुझेको छैन । सो फैसलाबाट मेरो हक हनन् भएको हुँदा उत्प्रेषणयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरी मिति २०४१।११।१० को निर्णय बदर गरी हक प्रचलन गराई पाउँ भन्ने रिट निवेदन ।
४. विपक्षीसँग लिखिन जवाफ लिने भन्ने समेत सर्वोच्च अदालत सिंगल बेञ्जको मिति २०४१।१२।२८ को आदेश ।
५. विपक्षीहरूको वा.निरंजन तेली उपस्थित हुन आएको निजलाई बयान लिई तारिख दिनु पर्नेमा सो दिन कार्यालयको अन्य कामको बोझले गर्दा तारिख तोकिएकोमा उपस्थित हुन नआई निवेदकले दावी गरेको कि.नं.हरू निवेदकले जोत भोग गरी आएको हुँदा निजका नाममा मोही कायम गरी दिन मन्जूर छ भनी हु.बाट पठाएको निवेदन मुद्दा कार्यालयमा सनाखत सहिछाप गरी स्वीकार गरेको भन्न नमिल्ने, सरजमीनको आधारमा मोही कायम गर्ने व्यवस्था नभएको रसिद कबूलियतको अभावमा मोही कायम गर्न नमिल्ने सबूद प्रमाणको बिचार गरी यस कार्यालयबाट भएको निर्णय न्यायसंगत हुँदा रिट खारेज हुन अनुरोध छ, भन्ने समेत भू.सु.अधिकारी भू.सु.कार्यालय कपिलवस्तुको लिखिन जवाफ ।
६. प्रत्यर्थीहरूले तामेल भएको सूचनाको म्यादभित्र लिखिन जवाफ पेश नगरी गुजारी बसेको रहेछ ।
७. प्रस्तुत मुद्दा मिति २०४२।११।१२ का दिन पेश हुँदा निवेदक तर्फबाट रहनुभएका विद्वान वरिष्ठ अधिवक्ता श्री कुन्जविहारीप्रसाद सिंहले प्रत्यर्थीहरूको वा.निरंजन तेली हाजिर भएपछि अ.बं.१२९ नं.अनुसार बयान गराई तारिख तोक्नु पर्नेमा बयान नगराई तारिख तोकेको उक्त ऐनको प्रतिकूल छ । प्रत्यर्थीको वा.ले रिट निवेदकलाई मोही कायम होस् भनी स्वीकार गरी निवेदन दिएको छ । सो निवेदन निवेदकले कार्यालयमा दिएको भई सनाखत गराउन पर्ने होइन । तसर्थ मोही कायम गरिपाउँ भन्ने रिट निवेदकको दावी खारेज गरेको निर्णय त्रुटिपूर्ण हुँदा बदरभागी छ, भन्ने समेत र प्रत्यर्थीका तर्फबाट बहस गर्न उपस्थित विद्वान सह–न्यायाधीवक्ता श्री भैरवप्रसाद लम्सालले जग्गाधनीको वा.ले मोही कायम होस् भनी दिएको निवेदन सनाखत गरेको छैन । सो निवेदन सनाखत नगरेसम्म त्यसबाट मोही कायम गर्न मिल्दैन । अरु मोही कायम गर्ने आधार प्रमाण केही नहुँदा वादी दावी खारेज गर्ने गरेको निर्णयमा कुनै त्रुटि छैन भन्ने समेत बहस गर्नुभयो ।
८. आज निर्णय सुनाउने तोकिएको प्रस्तुत निवेदनमा निवेदकका माग अनुसारको आदेश जारी हुनुपर्ने हो होइन ? सो कुराको निर्णय दिनुपर्ने हुन आएको छ ।
९. यसमा निर्णयतर्फ हेर्दा वा.ले कार्यालयमा उपस्थित भई स्वीकार गर्न नसकी हु.बाट निवेदन पठाएकोलाई रीतपूर्वक स्वीकार गरेको मान्न नमिल्ने ज.ध.लाई म्याद पठाउँदा हाजिर भई स्वीकार गरेको नदेखिने, जो.अ.नि.समेत नभएको रसिद कबूलियतको अभावमा मोही कायम गर्न नमिल्ने हुँदा दावी खारेज हुने ठहराई प्रत्यर्थी भू.सु.अधिकारीबाट निर्णय गरेको पाइन्छ ।
१०. सह–न्यायाधीवक्ताले बेञ्च समक्ष देखाएको मिसिलबाट प्रत्यर्थी ज.ध.हरूको वा.निरंजन तेली म्याद थमाई २०४०।२।६ मा हाजिर भई मिति २०४०।२।१३ गतेको तारिख तोकिएको सो तारिख गुजारी हु.प्र.बाट थमाई २०४०।५।९ गते हाजिर भई तारिखमा रही मिति २०४०।८।६ गतेदेखि तारिख गुजारेको देखिन्छ ।
११. अ.बं.१२९ नं.मा समाव्हान इतलायनामा म्याद तामेल भएको झगडीयाले तोकिएको म्यादभित्र जुन दिनमा प्रतिउत्तर वा बयान दिन आए पनि उसै दिन तुरुन्त लिनु पर्दछ भन्ने लेखिएको छ । यसबाट म्यादमा हाजिर हुन आएमा प्र.को बयान लिनुपर्ने हुन्छ । तर प्रस्तुत मुद्दामा प्रत्यर्थी ज.ध.हरूको वा.निरन्जन तेली म्याद थमाई मिति २०४०।२।६ मा हाजिर भएको सो दिन अरु तारिखका दिनहरूमा कानुन बमोजिम गराउन पर्ने बयान गराई तारिखमा राखेको देखिँदैन । ऐन बमोजिम गराउन पर्ने बयान नगराई त्रुटि गरी तारिखमा राखेको पाइन्छ । प्रत्यर्थी ज.ध.हरूको वा.निरंजन तेलीले हु.बाट निवेदनमा दावी गरेको जग्गा निजले जोतभोग गरी आएको मोही कायम गरिदिन मन्जूर छ भनी पठाएको निवेदन मिसिल संलग्न रहेको भनी भू.सु.का.को फैसलामा उल्लेख भएको पाइन्छ । तर सो निवेदन हु.बाट पठाएको भन्ने निवेदन लेखाई र सम्बन्धित मिसिलबाट देखिँदैन । अड्डैमा गई दर्ता गराएका भन्ने देखिन्छ । तसर्थ प्रत्यर्थी भू.सु.अधिकारी भू.सु.का.कपिलवस्तुले समयमा हुनु पर्ने कानुन बमोजिमको कार्यविधी पूरा गरी निर्णय गरेको भन्ने देखिन नआएकोले सो कार्यविधी पूरा नगरी रिट निवेदकको दावी खारेज गर्ने गरेको उक्त भू.सु.अधिकारी भू.सु.का.कपिलवस्तुको मिति २०४१।११।१० को निर्णय त्रुटिपूर्ण भन्नु पर्ने हुन आयो ।
१२. अतः उपरोक्त उल्लेख भए अनुसार प्रत्यर्थी भू.सु.अधिकारी भू.सु.कार्यालय कपिलवस्तुको मिति २०४१।११।१० को त्रुटिपूर्ण निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ । कानुन बमोजिम निर्णय गर्नु भनी प्रत्यर्थी कार्यालयका नाममा परमादेशको आदेश जारी गरिएको छ । यो आदेशको प्रतिलिपि प्रत्यर्थी कार्यालयमा पठाउन महान्यायाधीवक्ताको कार्यालयमा पठाई फाइल नियम बमोजिम गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.महेशराम भक्त माथेमा
इतिसम्वत् २०४२ साल फाल्गुण २० गते रोज २ शुभम् ।