निर्णय नं. २५२८ – उत्प्रेषणको आदेश जारी गरिपाउँ
निर्णय नं. २५२८ ने.का.प. २०४२ अङ्क ११ डिभिजन बेञ्ज इजलाश सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्र बहादुर सिंह माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् ०४१...
निर्णय नं. २५२८ ने.का.प. २०४२ अङ्क ११
डिभिजन बेञ्ज
इजलाश
सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्र बहादुर सिंह
माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा
सम्वत् ०४१ सालको रिट नं. २०५४
विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ ।
निवेदक :जिल्ला कपिलवस्तु गा.पं.कजहर्वा वडा नं.५ बस्ने खुसीयाल कोरी ।
विरुद्ध
विपक्षी :जिल्ला कपिलवस्तु कजहर्वा गा.पं.वडा नं.७ बस्ने राकेश कुमार तिवारी ।
ऐ.बस्ने मुनेश्वर तिवारी ।
ऐ.बस्ने शिव शरण तिवारी ।
ऐ.बस्ने राम सुरत तिवारी ।
ऐ.बस्ने महादेव तिवारी ।
ऐ.बस्ने रामदेव तिवारी ।
ऐ.बस्ने वृज भूषण तिवारी ।
ऐ.बस्ने सानो वशिष्ठ तिवारी ।
भू.सु अधिकारी भू.सु. कार्यालय कपिलवस्तु ।
आदेश भएको मिति:२०४२।११।२०।२ मा
प्रत्यर्थीले समयमा हुनु गर्नुपर्ने कानुन बमोजिमको कार्यविधि पूरा गरी निर्णय गरेको भन्ने देखिन नआएकोले सो कार्यविधि पूरा नगरी रिट निवेदकको दावी खारेज गर्ने गरेको निर्णय त्रुटिपूर्ण भन्नु पर्ने ।
(प्रकरण नं. ११)
निवेदक तर्फबाट:विद्वान वरिष्ठ अधिवक्ता श्री कुन्जविहारी प्रसाद सिंह
विपक्षी तर्फबाट :विद्वान सह–न्यायाधीवक्ता श्री भैरव प्रसाद लम्साल
उल्लेखित मुद्दाःX
आदेश
प्र.न्या.धनेन्द्र बहादुर सिंहः भूमि सुधार अधिकारीको मिति २०४१।११।१० को निर्णय बदर गरिपाउँ भनी नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको तथ्य यसप्रकार छ :
२. जिल्ला कपिलवस्तु गा.पं.कजहर्वा वडा नं.५, ६, ७, (ग) कि.नं.११०, ३०२, ३१९, ११०२, ५५६, ९६ को ज.वि.०–११–९ जग्गा २००९ साल भन्दा अघिदेखि उखडा बटैयामा कमाउँदै आएको २००९ सालदेखि उखडा बटैया जग्गामा मुद्दा चली २०१२।१।१२ मा खजहनी मालमा मिलापत्र भएकोबाट केही उखडा र केही बटैयामा कमाउन दिएको भन्ने दुबै पक्षको मन्जूरी भएको र विपक्षीसँग बेदखली मुद्दामा समेत शिवराज तौलीहवा गोश्वाराको विशेष ट्राइबुनलबाट २०२०।२।७ मा निर्णय हुँदा मिलापत्रलाई आधार मानी फैसला भएको छ । यही जग्गा विषयमा उखडाको विवाद उठी मुद्दा चल्दा मिलापत्रमा अजिरे चमारले उखडामा जोतेको भनी उल्लेख भएको विगहा १–४–१६ उखडा कायम हुने ठहर्छ । दर्ता गर्न माललाई जनाउ दिने माथि उल्लेख भए देखि बढी जग्गाको किसानले भरेको फाराम बदर भएकोले कानुन बमोजिम गर्नु भनी शुरु जिल्ला अदालतलाई जनाउ दिने भनी २०३०।३।४ मा डिभिजन बेञ्जबाट फैसला भयो । वडा नं.६ को कि.नं.११० वडा नं.७ को कि.नं.३०२ र वडा नं.७ को कि.नं.३१ को ज.वि.०–४–१८ उखडा कमाएको भई मेरोनाममा दर्ता भई लालपुर्जा पाइसकेकोछ । वडा नं.५ के कि.नं.११०२ वडा नं.६ के कि.नं.५५६ र वडा नं.८(ग) के कि.नं.९६ के ज.वि.०–६–११ मा नापीमा झगडा जनाएको कारण सर्वोच्च अदातलमा मुद्दा चल्दै थियो । उक्त जग्गाको लालपुर्जा जग्गाधनी समेतले पाउनु भएको छैन । जग्गाधनीहरूको वारीश निरंजन तेली हाजीर भई तारिख लिई गएको उपस्थित नभई मोहीले जग्गा जोतेको कुरा स्वीकार गरी हुलाकबाट निवेदन पठाएको रीतपुर्वक मान्न नमिल्ने भएकोले मोही कायम गरी प्रमाणपत्र पाउँ भनी निवेदकको माग भएकोमा क्षेत्रीय किताब उतारबाट निवेदक र ज.ध.महादेव तिवारी समेतको झगडा जनिएको देखिने ज.ध.लाई म्याद पठाउँदा हाजिर भई स्वीकार गरेको नदेखिने जो.अ.नि.समेत नभएकोले निवेदकको दावी खारेज हुने ठहर्छ भनी २०४१।११।१० मा भू.सु.अधिकारीले निर्णय गर्नुभयो ।
३. मिति २०१२।१।१२ को मिलापत्र ट्राइबुनलको मिति २०२०।२।७ को फैसलाबाट बटैयामा जोतेको देखिन्छ । मैले उखडा फाराम भरेपछि उजूर गर्दा नगदीमा ०–४–१६ र बटैयामा ०–१४–१ दिएको कुरा स्वयं लेख्नु भएकोबाट श्री अधिकारीज्यूले तथ्यलाई ध्यान दिनु भएको छैन । विपक्षीको वारिश निरंजन तेली हाजीर भएको कुरा फैसलाबाट देखिन्छ । अ.बं.१२९ नं.बमोजिम बयान लिई तारिख दिनु पर्नेमा बयान नगाई तारिख दिनु भएको अ.बं.१२९ नं.प्रतिकूल छ । वारिस निरंजन तेलीले हाम्रो जोतलाई स्वीकार गरिदिएको मान्यता नदिने भनी भएको फैसला कानुनसंगत छैन । श्री अधिकारीज्यूले सरजमीन समेत बुझ्नु भएको छैन । सर्वोच्च अदालत डिभिजन बेञ्जको २०३०।३।४ मा फैसला भएको मिसिल प्रमाण नलगाई फैसला गर्नु भएको गैरकानुनी भई अ.बं.१८४(क), १८५, १८९ नं.का प्रष्ट त्रुटि भएको छ । सो फैसलाबाट हक हनन् भएकोले उत्प्रेषणयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरी २०४१।११।१० को निर्णय बदर गरी हक प्रचलन गराई पाउँ भन्ने निवेदन ।
४. विपक्षीसँग लिखिन जवाफ लिने भन्नेसमेत स.अदालतको सिंगल बेञ्जको मिति २०४२।१।२८ को आदेश ।
५. विपक्षीहरूको वारिश निरंजन तेली उपस्थित हुन आएको बयान लिई तारीख दिनु पर्नेमा कार्यालयको अन्य कामको बोझले समय अभाव भई तारीख तोकिएकोमा उपस्थित हुन नआई निवेदकले दावी गरेका कि.नं.हरू निवेदकले जोत भोग गरेको हुँदा निजका नाममा मोही कायम गरी दिन मन्जूर छ भनी हुलाकबाट पठाएको निवेदन हुँदा कार्यालयमा सनाखत सहिछाप गरी रीतपूर्वक स्वीकार गरेको भन्न नमिल्ने सरजमीनको आधारमा मात्र मोही कायम गर्ने व्यवस्था नभएको निवेदकले जो. अ.नि.तथा रसीद कबूलियत प्राप्त गर्न सकेको देखिँदैन । मोही कायम गर्ने आधारभूत प्रमाण नभएकोले मोही कायम नहुने भनी भएको निर्णय न्यायसंगत हुँदा रिट निवेदन खारेज हुन अनुरोध छ भन्ने भू.सु.अधिकारी भूमि सुधार कार्यालय कपिलवस्तुको लिखिन जवाफ ।
६. प्रत्यर्थी राकेशकुमार समेतले तामेल भएको सूचनाको म्यादभित्र लिखिन जवाफ नदिई गुजारेको रहेछ ।
७. प्रस्तुत मुद्दा मिति २०४२।११।१२ गते पेश हुँदा रिट निवेदक तर्फबाट रहनुभएका विद्वान वरिष्ठ अधिवक्ता श्री कुन्जविहारीप्रसाद सिंहले उखडा मुद्दा २०३०।३।४ मा सर्वोच्च अदालत डिभिजन बेञ्जबाट फैसला भएको मिसिल समेतबाट रिट निवेदकले जग्गा बटैयामा जोतेको भन्ने देखिन्छ । सो मिसिल प्रमाण नलाएको त्रुटि छ । जग्गाधनीको वारिस हाजिर भएपछि बयान नगराई तारीख ताकेको अ.बं.१२९ नं.को त्रुटि छ । जग्गाधनीको वारिशले रिट निवेदकले जग्गा जोतेकोले मोही कायम गर्न स्वीकारी निवेदन दिएकोलाई मान्यता नदिई गरेको निर्णय त्रुटिपूर्ण हुँदा बदरभागी छ, भन्ने समेत प्रत्यर्थी कायालयतर्फबाट बहस गर्न उपस्थित सह–न्यायाधीवक्ता श्री भैरवप्रसाद लम्सालले बटैयामा जग्गा जोतेको भन्ने रिट निवेदकले कानुन बमोजिमको कुनै प्रमाण पेश गर्न सकेको छैन । तसर्थ दावी खारेज गर्ने गरेको भू.सु.कार्यालयको निर्णय कानुन अनुरुप हुँदा रिट निवेदन खारेज हुनुपर्छ भन्ने समेत बहस गर्नु भयो ।
८. आज निर्णय सुनाउन तोकिएको प्रस्तुत निवेदनमा निवेदकका माग अनुसारको आदेश जारी हुनुपर्ने हो होइन ? सो कुराको निर्णय दिनुपर्ने हुन आएको छ ।
९. यसमा निर्णयतर्फ हेर्दा वारिशले कार्यालयमा उपस्थित भई स्वीकार गर्न नसकी हुलाकबाट निवेदन पठाएकोलाई रीतपूर्वक स्वीकार गरेको मान्न नमिल्ने । ज.ध.लाई म्याद पठाउँदा हाजिर भई स्वीकार गरेको नदेखिने जो.अ.नि.समेत नभएको रसिद कबूलियतको अभावमा मोही कायम गर्न नमिल्ने हुँदा दावी खारेज हुने ठहराई प्रत्यर्थी भूमि सुधार अधिकारीबाट निर्णय गरेको पाइन्छ ।
१०. सह–न्यायाधीवक्ताले बेञ्च समक्ष देखाएको मिसिलबाट प्रत्यर्थी जग्गाधनीहरूको वारिश निरंजन तेली म्याद थमाई २०४०।२।६ मा हाजिर भई २०४०।२।१३ गतेको तारिख तोकिएको सो तारिख गुजारी हुकूम प्रमाङ्गीबाट थमाई २०४०।५।९ गते हाजिर भई तारिखमा रही २०४०।८।६ गते देखि तारिख गुजारेको देखिन्छ ।
११. अ.बं.१२९ नं.मा समाव्हान इतलायनामा म्याद तामेल भएको झगडीयाले तोकिएको म्यादभित्र जुन दिनमा प्रतिउत्तर वा बयान दिन आए पनि उसै दिन तुरुन्त लिनु पर्छ भन्ने लेखिएको छ यसबाट म्यादमा हाजिर हुन आएमा प्रतिउत्तर वा बयान लिनु पर्ने हुन्छ । तर प्रस्तुत मुद्दामा प्रत्यर्थी जग्गाधनीहरुको वारिस निरन्जन तेली म्याद थमाई २०४०।२।६ मा हाजिर भएको सो दिन र अरु तारिखका दिनहरूमा समेत कानुन बमोजिम गराउन पर्ने बयान गराई तारिखमा राखेको देखिँदैन । ऐन बमोजिम गराउन पर्ने बयान नगराई त्रुटि गरी तारिखमा राखेको पाइन्छ । प्रत्यर्थी जग्गाधनीहरूको वारिस निरंजन तेलीले हुलाकबाट निवेदनमा दावी गरेको जग्गा निजले जोतभोग गरी आएको मोही कायम गरिदिन मन्जूर छ भनी पठाएको निवेदन मिसिल संलग्न रहेको भन्ने भू.सु.का.को फैसलामा उल्लेख भएको पाइन्छ । तर सो निवेदन हुलाकबाट पठाएको भन्ने निवेदन लेखाई र सम्बन्धित मिसिलबाट देखिँदैन । अड्डैमा गई दर्ता गराएको भन्ने देखिन्छ । तसर्थ प्रत्यर्थी भू.सु.अधिकरी भू.सु.कार्यालय कपिलवस्तुले समयमा हुनु गर्नु पर्ने कानुन बमोजिमको कार्यविधि पूरा गरी निर्णय गरेको भन्ने देखिन नआएकोले सो कार्यविधि पूरा नगरी रिट निवेदकको दावी खारेज गर्ने गरेको उक्त भू.सु.अधिकारी भूमि सुधार कार्यालय कपिलवस्तुको मिति २०४१।११।१० को निर्णय त्रुटिपूर्ण भन्नु पर्ने हुन आयो ।
१२. अतः उपरोक्त उल्लेख भए अनुसार प्रत्यर्थी भू.सु.अधिकारी भूमि सुधार कार्यालय कपिलवस्तुको मिति २०४१।११।१० को त्रुटिपूर्ण निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ । कानुन बमोजिम निर्णय गर्नु भनी प्रत्यर्थी कार्यालयका नाममा परमादेशको आदेश जारी गरिएको छ । यो आदेशको प्रतिलिपी प्रत्यर्थी कार्यालयमा पठाउन महान्यायाधीवक्ताको कार्यालयमा पठाई फाइल नियम बमोजिम गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.महेशराम भक्त माथेमा
इतिसम्वत् २०४२ साल फाल्गुण २० गते रोज २ शुभम् ।