निर्णय नं. २४७९ – उत्प्रेषण वा उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ
निर्णय नं. २४७९ ने.का.प. २०४२ अङ्क ९ डिभिजन बेञ्ज इजलाश माननीय न्यायाधीश श्री धनेन्द्र बहादुर सिंह माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव सम्वत् २०४१ सालको...
निर्णय नं. २४७९ ने.का.प. २०४२ अङ्क ९
डिभिजन बेञ्ज
इजलाश
माननीय न्यायाधीश श्री धनेन्द्र बहादुर सिंह
माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव
सम्वत् २०४१ सालको रि.नं. १८९१
विषय : उत्प्रेषण वा उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ ।
निवेदक :का.प.जि.देउपुर गैरी विसौना गा.पं.वार्ड नं.९ चन्धनपुर बस्ने ठूलो कृष्ण बहादुर विश्वकर्मा।
विरुद्ध
विपक्षी :ऐ.वार्ड नं.मकवानुपर बस्ने देवीप्रसाद न्यौपाने ।
जिल्ला प्रहरी कार्यालय का.प.जि. धुलिखेल ।
का.प.जि.देउपुर ढांडखोला प्रहरी चौकी ।
आदेश भएको मिति:२०४२।८।२०।५ मा
तथ्ययुक्त आधार प्रमाण बेगर प्रत्यर्थीहरूले रिट निवेदकसँग निवेदन जिकिर बमोजिमको कागज गराएको भन्न मिल्ने अवस्था नहुने ।
(प्रकरण नं. १२)
निबेदक तर्फबाटःX
प्रत्यर्थी तर्फबाट: विद्वान मुख्य न्यायाधीवक्ता श्री केदरा प्रसाद शर्मा
उल्लेखित मुद्दाःX
आदेश
न्या.धनेन्द्र बहादुर सिंहः जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक धुलिखेलमा गराएको मिति ०४१।९।२५ को कागज बदर गरिपाउँ भनी नेपालको संविधान, २०१९ को धारा ७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त विवरण यसप्रकार छ :
२. मिति २०४१।९।२५ का दिन विहान अं.९ बजेको समयमा विपक्षी देउपुर प्रहरी चौकीबाट नाम नजानेको २ जना प्रहरीहरू आई मलाई हामीसँग हिंड् भनी भनेको मैले किन तपाईहरूसँग जाने भनी सोध्दा देवीप्रसाद न्यौपानेले जि.प्र.का.काभ्रेमा तिम्रो विरुद्धमा निवेदन गरेका छन् त्यस विषयमा तिमीलाई उपस्थित गराउनु भनी पत्र पठाएको हुनाले लिन आएको भनी जबरजस्ती पक्राउ गरी जि.प्र.का.धुलिखेलमा ल्याइयो । तत्पश्चात मलाई खानसम्म नदिई जि.प्र.का.मा दिनभरी थुनेर राती अं.१० बजेको समयमा विपक्षी देवीप्रसाद र २ जना प्रहरीहरू आई कुन्नी के लेखेको व्यहोराको कागज ल्याई व्यहोरा नसुनाई जबरजस्ती मलाई सहिछाप गर भनी भन्दा मैले सही गर्न इन्कार गरेको प्रहरीहरूले सही नगर्ने भए आजीवन जेलमा सडाई दिन्छौ भनी धम्की दिई जबरजस्ती मलाई सो कागजहरूमा सहिछाप गराई उक्त दिन मलाई छाडी दिए । विपक्षी देवीप्रसादको नमालुम कस्तो निवेदनबाट मलाई प्रहरीहरूले जबरजस्ती सहिछाप गराएका हुन् कागजको प्रकृति थाहा नभएको र विपक्षीहरूले कागजमा जबरजस्ती सहिछाप गराई मेरो वैयक्तिक स्वतन्त्रता अपहरण हुन गएकोले निवेदन गर्न आएको छु । उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश जारी गरी उक्त मिति ०४१।९।२५ मा जबरजस्ती गराएको २ थान कागजहरू बदर गरिपाउँ भन्ने समेत ठूलो कृष्णबहादुर विश्वकर्माको मिति ०४१।११।१७ को रिट निवेदन जिकिर ।
३. विपक्षीहरूबाट लिखिन जवाफ मगाई पेशगर्नु भन्ने यसअदालत सिं.बे.को मिति ०४१।११।२४ को आदेश ।
४. विपक्षीले म सँग रु. ६०००।– कर्जा लिई घरसारमा ०३९।३।१५ मा कपाली तमसूक गरिदिएका थिए र रु. ५००।– थप गरी विसौना गा.पं.वार्ड नं.९ बाट नाप नक्शा भएको कि.नं. ९ को २–११–३–२ को कित्ता १ र ऐ. कि.नं.२१८ को क्षेत्रफल ४–१२–३–२ समेतको २ कित्ता जग्गा राजीनामा पास गरिदिने जमान भई ०३९।५।१८ गते रु. ५००।– थप गरी जम्मा रु. ६५००।– मा राजीनामा पारित गराई पाउँ भन्ने दर्खास्त समेत लेखी सहिछाप गरेका हुन् त्यस दिन अबेला भई लिखत पास हुन सकेन । त्यसपछि मसँग तमसूक नगरी रु. ५०००।– कर्जा लिएका थिए । उक्त रु. ६५००।– र ५०००।– एकमुष्ट ०४१ साल मंसीरमा बुझाउने जमान थियो पैसा माग्दा झगडा परेकोले शान्ति सुरक्षा गराई पाउँ भनी प्र.का.धुलिखेलमा निवेदन दिएको थिएँ । उक्त विपक्षीलाई प्रहरी कार्यालयबाट झिकाएको थाहैछैन र म सरीक भई विपक्षीलाई पक्राउ गरी प्रहरीमा लगी जबरजस्ती कागज समेत गराएको छैन । मेरो रु. ११५००।– पचाई खाने नियत लिई झुठ्ठा रिट निवेदन दिएको मात्र हुँदा रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत प्रत्यर्थी देवीप्रसाद न्यौपानेको मिति ०४२।४।२२ को लिखिन जवाफ ।
५. निवेदक ठूलो कृष्ण बहादुर विश्वकर्मालाई पक्राउ गर्न भनी यस कार्यालयबाट प्रहरी चौकी देउपुरलाई पत्र लेखी पठाएको र निजलाई यस कार्यालयमा ल्याई कुनै कागज गराएको श्रेस्ताबाट नदेखिएको व्यहोरा अनुरोध गरिएको छ । साथै निवेदकलाई थुनेर जबरजस्ती कागज गराउनु पर्ने कुनै कारण समेत नभएको व्यहोरा अनुरोध छ भन्ने समेत जिल्ला प्रहरी कार्यालय धुलिखेलको मिति ०४२।४।२१।२ को लिखिन जवाफ ।
६. निवेदनमा उल्लेख भएबमोजिम निवेदक ठूलो कृष्ण बहादुर विश्वकर्मालाई उपस्थित गराउनु भन्ने आदेश प्राप्त भएको श्रेस्ताबाट नदेखिएको र साथै निवेदकलाई पक्राउ गरी ल्याउनु भनी कुनै प्रहरी खटाइएको पनि यस चौकीको श्रेस्ताबाट नदेखिएको व्यहोरा अनुरोध छ भन्ने समेत प्रहरी चौकी देउपुरको मिति ०४२।४।२१ को लिखिन जवाफ ।
७. रिट निवेदकको वा. मदनप्रसाद पराजुलीलाई पुकार गर्दा उपस्थित नभएको र प्रत्यर्थी मध्येका देवीप्रसाद रोहवरमा रही प्रत्यर्थी कार्यालयतर्फबाट बहसमा उपस्थित हुनुभएका विद्वान मुख्य न्यायाधीवक्ता श्री केदार प्रसाद शर्माले रिट निवेदकलाई जिल्ला प्रहरी कार्यालय धुलिखेलबाट पक्राउ गर्न पठाई जबरजस्तीपूर्वक मिति ०४१।९।२५ मा कुनै पनि कागज नगराएको हुँदा रिट जारी हुनु पर्ने होइन रिट निवेदन खारेज हुनपर्छ भन्ने समेत बहस प्रस्तुत गर्नु भयो ।
८. प्रस्तुत मुद्दामा रिट निवेदकको माग बमोजिमको आदेश जारी हुनु पर्ने वा नपर्ने के हो ? सो कुराको निर्णय दिनु पर्ने हुन आएको छ ।
९. यसमा निर्णयतर्फ हेर्दा मलाई मिति ०४१।९।२५ गते पक्राउ गरी जिल्ला प्रहरी कार्यालय धुलिखेलमा ल्याई सो दिन राती अं.१० बजे विपक्षी देवीप्रसाद र २ जना प्रहरीहरू भई कुन्नी के लेखेको व्यहोराको कागजको व्यहोरा नसुनाई जबरजस्तीपूर्वक सहिछाप गराई कागज गराएकाले उक्त कागज बदर गरिपाउँ भन्ने रिट निवेदकको मुख्य जिकिर देखिन्छ ।
१०. प्रत्यर्थी जिल्ला प्रहरी कार्यालय काभ्रे धुलिखेलको र प्रहरी चौकी देउपुरको लिखिन जवाफमा रिट निवेदकलाई पक्राउ गरेको र कुनै प्रकारको कागज पनि गराएको छैन । जबरजस्ती कागज गराउनु पर्ने कुनै कारण समेत छैन भनी लिखिन जवाफ दिएको देखिन्छ ।
११. सो रिट निवेदन जिकिर बमोजिमको कागज प्रत्यर्थीहरूले गराएका हुन् भन्ने कुराको कुनै प्रत्यक्ष आधार प्रमाण रिट निवेदकले देखाउन सकेको छैन ।
१२. यस स्थितिमा तथ्ययुक्त आधार प्रमाण बेगर प्रत्यर्थीहरूले रिट निवेदकसँग निवेदन जिकिर बमोजिमको कागज गराएको भन्न मिल्ने अवस्था नहुँदा रिट निवेदकको माग बमोजिमको आदेश जारी गर्न मिलेन । प्रस्तुत रिट निवेदन खारेज हुने ठहर्छ । फाइल नियम बमोजिम गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.जोगेन्द्रप्रसाद श्रीवास्तव
इतिसम्वत् २०४२ साल मार्ग २० गते रोज ५ शुभम् ।