निर्णय नं. २४७८ – उत्प्रेषण् लगायत अन्य उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ
निर्णय नं. २४७८ ने.का.प. २०४२ अङ्क ९ डिभिजन बेञ्ज इजलाश माननीय न्यायाधीश श्री धनेन्द्र बहादुर सिंह माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव सम्वत् २०४१ सालको...
निर्णय नं. २४७८ ने.का.प. २०४२ अङ्क ९
डिभिजन बेञ्ज
इजलाश
माननीय न्यायाधीश श्री धनेन्द्र बहादुर सिंह
माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव
सम्वत् २०४१ सालको रिट नं. २०६८
विषय : उत्प्रेषण् लगायत अन्य उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ ।
निवेदक :नुवाकोट जिल्ला विदूर गा.पं.वडा नं.२ बट्टार बस्ने रामजी श्रेष्ठ ।
विरुद्ध
विपक्षी :प्रमुख जिल्ला अधिकारी जिल्ला कार्यालय नुवाकोट ।
निवाकोट जिल्ला विदूर गा.पं.वडा नं.२ बट्टार बस्ने तोप नारायण श्रेष्ठ ।
आदेश भएको मिति:२०४२।८।२०।५ मा
प्रमुख जिल्ला अधिकारीले लेनदेन सम्बन्धी विषयको उजूरी लिई कारवाही गरेको काम कारवाही तथा रिट निवेदकबाट गराएको गैरकानुनी कागज समेत उत्प्रेषणको आदेशद्वारा बदर हुने।
(प्रकरण नं. १३)
निवेदक तर्फबाट: विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी
विपक्षी तर्फबाट : विद्वान सह–न्यायाधीवक्ता श्री प्रमोद विजयी
उल्लेखित मुद्दाःX
आदेश
न्या.धनेन्द्र बहादुर सिंहः जिल्ला कार्यालय नुवाकोटका प्र.जि.अ.ले गराएको मिति २०४१।१२।२१।४ को कागज समेतका काम कारवाही बदर गरिपाउँ भनी नेपालको संविधान, २०१९ को धारा ७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त विवरण यसप्रकार छ :
२. विपक्षी तोप नारायणले काठमाडौंबाट मिति २०४१।६।३ गते आफ्नो पसलमा पुराई दिन कपडा किनी पठाउनु भएकोमा उक्त कपडा ट्रकले मेरो पसलमा खसालेको भन्ने तथाकथित उजूरी दिई बिल अनुसारको रु. ६,२३९।१९ मबाट भराउन विपक्षी प्रमुख जिल्ला अधिकारीज्यू समक्ष उजूरी दिनु भएछ । विपक्षी प्र.जि.अ.ज्यूले क्षेत्राधिकार नाघी त्यस्तो निवेदन लिई मलाई पक्राउ गरी थुनुवा पुर्जी नदिई थुनामा समेत राख्नु भयो । म कहाँ विपक्षीको भारी गन्दा समेत मेरो ७ भारी बाहेक विपक्षीको भारी निस्केन । म कहाँ विपक्षीको भारी नखसालेको इन्कारी बयान गरेको थिएँ । त्यति गरेपछि पनि विपक्षीपट्टी लागी प्र.जि.अ.ले आफूलाई मन लागेअनुसार कागज गराई जबरजस्ती सही गराउनु भएको छ मलाई पछि सुनाइएन । केवल मौखिक रुपमा तिमीले तोपनारायणलाई रु. ६,२३९।१९ दिनुपर्छ भन्नु भएको छ अब पुनः २०४२।१।६ गते हाजिर हुन आउनु भन्ने तारिख तोकिएको छ । विपक्षी प्रमुख जिल्ला अधिकारीलाई त्यस्तो लेनदेन सम्बन्धी उजूरी लिई बिल अनुसारको रकम दिलाउने सम्बन्धमा कारवाही र किनारा गर्न, कागज गराउन तथा तारिखमा राख्न प्रचलित कानुनले अधिकार दिएको छैन । आफूलाई अधिकार नभएको विषयमा विपक्षी प्र.जि.अ.ज्यूले अधिकारक्षेत्र नाघी प्रचलित कानुन विरुद्ध उजूरी लिई कहिले थुना राख्ने तारिखमा राख्ने र ईच्छा विरुद्ध मलाई नदेखाई केवल रुपैयाँ बुझाउनु पर्छ भनी २०४१।१२।२१ मा जबरजस्ती कागज गराउनु भएकोबाट संविधानद्वारा प्रदत्त मौलिक हक हनन् भएकाले निवेदन गर्न आएको छु । विपक्षी प्रमुख जिल्ला अधिकारीज्यूले गराउनु भएको मिति २०४१।१२।२१।४ को कागज समेतका यावत काम कारवाही समेत उत्प्रेषणको आदेशद्वारा बदर गरिपाउँ र यो निवेदनको अन्तिम टुङ्गो नलागेसम्म विपक्षीले गराएको कागजबाट रुपैयाँ भरी भराउ गर्ने गराउने समेतको अनाधिकारपूर्ण कारवाही नगर्नु नगराउनु भन्ने विपक्षीका नाममा अन्तरिम आदेश समेत जारी गरिपाउँ भन्ने समेत रामजी श्रेष्ठको मिति २०४१।१२।२९ को रिट निवेदन जिकिर ।
३. विपक्षीहरूबाट लिखिन जवाफ मगाई पेशगर्नु भन्ने यसअदालत सिं.बे.को मिति २०४२।१।११ को आदेश ।
४. मेरो कपडा सम्बन्धमा जि.का.बाट कपडा अनलोड गर्ने कुल्ली समेतलाई बुझ्दा १ भारी बढी कपडा रामजी श्रेष्ठको घर पसलमा खसालेको हो भनी किटान साथ लेखी लेखाई दिएको छ र रामजी श्रेष्ठले कुल्ली ड्राइभर र म समेतका मानिसले कपडा हराएको हो भनी देउता भाकेमा बिल अनुसारको रकम दिन मन्जूर छ, भनी २०४१।१२।२१ मा कागज गरेको समेतबाट विपक्षी रामजी श्रेष्ठले मेरो रु. ६,२३९।१९ को कपडा जबरजस्ती राखेको भन्ने कुरा सिद्ध हुन आएको छ । हामीले दिएको निवेदनको कारवाहीमा जि.का.बाट विपक्षी रामजी श्रेष्ठलाई बोलाई हामीसँग जोडी वास्तविकता बुझी मेलमिलाप गराउने प्रयासबाट हामी दुवै थरलाई तारिखमा राखी कारवाही भई राखेको हुँदा रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत तोपनारायण श्रेष्ठको लिखिन जवाफ ।
५. काठमाडौंबाट खरीद गरी पठाएको १ भारी कपडा विपक्षी रामजी श्रेष्ठको पसलमा अनलोड गरेको थाहा हुन आएको र निजसँग कुरा गर्दा खसालेमा इन्कार गरी कपडा नदिने नियत गरेको हुँदा रु. ६,२३९।१९ बराबरको १ भारी कपडा दिलाई पाउँ भनी तोपनारायण श्रेष्ठ समेतको यस कार्यालयमा पर्न आएको निवेदनका सिलसिलामा निज रामजी श्रेष्ठलाई सोधपुछको लागि यस कार्यालयमा बोलाई छलफल गरिएको हो । वास्तविक अनुसन्धान कार्य बुझ्दै जाँदा निज रामजी श्रेष्ठको पसलमा तोपनारायणको कपडा खसालेको भन्ने कुरा बुझिन आएको र सो कपडाको कारणबाट बजारमा अशान्ति हुने स्थिति बुझी प्रशासनिक दृष्टिकोणबाट अशान्ति गर्नबाट रोक्न रामजी श्रेष्ठ, तोपनारायण र ड्रा.दिलबहादुर समेतका मानिसलाई तारिखमा राखी शान्ति कायम गरिँदै आएको हो । त्यस्तै सिलसिलामा २०४१।१२।२१ गते मेलमिलाप गराउने दृष्टिकोणबाट छलफल गर्दा रामजी श्रेष्ठले कपडाको पोको हराएको भन्ने सुनेको हुँ मैले लिएको होइन तर ड्राइभर कण्डक्टर कुल्ली र तोपनारायणले देवताको स्थानमा गई भाकेमा बिलमा उल्लिखित भएको रकम तिर्न बुझाउन मन्जूर छु भनी आफ्नो खुशीराजीसँग कागज गर्नु भएको यस कार्यालयबाट कुनै कुराको जबरजस्ती साथ कागज गराइएको छैन । जबरजस्ती कागज गराएको र थुनछेक समेत नगरेको हुँदा रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत प्रमुख जिल्ला अधिकारी जिल्ला कार्यालय नुवाकोटको मिति २०४२।३।२१ को लिखिन जवाफ ।
६. रिट निवेदक तर्फबाट रहनुभएका विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मीले आफ्नो क्षेत्राधिकार नै नभएको विषयमा विपक्षी तोपनारायण श्रेष्ठ समेतको उजूरी लिई रीट निवेदकलाई तारिखमा राखी मिति २०४१।१२।२१ मा निवेदकबाट जबरजस्ती कागज गराउने गरेको विपक्षी प्र.जि.अ.ज्यूको काम कारवाही क्षेत्राधिकार विहिन तथा गैरकानुनी हुँदा निवेदकबाट विपक्षी प्र.जि.अ.ले गराएको मिति २०४१।१२।२१ को कागज तथा तत्सम्बन्धी काम कारवाही उत्प्रेषणद्वारा बदर हुनुपर्छ भन्ने र प्रत्यर्थी कार्यालय तर्फबाट बहसमा उपस्थित हुनुभएका विद्वान का.मु.सह–न्यायाधीवक्ता श्री प्रमोद विजयीले जि.का.नुवाकोटबाट रिट निवेदकसँग जबरजस्तीपूर्वक कुनै कागज नगराइएको र शान्ति कायम राख्नसम्म तारिखमा राखी छलफल गराएको हुँदा रिट जारी हुनु पर्ने होइन रिट निवेदन खारिज हुनुपर्छ भन्ने समेत बहस प्रस्तुत गर्नु भयो ।
७. प्रस्तुत मुद्दामा रिट निवेदकको माग बमोजिमको आदेश जारी हुनु पर्ने वा नपर्ने के हो ? सो कुराको निर्णय दिनुपर्ने हुन आएको छ ।
८. यसमा निर्णयतर्फ हेर्दा आफूलाई अधिकारक्षेत्र नभएको रुपैयाँ दिलाउने सम्बन्धी लेनदेन विषयको उजूरी लिई तारिखमा समेत राखी विपक्षी तोपनारायण श्रेष्ठलाई बिल अनुसारको रु. ६,२३९।१९ बुझाउनु पर्छ भनी विपक्षी जिल्ला कार्यालय नुवाकोटका प्र.जि.अ.ज्यूले मबाट जबरजस्तीपूर्वक मिति २०४१।१२।२१ मा कागज गराएकाले उक्त कागज तथा तत्सम्बन्धी काम कारवाही बदर गरिपाउँ भन्ने रिट निवेदकको मुख्य जिकिर देखिन्छ ।
९. तोपनारायण समेतले दिएको निवेदनको सिलसिलामा बोलाई छलफल गरेको र रिट निवेदक समेतलाई शान्ति कायम राख्न तारिखमा राखेको हो २०४१ साल चैत्र २१ गते मेलमिलाप गराउने दृष्टिकोणबाट छलफल गर्दा विपक्षी रामजी श्रेष्ठले बिलमा उल्लिखित रकम तिर्न बुझाउन मन्जूर छु भनी आफ्नो खुशीराजीसँग कागज गर्नु भएको हो । यस कार्यालयबाट कुनै कुराको जबरजस्तीसाथ कागज गराएको छैन, भन्नेसमेत प्र.जि.अ.को लिखिन जवाफमा उल्लेख भएको पाइन्छ ।
१०. प्रत्यर्थी तर्फबाट बहसमा उपस्थित हुनुभएका सह–न्यायाधीवक्ताले बेञ्च समक्ष देखाइएको फाइल सामेल रहेको रिट निवेदकलाई गराएको भनेको कागजको प्रतिलिपि हेर्दा “लिखितम नु.जि.विदूर गा.पं. वडा नं. २ बट्टार बजार बस्ने रामजी श्रेष्ठ आगे ऐ.बस्ने तोपनारायण श्रेष्ठ समेतका मानिसहरूले मेरो नाममा दिनु भएको यस कार्यालयको द.नं. २५८१ मिति २०४१।६।११ को निवेदनको व्यहोरा पढी बाँची सुनिपाएँ निवेदनमा उल्लेख भएको निवेदनसाथ पेश हुन आएको २०४१।६।२ को प्रतिलिपि बिलमा उल्लेख भएको रु. ६,२३९।१९ को कपडा पोका एक १ हराएको भन्ने सुनेको हुँ सो कपडा मैले लिएको होइन तर पनि ड्राइभर कुल्लीहरू समेतले मैले लिएको हो भनी देउताको स्थानमा गई देवी देवता भाकेमा र साहू तोपनारायण श्रेष्ठले पनि मेरो कपडा हराएको हो भनी देवी भाकेमा बिलमा उल्लेख भएको रकम दिन र तिर्ने छु भनी मेरो मनोमान खुशीराजीसँग यो कागज लेखी जि.का.नुवाकोट मार्फत श्री ५ को सरकारमा चढाएँ” भन्ने व्यहोरा उल्लेख भई मिति २०४१।१२।२१ मा कागज भएको देखिन्छ ।
११. प्रत्यर्थी जिल्ला कार्यालयको लिखिन जवाफबाट प्रत्यर्थी मध्येका तोपनारायण श्रेष्ठ समेतको निवेदन लिई बिल अनुसारको रुपैयाँ निवेदकबाट दिलाउनेतर्फ कारवाही गरी रिट निवेदक समेतलाई तारिखमा राखेको कुरा समर्थित हुन आएको र प्रत्यर्थी कार्यालय तर्फबाट उपस्थित हुनुभएका सह–न्यायाधीवक्ताले बेञ्च समक्ष देखाइएको फाइल सामेल रहेको रिट निवेदकसँग गराएको मिति २०४१।१२।२१ को कागज प्रतिलिपिमा उल्लेख भएको व्यहोरा समेतबाट सो लिखत घरसारमा भएको नभई प्रत्यर्थी मध्येका तोपनारायण श्रेष्ठ समेतको जिल्ला कार्यालय नुवाकोटमा परेको निवेदन अनुसार रिट निवेदकलाई झिकाई निवेदन व्यहोरा समेत सुनाई जिल्ला कार्यालय नुवाकोटमै उक्त मिति २०४१।१२।२१ को कागज रिट निवेदकबाट गराएको भन्ने कुरा स्पष्ट हुन आएको छ ।
१२. त्यसरी लेनदेन सम्बन्धी विषयको उजूरी लिन र त्यस सम्बन्धमा कुनै कारवाही गर्ने तथा तारिखमा राखी कागज गराउने अधिकार प्रमुख जिल्ला अधिकारीलाई ऐनले प्रदान गरेको देखिँदैन । यसबाट प्रत्यर्थी मध्येका तोपनारायण श्रेष्ठ समेतको बिलअनुसारको रुपैयाँ दिलाई पाउँ भन्ने उजूरी लिई रिट निवेदक समेतलाई तारिखमा राखी आफूलाई अधिकारक्षेत्र नै नभएको लेनदेन सम्बन्धी विषयमा कारवाही गरी आफ्नो अधिकारक्षेत्र नाघि रिट निवेदकबाट मिति २०४१।१२।२१ मा कागज समेत गराएको काम कारवाही गैरकानुनी भई त्रुटिपूर्ण देखिन आयो ।
१३. अतः प्रत्यर्थी जिल्ला कार्यालय नुवाकोटका प्रमुख जिल्ला अधिकारीले प्रत्यर्थी तोपनारायण श्रेष्ठ समेतबाट लेनदेन सम्बन्धी विषयको उजूरी लिई कारवाही गरेको काम कारवाही तथा रिट निवेदकबाट गराएको मिति २०४१।१२।२१ गतेको उक्त गैरकानुनी कागज समेत उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ । जानकारीको लागि निर्णयको प्रतिलिपि प्रत्यर्थी जिल्ला कार्यालय नुवाकोटमा पठाउन महान्यायाधीवक्ताको कार्यालयमा पठाई फाइल नियम बमोजिम गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.जोगेन्द्रप्रसाद श्रीवास्तव
इतिसम्वत् २०४२ साल मंसीर २० गते रोज ५ शुभम् ।