निर्णय नं. २४७३ – गौचर
निर्णय नं. २४७३ ने.का.प. २०४२ अङ्क ९ फुल बेञ्च इजलाश माननीय न्यायाधीश श्री सुरेन्द्र प्रसाद सिंह माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा माननीय न्यायाधीश श्री...
निर्णय नं. २४७३ ने.का.प. २०४२ अङ्क ९
फुल बेञ्च
इजलाश
माननीय न्यायाधीश श्री सुरेन्द्र प्रसाद सिंह
माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा
माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी
सम्वत् २०४१ सालको दे.फु.नं.८६
मुद्दा : गौचर ।
पुनरावेदक/प्रतिवादी:बैतडी जिल्ला बराकोट गा.पं.वडा नं. ८ बुडडा गाउँ बस्ने रवी चन्द ।
विरुद्ध
विपक्षी/वादी:ऐ.ऐ.वडा नं. ७ तिर गाउँ बस्ने वीर सिङ बुडाल ।
फैसला भएको मिति:२०४२।८।२८।६ मा
शेषपछि निजका हकदार छोरा नातीको नाममा नामसारी भई तिरो भरो समेत गरी भोगी आएको र भूमि सुधार लागू हुँदाको बखतमा ७ नं.तथा ४ नं. फाराम समेत भरी आएको देखिन्छ । यस्तो अवस्थामा विवादित जग्गा वादी दावी बमोजिम गौचर राख्ने गरेको मिलेको देखिएन ।
(प्रकरण नं. १४)
पुनरावेदक, प्रतिवादी तर्फबाट:विद्वान अधिवक्ता श्री दमन ढुंगाना
विपक्षी, वादीतर्फबाट : विद्वान अधिवक्ता श्री लक्ष्मणमणी रिसाल
उल्लेखित मुद्दाःX
फैसला
न्या.सुरेन्द्र प्रसाद सिंहः डिभिजन बेञ्जका माननीय न्यायाधीशहरूको बीचमा राय बाझी भई सर्वोच्च अदालत नियमावली, २०२१ को नियम ३३(क) बमोजिम निर्णयार्थ यस बेञ्चमा पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यसप्रकार छ :
२. विपक्षीहरूको बुडा मौजाको र हाम्रा तिर मौजाको बीचमा बुड्डी जाने बाटोदेखि दक्षिण, मौरे बडारका खोलादेखि उत्तर, वनिखानदेखि पश्चिम, बुका गाडको दोभानदेखि पूर्वको बाजेमान सिं बुडालका नाउँमा ७३ सालमा भएको वनपालका सनदभित्रको जंगल छ, सो जंगलको चौतर्फी वंजड जग्गा छ । सो वंजड जग्गा परापूर्वदेखि दर्ता नगरी बस्तुभाउ रबर काट्ने स्याउला सोतर ल्याउने गौचर जग्गालाई बुड्डा मौजाका रोजी झुपरु बन्दले साविक दर्ता किल्लाभित्र घुसाई दर्ता गराएको, बुबा प्रतापले बैतडी नापी गोश्वारामा उजूर गर्दा राता माटो गेरी षन्यारी अमकोट समेत मध्ये म रोजा चन्दका नाउँमा दर्ता भएको पश्चिम भिर, पूर्व तेस्रो बाटो, दक्षिण बडीगडी बाटो, उत्तर खोलेसो साविक तिरो रु. क्।।। को १ कित्ता मध्ये आधि जग्गा म रोजीले आफ्ना चलनमा राखी आधि रु. १२।– को पश्चिम भीर, पूर्व पनढलको, दक्षिण बढी ठाडो बाटो, उत्तर तिमीप्रताप बढालको जंगलको खोलेको यति चारकिल्ला भित्रको राता माटो गैरी खन्यारी अमकोट मध्ये बीज माना ।।४ जाने म रोजी चन्दले र क्।।। को राता माटो गैरी खन्यारी अमकोट मध्ये म झुपरु चन्दका हाल सर्पट नापीमा दर्ता भएको पश्चिम भारीवार, पूर्व लाली चन्दको जग्गा, उत्तर ठाडो कनालो, दक्षिण खोलेसो यति ४ किल्ला भित्रको म झुपरु चन्दका नाउँमा दर्ता भएको मध्ये आधि जग्गा म झुपरु चन्दलाई राखी बाँकी रु. क् ।२ को पूर्व पनढलको कनालो, पश्चिम भारीवार, उत्तर ठाडो कनालो, दक्षिण खोलेसो यति ४ किल्ला भित्रको विज पाथी ।१।४ समेत गरी दर्ता मध्येका जग्गाको माथि लेखिए बमोजिम हामी रोजी झुपरु चन्दका नाउँमा दर्ता भएको जग्गा तिमी प्रताप बुढालको नाउँमा दर्ता सार्ने निज रोजी, झुपरु चन्दले ०९६ साल बैशाख २५ गते बुबा प्रताप बुढाललाई हकवाला गाउँले समेत साक्षी राखी कागज दिएको बस्तु खर काट्ने, गौचर पानी घाटको सन्धिसर्पन पर्ने सार्वजनिक जग्गा हो । यो साल पौष १ गते देखि विपक्षीहरूले ४ किल्लाभित्रको गौचर जग्गामा घर बनाउन जग समेत खनी खनजोत समेत गरी आवाद गर्न थालेकोले उक्त दुई ठाउँ गौचर कायम गरिपाउँ भन्ने समेत मिति ०३८।१।४ का वीरसिं बुडालको फिरादपत्र ।
३. वादीले फिरादको प्रकरण १ मा लेखेको ४ किल्लाभित्रको जग्गा ०९५ सालको सर्पट नापी हाम्रो बाजे झुपरु चन्दका नाउँमा दर्ता भएको कि.नं.६ र ८ को जग्गा हो । हाम्रो बाजेको नाममा दर्ता भएको उक्त २ कित्ता जग्गा हाम्रा नाउँमा ०३४।११।९ मा मरुवाको सरुवा दाखिल खारेज भई हामीहरूले आ–आफ्नो २ घरबारीले भोगी चर्ची आएको आवादी जग्गा हो । वनपाला सनदिया वन जंगल भए ०९५ सालमा उक्त कि.नं. ६ र ८ का जग्गा हाम्रो बाजे झुपरु चन्दको नाउँमा दर्ता हुनु नपर्ने र वन विभागले अद्यपीसम्म हामीहरूको घर बसोबास उठाई सो जग्गा बझाई दिएको हुनुपर्ने हो । अतः उक्त उल्लिखित कि.नं. ६ र ८ हामीलाई थामी झुठ्ठा फिराद दावीबाट फुर्सद पाउँ भन्ने मिति ०३८।३।२३ को यानी चन्द र रविचन्द समेतको संयुक्त प्रतिउत्तरपत्र ।
४. ०९६।१।२५ को लिखत कीर्ते हो । मेरो बाजे झुपरु चन्दले वादीका बाबुलाई सो लिखत गरिदिएको होइन । उक्त जग्गा गौचरमा राखेको भए जग्गा बाँझै हुनु पर्ने भन्ने प्रतिवादी रवीचन्दको मिति ०३८।४।२० को बयान ।
५. ०९६ सालको प्रतिवादीको बाजे समेतले मेरो बाबुलाई गरिदिएको लिखत सद्दे साँचो हो कीर्ते होइन । सो लिखत भई नापी आएकोबेलामा नामसारी गराइदिउँला भन्ने बोली परेकोले तिरो तिरेको होइन । दावीको हामीलाई दिएको जग्गा जति बाँझो छ भन्ने वादी वीर सिं बुडालको मिति ०३८।४।२० को बयान ।
६. १९९६।१।२५ को लिखतको किनारामा लागेको ल्याप्चेको सहिछाप मेरो हो । अघि प्रताप बुडालसँग यसै गौचर सम्बन्धमा झगडा पर्दा बैतडी नापी गोश्वारामा मुद्दा परी मेलमिलाप गर्ने भन्ने कुरा भए अनुसार झुपरु चन्द रोजी चन्दहरूले वादीका बाबुलाई उक्त जग्गा गौचर नै राख्ने भनी अड्डामा मिलापत्र र घरसारमा यो राजीनामा गरिदिएको हो भन्ने समेत लिखतका फड्के साक्षी बलीभद्र चन्दको मिति ०३८।५।१७।४ को बयान ।
७. अघि परेका मुद्दा, दुवै घरका साक्षीको बकाई भई आएको नक्शा प्रकृति समेतका प्रमाणबाट प्रतिवादीको बाजे दर्ताको झगडा परेको जग्गा आवाद नगरी गौचरमा उपभोग गरी आएको देखिँदा दर्ताको गौचर कायम हुनेठहर्छ भन्नेसमेत मिति ०३८।१२।१६।२ को बैतडी जिल्ला अदालतको फैसला ।
८. शुरु जिल्ला अदालतले दावीको जग्गा गौचर ठहराएको इन्साफ मनासिव ठहर्छ भन्ने मिति ०३९।।२९।३ को सुदूर पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला ।
९. सुदूरपश्चिमाञ्चल क्षेत्रीय अदालतबाट भएको उक्त फैसलामा चित्त नबुझेकोले पुनरावेदनको अनुमति पाउँ भनी प्रतिवादी रवी चन्दको यस सर्वोच्च अदालतमा निवेदन परेकोमा मु.बलिभद्र र प्रताप बुढाका बीच १९९६।१।२७ मा भएको मिलापत्रको कागज यो प्रतिवादीको विरुद्ध प्रमाण नलाग्ने सो लगाई प्रमाण ऐन, २०३१ को दफा ३ र ४ को त्रुटि भएकोले पुनरावेदनको अनुमति दिइएको छ भन्ने मिति ०४०।१०।१२।५ को यस अदालत डिभिजन बेञ्जको आदेश ।
१०. यसमा वादीका बाजेलाई प्रतिवादीका बाजेले गरिदिएको भनेको १९९६।१।२५ को घरसारको राजीनामा बमोजिम विवादित जग्गामा आधासम्म दाखिला दर्ता गरी सार्वजनिक रुपमा तिरो तिरान गरी गौचर मानेको तथ्ययुक्त सबूद प्रमाण वादीतर्फबाट पेश दाखिल हुन सकेको पनि पाइँदैन र १९९० सालदेखि बैतडी जिल्लामा अचल जग्गा राजीनामा लिनु दिनु गर्दा त्यस्तो हक छोडी गरिदिएको लिखित पारित हुनु पर्ने कानुनी बाध्यात्मक व्यवस्था भएको पाइन्छ। विवादित जग्गा १९९५ का सर्पट नापीमा प्रतिवादीका बाजे झुपरु चन्दका नाउँमा कि.नं. ६, ७ मा दर्ता भई निजको शेषपछि हकदार छोरा नाती प्रतिवादीले कानुन बमोजिम नामसारी गरी, लागेको तिरो समेत अवछिन्न रुपमा तिरी भूमि सुधारमा गर्नुपर्ने ७।४ नं.फाराम समेत भरी भोगी आएको प्रष्ट देखिन्छ । यस्तो स्थितिमा दर्तावालाको दर्ता म्याद भित्रको उजूरी तथा कुनै हक टुटाएको कानुनी मान्यता प्राप्त लिखत प्रमाणहरूको अभावमा वादी दावी बमोजिम सार्वजनिक गौचर राख्ने गरी गरेको शुरु बैतडी जिल्ला अदालतको इन्साफ सदर गरेको सुदूरपश्चिमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मिलेको देखिन आएन । सो फैसला पुनरावेदन जिकिर अनुसार बदर हुने ठहर्छ भन्ने डिभिजन बेञ्जका माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंहको राय ।
११. यसमा १९९६।१।२५ मा प्रतिवादीका बाजे समेतले वादीका बाजेलाई गरिदिएको लिखत अनुसार सार्वजनिक गौचरमा उपभोग गर्दैै आएको भन्ने वादी दावीमा प्रतिवादी जिकिर अनुसार पनि सो लिखत कायम देखिएको र सो दावीको जग्गा प्रतिवादीका बाजे जोगे चन्द झुपरु चन्दका नाउँमा १९९५ सालमा नापीमा कि.नं. ६।७ मा दर्ता गराएकोमा वादी तर्फबाट नापीमा उजूरी परी कारवाही भई सो झगडामा मिलापत्र गर्न दुवै थरको मन्जूर भई सो नापी गराए मध्ये दावीका जग्गाहरू वादी तर्फका प्रताप बुडालका नाममा दर्ता गरी गौचर कायम राख्ने व्यहोराको राजीनामा मिलापत्र कागज लेखी दिएको सो मिलापत्र बमोजिम बैतडी नापी गोश्वारामा झगडा परेका दुवै थरका बीचमा मिलापत्र समेत भएको पाइन्छ । यस्तो आफ्नै बाजेहरूले झगडामा वादीतर्फ दर्ता हुने र गौचर राख्ने गरी मिलापत्र गरी राखेको साथै नक्शा प्रकृतिबाट पनि पर्ति गौचर देखिई रहेको यस्तो जग्गालाई अहिले प्रतिवादीका बाजेहरू मरे पछि नामासारी गराउँदैमा भू.सु.मा फाराम भर्दैमा प्रतिवादीको हक भएको भन्न मिल्ने अवस्था देखिएन । यस्तो स्थितिमा नक्शा प्रकृति एवं अन्य उक्त उल्लिखित प्रमाण लिखत समेतका आधारमा शुरु बैतडी जिल्ला अदालतले गौचर ठहराएको इन्साफ सदर गरी सुदूरपश्चिमाञ्चल क्षेत्रीय अदालतले गरेको इन्साफ मनासिव ठहर्छ । सहयोगी माननीय न्यायाधीश श्री बब्बरप्रासद सिंहसँग राय नमिलेकोले नियम बमोजिम फुल बेञ्चमा पेश गर्नु भन्ने माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधानको राय भई डिभिजन बेञ्जबाट मिति ०४१।६।३।४ मा रायबाझी फैसला भएको रहेछ ।
१२. आज निर्णयार्थ यस बेञ्चमा पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीका तर्फबाट विद्वान अधिवक्ता श्री दमन ढुंगाना र विपक्षी वादीका तर्फबाट विद्वान अधिवक्ता श्री लक्ष्मण मणि रिसालले गर्नु भएको बहस समेत सुनियो ।
१३. आज निर्णय सुनाउने तारेख तोकिएको प्रस्तुत मुद्दामा निर्णयतर्फ हेर्दा झुपरु चन्दले १९९६।१।२५ गते बुबा प्रताप बुढाललाई हकवाला र गाउँले समेत साक्षी राखी कागज गरी दिएको गौचर जग्गामा घर बनाउन जग्गा समेत खनी खनजोत गरी गौचर आवाद गर्न थालेकोले खनेरी, आमकोट समेतको दुई कित्ता जग्गा गौचर कायम गरिपाउँ भन्ने समेत वादी दावी देखिन्छ।
१४. वादीले वादीका बाजेलाई प्रतिवादीका बाजेले १९९६।१।२५ मा गरिदिएको घरायसको राजीनामा बमोजिम विवादित जग्गा दर्ता गरी सार्वजनिक रुपमा तिरो तिरी गौचर कायम गरेको तथ्ययुक्त सबूद प्रमाण दाखिल गर्न सकेको देखिँदैन । १९९० साल देखि बैतडी जिल्लामा अचल जग्गाको हक हस्तारण गर्दा त्यस्तो लिखत रजिष्ट्रेशन पारित गर्नुु पर्ने व्यवस्था भएको देखिन्छ । तर माथि उल्लिखित १९९६।१।२५ को राजीनामा लिखत पारित भएको नदेखिएको समेत हुँदा उक्त कागज उपर भर गर्न मिल्ने पनि देखिएन । विवादको जग्गा १९९५ सालको सर्पट नापीमा प्रतिवादीका बाजे झुपरु चन्दका नाममा कि.नं. ६, ८ मा दर्ता भएको र निजको शेषपछि निजका हकदार छोरा नाती प्रतिवादीको नाममा नामसारी भई तिरो भरो समेत गरी भोगी आएको र भूमि सुधार लागू हुँदाको बखतमा ७ नं.तथा ४ नं.फाराम समेत भरी आएको देखिन्छ । यस्तो अवस्थामा विवादित खनेरी आमकोट समेतको दुई कित्ता जग्गा वादी दावी बमोजिम गौचर राख्ने गरेको शुरु इन्साफ सदर गरेको सुदूरपश्चिमाञ्चल क्षेत्रीय अदालतको निर्णय मिलेको देखिएन । उक्त इन्साफ उल्टी गरी वादी दावी नपुग्ने ठहराएको डिभिजन बेञ्जका माननीय न्यायाधीश श्री बब्बरप्रासद सिंहको राय मनासिव ठहर्छ । अरु तपसील बमोजिम गर्नु ।
तपसील
माथि इन्साफ खण्डमा वादी दावी नपुग्ने ठहरेकोले शुरु बैतडी जिल्ला अदालतको ०३८।९।१६।२ को फैसला तथा सुदूरपश्चिमाञ्चल क्षेत्रीय अदालतको ०३९।८।२९ को फैसला बमोजिमको लगत कायम राख्नु पर्दैन व्यहोरा जनाई लगत कट्टा गर्नु भनी शुरु बैतडी जिल्ला अदालतमा लेखी पठाउन का.जि.अ.त.मा लगत दिनु..१
शुरु बैतडी जिल्ला अदालतका फैसलाले प्रतिवादीबाट वादीलाई भराउने गरेको कोर्टफी रु ३५।– सुदूर पश्चिमाञ्चल क्षेत्रीय अदालतमा पुनरावेदन गर्दा धरौट राखेको देखिएकोले उक्त कोर्ट फी रकम फिर्ता माग्न आए फिर्ता दिनु भनी ऐ. मा लेखी पठाउन ऐ. ऐ.मा लगत दिनु……२
प्र.रवी चन्दले सुदूरपश्चिमाञ्चल क्षेत्रीय अदालतमा पुनरावेदन गर्दा राखेको कोर्ट फी रु. ३।– तथा सर्वोच्च अदालतमा पुनरावेदन गर्दा राखेको कोर्ट फी रु.१।५० समेत रु.४।५० वादीबाट भराई पाउँ भनी ऐनका म्यादभित्र प्र.रवी चन्दको दर्खास्त परे ऐनको रीत पुर्याई वादी वीर सिं बुढाबाट भराई दिनु भनी ऐ. ऐ. मा लेखी पठाउन ऐ. ऐ. मा लगत दिनु……………३
उक्त रायमा हामीहरूको सहमति छ ।
न्या.महेशरामभक्त माथेमा
न्या.हरिहरलाल राजभण्डारी
इतिसम्वत् २०४२ साल मार्ग २८ गते रोज ६ शुभम् ।