December 15, 1985
Created by nepalarchives

निर्णय नं. २४६६ – जग्गा खिचोला

निर्णय नं. २४६६     ने.का.प. २०४२      अङ्क ८   डिभिजन बेञ्ज इजलाश माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला सम्वत् २०४० सालको दे.पु.नं.५१३...

निर्णय नं. २४६६     ने.का.प. २०४२      अङ्क ८

 

डिभिजन बेञ्ज

इजलाश

माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह

माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला

सम्वत् २०४० सालको दे.पु.नं.५१३

मुद्दा : जग्गा खिचोला ।

 

पुनरावेदक/वादी:जि.महोत्तरी एकडारावेला गा.पं.वार्ड नं.१ बस्ने रामेश्वर मिश्रको मु.स.गर्ने लक्ष्मण मिश्र मैथिल ।

विरुद्ध

विपक्षी/प्रतिवादी:ऐ.ऐ. बस्ने रघुवीर ठाकुर मरी मु.स.गर्ने र आफ्ना हकमा समेत जदुवीर ठाकुर समेत ।

फैसला भएको मिति:२०४२।८।३० मा

     वादीबाट पेश भएको र प्रतिवादीले जिकिर लिएको प्रमाण निज प्रतिवादीले पेश गर्न नसकेको समेतबाट इन्साफ मनासिव हुने ।

(प्रकरण नं. १५)

पुनरावेदक,वादी तर्फबाटः विद्वान अधिवक्ता श्री राजाराम कर्माचार्य

विपक्षी,प्रतिवादी तर्फबाटःX

उल्लेखित मुद्दाःX

फैसला

न्या.बब्बरप्रसाद सिंहः     प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यसप्रकार छ ।

२.    महन्थको २ छोरा जदुवीरको पुस्तानी बसोबासको घडेरी जयदेव सो दक्षिण जदुनन्दनको दाज्यू शिवनन्दनको घर आँगन सो उत्तर रास्ता सो पश्चिम विकेश्वर राउत सो पूर्वको ऐलानी जग्गा विगहा ०५ उत्तर मुखको घडेरी समेत ३०९५ मा जदुनन्दनले मलाई मिति २०००।११।२५ मा राजीनामा गरिदिएको र दाखेल खारेज गरी भोगचलन गरी आएको जग्गा घरमा मिति २०२७।७।२२ गतेदेखि प्रतिवादीहरूले खिचोला गरेकोले खिचोला मेटाई चलन चलाई पाउँ भन्ने फिरादपत्र ।

३.    वादीले देखाएको चौहद्दी भित्रको घडेरी जग्गा जदुनन्दनको नभई शिवनन्दन सोनारको जग्गा भएको सो जग्गा मैले मिति २००२।१।५ मा शिवनन्दनसँग खरीद गरी लिएको जग्गा हो । मैले भोगचलन गरी आएको छु । वादीले जाल प्रपन्च गरी झुठ्ठा हद देखाई नालेश गरेको हो भन्ने समेत प्रत्युत्तर ।

४.    खाली ऐलानी जग्गालाई अ.बं.८२ नं.ले हद देखाई नालेश उजूर गर्न नपाउने हुँदा फिरादबाट नै यो मुद्दा खारेज हुने ठहर्छ भन्ने म.जि.अ.को फैसला ।

५.    खारेज गरेको चित्त बुझेन भन्ने ज.पु.अं.अ.मा पुनरावेदन ।

६.    ऐलानी जग्गा हक नपुग्ने भन्ने शुरुको खारेजी फैसला बदर हुन्छ । पुनः सबूद प्रमाण बुझि इन्साफ तहकिकात गर्नु भन्ने समेत ज.पु.अं.अ.को ०३३।७।२९ को फैसला ।

७.    भई आएको नक्शा समेतबाट वादी दावी बमोजिम वादीको जग्गामा प्रतिवादीहरूले खिचोला गरेको ठहर्छ भन्ने शुरु म.जि.अ.को ०३५।६।३ को फैसला ।

८.    प्र.चन्द्रशेखर ठाकुरको ज.पु.अं.अ.मा पुनरावेदन ।

९.    यसमा वादीले आफ्नो फिराद दावामै जनार्दन र रघुवीर समेतको जग्गा खिचोला मुद्दामा ०३५।८।५ गते अदालतबाट नक्शा हुँदा यो प्र.पुनरावेदकले मेरो भनी लेखाई जग्गा खिचोला गरेका भनेका । सो जग्गामा मेरो भनी लेखाएको मिति ०२५।८।५ बाट २ वर्ष भित्र वादीको उजूरी नभई सो मितिले फिराद दर्ता भएको मिति ०२७।८।१५ ले १० दिन म्याद नाघेपछि मात्र फिराद दायर हुन आएको देखिएकोले समेत वादी दावी खारेज हुने ठहर्छ भन्ने ज.पु.अं.अ.को ०३८।५।२८ को फैसला ।

१०.    सो फैसलामा चित्त नबुझेकोले पुनरावेदन गर्ने अनुमति पाउँ भनी वादीले निवेदन दिएकोमा मध्यमाञ्चल क्षेत्रीय अ.बाट पुनरावेदन गर्न अनुमति प्रदान भएको ।

११.    प्रतिवादीले खिचोला गरेको मिति ०२५।८।५ बाट २ वर्ष भित्र फिराद नगरी २०२७।८।१५ मा दर्ता गरेको देखिनाले म्याद नाघेपछि दर्ता गरेको फिराद दायर हुन नसक्ने हुनाले वादी दावा खारेज गर्ने गरेको ज.पु.अं.अ.को इन्साफ मनासिव ठहर्छ भन्ने समेत मध्यमाञ्चल क्षेत्रीय अदालतको मिति २०४०।२।२३।२ को फैसला ।

१२.   मध्यमाञ्चल क्षेत्रीय अदालतको उक्त फैसलामा सार्वजनिक महत्वको विषयमा प्रत्यक्षतः विवाद रहित त्रुटि भएको हुँदा पुनरावेदनको अनुमति पाउँ भनी वादी लक्ष्मण मिश्र मैथिलबाहुनको यस अदालतमा ०४०।३।२६ मा निवेदन ।

१३.   यसमा प्रतिवादीले खिचोला गरेको भनी फिरादमा उल्लेख गरेको मिति ०२७।७।२२ रहेको देखिन्छ । प्रतिवादीले आफ्नो हकमा देखाई प्रतिउत्तर दिएकोमा ०२५।८।५ को नक्सामा नै मेरो हकको जग्गा देखाइएको भन्ने जिकिर लिएको देखिँदैन तसर्थ उक्त मितिलाई खिचोला गरेको मिति कायम गरी मध्यमाञ्चल क्षेत्रीय अदालतले फैसला गरेको ज.मि.को १८ नं.को त्रुटि हुँदा पुनरावेदन गर्ने अनुमति दिएको छ भन्ने सर्वोच्च अदालत डिभिजन बेञ्जको ०४०।९।२८ को आदेश ।

१४.   नियमानुसार दैनिक पेशी सूचीमा चढी  पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदकको वारेस यमबहादुर महतलाई रोहवरमा राखि पु.वे.तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री राजाराम कर्माचार्यले गर्नु भएको बहस जिकिर समेत सुनियो । मुख्यतः यसमा मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मिले नमिलेको के रहेछ सोतर्फ नै निर्णय दिनु पर्ने हुन आयो ।

१५.   यसमा प्रमाणमा लगाएको वादी जनार्दन पाठक प्रतिवादी जदुवीर ठाकुर भएको जग्गा मुद्दामा प्रस्तुत मुद्दाको वादी रामेश्वर मिश्र पक्ष विपक्षी नभएको र प्रस्तुत मुद्दाको विवादको जग्गा उक्त मुद्दामा विवादमा रहेको पनि देखिँदैन विवादको जग्गाको दर्ता तिरो भोग समेतको प्रमाण वादीबाट पेश भएको र प्रतिवादीले जिकिर लिएको प्रमाण निज प्रतिवादीले पेश गर्न नसकेको समेतबाट इन्साफ शुरु जि.अ.को मनासिव हुँदा मध्यमाञ्चल क्षेत्रीय अदालतलको इन्साफ उल्टी हुने ठहर्छ । तपसीलका कुरामा तपसील बमोजिम गर्नु ।

तपसील

माथि इन्साफ खण्डबाट इन्साफ शुरुको सदर भई मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ उल्टी हुने ठहरेकोले मध्यमाञ्चल क्षेत्रीय अदालतको लगत कायम गर्न परेन….१

वादीले पुनरावेदन गर्दा यस अदालतमा राखेको कोर्टफी रु.१।५० प्रतिवादीबाट भराइ पाउँ भनी वादीको दर्खास्त पर्न आए ऐन बमोजिम भराइ दिनु भनी शुरुमा लेखी पठाउन का.जि.अ.त.मा लगत दिनु..१

इन्साफ उल्टीमा मध्यमाञ्चल क्षेत्रीय अ.का तत्कालिन माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी र माननीय न्यायाधीश श्री झुलेन्द्रप्रसाद छतकुलीको रेकर्ड राख्नु.१ नियम बमोजिम गरी फाइल बुझाई दिनु………………………………………………………….१

 

उक्त रायमा म सहमत छु ।

 

न्या.गजेन्द्रकेशरी बास्तोला

 

इतिसम्वत् २०४२ साल मार्ग ३० गते रोज शुभम् ।