December 3, 1985
Created by nepalarchives

निर्णय नं. २४४५ – जग्गा दर्ता बदर

निर्णय नं. २४४५    ने.का.प. २०४२      अङ्क ८   फुल बेञ्च इजलाश सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान माननीय न्यायाधीश...

निर्णय नं. २४४५    ने.का.प. २०४२      अङ्क ८

 

फुल बेञ्च

इजलाश

सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री

माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान

माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा

सम्वत् २०४१ सालको दे.फु.नं. ६७

विषय : जग्गा दर्ता बदर ।

 

निवेदक/वादी:जिल्ला बाँके तप्पे कारकादो मौजे बंधुसा बस्ने घसिटे खाँ समेत ।

विरुद्ध

विपक्षी/प्रतिवादी:ऐ.ऐ.रामनगर गा.पं.वा.नं.७ सहजना भन्ने नोरि बस्ने मोहन कुर्मीको मु.स.गर्ने  रामसुख वर्मा समेत ।

फैसला भएको मिति:२०४२।८।१८।३ मा

     विवादको जग्गा वादीहरूको भए नापीकै समयमा झगडा जनाउनु पर्ने विन्तिपत्रमा लेखिएको पटवारीले दिएको भनेको एकहरफी खेस्राको हकमा वादीले शुरु फिरादसाथ त्यस्तो कुनै प्रमाण पेश गर्न नसकेको र पटवारीले दिने कागज मुद्दा परेपछि पनि तयार हुनसक्ने हुँदा अ.बं. ७७ नं.ले समेत उक्त लिखत प्रमाणमा लिन सकिने स्थिति नदेखिने ।

 (प्रकरण नं. १४)

निवेदक तर्फबाट:विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारी

विपक्षी प्रतिवादीहरू तर्फबाट:विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवाली

उल्लेखित मुद्दाX

फैसला

प्र.न्या.नयन बहादुर खत्रीः सर्वोच्च अदालत डिभिजन बेञ्जको निर्णय उपर निवेदकको श्री ५ महाराजाधिराजका जुनाफमा विन्तिपत्र पर्दा व्यहोरा साँचो भए त्यस अदालतबाट छिनिएको यसमा लेखिएको जग्गा दर्ता बदर मुद्दाको मिसिल झिकी फुल बेञ्चबाट दोहर्‍याई हेरी कानुन बमोजिम गर्नु भन्ने समेत मौसूफको विशेष जाहेरी विभाग मार्फत बक्स भई आएको प्रमाङ्गी बमोजिम फुल बेञ्चको लगतमा दर्ता भई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न बमोजिम छ ।

२.    बाँके तप्पे दौनिहार मौजे मोफतपुरका साविक कि.नं. २९, ६६, ६८, ७४, ८२, ९१ को जग्गा सर्भे नापी हुँदा कि.नं. १४४, २०१ को जग्गा बाहेक अरु जग्गा विपक्षीको नाउँमा नापी भएको प्रमाण पूर्जा पाएको ०३५।९।७ ले ४५ दिनभित्र ०२५।१०।२७ मा उजूरी दिँदा अदालतमा जानु भनी भू.प्र.का.बाँकेले ०२७।११।२ मा सुनाई नालेश दिएकोमा साविकले दर्ता गराएको यो नम्बरको यति जग्गा मध्ये यति जग्गा हाल नापीमा यति नम्बरमा यो प्रतिवादीले दर्ता गराएको बदर होस् भन्ने दावा दिएमा कानुन बमोजिम हुने भनी ०२९।९।१५ गते यस अदालतबाट दावा खारेज भएको हुँदा साविक कि.नं. २९ को ज.वि. ०१७ प्र.सीता कोरीले कि.नं. १८९ मा साविक ६६ को ज.वि. ०१५ मध्ये मोहनले कि.नं. १९० मा ०४ लोटनले कि.नं. १९४ मा ०११ साविक कि.नं. ६८ को ज.वि. ०१४० मध्ये मोहनले कि.नं. २०४ मा ०१४ राम मिलनले कि.नं. २०५ मा ०२ लोटनले कि.नं. १९७ मा  ०९ कि.नं. १९४ मा ०१० साविक कि.नं. ७४ को ०११ परमेश्वरले कि.नं. १४३ मा.साविक कि.नं. ८२ को ज.वि. २१६ मध्ये सोही प्रसादीका नाउँमा कि.नं. १४४ मा र समदका नाउँमा कि.नं. २०१ दर्ता गरिदिएको बाहेक मुमताजले कि.नं. १९९ मा ०१८१०।। मोहनले कि.नं. २०२ मा ०१७ लोटनले कि.नं. २०० मा ज.वि. ०० र साविक कि.नं. ९१ को ज.वि. ०१९१० प्र.मुमताजले हालको कि.नं. १२३ मा समेत नापी दर्ता गराएको बदर गरी हक नपुग्ने जग्गा दर्ता गराएमा सजायँ गरिपाउँ भन्ने समेत ०२९।१०।१९ को फिरादपत्र ।

३.    बाजे करिमका नाउँमा जग्गा विगहा ५।। भोगचलन गरी आएको हाल सर्भेमा ५।। को दर्ता पूर्जा पाएको हुँ दावी झुठ्ठा हो भन्ने मुमताज साई, बाबु बालक दर्ताको जग्गा २० भोग गरी आई सर्भेमा २९ भएको छ भन्ने परमेश्वर, हामी दाजुभाइ हौं बाबुका जग्गा २१५४ म राममिलनको र जसोदाबाट लिएको जग्गा ११८१५ म मोहनले दर्ता गराई भोगी आएको सर्भेमा राममिलनका २५।। म मोहनले ११७७।। दर्ता हुन आई जग्गा घटेको छ भन्ने प्र.राममिलन र मोहन समेत २ जना, बाबु ओरी कौपाला ३१७११ जग्गा भएकोले सर्भेमा ४१ भई ०११७ बढेको छ भन्ने प्र.लोटन र बाबुप्रसादीको दर्ताको ३१३१९ हाल नापीमा २१२१०।। हुन आई ११२८।। घटेको छ भन्ने प्र.सीताकोरी समेतको प्रतिउत्तर ।

४.    हाम्रो जग्गा प्रतिवादीहरूले दर्ता गराएको बदर गरिपाउँ भनी वादी समद खाँ घसीटे खाँ सूर्जा कहानीले प्रतिवादी मुमताज साई समेत उपर झुठ्ठा उजूर गरेको ठहर्छ भन्ने समेत बाँके जिल्ला अदालतको फैसला ।

५.    सो फैसलामा चित्त बुझेन सो फैसला बदर गरी फिराद दावी बमोजिम इन्साफ गरिपाउँ भन्ने समेत वादीहरूको पुनरावेदनपत्र ।

      ६.    साविक कि.नं. २९ को हाल कि.नं. १८९ को पश्चिमतर्फ ०१७, साविक कि.नं. ६६ को हाल कि.नं. १९०, १९४ साविक किनं. ६८ को हाल कि.नं. १९७, २०४, २०५ साविक कि.नं. ७४ को कि.नं. १४३ को पूर्वतर्फ ०११, साविक कि.नं. ८२ हाल कि.नं. १९९, २००, २०२ र साविक कि.नं. ९१ को हाल कि.नं. १२३ को जग्गा वादीहरूका नाउँमा कायम हुन आएकोले उक्त जग्गाहरू प्रतिवादीहरूका नाउँमा बदर गरी वादीहरूको नाउँमा दर्ता हुने ठहर्छ भन्ने समेत भेरी अञ्चल अदालतको फैसला ।

७.    सो फैसला उपर पुनरावेदनको अनुमति पाउँ भन्ने प्रतिवादीहरूको निवेदन परेकोमा ज.मि.का. १८ नं.को म्याद २ वर्ष नाघेको उजूरीबाट मुद्दाको तथ्यमा प्रवेश गरी हारजीतको निर्णय गरेको शुरु बाँके जि.अ.र भेरी अं.अ.को फैसला कानुनी त्रुटि हुँदा पुनरावेदनको अनुमति दिइएको छ भन्ने समेत सुदूरपश्चिमाञ्चल क्षेत्रीय अदालतको आदेश ।

८.    ज.मि.को १ नं.को म्याद नाघी दायर हुन आएको फिराद खारेज हुनेमा ठहर निर्णय गरेको कारवाई शुरु र अञ्चल अदालतको फैसला बदर भई वादीको शुरु फिराद नै खारेज हुने ठहर्छ भन्ने समेत ०३५।८।३० को सुदूर पश्मिाञ्चल क्षेत्रीय अदालतको फैसला ।

९.    जिरायत जग्गाको हकमा हदम्याद सम्बन्धी प्रश्न उठेमा ज.मि.को १८ नं.को २ वर्षको हदम्याद लाग्न सक्ने देखिएन । वादीको फिराद खारेज गर्ने गरेको सुदूरपश्चिमाञ्चल क्षेत्रीय अदालतको निर्णय मिलेको देखिएन, बदर हुन्छ । कानुन बमोजिम निर्णय गर्न पठाउने भन्ने समेत सर्वोच्च अदालतको ०३७।९।२५ को फैसला ।

१०.    भेरी अञ्चल अदालतको फैसलामा परिवर्तन गर्न नपरी मनासिव ठहर्छ भन्ने समेत सुदूरपश्चिमाञ्चल  क्षेत्रीय अदालतको ०३८।७।३ को फैसला ।

११.    सो फैसलामा कानुनी त्रुटि हुँदा पुनरावेदनको अनुमति पाउँ भन्ने प्रतिवादीहरूको निवेदन परेकोमा वादीहरूले हुलाकद्वारा पठाएको छाप दस्तखत नभएको कागजलाई प्रमाण लगाएको देखिएकोले प्रमाणको मुल्यांकन सम्बन्धी विषयमा सुदूर पश्चिमान्चल क्षेत्रिय अदालतको फैसलामा प्रत्यक्ष कानुनी टुटी भएकोले पुनरावेदनको अनुमति दिइएको छ भन्ने समेत सर्वोच्च अदालत डिभिजन बेञ्जको ०३८।८।१८ को आदेश ।

१२.   निर्णयार्थ डिभिजन बेञ्ज समक्ष पेश हुँदा प्रतिवादीहरूले विवादको कि.नं. २९, ६६, ६८, ७४, ८२ र ९१ को जग्गा दर्ता गराएको हो भन्ने कुनै तथ्ययुक्त प्रमाण वादीले दिनसकेको पाइएन । वादीले प्रमाण निमित्त हुलाकद्वारा पठाएको अठसठ्ठाको नक्कलमा अड्डाको छाप दस्तखत भएको भन्ने नदेखिएकोले सो अठसठ्ठाको नक्कलाई प्रमाणमा लिन मिल्ने देखिँदैन । यस्तो अवस्थामा वादी दावी बमोजिम प्रतिवादीहरूले दर्ता गराएको कित्ताहरू वादीकै हो भनी ठहराउन सबूद प्रमाणको अभावमा मिल्ने नदेखिँदा वादीहरूले प्रतिवादीहरू उपर झुठ्ठा उजूर गरेको ठहराई छिनेको शुरु बाँके जिल्ला अदालतको इन्साफ मनासिव ठहर्छ भन्ने समेत डिभिजन बेञ्जको फैसला ।

१३.   निवेदक तर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारीले वासुदेव धनेश्वरबाट विभिन्न व्यक्तिहरू हुँदै वाजिद अली साइबाट मेरो पक्षले जिमिदारी लिलाम सकार गरेको र जग्गामा समेत मेरो पक्षको नै भोग भएको हुँदा वादी दावी नपुग्ने ठहर्‍याएको डिभिजन बेञ्जको इन्साफ मिलेको छैन भन्ने समेत बहस गर्नु भयो । विपक्षी प्रतिवादीहरूको तर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवालीले भु.सु.कार्यालयले नालिश दिन जानु भनी सुनाएपछि यिनै वादीको जिल्ला अदातलमा फिराद परेकोमा अदालतबाट फिराद खारेज भएकोले सोही विषयमा पुनः नालिश लाग्न सक्दैन । नापीमा उपस्थित भएर विपक्षीले आफ्नो जग्गा नापी गराएको र झगडा जनाउन समेत नसकेको हुँदा वादी दावी नपुग्ने ठहराएको डिभिजन बेञ्जको इन्साफ सदर हुनुपर्छ भन्ने समेत बहस गर्नु भयो ।

१४.   आज निर्णय सुनाउने तारिख तोकिएको प्रस्तुत मुद्दामा निर्णयतर्फ हेर्दा बन्कट्टी पञ्चायत वडा नं. १(ङ) भोपतपुरमा ६७ सालको नापीमा जि.वासुदेव धनेश्वरका नाउँमा नापी दर्ता भएको साविक कि.नं. २९, ६६, ६८, ७४, २ र ९१ को जग्गा २०२४ सालको सर्भे नापीमा विपक्षीहरूले विभिन्न कित्तामा गराएको दर्ता बदर गरी विपक्षीहरूलाई सजायँ समेत गरिपाउँ भन्ने वादी दावी देखिन्छ । प्रतिवादीले दर्ता गराएको जग्गाहरू साविकमा उक्त कि.नं. २९, ६६, , ७४, ८२ र ९१ को नै हो भन्ने कुनै तथ्ययुक्त प्रमाण वादीतर्फबाट पेश हुन सकेको देखिएन । वादी दावीका उक्त जग्गाहरूको किल्ला समेत खुलेको दर्ता उतार झिकाउन डिभिजन बेञ्जबाट ०३९।११।२६ मा आदेश भई गएकोमा साविक कि.नं.को जग्गा हाल यो यो कि.नं.मा दर्ता छ भन्ने नदेखिने, उक्त भोपतपुर मौजाको अठसठ्ठा खोजतलास गर्दा यस कार्यालयमा नभएको भन्ने जवाफ मालपोत कार्यालय, बाँकेबाट ०४०।१।११ मा लेखिआएको देखिन्छ । वादीहरूले दावी गरेको भोपतपुर मौजाको साविक अठसठ्ठा शुरु जिल्ला अदालतले मगाउँदा पनि फेला नपरेको भन्ने भूमिप्रशासन कार्यालय, बाँकेको ०३१।१२।२७ को पत्रबाट देखिन्छ । विवादित जग्गा आफ्नो नाउँमा दर्ता गराई भोगचलन गरी आएको समर्थित हुने कुनै सबूद प्रमाण वादीबाट आउन नसकेको र विवादको जग्गा वादीहरूको भए नापीकै समयमा झगडा जनाउनु पर्ने सो केही गर्न सकेको पनि देखिँदैन । विन्तीपत्रमा लेखिएको पटवारीले दिएका भनेको एकहरफी खेश्राको हकमा वादीले शुरु फिरादसाथ त्यस्तो कुनै प्रमाण पेश गर्न नसकेको र पटवारीले दिने कागज मुद्दा परेपछि पनि तयार हुनसक्ने हुँदा अ.बं. ७७ नं.ले समेत उक्त लिखत प्रमाणमा लिन सकिने स्थिति     देखिएन ।

१५.   अतः विवादित जग्गा वादीको हो भन्ने कुरा तथ्ययुक्त रुपमा प्रमाणित हुन नसकेको हुँदा वादी दावी नपुग्ने ठहराएको डिभिजन बेञ्जको ०४०।८।२६ को इन्साफ मनासिव ठहर्छ कोर्टफी राखेको हुँदा केही गरी रहनु परेन, मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।

 

उक्त रायमा हामीहरूको सहमति छ ।

 

न्या.हरगोविन्द सिंह प्रधान

न्या.महेशरामभक्त माथेमा

 

इतिसम्वत् २०४२ साल मार्ग १८ गते रोज ३ शुभम् ।