September 29, 1985
Created by nepalarchives

निर्णय नं. २४३४ – ज्यान

निर्णय नं. २४३४    ने.का.प. २०४२      अङ्क ७   डिभिजन बेञ्ज इजलाश माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी सम्वत् २०४१ सालको...

निर्णय नं. २४३४    ने.का.प. २०४२      अङ्क ७

 

डिभिजन बेञ्ज

इजलाश

माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह

माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी

सम्वत् २०४१ सालको फौ.पु.नं. ४८२

सम्वत् २०४२ सालको फौ.सा.नं. ९०

मुद्दा : ज्यान ।

 

पुनरावेदक/प्रतिवादी:जिल्ला वारा फत्तेपुर डुमरवाना गा.पं.वार्ड नं. ५ घर भई हाल वीरगञ्ज कारागार पर्सामा बन्दी रहेको नेमानी खा चौधरी थारु  ।

विरुद्ध

विपक्षी/वादी:पतसिया थरुनीको जाहेरीले श्री ५ सरकार  ।

फैसला भएको मिति:२०४२।६।१३।१ मा

     कर्तव्य गरी मारेको हुँदा ज्यानसम्बन्धीको १३(३) नं. बमोजिम सजायँ गर्ने गरेको फैसला मनासिव ठहर्ने ।

(प्रकरण नं. १३)

पुनरावेदक, प्रतिवादी तर्फबाट: विद्वान अधिवक्ता श्री सुनील अधिकारी

विपक्षी,वादी तर्फबाटःX

उल्लेखित मुद्दाःX

फैसला

न्या.पृथ्वी बहादुर सिंह:.    मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर प्रतिवादीको पुनरावेदन परी र साधक जाँचको लागि समेत पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य यसप्रकार रहेछ।

२.    २०३७।१०।१ गते राती घरदेखि अं. १०० गज पर खरिहानमा पति रामपत खां थारु सुतेका थिए । करीब १ बजे सौतेनी छोरा नेमानी खां थारुले रक्सी खाई पतिसँग झगडा गरी कुटपीट गरेको सुनी गाउँले सहित हेर्न जाँदा घाँटीमा रेटी घाइते अवस्थामा रहेछन् र घर ल्याएको २।३ घण्टापछि पतिको मृत्यु भएकोले कारवाही गरिपाउँ भन्ने समेत जाहेरी दर्खास्त ।

३.    घाँटीनिरको रुद्रघण्टी संगै १  इञ्च दुई ठाउँमा काटिएको भन्ने समेत लाश प्रकृति मुचुल्का ।

४.    सो दिन माघे संक्रान्ति हुँदा मासु खान बाबुले पैसा माग्दा आमाले नदिंदा यसैले गर्दा हो भनी रक्सी खाएर आई मलाई गाली गर्न थाले मैले पनि रक्सी खाएको थिएँ । बाबु सुतेको ठाउँमा गई किन गाली गरेको भन्दा झन् गाली दिन लागेकोले रीस उठी नजिकैको गडासाले बाबु रामपतलाई घाँटीमा दुइचोटि हानें । बाबु छट्पटाउन लागेकोले व्यर्थै बाबुलाई काटें भनी सोही गडासाले आफ्नो घाँटी समेत रेटी सेरीन थाल्दा दुखेकोले गडासा फाली परालमा लुक्न गएँ भन्ने समेत नेमानी खां चौधरीले प्रहरीमा गरेको बयान ।

५.    मृतक रामपत चौधरीलाई प्र.नेमानी खां चौधरीले कर्तव्य गरी मारेको देखिन आएकोले ज्यानसम्बन्धीको १३(३) नं.बमोजिम सजायँको मागदावी भएको प्रहरी प्रतिवेदन ।

६.    २०३७ साल माघ १ गते मासु खान बाबुले पैसा माग्दा आमाले नदिएकोले रक्सी खाएर आई तैंले पैसा दिन किन रोकिस् भनी भन्दा मैले पनि रक्सी खाएकोले र बेकसूरमा बाबुले गाली गरेको रीस उठी मारपीट भई भूइँमा लगाई घरबाट गडासा लगी बाबु मरेको होला भनी सोही गडासाले आफ्नो घाँटी रेटी दुखेकोले पसलमा गई लुकेकोमा प्रहरीले पक्राउ गरेको हो भन्ने समेत नेमानी खां चौधरी थारुले अदालतमा गरेको बयान ।

७.    प्र.नेमानी खां चौधरी थारुले मृतक रामपतलाई मारेको देखिएकोले ज्यानसम्बन्धीको १४ नं.बमोजिम १० वर्ष कैद हुने ठहर्छ भन्ने समेत वारा जि.अ.को फैसला ।

८.    उक्त फैसला उपर वादी प्रतिवादी दुवै पक्षको पुनरावेदन परेको रहेछ ।

९.    गडासा जस्तो जोखिमी हतियार प्रयोग गरी रामपतलाई मारेको देखिँदा प्र.नेमानी खां चौधरी थारुलाई ज्यानसम्बन्धीको १३(३) नं.अनुसार सर्वस्वसहित जन्मकैद हुने ठहर्छ भन्ने समेत मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला ।

१०.    उक्त फैसलामा चित्त बुझेन भन्नेसमेत प्र.नेमानी खां चौधरी थारुको यस अदालतमा परेको पुनरावेदन ।

११.    पुनरावेदक प्रतिवादी नेमानी खांको तर्फबाट रहनुभएका विद्वान् अधिवक्ता श्री सुनिल अधिकारीले मेरो पक्षले अपराध गरेको भनी संकारहित रुपमा प्रमाणित हुने ठोस सबूद प्रमाणको अभाव छ । तसर्थ यस्तो अवस्थामा मेरो पक्षले सफाई पाउनु पर्दछ भन्ने समेत बहस प्रस्तुत गर्नुभयो ।

१२.   प्रस्तुत मुद्दामा मध्यमाञ्चल क्षेत्रीय अदालतको निर्णय मनासिव वा बेमनासिव के रहेछ सो कुरामा निर्णय दिनु परेको छ ।

१३.   निर्णयतर्फ बिचार गर्दा यसमा मृतक रामपतलाई गडासाले घाँटीमा रेटी मर्ने अवस्था भएपछि बाबुलाई मारें, म पनि बाँच्नु धिक्कार छ भनी आफ्नु घाँटीमा गडासाले रेटेको भनी प्रतिवादी नेमानी खां चौधरी थारु आरोपित कसूरमा सावित भई प्रहरीमा बयान गरेको पाइन्छ । अदालतमा बयान गर्दा गडासाले काटेको भनी नभने पनि झैझगडा मारपीट भई बाबु राम  पतलाई लडाई बाबु मर्‍यो होला भन्ने ठानी गडासाले घाँटीमा रेटेको भनी बयान गरेको देखिन्छ । यसरी प्रतिवादी नेमानीले प्रहरीमा गरेको साविति बयानलाई अदालतमा बयान गर्दा खण्डन गर्न नसकी सोही साविती बयानलाई समर्थन गरी बयान गरेको पाइन्छ । लाश जाँच प्रतिवेदन र लाश प्रकृति मुचुल्काबाट मृतकको घाँटीमा काटेको र स्वास नलीमा चोट लागी मृत्यु भएको भन्ने देखिन आएबाट प्रतिवादीको प्रहरीमा भएको सावितिलाई समर्थन मिलेको छ । जाहेरवाला मृतककी पत्नी पतसिया थरुनीले मौकामा प्र.नेमानीले आरोपित कसूर गरेको भनी किटानी जाहेरी दिएको देखिन्छ । पछि अदालतमा बकपत्र गर्दा प्र.नेमानीले रामपतलाई मारेको होइन भनी भनेको भए तापनि किन जाहेरीमा किटानी पोल गर्नु परेको हो उल्लेख गर्न सकेको देखिँदैन यस्तो अवस्थामा मौकाको जाहेरीलाई अन्यथा भन्न मिल्ने देखिँदैन । तसर्थ मृतक रामपतलाई निजको छोरा प्रतिवादी नेमानी खां चौधरी थारुले कर्तव्य गरी मारेको सिद्ध हुन आउँछ। अब सजाँयको हकमा गडासा जस्तो जोखिमी हतियारको चोटबाट मृतक रामपतलाई मारेको देखिएकोले ज्यानसम्बन्धीको १४ नं.आकर्षित हुनसक्ने नदेखिँदा ऐ.को १३(३) नं.नै आकर्षित हुने देखिन्छ । तसर्थ प्रतिवादी नेमानी खां चौधरी थारुले मृतक रामपतलाई कर्तव्य गरी मारेको हुँदा निजलाई ज्यानसम्बन्धिको १३(३) नं.बमोजिम सजायँ गर्ने गरेको मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला मनासिव ठहर्छ । मिसिल नियमानुसार बुझाई दिनु । पुनरावेदन तहबाट निर्णय भएको हुँदा साधकको लगत कट्टा गरिदिनु ।

 

उक्त रायमा म सहमत छु ।

न्या.हरिहरलाल राजभण्डारी

 

इतिसम्वत् २०४२ साल आश्विन १३ गते रोज १ शुभम् ।