September 19, 1985
Created by nepalarchives

निर्णय नं. २३९४ – लिखत पास

निर्णय नं. २३९४     ने.का.प. २०४२      अङ्क ६   डिभिजन बेञ्च माननीय न्यायाधीश श्री धनेन्द्र बहादुर सिंह माननीय न्यायाधीश श्री बब्बर प्रसाद सिंह सम्वत् २०४१ सालको...

निर्णय नं. २३९४     ने.का.प. २०४२      अङ्क ६

 

डिभिजन बेञ्च

माननीय न्यायाधीश श्री धनेन्द्र बहादुर सिंह

माननीय न्यायाधीश श्री बब्बर प्रसाद सिंह

सम्वत् २०४१ सालको दे.पु.नं. ६७५

मुद्दा : लिखत पास ।

 

पुनरावेदक/वादी: का.जि.का.न.पं.वार्ड नं. १९ यटखा टोल बस्ने भाइकाजी ताम्राकार ।

विरूद्ध

विपक्षी/प्रतिवादी:ऐ.ऐ घर भै हाल का.जि.बालाजु पावर हाउस अगाडि बस्ने नानी माया ताम्राकार समेत ।

फैसला भएको मिति:२०४२।६।३।५ मा

     अंश वापत रु. ५००। पाइसकेको भन्ने पुष्टि हुन नआएको र अ.बं. २४ नं. अनुरूप रीतपूर्वकको लिखत भएको समेत नदेखिएको अवस्थामा सो विवादको अंश छोडपत्रको लिखत पास हुनुपर्ने भन्ने पुनरावेदन जिकिर पुग्न सक्दैन ।

(प्रकरण नं.२१)

पुनरावेदक/वादी तर्फवाट:विद्वान अधिवक्ता श्री चुडामणि राजसिंह मल्ल

विपक्षी/प्रतिवादी तर्फबाट:विद्वान विरिष्ठ अधिवक्ता श्री सर्वज्ञरत्न तुलाधर र विद्वान अधिवक्ता श्री सुधानाथ पन्त

उल्लेखित मुद्दाःX

फैसला

न्या.धनेन्द्र बहादुर सिंहः न्या.प्र.सु.ऐन, ०३१ को दफा १३ को उपदफा (५) को खण्ड (ख) अनुसार मध्यमान्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदनको अनुमति प्राप्त भई पेश हुन आएको प्रस्तुत मुद्दाको तथ्य यस प्रकार छ :

२.    विपक्षीहरूले अंश वापत नगद लिई अंश छोडपत्र गरिदिन मञ्जूर भई अंश वापत रु. ५००। बुझी लिई ०३३।२।२०।४ मा छोडपत्र लिखत गरिदिएको म्यादभित्र पारित गरी नदिएकोले उक्त लिखत पारित गरिपाउँ भन्ने भाइकाजी ताम्राकारको फिराद ।

३.    विपक्ष हाम्रा पति र पिताले कुटपीट गरी दुःख दिएको र लिखत गरिनदिएमा शान्तिसाथ बस्न नदिएको हुँदा लिखतसम्म गरिदिएको हो अंशबण्डाको ३२ नं. ले बदर हुन सक्ने र कानुनी रीत नपुगेको लिखत हुँदा पास गरिदिन मञ्जूर छैन वादी दावीको लिखत अ.बं. ७८ नं. बमोजिम देख्न सुन्न पाएको बखत बयान गर्नेछौं भन्ने समेत प्र.नानीमाया ताम्राकारनी समेत जना ४ को यौटै प्रतिउत्तर

४.    लिखतमा लागेको सहिछाप हाम्रो हो ज्यानको सुरक्षाको लागि सहिछाप गरिदिएको सम्म हो लिखत बमोजिमको रूपैयाँ हामीले लिएको नहुँदा पास गरिदिन मञ्जूर छैन भन्ने समेत प्र.वा. समेतको नानीमैयाँको बयान ।

५.    अंश वापत लिखत बमोजिमको रूपैयाँ लिई राजीखुशीबाट लिखतमा सहिछाप गरिदिएको हो दवावमा पारी लिखत गराएको होइन भन्ने वादी भाइकाजीको बयान ।

६.    प्रतिवादीले बोलाई हामी लिखत राजीखुशीबाट सहिछाप गरिदिएका र सो लिखतमा म साक्षी बसेको हुँ रूपैयाँ मेरो सामुन्नेमा दिए लिएको थिएन लिखत सद्दे हो भन्ने समेत लिखतका अन्तर साक्षी नारायण विलासले गरेको बयान ।

७.    वादी प्रतिवादी दुबै थरले भनेबाट मैले लिखत लेखिदिएको र प्रतिवादीहरूले राजीखुशीबाट सहिछाप गरिदिएको लिखत सद्दे साँचो हो भन्ने समेत लेखक साक्षी केदारमान श्रेष्ठले गरेको बयान ।

८.    लिखतमा प्रतिवादीहरूले खुशीराजीबाट सहिछाप गरिदिएका हुन् करकाप डरत्रासबाट गराएको होइन रूपैयाँ दिए लिएको थियो, थिएन थाहा भएन भन्ने समेत अन्तर साक्षी सुन्दरमानले गरेको बयान ।

९.    कारकापसँग गराएको भए अ.बं. ३८ नं. को म्यादभित्र उजूर गर्नुपर्ने गरेको नदेखिँदा करकापसँग गराएको भन्न मिलेन लिखतको प्रकृतिबाट उक्त अंश छोडपत्रको कागज रजिष्ट्रेशन पास गराई रहनु पर्ने नदेखिएकोले अंश छोडपत्रको लिखत रजिष्ट्रेशन गरिपाउँ भन्ने वादीको दावी पुग्न सक्दैन भन्ने समेत का.जि.अ.को फैसला ।

१०.    लिखत खुसीराजीले गरिदिएको र अंश छोडपत्रको लिखत रजिष्ट्रेशनको १ नं. ले पास हुने व्यवस्था भएकोले पास गरिदिनु नपर्ने गरी गरेको शुरूको इन्साफमा चित्त बुझेन भन्ने समेत वादी भाइकाजीको पुनरावेदन ।

११.    प्रतिउत्तर र बयानमा यथार्थ कुरा खुलाई लेखिदिएका छौं अ.बं. ३८ नं. अनुसार दावी नलिएकै भरमा झुठ्ठा कुरालाई अदालतबाट समर्थित हुन हुँदैन भन्ने समेत वा.नानीमैयाँ ताम्राकारको पुनरावेदन ।

१२.   यसै सम्बन्धमा दे.पु.नं. ९९९ को मुद्दाको फैसला बदर हुने ठहरी आजैका मितिमा फैसला भएको प्रस्तुत मुद्दा पनि सोही सम्बन्धी हुँदा प्रस्तुत मुद्दाको फैसला पनि बदर हुने कानुन बमोजिम कारवाही किनारा गर्न का.जि.अ.मा पठाई दिने भन्ने बा.अं.अ.को फैसला ।

      १३.   बा.अं.अ.बाट इन्साफ गर्नु पर्नेमा शुरूमा पठाउने गरेको बा.अं.अ.को फैसला बदर हुने ठहर्छ । इन्साफ गर्न बा.अं.अ.मा पठाई दिने भन्ने मध्यमान्चल क्षेत्रीय अदालतको फैसला ।

१४.   रजिष्ट्रेशनको १ नं. समेतको त्रुटि गरी गरेको बा.अं.अ.को फैसला उपर पुनरावेदन गर्न अनुमति पाउँ भन्ने समेत वादी भाइकाजी ताम्राकारको निवेदन ।

१५.   करकापबाट गराएको भन्ने हाम्रो प्रति  उत्तर जिकिर बयान भएकोमा चल बुझेको हुँदा पास गर्नुपर्ने होइन भन्ने बुँदा लेखी गरेको बा.अं.अ.को फैसला उपर पुनरावेदन दिने अनुमति पाउँ भन्ने नानीमैयाँ ताम्राकारनी समेतको निवेदन ।

१६.    रजिष्ट्रेशन गराई रहनु नपर्ने लिखत पनि रजिष्ट्रेशन गराउन हुन्छ भन्ने रजिष्ट्रेशनको ३ नं. मा व्यवस्था भएको पाइन्छ । लिखतमा लेखिएको लिए दिएको व्यवहार अन्तर साक्षी र लेखक साक्षीको रोहवरमा हुनु पर्नेमा निजहरूको सामुन्नेमा भएको होइन भन्ने बयान गरेको देखिन आयो अतः दावी अनुसार प्रमाणको मूल्याङ्कन गरी ठहर गर्नु पर्नेमा सो नगरी शुरूको फैसलालाई सदर गर्ने गरेको बा.अं.अ.को फैसला त्रुटियुक्त देखिँदा न्या.प्र.सु.ऐन, २०३१ को दफा १३(२) अनुसार वादी प्रतिवादीहरूलाई पुनरावेदन गर्न अनुमति दिइएको छ भन्ने सिंगल बेञ्चको आदेश ।

      १७.   चल सम्पत्तिको छोडपत्र भनी शुरूको सदर गरेको बा.अं.अ.को फैसला सो हदसम्म बदर भई दावीको छोडपत्र लिखत पास नहुने ठहराएको सम्म शुरूको सदर गरेको बा.अं.अ.को फैसला मनासिव ठहर्छ भन्ने समेत मध्यमान्चल क्षेत्रीय अदालतको ०३९।११।३० को फैसला ।

१८.   सो फैसलामा कानुनी त्रुटि हुँदा पुनरावेदनको अनुमति पाउँ भन्ने वादीको निवेदन परेकोमा पुनरावेदनको अनुमति दिइएको छ भन्ने समेत सर्वोच्च अदालत डिभिजन बेञ्चको ०४०।१०।१२ को आदेश ।

१९.    पुनरावेदक तर्फबाट रहनुभएका विद्वान अधिवक्ता श्री चुडामणि राजसिंह मल्लले वादीलाई अंश छोडपत्रको लिखतमा सही गरिदिएमा प्रतिवादीले स्वीकार गरेको छ । त्यसबाट रूपैयाँ पाएको भन्ने प्रमाणित भइराखेको छ । लिखत पनि कानुनको रीतपूर्वकको हुँदा पास हुने निर्णय हुनुपर्छ । लिखत पास नहुने ठहराएको मध्यमान्चल क्षेत्रीय अदालतको इन्साफ मिलेको छैन भन्ने र विपक्षी तर्फबाट रहनुभएका विद्वान विरिष्ठ अधिवक्ता श्री सर्वज्ञरत्न तुलाधर र विद्वान अ.श्री सुधानाथ पन्तले वादीलाई रु. ५००। लिई अंश छोडपत्र गरिदिनु पर्ने अवस्था छैन । जबरजस्तीसँग गराएको हो । रूपैयाँ पाएको छैन । लिखत रीतपूर्वकको पनि छैन । तसर्थ लिखतपास नगर्ने गरेको मध्यमान्चल क्षेत्रीय अदालतको इन्साफ मिलेको हुँदा सदर हुनुपर्छ भन्ने समेत बहस गर्नुभयो ।

२०.   प्रस्तुत मुद्दामा मध्यमान्चल क्षेत्रीय अदालतको इन्साफ मिलेको छ छैन सो कुराको निर्णय दिनुपर्ने हुन आएको छ ।

२१.   यसमा निर्णयतर्फ हेर्दा वादीले पास गरिपाउँ भनी दावी लिएको लिखत हेर्दा प्रतिवादी नानीमैयाँ र निजका छोरा मोहनकाजी तथा नाबालख रमेश र दिनेश आगे भई रु. ५००। अंश वापत बुझी सम्पूर्ण अंश छोडपत्र गरेको देखिन्छ । सो लिखतलाई प्रतिवादीले हामीलाई बराबर दुःख दिइरहेको हुनाले लिखत नगरिदिए शान्तिसाथ रहन बस्न नदिएको हुँदा डरत्रास धम्की दिएकोले लिखत गरिदिएको हो । पास गरिदिन मञ्जूर छैन भन्ने जिकिर लिएको पाइन्छ। डरत्रास जोरजुलुम गरी करकापसँग कागज गराएको भए अ.बं. ३८ नं. अनुसार उजूर गर्न पर्ने सो बमोजिम उजूर गरी बदर गराउन सकेको छैन । तर लिखत रीतपूर्वक छ छैन भनी हेर्दा नाबालक छोराहरू समेत आगे भई लिखत भएको पाइन्छ । अ.बं. २४ नं. मा सोर्‍ह वर्ष नपुगेका नाबालकको संरक्षक वा हकवाला राखी कागज गराएकोमा, यो मेरो यस किमिसको मानिसले मेरो सामुन्नेमा भने बमोजिम लेखी सहिछाप गरेको साँचो हो भनी सो कागजको किनारामा सो संरक्षक वा हकवालाको पनि सहिछाप गराउनु पर्छ भन्ने समेत लेखिएको पाइन्छ । तर उक्त ऐनमा व्यवस्था भए अनुसार मेरा छोराहरूले भने बमोजिम लेखी सहिछाप गरेको साँचो हो भनी खुलाई संरक्षकको सहिछाप भई लिखत भएको देखिँदैन । लिखतमा मेरो सामुन्ने सही गरेको हो भन्नेसम्म लेखेको  पाइन्छ । यसबाट उक्त लिखत अ.बं. २४ नं. अनुसारको रीत पुगी लिखत भएको भन्ने देखिँदैन । लिखतका लेखक साक्षी केदारमान श्रेष्ठ अन्तर साक्षी नारायणविलास जोशी तथा सुन्दरमानले लिखत राजीखुशीबाट भएको हो रूपैयाँ हाम्रो सामुन्ने दिएको थिएन भनी बयान गरेको देखिन्छ । यसबाट छोडत्रपमा लेखिएको रूपैयाँ प्र.हरूले पाइसकेको भन्ने पनि देखिँदैन । लिखत व्यहोरामा अंश वापत दिएको रु. ५००। हामीहरू आमा छोराछोरीहरू समेतले बुझी लिईभन्ने उल्लेख भएको छ । तर छोरीहरू समेत आगे भएको लिखत देखिँदैन । तसर्थ अंश वापत रु. ५००। पाइसकेको भन्ने पुष्टि हुन नआएको र अ.बं. २४ नं. अनुरूप रीतपूर्वकको लिखत भएको समेत नदेखिएको अवस्थामा सो विवादको अंश छोडपत्रको लिखत पास हुनुपर्ने भन्ने पुनरावेदन जिकिर पुग्न सक्दैन । वादी दावीको अंश छोडपत्रको लिखत पास नहुने ठहराएकोसम्म शुरू र बा.अं.अ.को इन्साफ सदर गरेको मध्यमान्चल क्षेत्रीय अदालतको इन्साफ मनासिव ठहर्छ । कोर्टफी लागेको मुद्दा हुँदा कसैलाई केही गर्न परेन । मिसिल नियम बमोजिम गरी बुझाइदिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या.बब्बर प्रसाद सिंह

 

इतिसम्वत् २०४२ साल आश्विन ३ गते रोज ५ शुभम् ।