निर्णय नं. २३९२ – मोही निष्काशन गरी चलन चलाई पाउँ
निर्णय नं. २३९२ ने.का.प. २०४२ अङ्क ६ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री धनेन्द्र बहादुर सिंह माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह सम्वत् २०४१ सालको...
निर्णय नं. २३९२ ने.का.प. २०४२ अङ्क ६
डिभिजन बेञ्च
माननीय न्यायाधीश श्री धनेन्द्र बहादुर सिंह
माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह
सम्वत् २०४१ सालको दे.पु.नं. ५१७
मुद्दा : मोही निष्काशन गरी चलन चलाई पाउँ ।
पुनरावेदक/प्रतिवादी:जिल्ला बाँके हसतापुर गा.पं.वडा नं. ६ बस्ने समद खाँ ।
विरूद्ध
विपक्षी/वादी:जिल्ला बाँके बशन्तपुर गा.पं.वडा नं. ६ बस्ने इस्माइल खाँ ।
ऐ.बस्ने रमजान खाँ ।
ऐ.बस्ने मोहमत सरीफ खाँ ।
फैसला भएको मिति: २०४२।५।१८।३ मा
बाली बटैयाको मुचुल्का सारी थाहा पाएको मितिबाट गरेको फिरादलाई म्याद भित्रको भन्न नमिल्ने ।
(प्रकरण नं.१४)
फैसला
न्या.धनेन्द्र बहादुर सिंहः न्याय प्रशासन सुधार ऐन, २०३१ को दफा १३ को उपदफा (५) को खण्ड (ख) अनुसार पुनरावेदनको अनुमति प्राप्त भई पेश हुन आएको प्रस्तुत मुद्दाको तथ्य यस प्रकार छ :
२. विपक्षी मोही समद खाँले हामीहरूका नाममा संयुक्त दर्ता भएको बाँके रनियापुर गा.पं.वडा नं. २ कि.नं. ३५ र ४६ समेतको ज.वि. ३–०–४ अधियाँमा जोती आएकोमा २०३७ सालको धानबालीमा उक्त जग्गा राम्रोसँग खनजोत मलजल केही नगरी जग्गाको उब्जा र मोल घटाएको र बाली बटैयामा समेत भू.सु.ऐन, २०२१ को दफा ३६ को प्रकृया नअपनाई अनधिकृत डोर ल्याई बटैया गरेको कुरा ०३७।११।२३ मा भू.सु.का. बाट बटैया मुचुल्काको नक्कल लिँदा थाहा पाएकोले भू.सु.ऐन, २०२१ को दफा २९(२) को (क) बमोजिम उक्त जग्गाबाट विपक्षीको मोहियानी हक निष्काशन गरी चलन चलाई पाउँ भन्ने वादी ।
३. वादी दावी कि.नं. ३५ र ४६ तथा दावी नपरेको कि.नं. ३७ को समेतको जग्गा तिंकुर सर्तमा जोती कमाई आएको अधियाँमा कमाएको छैन दावी झुठ्ठा हो वादीको झुठ्ठा दावीबाट फुर्सद पाउँ भन्ने समेत प्रतिउत्तर ।
४. धानमा के कस्तो रोग लागेको हो र के औषधी गरिएको हो सो सम्बन्धमा समेत केही उल्लेख वादीले गर्न नसकेको र भू.सु.ऐन, २०२१ को दफा ३६ बमोजिम प्रकृया पूरा नगरी जग्गाधनी प्रति खुल्ला ह्दयले बटैया गरेकै समेत देखिन नआएकोले भू.सु.ऐन, २०२१ को दफा २९(१)(क) को आधारमा मोहियानी हक निष्काशन हुने ठहर्छ भन्ने जिल्ला अदालतको फैसला ।
५. शुरू जि.अ.को इन्साफमा चित्त बुझेन बदर गरी वादी दावीबाट फुर्सद पाउँ भन्ने पुनरावेदन जिकिर ।
६. मोहियानीबाट निष्काशन गर्ने गरेको इन्साफ मनासिव ठहर्छ भन्ने समेत भे.अं.अ.को ०३९।९।१२ को फैसला ।
७. सो फैसलामा कानुनी त्रुटि हुँदा पुनरावेदनको अनुमति पाउँ भन्ने निवेदनमा पुनरावेदनको अनुमति दिइएको छ भन्ने समेत मध्य पश्चिमान्चल क्षेत्रीय अदालतको २०४०।१।२३ को आदेश ।
८. मोहियानी हक निष्काशन गर्ने गरेको शुरू इन्साफ मनासिव ठहराएको अञ्चल अदालतको इन्साफ मनासिव ठहर्छ भन्ने समेत मध्य पश्चिमान्चल क्षेत्रीय अदालतको मिति २०४०।७।२५ को फैसला ।
९. सो फैसलामा कानुनी त्रुटि हुँदा पुनरावेदनको अनुमति पाउँ भनी प्रतिवादीको निवेदन परेकोमा मध्य पश्चिमान्चल क्षेत्रीय अदालतको निर्णयमा भू.सं.ऐन, २०२१ को दफ २९क.(क) को त्रुटि देखिँदा पुनरावेदनको अनुमति दिइएको छ, भन्ने सर्वोच्च अदालत डिभिजन बेञ्चको मिति २०४०।१०।२३ को आदेश ।
१०. पुनरावेदक तर्फबाट रहनुभएका विद्वान अधिवक्ता श्री श्यामप्रसाद खरेलले प्रस्तुत फिराद बटैया मुचुल्का सारी थाहा पाएको भनी गरेको छ । तर भू.सु. ऐनको दफा २९क(क) अनुसार काम कुरा भए गरेको मितिले ३५ दिनभित्र परेको छैन । तसर्थ वादी दावी खारेज हुनुपर्छ मोही निष्काशन गरेको क्षेत्रीय अदालतको निर्णय मिलेको छैन भन्ने समेत र विपक्षी तर्फबाट रहनुभएका विद्वान विरिष्ठ अधिवक्ता श्री कुञ्जबिहारीप्रसाद सिंहले बाली बटैया मुचुल्काबाट उब्जली घटेको भन्ने देखिएको छ । त्यसरी उब्जनी घटाई दिएकोबाट जग्गा मोल समेत घट्न गएको हुँदा वादीले मुचुल्का सारी थाहा पाए पछि फिराद गरेकोलाई म्यादभित्र नपरेको भन्न मिल्दैन । मोही निष्काशन गरेको क्षे.अ.को निर्णय सदर हुनुपर्छ भन्ने समेत बहस प्रस्तुत गर्नुभयो ।
११. प्रस्तुत मुद्दामा म.पश्चिमान्चल क्षेत्रीय अदालतको इन्साफ मिलेको छ छैन सो कुराको निर्णय दिनुपर्ने हुन आएको छ ।
१२. यसमा निर्णयतर्फ हेर्दा बाली बटैया गराएको मुचुल्काको नक्कल २०३७।११।२३ मा प्राप्त भएकोले भू.सु.ऐन, २०२१ को दफा २९(क) को खण्ड (क) को म्यादभित्र नालिश दिन आएका छौं । भू.सं.ऐन, २०२१ को दफा २९ को उपदफा (२) को खण्ड (क) बमोजिम मोही निष्काशन गरी चलन चलाई पाउँ भनी प्रस्तुत मुद्दाको फिराद मिति २०३७।११।३० मा परेको देखिन्छ ।
१३. सो फिराद दावीमा राम्रोसँग खनजोत मलजल केही नगरी जग्गामा लागेको बालीको रेखदेख नगरी प्रतिवादीले विवादित जग्गाको हैसियत तथा मोल उब्जा घटाएको भन्ने मुख्य दावी लिएको पाइन्छ ।
१४. भू.सं.ऐन, २०२१ को दफा २९(क) को देहाय (क) मा दफा २९ को उपदफा (२) को खण्ड (क) मा उल्लेख भएको अवस्थामा सो खण्डमा तोकिएको काम कुरा भए गरेको मितिले ३५ दिनभित्र निवेदन दिई सक्नु पर्छ । सो म्याद गुज्रेपछि निवेदन लाग्न सक्दैन भन्ने लेखिएको पाइन्छ । यसबाट तोकिएको काम कुरा भए गरेको मितिले ३५ दिनभित्र उजूर गर्नु पर्ने हुन्छ । प्रस्तुत मुद्दाको फिरादपत्रमा राम्रोसँग खनजोत मलजल केही नगरी जग्गामा लागेको बालीको रेखदेख नगरेको भन्ने कुरा उल्लेख भएको पाइन्छ । सो कुरा गरेको मितिले उक्त ऐनको म्यादभित्र प्रस्तुत मुद्दाको फिराद दिएको भनी स्वयं वादीले भन्न सकेको छैन । बाली बटैया मुचुल्काको नक्कल सारेको मितिले उक्त ऐनको म्यादभित्र प्रस्तुत फिराद गरेको भन्ने छ । बाली बटैयाको मुचुल्का २०३७।१०।१२ मा भएको देखिन्छ । उब्जा घटेको कुरा बाली तयार भई कटना मडनी गरेकै समयमा थाहा हुनसक्ने हुन्छ । तर प्रस्तुतफिराद बालीबाट बाँडफाँड गरी बटैयागरेको मितिले पनि उक्तऐनको म्यादभित्र पर्न आएको देखिँदैन । बालीबटैयाको मुचुल्काको नक्कलसारी थाहाभएको मितिले फिराद गर्नपाउने उक्तऐनले व्यवस्था गरेको देखिँदैन । तसर्थ बाली बटैयाको मुचुल्का सारी थाहा पाएको मितिबाट गरेको फिरादलाई म्यादभित्रको भन्न नमिल्ने हुनाले उक्त ऐन बमोजिमको म्याद नाघी परेको प्रस्तुत मुद्दाको फिराद खारेज हुने ठहर्छ ।
१५. तथ्यमा प्रवेश गरी मोही हकबाट निष्काशन गर्ने गरेको बाँके जिल्ला अदालत र भेरी अञ्चल अदालतको इन्साफ सदर गरेको मध्यपश्चिमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मिलेको देखिएन । अरु तपसील बमोजिम गर्नु ।
तपसील
बाँके जि.अ.तका २०३९।१।२० को फैसलाले मोही लगत कट्टा गर्न लेखी पठाउने गरेको सो लेखी पठाउन पर्दैन भनी मिसिलै शुरूमा पठाई दिनु…१
बाँके जि.अ.तको २०३९।१।२० को फैसला र २०३९।३।१० को आदेशले कोर्टफी रु. १९७।१० र अन्य दस्तूर समेत प्रतिवादी समद खाँबाट वादीलाई भराई दिने गरेकोमा सो बमोजिम भरी भराउ गर्नु नपर्ने हुँदा सो लगत काटी दिनु भनी बाँके जि.अ.तमा लेखी पठाउन का.जि.अ.मा लगत दिनु…२
प्रतिवादी समद खाँले शुरू उपर पुनरावेदन गर्दा कोर्टफी रु. १९७।१० मिति २०३९।३।२।४ मा बाँके जि.अ.तमा धरौटी राखेको देखिँदा सो धरौट वादीलाई भरी भराउ गर्नु नपर्ने हुँदा सो धरौटी फिर्ता पाउँ भनी प्रतिवादीको ऐनका म्यादभित्र दर्खास्त परे दस्तूर केही नलिई फिर्ता दिनु भनी बाँके जि.अ.तमा लेखी पठाउन का.जि.अ.मा लगत दिनु..३
भेरी अं.अ.मा २०३९।९।१२ का फैसलाले प्रतिवादी समद खाँले पुनरावेदन गर्दा धरौटी राखेको रु. १९७।१० वादीलाई फिर्ता दिने गरेकोमा सो बमोजिम वादीलाई फिर्ता दिनु परेन सो लगत व्यहोरा जनाई काटी दिनु भनी बाँके जि.अ.तमा लेखी पठाउन का.जि.अ.त.मा लगत दिनु….४
पुनरावेदक प्रतिवादी समद खाँके पुनरावेदन राखेको कोर्टफी भेरी अं.अ.मा रु. २९।५७क्षे.अ.मा रु. २९।५७ यस अदालतमा रु. १।५० समेत जम्मा रु. ६०।६४ देहायका वादीहरूबाट भराई पाउँ भनी ऐनका म्यादभित्र दर्खास्त परे दस्तूर केही नलिई प्रतिवादीहरूलाई वादीहरूबाट बराबरका दरले भराई दिनु भनी का.जि.अ.मा लगत दिनु..५
विपक्षी वादी इस्माइल खाँ १, विपक्षी वादी रमजान खाँ १
विपक्षी वादी मोहमद सरीफ खाँ १
खारेज गर्ने गर्नुपर्ने मुद्दा इन्साफ गरेमा देहायका अदालतका उस बखतका देहायका न्यायाधीशहरूको रेकर्ड राख्नु भनी सर्वोच्च अदालत प्रशासन शाखामा सूचना दिनु…६, मध्यमाञ्चल क्षे.अ.का मा.मु.न्या.श्री षडानन्दप्रसाद उपाध्याय १
ऐ. का मा.न्या.श्री केशवप्रसाद मुडभरी १
भेरी अं.अ.का अञ्चल न्यायाधीश श्री तुलसी प्रसाद श्रेष्ठ १
बाँके जि.अ.तका न्यायाधीश श्री नारायणप्रसाद क्षेत्री १
मिसिल नियम बमोजिम गरी बुझाई दिनु……………………………………७
उक्त रायमा म सहमत छु ।
न्या.पृथ्वी बहादुर सिंह
इतिसम्वत् २०४२ साल भाद्र १८ गते रोज ३ शुभम् ।