May 31, 1985
Created by nepalarchives

निर्णय नं. २३७१ – कर्तव्य ज्यान

निर्णय नं. २३७१     ने.का.प. २०४२      अङ्क ५ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री सुरेन्द्र प्रसाद सिंह माननीय न्यायाधीश श्री महेशराम भक्त माथेमा सम्वत् २०४१ सालको फौ.सा.नं....

निर्णय नं. २३७१     ने.का.प. २०४२      अङ्क ५

डिभिजन बेञ्च

माननीय न्यायाधीश श्री सुरेन्द्र प्रसाद सिंह

माननीय न्यायाधीश श्री महेशराम भक्त माथेमा

सम्वत् २०४१ सालको फौ.सा.नं. १९९

मुद्दा : कर्तव्य ज्यान ।

 

वादी:केशवराज पाण्डेको जाहेरीले श्री ५ को सरकार ।

विरूद्ध

विपक्षी/प्रतिवादी:स्याङजा जिल्ला चण्डी भञ्ज्याङ गा.पं.वा.नं.४ बस्ने याम कुमारी पाण्डे समेत ।

फैसला भएको मिति:२०४२।२।१८।६ मा

     अवला नारीले समाजको लोकापवादबाट बच्न त्यसरी छिपाउन निमित्त गाड्नु स्वाभाविवकै देखिँदा माथि लेखिए बमोजिमको सजायँ गर्दा चर्को पर्न जाने हुँदा निजलाई कैद वर्ष ५(पाँच) सम्म गर्नु उपयुक्त ठानी अ.बं. १८८ नं. अनुसार जाहेर गरेतर्फ हेर्दा उल्लिखित कारणहरूबाट समेत पश्चिमाञ्चल क्षेत्रीय अदालतले उक्त अ.बं. १८८ नं. लगाई व्यक्त गरेको राय मनासिव ठहर्छ।

(प्रकरण नं.१२)

वादी तर्फबाटःX

विपक्षी तर्फबाटःX

उल्लेखित मुद्दाःX

फैसला

न्या.सुरेन्द्र प्रसाद सिंहः मेरो भाइ बुहारी विधवा यामकुमारी पाण्डेले नाबालख छोरी २ पाली बसेकी निज मोहिनीलालसँग ०३६।५ देखि करणीमा बिग्री गर्भ रहन गई ०३७।२।११ गते बेलुका छोरा जातक जन्मी जन्मने बित्तिकै बारीमा लगी खाल्टो खनी माटाले पुरी ढुङ्गाले अठ्याएकी हुन् भनेकोले जाहेर गर्न आएको छु भन्ने समेत व्यहोराको केसौराजको जाहेरी ।

२.    ०३६।५।११ गतेका दिन अं. १२ बजे टागे धारामा पानी लिन गएको अवस्था मोहिनीलाल पनि पानी लिन गएका पानी भरी गाग्री बोक्ने अवस्थामा निजले गाग्री बोक्न नदिई मेरा कम्मरमा समाई कान्लातर्फ लगेकोले मेरो पनि करणी गराउने मञ्जूर भएकोले करणी लिनु दिनु भइसकेपछि पानी लिई घरमा गएँ सोही दिनबाट गर्भ रहन गएछ । गर्भ रहेको कुरा कसैलाई थाहा नदिई बसेको ०३७।२।११ गते बेलुकाको समयमा कम्मर दुखी घरदेखि पछाडि बारीमा जाँदा सालनाल सहितको छोरा जातक जन्मेकोले हत्तपत्त माटो पन्छाई खाल्टो पारी खाडलमा हाली माटाले पुरी ढुंगाले थिची दिएको हुँ भन्ने समेत यामकुमारी पाण्डेको कागज ।

३.    यामकुमारी ०३६। भाद्र देखि मोहिनीलालसँग करणीमा बिग्री छोरा जातक जन्माई कर्तव्य गरी मारेको हो मार्नेमा मोहिनीलाल तथा अन्य कुनै व्यक्तिको हात छैन भन्ने समेत व्यहोराको सरजमीन मुचुल्का ।

४.    ०३६ साल भाद्र ९।१० गते केमा हो गाउँ कै टांगे धारामा पानी लिन गएको सो अवस्थामा कुरा गर्दा यामकुमारीले करणी गर्ने मञ्जूर गरेकोले भित्तामा उभिई उभिई करणी लिनु दिनु गरेर मेरै करणी विर्यबाट गर्भ रहेछ गाउँलेले कुरा गरेको सुन्दा मेरो गर्भ बोकेका भए हिँड भन्दा बोकेको छैन भनिन् यही ज्येष्ठ ११ गते छोरा जातक पैदा गरी जन्मने बित्तिकै घाँटी अठ्याई माटा ढुंगाले पुरी कर्तव्य गरी मारेको हुन गर्भ बोकेको कुरा प्रचारमा नल्याउने दबाउने छिपाउने विचारले  मलाईसमेत छली बच्चा मार्ने गाड्नेसमेत गरिछन् भन्ने समेत व्यहोराको मोहिनीलालको बयान कागज ।

५.    जाहेरी तथा अभियुक्तको कागज मौकाको सरजमीन समेतबाट यामकुमारीले मोहिनीलालसँग करणीमा फसी निजको विर्यबाट रहेको गर्भ ०३७।२।११ गते जिउँदै जन्माई कर्तव्य गरी मारी गाडेको स्वसिद्ध देखिन आएकोले निज यामकुमारी पाण्डे उपर मुलुकी ऐन ज्यानसम्बन्धीको १३।३ अनुसार सजायँ हुन माग दावी गरेका छौं भन्ने समेत व्यहोराको प्रहरी प्रतिवेदन ।

६.    ०३६।५।९ गते पानी लिन पँधेरामा गएको थिएँ । त्यसैबेला मोहिनीलाल पनि गएका रहेछन् पानी भर्ने ठाउँ खोल्सो भएकोले कसैले नदेख्ने थियो र सो दिन १२ बजेको समयमा मलाई समाई करणी गर्ने मनसाय गरेकाले मेरो साडी उल्टाई उठेरै करणी गरेर त्यसै बखत २ पटक करणी गरेका थिए । त्यसपछि महिनावारी रोकियो र मोहिनीलालसँग मेरो पेटमा गर्भ रहृयो लैजाउ भन्दा मेरो होइन मैले लान्न जानेको गर भनी मानेन र बच्चा पाउने १ महिना अघि मोहिनीलालले बच्चा फाल्ने औषधी खा भनी रु. १०० दिएर सो सबैको औषधी सकिएका २ दिन पछि बच्चा पैदा भई मोहिनीलालले भने अनुसार बच्चा पाएको अरुले थाहा नपाउने गरी दबाएको हुन् अरु मतियार कोही छैन भन्ने समेत यामकुमारीले अदालतमा गरेको बयान ।

७.    प्र.मोहिनीलालका हकमा पुनः तहकिकात गराउने भन्ने आदेशानुसार तहकिकात गर्न पठाउँदा यामकुमारीका बयान अनुसार औषधी खुवाई बच्चा जन्माई दबाई दिनु भनी रु. १००। दिएको भनेको रूपैयाँ औषधीकै निमित्त दिएको हो भन्ने सबूद पुग्न नसकेकोले मोहिनीलाल उपर ज्यानसम्बन्धीको कसूरदारमा दावी गर्न सकिएन भन्ने समेत व्यहोराको सर्वोच्च अदालतअ.को प्रतिवेदन ।

८.    यामकुमारीसँग मेरो कुनै नाता पर्दैन निजको र मेरो घर एकै ठाउँमा भएको र निज विधवा र मेरो पनि विवाह नभएको हुँदा हाँस ख्याल गर्दथ्यो । ०३५ साल चैत्र महिना हो गते बारको सम्झना भएन दिनको ४ बजे समयमा उठी उठी एक पटक करणी लिनु दिनु भयो सो दिन बाहेक अरु दिन करणी लिनु दिनु भएको छैन । ०३६ साल भाद्र ९ गते मैले करणी गरेको छैन र औषधी खाई बच्चा फाल भनी रु. १००। दिएको समेत हैन भन्ने समेत व्यहोराको मोहिनीलालले अदालतमा गरेको बयान ।

९.    प्रतिवादी यामकुमारीले ज्यानसम्बन्धीको १३(३) बमोजिम प्र.मोहिनीलालले ऐको १७(३) अनुसारको अपराध गरेको ठहर्छ भन्ने समेत स्याङजा जिल्ला अदालतको ०३७।१२।१६ को फैसला ।

१०.    यामकुमारीका हकमा पूर्णयाम पुगी जिउँदै जन्माएको बच्चा मारी गाडेकोमा प्रहरी तथा अदालत समेतमा सावित भएकोले शुरूले ज्यानसम्बन्धीको १३(३) अनुसार सर्वस्वसहित जन्म कैद गर्ने गरेको फैसला मनासिव ठहर्छ । मोहिनीलाललाई शुरूले ऐ. १७(३) लगाएकोमा निज मतलबमा बसेकोमा इन्कार रहेको साविती हुने यामकुमारीको पोल मात्र भएकोले निजले सफाई पाउने ठहर्छ निजका हकमा शुरुको इन्साफ उल्टी हुने ठहर्छ मोहिनीलाल यामकुमारीलाई सजायँ चर्को पर्ने हुँदा ५ पाँच वर्ष मात्र कैद हुनुपर्ने भन्ने समेत व्यहोराको पश्चिमान्चल क्षेत्रीय अदालतको ०४०।१०।१ गतेको साधक फैसला ।

      ११.    यसमा नियमानुसार साधकतर्फबाट पेश हुन आएको प्रस्तुत मुद्दामा पश्चिमान्चल क्षेत्रीय अदालतको साधक फैसला मिले नमिलेको के रहेछ भनी त्यसतर्फ हेर्दा अभियुक्त प्रतिवादी यामकुमारी विधवा मानिस भएको र मोहिनीलालसँग करणीमा बिग्रिएको र सोही करणीबाट गर्भ रहेकोमा र सो गर्भबाट जिउँदै छोरा जातक बच्चा पैदा गरेको र त्यस बच्चालाई घाँटी थिची मारी ढुंगाले थिची मारेको तथा सो कार्य आफू एक्लैले गरेकोमा समेत जाहेरी तथा सरजमीन र निजैका साविती  बयान समेतबाट पूर्ण समर्थन गरेको पाइन्छ । यस्तो स्थितिमा निजका हकमा ज्यानसम्बन्धीको महलको १३(३) अनुसार सजायँ गर्ने गरी शुरूले गरेको इन्साफ सदर गर्ने गरेको क्षेत्रीय अदालतको इन्साफ मिलेकै देखिँदा सदर हुने ठहर्छ ।

१२.   अब प्र.यामकुमारीकी २२ वर्षकी छोरी समेत भएको अबला नारीले समाजको लोकापवादबाट बच्न त्यसरी छिपाउन निमित्त गाड्नु स्वाभाविकै देखिँदा माथि लेखिए बमोजिमको सजायँ गर्दा चर्को पर्न जाने हुँदा निजलाई कैद वर्ष ५(पाँच) सम्म गर्नु उपयुक्त ठानी अ.बं. १८८ नं. अनुसार जाहेर गरेतर्फ हेर्दा उल्लिखित कारणहरूबाट समेत पश्चिमान्चल क्षेत्रीय अदालतले उक्त अ.बं. १८८ नं. लगाई व्यक्त गरेको राय मनासिव ठहर्छ । अरु तपसील बमोजिम गर्नु ।

तपसील

प्र.यामकुमारी पाण्डेके माथि इन्साफ खण्डमा लेखिए बमोजिम निजलाई अ.बं. १८८ नं. अनुसार कैद वर्ष ५(पाँच) मात्र हुने भएको र निज ०३७।२।१४ देखि प्रहरी हिरासतमा रहेको देखिन आएकोले निजलाई यो मुद्दा बाहेक अरुमा थुनामा राख्न नपर्ने भए तुरुन्त थुनाबाट मुक्त गरिदिनु भनी निज यामकुमारी थुनामा रहेको कारागारमा लेखी पठाउनु भनी शुरू स्याङजा जि.अ.मा लेखी पठाउन का.जि.अ.मा लगत दिनु…१

माथि इन्साफ खण्डमा लेखिए बमोजिम शुरू र पश्चिमान्चल क्षेत्रीय अदालतका फैसलाले प्र.यामकुमारीलाई ज्यानसम्बन्धीको १३(३) अनुसार सर्वस्वसहित जन्म कैद गर्ने गरेकोमा अब सोको लगत काटी दिनु भनी शुरू स्याङजा जि.अ.मा लेखी पठाउन का.जि.अ.मा लगत दिनु…२     मिसिल नियमानुसार गरी बुझाई दिनु……………………३

 

उक्त रायमा म सहमत छु ।

 

न्या.महेशराम भक्त माथेमा

 

इतिसम्वत् २०४२ साल ज्येष्ठ १८ गते रोज ६ शुभम् ।