August 19, 1985
Created by nepalarchives

निर्णय नं. २३६० – अंश हक कायम

निर्णय नं. २३६०     ने.का.प. २०४२      अङ्क ५   डिभिजन बेञ्च सम्माननीय का.मु.प्रधान न्यायाधीश श्री धनेन्द्र बहादुर सिंह माननीय न्यायाधीश श्री जोगेन्द्र प्रसाद श्रीवास्तव सम्वत् २०४०...

निर्णय नं. २३६०     ने.का.प. २०४२      अङ्क ५

 

डिभिजन बेञ्च

सम्माननीय का.मु.प्रधान न्यायाधीश श्री धनेन्द्र बहादुर सिंह

माननीय न्यायाधीश श्री जोगेन्द्र प्रसाद श्रीवास्तव

सम्वत् २०४० सालको दे.पु.नं. ६१७

मुद्दा : अंश हक कायम ।

 

पुनरावेदक/प्रतिवादी:रौतहट जिल्ला गम्हरिया विर्ता गा.पं.वडा नं.९ बस्ने चिचनी थरुनी ।

ऐ.ऐ बस्ने राम सहाय चौधरी ।

ऐ.सखुअवा धर्माहा गा.पं. वडा नं. ५ बस्ने सत्यनारायण धामी थारु ।

ऐ.ऐ बस्ने अस्तुरनी थारुनी ।

विरूद्ध

विपक्षी/वादी:रौतहट जिल्ला प्र.चानी पश्चिम प्रतापपुर पल्टुवा गा.पं. वडा नं.३ रंगपुर गा.पं.वडा नं. २ बस्ने हितादाश चौधरी ।

ऐ.ऐ बस्ने पाचुदाश थारू ।

फैसला भएको मिति: २०४२।५।३।२ मा

     तथ्ययुक्त सबूद प्रमाण बेगर विवादको जग्गामा अंश हक कायम छ भनी ठहर गर्न सकिने अवस्था रहेन ।

(प्रकरण नं.१२)

फैसला

का.मु.प्र.न्या.धनेन्द्र बहादुर सिंहः मध्यमान्चल क्षेत्रीय अदालतको फैसलाउपर पुनरावेदनको अनुमति प्राप्त भई पेश हुनआएको प्रस्तुत मुद्दाको तथ्य यस प्रकार छ :

२.    अन्दुदाशको जेठो जोखनदाश, माहिलो जितन दाश, साहिला महितादाश, काहिला बसगितदाश, कान्छा म पाचुदाश सगोलमा बसी तीनै जनाको अंश भोगको जग्गा बसिगत दाशकै नाममा दर्ता राखी भोगचलन गरिआएकोमा पछि चित्त नमिली घरसारमा बाँडफाँड गरी मानो छुट्याई जग्गा दर्ता निज बसिगत दाशकै नाममा दर्ता कायम गरी आफ्नो अंशको जग्गा भोगचलन गर्दै आएकोमा बसिगत दाश २०३३ सालमा परलोक हुनु भयो र निज बसिगत दाशको छोरा नभएको विपक्षी मध्येका चिचनी तथा अस्तरनी निज बसिगत दाशको छोरीहरू हुन् हाम्रो अंश भागको प्रतापपुर गा.पं.वडा नं. २ को कि.नं. १५१ को ज.वि. २० मध्ये हामी फिरादवालाको दुवैको भाग भोगको जग्गाहरूमा २०३७।३।३०।१ का दिन अं. १० बजे हामी हलो जोती राखेको बखत विपक्षीहरू चारै जना पुगी हाम्रो बाबु ससुरा बसिगत दाशको नामको जग्गा हो तपाई नै जोत्नु होस् भनी यो जग्गा हामीहरूको अपुताली हक लाग्ने हो । तपाईहरूलाई आज देखि जग्गा भोगचलन गर्न दिन्छौं अदालतबाट आफ्नो आफ्नो हक कायम गराई ल्याउनु होस् अनि मात्र भोगचलन गर्न दिने छौं भनेकाले हाम्रो अंश हक कायम गरी बसिगत दाश चौधरीको नाम दर्ताको जग्गाको ३ खण्डको २ खण्ड जग्गा दर्ता बदर गरी हामीहरूको नाममा दर्ता समेत गरिपाउँ भन्ने समेत व्यहोराको वादीको फिराद दावी रहेछ ।

३.    वादीहरू मध्येको वादी हितादाश चौधरी हामी प्रतिवादीहरू मध्येका प्र. चिचनी थरुनी र प्र. अस्तुरनी थरुनीको साहिला बाबु वादी पाचुदाश चौधरी कान्छा बाबु भई सोही नाताबाट निज वादीहरू हामी प्र. रामसहाय थारु र प्र.सत्यनारायण धामी थारुको क्रमशः साहिला बाबु, ससुरा, कान्छा बाबु, ससुराहरू हुनुहुन्छ । वादीहरूको परिवारको हामी प्र.हरू मध्येको कोही पनि अंशियार नरहेकोले हामीबाट वादीले अंश पाउने कुरा नै कानुन नमिल्दो हुँदा हामीउपरको अंशतर्फको कारवाही वादीदावी झुठ्ठा हो र हाम्रो बाबुससुरा स्व.बसिगत दाश चौधरीको नामको सबै जग्गाहरू वादीहरूकै परिवारको भोग दखलमा छ । २०३७।३।३० का दिन हामीले त्यसमा कब्जा गरी  लिएको भन्ने कुरा पनि झुठ्ठा हो भन्नेसमेत प्र.को प्रतिउत्तरपत्र ।

४.    यसमुद्दामा दे.नं.८३७ को अपुताली हक मुद्दामा प्रतिवादी मध्ये चिचनी र अस्तुरनीले बसिगत दाशको अपुताली पाउने ठहरी आजै फैसला भएको हुँदा बसिगत दाशको नाम दर्ताको जग्गामा वादीहरूको हक पुग्ने भन्न नसकिने भएकोले यो मुद्दा खारेज हुने ठहर्छ, भन्ने व्यहोराको शुरू रौ.जि.अ.को २०३७।११।१३।३ को फैसला ।

५.    शुरू रौ.जि.अ.ले गरेको फैसलामा चित्तबुझेन भनी हितादाश चौधरी समेतको वा.रामदयाल चौधरीको ना.अं.अ.मा परेको पुनरावेदन पत्र ।

६.    बिना लिखत सबूदको आधारमा वादीको हक कायम गर्न नमिल्ने भएकोले पुनरावेदन जिकिर पुग्न नसक्ने भन्ने ना.अं.अ.को २०३८।३।२५ को फैसला ।

७.    ना.अं.अ.को फैसला त्रुटिपूर्ण हुँदा पुनरावेदनको लागि अनुमति पाउँ भन्ने पाचुदाश थारु समेतको निवेदन पर्न आई मिति २०३९।३।७।२ को सिंगल बेञ्चबाट अनुमति प्रदान भएको रहेछ ।

८.    वादी दावी बमोजिमको कित्ता नम्बर जग्गाहरूमा वादीहरूको अंश हक लाग्ने र बसिगत दाशको अंश हक मात्र प्रतिवादीहरूले अपुतालीबाट पाउने देखिएको हुनाले सो जग्गाहरू मध्ये ३ खण्डको २ खण्ड जग्गामा वादीहरूको अंश हक कायम हुने र सो हदसम्मको जग्गा प्रतिवादीका नामको दर्ता बदर हुने र वादीहरूको नाममा दर्ता समेत हुने ठहर्छ । वादीहरूको हक नपुग्ने ठहराएको रौतहट जिल्ला अदालतको फैसला सदर गरेको ना.अं.अ.को फैसला बदर हुने ठहर्छ भन्ने समेत मध्यमान्चल क्षेत्रीय अदालतको फैसला ।

९.    सो फैसलामा कानुनी त्रुटि हुँदा पुनरावेदनको अनुमति पाउँ भन्ने निवेदन परेकोमा ७ नं. फाँटवारीमा वादी पाचुदाश समेत मोहियानीमा लेखिएको कुरालाई मध्यमान्चल क्षेत्रीय अदालतले केही नबोली ३ खण्डको २ खण्ड जग्गामा वादीहरूको अंश हक कायम गरेकोमा अ.बं. १८४(क), १८९ को त्रुटि भनी सर्वोच्च अदालत डिभिजन बेञ्चबाट २०४०।११।४ मा आदेश भएको ।

१०.    पुनरावेदकतर्फबाट रहनुभएका वि.अ.श्री महादेवप्रसाद यादवले वादीहरूले दावी गरेको जग्गा प्रतिवादीहरू चिचनी र अस्तुरनी समेतको बाबु बसिगतदाशको अंशको जग्गा हो । वादीहरूको अंशहक लाग्ने जग्गा हैन । दर्ता श्रेस्ताहरूबाट देखिन्छ । जग्गा बसिगत दाश मरी प्र.हरूको अपुतालीबाट हक भएको हुँदा वादी दावी झुठ्ठा छ । तर अंश दिलाउने गरेको क्षेत्रीय अदालतको निर्णय मिलेको छैन भन्ने र प्रत्यर्थी तर्फबाट रहनुभएका विद्वान अ.श्री मिथिलेशकुमार सिंहले वादीहरू र प्रतिवादीका बाबु एकासगोलमा रही प्रतिवादीका बाबुका नाममा दर्ता भएको जग्गा वादीहरूको समेत अंशको जग्गा हो । तसर्थ सो जग्गाबाट २ खण्ड वादीहरूको अंश दिलाउने गरेको क्षेत्रीय अदालतको इन्साफ मिलेको छ । सदर हुनुपर्छ भन्ने समेत बहस गर्नुभयो।

११.    प्रस्तुत मुद्दामा मध्यमान्चल क्षेत्रीय अदालतको इन्साफ मिलेको छ, छैन सो कुराको निर्णय दिनु पर्ने हुन आएको छ ।

१२.   यसमा निर्णयतर्फ हेर्दा अन्दुदाशको ५ छोरा जेठा जोखनदाश, माहिला जितन साहिला म हितादाश काहिला बसिगतदाश कान्छा म पाचुदाश हुँ जोखन र जितन धेरै वर्ष अघि भिन्न भई बसेको हामी तीनै जनाको अंशको जग्गा बसिगतदाशका नाममा गर्दा राखी भोग गरिआएको पछि हामी मानो छुट्याई आफ्नूआफ्नू जग्गा भोग गरिआएको ३ खण्डको २ खण्ड जग्गा दर्ता बदर गरी दर्ता समेत गरिपाउँ भन्ने वादीको दावी देखिन्छ । यसबाट वादीहरू सरहका दुई अंशियार अघि नै भिन्न भएको कुरामा वादीहरू स्वयंले स्वीकार गरेको  पाइन्छ । प्रतिवादीहरूको बाबुसँग मानु छुट्टी बसेमा वादीले स्वीकार गरेको देखिन्छ । यसबाट सबै अंशियार सगोलमा रहेको भन्ने देखिँदैन । प्रतिवादीहरूका बाबु बसिगतदाशले भरेको ७ नं. फाँटवारीमा वादीहरू दुई जनाको नाम लेखिएको देखिन्छ । तर त्यसमा निजहरू अंशियार अथवा सो फाँटवारीमा भरेको जग्गा निजहरू समेतको हकको अंश लाग्ने भनी लेखिएको पनि छैन । सो ७ नं. फाँटवारीमा वादीहरूको नाम लेख्दैमा जग्गा वादीहरू समेतको अंशको जग्गा भन्न मिल्ने देखिँदैन । विवादको जग्गा अंशको भए बसिगतदाश जीवित रहेका अवस्था नालिश गरी छुट्याई लिन सक्नु पर्ने सो पनि नसकेको विवादको जग्गा वादीहरू समेतको अंशको जग्गा हो भन्न सकिने तथ्ययुक्त लिखत प्रमाण वादीहरूले पेश दाखिल गर्न सकेको छैन प्रस्तुत मुद्दाका प्र.चिचनी समेत वादी भएको आजै निर्णय भएको अपुताली हक दर्ता नामसारी चलन समेत मुद्दामा जितनदाशका छोरा अनुठा चौधरी थारुले वादीहरूले अपुताली पाउने कुरा ठीकै छ, भनी प्रतिवाद गरेको पाइन्छ । यसबाट पनि विवादको जग्गामा वादीहरुको अंश हकको भन्ने देखिँदैन । यसस्थितिमा तथ्ययुक्त सबूदप्रमाणबेगर वादीको भनाइअनुसार प्र.का बाबु बसिगतदाशका नाम दर्ताको विवादको जग्गामा वादीहरूको समेत अंश हक कायम छ, भनी ठहर गर्न सकिने अवस्था रहेन । तसर्थ वादी दावी बमोजिम अंश हक कायम गरिपाउँ भन्ने दावी पुग्न नसक्ने ठहराएको ना.अं.अ.को इन्साफ मनासिव ठहर्छ ।

१३.   ३ खण्डको २ खण्ड जग्गामा वादीहरूको अंश हक कायम भई दर्ता बदर हुने र वादीहरूका नाममा दर्ता हुने समेत ठहराएको मध्यमान्चल क्षेत्रीय अदालतको इन्साफ मिलेको देखिएन । अरु तपसील बमोजिम गर्नु ।

तपसील

वादी हितादाश चौधरी र पाचुदाश थारुके मध्यमान्चल क्षेत्रीय अदालतका मिति २०४०।३।८ का फैसलाले देहायको जग्गाको ३ खण्डको २ खण्ड चलन चलाई दिने र दर्ता गरिदिने गरेकोमा माथि लेखिए बमोजिम वादी दावी नपुग्ने भएकोले सो बमोजिम चलन चलाई रहन र दर्ता गरिदिन परेन चलन चलाउने र दर्ता गरिदिने गरेको मध्यमान्चल क्षेत्रीय अदालतको दुवै कलमको लगत काटी दिनु भनी रौतहट जि.अ.तमा लेखी पठाउन काठमाडौं जि.अ.तमा लगत दिनु………………………………………………….१

जिल्ला       पंचायत                  वडा नं.            कि.नं.       क्षेत्रफल

रौतहट       प्रतापपुर पलटवा     १ (क)       १४१         ०११

”                ”                      २           ३५          ०

”                ”                      २           १५१         २

                 ”                       ३           ३२

                                                            –––              

                                                           

                 ”                      ३           ७           ०१२

                 ”                       ३           ८           ०१६

                                                                              –––––––––

                                                                              १९

वादी हितादाशसमेत फिराद गर्दा र पुनरावेदन गर्दा राखेको कोर्टफी जम्मा रु. २३४। प्र.चिचनी थरुनी समेतबाट मध्यमान्चल क्षेत्रीय अदालतका २०४०।३।८ का फैसलाले भराई दिने गरेकोमा सो बमोजिमको भरी भराउ गर्न परेन सो भराउने गरेको लगत काटी दिनु भनी रौ.जि.अ.तमा लेखी पठाउन का.जि.अ.त.मा लगत दिनु..२

मध्यमान्चल क्षेत्रीय अदालतका २०४०।३।८ का फैसलाले वादी हितादाश र पाँचुदाशलाई प्र.बाट भराउने गरेको कोर्टफी रु. २३४। देहायका प्रतिवादीहरूले यस अदालतमा पुनरावेदन गर्दा २०४०।१२।८ मा का.जि.अ.मा धरौट राखेको देखिँदा सो धरौटी फिर्ता पाउँ भनी ऐनका म्यादभित्र देहायका प्रतिवादीहरूको दर्खास्त परे दस्तूर केही नलिई बराबरका दरले फिर्ता दिनु भनी काठमाडौं जि.अ.तमा लगत दिनु..३

 चिचनी थरुनी-१     रामसहाय चौधरी-१   अस्तुरनी थरुनी-१  सत्यनारायण थारु-१    देहायका प्र.हरूले यस अदालतमा पुनरावेदन गर्दा राखेको कोर्टफी रु. २७। सत्ताइस वादी हितादाश र पाँचुदाशबाट भराई पाउँ भनी ऐनको म्यादभित्र दर्खास्त परे दस्तूर केही नलिई देहायका प्र.हरूलाई भराई दिनु भनी का.जि.अ.मा लगत दिनु.४

चिचनी थरुनी-१      रामसहाय चौधरी-१   अस्तुरनी थारुनी-१   सत्यनारायण थारु-१ इन्साफ उल्टीमा मध्यमान्चल क्षेत्रीय अदालतमा उस बखतका मा.न्या. श्री रुद्रबहादुर सिंह र मा.न्या.श्री झुलेन्द्र प्रसाद छत्कुलीको रेकर्ड राख्न सर्वोच्च अदालतमा सूचना दिनु..५

इन्साफ उल्टीमा मध्यमान्चल क्षेत्रीय अदालतका २०४०।३।८ का फैसलाले रौतहट जिल्ला अदालतका जि.न्या. श्री मोहन मणी दहाल र नारायणी अंचल अदालतका अं. न्या. श्री बोधरी राज पाण्डेको रेकर्ड राख्ने गरेकोमा सो रेकर्ड राख्न पर्दैन भनी मध्यमान्चल क्षेत्रीय अदालत प्रशासन शाखामा लेखी पठाई दिने…६

मिसिल नियम बमोजिम गरी बुझाई दिनु…………………..७

 

उक्त रायमा म सहमत छु ।

 

न्या.जोगेन्द्र प्रसाद श्रीवास्तव

 

इतिसम्वत् २०४२ साल भाद्र ३ गते रोज २ शुभम् ।