August 23, 1985
Created by nepalarchives

निर्णय नं. २३५५ – ज्यान

निर्णय नं. २३५५    ने.का.प. २०४२      अङ्क ५   फुल बेञ्च सम्माननीय का.मु.प्रधान न्यायाधीश श्री धनेन्द्र बहादुर सिंह माननीय न्यायाधीश श्री बब्बर प्रसाद सिंह माननीय न्यायाधीश...

निर्णय नं. २३५५    ने.का.प. २०४२      अङ्क ५

 

फुल बेञ्च

सम्माननीय का.मु.प्रधान न्यायाधीश श्री धनेन्द्र बहादुर सिंह

माननीय न्यायाधीश श्री बब्बर प्रसाद सिंह

माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह

सम्वत् २०४१ सालको फौ.फु.नं.१४

मुद्दा : ज्यान ।

 

निवेदक/प्रतिवादी: जि.कञ्चनपुर महेन्द्रनगर गा.पं.वा.नं.१६ घर भै हाल कञ्चनपुर कारागारमा बन्दी रहेका पद्मराज जोशीका हकमा जि.ललितपुर वा.नं.२१ मिखा वहाल बस्ने तीर्थ डंगोल ।

विरूद्ध

विपक्षी/वादी :जङ्गी सिंह साउदको जाहेरीले श्री ५ को सरकार ।

फैसला भएको मिति:२०४२।५।७।६ मा

     मानसिक असन्तुलनको कारणले हत्या गरेको हुँदा दण्ड सजायँको १ नं. बमोजिम कुनै सजायँ नहुने भनी गरेको इन्साफ सदर हुन्छ ।

(प्रकरण नं.२३)

निवेदक प्रतिवादी तर्फबाट: विद्वान विरिष्ठ अधिवक्ता श्री शम्भु प्रसाद ज्ञवाली

विपक्षी वादी तर्फवाट : विद्वान सरकारी अधिवक्ता श्री बलिराम कुमार

उल्लेखित मुद्दाःX

फैसला

का.मु.प्र.न्या.धनेन्द्र बहादुर सिंहः सर्वोच्च अदालत डिभिजन बेञ्चको मिति ०४०।११।८।२ को इन्साफमा चित्त नबुझी निवेदक प्रतिवादी पद्मराज जोशीको हकमा तीर्थ डंगोलको श्री ५ महाराजाधिराजका हजूरमा न्यायिक समिति मार्फत जाहेर भएको निवेदन पत्रमा नेपालको संविधानको धारा ७२(ख) बमोजिम उक्त मुद्दा दोहर्‍याई दिनु भन्ने हुकुमप्रमाङ्गी बक्स भई आएबमोजिम पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ :

२.    मिति ०३६।४।१७ का दिन अं. ४ बजेको समयमा छोरीलाई दूध खुवाई रहेको अवस्था ६।७ दिन अगाडि देखि दिमाग खराब भई पागल भएको अवस्था पद्मराज जोशीले आफ्नो श्रीमतीलाई बन्चरोले हानी मारेकोले कानुन बमोजिम कारवाही गरिपाउँ भन्ने समेत ०३६।४।१८ को जङ्गी सिंह साउदको जाहेरी दर्खास्त ।

      ३.    मिति ०३६।४।१७ गते छोरीलाई दूध खुवाउन लागेकी बेला मस्त निन्द्रामा सुती निदाएको अवस्था श्रीमतीको चरित्र केही खराब भए जस्तो लागेकोले श्रीमतीलाई मार्न सिवाय अर्को कुरा नसोची बन्चरोले प्रहार गरी श्रीमतीलाई मारँे र ठूलो स्वरमा श्रीमतीलाई मारँे भनी कराउँदा बाबु शिवदत्तले थाहा पाएछन् । मार्ने मराउनेमा म बाहेक अरु कसैको सहमति छैन भन्ने ०३६।४।२० को पद्मराज जोशीको प्रहरीमा बयान ।

      ४.    बीच घाँटीमा बन्चरोले हानेको ठूलो घाउ र छाती तथा कोखी हिस्सामा रगतले लतपत भई सुकेको  भन्नेसमेत मिति ०३६।४।१८ को लाशप्रकृति मुचुल्का । “The body died of injury mandible Lt. upper chest and hemorrhage” भनी उल्लेख भएको मिति ०३६।४।१८ को लाश जाँचको रिपोर्ट ।

५.    पागल भएको कारणले मारेको होला भन्ने केशवदत्त भट्ट समेत अधिकांश सरजमीनका व्यक्तिहरूले गरेको मिति ०३६।४।२३ को सरजमीन मुचुल्का ।

६.    मिति ०३६।४।१७ गते भन्दा ३।४ दिन अगाडि देखि छोरा पद्मराज जोशी खाना नखाने, कम बोल्ने, आफ्नो सुरमा जथाभावी हिड्ने, कहिले पागल जस्तो अनावश्यक बोल्ने यस्तैमा ०३६।४।१७ गते म धानवारीमा हुँदा एक्कासी मेरै घरबाट मार्‍यो भन्ने मानिसको आवाज आउँदा दौडी घर पुग्दा बुहारीको शरीरको माथिल्लो अङ्ग पुरै रगत बगी मरी रहेको अवस्था देख्दा वेहोस भएछु र केही बेर पछि होसमा आउँदा मानिसहरू जम्मा भइ) सकेछन् । पद्मराजले बुहारी दमयन्तीलाई सुतिरहेको अवस्था बन्चराले हानी मार्नेमा छोरा पद्मराज बाहेक अरु कसैको सल्लाह र सहमति छैन भन्ने पद्मराजका पिता शिवदत्तले मिति ०३६।४।२३ मा प्रहरीमा गरेको कागज ।

            ७.    पद्मराजकी श्रीमती दमयन्ती देवीको बीच मेरो कुनै प्रकारको अनुचित सम्बन्ध छैन पद्मराजले किन लेखाए भन्ने कन्जरे बोहराले प्रहरीमा गरेको कागज ।

८.    मृतक दमयन्ती देवीसित मेरो अनुचित सम्बन्ध थिएन, मेरो जमीनको विषयमा झगडा भएको थियो सोही रिसइवीबाट मलाई लेखाएको होला भन्ने पूर्णबहादुर बोहराको मिति ०३६।४।२४ को प्रहरीमा कागज ।

            ९.    मिति ०३६।४।२४ को जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको आदेश बमोजिम पद्मराज जोशीलाई जाँच गर्दा सिजोफिरोनिया नामक मानसिक रोगले पिडित छ उक्त अवस्थामा कुनै पनि अपराध गर्न सक्छ भन्ने कञ्चनपुर अस्पतालको मिति ०३६।४।२७ को पत्र ।

१०.    पद्मराज जोशीलेनै आफ्नो श्रीमती दमयन्ती देवी जोशीलाई बन्चरोले हानी कर्तव्य गरी मारेको भन्ने पोष्टमार्टम फाराम समेतबाट समर्थित हुन आएको हुँदा ज्यानसम्बन्धीको महलको १ नं. को कसूर गरेको प्रमाणित हुन आएकोले सोही ऐनको १३(१) बमोजिम सजायँ हुन माग दावी गरी भेटिएको बन्चरो समेत पेश गरेका छौं भन्ने समेत मिति ०३६।४।२७ को प्रहरी प्रतिवेदन ।

११.    ३ साल जति भयो मलाई रिस उठ्ने मनमा आतङ्क भइरहने हुन्थ्यो, सुखसागरको किताब पढी रहेको थिएँ पढ्दा पढ्दै मलाई ज्यादै रिस उठी के गरुँ कसो गरुँ जस्तो भयो किताब फालँे बन्चरो झिकी श्रीमतीलाई हाने मैले मारँे भनी कराएँ पिताजी र अरु मानिस आई मलाई बाँधे । बेहोस अवस्थामा मैले श्रीमतीको हत्या गरेको हुँ भनी अदालतमा पद्मराज जोशीले गरेको बयान । कञ्चनपुर जिल्ला अदालत महेन्द्रनगरको मिति ०३६।७।२६ को आदेश बमोजिम कञ्चनपुर अस्पतालले पद्मराज सिओफिरोनिया नामक मानसिक रोगबाट पिडित भएको र सो रोगको लक्षणमा मानसिक असन्तुलन हुँदा आफ्नो चारै तर्फको वातावरणमा आफूलाई खतरा भएको लाग्ने र हत्या गर्ने इत्यादि उसको साइन सिम्टम र न्यूरोलोजिकल जाँचबाट पत्ता लगाएको भन्ने उल्लेख गरेको मिति ०३६।७।२९ को कञ्चनपुर अस्पतालको पत्र ।

            १२.   मृतक दमयन्ती राम्रो चरित्रवान थिइन । पद्मराज र निजको श्रीमती दमयन्ती बीच झगडा हुने गरेको थिएन । पद्मराजले पागल हुने व्यथाले वेहोस भई श्रीमतीलाई मारेको भन्ने सुनेको हुँ । जनप्रतिनिधिको नाताले पद्मराजको बाबु वृद्ध हुँदा मैले जाहेर गरेको हुँ भनी जाहेरवाला जङ्गीसिंह साउदको अदालतमा गरेको बकपत्र ।

            १३.   पद्मराजलाई विमार उव्जी खाना नखाने, नित्य कर्म नगर्ने, भान्छा छोइछुत गरिदिने, कोही बेला  मानिसलाई झम्टने, म बृद्ध हुँदा र खेतीको समय हुँदा उपचार गर्न बाहिर लैजान सकेको थिइन, विमारले चापी पागल भई पद्मराजले बन्चरोले हानी बुहारी दमयन्तीलाई मारेछ । मारे भन्ने आवाज आई घरमा हेर्दा खुनै खुनमा बुहारी मरिरहेको देख्दा म बेहोस भएछु । पछि होस् आयो । छोरा र बुहारीको दाम्पत्य जीवन राम्रो थियो । विमार लागेको बेला खाना नखाने, भाँडाकुडा फुटाउने समेत गथ्र्यो भनी पद्मराजको पिता शिवदत्त जोशीले जिल्ला अदालतमा गरेको बयान ।

            १४.   मानिसक असन्तुलनको कारणबाट दमयन्तीको हत्या गरेकोले द.स.को १ नं. ले निज पद्मराजलाई कुनै सजायँ नहुने हुँदा प्रहरी प्रतिवेदन बमोजिमको सजायँ नगर्ने भन्ने शुरू कञ्चनपुर जिल्ला अदालतको फैसला ।

१५.   शुरू अदालतको इन्साफमा चित्त नबुझी श्री ५ को सरकारको तर्फबाट सुदूर पश्चिमान्चल क्षेत्रीय अदालतमा पुनरावेदन परी अपराधभएको समयमा पद्मराज जोशी बौलाएको थियो भनी पुष्टि हुनआएको नदेखिँदा अ.बं.२०२ नं.बमोजिम झगडिया झिकाउने भन्ने सुदूर पश्चिमाञ्चल अदालत डिभिजन बेञ्चको मिति ०३८।१०।४ को आदेश ।

            १६.    सरजमीन समेतका प्रमाणबाट कसूर गर्दा मानसिक असन्तुलनमा रहेको भन्ने प्रमाणित नहुँदा यस्तो अवस्थामा द.स.को १ नं. बमोजिम अभियुक्तहरूलाई सजायँ हुन नसक्ने भन्ने शुरूको निर्णयसँग सहमत हुन नसकी प्र.पद्मराज जोशीले सचेत रहेको अवस्था आफ्नो श्रीमती दमयन्तीलाई बन्चरोले हानी कर्तव्य गरी मारेको ठहर्छ भन्ने सुदूर पश्चिमान्चल क्षेत्रीय अदालतको फैसला ।

            १७.   सुदूर पश्चिमान्चल क्षेत्रीय अदालतको इन्साफमा चित्त नबुझी बन्दी पद्मराज जोशीको यस अदालतमा परेको पुनरावेदन पत्र ।

            १८.   पद्मराज जोशी मानसिक रूपले असन्तुलन रहेभएको भन्नसकिने अवस्थाको नदेखिँदा प्र.पद्मराजले आफ्नो श्रीमती दमयन्तीदेवीलाई सचेत अवस्थामै बन्चरोले हानी कर्तव्य गरी मारेको ठहराई ज्या.सं.को १३(१) बमोजिम सजायँ गर्ने गरेको सु.पश्चिमान्चल क्षेत्रीय अदालतको निर्णय मिलेको देखिन्छ भन्ने यस अदालत डि.बे.को मिति ०४०।११।८ को फैसला ।

            १९.    सर्वोच्च अदालत डिभिजन बेञ्चको इन्साफमा चित्त नबुझी निवेदक प्रतिवादी पद्मराज जोशीको हकमा तीर्थ डंगोलको न्यायिक समिति मार्फत श्री ५ महाराजाधिराजका हजूरमा निवेदन पत्र जाहेर हुँदा नेपालको संविधानको धारा ७२(ख) बमोजिम मिति ०४०।११।८ मा सर्वोच्च अदालत डिभिजन बेञ्चबाट भएको निर्णयमा दोहोराई दिनु भन्ने हुकुम प्रमाङ्गी बक्स भई आएको प्रस्तुत ज्यान मुद्दा नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आई निवेदक प्र.पद्मराज जोशीको तर्फबाट विद्वान विरिष्ठ अधिवक्ता श्री शम्भु प्रसाद ज्ञवालीले जाहेरी दर्खास्तमा ६।७ दिन अगाडि देखि पद्मराज जोशी विरामी भएको भनी उल्लेख गरेको डाक्टरले निज सिजोफेरोनियाले ग्रसित छ भनी लेखेको पत्र साथै सरजमीनका व्यक्ति अर्जून सिंहनेगी र केशवदत्तले बेथा उब्जी रहेको अवस्थामा पद्मराज जोशीले परिणाम बुझ्ने अवस्था नै नभएको समयमा आफ्नो श्रीमती दमयन्तीलाई बन्चरोले हानी मारेको भनी बयान गरेबाट शुरू अदालतले गरेको इन्साफ सदर गरिपाउँ भनी बहस जिकिर गर्नु भयो । श्री ५ को सरकारको तर्फबाट विद्वान सरकारी अधिवक्ता श्री बलिराम कुमारले श्रीमती दमयन्तीको चरित्र सम्बन्धी रिस उठी पद्मराजले बन्चरोले हानी मारेको र निज पद्मराजले प्रहरी र अदालतमा समेत आफूले मारेको कुरामा इन्कार गरेको छैन भनी ०४२।४।२९ मा गर्नु भएको बहस समेत सुनी आज निर्णय सुनाउने तारिख तोकिएको प्रस्तुत ज्यान मुद्दामा निर्णयतर्फ हेर्दा सर्वोच्च अदालत डिभिजन बेञ्चले गरेको इन्साफ मनासिव बेमनासिव के रहेछ निर्णय दिनु परेको छ ।

            २०.   यसमा ६।७ दिन अगाडि देखि पागल भएको अवस्था पद्मराज जोशीले बन्चरोले हानी श्रीमती दमयन्तीलाई मारेकोले कारवाही गरिपाउँ भनी जंगी सिंह साउदको जाहेरीमा उल्लेख भएको देखिन्छ । मिति ०३६।४।२३ को सरजमीन मुचुल्कामा लेखिएको केशवदत्त भट्ट समेतका अधिकांश सरजमीनका व्यक्तिहरूले पागल भएको कारणले मारेको होला भन्ने बयान गरेको पाइन्छ । सरजमीनका अर्जुन सिं नेगीले ३।४ दिन अघि देखि पागल हुने बेथा लागी सो बेथा उल्जेको समयमा दमयन्तीलाई पद्मराजले मारेको हो अरु कारणले मारेको होइन भनी किटानीसाथ अदालतमा बयान गरेको पाइन्छ । बुझिएका कन्जरे बोहरा र पूर्णबहादुर बोहराले समेत श्रीमती दमयन्ती जोशीसँग अनुचित सम्बन्ध नभएको भनी प्रहरीमा बयान गरेको देखिन्छ ।

२१.   पद्मराज जोशी सिजोफिरोनिया रोगले मानसिक असन्तुलन भएको न्यूरोलजीकल जाँचबाट पत्ता लागेको भनी कञ्चनपुर अस्पतालको मिति ०३६।७।२९ को पत्रमा उल्लेख गरेको पाइन्छ ।

            २२.   रिस उठ्ने, मनमा आतङ्क भइरहने, पढिरहेको सुकसागरको किताब फाली मेरो श्रीमतीलाई मैले बन्चरोले हानी मारे । अनि मैले मारे भनी कराएँ भनी अदालतमा निज पद्मराजले बयान गरेको देखिन्छ । कोही बेला मानिसलाई झम्टने, कोही बेला भाँडाकुँडा फुटाउने, नित्यकर्म पनि नगर्ने, कोही बेला खाना पनि नखाने, यस्तो विमारी भएको अवस्था म खेत बारीमा छँदा मारे भन्ने आवाज सुनी घर जाँदा बुहारी दमयन्तीलाई छोरा पद्मराजले बन्चरोले हानी मारेछ भनी पद्मराजको बाबु शिवदत्त जोशीले अदालतमा बयान गरेको रहेछ ।

२३.   सामान्य व्यक्तिले कुनै अपराध गर्छ भने सो अपराध लुकाउने छिपाउने र त्यस्तो आरोपबाट आफू बच्न प्रयास गर्छ । तर प्रस्तुत मुद्दामा उपरोक्त लेखिए बमोजिम अभियुक्तले पूर्वयोजना नबनाई श्रीमतीलाई मार्ने कुनै मनसाय नराखी एक्कासी पढिरहेको सुकसागरको किताब फाली बन्चरोले प्रहार गरी मारेको देखिन आउँछ । मारी सकेपछि आफू बच्ने प्रयास नगरी झन् स्वास्नीलाई मारेँ भनी निज अभियुक्तले हल्ला गरेको भन्ने देखिन्छ । उक्त कार्य गर्न निजले कसैको सल्लाह सहमति लिएको पनि देखिँदैन । यी सब कुराहरूबाट डाक्टरको लेखाई बमोजिम सिजोफेरोनिया नामक रोगले कुनै पनि विनासकारी काम गर्ने मनस्थिति हुने हुँदा सो अवस्थामा पद्मराजले आफ्नो श्रीमतीलाई बन्चरोले हानी मारेको देखिन आउँदा प्र.पद्मराज जोशीले आफ्नो श्रीमती दमयन्तीलाई सचेत अवस्थामा नै बन्चरोले हानी कर्तव्य गरी मारेको ठहराई प्रहरी प्रतिवेदनको दावी अनुसार ज्यानसम्बन्धीको १३(१) बमोजिम सजायँ गर्ने गरेको मिति ०४०।११।८ को सर्वोच्च अदालत डिभिजन बेञ्चको इन्साफ मिलेन । शुरू जिल्ला अदालतले मानसिक असन्तुलनको कारणले दमयन्तीको हत्या गरेको हुँदा दण्ड सजायँको १ नं. बमोजिम प्र.पद्मराज जोशीलाई कुनै सजायँ नहुने भनी गरेको इन्साफ सदर हुन्छ । तपसील बमोजिम गरी मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।

तपसील

माथि इन्साफ खण्डमा लेखिए बमोजिम मिति ०४०।११।८ सर्वोच्च अदालत डिभिजन बेन्चको इन्साफ मिलेको नदेखिँदा शुरु जिल्ला अदालतको इन्साफ सदर भै निज बन्दी पद्मराज जोशीलाई यस मुद्दा बाहेक अन्य मुद्दामा थुनामा राख्न नपरे अविलम्ब मुक्त गरिदिनु भनी सम्बन्धित कारागारमा खबर पठाउनु भनी यस अदालतबाट आदेश भै गएको हुँदा प्र. पद्मराज जोशीले दमयन्तीलाई कर्तव्य गरी मारेको ठहरेकोले ज्यानसम्बन्धीको १३(१) बमोजिम सर्वश्व सहित जन्म कैद गरी कन्चनपुर कारागारमा थुनामा रहेको हुँदा कैद म्याद ठेक्न कन्चनपुर जिल्ला अदालतमा लगत दिन (ल.नं. शाखा) मा लगत दिनु भनी सूदुर पश्चिमाञ्चल क्षेत्रीय अदालतले कन्चनपुर जिल्ला अदालतमा लेखी पठाएको लगत कट्टा गर्नु भनी कन्चनपुर जिल्ला अदालतलाई लेखी पठाउनु  काठमाडौं जिल्ला अदालत तहसिल फाँटमा लगत दिनु ………… १

 

उक्त रायमा हामी सहमत छौं ।

न्या.बब्बर प्रसाद सिंह

न्या.पृथ्वी बहादुर सिंह

 

इतिसम्वत् २०४२ साल भाद्र ७ गते रोज ६ शुभम् ।